मनले चाहेर विकास गर्ने हो भने असम्भव केही छैन: रेनु दाहाल
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले दृढ आत्मविश्वासका साथ भनिन्, “मनले चाहेर विकासको काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन।”
घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्पष्ट धारणा राखिन्—इच्छाशक्ति, इमानदार नेतृत्व, योजनाबद्ध कार्यशैली र जनसहभागिता भए विकासका लक्ष्यहरू अवश्य हासिल गर्न सकिन्छ।
उनले विकासलाई केवल नारामा सीमित नराखी व्यवहारमा उतारेर देखाएको दाबी गरिन्। उनका अनुसार राजनीतिक इच्छाशक्ति, पारदर्शिता र उत्तरदायित्व विकासका मूल आधार हुन्। “चुनौती त हरेक क्षेत्रमा हुन्छन्,” उनले भनिन्, “तर स्पष्ट लक्ष्य, निरन्तर मेहनत र जनतासँगको सहकार्यले पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय फड्को मार्न सकिन्छ।”
भरतपुरको उदाहरण : विकासको प्रत्यक्ष अनुभूति
आफ्नो कार्यकालतर्फ संकेत गर्दै उनले भनिन्, “उदाहरण हेर्न चाहनुहुन्छ भने भरतपुर हेर्नुस्।” भरतपुर महानगरपालिकाको प्रमुख रहँदा आफूले थालेका योजनाहरू आज जनताले प्रत्यक्ष अनुभूति गरिरहेको उनको दाबी छ।
उनका अनुसार महानगरले पछिल्ला वर्षहरूमा सडक विस्तार, कालोपत्रे तथा स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक पार्क तथा सौन्दर्यीकरण, विद्यालय सुधार, स्वास्थ्य पूर्वाधार विस्तार लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। विकासका योजना जनताको आवश्यकता र सुझावका आधारमा तर्जुमा गरिएको उल्लेख गर्दै उनले पारदर्शी कार्यशैली र प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको बताइन्।
“विकास कुनै एक व्यक्तिको प्रयासले सम्भव हुँदैन,” उनले जोड दिइन्, “जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको सहकार्य र विश्वास चाहिन्छ।” देशकै केन्द्रबिन्दुमा रहेको भरतपुर महानगरपालिका लाई आधुनिक, व्यवस्थित र अवसरयुक्त सहरका रूपमा विकास गर्ने दीर्घकालीन सोचका साथ आफू अघि बढेको उनले स्मरण गरिन्।
अधुरा काम पूरा गर्ने अठोट
दाहालले आफ्नो कार्यशैलीबारे उल्लेख गर्दै भनिन् कि जनताको समस्या, गुनासा र विकास निर्माणका काममा आफू दिनरात खटिएको अनुभव छ। “मैले जिम्मेवारी सम्हालेपछि कहीँकतै कमी हुन नदिने प्रयास गरेँ,” उनले भनिन्, “तर अझै केही काम बाँकी छन्। ती अधुरा योजनालाई निरन्तरता दिन र पूरा गर्नकै लागि म फेरि चितवन–३ बाट उम्मेदवार बनेकी हुँ।”
उनले आफूले विगतमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गर्दै भविष्यमा पनि जति पूरा गर्न सकिन्छ, त्यति मात्रै वाचा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनतासँग असम्भव सपना बाँड्ने होइन, पूरा गर्न सकिने योजना राख्ने मेरो नीति हो,” उनले स्पष्ट पारिन्।
पर्यटकीय गन्तव्यका रूपमा भरतपुर
उनले भरतपुर महानगरपालिका अहिले देशैभरबाट घुम्न आउने प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताइन्। सहरको पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, सार्वजनिक स्थलहरूको स्तरोन्नति र व्यवस्थापनमा आफ्नो नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।
चितवन–३ मात्र होइन, समग्र देशका लागि सक्षम, अनुभवी र दूरदर्शी जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै उनले आफू त्यसका लागि योग्य रहेको दाबी गरिन्। “विकासको स्पष्ट दृष्टिकोण, अनुभव र परिणाम दिन सक्ने क्षमता मसँग छ,” उनले भनिन्, “त्यसैले मतदाताले मेरो विगतको कामको मूल्यांकन गरेर बहुमतका साथ विजय गराउनुहुन्छ भन्नेमा म विश्वस्त छु।”
अनुभव, प्रतिबद्धता र निरन्तरताको आग्रह
घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकासलाई निरन्तरता दिन स्थिर र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताइन्। अधुरा परियोजनाहरूलाई पूर्णता दिने, नयाँ सम्भावनाहरू पहिचान गर्ने र चितवन–३ लाई समृद्ध, आधुनिक र अवसरयुक्त क्षेत्रका रूपमा अघि बढाउने आफ्नो स्पष्ट योजना रहेको उनको दाबी छ।
“मैले जति पूरा गर्न सक्छु, त्यति मात्रै वाचा गर्छु, र त्यो वाचा पूरा गर्छु,” उनले पुनः दोहोर्याइन्। विकासको मार्गमा इमानदारी, मेहनत र जनविश्वासलाई नै सबैभन्दा ठूलो शक्ति मान्दै उनले चितवन–३ का मतदातासँग साथ र समर्थनको आग्रह गरेकी छन्।
गोरखा–१ को समग्र विकासमा हरिराज अधिकारीको स्पष्ट दृष्टि: रणनीतिक कार्यक्रमसहित जनतामाझ
गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराज अधिकारी (कुमार) ले जिल्लाको समग्र र दिगो विकासलाई केन्द्रमा राखेर स्पष्ट रणनीतिक कार्यक्रमसहित चुनावी अभियान तीव्र बनाएका छन्। उनले भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, सामाजिक न्याय र समावेशी सहभागितालाई समेट्ने बहुआयामिक योजना सार्वजनिक गर्दै गोरखालाई समृद्ध र व्यवस्थित जिल्लाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुढीगण्डकी आयोजना र पूर्वाधार विकासमा जोड अधिकारीले राष्ट्रिय गौरवको बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। आयोजना शीघ्र सम्पन्न गर्न संघीय तहमा सशक्त पहल गर्ने, डुबान प्रभावित नागरिकको न्यायोचित पुनर्वास र व्यवस्थापन सुनिश्चित गर्ने तथा स्थानीयलाई प्रत्यक्ष लाभको हिस्सेदार बनाउने उनले बताएका छन्। यससँगै बेनीघाट–सिउरेनिटार–आरुघाट–माछिखोला हुँदै लार्के (रुइला नाका) सम्मको सडक स्तरोन्नति तथा सम्पन्नता, सिउरेनीटार–बुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वी राजमार्ग को वैकल्पिक राजमार्ग निर्माण गर्ने योजना उनले अघि सारेका छन्। दुर्गम बस्तीलाई मुख्य व्यापारिक केन्द्रसँग जोड्ने रणनीतिले स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको विश्वास छ। साथै, बुढीगण्डकी करिडोरमा २२० केभी ट्रान्समिसन लाइन निर्माण, जडिबुटीको सम्भाव्यता अध्ययनसहित उत्पादन–संरक्षण–प्रशोधन उद्योग स्थापना र सीमावर्ती व्यापार प्रवर्द्धनलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पर्यटन प्रवर्द्धन र गोरखाको पहिचान विस्तार गोरखालाई पर्यटन हबका रूपमा विकास गर्ने स्पष्ट योजनासहित अधिकारी चुनावी मैदानमा उत्रिएका छन्। गोरखा दरबार र मनकामना मन्दिर लाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसले अन्तर्राष्ट्रिय स्तरमा गोरखाको पहिचान विस्तार हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ। मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई गोरखा सदरमुकामबाट अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना उनले सार्वजनिक गरेका छन्। गोरखा बजारको व्यवस्थित विकासका लागि बृहत् गुरुयोजना तयार गरी पार्किङ, ढल निकास, खुला क्षेत्र संरक्षण र सहर व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइने उनले बताएका छन्। सामाजिक न्याय र समावेशीतामा प्रतिबद्धता अधिकारीले विकासको लाभ सबै समुदायसम्म पुर्याउने लक्ष्य लिएका