मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो ।
चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए । डढेलोले संरक्षण क्षेत्रभित्रका वन्यजन्तु, जैविक विविधता, मानव स्वास्थ्य तथा वातावरणमै गम्भीर असर पुर्याउने भएकाले नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।
“केही समयदेखि सिर्दिबासलगायत आसपासको क्षेत्रमा दैनिकजसो आगलागीका घटना बढिरहेका छन् । त्यसैले हामीले ड्रोनको प्रयोग गरी निगरानी सुरु गरेका हौँ,” उनले भने, “यहाँ एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न तीनचार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । ड्रोनको प्रयोग गरेपछि एकठाउँमा बसेर आगलागी भएको क्षेत्र हेर्न मिल्ने भयो, त्यहाँको अवस्था बुझ्न पनि सजिलो भयो ।”
डढेलो लगाउने व्यक्ति पहिचान गर्ने तथा वन क्षेत्रमा आगो लगाउने क्रम नियन्त्रणमा ल्याउने उद्देश्यसहित ड्रोनमार्फत निग्रानी सुरु गरेको ओझाले बताए । कार्यालयले ड्रोनको प्रयोग सुरु गरेपछि स्थानीयहरूसमेत सचेत भएका र आगलागी न्यूनीकरण भएको उनको भनाइ छ ।
ड्रोनको सहायताले हालसम्म दुईवटा आगलागीको घटना नियन्त्रण गरिसकेको एमक्यापका फिल्ड अफिसर ओझाले जानकारी दिए ।
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील
महोत्तरी । महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकामा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ । त्यसैगरी, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थल सामान्य वर्गमा परेको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ । महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् । त्यसैगरी, जिल्लामा आउँदो निर्वाचनका लागि ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी रञ्जिता झाले बताइन्। चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताइन् । जिल्ला निर्वाचन अधिकारी झाका अनुसार आउँदो निर्वाचनमा महोत्तरीबाट कूल चार लाख ३१ हजार २८२ जना मतदाताले निर्वाचनमा सहभागिता जनाउने भएका छन् ।
गाेरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
गोरखा । गोरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । विहीबार श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताए । “शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उनले भने, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा गर्यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए । कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।
तनहुँमा आजदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
तनहुँ । जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । यसअघि विसं २०७९ पुस २२ गतेदेखि पाँचौँ जनजाति महोत्सव गरिएको थियो । महोत्सवले तनहुँका जातजातिका संस्कृति संरक्षणका साथै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुग्ने उनले बताए । पैसट्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले गरेको थियो । विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो सांस्कृतिक महोत्सवमा नमूना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।” आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमूना घर निर्माण गरिएको छ । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र सालिक रहेको पार्क क्षेत्रमा मगर, दरै र कुमाल समुदायका नमूना घर निर्माण गरिएको छ । तनहुँमा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहे पनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमूना घर निर्माण गरिएको उनले बताए ।
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रो लिङ्गी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । यसअघिको निर्वाचनमा एक लाख ५० हजार १५६ मतदाता थिए । निर्वाचनका लागि बैतडीमा पाँच मतदान केन्द्र थपिएका छन् । सूचना अधिकारी दयालका अनुसार सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशिला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपुर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो । यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २१४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साबिककै १२९ नै कायम रहेका छन् । यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिको विवरण सङ्कलन भइरहेको छ । यसैबिच, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ । निर्वाचन कार्यालयले आन्तरिक तयारी गर्दा विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवार निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका हुन् ।
तराईमा हुस्सु र कुहिरो कायम, यातायात र जनजीवनमा असर
