पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार भरतपुरमा गरिएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।”
पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।
प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।
“विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।’
चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”
अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू रहेको बताए ।
पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे ।
बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम
बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ। रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
काठमाडौं, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ। भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ। रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ । महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया सुरु गरेको हो। यसअघि, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ । महानगरपालिका प्रमुख दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने विश्वास व्यक्त गरिन् । संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।
विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने
विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् । यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।
एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली
विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ । बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको आरोप लगाए । फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।
४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ
काठमाडौं, १६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका –८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका(१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका –४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्। यस्तै, धादिङको गल्छी गाउँपालिका –७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्। यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।
६ महिनापछि गण्डकीको संसद बैठक बस्दै
पोखरा, १६ फागुन । गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो । संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ । सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ । यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरु समेत काम विहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।
भरतपुर भ्रमण वर्ष : उद्घाटनको तयारी अन्तिम चरणमा, ५० हजार जना सहभागी हुने
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्। भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताइन् । भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्र्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्। भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।
कालिकोटको सुनथराली विमानस्थल उद्घाटन
काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए। सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।
युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।
उकृष्ट र्याली सहभागी वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट र्याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत र्यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्यालीमा सहभागिहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ । भरतपुरका २९ वटाका याली समुह मध्ये प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । ¥यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै ¥यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ । उत्कृष्ट समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्नु हुनेछ । यस्तै उत्कृष्ट ¥याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट ¥याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः रु २० हजार, रु १५ हजार र १० हजार पुरस्कार राशी रहेको छ । उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । महानगरपालिकाले ¥यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ । ¥यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फहर आफैले व्यवस्थापन गर्नुपर्ने छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता गराउने गरी महानगरपालिकाले तयारी गरिरहेको छ । ठुलो जनमानसको बीचमा भ्रमण वर्षको उद्घाटन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा भरतपुरलाई परिचित बनाउने महानगरले लक्ष्य लिएको छ । उद्घाटन समारोहका दिन नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, नेपालका शिर्ष नेतृत्व, बुद्धिजीवि, कर्मचारी, राष्ट्रिय कलाकारको उपस्थिति रहने छ । भ्रमण वर्षको औपचारिक उद्घाटनपछि वर्षभरि नै पर्यटकीय गतिविधिहरु हुनेछन् । यसका लागि महानगरपालिकाले पाटेबाघ देखाउन ओपन जू, संग्रालयका रुपमा दियालो बंगलालाई सञ्चालनमा ल्याउन लागेको छ । महानगरपालिकाका मुख्य ७ वटा प्रमु्ख पर्यटकीय गन्तव्यसहित ३५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरिसकेको छ । भ्रमण वर्ष २०२४ लाई सफल बनाई भरतपुरलाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ ।
सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना
नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए । उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए । जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो । सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो । यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ । गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए ।
रुसी सेनामा गएका रोल्पाका युवकको मृत्यु
काठमाडौं । अवैधानिक तरिकाले रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनको आक्रमणका कारण मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको हो । तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका अर्का साथीले खबर गरे। उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् । मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए ।
वडा कार्यालयको सभाहलभित्र महिलाको शव फेला, अनुसन्धान जारी
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको शव फेला परेको हो । धामीले एक नगरप्रहरीसँग विवाह गरेर कञ्चनपुर आएको खुलेको छ । उनको शव भुन्डिएको अवस्थामा फेला परेका कारण आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले वडाकार्यालयको सीसीटीभीमार्फत अध्यनन सुरु गरेको जनाइएको छ ।
वनको काठ हिनामिना प्रकरणमा मुछिएका राप्रपा सांसद यादव निलम्बित
बुटवल । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्। कपिलवस्तु क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्वतः निलम्बन गरिएको जानकारी गराएको छ। ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ उनले भनेका छन्। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ।
भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते
कैलाली। कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जीवी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनीराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुन पगेका थिए । घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसियुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ ।