रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्नु पर्छट: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने दीर्घकालीन योजना रहेको बताउनुभएको छ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले दाङबाट सुरु भएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीन सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य रहेको भन्नुभयो। सडक स्तरोन्नति भएसँगै मैकोटसहित आसपासका क्षेत्रलाई पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।
उहाँले सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएका शहीदहरूको सम्मानमा ‘शहीद मार्ग’ निर्माणको अवधारणा अघि सारिएको स्मरण गराउनुभयो। जनयुद्धकै क्रममा दक्षिणदेखि उत्तरसम्म शहीदहरूको नाममा सडक निर्माण गर्ने प्रस्ताव आफूले राखेको र पार्टीको निर्णयपछि स्थानीयवासीले स्वेच्छिक रूपमा सडक खन्न सुरु गरेको बताउनुभयो।
शान्ति सम्झौतापछि सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यको आधिकारिक परियोजनाका रूपमा रूपान्तरण गरिएको उल्लेख गर्दै उहाँले अहिले सोहीअनुसार काम अघि बढिरहेको जानकारी दिनुभयो। अब मार्गलाई पूर्ण रूपमा कालोपत्रे गरी सहज आवागमन सुनिश्चित गर्ने र पर्यटन प्रवर्द्धनलाई गति दिने लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव अघि सारेको र त्यसका लागि बजेटसमेत विनियोजन गरिएको स्मरण गराउनुभयो। मध्यपहाडी लोकमार्गले देशका पहाडी जिल्लाहरूलाई जोड्दै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
यसैबीच, उहाँको टोली तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ र हुकाम हुँदै मैकोट पुगेको जनाइएको छ। सोमबार टोली कोल, गोलखाडा, राङ्सी, नाखाँ र जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको बताइएको छ।
मधेश पहिचानका दृढ आवाज: नेकपा उम्मेदवार मातृका प्रसाद यादव काे हुन् ?
धनुषा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारका रूपमा उभिएका मातृका प्रसाद यादव मधेशको संघर्ष, सामाजिक न्याय र समावेशीताको आन्दोलनसँग प्रत्यक्ष जोडिएका अनुभवी नेता हुन् । ६७ वर्षीय यादवको राजनीतिक जीवन व्यक्तिगत महत्वाकांक्षा भन्दा बढी सामाजिक असमानता र उपेक्षाविरुद्धको लामो संघर्षको प्रतिबिम्बका रूपमा चिनिन्छ। बिक्रम संवत २०१५ साल कार्तिक १ गते धनुषा जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिएका यादवका पिता अयोधी यादव र पत्नी प्रमिला देवी यादव हुन्। ग्रामीण परिवेशमा हुर्केका उनले प्रारम्भिक जीवनमै सामाजिक विभेद, गरिबी र अवसरको असमानताको कठोर यथार्थ अनुभव गरे। शिक्षाशास्त्रमा स्नातक गरेका यादव युवावस्थादेखि नै सामाजिक सक्रियता र न्यायको आन्दोलनतर्फ आकर्षित भए। उनी दुई दशकभन्दा बढी समय भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहे। यस क्रममा उनले पटक–पटक बन्दी जीवन समेत व्यतीत गरे। उनको राजनीतिक यात्रा तत्कालीन संरचनागत अन्यायविरुद्धको प्रतिरोध र मधेशी समुदायको पहिचान तथा अधिकारका लागि गरिएको निरन्तर संघर्षबाट निर्मित भएको हो। आन्दोलनदेखि नीति निर्माणसम्म यादवको राजनीतिक परिपक्वता नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनसँग गाँसिएको छ। सशस्त्र द्वन्द्व, जनआन्दोलन र संविधान निर्माणका महत्वपूर्ण चरणहरूमा उनले सक्रिय भूमिका निर्वाह गरे। विशेषगरी २०६३ सालको जनआन्दोलन र २०६४–२०६५ को मधेश आन्दोलनका क्रममा उनले मधेशी समुदायको पहिचान, समानुपातिक प्रतिनिधित्व र सम्मानका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान दिए। तत्कालिन नेकपा माओवादीको मधेश राष्ट्रिय मुक्ति मोर्चामा सहायक संयोजकको जिम्मेवारीमा रहँदा उनले मधेशका अधिकार र समावेशीताका मुद्दाहरूलाई सशक्त रूपमा उठाए। यसले उनलाई स्थानीय सीमाभन्दा माथि उठाएर मधेशको आवाजका रूपमा स्थापित गरायो। मन्त्रीका रूपमा विकास र समावेशीतामा जोड राजनीतिक आन्दोलनबाट राष्ट्रिय नेतृत्वमा पुगेका यादवले विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। २०६५–२०६६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रूपमा उनले भूमि अधिकार, सहकारी सशक्तीकरण र गरिबी न्यूनीकरणका कार्यक्रमहरू अघि बढाए। त्यस्तै, २०७५–२०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा उनले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकेन्द्रीकरणमा जोड दिए। ‘मेड इन नेपाल’ अभियानमार्फत स्वदेशी उद्योगको प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने प्रयास गरे। मधेशको अधिकारका लागि निरन्तर आवाज यादवको राजनीतिक पहिचान मधेशका मुद्दासँग गहिरोसँग जोडिएको छ। पहिचान, प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार र ऐतिहासिक रूपमा उपेक्षित समुदायका अधिकारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। संसद, मन्त्री परिषद् र सार्वजनिक मञ्चहरूमा उनले समावेशीतामै राष्ट्रिय एकताको आधार रहेको धारणा राख्दै आएका छन्। स्थानीय स्तरमा उनको सम्बन्ध किसान, मजदुर, युवा र सीमान्त समुदायसँग गहिरो रहेको छ। उनी जनताको बीचबाट उठेका नेता भएकाले स्थानीय समस्यालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने प्रतिनिधिका रूपमा चिनिन्छन्। वामपन्थी दर्शन र समावेशी नेपालको दृष्टिकोण वामपन्थी राजनीतिक दर्शनमा विश्वास राख्ने यादव सामाजिक न्याय, समान अवसर र समावेशीतामा आधारित संघीय नेपालको निर्माणका पक्षधर हुन्। उनको विचारमा संघीयता र लोकतन्त्र तब मात्र पूर्ण हुन्छ जब सबै समुदायले समान अधिकार र सम्मान प्राप्त गर्छन्। उनले बारम्बार जोड दिँदै आएका छन् कि नेपालको समृद्धि उपेक्षित क्षेत्र र समुदायलाई समेटेर मात्र सम्भव हुन्छ। धनुषा–१ मा उम्मेदवारी किन ? हाल नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रहेका यादव प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका छन्। लामो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र राष्ट्रिय स्तरको नेतृत्व क्षमता उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ। मधेशको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव स्थापित गरेका मातृका प्रसाद यादवको जीवनयात्रा संघर्ष, प्रतिबद्धता र समावेशी नेपालको निर्माणका लागि गरिएको निरन्तर प्रयासको कथा हो। उनका समर्थकहरूका अनुसार उनको उम्मेदवारी मधेशको आवाजलाई अझ सशक्त रूपमा संघीय संसदसम्म पुर्याउने माध्यम हुनेछ । यादवको राजनीतिक पहिचान जनस्तरसँगको निरन्तर सम्बन्धमा आधारित रहेको