दियालो बंगला दरबार सर्वसाधारणका लागि वैशाख १५ गतेभित्र खुला गर्ने

चितवन । एतिहासिक दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच बंगला परिसरमा द्धिपक्षिय सम्भौता भएको छ ।यससँगै सर्वसाधरणका लागि उक्त दरबार वैशाख १५ गतेभित्र खुला हुने छ ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने स्पष्ट पारिन् ।

प्रमुख दाहालले भरतपुर महागनरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरुलाई अगाडि बढाइने उल्लेख गरिन्।बंगलालाई संग्रालयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको पनि दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालले बताइन्। अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भएपनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ ।

महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् साँकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो ।

शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको थियो । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ ।दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्याय, सुनिता कुमारी गौतमले मन्तव्य व्यक्त गरेका थिए।

एमाले सुर्खेतको अधिवेशन आजदेखि

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए ।  अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।

जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु

सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते भएका बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारकै क्रममा मृत्यु भएको हो । चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको थियो । तर उपचारकै क्रममा सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ।  बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  दीपक मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताए। उनलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ। २०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित भएका थिए।

२५ वर्ष देखि फरार अभियुक्त पक्राउ

स्याङ्जा । ज्यान मार्ने उद्योग मुद्धामा संलग्न २५ बर्ष देखि फरार व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्धामा स्याङ्जा जिल्ला अदालतको मिति २०५५ सालको फैसलाले ३ बर्ष ८ महिना ४ दिन कैद तोकिई फरार रहेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका हुन् ।  स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. ७ सपौदी बस्ने बर्ष ४८ को दुत प्रसाद गुरूङलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यस्तै, वस्तु बिक्रि करार मुद्धामा स्याङ्जा जिल्ला अदालतको फैसलाले २ बर्ष कैद तोकिई फरार रहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्दै आएका बर्ष २८ को राम प्रसाद पराजुलीलाई काठमाण्डौंबाट पक्राउ गरी आज नै स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

राहत लिएर रंगेलीका अग्नी पिडित वस्तिमा पूर्वमन्त्री आचार्य

काठमाडौं । नेकपा (माओवादी केन्द्रका केन्द्रीय)सदस्य समेत रहेका कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्य राहतसहित मोरंगको रंगेली सन्थालका अग्नी पिडितको वस्तिमा पुगेका छन् ।    बुधबार दिउँसो राहत सामग्री सहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पिडितलाइ राहत वितरण गरे । सो अवसरमा उनले आगलागीबाट पिडित बनेका जनताको बसोवास र खानपानको प्रबन्ध मिलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो रहेको पिडितलाई जानकारी गराए । साथै उनले आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति र बसोवासका लागि घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।  चैत्र ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको थियो।  आगलागीबाट पिडित बनेका नागरिकहरुलाई मलम लगाउन गरिएको राहत वितरणमा पूर्वमन्त्री एंव सांसद आचार्यसहित मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, नेपाल प्रहरीका जिल्ला एसपी, सशस्त्र प्रहरीका जिल्ला एसपी, सिएनआईका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पूर्व सांसदहरु, पत्रकारहरु र नागरिक समाजका अगुवाहरु सहभागी थिए। 

धनगढीमा श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या

धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए । साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको र अहिले विमानलाई ग्राउन्डेड गरिएको उनले बताए । काठमाडौंबाट आएको प्राविधिक टोलीले त्यसको निरिक्षण गर्दैछ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए ।

बाँदर धपाउन कर्मचारी नियुक्त

पर्वत । पर्वत जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले राससलाई जानकारी दिनुभयो । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले रु सात लाख विनियोजन गरेको छ । तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही रु २० लाख अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए । यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छभने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा ८ को पालिकास्तरीय परीक्षालाई  ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ ।

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्त

पोखरा । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रका रेशम जुग्जाली मन्त्री थिए । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए।सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेको केहि दिनपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटनको राजधानी घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रिमोर्ट थिचेर पर्यटन समारोहको उद्घाटन गरी पोखरा पर्यटनको राजधानी लेखिएको लोगो अनावरण गर्नुको साथै पोखरा पर्यटनको राजधानी लेखिएको स्मृति स्तम्भको अनावरण पनि गरेका थिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको हो।फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे। पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जसअनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ ।डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन्।यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४सै घन्टा खुला हुनेछन् ।

