कर्णालीका ४४१ मतदान केन्द्र अति संवेदनशील
सुर्खेत । प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको पनि शाहले जानकारी दिए ।
भाेजपुरमा बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् । गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै बहुवर्षीय खेती प्रविधिमा जोड दिइँदै आएको छ । गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रणाली प्रभावकारी बन्दै गएको बताए । किसानको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका बहुवर्षीय खेतीका लागि सहयोग उपलब्ध गराइँदै आएको उनले जानकारी दिए । अध्यक्ष राईले भने, “हामीले बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । एक घर एक फलफूल बगैँचा कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा जोडिरहेका छौँ । बगैँचा विस्तारका लागि बिरुवा वितरण गर्छौँ । यसअघि सञ्चालन गरिएको अकबरे खुर्सानी खेती कार्यक्रम किसानका लागि लाभदायक साबित भएपछि व्यावसायिक फलफूल खेती कार्यक्रमलाई थप विस्तार गरिएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रणालीको विकासका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको बताए । यस वर्ष आवेदन आह्वान गरेर ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको र गाउँपालिकाले छवटै वडामा कार्यक्रम कार्यान्वयन गर्न करिब रु ४० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । “विस्तृत कार्ययोजना तयार पारेर फलफूल खेती विस्तारको कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । कार्यक्रमको मूल नारा नै ‘रोप्ने, हुर्काउने’ हो”, प्रशासकीय अधिकृत भट्टराईले भने, “प्राविधिकहरूले बिरुवा रोपनदेखि मल व्यवस्थापन, हेरचाह तथा रोग–किराबाट बचाउने उपायबारे किसानलाई स्थलगत रूपमा सेवा प्रदान गर्नेछन् ।” बहुवर्षीय बालीका रूपमा किसानलाई आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका खेतीमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । फलफूल खेतीको माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा कृषिका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको यस पहलले किसानको आम्दानी वृद्धि गर्नाका साथै व्यावसायिक र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने बताए । बहुवर्षीय बाली खेतीमा किसानको आकर्षण रहेको र गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले किसानलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ । “मैले पनि विगत छ वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएको छु । कागती खेतीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको छु”, उनले भने,“अरू साथीहरूले पनि राम्रो काम गरिरहेका छन् । आम्दानी पनि ठिकै छ ।”
उदयपुर प्रतिनिधिसभा–२ का उम्मेदवार सुरेशकुमार राई को हुन् ? के छन् उनका एजेन्डा
उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सुरेशकुमार राई उर्फ हिमाल यतिबेला चुनावी मैदानमा सक्रिय छन् । उदयपुरको बेलका नगरपालिका–रामपुरका स्थायी बासिन्दा राई प्रतिनिधिसभा–२ बाट दोस्रो कार्यकालका लागि संसद् बन्ने लक्ष्यसहित जनतामाझ मत मागिरहेका छन् । २०४९ सालदेखि खम्बुवान मुक्ति मोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका राई जनयुद्धकालीन कमाण्डरसमेत हुन् । २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बनेका राई हाल पनि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीलाई चुनाव जिताउने कमाण्डरका रूपमा परिचित राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर क्षेत्र नं.