छ। किसान, युवा, मजदुर तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र संलग्नता उनको नेतृत्वको प्रमुख विशेषता मानिन्छ। स्थानीय मुद्दाहरूलाई राष्ट्रिय नीतिसँग जोड्ने प्रयासका कारण उनी मधेशमा लामो समयदेखि सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्। हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका यादव आफ्नो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र नीति निर्माण तहमा संलग्नताको आधारमा चुनावी प्रतिस्पर्धामा अन्य उम्मेदवारभन्दा अब्बल मानिन्छन् । मधेशको ग्रामीण परिवेशबाट सुरु भएको उनको राजनीतिक यात्रा आन्दोलन, संसद र मन्त्रीपरिषदसम्म पुगेको छ। यसले उनलाई क्षेत्रीय मुद्दा र राष्ट्रिय नीतिबीच समन्वय गर्ने अनुभवी नेताका रूपमा देखिन्छ । उनको उम्मेदवारीलाई मधेशको सामाजिक, राजनीतिक र विकाससम्बन्धी मुद्दाहरूलाई संघीय संसदमा निरन्तर उठाउने प्रयासको निरन्तरताका रूपमा हेरिएको मतदाताहरुकाे भनाइ छ ।
झापा-५ मा रञ्जित तामाङका ‘भिजन ७’ सार्वजनिक
झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले महत्वाकांक्षी पाँचवर्षे कार्ययोजना ‘झापा ५ : भिजन ७’ सार्वजनिक गरेका छन्। आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले २५ मिसन, २१ लक्ष्य र १७० गौरवका आयोजना समेटिएको विस्तृत योजना सार्वजनिक गर्दै झापा–५ लाई समृद्ध र आत्मनिर्भर निर्वाचन क्षेत्र बनाउने स्पष्ट रोडम्याप अघि सारेका हुन्। तामाङका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत रहेका २९ वटै वडामा हरेक वर्ष कम्तीमा एउटा–एउटा गौरवको योजना सञ्चालन गरिनेछ। “हरेक वडामा बर्सेनि एक गौरवको योजना सञ्चालन गर्दा पाँच वर्षमा लक्ष्य सहजै हासिल हुन्छ,” उनले भने। स्थानीय र युवा उम्मेदवारको रूपमा आफूले नयाँ पुस्ताको आकांक्षा, ऊर्जा र परिवर्तनको चाहनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई योजनाको मुख्य आधार बनाएको जानकारी दिए। गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, आधुनिक स्वास्थ्य सेवा, कृषि उद्योग प्रवर्द्धन, उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना, दिगो भौतिक पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन, सामाजिक समावेशीकरण, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने लक्ष्य ‘भिजन ७’ को केन्द्रमा रहेको उनले स्पष्ट पारे। कार्ययोजनाअनुसार २९ वडामा पाँच वर्षभित्र १४५ गौरवका आयोजना सम्पन्न गरिनेछ भने चार स्थानीय तहमा प्रत्येक वर्ष चार–चार आयोजना सञ्चालन गरी थप २० योजना कार्यान्वयन गरिनेछ। साथै सम्पूर्ण निर्वाचन क्षेत्रलाई समेट्ने गरी प्रत्येक वर्ष एक विशेष रणनीतिक योजना अघि सारिनेछ, जसअन्तर्गत पाँच वर्षमा पाँच ठूला रूपान्तरणकारी आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। तामाङले विकासका ठोस योजना र स्पष्ट दृष्टिकोणसहित आफू जनतामाझ आएको उल्लेख गर्दै झापा–५ लाई समृद्धि, रोजगारी र आधुनिक पूर्वाधारको केन्द्र बनाउने दृढता व्यक्त गरे। झापा क्षेत्र नं. ५ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको भए पनि तामाङले योजनामुखी एजेन्डा र दीर्घकालीन दृष्टिकोणका आधारमा आफू मतदाताको विश्वास जित्नेमा विश्वस्त रहेको बताए। निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा विकास, योजना र भविष्यको मार्गचित्रलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ।
प्रवासबाट उठ्यो ‘तारा’को आवाजः पाँचथरका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’लाई जिताउन विश्वभरका पाँचथरेली एकजुट
पाँचथर । भौगोलिक दूरी हजारौं किलोमिटर टाढा भए पनि मन, भावना र प्रतिबद्धता भने एउटै लक्ष्यमा केन्द्रित देखियो—पाँचथरको भविष्य निर्माण। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हर्क बहादुर नेम्बाङ ‘मिक्सो’को पक्षमा विश्वका विभिन्न मुलुकमा रहेका पाँचथरेली प्रवासीहरू अभूतपूर्व रूपमा एकजुट भएका छन्। प्रवासमा रहेका नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूलाई एउटै प्लेटफर्ममा जोड्दै आयोजित भर्चुअल अन्तरक्रियाले पाँचथरको चुनावी माहोललाई नयाँ ऊर्जा प्रदान गरेको छ। महान जनयुद्ध दिवसको सन्दर्भ पारेर फागुन १ गते शुक्रबार साँझ जुममार्फत सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम केवल औपचारिक संवाद मात्र थिएन, यो पाँचथरको भविष्यप्रति प्रवासीहरूको गहिरो चासो, प्रतिबद्धता र भावनात्मक सम्बन्धको सशक्त अभिव्यक्ति थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी उम्मेदवार नेम्बाङले आफ्नो उम्मेदवारीको उद्देश्य, पाँचथरको विकासका लागि तयार पारिएको दृष्टिकोण र निर्वाचन तयारीबारे विस्तृत रूपमा धारणा राख्दै प्रवासमा रहेका पाँचथरेलीलाई आफ्नो परिवार, आफन्त र समुदायसँग समन्वय गर्दै ‘तारा’ चिन्हमा मतदान सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले प्रवासमा रहेका नेपालीहरू केवल दर्शक नभई परिवर्तनका सह–निर्माता भएको उल्लेख गर्दै डिजिटल माध्यममार्फत प्रचार–प्रसार, जनसम्पर्क र जनमत निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। “आज प्रवासमा रहेका पाँचथरेलीहरू पाँचथरको विकास यात्राका साझेदार हुन्। तपाईंहरूको विश्वास, सहयोग र सक्रियताले पाँचथरलाई नयाँ युगतर्फ अघि बढाउन सक्छ,” उनले भावुक अपिल गरे। कार्यक्रममा पार्टीका नेता, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य कमल प्रसाद जवेगुले पनि सम्बोधन गर्दै हर्क नेम्बाङ ‘मिक्सो’ पाँचथरका लागि समर्पित, निष्ठावान र जनताको विश्वास जित्न सफल नेतृत्व भएको बताए। उनले नेम्बाङको लामो राजनीतिक अनुभव, जनतासँगको गहिरो सम्बन्ध र विकासप्रतिको स्पष्ट दृष्टिकोणले पाँचथरलाई स्थायित्व र समृद्धितर्फ डोर्याउने विश्वास व्यक्त गरे। अन्तरक्रियामा जापान, दक्षिण कोरिया, युरोपका विभिन्न देश, साउदी अरेबिया, कतार, दुबई र अमेरिका लगायतका मुलुकमा कार्यरत पाँचथरेली प्रवासीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले प्रवासमा रहे पनि आफ्नो जन्मभूमिप्रति उत्तरदायित्व बोध गर्दै आगामी निर्वाचनमा नेकपाका उम्मेदवार नेम्बाङलाई विजयी गराउन संगठित रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए। प्रवास संगठन जापानका सचिव सुजन आङ्बो लिम्बुले प्रवासमा रहेका युवाहरूले नेम्बाङलाई इमान्दार, सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा लिएको उल्लेख गर्दै उहाँको विजय सुनिश्चित गर्न प्रवासबाटै समन्वित अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र पारिवारिक सञ्जालमार्फत व्यापक जनसम्पर्क अभियान अगाडि बढाइनेछ। कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला इन्चार्ज सिता थेवे र जिल्ला संयोजक विशाल रसाइलीले गरेका थिए। नेपाली कम्युनिष्ट पार्टी पाँचथर निर्वाचन प्रचार–प्रसार समिति (प्रवास) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले प्रवास र मातृभूमिबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै निर्वाचन अभियानलाई थप गतिशील बनाएको सहभागीहरूको निष्कर्ष थियो। प्रवासमा रहेर पनि आफ्नो माटोको भविष्यप्रति गहिरो चासो राख्ने पाँचथरेलीहरूको सक्रियता र एकता, उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’प्रति देखिएको विश्वास र समर्थनले आगामी निर्वाचनमा नयाँ राजनीतिक सन्देश प्रवाह गरेको छ। भर्चुअल माध्यमबाट सुरु भएको यो अभियान अब घर–घर, टोल–टोल र समुदायसम्म फैलिँदै गएको छ—जहाँ प्रवासबाट उठेको आवाजले पाँचथरको भविष्य निर्माणको यात्रालाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
शहीदको सम्मानदेखि जनताको विश्वाससम्म: बागलुङ–२ मा ज्ञामनाथ गैरेको अभियानले ल्यायो नयाँ ऊर्जा
बागलुङ । महान जनयुद्धको ३१औँ वार्षिकोत्सवको ऐतिहासिक अवसरलाई जनताको भावना र परिवर्तनको संकल्पसँग जोड्दै ज्ञामनाथ गैरे ले बागलुङ क्षेत्र नम्बर–२ मा आफ्नो चुनावी अभियानलाई अझ सशक्त र जनमुखी बनाएका छन्। शहीदप्रतिको सम्मान, जनतासँगको प्रत्यक्ष संवाद र विकासप्रतिको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको उनको अभियानले यतिबेला बागलुङ–२ मा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। शहीद स्तम्भमा श्रद्धाञ्जली, परिवर्तनको संकल्प पुनः दोहोर्याइयो अभियानको सुरुवात निशिखोला गाउँपालिका–झिंवाखोलास्थित ऐतिहासिक शहीद स्तम्भमा माल्यार्पण गर्दै गरिएको थियो। महान जनयुद्धका अमर शहीद कमरेड सनबहादुर घर्ती (मनोज), धनकुमार चन्द र निर्मल चन्दले सहादत प्राप्त गरेको सो स्थलमा पुगेका गैरेले शहीदहरूको योगदानलाई स्मरण गर्दै भावुक बनेका थिए। श्रद्धाञ्जली अर्पणपछि बोल्दै उनले भने, “शहीदहरूको बलिदान केवल विगतको स्मृति मात्र होइन, यो हाम्रो वर्तमानको मार्गदर्शक र भविष्यको प्रेरणा हो। उहाँहरूले देखाउनुभएको परिवर्तनको बाटोलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता र समृद्धिको लक्ष्य पूरा गर्नु नै हाम्रो प्रमुख दायित्व हो।” उनले जनयुद्धले नेपाली समाजमा ल्याएको राजनीतिक चेतना, समावेशीता र जनअधिकारको उपलब्धिलाई अझ मजबुत बनाउँदै जनताको जीवनस्तरमा ठोस सुधार ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याए। निगलपानीमा अभूतपूर्व जनसहभागिता, विकासप्रतिको स्पष्ट योजना श्रद्धाञ्जली कार्यक्रमपछि गैरेको टोली बडिगाड गाउँपालिका–१० निगलपानी पुगेको थियो, जहाँ आयोजित जनभेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य र उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रम स्थलमा उपस्थित सयौँ स्थानीयले गैरेलाई स्वागत गर्दै विकास र परिवर्तनको नेतृत्व गर्ने सक्षम उम्मेदवारका रूपमा समर्थन व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले बागलुङ–२ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना प्रस्तुत गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक सञ्जाल विस्तार, खानेपानी व्यवस्थापन र युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। उनले दृढतापूर्वक भने, “बागलुङ–२ अब पछि फर्किने छैन। अब यहाँ विकासको नयाँ अध्याय सुरु हुनेछ। जनताको आवश्यकता, जनताको सपना र जनताको भविष्यलाई केन्द्रमा राखेर हामी काम गर्नेछौं। यो चुनाव केवल एउटा पदको लागि होइन, यो जनताको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर हो।” जनताका मागप्रति संवेदनशील प्रतिबद्धता जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानीको दीर्घकालीन समाधान, ग्रामीण सडकको स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण र युवाका लागि रोजगारी सिर्जनाको माग राखेका थिए। गैरेले ती सबै मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने बताए। स्थानीय अगुवा र सर्वसाधारणले गैरेको सरलता, स्पष्ट दृष्टिकोण र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई उनको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। “उहाँ जनताको बीचमा हुनुहुन्छ, जनताको कुरा सुन्नुहुन्छ र समाधानका लागि स्पष्ट योजना पनि दिनुहुन्छ,” एक स्थानीयले बताए। गठबन्धनको बलियो साथ, जितप्रतिको जनविश्वास बढ्दो यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी गठबन्धनले गैरेको अभियानलाई थप बल प्रदान गरेको छ। वामपन्थी शक्तिहरूको एकताले परिवर्तन, विकास र स्थायित्वको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। जनयुद्ध दिवसको भावनात्मक वातावरण, शहीदप्रतिको सम्मान र जनतासँगको निरन्तर संवादले गैरेलाई जनताको मनमा अझ नजिक बनाएको छ। गाउँ–गाउँमा पुगेको उनको अभियानले बागलुङ–२ मा परिवर्तनको आशा र उत्साह थपिएको स्थानीयले बताएका छन्। जनताको बीचमा, जनताको लागि समर्पित नेतृत्व शहीद स्मरणदेखि जनताको घरदैलोसम्म निरन्तर सक्रिय देखिएका ज्ञामनाथ गैरे यतिबेला बागलुङ–२ मा परिवर्तन, विकास र जनविश्वासका प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्। जनताको आवश्यकता बुझ्ने, स्पष्ट योजना प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति भएका उम्मेदवारका रूपमा उनको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई निर्णायक दिशातर्फ अघि बढाएको छ। स्थानीय बासिन्दाहरूको भनाइमा, “यो अभियान केवल चुनाव जित्ने अभियान होइन, यो बागलुङ–२ को समृद्ध भविष्य निर्माण गर्ने अभियान हो।”
माेरङ-१ मा नेकपाका उम्मेदवार कुशल लिम्बूको पक्षमा जनलहर, तीव्र चुनावी अभियानमा जनताको साथ बढ्दाे
