काे हुन धनकुटाको भरोसायोग्य नेतृत्व धर्मराज पौडेल ?
धनकुटा । नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी नेता, शिक्षाविद् तथा विकासप्रेमी राजनीतिज्ञ धर्मराज पौडेल धनकुटाको राजनीतिक वृत्तमा इमानदार, सिद्धान्तनिष्ठ र परिणाममुखी नेताका रूपमा परिचित नाम हुन् ।
आन्दोलन, संगठन, शिक्षा र विकास—यी सबै क्षेत्रलाई जीवनको मूल ध्येय बनाएका पौडेल आज धनकुटाको समग्र विकास र जनताको आवाजलाई प्रतिनिधि सभामा सशक्त रूपमा उठाउन सक्ने सक्षम उम्मेदवारका रूपमा उभिएर जनतासँग मत मागिरहेका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२, मारेकमा २०१७ साल असोज २४ गते बुबा उद्धवमणि पौडेल र आमा मञ्जु पौडेलको कोखबाट जन्मिएका पौडेल २०३५ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । भूमिगत कालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) का सम्पर्क व्यक्ति तथा सेल्टर व्यवस्थापन सहयोगीको जिम्मेवारी सम्हाल्दै जोखिमपूर्ण राजनीतिक यात्रामा होमिएका उनी २०४७ सालमा औपचारिक रूपमा मालेको सदस्य बनेका थिए ।
हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका पौडेल दशकौँको राजनीतिक अनुभव बोकेका प्रतिबद्ध कम्युनिष्ट नेता हुन् ।
विद्यार्थी राजनीति हुँदै संगठन निर्माणमा खारिएका पौडेल अनेरास्ववियु धनकुटाका सचिव बने । २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुँदै उनले नेतृत्व क्षमताको स्पष्ट प्रमाण दिए । २०४८ र २०५८ सालमा एमाले धनकुटाको उपसचिव, २०६१ सालमा एमाले कोशी अञ्चल समन्वय समितिको सचिवालय सदस्य, कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य तथा प्रदेश कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका पौडेल २०७८ सालको एमाले विभाजनपछि एकीकृत समाजवादीको कोशी प्रदेश कार्यालय सदस्य हुँदै केन्द्रीय सदस्य बने । हाल माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिकामा छन् ।
शिक्षा र विकासमा गहिरो पकड भएका पौडेलले ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । २०४० देखि २०४३ सालसम्म गाउँकै धर्मोदय निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा सेवा गरेका उनी व्यवहारिक शिक्षाको पक्षधर नेताका रूपमा परिचित छन् ।
बहुदलीय व्यवस्थापछि स्थानीय शासनको नेतृत्व गर्दै २०४९ सालमा तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित पौडेलले २०५४ सालसम्म जिल्लाको समग्र विकासको नेतृत्व गरे । सो अवधिमा उनले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको बोर्ड सदस्यलगायत विभिन्न राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेल प्रतिस्पर्धात्मक निर्वाचनमा पराजित भए पनि निरन्तर जनसम्पर्क र राजनीतिक सक्रियतामा अडिग रहे ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पटक–पटक हिरासत र जेल जीवन भोगेका पौडेल राजनीतिक संघर्षबाट खारिएका नेता हुन् । २०४१ मंसिरमा धनकुटा, २०४५ फागुनमा मोरङ र २०४६ माघमा झापामा हिरासत तथा झापा कारागारमा दुई महिना राजनीतिक बन्दी बनेका उनी लोकतन्त्र र परिवर्तनका लागि बलिदान गर्न कहिल्यै पछि नहट्ने व्यक्तित्वका रूपमा चिनिन्छन् ।
यही राजनीतिक, प्रशासनिक र विकास अनुभवका आधारमा नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ ।
के छन् पाैडेलका एजेन्डा ?
पौडेलले धनकुटाको आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै गैरकानूनी गाँजा खेतीको विकल्पसहित उद्योग सञ्चालन, औद्योगिक ग्राम स्थापना, कृषि उत्पादनको व्यवसायीकरण, माटो परीक्षणदेखि शीतभण्डार र कुलचेनयुक्त ढुवानीसम्मको स्पष्ट योजना सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल, सडक सञ्जालको बाह्रै महिना सञ्चालन, पहिरो र भूक्षय जोखिममा रहेका बस्तीको सुरक्षित व्यवस्थापन उनका प्राथमिकता हुन् ।
पर्यटन प्रवर्धन, कृषि, पर्यावरणीय, सांस्कृतिक तथा साहसिक पर्यटनको विकास, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै स्वरोजगार, स्वच्छ खानेपानी, धनकुटाको ऐतिहासिक टुँडिखेललाई मिनी स्टेडियमका रूपमा विकास गर्ने योजना पनि उनका प्रतिबद्धतामा छन् ।
महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई दक्ष जनशक्तिमा रूपान्तरण गर्ने पौडेलको प्रतिबद्धताले उनको समावेशी सोच स्पष्ट गर्छ । संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी अधिकतम बजेट र कार्यक्रम धनकुटा भित्र्याउने दृढ अठोटसहित पौडेल प्रतिनिधि सभाका लागि अनुभवी, दूरदर्शी र जनमुखी उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।
लामो राजनीतिक तपस्या, स्वच्छ छवि, विकासको स्पष्ट दृष्टिकोण र जनताप्रतिको प्रतिबद्धताले धर्मराज पौडेललाई धनकुटाको प्रतिनिधित्व गर्न सबैभन्दा उपयुक्त उम्मेदवार बनाएको छ । स्थानीय विश्लेषकका अनुसार धनकुटा अन्य उम्मेदवारभन्दा जनताले राेज्नै पर्ने उम्मेदवार पाैडेल हुन् । एक पटक धनकुटाकाे विकासका लागि जिताउनुनै पर्ने उम्मेदवार पनि पाैडेल हुन् ।
पाँचथरको जनआवाज : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’
पाँचथर । पाँचथरको राजनीति बुझ्ने जो–कोहीका लागि ‘मिक्सो’ नाम कुनै नारा वा पोस्टरको उपज होइन। यो नाम संघर्ष, निरन्तरता र जनतासँगको सम्बन्धबाट बनेको पहिचान हो। हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विगत २७ वर्षदेखि पाँचथरका गाउँ–बस्ती, डाँडा–पाखा र चोक–चौतारामा जनतासँगै देखिँदै आएका नेता हुन्। संसद्को प्रतिस्पर्धामा उनी नयाँ अनुहार देखिए पनि राजनीतिक यात्रामा भने अनुभवी, खारिएको र व्यवहारिक नेतृत्वका रूपमा परिचित छन्। मिक्सोको राजनीतिक जीवन जनयुद्धको कठिन समयबाट सुरु भएको हो। राज्यसत्तासँगको टकराव, भूमिगत संघर्ष र संगठन विस्तारको जिम्मेवारीका बीच उनले राजनीतिको कडा पाठ सिके। आन्दोलनकै क्रममा गम्भीर घाइते हुँदा पनि पछि नहट्नु उनको संघर्षशील स्वभावको उदाहरण हो। यो अनुभवले उनलाई राजनीतिक रूपमा मात्र होइन, मानवीय रूपमा पनि परिपक्व बनायो। त्यसैले उनी राजनीतिलाई पद र प्रतिष्ठाको साधनभन्दा जनसेवाको माध्यमका रूपमा बुझ्छन्। जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्दा धेरै नेता सहर र केन्द्रतर्फ केन्द्रित भए। तर मिक्सो भने पाँचथरमै अडिग रहे। पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनतासँग सम्बन्ध सुदृढ बनाउनु उनको प्राथमिकता रह्यो। विद्यालयको भवनदेखि खानेपानीको धारा, सिँचाइ कुलोदेखि सडक ट्र्याकसम्मका विषयमा उनी निरन्तर पहलकर्ताको भूमिकामा देखिए। यही निरन्तरताले उनलाई ‘चुनावमा मात्र देखिने नेता’ होइन, ‘सधैं साथ दिने नेता’को छवि दियो। २०७४ पछिका वर्षहरूमा पाँचथरमा देखिएको विकाससँग मिक्सोको नाम स्वाभाविक रूपमा जोडिन्छ। तमोर करिडोरका लागि ६ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुनु केवल एउटा आयोजना मात्र होइन, पाँचथरको आर्थिक भविष्यसँग जोडिएको निर्णय थियो। शिवालय–गोरुवाले सडक, साना पुल निर्माण, खानेपानी आयोजना र सिँचाइ कुलो विस्तारजस्ता कार्यक्रमले ग्रामीण जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएका छन्। प्राकृतिक विपद्ले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा उनको पहल स्थानीयले आज पनि स्मरण गर्छन्। मिक्सोको नेतृत्वको विशेषता भाषणको चमक होइन, कामको प्रभाव हो। उनी सभा र मञ्चभन्दा बढी गाउँको आँगन, खेतको डिल र स्वास्थ्य चौकीको कोठामा देखिन्छन्। बिरामीको उपचारका लागि अस्पतालसम्म पु¥याउने, विपद्का बेला राहत व्यवस्थापनमा खटिने र सामान्य नागरिकका प्रशासनिक समस्यामा समेत प्रत्यक्ष हस्तक्षेप गर्ने शैलीले उनलाई जनमुखी नेताका रूपमा स्थापित गरेको छ। यही कारण पार्टी कार्यकर्तामात्र होइन, फरक राजनीतिक धारणा राख्ने नागरिक पनि उनलाई भरोसायोग्य नेता मान्छन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता, अनुशासन र समन्वय कौशललाई उच्च मूल्याङ्कन गरिन्छ। पार्टी केन्द्रका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनको कार्यशैली र निष्ठाको खुलेर प्रशंसा गरेको बताइन्छ। प्रदेश सरकारमा इन्द्रबहादुर आङ्बो ‘मौसम’को नेतृत्वमा सुरु भएका विकास कार्यक्रमलाई संघीय तहबाट निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा मिक्सोलाई हेरिएको छ। मिक्सोको राजनीतिक दृष्टिकोण वर्तमानमा सीमित छैन। उनी पाँचथरको भविष्यलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोडेर हेर्छन्। कृषि आधुनिकीकरण, स्थानीय स्रोतको उपयोग, पर्यटन प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उनको सोच आजको पुस्तासँग मेल खान्छ। जेनेरेसन–जीको भावना बुझ्ने, युवाको ऊर्जा र वृद्धको अनुभवलाई जोड्ने उनको शैलीले उनलाई बदलिँदो राजनीतिक परिवेशमा सान्दर्भिक बनाएको छ। पाँचथरमा हाल तीव्र राजनीतिक प्रतिस्पर्धा छ। तर २७ वर्षको निरन्तर जनसम्पर्क, विकाससँग जोडिएको नाम, जनसेवामूलक राजनीति र केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय गर्न सक्ने क्षमताले हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई बलियो दाबेदार बनाएको छ। संसद् पुग्ने अवसर पाउँदा पाँचथरको आवाजलाई संघीय नीतिनिर्माणको केन्द्रसम्म पुर्याउने उनीप्रति जनअपेक्षा बढ्दो छ। राजनीतिमा धेरैले नारा दिन्छन्, केहीले मात्र निरन्तरता देखाउँछन्। मिक्सो त्यही निरन्तरताको प्रतीक हुन्। सत्ता र पदभन्दा जनताको भरोसालाई मूल्य दिने उनको राजनीतिक यात्रा आज पाँचथरको भविष्यसँग गाँसिन थालेको छ। यही कारण उनी केवल उम्मेदवार होइनन्, पाँचथरको भरोसाको राजनीति बनेका छन्। पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुने छ। १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि सबै पुरुष उम्मेदवार मात्र हुनु विशेष चर्चाको विषय बनेको छ। विभिन्न दलबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका आधारमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को स्थिति बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
बैतडीमा ईभी हाइस दुर्घटना: चालकको मृत्यु
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ ज ०६२४ नम्बरको ईभी हाइस शनिबार राति सिल्लेगडा-बडिया सडकखण्डको घोडेधार नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा गाडीमा सवार एकमात्र चालक दोगडाकेदार-५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन् । हाइस सडकबाट करिब २५० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताप्लीमा नेकपाको आक्रामक घरदैलो सुरु, उम्मेदवारसहित गाउँ–गाउँमा मतदाता भेटघाट
उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ ले ताप्ली गाउँपालिकामा उम्मेदवारसहित आक्रामक घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको छ । गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गर्ने रणनीतिअनुसार नेकपाले ताप्लीका विभिन्न वडामा तीनदिने सघन घरदैलो कार्यक्रम सञ्चालन गरेको हो । अभियानअन्तर्गत पार्टीका उम्मेदवार र नेताहरू मतदाताको घरआँगनमै पुगेर आगामी निर्वाचनका एजेन्डा, नीति तथा प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’का अनुसार फागुन २३ गते वडा नम्बर–५ को डडुवा कुमल्टारबाट अभियान सुरु भएको छ । फागुन २४ गते बिहान ९ बजेदेखि १२ बजेसम्म देब्रे नुनथला तथा दिउँसो २ बजे वडा नम्बर–४ को ठानागाउँमा मतदाता भेटघाट तथा घरदैलो गरिनेछ । त्यसैगरी फागुन २५ गते बिहान ८ बजे पोखरी, १० बजे मडिरे र १ बजे इनामेमा मतदाता भेटघाट गरिनेछ । सोही दिन बेलुका कटहरे तामखर्कमा बास बसिनेछ । फागुन २६ गते बिहान ७ बजे पुल्टार र ९ बजे बाच्छाङामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीले जानकारी दिए । घरदैलो अभियानमा नेकपाका प्रत्यक्ष उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’, समानुपातिक उम्मेदवार विनोद कटुवाल ‘दिवस’, संविधानसभा सदस्य तथा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’लगायत पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको टोली सक्रिय रूपमा सहभागी रहेको जनाइएको छ । नेकपाले ताप्ली गाउँपालिकालाई चुनावी अभियानको महत्वपूर्ण केन्द्रका रूपमा लिएर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ । नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ अन्तर्गतका पाँचै पालिकामा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाउँदै घरदैलाे अभियान गरिरहेकाे छ । उदयपुर–२ अन्तर्गत कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा निर्वाचन परिचालन तथा प्रचार समिति गठन भइसकेको निर्वाचन क्षेत्र परिचालन समितिले जनाएको छ ।
