रसुवागढी नाकास्थित 'बेलीब्रिज' निर्माण छिट्टै हुने
रसुवा । नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।
दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो ।
गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलीब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ ।
चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो । खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिकको भनाइ छ ।
स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलीब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ ।
उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलीब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ ।
स्थानीय गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताउँछन् ।
उदयपुरमा आठ हजार बढी नयाँ मतदाता थपिँदै
उदयपुर । उदयपुरमा राष्ट्रिय परिचय पत्रको आधार मतदाता नामावली बनाउन पाँचहजार ४९० जनाले आवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्रको आधारमा मतदाता नामावली बनाउन आव्हान गरेपछि उक्त आवेदन परेको हो । उनका अनुसार अहिले अनलाइनबाट मतदाता नामावली बनाउन आएका आवेदनको अध्ययन गर्ने काम भइरहेको छ । उनले भने, ‘जिल्ला निर्वाचन कार्यालयमै आएर बायोमेट्रिक गराएर मतदाता नामावली बनाउनेको संख्या भन्दा बढी राष्ट्रिय परिचय पत्रबाट अनलाइन आवेदन परेको छ ।’ आगामाी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि खुलेको मतदाता नामावलीको लागि उदयपुरमा तीन हजार २२७ जनाले आवेदन दिएका थिए । उनले भने, ‘कार्यालयमै आएर मतदाता नामावली बनाउनेको लभभग सबै विवरण मिलेको हुन्छ । तर, राष्ट्रिय परिचय पत्रबाट अनलाईनको फर्म भरेकाहरुले रुजु नगरिकन भन्न सकिदैँ । उहाँहरु कति मतदाता नामावली बनाउन योग्य हुनुहुन्छ भनेर ।’ राष्ट्रिय परिचय पत्रकारको आधारमा र निर्वाचन कार्यालय पुगेर नयाँ मतदाता नामावली बनाउनेको संख्या दाहालका अनुसार आठहजार सातसय १७ रहेको छ । जुन संख्या थपिँदा उदयपुरको कुल मतदाताको संख्या दुई लाख ३९ हजार ६०४ पुग्ने छ । दाहाल थप्दै भने–‘हामीले भनेको कुल संख्यामा उमेर नपुगेका, विवरण प्रष्ट नभएकाहरुको नाम कटिन सक्छ । त्यस कारण निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मात्र जिल्लाको कुल मतदाता नामावलीको संख्या आउने छ ।’ दाहालका अनुसार अनलाइनबाट ७७ जनाले ठाउँ सारीको लागि र दुईसय दुईजनाले विवरण सच्याउन पनि आवेदन दिएका छन् । यता कार्यालयमै पुगेर ठाँउ सारी तथा विवरण सच्याउनको लागि पाँचसयले आवेदन दिएको निर्वाचन कार्यालय उदयपरले जनाएको छ ।
गुल्मीकाे देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे अन्तिम चरणमा
गुल्मी । सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्डअन्तर्गत रहेको देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ। ४.५ किलोमिटर सडक कालोपत्रे गर्न इन्द्रा एम.के. जेभी, ललितपुरसँग सम्झौता भएको थियो। सडक स्तरोन्नति भए पनि कालोपत्रे ढिलाइका कारण तम्घास–देउरालीदेखि विमानस्थलसम्म धुलाम्य सडकले स्थानीयवासी लामो समयदेखि सास्ती खेप्दै आएका थिए। सडक सुधारसँगै देउराली हुँदै खर्ज्याङ–रिडीमार्फत बुटवल पुग्न अझ छिटो र सहज भएको छ। फराकिलो र पक्की सडक भएकाले रिडी–तम्घास मदनभण्डारी राजमार्गको विकल्पका रूपमा देउराली–खर्ज्याङ–रिडी सडक स्थापित बन्दै गएको छ। सडक निर्माणको निरन्तर अनुगमन गरिरहेका रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले कामको सक्रियता र गुणस्तर सन्तोषजनक रहेको बताए । सघन सहरी तथा भवन निर्माण आयोजना, पाल्पामार्फत करिब ३० करोड रुपैयाँका विभिन्न प्याकेजमा कालोपत्रे तथा ढलानका काम भइरहेको छ। आयोजना कार्यालयका इन्जिनीयर घनश्याम यादवका अनुसार देउराली–विमानस्थल बाहेक देउराली–अर्घाखाँची जिपपार्क, उपल्लो तम्घास, बाख्रेछेडादेखि बागमारे बेरियर, खोरपाटा पन्थीटोल–अर्खले, सिस्नेहार नेटा, भुवनपानी, चिल्ड्रेन पार्क, अर्घाखाँची र उदिनढुङ्गा जिपपार्क क्षेत्रमा पनि काम चलिरहेको छ। उनका अनुसार हालसम्म भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत पुगेको छ।
तनहुँमा पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने
दमौली । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाई सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्य स्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनले बताए । यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरू एवं प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ । महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए । महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाड पानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले बताए । महोत्सवका क्रममा साहसिक पर्यटन खेलहरू चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङको मज्जा लिन सकिने उनको भनाइ छ । महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषि उपजका दश, सेवामूलक संस्थाको एक, होटल रेस्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुईलगायत स्टल रहनेछन् । बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्द्धकमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेको छ । महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णयबमोजिम महोत्सव गर्न लागिएको उनको भनाइ छ । भ्रमण वर्षलाई लक्षित गरी हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई वटा कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ । सोहीअनुसार गत भदौ १६ गते होटल एसोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्द्धन कार्यक्रम गरिएको र त्यसले बन्दीपुरको पर्यटनलाई थप टेवा पुगेको उनको भनाइ थियो ।
कान्तिलोकपथ अवरुद्ध : भीमफेदीमा औषधि बोकेको ट्रक पल्टियो
मकवानपुर — हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ औषधि बोकेर जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर सडकमै पल्टिएपछि यातायात सेवा ठप्प भएको हो। दुर्घटनाका कारण दुवैतर्फका सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ट्रकलाई सडकबाट हटाएर यथाशीघ्र बाटो सुचारु गर्ने प्रयास भइरहेको छ। हालसम्म दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई गम्भीर घाइते
मध्यविन्दु — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती–१६ डण्डा बजारमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको अज्ञात सवारीसाधनले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। मोटरसाइकलमा पछाडि सवार कावासोती–३ की ३२ वर्षीया सुनिता जोहार्जा र कावासोती–१४ की २४ वर्षीया मीना मगर गम्भीर घाइते भएकी छन्। उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। ठक्कर दिने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
म्याग्दी । घनाजङ्गलको बिचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । “हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्”, उनले भने, “आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।” तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका–२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए । तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए । “चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ”, उनले भने, “शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो ।” विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब रु तीन लाख सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ । दुई जिल्लाको सम्बन्धको सेतु तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल)ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । “तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ”, उनले भने, “पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ ।”
कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे
गण्डकी । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । कात्तिकमा पर्यटकीययामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।
मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसअघि आव २०८१र८२ मा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै सात लाख पाँच हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङमा गत वर्षको कूल पर्यटक सङ्ख्याको तुलनामा चालु आवको पहिलो चार महिनामा २८ दशमलव ७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।तर, चालु आवको पहिलो चौमासिकमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर पुर्याएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन वृद्धि भइरहेको छ । यहाँको कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ स्थानको सडक कालोपत्रे सम्पन्न भइसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकमध्ये एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ र कोरला नाका भ्रमणका लागि जाने गरेका छन् । नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिमचुचुराको आरोहरण खुला गरिएकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उनको भनाइ छ । यसैगरी, मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकले कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटक वृद्धि भएको पाइएको हो । यसैगरी लमजुङको बेँसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटक जोमसोमबाट हवाई मार्ग हुँदै फर्किने गर्छन् । मुस्ताङ आउने पर्यटकले यहाँको ढुम्बाताल, यारुझो भ्युटावर, जोमसोम बजार, मार्फा गाउँलगायत अवलोकन गर्न छुटाउँदैनन् ।
म्याग्दीमा चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
म्याग्दी । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् । बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने प्रचलन रहेको छ । मेलामा तीन दशकदेखि डाला र नाङ्ला व्यापार गर्दै आउनुभएका बागलुङको बढीगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले पछिल्लो समय प्लास्टिकका सामानले चोयाका सामग्रीलाई विस्थापित गर्न थालेको बताउनुभयो । हरेक पटकको मेलामा डालाडाली र नाङ्ला बिक्रीको लागि आउने गरेको र पछिल्लो समय यस्ता सामानका माग घट्दो क्रममा रहेको उनको भनाइ छ । “पहिले गाउँघरमा डुलाएर पनि बिक्री गथ्र्यौं । मेलापर्व र महोत्सवमा समेत उत्साहजनक किनबेच हुन्थ्यो, तर पछिल्ला वर्षयता प्लास्टिकबाट बनेका डाला र नाङ्लोसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । त्यसैले स्थानीय स्रोत र सीपको उपयोगबाट बनेका सामग्री बिकाउनै मुस्किल हुन थालेको छ”, छन्त्यालले भने । गलेश्वरधाममा बागलुङका साथै तनहुँबाट समेत चोयाबाट बुनेका नाङ्ला ल्याएर आउने धेरै व्यापारी छन् । मेलामा डाला रु ८०० देखि दुई हजारसम्म र नाङ्ला रु ६५० देखि ९०० सम्ममा किनबेच हुने गरेको छ । जङ्गलमा पाइने निगालोको चोयाबाट बुनेर तयार गरिने नाङ्लो अन्नपात केलाउन र डालो अन्नपात राख्न प्रयोग गरिन्छ । चोयाका डाला र नाङ्ला वातावरणमैत्री हुनाका साथै टिकाउ र आकर्षकसमेत हुन्छन् । प्लास्टिकका सामग्रीको मूल्यमा चोयाका सामग्री खोज्ने प्रचलनका कारण आफूहरू समस्यामा परेको गलेश्वरको बालाचतुर्दशी मेलामा नाङ्ला बेच्न आउनुभएका तनहुँको बन्दीपुरका तिलबहादुर भुजेलले बताए । गलेश्वर मेलामा करिब १०० जनाले घरायसी र दैनिक उपभोग्य सामानदेखि लत्ताकपडाको व्यापार–व्यवसाय सञ्चालन गरेकामा न्यून मात्रामा डाला र नाङ्लाको खरिदबिक्री भएको गुनासो गरेका छन् । मेलामा रैथाने सीप प्रयोग गरी बनाइएका काठका ठेकाठेकी र मदानीको समेत खरिदबिक्रीसमेत उत्साहजनक छैन । गाउँघरमा दूध सङ्कलन र मोही पार्नका लागि काठका ठेका र मदानीको विकल्पमा सिल्टे र प्लास्टिकका सामान भित्रिएपछि ठेका बनाउने पेसा नै सङ्कटमा पर्न थालेको छ ।
जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आजदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् । विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक भने सहयोग नपाइएको उनको भनाइ छ । अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त सङ्ख्यामा परिचालन गरिने उनले बताए ।
राजस्व कार्यालय तुलसीपुर दाङद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन
दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार सङ्कलन गरेको हो । कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व सङ्कलन लक्ष्यको तुलनामा ८० दशमलव २५ प्रतिशत सङ्कलन भएको हो । गत वर्षको सोही अवधिमा कार्यालयले रु ७० करोड ३८ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । यस वर्षको चार महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आयकरतर्फ उल्लेख्य सङ्ख्यामा करदाताबाट विवरण पेस गर्न बाँकी हुनु, जेनजी आन्दोलनका कारण कार्यालयमा क्षति भएपछि सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पनि क्षति भई पुँजीगत लाभकरमा उल्लेख्य कमी आउनुलगायत कारण रहेका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । उनका अनुसार पुँजीगत खर्चमा आएको न्यूनतम, ब्याजदर घट्न गई ब्याज कर घट्नु, आन्दोलनबाट यस कार्यालयमा क्षति पुगेपछि सेवाको पुनः स्थापना तथा कार्यालय व्यवस्थापनमा केन्द्रित हुनुपरेकाले राजस्व सङ्कलनसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक क्रियाकलापमा तीव्रता दिन नसकिनुलगायत कारण रहेका छन् । गत आव २०८१/८२ मा रु तीन अर्ब १४ करोड ८६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु दुई अर्ब ९४ करोड २४ लाख सङ्कलन भएको कार्यालयले जनाएको छ । यो आव २०८०/८१ को तुलनामा रु ५४ करोड ६० लाख बढी हो । चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वैच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत टण्डनले जानकारी दिए । त्यस्तै आर्थिक ऐन, २०८२ ले गत चैत मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण तथा कर बुझाउन बाँकी करदाता, अन्तःशुल्क विवरण तथा अन्तःशुल्क बुझाउन बाँकी करदाता, संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायात सम्बद्ध सङ्घसंस्थालाई कर कार्यालयबाट गत जेठ १५ गतेभन्दा अघि कर निर्धारण भई बक्यौता रहेका करदाता, आय विवरण पेस नगरेको अवस्थामा कर कार्यालयबाट कर निर्धारण गरिएका करदातालगायतलाई लक्षित गरी विभिन्न छुट सुविधा घोषणा गरेको उनले बताए । उनका अनुसार सोसम्बन्धी सूचना कार्यालयले विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको छ । उक्त छुट सुविधा उपलब्ध हुने अवधि आगामी पुस मसान्तसम्म मात्र भएकाले उल्लिखित मापदण्डभित्र पर्ने करदाताले यथाशीघ्र उक्त सुविधा लिनुहुन कार्यालयका प्रमुख प्रमुख कर अधिकृत टण्डनले अनुरोध गरे । उक्त छुट सुविधाका सम्बन्धमा आफ्ना सदस्यलाई जानकारी गराइदिनुहुन जिल्लामा क्रियाशील उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायत सरोकार भएका निकायलाई आग्रह गर्दै उनले आवश्यक प्रचारप्रसार गरिदिएर समन्वय गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीमा अनुरोध गरे । यहाँबाट प्रदान गरिने सेवालाई सरल, सहज, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन कार्यालय क्रियाशील रहेको टण्डनले बताए । कर भुक्तानी, कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र, विवरण अद्यावधिकलगायत सेवाहरू अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा रहेको उनले जानकारी दिए प्रमुख कर अधिकृत टण्डनका अनुसार सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण तथा न्यूनतम शुल्कमा फाराम भरिदिने व्यवस्थाका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घबाट कार्यालयसँगको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालन गरिएको छ । “राजस्व बुझ्नका लागि कार्यालयमा ग्लोबल आइएमइ बैंकको बैंक काउण्टर सञ्चालनमा छ । कार्यालय तथा कार्यालयको सेवा प्रवाहका सम्बन्धमा जानकारी दिन सूचना अधिकारी तथा यथोचित गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ”, उनले भने । लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा, प्युठानमा व्यावसायिक स्थायी लेखा नम्बर लिएका ४३ हजार ३९, व्यक्तिगत लेखा नम्बर लिएका एक लाख २४ हजार ६९८ र संस्थागत स्थायी नम्बर लिएका ७६६ करदाता रहेका कर अधिकृत पुनले जानकारी दिए । जेनजी आन्दोलनका कारण कार्यालयका तीनवटै भवन, सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा अवरुद्ध भएको थियो । केही दिनपछि तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यकक्षबाट सेवा सञ्चालन गिरिएकामा हाल श्री त्रिसिद्देश्वरी मन्दिर तुलसीपुरको धर्मशाला भाडा लिएर त्यहाँबाट सेवा प्रवाह भइरहेको छ ।
मनास्लु क्षेत्रमा आठ हजारबढी पर्यटककाे भ्रमण
गोरखा । चालु आर्थिक वर्षको साउन यता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका हुन् । “साउनदेखि कात्तिकसम्ममा आठ हजार ५४४ जना आएकामा त्यसमा एक सय ४२ जना नेपाली पर्यटक छन् । बाँकी सबै विदेशी पर्यटक हुन्”, उनले भने । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८१/८२ मा यहाँ १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ । “चार महिनामै आठ हजार बढी पर्यटक आइसकेका छन्, यो आवमा १५ हजारभन्दा बढी पर्यटक भित्रिने हाम्रो अनुमान छ”, एमक्याप प्रमुख शेरचनले भने, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्नसक्छ । यहाँ हरेक वर्ष पर्यटक सङ्ख्या बढ्दै गएको छ ।” एमक्यापको तथ्याङ्कअनुसार आव २०८०/०८१ मा नौ हजार ७८२, २०७९/०८० मा सात हजार ७०५ र आव ०७८/०७९ मा दुई हजार २८४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित ‘काउन्टर’मा प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै ठाउँमा शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित ‘चेकपोष्ट’मा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु १०० प्रवेश शुल्क तोकिएको छ । निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि ‘सिजन’ मा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने अन्य समयमा २५ डलर मात्र बुझाउनुपर्ने हुन्छ । यस्तै, नुव्री भ्यालीका लागि ‘सिजन’मा प्रतिव्यक्ति ७० डलर र ‘बेसिजन’ मा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउने व्यवस्था छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्छन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ ।
कैलालीमा गहुँ छर्ने समयमा किसानलाई मल अभाव
कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन् । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन् । बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन । “जति पटक आएँ, पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ”, उनले दुखेसो पोखिन् । उनीसँगै घोडाघोडी–३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसके बताउँछिन् । धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन् । एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, “तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसके, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ ।” घोडाघोडी नगरपालिका–१ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरूको भीड लाग्ने गर्छ । सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन् । कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन् । घोडाघोडी नगरपालिका–३ का ज्ञानु चौधरीले मलविना नै गहुँ छरिसकेको बताए । “समयमै गहुँ छर्नुपर्यो, मलको आस गर्दै बस्दा ढिला हुने भयो”, उनले भने। ज्ञानुले जस्तै घोडाघोडी–८ का डम्बर विष्टले मलविना नै गहुँ छर्नु भयो । जसोतसो सहकारीमा लाइन लागेर आज बल्ल पाएको उनले सुनाइन् । अहिले धेरै किसान मलको आशामा बसिरहेका छन् । गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ । समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन् । युरिया मलको अभाव रहे पनि डिएपी मल धेरै जसो किसानहरूले पाइसकेका छन् । समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन् । उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ । कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ । धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ । युरियामा पाइने नाइट्रोजन डिएपीमा १८ प्रतिशत हुन्छ । त्यसैले सुरुमा डिएपी मल भए पुग्ने उनले बताए । धामीका अनुसार गहुँ रोप्ने सुरुवातमा पोटास मल प्रयोग गर्नु राम्रो हुन्छ । पोटासले गहुँको जरा बलियो बनाउने, बिरुवा स्वस्थ राख्ने र बीउको अङ्करण राम्रो बनाउन सहयोग गर्छ । तर किसानहरू प्रायः सुरुवातमै युरिया खोज्छन्, जसको अभावका कारण गहुँ छर्न ढिलाइ गर्छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका धेरै स्थानीय कृषि निर्भर छन् । सरकारले कृषिमा क्रान्ति ल्याउने अवधारण सार्वजनिक गरिरहँदा सुदूरपश्चिम प्रदेशका किसानलाई भने अझै पनि रासायनिक मल पाउनै सकस छ । यस वर्ष मात्रै होइन हरेक वर्ष यहाँका किसानहरूले समयमै पर्याप्त मल पाउन सक्दैनन् । डिएपी मल पाए पनि युरिया मल पाउँदैनन् । जसका कारण किसानहरू ढिलो गहुँ छर्ने गर्छन् । सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन् । तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशमा केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लाका वितरण गर्ने गरेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवर बताउँछन्।
भोजपुरकाे टेम्केमैयुङका दुई सय ३८ परिवारमा खानेपानी
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो । छ वटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौ वटा वितरण ट्याङ्की निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए । आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए। आयोजनामा रु ५२ लाख ६३ हजार बराबरको श्रमदान पनि गरिएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए । उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति दिनको मात्रै पैसा तिरे पुग्नेछ । यसअघि माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकले कम्तीमा १० दिनका लागि ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । माथिल्लो मुस्ताङमा १० दिनको एकमुष्ट पदयात्रा शुल्क तिरेर गएका विदेशी नागरिकहरूले १० दिन कटेपछि प्रतिदिन प्रतिव्यक्ति ५० डलर शुल्क बुझाउँदै आएका थिए । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले आफूहरुको माग माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाटै हटाउनुपर्ने माग रहेपनि सरकारको उक्त निर्णयले आंशिक रूपमा भए पनि माग सम्बोधन भएको बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले पनि सरकारको उक्त निर्णय सकारात्मक भएको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतको उपल्लो मुस्ताङ क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ । त्यहाँ जाने विदेशी पर्यटकहरुका लागि पदयात्रा शुल्क महँगो भएकाले अधिकांश विदेशी पर्यटकहरू कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका थिए । बर्सेनि झन्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिब तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए ।