उर्लाबारी । मोरङ–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कुशल लिम्बूको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । विकासमुखी स्पष्ट एजेन्डा, जनतासँगको प्रत्यक्ष सम्बन्ध र परिणाममुखी कार्यशैलीका कारण लिम्बूको पक्षमा व्यापक जनसमर्थन देखिन थालेको हो । नेकपाका उम्मेदवार लिम्बू यतिबेला गाउँ–गाउँ पुगेर घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिनुभएको छ । जनताको घरदैलोमै पुगेर स्थानीय समस्या प्रत्यक्ष सुन्ने, तत्काल समाधानका लागि पहल गर्ने र दीर्घकालीन विकासको स्पष्ट खाका प्रस्तुत गर्ने उहाँको शैलीले मतदातामाझ नयाँ आशा जगाएको छ । स्थानीयवासीहरूका अनुसार लिम्बू विगतदेखि नै सडक विस्तार, स्वच्छ खानेपानीको व्यवस्था, गुणस्तरीय शिक्षा र सामाजिक पूर्वाधार विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आउनुभएको प्रतिबद्ध र काम गर्ने नेता हुनुहुन्छ । “कागजमा होइन, व्यवहारमा विकास देखिनुपर्छ” भन्ने स्पष्ट दृष्टिकोणसहित उहाँ मतदातामाझ पुग्नुभएको छ, जसले उहाँप्रति विश्वास अझ बलियो बनाएको छ । “काम गर्ने, परिणाम देखाउने नेतृत्व आवश्यक छ” भन्ने नारासहित लिम्बूको चुनावी टोली यतिबेला टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेको छ । जनताको आवश्यकता र अपेक्षामा आधारित विकास मोडेल प्रस्तुत गर्दै पहुँचयोग्य, जिम्मेवार र जनमुखी नेतृत्वको परिचय दिनुभएको भन्दै मोरङ–१ मा उहाँको पक्षमा उत्साहजनक माहोल सिर्जना भएको छ । स्थानीय मतदाताहरूले विकासप्रति स्पष्ट दृष्टिकोण, इमानदार प्रतिबद्धता र जनतासँग नजिकको सम्बन्धका कारण यस पटक नेकपाका उम्मेदवार कुशल लिम्बूलाई विजयी गराएर क्षेत्रको समग्र विकासको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन् ।
जनताको छोरा विश्वदीप मैदानमा: रुपन्देही–२ मा विजयको लहर
रुपन्देही । नेपाली कम्युनिष्ट आन्दोलनको गौरवशाली विरासत, जनसंघर्षको बलियो आधार र आधुनिक राजनीतिक दृष्टिकोणलाई आत्मसात् गर्दै युवा नेता शुभाष पाण्डे ‘विश्वदीप’ रुपन्देही–२ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ को मैदानमा उत्रिएसँगै क्षेत्रभर विजयको लहर देखिन थालेको छ । जनताको अधिकार, न्याय र समतामूलक समाज निर्माणका लागि जीवन समर्पित गर्ने अग्रज नेता भक्तिप्रसाद पाण्डे ‘चाचा’ का सुपुत्र विश्वदीप आज त्यही गौरवशाली विरासतलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्पका साथ जनताको बीचमा उभिएका छन् । राजनीति उनका लागि अवसर होइन, जिम्मेवारी हो । जनताको पीडा, संघर्ष र आकांक्षासँग प्रत्यक्ष जोडिएको जीवन अनुभवले उनलाई स्वाभाविक रूपमा जनताको नेता बनाएको छ । त्यसैले आज रुपन्देही–२ का गाउँ, टोल, बस्ती र चोक–चोकमा विश्वदीपप्रति अभूतपूर्व उत्साह र भरोसा देखिएको छ । संघर्षको विरासतबाट निर्माण भएको नेतृत्व वि.सं. २०४३ असोज १२ गते अर्घाखाँचीमा जन्मिएका विश्वदीपको बाल्यकाल राजनीतिक चेतना र जनसंघर्षको वातावरणमा बित्यो । जन्मेको केही महिनामै परिवार रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा बसाइँ सरेपछि त्यहीँबाट उनको जीवनको यात्रा अगाडि बढ्यो । उनका पिता ‘चाचा’ रुपन्देहीमा मजदुर अधिकार, सुकुम्बासीको न्याय र सामाजिक समानताका लागि अग्रपंक्तिमा उभिने निर्भीक नेता थिए । यही प्रेरणाले विश्वदीपलाई सानैदेखि जनताको पक्षमा उभिने साहस र प्रतिबद्धता प्रदान गर्यो । बुटवलका प्रतिष्ठित विद्यालयहरूबाट विद्यालय शिक्षा पूरा गरेका उनले काठमाडौँस्थित रत्नराज्य लक्ष्मी क्याम्पस बाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक अध्ययन सम्पन्न गरेका छन् । अध्ययन, अनुसन्धान, लेखन र संगठन निर्माणमा सक्रिय विश्वदीप विचार र व्यवहार दुवैमा परिपक्व नेताका रूपमा स्थापित भएका छन् । राज्य सञ्चालनको अनुभव र राष्ट्रिय नेतृत्वसँग सहकार्य विश्वदीपले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनका महत्वपूर्ण चरणहरूमा प्रत्यक्ष भूमिका निर्वाह गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई को सचिवालयमा लामो समय कार्यरत रहँदै उनले प्रधानमन्त्री तथा अर्थमन्त्री कार्यालयमा स्वकीय सचिव र सल्लाहकारको जिम्मेवारी सफलतापूर्वक सम्हाले । त्यसैगरी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा युवा तथा सामाजिक विकास विज्ञका रूपमा योगदान दिँदै उनले राज्य सञ्चालनको महत्वपूर्ण अनुभव आर्जन गरे । हाल उनी नेपाली कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्यका रूपमा सक्रिय छन् । संगठन निर्माण, जनसम्पर्क र वैचारिक अभियानमा उनको भूमिका प्रभावकारी मानिन्छ । अन्तर्राष्ट्रिय अनुभवले सशक्त बनेको दृष्टिकोण विश्वदीपले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिनिधित्व गर्दै कूटनीतिक र विकास सम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेका छन् । दुबईमा आयोजित कोप–२८ सम्मेलनदेखि चीनको एशियाली खेलकुद उद्घाटन समारोहसम्म नेपाल सरकारको प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागी भएका उनले अमेरिका, अष्ट्रेलिया, युरोप, एशिया र अफ्रिकाका विभिन्न देशहरूको भ्रमण गरिसकेका छन् । यसले उनलाई आधुनिक विकास मोडल, सुशासन र समृद्धिको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा प्रयोग गर्ने दृष्टिकोण प्रदान गरेको छ । जनताको विश्वास जित्दै अघि बढ्दै आज रुपन्देही–२ का जनताले विश्वदीपलाई केवल उम्मेदवारका रूपमा होइन, आफ्नै घर–आँगनमा हुर्किएको, आफ्नै पीडा बुझेको र आफ्नै भविष्य निर्माण गर्न सक्षम प्रतिनिधिका रूपमा हेर्न थालेका छन् । जनताको बीचमा पुगेर समस्या सुन्ने, समाधानका लागि प्रतिबद्ध रहने र परिणाममुखी नेतृत्व दिने उनको शैलीले उनलाई जनताको सच्चा प्रतिनिधिका रूपमा स्थापित गरेको छ । जनसंघर्षको विरासत, राज्य सञ्चालनको अनुभव, अन्तर्राष्ट्रिय दृष्टिकोण र युवाशक्तिको ऊर्जा समेटेका शुभाष पाण्डे ‘विश्वदीप’ आज रुपन्देही–२ मा परिवर्तन, भरोसा र विजयको प्रतीकका रूपमा उदाएका छन् । जनताको छोरा विश्वदीपप्रति बढ्दो समर्थनले रुपन्देही–२ मा नयाँ इतिहास लेखिने संकेत स्पष्ट देखिएको छ ।
देशभरका बौद्धिक वर्गको एउटै आवाज: डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र, जिताउन माग