–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए । त्यतिबेला उदयपुरमा तीन निर्वाचन क्षेत्र रहेका थिए । २०७४ सालदेखि उदयपुर दुई संघीय निर्वाचन क्षेत्रमा विभाजन भएपछि राई तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनेर फराकिलो मतान्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा राईले २२ हजार ५५१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीले १५ हजार ४५५ मत मात्रै पाएका थिए । २०७९ सालको निर्वाचनमा उम्मेदवार नबनेका उदयपुरका लोकप्रिय नेतामध्ये एक राई अहिले २०८२ को निर्वाचनमा पुनः जनताको मत मागिरहेका छन् । उनी भन्छन्, “२०७४ मा सांसद हुँदा सुरु गरेका र त्यसपछि सरकार बनेपछि अघि बढाइएका धेरै काम अझै अपुरा छन् । ती अधुरा काम पूरा गर्नकै लागि फेरि जनताको साथ चाहिएको हो ।” राईले २०७४ मा सांसद हुँदा गरेका प्रमुख कामहरू – सिद्धिचरण लोकमार्गको मर्मतसम्भारका लागि कटारीमा मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय स्थापना, जसबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बजेट विनियोजन हुने व्यवस्था । – प्रतिनिधिसभा क्षेत्र–२ अन्तर्गतका पाँच पालिकाका ४० वटै वडामा विद्युत् विस्तार । – निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने र निर्माण भएका सडकको मर्मतसम्भार । – कटारी नगरपालिका–१ अन्तर्गत तिम्नाइ–सिस्नेरी ग्रामीण सडक निर्माण । – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकको ट्र्याक खोल्ने तथा स्तर उन्नति (निर्वाचन क्षेत्रस्तरीय रिङरोड)। – मुकुर्ची–नेपालटार–कटारीबजार हुँदै बेतेनी जोड्ने सडक सुधार। – डिल्लीबर–मार्झखर्क–बराह हुँदै हलेसी जोड्ने सडकको स्तर उन्नति। – सामरिक महत्त्वको मुकुर्ची–रौतामाई सडकको स्तरोन्नति। – ओख्लेको शाहीडाँडा हुँदै माझखर्क जोड्ने सडकको स्तरोन्नति। – कटारी देउलीकुना–बाहुनीटार–बर्रे–जरुवा हुँदै रुन्चेभञ्ज्याङ सडकको नयाँ ट्र्याक खोल्ने र स्तरोन्नति। – मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड समयमै सम्पन्न गर्न सहजीकरण। – निर्वाचन क्षेत्रभर गुम्बा, मन्दिर, साकेला थान र चर्च निर्माणमा सहयोग। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना (ताप्ली–लिम्चुङबुङ–रौतामाई–उदयपुरगढी), जसबाट करिब २६ हजार घरधुरी लाभान्वित। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना लेखानी, जहाँ १२ हजार घरधुरी लाभान्वित। – करिब पाँच दर्जन विद्यालय भवन निर्माण तथा नमूना विद्यालय स्थापना। – दर्जनौँ सिँचाइ आयोजना। – दर्जनौँ स्वास्थ्य चौकी भवन निर्माण। राईले अघि सारेका प्रमुख एजेन्डा – प्रतिनिधिसभा क्षेत्र–२ मा सिँचाइ व्यवस्थालाई थप मजबुत बनाउने। – सुरु भइसकेका खानेपानी योजनालाई पूर्णता दिने र आवश्यक स्थानमा नयाँ आयोजना सुरु गर्ने। – टोलबस्तीका मुख्य सडक पक्की बनाउने। – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकलाई पूर्ण रूपमा पक्की बनाउने। – चारवटै पालिकामा १४–१४ शय्याको अस्पताल निर्माण तथा ४० वटै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै दक्ष जनशक्ति व्यवस्थापन। – कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना। – जडीबुटी प्रशोधन केन्द्र स्थापना। – साना तथा मझौला घरेलु उद्योग प्रवर्द्धन। – सरकारी नीतिअनुसार चुनढुंगा खानी क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी स्थानीय जनतालाई लाभान्वित बनाउने तथा त्यसका लागि आवश्यक नीति निर्माणमा पहल।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण वेतना सिमसार पर्यटकको रोजाइमा
मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवा भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ । राजमार्गसँगै जोडिएकाले जाडोयाममा वनभोज खान आउनेको दैनिक घुइँचो नै हुने गरेको समितिका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु २० लाखको लागतमा पानीको फोहोरा पनि निर्माण सुरु गरिएको उनले बताए । करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेलापरेको अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए । पछिल्लो समय यस सिमसार क्षेत्रमा विभिन्न जीवविज्ञहरू जीव अनुुसन्धानका क्रममा समेत यहाँ आउने गरेको अध्यक्ष भट्टराई बताउँछन् । “यहाँका जीवजन्तुुको संरक्षण हाम्रो मुुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ”, उनले भने ।
को हुन उदयपुर–१ का नेकपा उम्मेदवार चौधरी ? के छन् एजेन्डा ?