काठमाडौं — देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज दिउँसो: तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने छ। आज राति: तराईका धेरै स्थानमा हुस्सु कायम रहनेछ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार तराईमा हुस्सु तथा कुहिरोको कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय एकता र आत्मनिर्भरता बिना देश बलियो हुँदैनः डा. भीम रावल
उदयपुर । देशको राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अब त्यस्ता प्रयोगहरू रोक्न बामपन्थी एकता भएकाे बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले २००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहको मिलेमतोमा नेपालमाथि एकपछि अर्को प्रयोग भएको बताए । ‘अब नेपाली कम्युनिस्ट पार्टीले देशलाई प्रयोगशाला बन्न दिने छैन,’ उनले भने । नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय हितअनुसार ती स्रोतको उपयोग हुन नसकेको उल्लेख गर्दै उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण पार्टीको प्रमुख लक्ष्य भएको उनकाे भनाइ छ । उत्तरमा चीन र दक्षिणमा भारत रहेको भूराजनीतिक अवस्थालाई सन्तुलनमा राख्दै देशलाई समृद्ध बनाउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत–साधनको राष्ट्रिय स्वामित्व र सदुपयोगमार्फत समृद्धिको आधार तयार गरिने बताए । डा. रावलले प्रत्येक नेपाली नागरिकले रोजगारी, उद्यम, शिक्षा, स्वास्थ्य तथा गाँस–बाँसको समान अधिकार पाउने गरी समाजवाद निर्माण गर्ने योजना पार्टीसँग रहेको दाबी गरे । उनले भदौ २३ र २४ गते सिंहदरबार, उच्च अदालत र संसद् भवन जलेर खरानी बनेको घटनालाई स्मरण गर्दै राज्यका केन्द्रीय संरचना र अर्बौंको राष्ट्रिय सम्पत्ति नष्ट भएको बताए । ‘अबका दिनमा देश फेरि खरानी हुन नदिने गरी राष्ट्रिय शक्ति मजबुत बनाइनेछ,’ उनले भने । उदयपुर जिल्ला कृषि, पशुपालन, पर्यटन र खनिज स्रोतको ठूलो सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उनले ती सम्भावनाको उपयोग, सप्तकोशी, त्रियुगा र तावाको कटान नियन्त्रण तथा स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा सुधार पार्टीको प्राथमिकतामा रहेको बताए । ‘हाम्रो देश मातृभूमि हो, साझा घर हो,’ उनले भने, ‘देश बलियो भए मात्र नेपाली बलिया हुन्छन् । देश कमजोर हुँदा मधेसी, तामाङ, मगर, ब्राह्मण, क्षेत्री, राई—कोही पनि सुरक्षित हुँदैन । त्यसैले राष्ट्रिय एकता नै आजको मुख्य आवश्यकता हो ।’
ऐतिहासिक पर्सागढीमा दुई सय एघारौँ विजय उत्सव मनाइयो
पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर शनिबार यहाँ विजय उत्सव मनाइएको हो । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबिच भएको युद्धले नेपाल मुलुक जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सोको स्मरणमा विजय उत्सव भव्य रूपमा मनाइएको जानकारी दिए । “अत्याधुनिक हातहातियारले सुसज्जित ब्रिटिस सेनालाई गोर्खाली सेनाले निकै चलाखीपूर्ण ढङ्गले युद्ध जितेको अवसरको सम्झनामा विजय उत्सव मनाएका हौँ” उनले भने, “इतिहासको उक्त गौरवमय क्षण सदा स्मरणीय योग्य छ ।” प्रमुख पाठकले नेपालका अन्य ठाउँका गढीहरू व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोका कारण व्यवस्थित गराउन चुनौतीपूर्ण रहेको बताए । श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजासहित सेनाको ऐतिहासिक वेशभूषासहित पदयात्रा गरेर विजय उत्सव मनाइएको बताए । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा विजय उत्सव मनाएको हो । सो उत्सवमा पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा स्थानीय उपस्थिति थियो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गललाई संरक्षण र प्रवर्द्धन गर्न तीनै तहका सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको जानकारहरू बताउँछन् ।
बुद्ध एयर जहाज दुर्घटना हुँदा कोपाइलटसहित ७ यात्रु घाइते
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए । उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो ।
संखुवासभामा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने
खाँदबारी । नेपाली कम्युनिस्ट पार्टीले संखुवासभामा आज पार्टी एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सम्बोधनका लागि प्रचण्डसहितका शीर्ष नेताहरू संखुवासभातर्फ प्रस्थान गरेको पार्टी स्रोतले जनाएको छ। सभामा अन्य दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूलाई प्रचण्डसहितका नेताहरूले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ।
राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो, एमाले तेस्राे
