बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन गरिने

तनहुँ । बन्दीपुर भ्रमण वर्षको अवसरमा आज (मंगलबार) यहाँ बृहत् चुड्का नाच प्रदर्शन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दै छन् ।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चुड्का नाचका संयोजक एवं पर्यटनविद् हरिसिंह गुरुङले जानकारी दिए । चुड्का नाचका लागि केही दिनदेखि दमौली आसपासका विद्यालय, क्याम्पसका विद्यार्थीलाई नृत्य सिकाइएको थियो ।

तनहुँको कला, संस्कृति प्रवर्द्धन गर्ने र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनले भने, “तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नाच्ने यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।”

बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन चुड्का नचाइने छ भने दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन गरिँदैछ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि पनि विशेष कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उल्लेख गरे ।

त्यस्तै पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरिँदै छ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यति बेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए ।

बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । यहाँ रहेको सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडी बढेको उनले उल्लेख गरे । उनले भन्नुभयो, “यहाँ निर्माणाधीन रहेका पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौँ । यसले बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित विश्वास छ ।”

अध्यक्ष थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्ने उनले विश्वास व्यक्त गरे ।

समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा प्रवेश शुल्क सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि विवाद सुरु भएको हो । उक्त बोलपत्र खप्तड निर्माण सेवा, बाजुराले पाएको छ । विगतदेखि ताल संरक्षणमा सक्रिय सामुदायिक वन र सरोकार भएका सङ्घसंस्थासँग आवश्यक समन्वय नगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै विवाद सिर्जना भएको हो । विवादका कारण ठेक्का पाएको तीन महिना बितिसक्दा पनि काम गर्न नपाएको निर्माण कम्पनीका प्रतिनिधि विक्रम रावलले गुनासो गरे । उनका अनुसार बोलपत्रबापत रु १६ लाख ४० हजार नगरपालिकामा जम्मा गरिसकिएको अवस्थामा हालसम्म कार्यस्थलमा काम गर्ने अवस्था बनेको छैन । “आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले लागेका हौँ, तर अहिले काम गर्न पाइएको छैन”, रावलले भने । घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क विगतका वर्षमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले सङ्कलन गर्दै आएको थियो । त्यसपछि भने घोडाघोडी सामुदायिक वनले उक्त शुल्क सङ्कलन गर्दै आएको छ । ताल क्षेत्रको संरक्षण आफूहरूले गर्दै आएकाले प्रवेश शुल्क लिने अधिकार पनि सामुदायिक वनको हुनुपर्ने आफूहरूको माग रहेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले बताए । उनले सरोकार भएका निकायसँग कुनै किसिमको समन्वय नगरी नगरपालिकाले बोलपत्र आह्वान गर्न नहुने धारणा राखे । स्थानीय उपभोक्ताले संरक्षण गर्दै आम्दानी लिन थालेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदनसमेत दिएका छन् । यसैबीच, नगरप्रमुख खडकबहादुर रावतले प्रवेश शुल्कसम्बन्धी विवाद समाधानका लागि सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भइरहेको बताए । “तीन महिना भइसक्दा पनि ठेक्का पाउनेहरूले काम गर्न पाउनुभएको छैन । सबै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र समन्वय गरेर विवाद समाधान गरी काम गर्ने वातावरण बनाउने छौँ”, उनले भने ।

सुदूरपश्चिममा एकै दिनका सवारी दुर्घटनामा चारको मृत्यु, केही घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा मात्र दुई जनाको मृत्यु भएको छ । कैलालीका दुई दुर्घटना : लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाशधाम तीर्थस्थल नजिक पूर्व–पश्चिम राजमार्गमा से ४ प ६७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिलरमा ठोक्किएको थियो । दुर्घटनामा चालक २६ वर्षीय अनिष भण्डारीको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको छ । पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएका छन् । यस्तै, बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा चालक २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको छ । पछाडि सवार २४ वर्षीया रिता कठरिया घाइते भएकी छिन् । उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ । कञ्चनपुरको दुर्घटना : शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको म १ त ९३१ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०२–००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय गुड्डु बि.क.को मृत्यु भएको छ भने पछाडि सवार बिरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराको दुर्घटना : आलिताल गाउँपालिका–४ जालिटुडास्थित बुडर–जोगबुढा सडक खण्डमा राति करिब ९ बजेतिर जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भि.न.पा. ००१ ह ४०८ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा अटोमा सवार २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ भने २१ वर्षीया सबिता थापा मगर घाइते भएकी छिन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटो चालक फरार छन् ।