भारतको मेघालय कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, ४ जना घाइते
खोटाङ । भारतको मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी खोटाङको बाराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका एउटै परिवारका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर छन् । उनीहरू घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर, ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर र उदयपुरका ललितबहादुर मगर छन् । नरबहादुर र बमबहादुरको अवस्था गम्भीर रहेको छ । रोजगारीका लागि गत पुस ३ गते मेघालय गएको ७ जनाको नेपाली टोलीमध्ये बाराहपोखरी–१ वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । उनले नै फोनमार्फत घटनाको जानकारी आफन्तलाई गराएका थिए ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
धनगढी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि कुल मृतक १३ जना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिएका छन् । थप मृत्यु हुनेमा बझाङका बिसनदत्त जोशी (१७), दिपकराज जोशी (२८), किसनदत्त जोशी (४६), केशवराज भट्ट (२७) र बैतडीका सुशील जोशी (१४) छन् । यसअघि घटनास्थलमा ६ जना र कोटिला स्वास्थ्यचौकीमा २ जनाको मृत्यु भएको थियो । बिहीबार राति ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको बस (सु.प्र.०२००१ ख १११९) पुर्चौंडी–७ बडगाउँको मोडमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा २५ जना घाइतेको डडेलधुरा अस्पतालमा, ५ जना गम्भीर घाइतेको धनगढीमा र ४ जना सामान्य घाइतेको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिइएको छ । उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । बेहुलाबेहुली भने अर्को जिपमा रहेकाले सकुशल छन् । थप अनुसन्धान जारी छ ।
चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाको ज्यान गयो
बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय छन् । मैसारा डाँगीलाई नेपाल–भारत सीमा नजिक बारीमा घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजीका क्रममा दशगजा नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसैगरी, नन्दु रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका–११ को जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले बताएको छ । यसअघि गत माघ ७ गते सोही क्षेत्रमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय बर्दियाको तथ्यांकअनुसार गत साउनयता चितुवाको आक्रमणबाट ७ जना, पाटेबाघबाट १ जना र जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।
स्थानीय तहमा असिम राईको ८ बर्षे नेतृत्व : शुन्य भ्रष्टचार देखि कम बेरुजु भएको पालिकासम्म
साेलुखुम्बु । ३३ बर्षे ठिटो असिम राई, २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको धेरै जनसंख्या भएको स्थानीय तह थुलुङदुधकोशीमा निर्वाचित भए पछि नै सिंगो जिल्ला र कोशी प्रदेश भरिनै पहिलो दिन बाटै चर्चाको शिखरमा रहे । कारण हो, सरकार संचालनमा उनको स्पष्टता र विधिको शासन प्रति उनको अठोट । उनले नेतृत्व गरेको थुलुङदुधकोशी पालिकामा भ्रष्टाचार शुन्य छ अनि शुसासनमा जिल्लाकै अब्बल छ । शुन्य पुर्वाधार र न्युन जनशिक्तका विच स्थानीय सरकारको नेतृत्व गरेका असिम सामु सरकार संचालनका चुनौतिका चांग ने थिए । भग्नावशेष भएको तत्कालिन मुक्लि गाविसको भवनमा सफत खाएर एउटा पानी चुहिने कोठाबाट शुरु भएको पालिका ८ बर्षसम्म आईपुग्दा आकाश पातलको फरकमा पुग्यो । नकारात्मकाले भरिएको ग्रामिण समाजमा पालिकाकालाई भ्रष्टाचार मुक्त बनाउदै शुसासन कायम गर्नु उनलाई फलामको चिउरा सरह थियो । तर पढाई लेखाईमा अब्बल र सानै उमेरमा नेपाली समाजको मनोविज्ञान बुझेका असिमले पालिकालाई चाहिने सबै कानुनु शुरुको ३ महिना मै बनाएर लागु गरे । मिजासीला र आफ्नाहरुका लागि ज्यानै दिन तयार असिम शाससन संचालनमा भने स्पष्ट देखिए । विधि र पद्धति हराउँदै वेथितिले गाँजेको नेपाली राज्य सम्रचनाको परिभाषा चिर्नु धेरै कठिन थियो । तर असिमले पालिकालाई नियम र पद्धतिमा ढालेर शाससन संचालनको रुपमा देशकै नमुना पालिका बनाए । शासन संचालनमा कडा तर सेवा प्रवाहमा नरम असिम राईको विशेषता हुन् । उनले नेतृत्व गरेदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको निति अख्तियार गरे । त्यति बमोजिम कर्मचारी संयन्त्रलाई निर्देशित गरे । उपभोक्ता समिति र ठेक्का पट्टामा कुनै कमिसन र भ्रष्टाचारको खेल भएन । राजनिति अभिष्टका लागि बिपक्षिले भाषणमा हिलो छ्याप्ने कोशिष गरे पनि ८ बर्षको अवधिमा भ्रष्टाचारको गन्ध कतै आएन । यी कुराहरु तथ्यले प्रमाणित गरेको छ । राज्यका निकायले नै शुसासनमा पटक पटक अब्बल प्रमाणित गरिदिए थुलुङ दुधकोशीलाई । आर्थिक कारोबारको मनिटरिङ गर्ने संबैधानिक निकाय महालेखा नियन्त्रकको लेखा परिक्षण बाट हरेक बर्ष थुलुङदुधकोशी बेरुजु कम हुने सोलुखुम्बुका गाउँ पालिकाहरु मध्ये पहिलो बन्यो । न्युन देखिएको बेरुजु पनि शैद्धान्तिक मात्र थियो । महालेखाको धेरै प्रतिवेदनहरुले थुलुङदुधकोशीको कम बेरुजु देखाएर राज्यले नै शुसासनमा अग्रणी देखाएको छ । यति मात्रै होईन असिम राईले सरकारलाई पारदर्शी रुपमा चलाए । उनले पालिकाको प्रबक्ता राखे, कार्यालयको सूचना अधिकारी राखे अनि जनताको गुनासो सुन्ने मेकानिजम बनाए । यति मात्रै होईन आवधिक रुपमा जनताका गुनासोहरु सुनेर सम्बोधन गर्न सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण र सार्वजनिक परिक्षणहरु गरिरहे । अब असिमको शुसानको मोडल सिंगो जिल्लालाई चाहिएको भन्दै जनताहरुले फागुन २१ पछि सक्षम असिमको आवाज संसद भवनमा सुन्न चाहेका छन् ।
उदयपुर–२ का पाँचै पालिकामा नेकपाको निर्वाचन परिचालन समिति गठन, वडा तहसम्म संगठन विस्तार