छन्। चेपाङ, बराम, कुमाल, दराई, माझी, मुस्लिम, भोटे–लामा लगायत सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न संरक्षित क्षेत्र निर्माणमा पहल गर्ने उनले बताएका छन्। जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने तथा राज्यका सबै निकायमा युवाको निश्चित प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्ने नीति निर्माणमा पहल गर्ने उनको योजना छ। उत्तरी गोरखालाई संवैधानिक व्यवस्था अनुरूप स्वायत्त वा विशेष क्षेत्र घोषणा गर्न सशक्त पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। नेपाल–तिब्बत जोड्ने दुई नाकालाई नियमित सञ्चालनमा ल्याएर सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउने उनको योजना रहेको छ। समग्रमा, हरिराज अधिकारीले गोरखा–१ को विकासका लागि स्पष्ट रोडम्यापसहित जनतामाझ आफूलाई प्रस्तुत गरेका छन्। ऊर्जा, पूर्वाधार, पर्यटन, सामाजिक समावेशीकरण र युवासशक्तीकरणलाई केन्द्रमा राखेको उनको कार्यक्रमले गोरखाको दीर्घकालीन समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ। जनताको विश्वास र समर्थन पाए यी योजनालाई व्यवहारमा उतार्ने उनको दृढ अठोट छ।
आश्वासनका पोकामा नपर्न मतदातालाई विश्वदीपको अपिल
बुटवल । रुपन्देही क्षेत्र नं–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला जनताको घर–आँगनमै पुगेर आफ्ना एजेण्डा र प्रतिबद्धता राख्दै चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। शुक्रबार पनि उनको घरदैलो कार्यक्रम तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा उत्साहपूर्ण रूपमा सम्पन्न भयो। वडा नं–५ का प्रेमनगर, टिकानगर, शान्ति मावि चोक, नयाँमिल लगायतका क्षेत्रमा उम्मेदवार पाण्डे स्वयं उपस्थित भई स्थानीय मतदातासँग प्रत्यक्ष संवादमा उत्रिएका थिए। तारा चिन्ह अंकित झण्डा, व्यानर र प्रतिबद्धतापत्रसहित पुगेको टोलीले घर–घरमा पुगेर भोट माग्दै आफ्ना नीतिगत प्राथमिकता स्पष्ट पारेको थियो। मतदातासँगको भेटघाटमा विश्वदीपले चुनावका बेला मात्रै देखिने ‘लोभलालच र आश्वासनका पोका’बाट सावधान रहन आग्रह गरे। “तपाईंहरूको अमूल्य मतले पाँच वर्षको भाग्य र भविष्य निर्धारण गर्छ,” उनले भने, “त्यसैले विचार गरेर, संयमित भएर निर्णय लिनुहोस्।” उनले अहिलेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नभई जनआन्दोलनले सिर्जना गरेको विशेष राजनीतिक परिस्थितिको परिणामका रूपमा चित्रित गर्दै आन्दोलनको मर्म र जनभावना बुझेर मतदानमा सहभागी हुन अपिल गरे। घरदैलोका क्रममा मतदाताले पनि विभिन्न जिज्ञासा राख्दै निर्वाचनपछि जनताका समस्या प्राथमिकतामा राख्न आग्रह गरेका थिए। त्यसको जवाफ दिँदै उम्मेदवार पाण्डेले जीत–हारभन्दा माथि उठेर जनताको पक्षमा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। “परिणाम जे आए पनि जनताका पीरमर्का समाधान गर्ने जिम्मेवारीबाट पछि हट्ने छैन,” उनले स्पष्ट पारे। जनताको उत्साह, सुझाव र विश्वासले आफ्नो अभियान थप ऊर्जावान बनेको बताउँदै उनले कुनै ठोस एजेण्डा बिना केवल आश्वासन बाँड्न आउने उम्मेदवारलाई चिनेर विवेकपूर्ण मत प्रयोग गर्न मतदातालाई आग्रह गरे। निर्वाचनपछि जनपक्षीय कामको नतिजा व्यवहारमै देखिने दाबी समेत उनले गरे। निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार निर्वाचन आयोगको आचारसंहिताभित्र रहेर घरदैलो कार्यक्रम नियमित रूपमा जारी रहनेछ। रुपन्देही क्षेत्र नं–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका १ देखि १३, तिलोत्तमा नगरपालिकाका १ देखि ६ तथा सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडासम्म उम्मेदवारको प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ। संयोजक जीसीले प्रत्येक दिन सबै वडामा उम्मेदवार स्वयम् पुग्न नसके पनि अभियान निरन्तर जारी रहने र स्थानीयसँग अन्तरक्रिया तथा छलफलमार्फत आफ्ना नीति–कार्यक्रमबारे जानकारी गराइने बताए। जनताको घरदैलोमै पुगेर विश्वासको सम्बन्ध निर्माण गर्दै अघि बढेको विश्वदीपको अभियानले रुपन्देही–२ मा सकारात्मक तरंग पैदा गरेको स्थानीय कार्यकर्ताहरूको दाबी छ।
नेकपा बर्दिया-१ का उम्मेदवार विष्णु प्रसाद चौधरीको यस्ता छन् प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी बर्दिया क्षेत्र नं. १ का उम्मेदवार विष्णु प्रसाद चौधरीले आफु निर्वाचित भएमा ९ वर्ष अघि नै भत्केर अलपत्र रहेको जब्दीघाट, जुरपानी खोला, अछरिया खोलामा नयाँ पुलहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नीतिगत सुधारका पहल गर्ने साथै मानव सुरक्षा योजना बनाई कार्यान्वयन गरिने बताएका छन् । बढैया ताल, सतखलुवा ताल संरक्षण, कृष्णसार संरक्षण केन्द्रको सम्बद्र्धन र विकासको गुरु योजना निर्माण तथा कार्यान्वयन गरी पर्यटकीय गन्तव्य बनाइने उनको प्रतिबद्धता छ । सिकलसेल ऐनिमिया पहिचान, नियन्त्रण र रोकथामको लागि सिकलसेल उपचार केन्द्र स्थापना गरिने उनको उल्लेख छ । वारबर्दियामा रहेको सहिद विष्णु–धनी बहुप्राविधिक शिक्षालयमा संकाय र प्रविधि थप गरी बर्दियाकै केन्द्र बनाइने प्रतिबद्धता छ । बबई, भादा, मानखोला लगायतका नदिहरूमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने, निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाँसगढीको पुर्वी भागलाई औधोगिक क्षेत्र घोषणा गर्ने, गुलरिया रजनवा नाकालाई मुख्य भन्सार बनाइने र लघुवित्त, मिटरव्याज पीडितलाई न्याय दिलाउन नीतिगत सुधारमा पहल गर्ने उनको प्रतिबद्धता छ । चौधरी थारु समयको हक र अधिकारका निम्ति लामो समयदेखि लड्दै आएका छन् । उनी पहिलो संविधानसभामा संविधानसभा सदस्य थिए भने थारु आयोगको अध्यक्ष समेत भइसकेका छन् । कमैया र कमलहरीको पुनस्र्थापना तथा पीडितका लागि कानुनी उपचार लगायतमा पनि उनले योगदान दिएका छन् । आफ्नो सम्पूर्ण जीवन राजनीतिक संघर्षमा बिताएका चौधरीले निर्विवाद व्यक्तित्वको छवि बनाएका छन् ।
यस्ता छन् नेकपाका ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकीका प्रतिबद्धता