रुकुम पश्चिमको चौरजहारीमा शङ्कास्पद सकेट बम फेला

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ जमिनमुनि सकेट बम जस्तो देखिने वस्तु भेटिएको हो । वस्तु भेटिएलगत्तै स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तै देखिएको छ । ‘सूचना पाउनासाथ टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेका छौँ,’ उनले भने । शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ । रात परिसकेकाले सुरक्षा व्यवस्था कडा पारिएको र आज बिहान सेनाको डिस्पोजल टोलीले बमलाई सुरक्षित व्यवस्थापन गर्ने तयारी भएको पुनले बताए । विगतमा सशस्त्र द्वन्द्वको प्रभावित क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि नेपाली सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुनेछ ।

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ । “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।” रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० बर्सिया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए। उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ । सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ । कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी) ले सङ्कलन गरेको नमुना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए । यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुख्य कारण उखु खेती कटानीका कारण प्राकृतिक वासस्थान नष्ट हुनु रहेको छ । “उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “वासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।” पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ । असामान्य व्यवहार गर्ने, टोक्ने वा र्‍याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ ।

म्याग्दीमा निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुस र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् । रामबहादुरका नाति ध्रुव खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भए पनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताए । “त्यस बेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुबाले भारतबाट ल्याएको कोलका पाट पुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ”, उनले भने, “एक सय किलोग्राम तौल भएको तीन वटा पाट पुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।” सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाँडाबाट कोल बोकेर सिम ल्याएका थिए । त्यस बेला ग्रामीण क्षेत्रमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यस बेला गुलियोका लागि पनि घरैपिच्छे उखुखेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरूको पालामा पनि निरन्तता दिएको खत्रीले बताए । कोलमा उखु पेलेबापत १० लिटर बराबर रु एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट किसानहरू आउने गरेका छन् । मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिककार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैँसी बिरामी भएमा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने उनको अनुभव छ । मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताए । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पूजाआजामा पनि प्रयोग गरिने मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताइन् । विवाह, व्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवीदेवतालाई प्रसादका रूपमा पनि खुदो चढाउने चलन छ ।

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले  हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस गरेको हो ।  पाँचथरमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ नेकपा माओवादी केन्द्र कोशी प्रदेशको अध्यक्ष हुन् । पाँचथरबाट भूगोलको राजनीति गरिरहेका नेम्वाङले एकल उम्मेदवारको रूपमा आफ्नो नाम सिफारिस भएको स्वीकार गरेका छन् । 

महोत्तरी–४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड र भरत साहको उम्मेदवारी सिफारिस

महोत्तरी – आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेस प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।  आइतबार रामगोपालपुरमा बसेको पार्टी बैठकले यो निर्णय गरेको हो। नेपाली कम्युनिस्ट पार्टीका नेता सूर्यनारायण साहले पार्टीको आन्तरिक सहमति र वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै उम्मेदवार सिफारिस गरिएको जानकारी दिए।  उनका अनुसार महोत्तरी–४ मा पार्टीको संगठनलाई सुदृढ बनाउने र जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्वका रूपमा प्रचण्ड र साहलाई अघि सारिएको हो। अब यो सिफारिसलाई पार्टीको केन्द्रीय कमिटीले अन्तिम स्वीकृति दिनेछ।  अरविन्द दासको अध्यक्षतामा बसेको बैठकमा भरत प्रसाद साह, मो. रजी हैदर, पूर्वसंविधानसभा सदस्य लालेन्द्र मण्डल, विजय यादवलगायतको उपस्थिति थियो। यो सिफारिसले आगामी निर्वाचनमा महोत्तरी क्षेत्रमा पार्टीको प्रभाव बढाउने अपेक्षा गरिएको छ। 

तनहुँकाे व्यास–ऋषिङ जोड्ने सेती पुल पाँचदेखि अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ ।  गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो पुल समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको छ भने आयोजनाको लागत र समय दुवै बढ्दै गएका छन् । वि.सं. २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी, काठमाडौँसँग सम्झौता भई निर्माण सुरु गरिएको यो पुलको भौतिक प्रगति हालसम्म ६५ प्रतिशत मात्रै पुगेको छ । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार १९४ रुपियाँको लागतमा निर्माण भइरहेको १५५ मिटर लामो यो पुल ‘स्टिल ट्रस’ प्रविधिमा आधारित छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र विभिन्न कारण देखाउँदै हालसम्म तीन पटक म्याद थप भइसकेको छ । पुल सञ्चालनमा आएपछि व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोडिने छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीका अनुसार निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिँदै आएको छ । उनले पुलका ‘स्टिल पार्ट्स’ फेब्रिकेसनको काम सम्पन्न भइसकेको र दुईवटा ‘स्पान’मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताए ।  “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ,” तिवारीले भने, “२०८२ चैतको अन्तिम म्यादभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई कडा निर्देशन दिएका छौँ ।” पाइल फाउन्डेसनमा आधारित यो पुल ९.५ मिटर चौडाइको हुनेछ । पछिल्लो समय कार्यालयको दबाबपछि निर्माण स्थलमा केही चहलपहल देखिए पनि पटक–पटक म्याद थपिने तर अपेक्षित प्रगति नहुने प्रवृत्तिका कारण स्थानीय बासिन्दा तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा अझै सशंकित छन् । पुल निर्माणमा भएको लामो ढिलाइप्रति नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्वतमान अध्यक्ष तथा साहित्यकार सागर उदासले पुलको दुरावस्थाप्रति दुःख व्यक्त गरे । 