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट्रिय सभा सदस्य मध्ये १८ जनाको निर्वाचन हुँदैछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका अनुसार यस प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्। हाल पदावधि सकिन लागेका दुवै सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीका छन्। माओवादी केन्द्रकी गङ्गाकुमारी बेलबासे र एकीकृत समाजवादीका डा. बेदुराम भुषालको कार्यकाल समाप्त हुँदैछ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभारका आधारमा बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसको कुल मतभार ३,९९४ रहेको छ । यसपछि नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) को संयुक्त मतभार २,७३८ रहेको छ भने एमाले २,५७१ मतभारसहित तेस्रो स्थानमा छ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र स्थानीय तहका २३७ जना गरी ३४७ मतदाता रहनेछन्। कुल मतभार १०,३३३ तोकिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत मतदानबाट वञ्चित हुनेछन् । अन्य दलतर्फ राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ। उम्मेदवार मनोनयन पुस २३ गते हुने निर्वाचन आयोगले जनाएको छ। मतदान हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा हुनेछ, जहाँ दुई मतदान केन्द्र तोकिएका छन् ।
नेपाल–भारतबिच महाकाली सन्धिका तीन दशक: सिँचाइका लागि बगेन पानी
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली सन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारतीय पक्षले वास्ता गरेको छैन । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहरसमेत तयार भइसकेकाले पानी माग गर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको भौतिक प्रगति दिन प्रतिदिन बढिरेहको भए पनि नहरमा पानी बग्ने विषय भने अझै अन्याेल जस्तै छ । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशत छ । रु नौ अर्ब लगानी भइसकेको छ । आयोजनाको अनुसार निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा निर्माण भइरहेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका इञ्जिनीयर राजेश पोखरेले सिँचाइका लागि पानी ल्याउन पटक–पटक विभाग मन्त्रालय हुँदै पत्राचार गरिएको बताए । “हामीले भारतीय एनएचपी सीसित समन्वय गर्दा माथिल्लो निकायबाट आदेश आए पानी छोड्ने सबै संरचना तयार रहेको खबर दिन्छ” इञ्जिनीयर पोखरेलले भने, “यहाँबाट पनि ताकेता भएको छ । तर माथिल्लोस्तरबाटै यस विषयमा पहल हुनुपर्छ ।” सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्र सरकारले नै महाकाली सिँचाइको काम समयमा सम्पन्न गरेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन गम्भीर हुनुपर्नेमा जोड दिए । “महाकाली सिँचाइको मूल नहरमा पानी कहिले बग्ने भन्ने विषयमा टुङ्गो नै छैन्” उनले भने– “सिँचाइ सुविधाका लागि प्रदेश र स्थानीय सरकारले भूमिगत सिँचाइमा जोड दिइरहनुपर्ने अवस्था छ ।” उनले आफू प्रदेशमन्त्री हुँदा महाकाली सिँचाइ आयोजनाले भूमिगत सिँचाइको बजेट रोक्न प्रदेश सरकारलाई पत्राचारसमेत गरेको बताए । “आयोजना समयमा हुनसकेन भने विकल्पका रुपमा अन्य उपाय गर्न पर्यो” उनले भने– “गौरवको आयोजना भनेर मात्रै भएन । सिँचाइ सुविधा पुर्याउन केन्द्रबाट पहल हुनुपर्यो ।” त्यसैगरी महेन्द्रनगरका समाजसेवी लीलाध्वज बस्नेतले सन्धि गर्दाको हतारोका कारण अहिले मूल नहरमा पानी ल्याउन नसकिएको बताए । “बिना अध्ययन सन्धि गर्दा हामीले अर्बौ लगानी गरे पनि मूलनहरमा पानी नबग्ने अवस्था आयो” बस्नेतले भने– “यो विषयमा केन्द्रीय सरकारले पहल गर्नुपर्छ ।” सन्धिले महाकाली नदीको पानीको उपयोग सम्बन्धमा पक्षहरूको दायित्व, अधिकार एवं कर्तव्यलाई परिभाषित गरेको छ । कञ्चनपुर र कैलालीको मालाखेतीसम्म सिँचाइ पुर्याउने लक्ष्यसहित तेस्रो चरणको निर्माण थालिए पनि यहाँका किसान भने लामो समयदेखि भूमिगत सिँचाइ र आकाशे पानीका भरमा खेती गर्दै आएका छन् । “सिँचाइको मूल नहर घर आँगनमै पुगेपनि पानी कहिले पुग्ने भन्ने टुङ्गो नै छैन ।” यहाँको बेदकोट नगरपालिकाका किसान भीम चौधरीले भने, “सिँचाइ सुविधा आउने आशामा वर्षौं बित्यो तर अझै आउने सुरसार छैन ।” नेपाल–भारतबिच महाकाली सन्धि २०५२ सालमा भएको थियो ।
उपभोक्ता सुरक्षाका लागि रूपन्देहीमा १०१२ थान असुरक्षित एलपीजी सिलिन्डर नष्ट
रूपन्देही । सियारी गाउँपालिका–१ चिल्हियास्थित त्रिशूल ग्यास प्रालिमा १ हजार १२ थान एलपी ग्यास सिलिन्डर नष्ट गरिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै प्रयोगमा असुरक्षित देखिएका सिलिन्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताए। त्रिशूल ब्रान्डको लोगो अङ्कित ती सिलिन्डरहरूलाई स्क्र्याप गर्ने निर्णयअनुसार नष्ट गरिएको भुसालले जानकारी दिए। उनका अनुसार २०७७ सालमा पनि एभरेस्ट ग्यास उद्योग अन्तर्गतको त्रिशूल ग्यास प्रालिले सोही ब्रान्डका १ हजार १५ थान सिलिन्डर नष्ट गरेको थियो।
बर्दघाटस्थित एक टायल्स उद्योगमा दुई मजदुर मृत फेला