उदयपुर । अहिले देश चुनावमय भएको छ । उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा जुटेका छन् । यसैत सन्र्दभमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले बदलदेव चौधरीलाई उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा उम्मेदवार बनाएको छ । उदयपुरको हकमा चौधरीमा मात्र हेभवी वेयटका उम्मेदवार देखिन्छ । को हुन उम्मेदवार चौधरी ? उदयपुर जिल्लाको साविक मोतिआदर्श गाउँ पञ्चायत हाल त्रियुगा नगरपालिका–११ मा २०२५ साल बैशाख १ गते जन्मेका हुन् चौधरी । उनी एसएलसी पास गरेलगत्तै सप्तरीको राजविराजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषयमा भर्ना भए । त्यही क्याम्पसबाट उनको औपचारिक र संगठित राजनीतिक यात्रा सुरु भयो । क्याम्पस पढ्दा पढदै उनको नजिकको दाई स्व. शुभनारायण चौधरीको प्रभावले अनेरास्ववियू प्रति आकषिर्त बने । विद्यार्थी आन्दोलनमा होमिए पनि । ०३६ सालको विद्यार्थी आन्दोलनमा कानूनका विद्यार्थी भएका पनि बहुदल र निर्दलको भेद छुट्याउन सक्ने थिए । ०४२ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी क्याम्पसको संगठन विभाग प्रमुख, सचिव हुँदै क्याम्पस कमिटीका अध्यक्ष समेत भए । त्यस समयमा अनेरास्ववियुलाई जिताउन उनले कैयौ पटक प्रहरीको फन्दामा परे, कहिले प्रहरीबाट पिटिए त कहिले प्रहरीलाई लखेटे । पढाइको हकमा उनले बीएल सम्मको अध्ययन पूरा गरेका छन् । विद्यार्थी हुँदा बखत नै पहिलो जनआन्दोलन ०४६ मा सक्रिए भए । आन्दोलनको क्रममा पटक पटक प्रहरीको बुट र लाठी खाए । फल स्वरुप उनी ०४६ सालको जनआन्दोलनको दौरानमा पक्राउ परे । पक्राउ परेपछि उनी ७ दिन प्रहरी हिरासतमा बसे । अदालतको आदेशमा रिहा पनि भए । लुकी छिपी प्रहरीलाई छलेर आन्दोलन गरिरहे । फलस्वरुप आन्दोलनको अगाडी सरकार जनताको अगाडी घुडा टेक्यो र पहिलो जनआन्दोलन सफल पारेरै छोड्ने एक चौधरी नै परे । त्यसपछि पढाइको अन्तिम सँगसँगै अनेरास्ववियुको यात्रालाई बिट मार्दै उदयपुर फर्केर वकालत पेशा अंगाले । अनि पार्टीको राजनीतिमा प्रवेश गरे । ०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरे । पार्टीले ०४८ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवा संघ हाल युवा संघ नेपालको जिल्ला सदस्यको रुपमा रही काम गरे । यसको साथ साथै वडा कमिटी, गाउँ कमिटी, नगर कमिटी संयोजक हुँदै इलाका कमिटीमा रहेर काम गरे । कानूनमा स्नातकसम्मको अध्ययन गरेर घर फर्केका चौधरी वकालत पेशासँगै जिल्लाको राजनीतिमा सक्रिय हुन थाले । वकालत पेसाले गर्दा राम्रै नाम चल्यो चौधरीको । उनले नाम र दाम समेत कमाए । फल स्वरुप उनले ०५४ सालको स्थानीय निर्वाचनमा पार्टी भित्रको असन्तुष्टले गर्दा स्वतन्त्रबाट प्रमुखमा उम्मेदबारी दिए अर्थात बागी । तर, सम्मान जनक मतले पराजित भए । पार्टी विभाजन पश्चात माले र एमालेको बिचमा विभाजन हुन पुगे । त्यसपछि एकीकरणपश्चात उनी जिल्ला कमिटी सदस्य, हुँदै सचिवाय सदस्य सहित कानुन विभाग प्रमुख, युवा विद्यार्थी इन्चार्ज, क्षेत्र नं. २ को क्षेत्रिय इन्चार्ज, सामाजिक सेवा विभाग प्रमुख, आर्थिक विभाग प्रमुख लगायतको विभागमा जिम्मेबारी पुरा गरे । ०४८ सालदेखि ४ पटकसम्म नेपाल बार एशोसियसन, उदयपुरको अध्यक्ष पदमा रही काम पनि गरेका छन चौधरीले । माघ १९ को शाही कदमका बेला चौधरी एमालेमा सक्रिय थिए । उदयपुरमा शाही कदमको विरुद्धको गतिविधिमा सक्रिय भएकाले गर्दा उनलाई झनै राजनीति उचाईमा पुग्न सजिलो भयो । सरकार विरोधी आन्दोलनमा खरो रुपमा उत्रिएपछि त्यसैले उनी प्रहरी–प्रशासनको आँखाको कसिंगर बन्न पुगे । कथित नगर निर्वाचनको बहिस्कारको समयमा उनलाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि राजविराज पुनरावेदन अदालतको आदेशले उनी छुटेको बताउँछन् । उनले जिल्ला कमिटीको साथै नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य, नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी उपाध्यक्ष, प्रगतिशील पेशागत कानूनी व्ययवासयी संगठन जिल्ला कमिटी सदस्य समेत भएर काम गरे । यस्तै हाल उनको केन्द्रिय जिम्मेबारीमा नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी महासचिव, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा उदयपुर इन्चार्ज रहे । यति लामो राजनीतिक जीवनमा चौधरी कहिल्यै लाभको पदमा पुगेनन् । पहिलो संविधान सभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट सभासदको उम्मेदबार बन्दा पराजित भए । स्थानीय निर्वाचन २०७४ को लागि टिकट नलिने मोडमा भए पनि उनलाई अनन्त, प्रदेश नं.