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ अन्तर्गतका पाँचै पालिकामा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाएको हो । उदयपुर–२ अन्तर्गत कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा निर्वाचन परिचालन तथा प्रचार समिति गठन भइसकेको निर्वाचन क्षेत्र परिचालन समितिले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’ का अनुसार पाँचै पालिकासँगै ४० वटै वडामा समेत निर्वाचन प्रचार–प्रसार समिति गठनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । “वडास्तरमा प्रचार समिति गठन र सम्पर्क कार्यालय स्थापना धमाधम भइरहेको छ । यो प्रक्रिया माघ २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” उनले भने । समिति गठनपछि घरदैलो अभियानलाई व्यापक बनाइने तयारी गरिएको खत्रीले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा नेकपाबाट प्रत्यक्षतर्फ सुरेशकुमार राई ‘हिमाल’ उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ विनोद कटुवाल ‘दिवस’, रामणी पोखरेल, मेनुका गुरुङ राई उम्मेदवार छन् । उदयपुर–२ जनयुद्धकालीन आधार क्षेत्रका रूपमा चिनिने ऐतिहासिक निर्वाचन क्षेत्र हो । जसलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको किल्लाका रूपमा समेत लिने गरिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका नारायणबहादुर कार्की निर्वाचित भएका थिए । त्यसैगरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हालका नेकपा उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’ नेकपा माओवादी केन्द्रको तर्फबाट भारी मतकासाथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको थियो । यसपटक उदयपुर–२ मा नेकपाको जनआधार अझ सुदृढ बन्दै गएको राजनीतिक विश्लेषकहरूको आँकलन छ । संगठन विस्तार र सक्रिय चुनावी अभियानले नेकपाकाे जित शुनिश्चित बनाउँदै लगेकाे बताइन्छ ।
उदयपुर–२ मा फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडक
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोश उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे—घरअगाडिको सडक कालोपत्रे भएको । त्यो सपना भने अझै पूरा भएको छैन । फेरि यस पटक चुनावी माहौल छ, चुनावमा सपनाहरू बाँड्न सुरु भइसकेको छ, तर विसं २०६४ देखि हालसम्म चार वटा चुनावमा भोट मागेका कसैले पनि ती सपना पूरा गर्न सकेका छैनन् । त्यही कारण उनले भोट हालेका कोही पनि दोहोरिएर आएका छैनन् । उम्मेदवार फेरिए, तर तामाङले धुलोबारे गुनासो गर्नुपर्ने र समस्या भोग्नुपर्ने नियति फेरिएको छैन । “यो हाम्रो विडम्बना नै भन्नुपर्छ, जुन सडक कालोपत्रे गर्ने आश्वासन बोकेर नेताहरू चुनाव जितेर गए, आज पनि त्यही सडक उस्तै जीर्ण, धुलाम्मे र जोखिमपूर्ण अवस्थामा छ । हाम्रा दुःख उस्तै छन्”, उनले भने । हाल फेरि उदयपुर–२ मा चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवारहरू छन् । उनीहरू यहाँका ९६ हजार १२२ मतदाताको घरदैलोमा पुग्न कस्सिइरहेका छन् । टोल–टोलमा पार्टीका सम्पर्क कार्यालय खुलेका छन् । क्षेत्रको केन्द्र मानिने कटारी बजारमा सबै प्रमुख दलहरूले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारको दौडधुप बढाइरहेका छन् । घरदैलो कार्यक्रम पनि जारी छ, तर मतदाताको मनमा भने उत्साह होइन, आक्रोशको ‘हुरी’ चलिरहेको छ । प्रश्न उही छ— के यो पटकको चुनावपछि सिद्धिचरण राजमार्गको मिर्चैया—कटारी—घुर्मी खण्डले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यो सडक फेरि ‘भोट माग्ने मुद्दा’ मात्रै बन्ला ? बेदबहादुरका लागि यो सडक केवल आवतजावतको गर्ने आधार मात्रै होइन, यो दुई दशकदेखिको यहाँको राजनीति र राज्यले दिएको निरन्तरको धोका हो । आफ्नो पसलको तखतामा जमेको धुलोको बाक्लो तह देखाउँदै उनी भन्छन्, “चुनाव आउँदा नेताका चिल्ला कुराले मनै लोभ्याउँछ, तर जितेर गएपछि उनीहरूले उडाएको धुलोले हाम्रो आँखा मात्र होइन, भविष्य नै धमिलो पारिदिन्छ । २० वर्षअघि पनि यही सडक बन्छ भनेर भोट मागियो, आज पनि त्यही भन्दैछन् । हामी त केवल भोट हाल्ने मेसिन मात्र भयौँ, केवल भोट बैङ्क ।” तामाङको स्वरमा आक्रोश मात्र होइन, राज्यप्रतिको चरम अविश्वास पनि झल्किन्छ । उनी भन्छन्, “यदि कसैलाई यो गफ मात्रै हो भन्ने लागिरहेको छ भने एक पटक मोटरसाइकल चढेर कटारीदेखि घुर्मीसम्म पुगेर हेरोस् । धुलोले अनुहार नचिनिने भएर फर्किँदा मात्रै हाम्रो पीडा थाहा हुन्छ । नेताहरू त गाडिभित्र सिसा थुनेर हिँड्छन्, उनीहरूलाई बाहिरको धुलोले के पो छुन्थ्यो र !” तामाङको यो आक्रोश केवल एउटा व्यक्तिको मात्र होइन, सिङ्गो उदयपुर–२ को साझा आवाज हो । त्यही आवाजका कारण आफ्नो सपना पूरा गरिहाल्छन् कि भनेर यहाँका मतदाताले पछिल्लो दुई दशकमा हरेक निर्वाचनमा प्रतिनिधि फेरिरहन्छन् । यो विकास नभएपछिको एक प्रकारको ‘मौन जनविद्रोह’ पनि हो भन्नेहरू धेरै छन् । यस सडक खण्डको रूप फेर्ने आशासहित यहाँका जनताले पालैपालो सबै मुख्य दललाई जिम्मेवारी दिए, तर त्यो कसैले पनि पूरा गर्न नसकेको स्थानीयको गुनासो छ । विसं २०६४ मा तत्कालीन नेकपा (माओवादी) का मोहनबहादुर खत्री, विसं २०७० मा नेपाली कांग्रेसका नारायणबहादुर कार्की, विसं २०७४ मा नेकपा (एमाले)— माओवादी गठबन्धनबाट सुरेशकुमार राई र पछिल्लो पटक २०७९ सालमा एमालेका अम्मरबहादुर रायमाझीलाई निर्वाचित गराएर यहाँका बासिन्दाले ठुलो भरोसा राखेका थिए । जो प्रतिनिधि चुनिए पनि सिद्धिचरण राजमार्ग एवं हलेसी जोड्ने यो मार्ग केवल चुनावी भाषण र आश्वासनको सस्तो विषय मात्र बन्यो । “जुन पार्टीका नेता आए पनि हाम्रो पीडा कसैले बुझेनन्”, कटारी—११ कटुन्जेका स्थानीय युवा बिजेन्द्र रानामगर आक्रोश पोख्दै भन्छन्, “नेताहरू त चिल्ला गाडीको सिसा थुनेर धुलो उडाउँदै हिँड्छन्, हामी भने त्यही धुलोबाट रोग र भोकसँग लड्न बाध्य छौँ ।” बहत्तर किलोमिटर लामो सिद्धिचरण राजमार्ग माथिल्लो सगरमाथाका तीन जिल्लाहरू—सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई कोशी प्रदेशको राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो । यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्यु रेखा जस्तै बनेको छ । विसं २०३४ मा मिर्चैया–कटारी ‘ट्र्याक’ खुलेपछि २०४८ मा स्व बलबहादुर राईको पहलमा कटारी–ओखलढुङ्गा सडक निर्माण सुरु भयो । विसं २०५८ देखि राजमार्गको कटारी–घुर्मी खण्ड ९४६ किमी० मा यातायात सञ्चालन भए पनि दुई दशकसम्म यसको अवस्था फेरिएन । घुर्मी–ओखलढुङ्गा खण्ड कालोपत्रे भइसक्दा मिर्चैया–कटारी–घुर्मी (७२ किमी) खण्ड भने अझै उपेक्षित छ । त्यसैले, दुई घण्टाको दूरी भएको सडकमा पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडक खण्ड रणनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ । कटारी–घुर्मी खण्ड दक्षिणमा मदन भण्डारी लोक मार्ग र महेन्द्र राजमार्गलाई जोड्छ भने उत्तरमा घुर्मी पुगेर