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखमा सुनौलो रङ पोतिदिँदा राइनासकोटको दृश्य झन लोभलाग्दो देखिन्छ । हल्का कुहिरो चिर्दै उदाउने घामसँगै अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ र माछापुच्छ्रे हिमशृङ्खला क्रमशः छर्लङ्ग्गै देखिँदा पर्यटक मन्त्रमुग्ध हुने गर्छन् । यही सूर्योदय हेर्न पर्यटक बिहानै डाँडा उक्लिने गर्छन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण भएसँगै यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । परम्परागत घुमाउने घर, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय पाहुना सत्कारले राइनासकोटलाई छुट्टै पहिचान दिएको छ । हाल १७ घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ एकै रातमा करिब १०० जनासम्म पाहुनाले बास बस्न सक्छन् । राइनासकोटबाट हिमाल मात्र होइन गोरखाको बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट र गोरखाबजारदेखि तनहुँको आँबुखैरनी, बन्दीपुर र दमौलीसम्मका बस्तीहरू सजिलै देख्न सकिन्छ ।  लमजुङको बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार र दूराडाँडासमेत आँखै अगाडि देखिने भएकाले यो डाँडा प्राकृतिक भ्यू–टावरकै रूपमा चिनिन थालेको छ । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिंह गुरुङका अनुसार यहाँबाट १८ जिल्लासम्म देख्न सकिन्छ । बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको राइनासकोट किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थलले यस क्षेत्रको ऐतिहासिक गरिमा झल्काउँछन् । समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको राइनासकोटमा सूर्योदय र सूर्यास्त दुवै दृश्यावलोकन गर्न सकिन्छ । साँझपख अस्ताउँदै गरेको सूर्यले चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटमा रातो–पहेँलो आभा छर्दा पर्यटक लामो समयसम्म त्यो दृश्यमा हराउँछन् । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार हप्ताको अन्त्यमा पर्यटकको चाप बढी हुने गरेको छ । शुक्रबार र शनिबार १०० देखि १५० जनासम्म पर्यटक आउने गरेका छन् । राइनास नगरपालिकाले राइनासकोटको पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ । नगर प्रमुख गुरुङका अनुसार होमस्टेलाई थप व्यवस्थित बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र सेवास्तर सुधार्ने काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण, मन्दिर पुनर्निर्माण, पुरातात्विक सम्पदाको संरक्षण र सडक सुधार पनि भइरहेका छन् । प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्यका कारण राइनासकोट पछिल्लो समय काठमाडौँ, पोखरा र चितवनलगायत सहरका पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पुग्न लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट करिब डेढ घण्टा यात्रा गर्नुपर्छ । 