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकी (पराग) बलियो दाबेदारका रूपमा उदाएका छन्। लामो राजनीतिक अनुभव, स्वच्छ राजनितिक छवि र स्थानीय जनतासँगको निरन्तर सम्बन्धका कारण उनलाई यस क्षेत्रका मतदाताले भरोसायोग्य र काम गर्ने नेताका रूपमा लिएका छन्। ताप्लेजुङ जिल्लामा जन्मिएर यहीँको सामाजिक र राजनीतिक परिवेशमा हुर्किएका बुढाथोकी शालीन, ईमानदार र जनमुखी व्यक्तित्वका रूपमा परिचित छन् । पार्टीभित्र “पराग” नामले चिनिने उनी विगतमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सक्रिय रहँदै आन्दोलन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपाको केन्द्रीय सदस्य हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट उम्मेदवार बन्नुभएका बुढाथोकीले २१,७३५ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा योगेश भट्टराई ले २१,९४३ मत ल्याई २०८ मतको झिनो अन्तरले विजयी भएका थिए । उक्त परिणामले बुढाथोकीको बलियो जनाधार र लोकप्रियता स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ। झिनो मतान्तरको हारलाई यसपटक जितमा बदल्ने दृढ संकल्पसहित उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । २०८२ को निर्वाचनमा नेकपाको ‘तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरेका बुढाथोकीका मुख्य एजेन्डा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण तथा समावेशी विकास रहेका छन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय पूर्वाधार विकास आदिवासी जनजातिको हक अधिकार संरक्षण जस्ता मुध्दाहरुलाई प्राथमिकतामा राखेका छन् । ताप्लेजुङमा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरू चुनावी मैदानमा भएपनि बुढाथोकीको स्वच्छ छवि, विगतको अनुभव, झिनो हारबाट प्राप्त ऊर्जा र स्थानीयस्तरको सुदृढ संगठनका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको राजनीतिक वृत्तमा चर्चा छ। स्थानीय मतदाताहरूका अनुसार बुढाथोकी विकासप्रेमी, इमानदार र प्रतिवद्ध नेता हुन्, जसले व्यक्तिगत लाभभन्दा जनताको हितलाई प्राथमिकता दिन्छन्। लामो समयदेखि सामाजिक न्याय, समावेशी विकास र सीमान्तकृत समुदायको अधिकारका पक्षमा आवाज उठाउँदै आएका उनलाई यस क्षेत्रको साझा आवाजका रूपमा पनि हेरिएको छ। ताप्लेजुङमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि खेलप्रसाद बुढाथोकीको सशक्त उपस्थिति, जनसमर्थन र स्पष्ट एजेन्डाका कारण उनी विजयी हुने उच्च सम्भावना रहेको आकलन गरिएको छ। उनको सम्भावित जितले ताप्लेजुङमा सुशासन, विकास र सामाजिक न्यायको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
अनुभव र योगदानको बिरासत बोकेर गुल्मी १ मा चुनाव लड्दै सुदर्शन बराल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सुदर्शन बराल आफ्नो क्षेत्रको विकासका लागि विभिन्न योजना बोकेर चुनावी घरदैलोमा व्यस्त छन् । लामो राजनीतिक बिरासत र बेदाग व्यक्तित्वको रुपमा परिचय बनाएका उनको उम्मेदवारीले सो क्षेत्रमा नेकपा र चुनाव चिन्ह तारा प्रतिको जनलहर दिनप्रतिदिन बढ्दै गइरहेको छ । उनले भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका विविध क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आफ्नो प्रतिबद्धताहरु जनतामाझ राखिरहेका छन् । उनले कालिगण्डकी करिडोरको रिडि रुद्रवेणी–पुर्तिघाट परल्वा खण्ड, मदन भण्डारी राजमार्गको रिडी खज्र्याङ्ग वल्कोट खण्ड रुद्रवेणी वामीटक्सारको निर्माणाधिन सडक पुलहरुको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, चोरकाटे, शान्तिपुर लगायत सडक आयोजनाको दिगो मर्मत संभारको लागी ठोस योजना बनाउने उनको प्रतिबद्धता छ । खज्र्याङ्ग–चारपाला–गौडाकोट–मजुवा–शान्तिपुर–रोटेखोला–बरेङ्ग सडकलाई मापदण्ड अनुसारको स्तरवृद्धि सँगै गेखुङ्ग हुग्दीखोलामा सडक पुल निर्माण र नियमित यातायात संचालनको व्यवस्था गर्ने उल्लेख गरिएको छ । कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटबाट ग्वाघा–शान्तिपुर–इन्द्रेगौडा सडकलाइ पुर्कोट– प्युठान–भालुवाङ्ग जोड्ने राष्ट्रिय राजमार्गको रुपमा अगाडी बढाइने उनको प्रतिबद्धता छ । इन्द्रेगौडा– शान्तिपुर कालोपत्रे सँगै बाँकी पूर्तिघाट–ग्वाघा–शान्तिपुर–कालोपत्रेका लागि पहल गर्ने उल्लेख गरिएको छ । बरालले सबै वडाहरुका कार्यालयमा पुग्ने वडा पहुँच मार्गहरु स्तरवृद्धि गर्न पहल गर्ने लगायतका विभिन्न भौतिक पूर्वाधार विकासको योजना अघि सारेका छन् । उनले हानिकारक वन्यजन्तुहरु बाँदर, दुम्सी र बँदेल लगायतका जनावरहरु नियन्त्रणमा लिने नीति बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ ।स्थानिय रैथाने बालीहरुको संरक्षण र व्यवसायिक विस्तारका साथै औषधीजन्य प्रयोगका लागि भाँगो खेतीलाई वैधानिकता दिने नीति निर्माणको लागि पहल गर्ने उल्लेख गरिएको छ । थोर्गा रुरुक्षेत्र उखुजन्य उद्योग र पँैचो पसलद्वारा रुरुक्षेत्रमा स्थापित कृषि प्रशोधन उद्योग, रेसुंगा जल उद्योग र स्थानिय स्लेट ढुंगा उद्योगहरु जस्ता उद्योगहरुलाई टेवा पुग्ने निति निर्माणमा पहल गरिने प्रतिबद्धता गरिएको छ । बरालले कृषि र कृषकको बीमाको व्यवस्था साथै किसान पेन्सनको नीतिगत व्यवस्थाको लागि पहल गर्ने, कृषि र लघु उद्यममा परियोजना बैंक स्थापनागरी कामका आधारमा सहुलियत कर्जा उपलव्ध गराउने नीति निर्माणमा पहल गर्ने बताएका छन् । खज्र्याङखोला, रिडीखोला, कालीगण्डकी किनार, हुग्दी खोला, भुग्दी खोला, भार्से खोला, गिदीखोला, खैरनी खोला, त्रिवेणी खोला, लुङखोला, तालखोला लगायतका जलाधार क्षेत्रहरूको संरक्षण, तटबन्ध र व्यवस्थित सिँचाइ विस्तार गरिने पनि उनको प्रतिबद्धता छ । गुल्मी चारपाला दरबार क्षेत्र, चन्द्रकोट क्षेत्र, छत्रकोट, बम्घाकोट, खङ्गकोट, भार्सेकोट, ठुलोलुम्पेकको हचिङ्गकोट, फोक्सिङ्गकोट, कौडे दरवार लगायत इतिहास सँग जोडिएका ऐतिहासिक क्षेत्रहरुको थप खोज अनुसन्धान सहित पर्यटकीय सर्किट सम्भावनाको खोजी गर्ने बताइएको छ । त्यस्तै, रेसुङ्गा क्षेत्र छत्रकोट देवालय क्षेत्र, ऐतिहाँसिक रुरुक्षेत्रधाम, दिब्रुङ्ग शिवालय क्षेत्र, भगवती मन्दिर क्षेत्र, रुद्रवेणी राम मन्दिर क्षेत्र, जयखानी कनौटा क्षेत्र, सिद्धबाबा धाम रुपाकोट, गोबन्दी सिद्धबाबा, सत्यवती क्षेत्र लगायतका धार्मिक साँस्कृतिक क्षेत्रहरुको सर्किट निर्माण गरिने उल्लेख छ । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता रहेका बराल २०६४ सालको संविधानसभा निर्वाचनमा गुल्मी–१ बाट विजयी भएर संविधानसभा सदस्य बनेका थिए । उनी लुम्बिनी प्रदेशमा तत्कालिन नेकपा(माओवादी केन्द्र)को प्रदेश अध्यक्ष हुन् भने लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवार समेत सम्हालिसकेका छन् ।
नेकपा पर्वतका उम्मेदवार तिमिल्सिनाकाे आव्हान: यसपटक पार्टीसँगै उम्मेदवारको क्षमता हेरेर मतदान
पर्वत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्वत जिल्लामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनहरि तिमिल्सिना ले सञ्चालन गरिरहेको चुनावी अभियानले जिल्लाभर सकारात्मक राजनीतिक तरंग सिर्जना गरेको छ। युवा, प्राविधिक जानकार र विकासमुखी दृष्टिकोणसहित अघि बढिरहेका उनको उम्मेदवारीलाई स्थानीय समुदाय, युवा वर्ग तथा विभिन्न क्षेत्रका सरोकारवालाले उत्साहजनक रूपमा समर्थन गरिरहेका छन्। आफ्नै माटोमा जन्मिएर हुर्किएका तिमिल्सिनाले पर्वतको विकासलाई दीर्घकालीन, योजनाबद्ध र परिणाममुखी बनाउन ठोस कार्ययोजना प्रस्तुत गरेका छन्। उनले झुटा आश्वासन र चुनावी भाषणभन्दा पनि कार्यान्वयन गर्न सकिने कार्यक्रम तथा संरचनागत सुधारको एजेन्डा अघि सारेका छन्। विशेषगरी सूचना प्रविधिमा आधारित अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र युवा उद्यमशीलता प्रवर्द्धनलाई उनले प्राथमिकतामा राखेका छन्। उनको मुख्य योजना अन्तर्गत पर्वत जिल्लामा आईसीटी हब स्थापना गर्ने अवधारणा रहेको छ, जसले युवालाई डिजिटल सीप, अनलाइन रोजगारी र नवप्रवर्तनको अवसर प्रदान गर्नेछ। डिजिटल अर्थतन्त्रको विस्तारमार्फत जिल्लामै आयआर्जनको नयाँ ढोका खोल्ने उनको रणनीति छ। यसले विदेश पलायन रोक्न र दक्ष जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मतदातासँगको घरदैलो तथा अन्तरक्रियामा उनले पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्धको स्पष्ट अडान व्यक्त गरेका छन्। नातावाद, कृपावाद र भनसुनको सट्टा योग्यता र क्षमतामा आधारित प्रणाली (मेरिटोक्रेसी) स्थापना गर्ने आफ्नो प्रतिबद्धता उनले दोहोर्याएका छन्। स्थानीय तहदेखि संघीय संरचनासम्म समन्वय गरेर विकास योजना कार्यान्वयन गर्ने उनको धारणा छ। विदेशमा रहेका नेपाली परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, श्रम अधिकार र सामाजिक सुरक्षासम्बन्धी विषय संसदमा बलियो रूपमा उठाउने तथा कार्यस्थलबाटै मतदानको व्यवस्था सहज बनाउन पहल गर्ने उनले सार्वजनिक प्रतिबद्धता जनाएका छन्। यसले प्रवासी समुदायको अधिकार र सहभागितालाई सुदृढ बनाउने विश्वास लिइएको छ। पर्वतका विभिन्न गाउँपालिका तथा वडाहरूमा भएका भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले युवा नेतृत्व आवश्यक रहेको धारणा राख्दै तिमिल्सिनाको एजेन्डालाई सकारात्मक रूपमा लिएका छन्। कृषि, पर्यटन, जलस्रोत, पूर्वाधार र डिजिटल विकासलाई एकीकृत रूपमा अघि बढाउन सक्ने नेतृत्वको खाँचो रहेको उनीहरूको भनाइ छ। पार्टी पंक्तिको समर्थनसँगै स्वतन्त्र मतदाताहरूबीच पनि उनको उम्मेदवारीप्रति आकर्षण बढ्दै गएको देखिएको छ। पार्टी संगठन, युवा कार्यकर्ता र स्थानीय समुदायको सक्रिय सहभागिताले उनको चुनावी अभियानलाई थप ऊर्जा प्रदान गरेको छ। चुनावी प्रचारका क्रममा उनले “यसपटक पार्टीसँगै उम्मेदवारको क्षमता पनि हेरेर निर्णय गर्नुहोस्” भन्ने सन्देश मतदातामाझ पुर्याइरहेका छन्। उनले आफ्नो कार्यकालमा ठोस नतिजा देखिने गरी काम गर्ने, योजना कार्यान्वयनमा जवाफदेहिता कायम गर्ने र जनताको सुझावलाई निरन्तर आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन उनले पर्वतवासीसँग हार्दिक अपिल गरेका छन्। समग्रमा, युवा, ऊर्जावान र विकासप्रति प्रतिबद्ध नेतृत्वका रूपमा मनहरि तिमिल्सिना को अभियानले जिल्लामा सकारात्मक अपेक्षा र उत्साह सिर्जना गरेको छ। उनका स्पष्ट एजेन्डा, डिजिटल विकासको दृष्टिकोण र सुशासनप्रतिको अडानले पर्वतको राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गरेको छ। आदरणीय पर्वतवासी जनसमुदाय, नमस्कार/अभिवादन। म यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका रूपमा तपाईंहरूसामु उपस्थित भएको छु। यहाँहरू सबैप्रति मेरो हृदयदेखि सम्मान, माया र न्यानो अभिवादन छ। तपाईंहरूले दिने मतबाट नै लोकतन्त्र बलियो बन्छ भन्ने मेरो दृढ विश्वास छ। यही विश्वास बोकेर पर्वतको माटो र यहाँका जनताको सेवा गर्ने अठोटका साथ म यो यात्रामा अघि बढेको छु। म आज तपाईंहरूसामु झुटा आश्वासन र चर्को भाषण लिएर होइन, हुन सक्ने र गर्न सकिने कार्यक्रमको खाका लिएर आएको छु। म युवा हुँ। जिल्लाका लागि केही गर्नुपर्छ भन्ने सपना बोकेको छु। यही जिल्लामा जन्मिएको, यही माटोमा हुर्किएको तपाईंहरूकै भाइ/छोरा हुँ। जिल्लाको विकासका काममा यसअगाडि पनि आफ्नो ठाउँबाट यथाशक्य रूपमा योगदान पुर्याउँदै आएको छु र आगामी दिनहरूमा पनि यहाँहरूको सेवामा आफूलाई समर्पित गर्न चाहन्छु। तपाईं जुनसुकै दलमा आस्था राख्नुस्, त्यो तपाईंको अधिकार हो। म तपाईंको आस्था र अधिकारको सम्मान गर्छु। तपाईंहरूलाई मेरो विशेष आग्रह के मात्र हो भने ‘यसपटक पार्टी मात्र होइन, उम्मेदवारलाई पनि हेरेर मत दिनुहोस्।’ त्यो मत मलाई अर्थात ‘तारा’ चिन्हमा दिनुहोस्। किनकि, म युवा छु, विकासको गति र लय बुझ्छु। परिवर्तन सम्भव छ र हामीले नै गर्न सक्छौँ भन्नेमा विश्वास गर्छु। म अनुसन्धानको विद्यार्थी हुँ, त्यसैले हचुवाका भरमा होइन, सोचेर, योजना बनाएर काम गर्न चाहन्छु। ठोस कार्ययोजना निर्माण गरी आफ्नै कार्यकालमा नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता गर्दछु। प्रिय युवा साथीहरू, पर्वत जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवारका रूपमा आएको म तपाईंहरूकै साथी हुँ। मसँग सूचना प्रविधिको ज्ञान छ, संसदमा उठाउनुपर्ने विषय बुझेको छु। युवाको पीडालाई आफ्नै पीडा ठान्छु। म भ्रष्टाचारको विरुद्ध छु र सधैं हुनेछु। भनसुन वा नातावादमा होइन, योग्यता र क्षमताको कदर हुने प्रणाली (मेरिटोक्रेसी) को पक्षमा छु। युवाहरूको भविष्य सुरक्षित र उज्ज्वल बनाउन मैले विशेष कार्यक्रमको खाका तयार पारेको छु। पर्वतमै आइसिटी (ICT) हब स्थापना, डिजिटल इन्कमका अवसरको सिर्जना, सीप र रोजगारीलाई जोड्ने योजना मेरो प्राथमिकतामा छन्। विदेशमा रहनुभएका नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम अघि सार्नेछु। साथै, कार्यस्थलबाटै मतदान गर्न पाउने अधिकारका लागि संसदमा जोडदार रूपमा आवाज उठाउने वाचा गर्दछु। म तपाईं सबैका घर–घरमा पुगेर यी सबै विषयमा गहिरो गरी छलफल गर्न र तपाईंहरूको सहयोग र सुझाब लिन चाहन्थेँ। तर, छोटो समय र सबै वडामा पुग्नुपर्ने भएका कारण कतिपय ठाउँमा म पुगेँ र यहाँहरूको सल्लाह सुझाब लिन पाएँ भने कतिपय ठाउँमा चाहना हुँदाहुँदै पनि म आउन सकिनँ। त्यसैले मेरा साथीहरू यो पत्र लिएर तपाईंहरूसम्म आइपुग्नुभएको छ। उहाँहरूले मेरो सन्देश, सपना रे प्रतिबद्धता तपाईंहरूलाई सुनाउनुहुनेछ। मेरा प्रतिबद्धतामाथि यहाँहरूका सल्लाह र सुझाब साथीहरूमार्फत र फोन तथा इमेल तथा अन्य माध्यमबाट समेत दिन सक्नुहुनेछ। यहाँहरूको सल्लाह र सुझाब अनुसार आफूलाई रूपान्तरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। यहाँहरूसँग फेरि पनि मेरो विनम्र अनुरोध छ, यसपटक दल मात्र होइन, उम्मेदवार पनि हेर्नुस्। हाम्रालाई होइन, राम्रालाई छान्नुस्। असल र खराब छुट्याइदिनुस्। पटक–पटक अवसर पाएर पनि केही गर्न नसक्ने र अवसरका पदमा नहुँदा पनि जिल्ला विकासका लागि आफ्नो ठाउँबाट योगदान गर्नेलाई चिन्नुहोस्। विदेशमा रहनुभएका अग्रज र साथीहरूलाई पनि यो कुरा घरपरिवारमा बुझाइदिनुहुन मेरो हार्दिक अनुरोध छ। तपाईंहरूको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। यही विश्वासका साथ जिल्लाको भविष्य बदल्ने यात्रामा म तपाईंहरूसँग हातेमालो गर्न चाहन्छु। यहाँहरूले तारा चिन्हमा आफ्नो अमूल्य मत दिएर मलाई विजय गराई सो अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वासमा छु। उही तपाईंको भाइ/छोरा/साथी मनहरि तिमिल्सिना प्रतिनिधि सभा सदस्य उम्मेदवार पर्वत
नीतिगत सुधार, सुशासन र समृद्ध सिन्धुली मेरो प्राथमिकता: डेकेन्द्रप्रसाद सुवेदी
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी सिन्धुली–१ का उम्मेद्वार कानुनव्यवसायी डेकेन्द्रप्रसाद सुवेदीले आफ्नो उम्मेदवारी नीतिगत सुधार, सुशासन र दिगो विकासका लागि रहेको बताएका छन्। सुवेदीले पार्टीको लामो राजनीतिक संघर्ष, नेतृत्व अनुभव र समाजवादप्रतिको प्रतिबद्धता नै मुख्य आधार भएको भन्दै “देशको समृद्धि र समाजवाद स्थापनाका लागि हाम्रो पार्टीले निरन्तर भूमिका खेलेको छ। जनतामा हाम्रो पार्टीप्रति विश्वास बढ्दो छ,” उनले भने। गाउँ–गाउँमा पुग्दा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको सुवेदीको भनाई छ । उनले कानूनी तथा नीतिगत सुधारलाई पहिलो एजेन्डा बनाउने बताए। “म लामो समयदेखि कानूनी क्षेत्रमा काम गरिरहेको छु। जनताले भोगिरहेका प्रशासनिक जटिलता, भ्रष्टाचारजन्य प्रवृत्ति र सेवाग्राहीका समस्या समाधान गर्न नीतिगत हस्तक्षेप आवश्यक छ,” उनले स्पष्ट पारे। उनका अनुसार सिन्धुली–१ क्षेत्रमा सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधारका समस्या अझै विद्यमान छन्। ती समस्याको समाधानका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्ने उनको योजना छ। सिन्धुलीसँग जोडिएका तराई भेगमा नदी कटानका कारण जनधनको क्षति भइरहेको उल्लेख गर्दै सुवेदीले स्थायी तटबन्ध निर्माणका लागि केन्द्र सरकार र सरोकारबालाहरुसँग सम्वन्वय र पहल गर्ने बताए । “खोलानाला र नदीजन्य कटानबाट जनताको भौतिक सम्पत्ति जोगाउन दीर्घकालीन समाधान आवश्यक छ,” उनले भने। सिन्धुली जुनार उत्पादनका लागि प्रसिद्ध जिल्ला मानिन्छ। यस सन्दर्भमा उनले पहाडी क्षेत्रमा उत्पादित जुनार तथा तराई क्षेत्रमा उत्पादन हुने ड्रागन फ्रुट र आँपजस्ता कृुषिजन्य उपजको चिस्यान केन्द्र स्थापना गर्न बजारीकरणको प्रपञ्च मिलाउनु यस क्षेत्रको आम्दानीमा सहयोग पुुग्ने उनको धारणा छ । “बजार व्यवस्थापन र प्रशोधन प्रणाली सुधार भए किसानले बेसिजनमा पनि राम्रो आम्दानी गर्न सक्छन्,” यस्ता क्षेत्रको हितमा आफ्नो ध्यानाकर्षण हुने उनले बताए। त्यस्तै, पहाडबाट तराईसम्म कृषि उपजको सहज बजारीकरण र पशुजन्य र दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधनमार्फत किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ। युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। “यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ। अस्पताल, प्राविधिक शिक्षा र कृषि क्षेत्रमा सुधार अपरिहार्य छ,” उनले भने। सुवेदीले पपुलिज्मभन्दा माथि उठेर सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। किसान, मजदूर, दलित, मधेसी र मुस्लिम समुदायको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं दृढ रहेको उनको दाबी छ। “समृद्ध सिन्धुली निर्माणका लागि मेरो उम्मेदवारी हो। जनताको मतले यो अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु,” सुवेदीले भने। २०२६ माघ २६ गते साविक टाडी–६, धनसरी हाल दुधौली नगरपालिका ११ सिन्धुलीमा जन्मिएका सुवेदी पेशाले कानून व्यवसायीका रूपमा परिचित छन् । उनले समाजशास्त्र तथा मानवशास्त्रमा एम ए र वाणिज्य कानूनमा एलएलएम गरेका छन्। लामो समयदेखि वाम राजनीतिमा सक्रिय उनी विद्यार्थी राजनीति हुँदै विभिन्न पार्टी कमिटी तथा पेशागत संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। २०५१ सालदेखि कानुन व्यवसायमा आबद्ध सुवेदीले उच्च अदालत पाटन बार एसोसिएसनको कार्यसमिति सदस्य र नेपाल बार एसोसिएसनको कार्यकारी परिषद् तथा विभिन्न समितिहरूमा रहेर काम गरेका छन् । सुवेदीको राजनीतिक यात्रा सुवेदीको राजनीतिक यात्रा भने २०४२ सालदेखि अनेरास्ववियु (पाँचौं) बाट सुरु भएको हो । २०४५ सालदेखि तत्कालीन नेकपा (माले) सँग आबद्ध भएका उनी २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेका थिए । उनले सिन्धुलीको स्थानीय न्यायिक समितिको सचिवदेखि नेकपा ९एमाले० को सिन्धुली(काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जनकपुर अञ्चल सम्पर्क कमिटीको सचिवसम्मको जिम्मेवारी सम्हालेका छन् । पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट कानुन व्यवसायी संगठन (एसपीएल) को केन्द्रीय अध्यक्ष र पार्टीको निर्वाचन आयोगको सदस्यसमेत रहे । हाल उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।
भोटको बदलामा विकास: सिन्धुपाल्चोक-२ का नेकपाकाे उम्मेदवार युवराज दुलालको प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलालले मतदाताले आफुलाई बाकसभरी भोट दिएको बदला बाकसभरी विकास लगेर फर्काउने प्रतिबद्धता गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको समग्र योजनालाई समेटेर विकासको योजना बनाइएको भन्दै विकासको बाकस परियोजना २ कार्यक्रम अघि बढाउने प्रतिबद्धता गरेका हुन् । उनले बागमती प्रदेश सडक गुरुयोजनामा रहेका सबै सडकहरु र प्रत्येक वडाका महत्वपूर्ण सडकहरु स्तरोन्नती गरी आगामी ५ वर्षभित्र सिंगो प्रतिनिधि सभा क्षेत्रलाई सर्वयाम सवारी चल्ने स्तरीय सडक यातायात सुनिश्चित क्षेत्र बनाउने पनि प्रतिबद्धता गरेका छन् । मध्यपहाडी लोकमार्गको सिन्धुपाल्चोक खण्ड (बन्देउ–बाहुनेपाटी पाटी –पाटी भञ्ज्याङ) को सडक र पुल निर्माणको कामलाई ३ वर्षभित्र सम्पन्न गरी यातायात सञ्चालनको व्यवस्था गराउने उनको भनाई छ । दुलालले दीगो सिंचाइ र खानेपानी प्रणालीको विकासमा जोड दिने पनि बताएका छन् । जिल्लाको सदरमुकाम चौतारालाई सम्पदामैत्री शहर, उच्च शिक्षा, प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम केन्द्रको रुपमा विकास गर्ने उनको घोषणा छ । त्यस्तै, चौतारालाई स्वास्थ्य र खेलकुदको केन्द्रको रुपमा विकास गर्दै चौतारामा आर्थिक एवम् व्यवसायीक गतिविधिको विस्तारको योजनालाई निरन्तरता दिने उल्लेख गरिएको छ । व्यवस्थित शहरी पूर्वाधार सुविधायुक्त मेलम्ची शहरको अवधारणा अनुसार काठ ण्डौबाट १ घण्टामा पुग्न सकिने मेलम्चीलाई केन्द्रीय कार्यक्रमहरु गर्न सकिने शहरको रुपमा विकास गर्ने भनिएको छ । पाँचपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित गर्न व्यवस्थित पूर्वाधार विकास गर्ने, आमा याङ्ग्री, हेलम्बु ग्रेटट्रेल, च्योच्योडाँडा, गुफाडाँडा, सुर्सिङ ब्ल्याचे झरना, भूतछाँगा, साँगाचोकगढी, बुढीचौर, पाल्चोक भगवती, गौंराती भिमेश्वर, तपचुली, चिसापानी, धौले–सुलिकोट, ककनी, शेर्माथाङ, रानीपोखरी, रैथाने पोखरी, नागीडाँडा, मेलम्ची घ्याङजस्ता स्थानलाई समेटेर धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गरिने उनको प्रतिबद्धता छ । सिन्धुपाल्चोक २ भित्रका पुरातात्विक सम्पदा, मन्दिर, गुम्बा, चर्च लगायत साँस्कृतिक संरचनाको निर्माण र विकासलाई निरन्तरता दिइने उल्लेख छ । मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्र संरक्षण एवम् एकीकृत विकास परियोजना विकास गरी कार्यान्वयनमा ल्याइने, रासायनिक मलको अभाव हुन नदिने, बाँदर, बँदेल, दुम्सी, मृगजस्ता जंगली जनावरबाट कृषि बाली रक्षा तथा कृषि उपजको समर्थन मूल्य र बजारीकरणको सुनिश्चित हुने गरी कानून निर्माण गर्न पहल लिने तथा पुस्तौदेखि गुठी जग्गामा बस्दै आएका किसानहरुको समस्यालाई कानूनी रुपमा समाधान गर्न लागि पर्ने पनि उनले प्रतिबद्धता गरेका छन् । सिन्धुपाल्चोक जिल्लामा विकासको पर्यायको रुपमा परिचित दुलाल पटक पटक जनअनुमोदित भएका छन् । उनी २०७४ र २०७९ मा गरी दुई पटक बागमती प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री बनेका उनले सिन्धुपाल्चोकमा विकास निर्माणको काममा धेरै योगदान गरेका छन् । प्रतिनिधि सभा सदस्य चुनावमा उनको जित सहज रहेको विश्लेषण आम नागरिकले गरेका छन् ।