मध्य पहाडी लोक मार्ग हुँदै बिपी राजमार्गमार्फत काठमाडौँसम्मको सम्पर्क सूत्र हो । यति महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति नहुँदा सिङ्गो पूर्वी पहाडको अर्थतन्त्र र जनजीवनलाई नै पछाडि धकेलेको छ । पूर्वको पशुपतिनाथ मानिने प्रसिद्ध धार्मिकस्थल हलेसी जाने मुख्य मार्ग यही हो । तराई–मधेसदेखि हलेसी जाने तीर्थयात्रीहरू कैयौँ पटक यहाँ दुर्घटनाको सिकार भएका छन् । जोखिमपूर्ण यात्राकै कारण पर्यटकहरू यो बाटो प्रयोग गर्न हिचकिचाउँछन् । यस सडकका ‘सुपरभाइजर’ कुमार प्याकुरेल भन्छन्, “एक पटक यो बाटो प्रयोग गरेका यात्रुहरू दोहोरिएर आउन चाहँदैनन् । साना सवारीसाधनलाई ४६ किलोमिटर पार गर्न तीन घण्टा लाग्छ भने ठुला सवारीसाधनलाई छदेखि सात घण्टा । त्यसैले यात्रुहरू वैकल्पिक घुमाउरो सिन्धुली–खुर्कोट–घुर्मीको बाटो प्रयोग गर्न बाध्य छन् ।” सडक नबन्दा सबैभन्दा बढी मार व्यापार र स्थानीयको दैनिकीमा परेको छ । यहाँका नागरिकलाई लत्ताकपडा, खाद्य सामग्री मात्र होइन, खेतबारीको अन्नबाली र तरकारी जोगाउन पनि कठिन भएको छ । कटारी बजार आफैँमा ऐतिहासिक छ । तेञ्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चढ्न जाँदा यहीबाट पैदल हिँडेर गएको इतिहास छ । त्यसैले यसलाई ‘सगरमाथाको प्रवेशद्वार’ भनिन्छ, तर यही प्रवेशद्वारका व्यवसायीहरू पलायनको बाटो रोजिरहेका छन् । विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सपना बोकेका धेरै युवाको सपना पनि यही सडकले कुल्चिएको छ । पाँच वर्ष कतारमा पसिना बगाएर फर्किएका अमर मोक्तानले आफ्नै ठाउँमा केही गरौँ भनेर बेतिनीमा किराना पसल खोले, तर १४ वर्षदेखिको धुलोले उनलाई अहिले निराश बनाएको छ । “सामान राख्नै गाह्रो छ । धुलोबाट जोगाउनै मुस्किल छ”, उनी भन्छन् “धुलोले सामान बिग्रिन्छ, ग्राहक आउँदैनन् । अनि कसरी चल्छ व्यवसाय ?” व्यवसायीहरूको यो पीडा अमर मोक्तानमा मात्र सीमित छैन । गहुँबारीका युवा व्यवसायी कुमार श्रेष्ठको अनुभवमा पनि सडकको यो दुरावस्था व्यापारका लागि ‘पासो’ बनेको छ । जीर्ण बाटोकै कारण सेवाग्राही नआउँदा व्यवसाय थप धराशायी बन्दै गएको उनको भनाइ छ । यही सडकको धुलोले सपनाहरू यसरी उडाइदियो कि, हर्देनीमा करिब रु पाँच लाख लगानी गरेर होटल सुरु गरेका धिरज भुजेलले छ महिनाअघि आफ्नो थातथलो मात्र छोड्नन्, वैदेशिक रोजगारीका लागि मरुभूमि भासिन बाध्य भए । यस्तै, कटारी–११ गहुँबारीका सञ्चिव बस्नेतले त छ वर्षसम्म गरेको सङ्घर्षलाई तिलाञ्जली दिँदै व्यापार नै बन्द गरे । धुवाँ र धुलोले पसलका सामान मात्र होइन, सपना नै चौपट पारेपछि उनी फेरि पुर्ख्यौली पेसा खेती किसानीमै फर्किएका छन् । “धुलो खाएर व्यापार गर्नुभन्दा बरु माटो खनेर कृषिकर्ममै लाग्नु ठीक लाग्यो, यसैबाट जीविकोपार्जन त चलेको छ”, बस्नेत भन्छन्, “यदि यो सडक बनेको भए यहाँको बजारमा अर्कै चहलपहल हुने थियो । महाभारत क्षेत्रको यो शीतल हावापानीमा गर्मी छल्न तराईका सिरहा र सप्तरीदेखिका मानिसहरू आउने थिए । प्रकृतिले दिएको यो स्वर्ग जस्तो ठाउँलाई सडकको बेवास्ताले नर्क जस्तै बनाइदियो ।” शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो सडकले पारेको प्रभाव त झन् भयावह छ । सडकको धुलो केवल पसलका तखतामा मात्र होइन, विद्यालयका कक्षाकोठा र कलिला बालबालिकाको फोक्सोसम्म पुगेको छ । कटारी–११ हर्देनीस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश रायमाझीको प्रश्नले राज्यको लाचारीलाई गिज्याइरहेको छ । उनी भन्छन्, “हाम्रा विद्यार्थीहरू विद्यालय आउँदा बाटोभरि दिनकै एक मुठी धुलो खाएर कक्षामा छिर्छन् । एकछिन उभिएर हेर्नुस् त, ती बालबालिकाले लगाएको कपडाको रङ धुलोले चिन्नै नसकिने भएको हुन्छ । यो केवल सडकको कुरा होइन, यो त बालबालिकाको स्वास्थ्य र उनीहरूको भविष्यमाथि गम्भीर खेलबाड हो । उनीहरूको यो बिग्रँदो स्वास्थ्यको जिम्मेवारी अब कसले लिने ?” उनका अनुसार धुलोका कारण विद्यार्थीहरूमा निरन्तर खोकी लाग्ने, आँखा चिलाउने र श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । सिद्धिचरण राजमार्गको यो दुरावस्थाले यहाँको वर्तमान मात्र होइन, आउँदो पुस्तालाई समेत गम्भीर समस्यामा पारेको छ । यही सडक स्तरोन्नतिका लागि कटारीस्थित मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय स्थापना भएको पाँच वर्ष भएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार मिर्चैयादेखि कटारीसम्मको २६ किलोमिटर सडक स्तरोन्नतिको चरणमा छ, तर मरुवा खोलादेखि घुर्मीसम्मको अवस्था नाजुक छ । चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब तीन करोड विनियोजन भए पनि विभिन्न आन्दोलन र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रक्रियागत कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । कुल रु १० अर्बको लागत अनुमान गरिएको आयोजनामा यस वर्षको बजेट ‘फ्रिज’ हुने डर उत्तिकै छ । “२०८२ को मापदण्डबमोजिम बहुवर्षीय फाइल अगाडि बढाइएको छ, तर स्रोत सुनिश्चित नभएकाले ठेक्का प्रक्रिया अन्योल छ”, महतो भन्छन् । सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयले अब हारगुहार गर्न बाँकी कुनै ठाउँ छैन । स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्का प्रतिनिधिसम्म, मन्त्रालयका कोठादेखि सडकको चक्काजामसम्म सबै उपाय अपनाइसके । “आश्वासनका फाइल बोकेर मन्त्रालय धाउँदा–धाउँदा कतिपयका जुत्ता फाटे, तर सडकको अवस्था फेरिएन । अब त गुनासो गर्ने ठाउँ पनि छैन”, स्थानीयले भन्ने गरेका छन् । हाल फेरि चुनावी उत्सव छ । आगामी फागुन २१ पछि उदयपुर निर्वाचन क्षेत्र २ ले फेरि नयाँ प्रतिनिधि त पाउला, तर के जीर्ण सडकले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यही सडक फेरि ‘भोट माग्ने मुद्दा’ र ‘राजनीतिक नारा’ मात्रै बन्ला ? धुलोले अनुहार नचिनिने भएका नागरिकहरू अब भन्न थालेका छन्, “हामीलाई आश्वासन मात्र दिने नेता होइन, कालोपत्रे सडक चाहियो ।”
कास्कीको सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक पुगे