मनाङको दुर्गम क्षेत्रमा नयाँ हिमताल फेला

मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको चरणमा प्रवेश गरेको छ । प्रारम्भिक विवरणअनुसार उच्च हिमाली भूभागमा अवस्थित यस तालले नेपालका हिमतालहरूको सूचीमा नयाँ अध्याय थप्ने देखिएको छ । स्थानीय गोठालाहरूले वर्षौंदेखि टाढाबाट देख्ने गरेको निलो जलराशिको जानकारी दिएपछि चामे गाउँपालिका, स्थानीय प्रशासन र सुरक्षाकर्मीको संयुक्त टोलीले तीन वर्षअघि तालको प्रारम्भिक अन्वेषण थालेको थियो । सो क्रममा ताल समुद्र सतहबाट करिब ५,२०० मिटर उचाइमा रहेको अनुमान गरिएको छ । यद्यपि, तालको वास्तविक उचाइ, क्षेत्रफल र गहिराइको औपचारिक वैज्ञानिक मापन भने हालसम्म सम्पन्न भएको छैन । दुर्गम, जोखिमपूर्ण र अछुतो हिमाली भू–भागमा अवस्थित काजिनसारा तालसम्म पुग्न कठिन भए पनि यस क्षेत्रको भौगोलिक र प्राकृतिक महत्व उच्च रहेको बताइएको छ । प्रारम्भिक प्रतिवेदनले ताललाई हिमनदीबाट बनेको उच्च हिमाली ग्लेसियर तालका रूपमा चिनाएको छ । तालको लम्बाइ झन्डै एक किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको अनुमान गरिएको भए पनि गहिराइसम्बन्धी विवरण अझै प्राप्त हुन सकेको छैन । नर्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाका अनुसार नापी विभाग वा सम्बन्धित प्राविधिक निकायबाट औपचारिक सर्वेक्षण नभएसम्म तालको विश्वस्तरको स्थानबारे निष्कर्ष निकाल्न मिल्दैन । उनले भने, “वैज्ञानिक मापनबिनाको दाबीभन्दा पनि अहिले आवश्यक कुरा तथ्यमा आधारित अध्ययन र संरक्षण हो ।” चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काजिनसारा ताल प्राकृतिक सम्पदाको रूपमा महत्वपूर्ण भएकाले हतारमा पर्यटकीय गतिविधि विस्तार गर्नु भन्दा दीर्घकालीन संरक्षण नीति आवश्यक रहेको बताए । उनका अनुसार ताल वरपरको क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले भविष्यमा गरिने कुनै पनि पूर्वाधार विकासअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिनेछ । ताल अवस्थित क्षेत्र चारैतिर हिमालहरूले घेरिएको छ । पूर्वतर्फ मनास्लु, दक्षिणतर्फ अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतको पेरी हिमाल देखिने भएकाले यो क्षेत्र प्राकृतिक अध्ययन र दृश्यावलोकनका दृष्टिले महत्वपूर्ण मानिन्छ । विज्ञहरूका अनुसार हिमनदीको विस्तार, जलवायु परिवर्तन र भौगोलिक उत्थानका कारण यस्ता नयाँ उच्च हिमतालहरू पहिचान हुनु अस्वाभाविक होइन । चामे गाउँपालिकाले आगामी अनुकूल मौसममा दोस्रो चरणको विस्तृत वैज्ञानिक सर्वेक्षण गर्ने तयारी गरेको छ । उक्त सर्वेक्षणमा उपग्रह प्रविधि, जलविज्ञान परीक्षण, सम्भावित हिमताल विस्फोट जोखिम मूल्यांकन तथा बहु–निकायको सहभागिता रहने बताइएको छ । सर्वेक्षणपछि संरक्षण, विपद् व्यवस्थापन र स्थानीय समुदायको सहभागितामा आधारित दीर्घकालीन व्यवस्थापन योजना लागू गरिने गाउँपालिकाले जनाएको छ । काजिनसारा तालको औपचारिक पहिचान र वैज्ञानिक प्रमाणीकरणसँगै यसले नेपालको हिमाली भूगोल, जलस्रोत अध्ययन र वातावरण संरक्षण क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

चिसो बढेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले गाउँ छाड्न थाले

ताप्लेजुङ । ताप्लेजुङका हिमाली बस्ती पापुङस्थित तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो बढेसँगै गाउँ छाड्न थालेका छन् । जाडो अत्यधिक बढ्न थालेपछि चिसो छल्न उनीहरू तल्लो भेग तथा अन्य स्थानतर्फ सरेका हुन् । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा अवस्थित छ भने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा तीन हजार ४७५ मिटर उचाइमा रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर) पछि तोक्पेगोला दोस्रो उच्च बस्ती हो । स्थानीयका अनुसार मङ्सिरको दोस्रो सातादेखि नै तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका हुन् । तोक्पेगोलामा बसोबास गर्दै आएका करिब डेढ दर्जन परिवारमध्ये अधिकांशले गाउँ छाडिसकेका पापुङका स्थानीय नुपु शेर्पाले जानकारी दिए । याक–चौंरी व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका शेर्पाका अनुसार चिसो अत्यधिक बढेपछि त्यहाँका परिवारहरू पापुङ तथा तल्लो भेगतर्फ झरेका छन् । यस्तै, घुन्सामा बसोबास गर्ने करिब तीन दर्जन परिवारमध्ये दर्जनौँ परिवारले गाउँ छाडिसकेका स्थानीय पेमा शेर्पाले बताए । उनका अनुसार चिसो बढेसँगै बासिन्दाको बसाइँसराइ क्रम जारी छ । उनको परिवारले भने करिब एक महिना अघिनै घुन्सा छाडेको छ । आफन्त भेटघाटका लागि भारत जानुपर्ने भएकाले चिसो सुरु हुनुअघि नै गाउँ छाडेको उनले जानकारी दिए । भारतमा आफन्तसँग भेटघाटपछि हाल काठमाडौं आएर बसिरहेको र चिसो मौसमभर यतै बस्ने योजना रहेको उनले बताए । चिसो छल्न घुन्सा छाड्ने परिवारहरू प्रायः सदरमुकाम फुङ्लिङ, काठमाडौं तथा अन्य ठाउँमा गएर बस्ने गर्दछन् । प्रत्येक वर्ष हिउँद याममा तोक्पेगोला, घुन्सा, फले र याङ्मा लगायतका उच्च हिमाली बस्तीका अधिकांश बासिन्दाले चिसो छल्न गाउँ छाड्ने परम्परा रहेको छ । चिसो मौसमभर उनीहरू कोठा भाडामा वा आफन्तको सहारामा बस्ने गरेका छन् । हिउँद याम सकिएपछि फागुन महिनादेखि भने गाउँ छाडेका बासिन्दा पुनः गाउँ फर्कन थाल्ने गर्छन् ।

