वालिङ नगरपालिकाले कृषकलाई दुधमा १० रुपैया अनुदान दिने

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । 
स्थानीय अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउने उनले जानकारी दिए । सम्झौता अनुसार नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको  फ्याट र एसएनएफ को आधारमा निर्धारण हुनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरे । 
वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिए ।
स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् । 
कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दुध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दुधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिए । 
वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ/भैसी पालेर औषतमा दिनको ५०० लिटर दुध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको पशु सेवा शाखाले अनुमान गरेको छ । 
स्याङ्जाको गल्याङ नगरपालिकाले पनि दुधमा प्रतिलिटर १५ रुपैयाँ कृषकलाई अनुदान दिदै आएको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् । गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका थिए । उनी आफैँ पनि आइटी इन्जिनियर हुन् ।  कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरिएको थियोे । रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए ।  ‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ ,हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौं र पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ’ उनले भने, ‘क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छ । उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए । पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे । सो अवसरमा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको , एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषक प्रोत्साहनका लागि आलु तथा कृषि प्रदर्शनी

गल्याङ । कृषकलाई प्रोत्साहन गर्नका लागि भन्दै स्याङ्जामा आलु तथा कृषि प्रदर्शनी आयोजना गरिएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहामा ‘दोश्रो आलु तथा कृषि   प्रदर्शनी २०८०’ आयोजना गरिएको हो ।  प्रदर्शनीमा आलु तथा कृषिका अन्य विउविजनहरु प्रदर्शनी तथा विक्री गरिएको छ ।  यस्तै, आलुका विभिन्न परिकारहरुका साथै स्थानीय उत्पादनका परिकारहरु पनि विक्री तथा प्रदर्शनीमा राखिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पुर्णबहादुर रानाभाट ‘अर्जुन’ ले जानकारी दिए । आलु तथा कृषि प्रदर्शनीबाट कृषक र उपभोक्तालाई सिधा फाइदा पुग्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको उनले स्पष्ट पारे ।  कृषि सामाग्रीहरुको स्टल मात्रै राखिएको प्रदर्शनीमा निशुल्क स्टल तथा निशुल्क प्रबेशको व्यवस्था गरिएको थियो । ‘दोश्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य बिउमा आत्मनिर्भर’ भन्ने नारा सहित सञ्चालन भएको आलु प्रदर्शनीको शनिबार गण्डकी प्रदेश सांसद महेश भट्टराईले उद्घाटन गरेका थिए । शनिबार सुरु भएको प्रदर्शनी तीन दिन सम्म सञ्चालन भएपछि आज सोमबार समापन हुँदैछ । प्रदर्शनीमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । गल्याङ चेम्बर अफ कमर्सले यसअघि कृषि महोत्सव तथा कृषि प्रदर्शनीको आयोजना गरेको थियो ।  पाँच सय रोपनीमा सामुहिक उत्पादन  स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमूहाका ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका छन् । आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष रुमलाल कँडेलले बताए । ‘व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ’, अध्यक्ष कँडेलले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ ।’ स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको सहकारीका अध्यक्ष कँडेलले बताए । यहाँ जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत आलु सामूहिक र व्यक्तिगतरुपमा लगाइएको छ ।  आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ आलु स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको छ । आलुलाई लामो समयसम्म राख्नका लागि जिमुहामा नै शित भण्डारको स्थापना पनि गरिएको छ ।

कान्तिराजपथ डेढ महिना बन्द हुने

ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।  “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।  विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।  कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।  टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

सर्लाहीमा ४ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही वाग्मती नगरपालिका १० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको  चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अबैध गोली फेला परेको बताए । पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र वाग्मती नगरपालिका  ८ बस्ने वर्ष २४ को रंजित राम रहेका छन् ।  

तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन

पोखरा । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका छन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गर्नुलाई फरक हिसाबले हेरिएको छ ।  

एकीकृत समाजवादी बाहिरिएसँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । यसअगाडि नेकपा माओवादी पनि प्रदेश सरकारबाट बाहिरिएको थियो । एकीकृत समाजवादी पनि सरकारबाट बाहिर भएसँगै सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीले यस्तो जानकारी गराएपछि मुख्यमन्त्री शाहले शाहीले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ । माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताए ।

मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध

मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् । 

गण्डकीका मुख्यमन्त्रीले खोसे माओवादीतर्फका मन्त्रीको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । त्यसलाई उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा (एमाले) सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो । 

सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख पनि हुन् । कार्यालय परिसरमा रहेको क्वाटरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । ‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

पर्वतका पदम गिरी एमालेबाट सरकारमा जानेः को हुन् गिरी ?

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरी पर्वत जिल्लाबाट दोश्रो पटक मन्त्री बन्न लागेका छन्।

जाँडरक्सी खानेलाई भव्य कार्यक्रम गरी सम्मान

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले बिहीबार सुन्दै अचम्म लाग्ने कार्यक्रमको आयोजना गरेको छ । पालिकाले कुलतका कारण सामाजिक रुपमा तिरस्कार हुने गरेकाहरूलाई एकै ठाउँ जम्मा पारेर भव्य कार्यक्रम गरी सम्मान गरेको हो ।  आफ्नो क्षेत्रमा रहेर जाँडरक्सीलगायत कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरी उनीहरुलाई एकै ठाउँमा भेला गरेर सम्मान गर्नुका साथै उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको पालिकाले जनाएको छ । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । पालिकाभरका ६५ जना कुलतमा फसेका व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेको भएपनि ४० जना मात्रै उपस्थित भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा सहभागीलाई न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुट लगाईदिएर माला र खादा पहि¥याएर सम्मान गर्नुका साथै स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरिएको थियो । विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी कुलतमा गएको, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर परेको, अकालमा धेरैको ज्यान गुमेको कारण जाँडरक्सी खानेलाई होइन जाँडरक्सीलाई तिरस्कार गर्ने उदेश्यले समाजमा परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेको अध्यक्षले जानकारी दिए । जाँडरक्सी खानेलाई सम्मान गरिएको हो तर जाँडरक्सी खाएको कारणले नगरिएको पालिका अध्यक्षले जानकारी दिए ।  उनका अनुसार  जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरिएको हो । अब वडागत तहमै परिवारलाई जुटाएर यसलाई निरन्तरता दिने गाउँपालिका अध्यक्षले बताए । सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

जनयुद्दकालीन डायरीहरुमाथी नेपालगन्जमा सम्वाद हुँदै

काठमाडौं । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा बहस हुने भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो माथि नेपालगञ्जमा संबाद कार्यक्रम हुने भएको हो ।  प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा हुने सम्बादमा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गर्ने भएका छन् ।  धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गर्नेछन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गर्ने तय भएको छ ।  यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गर्ने भएका छन् ।  फागुन २३ गते बुधबार दिउसो २ बजे नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा कार्यक्रम हुने भएको छ । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए । 

धनकुटामा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

हिले । धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  मृतकको नाम खुलेको छैन । हिलेबाट चुङमाङ्ग जाँदैगरेको को २ च १६१९ नम्बरको पिकअप गाडि पाख्रिवास नगरपालिका –१० चुङमाङ्गमास्थित भारती माबि छेउमा दुर्घटना भएको हो । गाडिमा १७ जना सवार रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकवाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिए ।

दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट

काठमाडौं । दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रा।लि।का अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । आईतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराए । उनका अनुसार कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने । यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताएका छन् । यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने भएका छन् । चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन । कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुने छ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । उनले बिगत सात वर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् । यो कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी गराएक छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्ड सह आयोजक रहेको यो कार्यशालामा विधार्थीहरुले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी गराए ।