गण्डकी । सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पाँच हजार ५३ स्वदेशी एवं विदेशी पर्यटकको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६को सुरुवाती दिनदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवं वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएकामा उक्त केन्द्रमा जनवरी १ देखि ३१ गतेसम्मको पर्यटक सङ्ख्या अभिलेखीकरण गरिएको हो । एक महिनामा भित्रिएका कूल पाँच हजार ५३ पर्यटकमध्ये आन्तरिक पर्यटकको सङ्ख्या पाँच हजार २७ रहेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार त्यसमध्ये महिला दुई हजार २७६ जना छन् भने पुरुष दुई हजार ७५१ जना छन् । यस अवधिमा सिक्लेस आउने विदेशी पर्यटक २६ जना रहेकामा पुरुष १६ जना र महिला १० जना रहेको उनले जानकारी दिए । केन्द्रमार्फत पर्यटकको तथ्याङ्कसँगै यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीका साथै यहाँस्थित होटेल तथा घरबासलगायत विषयमा जानकारी प्रदान गरिएको थियो । जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ । पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यहरुमा पदयात्रा गर्न सकिन्छ ।
म्याग्दीकाे गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने सडक स्तरोन्नति सम्पन्न
म्याग्दी । बेनी नगरपालिकाका तीन प्रमुख धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति कार्य लक्ष्यभन्दा निकै अगाडि सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो योजना निर्माण व्यवसायीको सक्रियता र स्थानीयको समन्वयका कारण तोकिएको अवधिभन्दा पाँच महिनाअघि नै सकिएको हो। गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेको यस योजनाका लागि बिबिपीएल बिएसडीएस धवलागिरिसँग २०८३ असार १६ गतेसम्मको ठेक्का सम्झौता भएको थियो। तर, पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको सही व्यवस्थापनले गर्दा निर्माण कार्य छिटो सकिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। धेरैजसो विकास आयोजनाहरु ढिलासुस्तीले थला परिरहेका बेला यस सडक खण्डले समयमै काम सक्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यस योजनाअन्तर्गत गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर सडक फराकिलो बनाइएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँका अनुसार पहिले चार मिटर मात्र चौडा रहेको सडकलाई अहिले सात मिटर बनाइएको छ। यसका साथै घुम्ती र ग्रेड सुधार, पर्खाल तथा नाली निर्माणको काम पनि सम्पन्न भएको छ। मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा आकर्षित गर्न यो सडकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रामायणको पात्र रावणको जन्मभूमि मानिने पछै र शिखर शैलीको ऐतिहासिक जगन्नाथ मन्दिरसम्मको यात्रा अब सहज हुनेछ। बाँकी खण्डको स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल भइरहेको छ। सडक सहज भएपछि स्थानीयको जनजीवन सहज हुनुका साथै धार्मिक पर्यटकको बसाइ लम्बिने अपेक्षा गरिएको छ।
सल्यानको खलंगामा अटो दुर्घटना: १० जना घाइते, दुईको अवस्था गम्भीर
सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगामा सोमबार दिउँसो भएको अटो दुर्घटनामा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगाबजारतर्फ जाँदै गरेको रा१ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटना दिउँसो करिब २ बजे भएको प्रहरीले जनाएको छ। अटोमा सवार ११ मध्ये चालकबाहेक १० जना यात्रु घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ। अन्यको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल छन्। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। घाइतेहरूको विवरण तथा अवस्था निम्नानुसार छ: १. टरबहादुर रेउले (७८ वर्ष, सिद्धकुमाख गा.पा.–१) – गम्भीर २. सृष्टि बि.क. (३ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – गम्भीर ३. दीपक बि.क. (३५ वर्ष, सिद्धकुमाख गा.पा.–२) – मध्यम ४. रेशमबहादुर नेपाली (१९ वर्ष, शारदा न.पा.–११) – मध्यम ५. दीपक बि.क. (७ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – मध्यम ६. संगीता बि.क. (२३ वर्ष, बनगाड कुपिण्डे न.पा.–९) – सामान्य ७. कृष्णा बुढाथोकी (२३ वर्ष, दाङ बबई गा.पा.–६) – सामान्य ८. स्मृति बुढाथोकी (३ वर्ष, दाङ बबई गा.पा.–६) – सामान्य ९. धनि सुनार (३८ वर्ष, सिद्धकुमाख गा.पा.–२) – सामान्य १०. पुष्पा सुनार (३९ वर्ष, सिद्धकुमाख गा.पा.–२) – सामान्य प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
यस कारण उदयपुर-२ मा सुरेशकुमार राईलाई तारामा भाेट
उदयपुर । भूमिगत आन्दोलनदेखि संसदसम्म भइसकेका सुरेशकुमार राई फेरि उदयपुर क्षेत्र नं. २ बाट जनताको फैसला लिन मैदानमा छन् । कटारी नगरपालिका-५ बलाहाका स्थानीय राई २०४८ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय राई २०६३ पछि सशस्त्र आन्दोलन, जातीय मुक्ति मोर्चा र जनमुक्ति सेनाको ब्रिगेड कमिसारसम्मको जिम्मेवारी पूरा गरिसकेका अनुभवी कम्युनिस्ट नेता हुन् । संविधान निर्माणपछिको पहिलो निर्वाचन २०७४ मा कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित राईले पाँच वर्षमा भाषण होइन, काम गरेर देखाएका पात्र हुन् । सिद्धिचरण लोकमार्गको स्तरउन्नति, घुर्मी–चतरा सडकको अलपत्र अवस्था अन्त्य, सुनकोशी खानेपानी आयोजनामा करिब २ अर्ब लगानी, चार पालिकाका ४० वटै वडामा विद्युत् विस्तार, दर्जनौं विद्यालय र स्वास्थ्य संरचना निर्माण उनका मुख्य उपलब्धि आँखै अगाडी छन् । मदन भण्डारी लोकमार्गका १५ मोटरेबल पुल, धार्मिक–पर्यटकीय सडक, सिँचाइ तटबन्धन र ५ हजार घरधुरीमा नागरिक आवास-उदयपुर–२ को अनुहार फेरेका ठोस कामले राईलाई फेरि सशक्त उम्मेदवार बनाएको छ । फेरि निर्वाचित भए अधुरा योजना पूरा गर्दै उदयपुर–२ लाई अर्गानिक कृषि र पर्यटनको हव बनाउने राईको प्रतिवद्धता छ । मेडिकल कलेज स्थापना, कृषि आधुनिकीकरण, जडिबुटी प्रशोधन र स्थानीय उद्योग विस्तार उनका आगामी एजेन्डा हुन् । कामको निरन्तरताका लागि यसपटक पनि उदयपुर–२ मा तारा छापमै भाेट लगाउनु पर्ने मतदाताकाे पनि भनाइ छ । उम्मेदवार राईका अबका प्रतिबद्धता १. निर्वाचन क्षेत्र नं. २ मा २०७४ सालअघि र पछिका निर्माणाधीन सडक तथा खानेपानी आयोजनाहरू सम्पन्न गरिनेछ । २. साना तथा ठूला सिँचाइ योजनामा पर्याप्त बजेट विनियोजन गरी कृषि उत्पादनमा गुणात्मक वृद्धि गरिनेछ । ३. प्रत्येक वडाबाट पालिकासम्म र पालिकाबाट मुख्य सडकसँग जोडिने पक्की सडक आयोजनाका लागि पहल गरिनेछ । ४. निर्वाचन क्षेत्रीय रिङरोड सडकलाई ग्राभेल हुँदै क्रमशः