खोटाङ । अर्थ तथा वाम राजनीतिक विश्लेषक हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएसँगै जिल्लाको चुनावी माहोल तातिएको छ। यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो। डा. रोका उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएसँगै देशभरका बौद्धिक वर्गले शुभकामना दिँदै जिताएर पठाउन खोटाङ्गे मतदातालाई आह्वान गरिरहेका छन्। अर्थशास्त्री पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, लेखक/साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्यचिकित्सक कृष्णकुमार राई ‘केके’, लेखक/साहित्यकारहरू विष्णु राई र नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका बौद्धिक व्यक्तित्वहरूले डा. रोकाप्रति शुभेच्छा प्रकट गर्दै जिताएर पठाउन आह्वान गरिरहेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश तथा स्टाटस लेखेर अपलोड गर्दै बौद्धिक वर्गहरूले विश्वले चिनेका डा. रोकालाई आगामी निर्वाचनमा खोटाङ्गे मतदाताले नचिन्नु दुर्भाग्य हुने बताएका छन्। डा. रोका राजनीति, वैकल्पिक अर्थतन्त्र र सामाजिक परिवेश बुझेका व्यक्ति भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएर पठाउन खोटाङका उपयुक्त उम्मेदवार भएको उनीहरूको दाबी छ। पछिल्लो केही दशक कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरही लेखन तथा अनुसन्धानमा सक्रिय रहनुभएका डा. रोका आगामी निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्वसांसद तथा मन्त्रीहरूले साथ दिनुभएको छ। दिक्तेल बजारस्थित किरातचोकबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्वसांसद टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेश सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्व सामाजिक विकास मन्त्री राजन राईले साथ दिनुभएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँस्थित खुतुम्बु निवासी डा. रोकालाई नेकपाले निर्वाचनपछि बन्ने सङ्घीय सरकारको अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको समाचार स्रोतले जनाएको छ। खुतुम्बुका स्थानीयवासी मेघबहादुर रोका र विष्णुमायाँ रोकाका कान्छा सन्तानका रूपमा वि.सं. २०१६ असोज–१५ गते जन्मनुभएका डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ। वि.सं. २०३४ सालदेखि वामपन्थी राजनीति तथा लेखनमा सक्रिय डा. रोकाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएपछि पार्टी नेता तथा कार्यकर्ताहरू उत्साहित बनेका छन्। वि.सं. २०३१ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका डा. रोकाले वि.सं. २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उत्तीर्ण गर्नुभएको हो। राजनीतिक काममा सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौ महिना जेल जीवन बिताउनुभएका डा. रोका आठ महिना हिरासतमा समेत बस्नुभएको थियो। चार वर्षदेखि गाउँमै कृषि गरिरहनुभएका डा. रोकाले कृषकको पक्षमा सदनमा कुरा उठाएर नीतिगत सुधार गर्न आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ। उम्मेदवार डा. रोकाले कस्तो खालको कृषि गर्दा उन्नति हुन्छ र कस्तो नीति आवश्यक पर्छ भन्ने विषयमा आफूले प्रत्यक्ष अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा सधैं बोल्ने र लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। डा. रोकाले सामान्य किसानसँग मिल्न र उनीहरूको भावना बुझ्नकै लागि आफूले पिएचडी गरे पनि नामको अगाडि ‘डा.’ नलेखेको जानकारी दिनुभएको छ। दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेकपाका डा. रोकासहित दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा, काँग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन्। यद्यपि, उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा होमिएका सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्धारण गरिएका मतदान स्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्य श्रेणीमा राखी मतदाताको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ। आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएका छन्। वि.सं. २०७९ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४७ दशमलव २१ प्रतिशत मात्र मत खसेको थियो।
पर्वतकाे महाशिलामा विकासको स्पष्ट रोडम्याप लिएर पुगे तिमिल्सिना, जनताले भने-‘अब नेतृत्व बदलिनै पर्छ’
पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाको चुनावी अभियान पर्वतमा आशा र विश्वासको लहरसहित अघि बढिरहेको छ । गाउँ–गाउँ, घर–घरमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका तिमिल्सिनालाई महाशीला गाउँपालिकामा स्थानीयले खुलेर समर्थन जनाउँदै “अब पर्वतलाई नयाँ सोच, नयाँ अनुहार र परिणाम दिने नेतृत्व चाहिएको छ” भन्ने सन्देश दिएका छन् । महाशिलाको उकालो चढ्दै घरदैलोमा पुगेका तिमिल्सिनालाई स्थानीय बासिन्दाले आत्मीय स्वागत गर्दै विकासका ठोस योजना सुन्ने उत्सुकता देखाए । मतदातासँग हात मिलाउँदै उनले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए । “पर्वत परिवर्तनको प्रतीक्षामा छ,” उनले भने, “अब भाषण होइन, काम देखिने समय आएको छ । जनताले दिएको यो विश्वासलाई म कुनै हालतमा निराश हुन दिनेछैन ।” राजनीतिलाई आरोप–प्रत्यारोप र गाली–गलौजको दलदलबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै तिमिल्सिनाले संसद समाधान, नीति र विकासको केन्द्र बन्नुपर्ने स्पष्ट धारणा राखे । जनताले मत दिएर पठाएपछि उनीहरूलाई गर्व हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू केवल चुनाव जित्न होइन, पर्वतको भविष्य निर्माण गर्न मैदानमा उत्रिएको बताए । महाशीला क्षेत्र अपार सम्भावनाले भरिएको भूमि भएको उल्लेख गर्दै तिमिल्सिनाले यहाँको समृद्धिको ढोका खोल्ने स्पष्ट खाका प्रस्तुत गरे । फलामखानी उत्खननलाई रोजगारी र आर्थिक आत्मनिर्भरताको आधार बनाउने, महाशिलाको चिया खेतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा रूपान्तरण गर्ने, कृषि तथा पशुपालनमा जनमुखी वृहत कार्यक्रम ल्याएर युवालाई गाउँमै रोजगारी दिने योजना उनले अघि सारे । त्यसैगरी, चिसापानी मन्दिर, एशियाकै सबैभन्दा ठूलो शिलामध्ये एक मानिने ऐतिहासिक महाशिला लगायतका धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदालाई विश्व पर्यटनसँग जोड्दै महाशिलालाई अन्तर्राष्ट्रिय पर्यटन हवका रूपमा विकास गर्ने दृढ संकल्प उनले व्यक्त गरे । लुङ्खु देउरालीलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, बहुलजातीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने, ग्रामीण भेगमा सञ्चालित होम–स्टेहरूलाई व्यवस्थित र स्तरोन्नति गर्ने तथा महाशिलालाई पक्का सडकसहितको रिङरोडले जोड्ने योजना तिमिल्सिनाको प्राथमिकतामा रहेको उनले बताए । पर्वतको दीर्घकालीन समृद्धिलाई संस्थागत गर्न तिमिल्सिनाले ‘पर्वत विकास सम्मेलन’को अवधारणा अघि सारेका छन् । उनका अनुसार जिल्लाभरिका नागरिक, विज्ञ र सरोकारवालाको सुझाव संकलन गरी कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई समेट्ने ठोस विकास एजेन्डा कार्यान्वयनमा ल्याइनेछ । घरदैलो अभियानमा देखिएको उत्साह, भीड र समर्थनले पर्वतको चुनावी माहोल तातेको छ । प्रत्यक्ष संवाद, स्पष्ट भिजन र परिणाममुखी नेतृत्वको सन्देशसहित मैदानमा उत्रिएका मनहरी तिमिल्सिना अहिले पर्वतमा ‘आशाको विकल्प’का रूपमा स्थापित हुँदै गएका छन् ।