–१ प्रदेश कमिटीले उनैलाई नगर प्रमुखको उम्मेदवार बनायो । उम्मेदवार बनेपछि झिनो मतान्तरले बसन्तकुमार बस्नेतलाई पराजित गर्दै त्रियुगा नगरपालिकाको गणतान्त्रिक नेपालको पहिलो र त्रियुगाको दोस्रो प्रमुखमा पाँच वर्षका लागि पद बहाली गर्न पुगे । त्यसपछि अहिले देशकाे व्यवस्थासँगै अवस्था परिवर्तनकाे पक्षमा उभि हने बदलेव अहिले नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन । त्यस अघि उनि विघठित नेकपा एसका केन्द्रीय सचिव थिए । यस्ता चौधरीका एजेन्डाहरु ? -एक घर एक रोजगार अन्तर्गत ५० हजार जनालाई स्थानीय रुपमै रोजगारी सिर्जना गर्ने -कृषि उद्यम बेसार खेती र पशुजन्य मासुको उत्पादनमा कृषकहरुको व्यापक सहभागितामार्फत् आर्थिक समृद्धि बनाउने -मेडिकल कलेजको स्थापना गर्ने -जिर्ण उदयपुर सिमेन्ट उद्योगको सञ्चालन गर्ने -शीरदेखि तीरसम्म अभियान सञ्चालन त्रियुगा नदीको दुवै किनारमा आर्थिक समृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने । -चौदन्डीगढीलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने । -बेलका नगरपालिकाकालार्य पर्यटन क्षेत्रको रुपमा विकास गर्ने -कृषिमा आधातित योजनाहरु -पहाडी सहरी क्षेत्रको विकास । -साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔं हात अभियान सञ्चालन गर्ने । चाैधरीले गरेका कामहरु -त्रियुगा नगरपालिकालाई जोड्ने चक्रपथ र त्रियुगा नपालाई उपमहानगरपालिका बढाउनको लागि आवश्यक भौतिक पूर्वाधारको विकास जस्तै सडक, भित्रि सडकहरुको निर्माण -बरुवा पूर्व बस पार्क तथा त्रियुगा पश्चिम बस पार्क -सुविधा सम्पन्न नगरपालिकाको भवन -कृषिद्धारा सम्वृद्धि हासिल गर्न चक्लाबन्दि खेती र आधुनिक प्रविधिको प्रयोग -थरुहटलगायतका विभिन्न रङ्गशाला र खेलकुद मैदानको निर्माण र घेराबेरा -सामुदायितक तथा जातिय सङ्ग्राहालयको स्थापनामा योगदान -बरुवा क्याम्पसको स्थापना र भवन निर्माण -त्रियुगा मावि गाईघाट, जनता मा वि जोगीदह र बालमन्दिर मा. बि. बोक्सेको भवन निर्माणमा साझेदारी र सहभागिता -वल्र्ड बैंकसँगको साझेदारीमा भौतिक विकासका पूर्वाधारहरुको प्रारम्भिक अध्ययन, विस्तृत योजना निर्माण -कोरोना अस्पताल, साझा लक्ष्य सबैको साथ उदयपुरको विकासमा मिलाऔं हात भन्दै उदयपुर विकास बोर्डको स्थापना -त्रियुगा खोला किनारका नदी उकास जग्गा संरक्षण -फोहर व्यवस्थापन
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।” डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरू डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उनले भने । वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्यो भने त पलाउँछ”, उनले भने, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठुला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।” महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधन स्रोत पनि छैन”, उनले भने, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।” एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए । उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ । जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छ भने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५/२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा भव्य र्यालीसहित उम्मेदवारी दर्ता गरेको छ । नेकपाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य बदलदेव चौधरी र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’ को उम्मेदवारी दर्ता भएको हो । दुवै क्षेत्रमा कार्यकर्ता र समर्थकको सहभागितामा र्याली निकाल्दै उम्मेदवारी दर्ता गरिएको थियो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै क्षेत्र नं. १ का उम्मेदवार चौधरीले देशको स्थायी विकास र दीर्घकालीन नीति निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको बताए । चौधरी त्रियुगा नगरपालिकाका पूर्व मेयरसमेत हुन् । त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई सोही क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य हुन् । दुवै उम्मेदवार विकासप्रेमी नेताका रूपमा परिचित छन् । निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विदुर बस्नेत र नेकपा एमालेबाट दुर्गा थापासहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट रामकुमार राई र नेकपा एमालेबाट अम्बरबहादुर रायमाझीसहित १३ जनाले उम्मेदवारी दिएका छन् ।
रोल्पाबाट वर्षमान पुन 'अनन्त' नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा जिल्लाबाट नेता वर्षमान पुनलाई टिकट दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पुनलाई टिकट हस्तान्तरण गरेको पुनको सचिवालयले जनाएको छ । रोल्पामा पुन उम्मेदवार नबन्ने हल्ला भ्रामक र तथ्यहीन भएको सचिवालयको भनाइ छ । पुन आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारिएको छ । उनी २०७४ र २०७९ को निर्वाचनमा पनि रोल्पाबाटै विजयी भएका थिए । रोल्पा तत्कालीन नेकपा माओवादीको प्रमुख आधार इलाका हो ।