पक्की सडकमा रूपान्तरण गरिनेछ । ५. कोल्टे–बाखखोर–माझखर्क, रसुवा–लाफागाउँ–माझखर्क, बतेनी–सोरुङ–छविसे लगायतका ग्रामीण सडक तथा अन्य योजनाहरू प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा सम्पन्न गरिनेछ । ६. शैक्षिक क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने उद्देश्यले भौतिक पूर्वाधार तथा प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि स्पष्ट नीति निर्माण गरिनेछ । ७. पालिका तथा प्रत्येक वडामा कम्तीमा एउटा खेलमैदान (स्पोर्ट्स ग्राउन्ड) निर्माण गर्ने नीति अवलम्बन गरिनेछ । ८. साना तथा घरेलु उद्योगहरू पालिका र वडासम्म स्थापना तथा विस्तार गर्ने नीति लागू गरिनेछ। ९. सबै प्रकारका (मुख्यतः राहत शिक्षक) शिक्षकहरूको समस्या समाधान गर्ने गरी शिक्षा ऐन निर्माणमा सक्रिय भूमिका खेलिनेछ । १०. स्वास्थ्य चौकी तथा पालिका अस्पतालमार्फत सर्वसुलभ औषधि र दक्ष जनशक्तिको व्यवस्था गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिनेछ । ११. कटारी नगरपालिकामा निःशुल्क जमिन उपलब्ध गराई मेडिकल कलेज स्थापना गर्न पहल गरिनेछ । १२. कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गरिनेछ तथा कृषिलाई उद्योगका रूपमा विकास गरी बजारिकरण गरिनेछ । १३. कमला, तावा, वैद्यनाथ, त्रियुगा सिर लगायतका नदी–नालामा तटबन्धन आयोजना सञ्चालन गर्न पहल गरिनेछ । १४. आयातित वस्तुको नियमन गर्दै स्वदेशमै उत्पादित वस्तु निर्यातका लागि बजार सुरक्षा र विस्तार गरिनेछ । १५. जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ। १६. गाजाँ प्रजातिका वनस्पतिलाई लागूऔषधका रूपमा होइन, औषधि प्रयोग, खाद्यवस्तु तथा कपडा उत्पादनका कच्चा पदार्थका रूपमा मानव हितमा प्रयोग गर्न कानुनी व्यवस्था गरिनेछ । १७. परम्परागत अल्कोहललाई करको दायरामा ल्याई उद्योगका रूपमा विकास गरिनेछ र विषादीयुक्त बहुराष्ट्रिय कम्पनीका आयातित मदिरालाई विस्थापित गरिनेछ । १८. बहुजातीय संग्रहालय स्थापना गरिनेछ तथा दनुवार जातिको उत्थान र विकासका लागि विशेष व्यवस्था गरिनेछ । १९. वन, वन्यजन्तु तथा सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिइनेछ । २०. चुनढुंगा खानी उत्खननबाट प्रभावित क्षेत्रलाई राहतस्वरूप कम्पनी सेयर तथा रोजगारीमा पहिलो हक सुनिश्चित गर्ने नीति निर्माणका लागि पहल गरिनेछ । २१. चुनढुंगा उत्खनन गर्दा स्थानीय जनताको अधिकारस्वरूप सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफाको निश्चित प्रतिशत कार्यान्वयन गर्ने नीति बनाइनेछ । २२. निर्वाचन क्षेत्र नं. २ तथा सम्पूर्ण उदयपुर जिल्लालाई अर्गानिक कृषि र पर्यटनको ‘हब’का रूपमा विकास गरिनेछ । देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उदयपुर जिल्लालाई एक मुख्य जिल्ला (क्षेत्र)का रूपमा स्थापित गरिनेछ । २३.ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, धनुषा र सिन्धुली जिल्लासँग जोडिएको उदयपुर जिल्ला देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक प्रमुख जिल्ला (क्षेत्र)को रूपमा अगाडि बढ्न सक्ने सम्भावना बोकेको छ । यसकाे लागि जाेड दिने । २०७४ सालमा निर्वाचित हुँदा हालका उम्मेदवार राईले गरेका काम तथा उपलब्धिहरू १. मिर्चैयाँ–कटारी–घुर्मी हुँदै ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुसँग जोड्ने सिद्धिचरण लोकमार्गको स्तरवृद्धि गर्दै पक्की सडक निर्माणका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरी क्रमागत बजेट सुनिश्चित गरिएको । २. सडक विभाग र निर्माण व्यवसायीबीचको विवाद समाधान गरी घुर्मी–चतरा सडक निर्माण कार्य सुचारु गर्न प्राथमिकताका साथ पहल गरिएको । ३. मुर्कुची–डिल्लीवर–माझखर्क–लिम्चुङबुङ–बराह–सुनकोशी हुँदै हलेसी धार्मिक स्थलसम्म पक्की सडक परियोजनाका लागि निरन्तर बजेट सुनिश्चित गर्न पहल भइरहेको । ४. निर्वाचन क्षेत्रभरिका ४० वडामध्ये २२ वडाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सुनकोशी खानेपानी आयोजना–१ र २ मा करिब २ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन भई निर्माणाधीन अवस्थामा रहेको । ५. प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका चारै पालिकामा विद्युतिकरण सम्पन्न गरिएको तथा कटारी नगरपालिकाका वडा नं. १, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ मा बाँकी रहेका ग्रामीण बस्तीहरूमा विद्युत विस्तार गरी पालिकाका सबै ४० वटै वडामा विद्युतिकरण सम्पन्न गरिएको । ६. निर्वाचन क्षेत्रभित्रका पाँचवटै प्रशासनिक पालिका भवन निर्माण योजना समयमै सम्पन्न गर्न सम्बन्धित मन्त्रालयसँग आवश्यक समन्वय गरिएको । ७. पूर्वाधार विकास कोष, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मन्त्रालयबाट विनियोजित बजेटमार्फत छ दर्जनभन्दा बढी विद्यालय भवन निर्माण, नमूना विद्यालय स्थापना तथा प्रविधिमैत्री शिक्षाको सुरुआत गरिएको । ८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत योजनाअनुसार चार पालिकामा १५ शय्याको अस्पताल निर्माण योजना तथा निर्वाचन क्षेत्रभर बाँकी रहेका वडाहरूमा स्वास्थ्य चौकी भवन निर्माण योजना कार्यान्वयनका लागि समन्वय र अनुगमन गरिएको । ९. रौतामाई–रानीवासदेखि रौतामाई धार्मिक–सांस्कृतिक स्थल तथा मुर्कुची–तेलतेले–रौतामाई धार्मिक–सांस्कृतिक स्थलसम्म मुख्य राजमार्गबाट १५–१५ किलोमिटरका सामरिक पक्की सडक परियोजनाका लागि बजेट सुनिश्चित भई निर्माणाधीन अवस्थामा रहेको । १०. निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने, निर्माण भएका सडकहरूको स्तरवृद्धि गरी पालिकालाई मुख्य सडकसँग र वडालाई पालिकासँग जोडिएको । ११. कटारी नगरपालिका वडा नं. १ बेलसोतदेखि तिम्नाइ–सिस्नेरी हुँदै सिराहा जिल्ला जोड्ने ग्रामीण सडक ट्र्याक खोलि, वडा हुँदै पालिकासम्म आवागमन सहज बनाइएको। १२. बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–लिम्चुङबुङ–बराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुर्कुची–उदयपुरगढी–तावाश्री हुँदै देउलीकुनाबाट कटारी जोड्ने निर्वाचन क्षेत्रस्तरीय रिङरोड ट्र्याक खोल्ने तथा स्तरवृद्धि गरिएको । साथै तावाश्री, जरुवा, रुन्चेभञ्ज्याङ, ओख्ले, ताप्ली, ईनामे, माझखर्कलगायत पर्यटकीय तथा ग्रामीण सडक विस्तार र स्तरोन्नति भइरहेको । १३. कटारी–देउलीकुना–बाहुनीटार–जरुवा–बर्रे–डुम्रे–ढुंग्रे–माझखर्क