सुनसरी–१ मा नेकपाका उम्मेदवार भट्टराईको प्रतिबद्धता पत्र सार्वजनिक
धरान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। नेकपाले बिहीबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उम्मेदवार भट्टराईका स्थानीय आवश्यकतामा केन्द्रित १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो। प्रतिबद्धता पत्रको पहिलो बुँदामै नीति निर्माण, नीतिगत सुधार र संविधानको सुदृढीकरण लाई प्राथमिकतामा राखिएको छ। प्रतिबद्धता पत्रमा नेपालको संविधान २०७२ लाई जनताको चाहना र आकांक्षाअनुसार संशोधन गर्न पहल गर्ने, संविधान तथा ऐन–कानुनमा विद्यमान विभेदकारी व्यवस्थाको अन्त्यका लागि ठोस कदम चाल्ने विषय उल्लेख गरिएको छ। पूर्वाधारमा राष्ट्रिय गौरवका योजना भौतिक पूर्वाधारतर्फ धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजना का रूपमा सूचीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन पहल गर्ने उल्लेख छ। साथै बाङ्गे धरान, कालाबञ्जार धरान, रामधुनी–धरान जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने, बक्लौरी–मनिसुन्दर झोडा–३० बिघे–नुनीगाउँ हुँदै नगर अस्पताल जोड्ने सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी सेउती, सर्दु, अधेरी र सेरा खोलामा तटबन्धनसहित करिडोर निर्माणलाई पूर्णता दिने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। पर्यटन, संस्कृति र पहिचानको संरक्षण पर्यटनतर्फ सुनसरी–१ भित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने, सुम्निमा–पारुहाङ, सावायेहाङ–भाङ्भे परियोजना, थाउजेन बिग बुद्ध निर्माण, तथा आदिवासी जनजाति बहुजातीय संग्रहालय को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन संघीय सरकारसँग ठोस पहल गर्ने उल्लेख छ। कृषि, शिक्षा र युवामा रोजगारी कृषि क्षेत्रको आधुनिकीकरणका लागि नीतिगत तथा व्यवहारिक सुधार गर्ने, धरान ४, ५ र ६ मा बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्ने, बराहक्षेत्र–१ र धरान–२० लाई अदुवा, बेसार र तेजपत्ताका पकेट क्षेत्र का रूपमा विकास गर्ने योजना अघि सारिएको छ। शिक्षा तथा नवयुवातर्फ आईटी पार्क निर्माण, विश्वस्तरीय सूचना प्रविधिमा स्थानीय पहुँच विस्तार, र जेन–जी युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्य, खेलकुद र खानेपानी स्वास्थ्यतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई थप सुविधासम्पन्न विश्वविद्यालय तथा प्रविधियुक्त अस्पतालका रूपमा विकास गर्ने, एमबीबीएस तहमा विदेशी कोटा पुनःस्थापना, तथा सुनसरी–१ का लागि अध्ययन कोटा निर्धारण गर्न पहल गर्ने विषय समावेश गरिएको छ। सुनसरी–१ लाई खेलकुद हब का रूपमा विकास गर्ने र खानेपानीको दीर्घकालीन समाधान का लागि स्रोत पहिचान गरी दिगो व्यवस्थापनमा जोड दिइएको छ। शहरी विकास र सामाजिक न्याय धरान वडा नं. ५ र ६ लाई नयाँ टाउन प्लानिङ सिटी का रूपमा विकास गर्न गुरुयोजना तयार गर्ने, फोहोर व्यवस्थापनलाई दीर्घकालीन र वातावरणमैत्री बनाउने योजना पनि समेटिएको छ। साथै वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासी लाई मानवीय, कानुनी र व्यवहारिक आधारमा जमिन तथा आवासको हक सुनिश्चित गर्न, भोगचलनका आधारमा धनीपूर्जा वितरण प्रक्रिया सरल र सहज बनाउने नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका अतिरिक्त भूपू सैनिक तथा प्रहरी, भाषा–साहित्य, संस्कृति र पहिचान, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिक का सवालमा पनि विशेष प्रतिबद्धताहरू सार्वजनिक गरिएको छ।
‘आफु पुल बन्न आएको सुनसरी–१ का नेकपा उम्मेदवार भट्टराईको दाबी
धरान । “म संसद् पुग्न मात्रै होइन, सुनसरी–१ का मान्छे–मान्छे, भूगोल–भूगोल र भावना–भावना जोड्ने पुल बन्न आएको हुँ,” यही दाबीका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा मनोज भट्टराई सुनसरी–१ को चुनावी मैदानमा उत्रिएका छन् । धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकाले बनेको यो निर्वाचन क्षेत्र भौगोलिक रूपमा नजिक भए पनि मनोवैज्ञानिक दूरी अझै बाँकी रहेको उनी ठान्छन् । ‘सर्दु वारि’ र ‘सर्दु पारि’ भन्ने सोचलाई अन्त्य गर्दै साझा भविष्य निर्माण गर्ने उनको संकल्प नै चुनावी अभियानको मूल सार बनेको छ । मनोज भट्टराईको वास्तविक नाम सूर्यबहादुर भट्टराई हो । तर राजनीति र समाजमा उनी मनोज भट्टराईकै नामले चिनिन्छन् । तत्कालीन नेकपा (माओवादी) को कठिन संघर्षले जन्माएको नेतृत्व हुन् उनी । यही संघर्ष र जनविश्वासको बलमा उनी २०७४ र २०७९ गरी दुईपटक धरान–१७ का वडाध्यक्ष निर्वाचित भए । विशेषतः २०७४ को स्थानीय निर्वाचनमा धरानमा माओवादीको तर्फबाट जितको खाता खोल्ने उम्मेदवारको रूपमा उनको नाम उल्लेखनीय रह्यो । दुई कार्यकालको वडाध्यक्ष अनुभवले उनलाई परिणाममुखी र जवाफदेही नेतृत्वका रूपमा स्थापित गराएको छ । धरान–१७ को रेल्वेचोकलाई बगैचासहितको चार लेन सडकमा रूपान्तरण गर्नु, करिब ६ करोड बजेटमा सरस्वती ढल तथा करिडोर निर्माण गर्नु र धरानकै एकमात्र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्नु उनका प्रमुख उपलब्धिमध्ये पर्छन् । वडाध्यक्षका रूपमा पाउने सेवा–सुविधा नलिएर राज्यको राजस्वमा जम्मा गर्नु उनको राजनीतिक नैतिकताको उदाहरणका रूपमा लिइन्छ । कोभिड–१९ महामारीका बेला उनले सचेत नागरिक समाज धरान–१७ सँग सहकार्य गर्दै खाद्यान्न वितरण, क्वारेन्टाइन व्यवस्थापन र अप्ठ्यारोमा परेका ३ सय ५० जनालाई ४६ दिनसम्म दैनिक खाना खुवाउने जिम्मेवारी निभाए । संकटको समयमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण उनले त्यतिबेला प्रस्तुत गरे । संस्थागत रूपमा उनी खानेपानी व्यवस्थापन बोर्डका सदस्य, रेडक्रसका सक्रिय अभियन्ता, सुनसरी जिल्ला जुडो संघका अध्यक्ष, धरान उपमहानगरपालिकाका प्रवक्ता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रदेश सदस्यसमेत रहे । यी सबै जिम्मेवारीले उनी प्रशासन, समाज र राजनीति तीनै तहमा खारिएका नेता भएको संकेत गर्छन् । आज यही अनुभव बोकेर उनी प्रतिनिधिसभामा ठूलो भूगोल र जिम्मेवारी सम्हाल्ने तयारीमा छन् । निर्वाचन जित्ने आधार के हो भन्ने प्रश्नमा उनी भन्छन्, “जनताको माया, विश्वास र मैले गरेको कामप्रतिको जवाफदेहिता नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।” उनका मुख्य चुनावी मुद्दा ‘फिजिकल कनेक्टिभिटी’ र ‘स्पिरिचुअल कनेक्टिभिटी’ हुन् । सडक सञ्जाल विस्तार, धरान–बराहक्षेत्र–रामधुनीलाई