नुवाकाेट-१ मा शतप्रतिशत जित पक्का: हितबहादुर तामाङ
नुवाकोट । नुवाकाेट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार तथा निवर्तमान सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो जित शतप्रतिशत सुनिश्चित भइसकेको दाबी गरेका छन् । तादी गाउँपालिकामा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा उनले मतदातासँगको संवादमा यस्तो विश्वास व्यक्त गरेका हुन् । “हार्ने कुनै संकेत छैन, जनताको साथ र समर्थन स्पष्ट देखिएको छ। शतप्रतिशतले हामी चुनाव जित्छौं,” उनले भने ।उनका अनुसार तादी क्षेत्रका गाउँ–टोलमा देखिएको उत्साह र सहभागिताले नेकपाको पक्षमा बलियो जनलहर निर्माण भएको छ । उनले मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस आफ्नो संगठनात्मक आधार कमजोर बन्दै गएपछि आत्तिएर वडावडामा अभियान चलाउन बाध्य भएको टिप्पणीसमेत गरे । “नेकपाको माहोल जताततै देखिएपछि कांग्रेस मतदाता भेटघाट भन्दै जनतामाझ पुग्न थालेको छ,” तामाङले कार्यकर्ता भेलामा भने । उनले नेता तथा कार्यकर्तालाई थप सक्रिय भई भोलिदेखि नै घरघर पुगेर मतदातासँग सिधा संवाद गर्न निर्देशन दिए । उनले चुनावपछि आफ्नो पार्टीको सरकार बन्ने सम्भावना रहेको भन्दै रोकिएका बजेट फुकुवा गरी विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
पब्लिक डिबेटबाट बालेन भागे: झापा-५ मा रञ्जित खोज्न थाले मतदाता
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहसहितसँग सार्वजनिक बहस गर्ने बताएका नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओली यो साता सार्वजनिक बहसमा सहभागी भए । बहसमा बालेन्द्र अनुपस्थित रहेपनि अन्य उम्मेदवारहरू उपस्थित थिए। चुनावी अभियान सुरु भएपछि चर्को दबाबमा रहेका ओली पत्रकार विजय पौडेलले सञ्चालन गरेको सार्वजनिक बहसपछि थप रक्षात्मक बनेका छन्। सार्वजनिक बहसमा खासगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले उठाएका सवालहरूको तथ्यपरक जवाफ दिन नसकेपछि ओली रक्षात्मक बनेका हुन् । भदौ २३ को जेन्जी आन्दोलनमा भएको क्षतिको नैतिक जवाफदेही केपी ओली हुनुपर्ने र ओलीले क्षेत्रमा गरेको विकास जनताको आवश्यकता र मागअनुसार नभएको विषय तामाङले जोडदार रुपले उठाएका थिए। कार्यकारी प्रमुख भएकोले सरकारमातहत भएका सबै कामको नैतिक जिम्मेवारी त्यो पदले लिनुपर्ने तामाङको स्पष्ट अडानमा कार्यक्रमका सहभागी मात्र नभएर क्षेत्रका मतदाता पनि सहमत छन्। अर्कोतिर तामाङले ओलीले प्रयोगविहीन भ्यु टावर बनाएको तर भ्युटावरको नजिकै मोबाइलको टावर नहुँदा नागरिकले सहज ढंगले सञ्चार सेवा उपभोग गर्न नपाएको विषय उठाएका थिए। तामाङले विद्यालयका भवन बनेपनि विद्यार्थी नभएको र किसानहरूले मल बिउ सिंचाई नपाएको मात्र नभएर उत्पादन गरेको कृषि उपजले बजार मूल्य नपाएको विषय समेत उठाएका थिए। तामाङले ओलीलाई किसानले उत्पादन गरेको धानको मूल्य कति छ थाहा छ भनेर कार्यक्रममा सोधेका थिए। थाहा नभएको बताए । जेन्जी आन्दोलनको नैतिक जिम्मेवारीबारे ओलीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको बताए पनि आफ्नो कमजोरी स्वीकार गरेनन् । आन्दोलनको बेला नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पदबाट राजीनामा दिई बाहिरिएका ओलीले आफू भागेको नभई थप मानवीय क्षति नहोस् भनेर ठाउँ सरेको जिकिर गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरिया, राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौला सहितले आठौं पटक चुनाव लडिरहेका ओलीमाथि प्रश्न बर्साएका थिए। कार्यक्रमका सहभागीहरूले पनि उनीमाथि धेरै प्रश्न गरेका थिए। खासगरी तामाङले उठाएका सवालहरूमा सहभागीले हुटिङ नै गरेर समर्थन गरेका थिए। कार्यक्रमको भिडियो सार्वजनिक भएपछि क्षेत्रका मतदाताहरू बीचमा ओली थप रक्षात्मक बनेको देखिएको छ। मतदाताहरूले कार्यक्रममा तर्कपूर्ण र तथ्यपरक विषय राखेका रन्जित तामाङ योग्य र उपयुक्त उम्मेदवार भएको विश्लेषण गर्न थालेका छन्। क्षेत्रबाट केपी ओलीलाई चुनाव जसरी पनि हराउने मनोविज्ञान बढ्दै जाँदा जुन उम्मेदवारको पक्षमा माहोल देखिन्छ त्यसलाई मतदान गर्ने मुडमा मतदाताहरु देखिएका छन् । 'ओलीलाई यसपटक जसरी पनि हराउने हो' तर्कपूर्ण ढङ्गले उनको प्रतिवाद गर्न सक्ने क्षमता तामाङको रहेछ', गौरादह १ का एक मतदाताले भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने सोचेका थियौँ, क्षमताको हिसाबले रन्जित अबल रहेछन् । अब उनलाई भोट हाल्छौं ।' क्षेत्रमा जसरी पनि ओलीलाई हराउने मनोविज्ञान एमाले र कांग्रेसका कार्यकर्ताहरू बीचमा पनि छ। जसले माहोल बनाउँछ त्यसलाई भोट हालेर ओली हराउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यसअघि ओलीको विकल्प बालेन मात्र हुन् भन्ने चर्चा क्षेत्रमा थियो। दमकको सार्वजनिक बहसपछि भने धेरैले तामाङलाई अब्बल उम्मेदवारको रुपमा लिन थालेका छन्। झापा गौरादह घर भई हाल क्यानडामा बसोबास गर्ने भानुभक्त आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले आफूलाई अबल साबित गरेको बताएका छन्। कुनै क्षेत्रमा ओलीलाई पराजित गर्नुपर्ने मत राख्दै आएका पत्रकारिता विषयका प्राध्यापक हुन् । सार्वजनिक बहसको प्रभाव तामाङ मतदाताको घर दैलोमा पुग्दा देखिन थालेको छ । 'सार्वजनिक बहसमा तपाईंको प्रस्तुति उत्कृष्ट लाग्यो, तपाईँलाई हामीले बल्ल चिन्यौं' झापाको कमल गौरादह नगरपालिका सितापुरीका युवा अशोक राईले शुक्रबार तामाङलाई भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ । तर, बालेन हामीसँग भेट्दै नभेट्ने, हाम्रा सवालहरूको जवाफै नदिने र राजाको सवारी जस्तै हिँड्ने पात्र रहेछन्। अब तपाईँलाई सहयोग गर्छौं।' चुनावी अभियानको क्रममा क्षेत्रका करिब १० हजार घरमा पुगेको बताउँदै नेकपाको चुनाव प्रचार समितिका संयोजक सुरेन्द्र बस्नेतले रन्जित तामाङको पहिचान मतदाताको बीचमा स्थापित हुँदै गएको बताए । सुरुवातमा दुई उम्मेदवारको मात्र चर्चा रहेकोमा त्यो अवस्था पुरै फेरिएको दाबी गर्दै उनले आफूहरु चुनाव जित्ने अवस्थामा पुगिसकेको बताए । दुईखाले अतिवादलाई परास्त गरौं, क्षेत्रको स्थानीय समस्या बुझेको युवा उम्मेदवारलाई मतदान गरौं भन्ने नारा दिएर चुनावी अभियानमा रहेका तामाङले आफू पछिल्लो पटक मतदाताको प्रतिक्रियाबाट उत्साही रहेको बताए । उम्मेदवारले जनताले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने र सामूहिक मञ्चबाट पनि दिनुपर्ने मत राख्दै आएका उनले बालेन्द्र शाहले ओलीसँग एउटै मञ्च सेयर गर्न तयार नभए भोलि बाहेकका उम्मेदवार बीचको बहसमा आउन पनि आह्वान गरेका छन्।
सिन्धुली-२ मा नेकपाको बलियो जनाधार: दाहाल निर्विकल्प
सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा रहेका ३८ वटा वडामध्ये, गत स्थानीय निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले २० वटा वडा जितेको तथ्यले यस क्षेत्रको बलियो जनाधारलाई स्पष्ट देखाएको छ। त्यहाँका अन्य वडाहरूमा पनि नेकपा समर्थकले झिनो मतान्तरले पराजय भोगेका थिए, जसले पार्टीको प्रभाव र जनताको व्यापक समर्थनलाई प्रमाणित गर्दछ। यस क्षेत्रको निर्वाचित उम्मेदवार लेखनाथ दाहाल (राजन) ले गत प्रतिनिधि सभा निर्वाचनमा यहाँबाट निर्वाचित भइ संसदमा दमदार भूमिका निर्वाह गर्नुका साथै देश–विदेशमा उच्च साख कमाएका थिए। दाहालले सिन्धुलीको समग्र विकासमा प्रभावकारी योगदान पुर्याएका छन् र यसको कारण जनतामा उनप्रति गहिरो विश्वास र स्नेह निर्माण भएको छ। अन्य नेताहरू निर्वाचित भएपछि आफ्नै निर्वाचन क्षेत्रको जनताको घर–आगनमा पुग्दैनन् भन्ने गुनासो सुनिन्थ्यो, तर दाहाल जहिले पनि जनताको दुःखमा साथ दिन र सुखमा सँगै रम्न उनी अग्रसर रहँदै आएका छन्। यसैले जनताको मनमा उनप्रति असाध्यै माया र भरोसा रहेको छ। हाल दाहाल निर्वाचन प्रचार–प्रसारका क्रममा जनताको घरदैलोमा पुग्दा जनता उनलाई हर्षपूर्वक स्वागत गर्दै उत्साहका साथ सघाइरहेका छन्। अघिल्लो संसदको कार्यकालमा दाहालले सबै दलसँग समन्वय गर्दै विकास निर्माणका कामहरू गरेको अनुभवले उनलाई मात्र नभएर अन्य दलका समर्थकहरूमा पनि विश्वास र सम्मान दिलाएको छ। यसै कारण यो निर्वाचनमा पनि दाहालले व्यापक सहयोग प्राप्त गर्ने देखिन्छ। दाहालले अघिल्लो संसद कार्यकालको दौरान केही योजना पूरा गर्न पाएका थिएनन्। अब उनी बाँकी योजनाहरू पूरा गर्दै समृद्ध सिन्धुली निर्माण, सुशासन र समग्र विकासका लागि दृढ प्रतिबद्ध छन्। दाहालले जनता समक्ष आफ्नो प्रतिवद्धता व्यक्त गर्दै भनेका छन् कि, “म बाँकी रहेका विकास योजना पुरा गर्न, सुशासन कायम राख्न र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्न तपाईंहरूको समर्थन आवश्यक छ। तपाईंको मतले मात्र समृद्ध सिन्धुली र समग्र देशको भविष्य सुनिश्चित हुनेछ।” सिन्धुली क्षेत्र नं. २ मा नेकपा र दाहालको बलियो जनाधार, कार्यदक्षता र जनसहयोगको कारण यस निर्वाचनमा विजयी सुनिश्चित देखिन्छ। यहाँका जनता पनि दाहालको प्रतिबद्धता र निरन्तर सेवाभावको कदर गर्दै उनलाई पुनः जनप्रतिनिधि बनाउन तत्पर रहेकाे बताउँछन् ।
खुटिया–दिपायल–उरै भञ्ज्याङ फास्ट ट्रयाक अघि बढाउने नेकपा उम्मेदवार भट्टको अठोट
डोटी । डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भएपछि कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङको चीनसँग जोडिने उरै (उरई) भञ्ज्याङ नाकासम्मको ‘फास्ट ट्रयाक’ निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भट्टले संघीय सरकारअन्तर्गत रहेको उक्त बहुप्रतीक्षित योजना कार्यान्वयनका लागि जनप्रतिनिधिको हैसियतमा प्रभावकारी पहल गर्ने स्पष्ट पारे। उनले मुख्यमन्त्री रहँदा प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई यो सडकलाई भारत–चीन सीमाना जोड्ने सम्भावित त्रिदेशीय करिडोरका रूपमा विकास गर्न संघीय सरकारलाई औपचारिक आग्रह गरिएको स्मरण गराए। “सुरुमा खुटिया–दिपायल फास्ट ट्रयाकका रूपमा अघि बढाइएको थियो। हाम्रो पहलमा संघीय सरकारले यसलाई दिपायल हुँदै बझाङको उरै नाकासम्म विस्तार गर्ने निर्णय गरेको हो,” भट्टले भने, “ट्रयाक खोल्ने काम प्रदेश सरकारकै सक्रियतामा पूरा गरिएको हो। अब यसको स्तरोन्नति र निर्माणलाई तीव्रता दिन म सरकार र संसद् दुवै ठाउँमा सशक्त आवाज उठाउनेछु।” सुदूरपश्चिमको आर्थिक–सामाजिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक रणनीतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। डोटी र कैलालीका केही खण्ड कालोपत्रे भइसके पनि समग्र निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सहजपुर–बोगटान–दिपायल सडक पनि प्राथमिकतामा भट्टले सहजपुर–बोगटान–दिपायल सडकलाई पूर्ण कालोपत्रे गर्ने योजनालाई पनि आफ्नो प्रतिवद्धतापत्रमा उच्च प्राथमिकताका साथ समेटेका छन्। दर्जनौँ ग्रामीण बस्तीलाई प्रत्यक्ष जोड्ने यो सडक हाल सुस्त गतिमा निर्माणाधीन छ। सहजपुरदेखि करिब ५० किलोमिटर खण्ड संघीय सरकारले पिच गरिसकेको छ भने भट्ट मुख्यमन्त्री हुँदा डोटी खण्डलाई ‘प्रदेश गौरव आयोजना’मा सूचीकृत गरिएको थियो। पूर्वमुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार मार्गसँग जोड्न सडक पूर्वाधार नै प्रमुख आधार हुने उल्लेख गर्दै दीर्घकालीन दृष्टिकोणका साथ दुवै सडक योजनालाई अघि बढाउने अठोट दोहोर्याएका छन्।
सुर्खेत–२ मा परिवर्तनको लहर : नेकपाका झकबहादुर मल्ल ‘सुदिप’ प्रति जनताको बढ्दो भरोसा
सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुर्खेत क्षेत्र नं. २ मा चुनावी माहोल तातिएको छ। यसपटक मतदातामाझ विकास, इमान्दारी र स्पष्ट दृष्टिकोण भएको नेतृत्वको खोजी तीव्र बनेको छ। यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार झकबहादुर मल्ल ‘सुदिप’ प्रति जनसमर्थन उल्लेख्य रूपमा बढिरहेको देखिन्छ। ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका सुदिपलाई स्थानीयले केवल उम्मेदवारका रूपमा होइन, संघर्ष र सेवाबाट खारिएका नेतृत्वका रूपमा हेरेका छन्। दशकौँदेखि सुर्खेतको सामाजिक, राजनीतिक र विकास अभियानमा सक्रिय रहँदै आएका उनी जनताको सुख–दुःखका सहयात्रीका रूपमा परिचित छन्। संघर्षबाट खारिएको नेतृत्व विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका सुदिपले सामाजिक रूपान्तरणका आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका छन्। जनआन्दोलन, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका विभिन्न चरणहरूमा उनको सक्रिय सहभागिता रह्यो। राजनीतिलाई पद र सुविधाको माध्यम नभई समाज परिवर्तनको साधनका रूपमा प्रयोग गर्ने उनको दृष्टिकोणले उनलाई फरक पहिचान दिलाएको छ। स्पष्ट दृष्टि र योजनाबद्ध विकास एजेन्डा अध्ययनशील र तथ्यमा आधारित धारणा राख्ने नेताका रूपमा चिनिने सुदिपले सुर्खेत–२ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। उनका प्रमुख प्राथमिकताहरू यसप्रकार छन् : १. पूर्वाधार विकास र सडक सञ्जाल विस्तार वीरेन्द्रनगरदेखि चौकुने र पञ्चपुरीसम्मको सडक स्तरोन्नति गर्दै ग्रामीण भेगमा बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता। २. कृषिको आधुनिकीकरण र बजारीकरण कर्णालीको कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन शीतभण्डार, प्रशोधन केन्द्र र बजार पहुँच विस्तार गर्ने योजना। ३. शिक्षा र स्वास्थ्यमा गुणस्तर वृद्धि सुर्खेतलाई शैक्षिक केन्द्र (हब) का रूपमा विकास गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा गुणस्तरीय, प्रविधिमैत्री सेवा सुनिश्चित गर्ने लक्ष्य। ४. युवा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी युवालाई आफ्नै जिल्लामा रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने कार्यक्रम। जनताको अपेक्षा र नयाँ विकल्प सुर्खेत–२ का मतदाताहरूले यसपटक काम गर्ने, जवाफदेही र संसद्मा कर्णालीको आवाज बुलन्द रूपमा उठाउने नेतृत्व चाहेका छन्। भ्रष्टाचार र अनियमितताको विरोधमा स्पष्ट अडान लिँदै आएका सुदिपप्रति युवादेखि ज्येष्ठ नागरिकसम्म सकारात्मक माहोल देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेकपाका कार्यकर्ता र समर्थकहरूका अनुसार सुदिपको जित सुर्खेतको समावेशी विकास, गरिब तथा सुकुम्बासी समुदायको अधिकार सुदृढीकरण र युवाको भविष्य निर्माणसँग जोडिएको छ। आगामी निर्वाचनले सुर्खेत–२ को राजनीतिक दिशालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। मतदाताहरू अब नाराभन्दा परिणाम खोजिरहेका छन्, र यही सन्देशलाई आत्मसात गर्दै नेकपा तथा उसका उम्मेदवार झकबहादुर मल्ल ‘सुदिप’ जनतामाझ पुगिरहेका छन्।
नेकपाकाे पक्षमा पश्चिममा बढ्दो जनलहर: गोपाल शर्माको सक्रियता व्यापक
रुकुम । रुकुमपश्चिमको राजनीतिक माहोल यतिबेला नयाँ मोडमा पुगेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माको पक्षमा जनलहर बढ्दै जाँदा उनको चुनावी सक्रियता पनि झन् व्यापक बन्दै गएको छ। गाउँ–गाउँ, टोल–टोलमा भइरहेको घरदैलो, भेटघाट र अन्तरक्रिया कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिन थालेपछि चुनावी समीकरण उनको पक्षमा मोडिँदै गएको विश्लेषण गरिएको छ। सङ्गठनबाट निर्माण भएको विश्वास लामो राजनीतिक यात्राका धनी गोपाल शर्मा विगतमा जनार्दन शर्मासँगै एउटै राजनीतिक धारमा रहेर सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका व्यक्तित्व हुन्। तत्कालीन माओवादी केन्द्रको संरचना विस्तार, जनसङ्गठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच स्थापना गर्न उनले खेलेको भूमिकालाई अहिले उनका समर्थकहरूले मुख्य आधारका रूपमा प्रस्तुत गरिरहेका छन्। स्थानीय कार्यकर्ताहरूका अनुसार, “सङ्गठनभित्रैबाट खारिएका, जनतासँग निरन्तर जोडिएका र संघर्षको पृष्ठभूमि बोकेका उम्मेदवार” का रूपमा गोपाल शर्मा स्थापित हुँदै गएका छन्। ‘नेतृत्व हस्तान्तरण’को एजेन्डाले तान्यो ध्यान यसपटकको निर्वाचनमा गोपाल शर्माले ‘नेतृत्व हस्तान्तरण’को मुद्दालाई प्रमुख एजेन्डा बनाएका छन्। लामो समयदेखि एउटै नेतृत्वको निरन्तरताले नयाँ पुस्तालाई अवसर नदिएको भन्दै उनले वैचारिक बहस अघि सारेका छन्। यही एजेन्डाले विशेषगरी युवा मतदाताहरूलाई आकर्षित गरेको देखिन्छ। उनको भनाइ छ— “पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन र नयाँ ऊर्जा भित्र्याउन नेतृत्वको क्रमिक हस्तान्तरण आवश्यक छ।” यही सन्देश लिएर उनी दैनिक रूपमा दर्जनौं कार्यक्रमहरूमा सहभागी भइरहेका छन्। घरदैलोमा उत्साहजनक उपस्थिति पछिल्ला केही दिनयता रुकुम पश्चिमका विभिन्न वडाहरूमा गोपाल शर्माको घरदैलो कार्यक्रम उत्साहजनक देखिएको छ। स्थानीय बासिन्दाहरूले स्वागत, समर्थन र प्रतिवद्धता व्यक्त गर्दै खुलेर साथ दिने संकेत दिएका छन्। विशेषगरी युवावर्ग, किसान र श्रमिक समुदायबाट सकारात्मक प्रतिक्रिया आएको नेकपाको दाबी छ। पार्टीका स्थानीय नेताहरूका अनुसार, “पहिलेभन्दा फरक माहोल बनेको छ, जनताको सहभागिता र समर्थनले चुनावी लहर स्पष्ट देखिएको छ।” प्रतिस्पर्धाले थप चासो एक समयका सहयात्रीबीचको प्रतिस्पर्धाले चुनावी मैदानलाई थप रोचक बनाएको भए पनि गोपाल शर्माको सक्रियता र जनसम्पर्कको तीव्रताले चुनावी बहसलाई आफ्नो पक्षमा मोड्न सफल भएको नेकपा वृत्तको विश्लेषण छ। विकास, सुशासन र पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व स्थापना गर्ने प्रतिबद्धतासहित अघि बढेका गोपाल शर्मा अहिले रुकुम पश्चिममा परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत भइरहेका छन्। निर्णायक क्षणतर्फ रुकुम पश्चिम यसपटकको निर्वाचनलाई रुकुम पश्चिमका जनताले नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा हेरिरहेका छन्। बढ्दो जनलहर, सघन अभियान र स्पष्ट एजेन्डाका साथ मैदानमा उत्रिएका गोपाल शर्मा जिततर्फ उन्मुख देखिएको उनका समर्थकहरूको दाबी छ। चुनावी माहोल उत्कर्षमा पुग्दै जाँदा रुकुम पश्चिमको मत परिणामले स्थानीय राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
कपिलवस्तु–१ मा नयाँ आशा: कृष्ण बहादुर कुँवर प्रति बढ्दो जनसमर्थन
कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा राजनीतिक सरगर्मी बढ्दो छ। यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी काउम्मेदवार कृष्ण बहादुर कुँवरप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरूको दाबी छ। वर्षौंदेखि अधुरा विकास आयोजना, बेरोजगारी र पूर्वाधार अभावले थलिएको कपिलवस्तु–१ का मतदाताहरू यसपटक ‘नतिजामुखी नेतृत्व’ को खोजीमा देखिएका छन्। स्थानीय युवादेखि अग्रजसम्मको साझा आवाज बनेका कुँवरलाई “धरातलीय यथार्थ बुझेका उम्मेदवार” का रूपमा चित्रित गरिँदै आएको छ। धरातलसँग जोडिएको नेतृत्व स्थानीय बासिन्दाहरूका अनुसार कुँवर केवल चुनावी मौसमका नेता होइनन्। गाउँ–गाउँमा पुगेर जनताको समस्या सुन्ने, विकासका प्राथमिकता पहिचान गर्ने र समाधानका स्पष्ट खाका प्रस्तुत गर्ने उनको शैलीले मतदाताको विश्वास जितिरहेको छ। विदेश पलायन, कृषिमा देखिएको निराशा र आधारभूत पूर्वाधारको अभावजस्ता विषयमा उनले दीर्घकालीन योजना अघि सारेको समर्थकहरूको भनाइ छ। स्पष्ट दृष्टिकोण र पारदर्शी प्रतिबद्धता कुँवरले चुनावी सभाहरूमा भावनात्मक भाषणभन्दा पनि कार्यान्वयनयोग्य योजना प्रस्तुत गर्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तार र युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनले “नारा होइन, परिणाम” को प्रतिबद्धता व्यक्त गरेका छन्। जनतासँग निरन्तर सम्पर्क चुनावपछि हराउने प्रवृत्तिविरुद्ध उभिँदै कुँवरले जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुख–दुःखका हरेक क्षणमा साथ दिने उनको स्वभावकै कारण क्षेत्रका महिला, युवा र किसान समुदायबीच सकारात्मक माहोल बनेको बताइन्छ। परिवर्तनको अपेक्षा कपिलवस्तु–१ का मतदाताहरू यसपटक स्थायित्व, पारदर्शिता र परिणाममुखी विकासको पक्षमा उभिने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। “हामीलाई भाषण होइन, काम चाहिएको छ,” एक स्थानीय युवाले भने, “त्यसका लागि कृष्ण बहादुर कुँवर सक्षम विकल्प हुन्।” निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा कुँवरको पक्षमा देखिएको उत्साहले यसपटकको प्रतिस्पर्धा रोचक बन्ने संकेत दिएको छ। स्थानीयको अपेक्षा छ— सही नेतृत्व चयनसँगै क्षेत्रको विकासले नयाँ गति लिनेछ।

