संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित छौं :  मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएका छन् । आज घोराहीमा सहिदहरुको शालिक माल्यार्पन गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरुलाई निक्र्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताए ।

उनले क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्र्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने बताइन्। 

अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताइन् ।

यस्तै, लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त भएको जनताको संविधानलाई बचाईराख्न आवश्यक रहेको बताइन् । अहिलेको प्राप्त उपलब्धि 
माथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताइन्। 

उनले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज) , निराजन चौधरी (सन्केत) शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरि, लक्ष्मण उपाध्याय (राजन) , वसन्त सुवेदी (कुमार)को शालिक माल्यार्पन गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट पनि गरेकी थिइन्।

हत्या अभियोगमा दम्पत्ती पक्राउ

नुवाकोट, १९ फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका ३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रसुवाको कालिका गाउँपालिका २ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छन्। किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा टेकप्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार भुषाल दम्पत्ती काठमाडौं महानगरपालिका १६ बालाजु, बाइपासमा भएकाले उनीहरूलाई त्यहिँबाट पक्राउ गरेर नुवाकोट ल्याइएको हो। उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा लगेर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरू माथि जिल्ला अदालत नुवाकोटबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

चितवन र भरतपुर भ्रमण गर्न केपी ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको उल्लेख गर्दै  चितवन र भरतपुर भ्रमण गर्न  आह्वान गरेका छन् ।शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।  सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफुले भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको बताउँदै अरुलाई पनि चितवन भ्रमण गर्न आह्वान गरेका हुन् । ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ । ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने। उनले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताए।भरतपुरमा शुभकामना दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए। सम्बोधनको क्रममा अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियता र कामको खुलेर प्रशंसा गरेका थिए । 

गफ होइन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यता स्थापित गरेका छौं  : मेयर दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गफ होइन काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरेकी छिन्।  ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा आज उनले सो कुरा बताएकी हुन् ।  ‘बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ । भरतपुरले आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनुपर्छ । यही मान्यताका साथ भरतपुर अगाडि बढेको छ’,  उलने भनिन् । भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिका जति प्रशंसा गरेपनि नपुग्ने बताइन् ।त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् ।  उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् । महानगरपाका बासीले दुईपटकसम्म विजयी गराएर आर्थिक समृद्धिको उवाहर ल्याएको उनले बताइन् । सो अवसरमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनेपर्ने धारणा समेत व्यक्त गरिन ।  

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”- प्रधानमन्त्री प्रचण्ड

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार भरतपुरमा गरिएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।” पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।  “विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।’ चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।” अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू रहेको बताए । पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे । 

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए । कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।” प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु । भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो । विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु । नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ । मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु । अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

भरतपुर भ्रमण वर्ष आजदेखि, उद्घाटनमा प्रधानमन्त्रीसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने

चितवन । आजदेखि भरतपुर भ्रमण वर्ष २०२४ सुरु हुँदैछ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न हिजो नै चितवन पुगेका छन् । उद्घाटनकार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने आयोजकले जनाएको छ । सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु पनि सहभागी हुने पक्का भएको अधिकारीले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायीकाहरुको कला पनि प्रस्तुत गरिने जनाइएको छ । भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी गरेको छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्‍यालीसहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेकोे छ ।

बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम

बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले  ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ।  रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

काठमाडौं, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ। भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ। रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ । महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया सुरु गरेको हो। यसअघि, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ । महानगरपालिका प्रमुख दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने विश्वास व्यक्त गरिन् । संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् ।  यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।

एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ । बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको आरोप लगाए । फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।

४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ

काठमाडौं, १६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका –८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका(१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका –४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्। यस्तै, धादिङको गल्छी गाउँपालिका –७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्। यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

६ महिनापछि गण्डकीको संसद बैठक बस्दै

पोखरा, १६ फागुन । गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो । संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ । सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ । यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको  संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरु समेत काम विहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।

भरतपुर भ्रमण वर्ष :  उद्घाटनको तयारी अन्तिम चरणमा, ५० हजार जना सहभागी हुने

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्। भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताइन् । भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्र्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्।  भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।