मजबुत भौतिक संरचनाबाट जोड्नु उनको फिजिकल कनेक्टिभिटीको एजेन्डा हो । “भूगोल जोडिएपछि मन पनि आफैं जोडिन्छ,” उनी भन्छन् । स्पिरिचुअल कनेक्टिभिटीअन्तर्गत उनले धरान–१४ का दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा, धरान–२० को विष्णुपादुका, बराहक्षेत्रको बराह मन्दिर र रामधुनीको रामधुनी मन्दिरलाई एउटै धार्मिक सर्किटमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन् । यसले सांस्कृतिक एकता र स्थानीय अर्थतन्त्र दुवैलाई बलियो बनाउने उनको विश्वास छ । धरान–२० लाई पहाडी वडाका रूपमा संरक्षण गर्दै प्राकृतिक सौन्दर्य जोगाउने, धरान–१४ लाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने र किरात इतिहाससँग जोडिएको दरबार क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि उनको एजेन्डामा छ । उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उनले समान प्राथमिकतामा राखेका छन् । केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गर्दै सुनसरी–१ लाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने लक्ष्य उनीसँग छ । साथै, वन, प्राकृतिक तालहरूको संरक्षण, साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रवर्द्धन, खानेपानी अभाव र सुकुम्बासी समस्याको व्यवस्थापन पनि उनका प्रतिबद्धता हुन् । धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्दै तमोरको पानी ल्याउने दीर्घकालीन सोच पनि उनले अघि सारेका छन् । २०४० सालमा तिलकबहादुर भट्टराई र कृष्णकुमारी भट्टराईको दोस्रो सन्तानका रूपमा धरान–१७ मै जन्मिएका मनोज भट्टराई यहीँ हुर्किए, यहीँ पढे र यहीँबाट जनप्रतिनिधि बने । अन्तरजातीय विवाह गरेका उनी तीन सन्तानका पिता हुन् । धरानमा उनका बराजु पुस्ताको पसिना र इतिहास मिसिएको छ । यही माटो, यही मान्छे र यही अनुभूतिको बलमा उनी आज सुनसरी–१ का मतदातासामु आग्रह गर्छन्-“मलाई भोट दिनुहोस्, म संसद्मा पुगेर भूगोल मात्र होइन, तपाईंहरूको मन जोड्ने पुल बन्नेछु ।”
पर्वतका जनताको भरोसालाई परिणाममा बदल्छु: नेकपा उम्मेदवार तिमिल्सिना
पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यका सबैभन्दा कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले जनताको विश्वास र समर्थनलाई ठोस काम र परिणाममार्फत प्रमाणित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। पर्वतको कुस्मामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनसंवाद कार्यक्रम मा बोल्दै तिमिल्सिनाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिले जिल्लाका मतदातामा नयाँ उत्साह, आशा र भरोसा जागेको बताए । कार्यक्रममा संयोजक प्रचण्डले पर्वतको समग्र विकासका लागि अघि सारेका प्रतिबद्धता व्यवहारमा उतार्न आफू निरन्तर क्रियाशील रहने जनाउँदै तिमिल्सिनाले पर्वतेली जनतालाई तारा चिन्ह मा मतदान गर्न आग्रह गरे । उनले संयोजक प्रचण्डप्रति आभार व्यक्त गर्दै भने, “पार्टी नेतृत्वले देखाएको भरोसा र जनताले दिएको समर्थनलाई म कामबाटै पुष्टि गर्नेछु।” तिमिल्सिनाले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै युवाको ऊर्जालाई जिल्लाको समृद्धिसँग जोड्ने योजना प्रस्तुत गरे। “यहाँहरूको साथ, सुझाव र विश्वासले हाम्रो अभियानलाई अझ मजबुत बनाएको छ। पर्वतलाई समावेशी विकासको नमुना जिल्ला बनाउने मेरो लक्ष्य हो,” उनले भने। कुनै व्यक्ति, वर्ग वा समुदायप्रति आग्रह–पूर्वाग्रह नराखी समग्र पर्वतको हितका लागि उम्मेदवारी दिएको स्पष्ट पार्दै तिमिल्सिनाले समभाव, सहकार्य र एकताको माध्यमबाट मात्रै जिल्लाले विकासको फड्को मार्नेमा जोड दिए। उनले जनताको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि दोहोर्याए। घरदैलो अभियानका क्रममा प्राप्त जनसमर्थनले आफूलाई थप प्रेरित बनाएको उल्लेख गर्दै तिमिल्सिनाले भने, “घरदैलो अभियानले मलाई अपार ऊर्जा र गहिरो प्रेरणा दिएको छ। जनताको आत्मीयता, भरोसा र स्नेहले मन छोएको छ।” अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेता, कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गर्दै उनले जनस्तरबाट आएका सुझाव र हौसलाले आफ्नो जिम्मेवारीबोध अझ बलियो बनेको बताए। अन्त्यमा उनले विनम्रतालाई आफ्नो कमजोरी नभई शक्ति भएको उल्लेख गर्दै भने, “विनम्रता मेरो कमजोरी होइन, मेरो शक्ति हो। यही शक्तिको आधारमा म अझ दृढताका साथ अगाडि बढ्नेछु र जनताको अपेक्षा पूरा गर्नेछु।”
खाेटाङमा ६ जना पूर्वसांसद नेकपा उम्मेदवार हरि राेकालाई जिताउन मत माग्दै
खोटाङ । अर्थशास्त्री, वाम चिन्तक तथा जनमुखी राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशक्त रूपमा चुनावी अभियान तीव्र बनाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनताको घरदैलोमा पुग्दै प्रत्यक्ष संवाद तीव्र बनाएका हुन् । राेकाकाे घरदैलो अभियानमा जिल्लाका ६ जना पूर्वसांसदको ऐक्यबद्ध छ । कुनै राजनीतिक दलको साधारण सदस्यसमेत नरहेका डा. रोका जनताको आग्रह र वामपन्थी शक्तिको साझा भरोसामा नेकपाको उम्मेदवारका रूपमा अघि बढेपछि अनुभवी नेताहरूले खुला रूपमा साथ दिएका छन् । डा. रोकाको अभियानमा पूर्वसांसद टंक राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ तथा कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईको सक्रिय सहभागिता रहेको छ । उनीहरूले डा. रोकालाई वैचारिक रूपमा दृढ, नीतिगत रूपमा स्पष्ट र जनताको पक्षमा निडर उम्मेदवारको रूपमा चित्रण गरेका छन् । घरदैलोका क्रममा डा. रोकाले कृषि, रोजगारी र स्थानीय अर्थतन्त्र खोटाङको मूल मुद्दा भएको उल्लेख गर्दै कृषक, श्रमिक र युवाको आवाज प्रतिनिधिसभामा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । “राजनीति सत्ताका लागि होइन, जनताको जीवन बदल्नका लागि हुनुपर्छ,” भन्दै उनले नेकपाको नीतिअनुसार समाजवादी रूपान्तरणको दिशामा काम गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । नेकपाले खोटाङमा वैचारिक स्पष्टता, इमानदार नेतृत्व र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेदवारका रूपमा डा. रोकालाई अघि सारेको जनाउँदै स्थानीय तहदेखि केन्द्रसम्म जनसमर्थन तीव्र रूपमा विस्तार भइरहेको बताएको छ ।
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार र पार्टी
म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार र पार्टीलाई भोट दिने युवा मतदाता बताउने गरेका छन् । सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उनी भन्छन्, “चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन् । विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यस पटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ अनि पार्टी पनि राेज्छाैँ । त्यसका लागि हामीले सचेत भएर हेर्दा पार्टी नेपाली कम्युनिस्ट पार्टी देखिन्छ । चुनाव चिन्ह तारा छ । अन्य पार्टी भन्दा राम्राे छ ।” बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउँछन् । “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ”, उनले भने । मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताए । उनले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यस पटक सोचेर मात्र मत दिने योजना रहेको बताए । खत्रीले भने, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यस पटक निकै सचेत भएर मत दिनु पर्दा नेपाली कम्युनिस्ट पार्टीनै हाे ।” म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । हाल सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताए । उनले भने, “विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।” नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताए । “आश्वासन होइन, स्पष्ट योजना र समय सीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ”, उनले भने । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहेका छन् ।
देशभर निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा तीव्र रूपमा बन्दै गएको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षी राजनीतिक दलहरू, बुद्धिजीवी र सञ्चारकर्मीहरूले समेत अहिले नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको स्वीकार गर्न थालेको बताउनुभयो । “यो मेरो मात्र भनाइ होइन,” प्रचण्डले भन्नुभयो, “हाम्रा विपक्षी दलका नेता, बुद्धिजीवी र पत्रकारहरूले पनि आजभोलि नेपाली कम्युनिस्ट पार्टी सोचेभन्दा मजबुत अवस्थामा पुगेको छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न थालेका छन् । पहिला हामीलाई हेपेर नेकपाले केही ल्याउन सक्दैन भन्नेहरू पनि अहिले नेकपा प्रतिस्पर्धामा गइसकेको छ भन्न थालेका छन् ।” उहाँले पछिल्लो समय राजनीतिक वृत्तमा चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने चर्चा व्यापक रूपमा चलेको उल्लेख गर्दै त्यस प्रतिस्पर्धामा नेकपा अग्रपंक्तिमा उभिन थालेको बताउनुभयो । संयोजक प्रचण्डले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले उल्लेख्य नतिजा हासिल गर्ने आधारहरू स्पष्ट देखिन थालेको बताउँदै पार्टीका नेता–कार्यकर्तालाई अझ सशक्त, अनुशासित र योजनाबद्ध रूपमा प्रचार अभियानमा जुट्न निर्देशन दिनुभयो । नयाँ भनिएका केही राजनीतिक दलहरूले सीमित नयाँ क्षेत्रहरूमा मात्र निर्वाचनको प्रभाव देखाए पनि परम्परागत राजनीतिक आधार भएका क्षेत्रमा त्यो प्रभाव कायम गर्न नसकेको उहाँको भनाइ थियो । “अब आउने १०–१५ दिनपछि नेपाली कम्युनिस्ट पार्टी नै अग्रस्थानमा पुगिसक्यो भन्ने वातावरण देशभर बन्नेछ,” प्रचण्डले भन्नुभयो, “हामी सबैले एकताबद्ध भएर इमान्दारीपूर्वक मेहनत गर्यौँ भने त्यो अवस्था अवश्य सम्भव छ । अहिले नै त्यो माहोल बन्दैछ ।” उहाँले जनताका वास्तविक मुद्दा, परिवर्तनका एजेन्डा र राष्ट्रिय स्वाधीनताको सवालमा नेकपा नै भरोसायोग्य शक्ति भएको दाबी गर्दै जनताको समर्थन दिनदिनै विस्तार हुँदै गएको बताउनुभयो ।
मनहरि तिमिल्सिनाको विजय नै समग्र पर्वतेली जनताको साझा जित हाे: प्रचण्ड
पर्वत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिनाको विजय समग्र पर्वत जिल्लाको तथा पर्वतेली जनताको साझा जित हुने बताउनुभएको छ । नेकपा पर्वतद्वारा कुस्मामा आयोजित ‘जनसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसपटक तिमिल्सिनाले जित हासिल गरे त्यसले जिल्लाकै जित सुनिश्चित गर्ने बताउनुभयो । उहाँले नेता–कार्यकर्तालाई युद्धस्तरमा निर्वाचनमा होमिन आग्रह गर्नुभयो । प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेको ‘जेन–जी’ पुस्ताको आवाजलाई नेपाली कम्युनिस्ट पार्टीले पूर्ण रूपमा अपनत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको पक्षमा नयाँ संकल्पसहित अघि बढ्ने तागत निर्माण गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो ।” उहाँले नेपाली कम्युनिस्ट पार्टी कसैसँग पनि चुनावी तालमेल नगर्ने स्पष्ट गर्दै कसैको वैशाखी नबनी आफ्नै बलबुतामा उभिएर पहिलो शक्ति बन्ने दृढ संकल्प व्यक्त गर्नुभयो । राजनीतिक मुद्दाका हिसाबले साँच्चिकै नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “संविधान, स्वाधीनता, राष्ट्रियता, संघीय लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा उत्पीडित, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक र पिछडिएका वर्गका मुद्दा हाम्रा हुन् । हामी नयाँ हौँ, अरू सबै पुराना हुन् । नेपाली कम्युनिस्ट पार्टी नयाँ दृष्टिकोण र नयाँ सोचसहित निर्वाचन आयोगमा दर्ता भएको नवीन शक्ति हो ।” प्रचण्डले कांग्रेस, एमाले र रास्वपासहित सबै प्रतिद्वन्द्वी दलहरूलाई चुनौती दिँदै नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्न धेरै दिन नलाग्ने बताउनुभयो । त्यो कुरा आगामी निर्वाचनले स्पष्ट रूपमा देखाउने उहाँको भनाइ थियो । पार्टीको घोषणापत्र समाजवादतर्फ जाने स्पष्ट मार्गचित्र भएको र संविधान संशोधनको मुद्दा पनि पार्टीको प्रमुख एजेन्डामा रहेको उहाँले स्पष्ट गर्नुभयो । नयाँ चुनाव चिह्न ‘तारा’मा मतदान गर्न आम जनतालाई आग्रह गर्दै प्रचण्डले यसपटक महँगा सभा–सम्मेलनभन्दा घर–घर र टोल–टोलमा पुगेर मतदातालाई बुझाउन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । एकताको बलबाट प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीले परास्त गर्ने दाबी गर्दै उहाँले नेतृत्व सबल भएको भए पहिलो पटक बनेको नेकपा नटुक्रिने स्मरण गराउनुभयो । ओलीको अहंकार र दम्भका कारण अलग हुनुपरेको उल्लेख गर्दै नयाँ नेकपा सबै परिवर्तनकारी र सच्चा वामपन्थी शक्तिहरूको एकताबाट बनेको र अब टुटफुट इतिहासमा नदोहोरिने विश्वास व्यक्त गर्नुभयो । पर्वतबाट जितको अभियान प्रारम्भ हुने दृढ विश्वास व्यक्त गर्दै अन्त्यमा प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न अन्तिम क्षणसम्म नेपाली कम्युनिस्ट पार्टी लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता, सर्वसाधारण, युवा, विद्यार्थी, बुद्धिजीवी, उद्यमी तथा समाजका विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