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगमा दुई मजदुर मृत फेला परेका छन् । मृतकहरूमा नवलपरासी बर्दघाट-१३ का ४० वर्षीय होमबहादुर थापा (नेपाली) र भारत उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमार (भारतीय) रहेका छन् । बुधबार राति ८ बजेदेखि बिहीबार बिहानसम्म ग्यासी फायरमा ड्युटीमा खटिएका उनीहरू पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा मृत भेटिएका हुन् । मृतकहरूको शरीरमा कुनै घाउचोट नदेखिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गरी प्रदर्शन गरेका छन् र दोषीमाथि छानबिन तथा कारबाहीको माग राखेका छन् । प्रहरीको ३१ सदस्यीय टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
रैथाने र जडीबुटीजन्य उपजलाई कर्णाली सरकारको ‘मूल्यवान्’ ब्रान्ड
सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई प्रदेश सरकारले ‘मूल्यवान्’ नामक आधिकारिक ब्रान्डमार्फत पहिचान दिएको छ । प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मह, फापर, बेसार, अदुवा, टिम्मुरलगायतका रैथाने र जडीबुटीजन्य उत्पादनमा ‘मूल्यवान्’ लोगो प्रदान गर्दै बजार प्रवर्द्धन सुरु गरेको हो । पहिलो चरणमा कर्णालीका पाँच जिल्लाका २७ वटा फर्म, समूह तथा सहकारीलाई मूल्यवान् लोगो प्रयोग गर्ने अनुमति दिइएको छ । सुर्खेत, जुम्ला, सल्यान, जाजरकोट र रुकुमपश्चिमका ती उत्पादनकर्ताले आफ्ना उपजमा लोगो प्रयोग गरी बिक्री–वितरण गरिरहेका छन् । मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तिलकप्रसाद पाण्डेका अनुसार २०७८ साल जेठ २० गतेको मन्त्रीपरिषद् बैठकले मूल्यवान् लोगो प्रयोगको स्वीकृति दिएको थियो । सो निर्णयअनुसार हालसम्म २७ वटा रैथाने तथा जडीबुटीजन्य उत्पादन गर्ने कृषक, समूह र फर्मलाई लोगो प्रदान गरिएको उनले जानकारी दिए । मूल्यवान् लोगो प्राप्त गर्न उत्पादन कर्णाली प्रदेशमै भएको हुनुपर्ने, रैथाने बाली वा जडीबुटीजन्य हुनुपर्ने, रासायनिक विषादी प्रयोग नगरिएको हुनुपर्ने जस्ता मापदण्ड तोकिएको छ । सुरुमा छ महिनाका लागि परीक्षणका रूपमा लोगो प्रदान गरिने र मापदण्ड पूरा भएमा वार्षिक रूपमा नवीकरण गरिने व्यवस्था गरिएको छ । लोगो प्रयोग गरेका कृषकले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा कर्णालीका अन्य जिल्लामा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई समेत मूल्यवान् ब्रान्डअन्तर्गत ल्याइने योजना रहेको पाण्डेले बताए । यस वर्ष कर्णाली प्रदेशमा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने लक्ष्य लिइएको छ । ती बाली खाद्य व्यापार तथा कम्पनीमार्फत खरिद गरी बिक्री गर्ने तथा प्रदेश राजधानी सुर्खेतमा प्रशोधन मिल स्थापना गर्ने तयारी भइरहेको छ । सरकारले नै खरिदको सुनिश्चितता गर्दा कृषक उत्साहित हुने र बजारको चिन्ता घट्ने विश्वास लिइएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार २०७४ फागुन ६ गते बसेको प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही नीति अनुरूप कर्णालीका रैथाने बाली तथा जडीबुटीजन्य उपजलाई अर्गानिक उत्पादनतर्फ उन्मुख गराउँदै मूल्यवान् लोगो प्रदान गरिएको उनले बताए । कर्णालीमा लिवर्ड, दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) लगायतका संस्थाले पनि प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । एन्साबका कार्यकारी निर्देशक डा. भीष्मप्रसाद सुवेदीले मूल्यवान् लोगोले कृषकलाई अर्गानिक उत्पादनतर्फ आकर्षित गरेको उल्लेख गरे । लिवर्डका कार्यक्रम प्रमुख रिता गुरुङका अनुसार पछिल्लो एक वर्षदेखि कर्णालीका पाँच स्थानीय तहमा रैथाने बाली तथा जडीबुटीजन्य प्राङ्गारिक उत्पादन प्रवर्द्धन गर्न ‘पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना’ कार्यान्वयन भइरहेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका, दैलेखको दुल्लु र आठबिस नगरपालिका तथा जुम्लाको तातोपानी गाउँपालिकामा उक्त परियोजनामार्फत प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइएको छ ।
चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल
मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरू नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् । मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरूलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ । चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरू आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । हुम्लाबाट मुक्तिनाथ आएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताए । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको बताए । साथै जाजरकोटबाट आएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताए । पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