रंगेलीको वस्तीमा  २० घर जल्दा २३ परिवारको बिचल्ली

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा रहेको गरिब वस्तीमा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले बताए । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले जानकारी दिएको छ । अधिकांश आगलागी पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले बताए ।  बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर भएको यस वस्तीमा बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसेका छन् । वडा अध्यक्ष प्रसाईंले आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

रसुवामा भूकम्पको धक्का महसुस

काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्पको धक्का महसुस रसुवा र आसपासमा सामान्य गरिएको थियो । 

प्रधानमन्त्री प्रचण्डबाट 'पर्यटनको राजधानी घोषणा' गर्ने खबरले पोखराका व्यवसायी उत्साहित

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिदै छ ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका यस वरपरका पालिकाहरू र सम्पूर्ण संघसंस्थाहरूको संयुक्त पहलकदमीमा आयोजनामा हुने कार्यक्रममा पोखरालाई पर्यटनको राजधानी घोषणा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे गर्ने छन् ।पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने छ। शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र २४ घण्टा खुला राख्ने निर्णय भएको जानकारी दिए।  “अहिले मापदण्ड पूरा भएका मुख्य बजार क्षेत्र खुला गर्ने र विस्तारै पूरै पोखरालाई नै २४ सै घण्टा खुला गर्दै जाने निर्णय भएको छ,” उनले भने। आइतबारबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्र बैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ घण्टा खुला हुने छन्।  व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले केही मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ।गृह मन्त्रालयले नै २४ सै घण्टा खुला राख्नका लागि तोकेका शर्त उनीहरुले पूरा गर्नुपर्ने छ। ती मापदण्ड पर्यटकीय राजधानी घोषणा कार्यक्रममा आइतबार सार्वजनिक गरिने क्षेत्रीले जानकारी दिए । सरकारको यो निर्णयबाट पर्यटन व्यवसायीले आफुहरुलाई उत्साहित बनाएको बताएका छन्। एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार हुने  र अर्थतन्त्र चलायमान हुने उनीहरुको भनाई छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।  

अनलाइनबाट ठग्ने बंगलादेशीसँग नेपाली नागरिकता र राहदानी

विराटनगर । सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ। मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र र त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले गाउँ–गाउँमा गएर पैसा बाँड्दै नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो। तानवीरको साथबाट ‘तानवीर  मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो । २०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ। उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको  परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड पनि फेला पारेको छ।

आकासे पुलमा १५ करोडको हरियो रङ पोत्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्य क्षेत्रभित्रका आकासे पुलमा हरियो रङ पोत्ने भएका छन् । महानगरलाई ‘ब्युटिफिकेसन’ गर्न भन्दै ती आकासे पुलमा हरियो रङ पोत्न थालिएको हो ।आकासे पुलमा हरियो रङ पोत्नुका साथै गमला राखेर फूलैफूलको सहर बनाउन लागेको जनाएको छ । ‘महानगरमा प्रवेश गर्नेबित्तिकै हरियाली, आनन्द महसुस गराउन आकासे पुलमा हरियो रङ लगाएका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘चालू आर्थिक वर्षभित्रै महानगरभित्रका आकासे पुलमा हरियो रङ पोत्ने, फलामको छडमा विभिन्न किसिमका फूल रोप्ने काम सक्छौँ ।’ बालाजुको आकासे पुलबाट काम थालेको महानगरले अहिले रत्नपार्कको आकासे पुलमा काम गरिरहेको छ । आकासे पुलसँगै सार्वजनिक स्थानका पर्खालमा समेत हरियो रङ पोत्ने महानगरले जनाएको छ । यसले महानगरलाई ब्युटिफिकेसन गर्ने महानगरको भनाई छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम गरिरहेको महानगरले यसका लागि १५ करोड खर्च गर्ने भएको छ । महानगरले गौरवका योजनाअन्तर्गत मेरो रहर, सुन्दर र हरित सहर शीर्षकमा हरियाली प्रवद्र्धनका लागि, पुलहरूमा हरियाली तथा सजावट कार्यका लागि बजेट छुट्याएको थियो । सर्वसाधारणले महानगरभित्र पसेको अनुभव गर्न सकून भनेर यो काम थालेको प्रवक्ता मानन्धरको भनाइ छ ।