ग्रामीण सडक स्तरोन्नति योजना निर्माणाधीन अवस्थामा रहेको । १४. मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा ढिलासुस्ती भइरहेको अवस्थामा रहेका १५ वटा मोटरेबल पक्की पुल निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न मन्त्रालय, सडक विभाग र निर्माण व्यवसायीसँग निरन्तर समन्वय गरिएको । १५. सिँचाइ तथा तटबन्धनका लागि पूर्वाधार विकास कोष र मन्त्रालयबाट निर्वाचन क्षेत्रभर तीन दर्जनभन्दा बढी योजना कार्यान्वयन गरिएको । १६. रौतामाई गाउँपालिका वडा नं. ३ ओडारे–लाफागाउँ खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई खानेपानीको अभावमा रहेका वडाबासी लाभान्वित भएका । १७. उदयपुरगढी गाउँपालिका वडा नं. ७ बतासे खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई ७० घरधुरी लाभान्वित भएका । १८. निर्वाचन क्षेत्रभर दर्जनौँ गुम्बा, मन्दिर, साकेला थान, चर्च, शहीद पार्क, एलम्बर पार्क, होमस्टे भवन लगायतका संरचना निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष तथा सम्बन्धित मन्त्रालयको बजेटबाट निर्माण सम्पन्न गरिएको । १९. निर्वाचन क्षेत्रभर ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत फुसको छाना विस्थापित गरी करिब ५ हजार घरधुरीमा जस्तापाताको छाना लगाइएको ।
बाँकेमा ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेका हुन् । यहाँको कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी रु १५ करोड ३८ लाखमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन । ठेकेदारले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताए । विसं २०७९ मा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि उस्तै छ । पाँच वर्षअघि रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा निर्माण सुरु भएकामा हालसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ । नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन अझै गाउँपालिकाले प्रयोग गर्न सकेको छैन । विसं २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्झौता गरेको भवन निर्माणका लागि रु छ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता गरेको थियो । समयमै काम सम्पन्न नभएपछि पालिकाले भवन निर्माणका लागि पटकपटक म्याद थपेको थियो । भवन निर्माण सम्पन्न नहुँदा जनतालाई सेवा प्रवाहमा असुविधा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए। बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण नसकिँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ । खजुरा गाउँपालिका–३ बीगाउँस्थित निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । उनका अनुसार प्रशासनिक भवनको अधिकांश संरचना निर्माण सकिएको र थोरै काम मात्र बाँकी छ । विद्युत्, वाइरिङ, पानी निकास जस्ता प्राविधिक संरचना जडान भइरहेको छ । रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले भवन निर्माण गरिरहेको छ ।
जुनार कृषकहरू मूल्य कहिले पाइएला भन्ने चिन्तामा
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यस वर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य आउने आशामा उनीहरू छन् । उनीहरुले अझै जुनार र सुन्तला बोटमै राखेका छन् । मुख्य गरी मङ्सिरदेखि माघको पहिलो हप्ताभित्र जुनार टिपिसक्ने मौसम हो, तर केही जुनार कृषकले जुनार बिक्री गरिसके पनि ओख्रेनीका अधिकांश किसानले राम्रो मूल्य पाइन्छ कि भन्ने आशामा बगैँचामै राखेका हुन् । करिब पाँच सय बोटमा फलेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि बिक्री गर्ने योजनामा अहिलेसम्म नटिपेको स्थानीय जुनार कृषक हिमाल तामाङले बताए । उनले भने, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटैमा पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ ।” यस वर्ष गत असोज र कात्तिकमा परेको लगातारको वर्षाका कारण उत्पादनमा केही गिरावट आएको छ । गत मङ्सिर पुसतिर बगैँचाबाट बिक्री गर्दा ५० रुपैयाँ किलो मात्र पाएकोमा अब बेच्दा भने जुनार दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँ प्रतिकिलो बिक्री हुने स्थानीय कृषक दिलमाया तामाङले बताइन् । उनले भनिन्, “आफूले जति पछि बेच्यो त्यति बढी पैसा आउने आशाले अहिलेसम्म पनि जुनार बोटमै राखेका छौँ, तर अब प्रतिकिलो ६०–७० मा बिक्री गर्ने तयारी छ ।” जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षदेखि उत्पादन दिन सुरु गर्छ । जुनार बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका कोसे तथा तरकारीबालीहरु पनि लगाएका कृषकले दोहोरो आम्दानी लिने गरेका छन् । आफूले पनि सिजन अफ भएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशामा जुनार बिक्री नगरेको अर्का कृषक गिरीराज तामाङले बताए । जुनारबाट जाम, जुस र अन्य पेय पदार्थसमेत बनाएर बिक्री गर्ने गरिएको छ । जुनारको बजारको समस्या भने खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ । बेमौसममा मूल्य पाइनु स्वाभाविक भए पनि माघ महिनाको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने भएकाले मूल्य आउने आशामा बोटमै राख्न राम्रो नहुने जुनार जोन समन्वय समितिका प्राविधिक बताउँछन् । जुनारमा फूल फुल्ने बेलासम्म बोटमै जुनार राख्दा अर्को वर्षका लागि फुल्ने फूललाई असर गर्ने भएकाले समयमै टिपेर बरु चिस्यान घरमा राखेर बिक्री गर्दा कृषकहरूलाई फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहाहुर कार्कीको सुझाव छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले भने मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रमहरू कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आवमा रामेछाप, मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकासहित ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रामेछापकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिए । उनले भने, “प्राविधिक हिसाबले माघ फागुनसम्म जुनार बोटमा राख्नु राम्रो हैन ।” हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा त्यहाँ राख्ने र बेमौसममा जुनार बिक्री गर्ने व्यवस्था मिलाउन सकेमा कृषकहरूलाई फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठ बताउँछन् ।