कैलाली-५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आले
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ । तत्कालीन एकीकृत समाजवादी पार्टीमा रहेका आले हाल नेकपा प्रवेश गरेपछि उम्मेदवार बनेका हुन् । उनी यसअघि डोटीबाट निर्वाचित भएका थिए ।
नेकपाले पर्वतबाट मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत निर्वाचन क्षेत्रबाट मनहरी तिमिल्सिनालाई आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाउने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार तिमिल्सिनालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका छन् ।
सर्लाही ३ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार नारायणकाजी श्रेष्ठ 'प्रकाश'
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीले सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव तथा क्षेत्र नम्बर १ मा सुरेश काफ्लेको नाम चर्चामा रहेको छ । सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादवले २०७९ को निर्वाचनमा राजेन्द्र महतोलाई हराएका थिए ।
गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अधिकारी र न्यौपाने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा टिकट वितरण सुरु गरेको छ । नेकपाले गोरखा क्षेत्र नम्बर १ बाट हरिराज अधिकारी (कुमार) र क्षेत्र नम्बर २ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई समर्थन गरेको थियो भने क्षेत्र २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका थिए ।
रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार गोपाल शर्मा 'अनल'
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट गोपाल शर्मा 'अनल'लाई उम्मेदवार बनाएको छ । ०७४ सालको निर्वाचनमा प्रदेशसभा सांसद निर्वाचित भएका शर्मा कर्णाली प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यो निर्वाचनमा उनी पहिलोपटक आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’सँगै प्रतिनिधिसभा चुनाव लड्दै छन् ।
नेपाली कम्युनिष्ट पार्टीले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेद्वार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई टिकट हस्तान्तरण गरेका छन् । जिल्ला पार्टीले उनलाई एकल सिफारिस गरेको थियो । भण्डारीले सामाजिक सञ्जालमा टिकटको तस्वीर सार्वजनिक गर्दै उम्मेदवारीको जानकारी दिएका छन् । उनी यसअघि २०६४ मा जुम्लाबाट संविधानसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए र प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै
सुदूरपश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ । भौगोलिक विकटता, सडक सञ्जाल, निर्वाचनस्थलको संवेदनशीलतालाई आधार मानेर निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाको रणनीतिसहित निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ”, मिश्रले भने, “यसका लागि हातहतियार, गोलीगठ्ठा, सञ्चार सामग्री, जनशक्तिलगायत व्यवस्थापन हुँदैछ ।” निर्वाचनको सुरक्षाका लागि मतदानस्थल तथा केन्द्रको बहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा, सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालनको व्यवस्था मिलाउन लागिएको उनले बताए । विगतका निर्वाचनको मतदानका क्रममा भएको अवाञ्छित एवं अस्वाभाविक गतिविधिलाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइएको छ । यसबाहेक सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको जनाइएको छ । मिश्रले भने, “निर्वाचनस्थल तथा केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचनस्थलका रूपमा लिएर सुरक्षा व्यवस्था मिलाउँदै छौँ, प्रदेशको बाजुरा र अछाम जिल्लातिर बढी सुरक्षा संवेदनशीलताको आँकलन गरिएकाले सोही बमोजिमको सुरक्षा व्यवस्थापन मिलाइँदै छ ।” निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका सबै नौ जिल्लामा गरी ३०० मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ लाई अतिसंवेदनशील निर्वाचनस्थल तोकिएको छ । प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ । मतदानको दिन हिमपात भएमा बाजुरा, बझाङ र दार्चुला जिल्लाका हिमाली क्षेत्रका मतदानस्थलमा केही चुनौती थपिने देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिश्रले बताए । निर्वाचनको तयारीका क्रममा सुरक्षाको व्यवस्थापन गर्न प्रदेशका जिल्लामा निर्वाचन प्रहरी भर्नाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेशभरि सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९निर्वाचन प्रहरी परिचालन गर्न लागिएको उहाँले जानकारी दिए । कैलालीमा तीन हजार ५६७, कञ्चनपुरमा दुई हजार ३५, बाजुरामा ९६४ र दार्चुलामा ८८४, बझाङमा एक हजार४८४, डडेलधुरामा ९४४, बैतडीमा एक हजार २७९, दार्चुलामा ८८४ र अछाममा एक हजार ४६३ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । पहाडी क्षेत्रका कतिपय जिल्लामा तोकिएको समयभित्र आवश्यकता बमोजिमको निवेदन नपरेपछि निर्वाचन प्रहरीमा भर्ना हुने म्याद दुई दिन थपिएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि प्रदेशका सबै जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीको निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुखड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र ५ को धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र १ को बेलौरी, क्षेत्र २ को झलारी र क्षेत्र ३ को भीमदत्तनगरमा र दुई निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र १ को साँफेबगर र क्षेत्र २ को मङ्गसैनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा भने सम्बन्धित जिल्ला सदरमुकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशमा प्रतिनिधिसभा सदस्यका १६ निर्वाचन क्षेत्र छन् ।
म्याग्दीका एकै किसानले उत्पादन गरे १२० मुरी धान
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन् । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुई तले घरमा राखिएका भकारी धानले भरिएका छन् । “एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो”, उनले भने, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।” सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गरेका छन् । म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्य बाली हुने जमिन मानिन्छ । खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु”, खत्रीले भने, “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ ।” बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन् । पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो । सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता हुन् । “गौरीया धान पाक्दा खेत नै बसाउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ”, खत्रीले भने, “गौरीयाको भात खाइरहेकालाई अरू धानको भात रुच्दैन, गौरीया नै खोज्छन् ।” स्थानीयवासीहरूका अनुसार चार पुस्ताअघिदेखि खेती हुँदै आएको गौरीयाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन । म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्यायले बताए । गौरीया धानको चामल भात, पुलाउ, खिर र सेल रोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौरीया धानको दाना अरू जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुुन्छ । पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन् । वार्षिक रु १० लाखभन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए । एकवटा स्थानीय लिमे–पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रापालान पनि गरेका छन् । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैँसीको सङ्ख्या बढाउने सोचमा छन् । खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन् । एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिएका छन् । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रूपमा लिएका छन् । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा उनका परिवार पोखराबाट जन्मथलो फर्किएका थिए । “हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरूलाई नै अधिया र बन्दकी दिएका थियौँ”, उनले भने, “कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौली साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।” पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन् । सिमलाई कृषि, पर्यटकीय गाउँका रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ । बेनीदेखि १२ दशमलव पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलव पाँच किलोमिटर नजिक छ । रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपालीहरू सहरमा बसाइसराइ र बिदेसिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिनुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव समेत रहेका स्थानीयवासी मोतिलाल पौडेलले बताए ।