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास नगरपालिका–२ दशरथ बस्ती तथा बेलडाँडीका गुण उद्योगहरूले उखु क्रसिङ थालेपछि दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीका किसान उखु काट्न सक्रिय भएका हुन् । नगदे बालीका रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानदेखि साँझसम्म खेतमै समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढाएर ६२० रुपैयाँ कायम गर्नुका साथै ७० रुपैयाँ अनुदान दिने निर्णय गरेपछि किसान उत्साहित भएका छन् । उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएकाले किसान खुसी भएको बताए । उनले अनुदान भुक्तानीमा ढिलासुस्ती नगर्न सरकारसँग माग गरे । जिल्लाको दक्षिणी क्षेत्रमा चिनी उद्योग स्थापना भएपछि उखुखेती किसानका लागि घरदैलोमै रोजगारी र आम्दानीको मुख्य स्रोत बनेको छ । १५ वर्षअघि बेलौरी र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार भएको छ । पहिले किसान भारतमा सस्तोमा उखु बेच्न बाध्य भए पनि अहिले स्वदेशमै बिक्री सहज भएको छ । बेलडाँडी–४ का युवा किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारको माध्यम बनाएको बताए । उनले आठ बिघा कञ्चनपुर र छ बिघा बर्दियामा उखुखेती गर्दै वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको बताए । त्यस्तै, पुनर्वास नगरपालिका–९ का उखु किसान नारायणप्रसाद जैसीले उखु नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । बेलौरी–१० का किसान चक्रहादुर कडायतले ३२ बिघामा उखुखेती गर्दै वार्षिक ५०–६० लाखको उखु बिक्री गर्दै आएको जानकारी दिए । किसानहरूले मल, बिउ, औषधि र सरकारी अनुदान प्रक्रियामा झन्झट भएको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुवै चिनी उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् ।

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो । नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो । यसलाई एभिन पोक्स पनि भनिन्छ । सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखा पर्ने उनले उल्लेख गरे । केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए । सो रोग सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए । “यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ, यसले कुखुराको मृत्युदर घटाउन मद्दत गर्छ”, उनले भने । अन्य कुखुरा फार्ममा उक्त रोगको सङ्क्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ । समयमै नियन्त्रण नगरेमा किसानलाई ठुलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ । पशुपन्छी शाखाले किसानलाई सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ । साथै रोगको शङ्का लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ । फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशुपन्छी शाखाका चिकित्सक पाण्डेयको भनाइ छ । कुखुराका चल्ला बाह्य क्षेत्रबाट आयात गर्दा त्यसबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेकाे तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो । खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन् । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने ।  सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने । त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ । खेमराजले भने, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उनिसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ । उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् । “यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उनले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए । सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे ।  केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए । पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताए । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उनको भनाइ छ ।  “तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने । बँदेलले भने केही नोक्सानी पुर्‍याउने गरेको किसानको गुनासो छ । उनका अनुसार बारीबाटै प्रतिकिलो रु ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताए । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उनले भने ।  गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिए ।  सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उनका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ ।  यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उनले बताए । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ । 

स्याङ्जामा कोदो, मकै फल्ने बारीमा सुन्तलाकाे बगैँचा

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ । विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगैँचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् । “३६ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो” उनले भने, “स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।” स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए । उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । “यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन” उनले भने, “उत्पादन हुनुपर्‍याे । स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।” किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् । बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् । “बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए” उनले भने, “पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि ५/६ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।” सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढ्नुभएका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए ।