अकबरे खोर्सानीको मूल्य नपाउँदा धनकुटाका किसान मारमा
धनकुटा । पछिल्ला वर्षहरूमा राम्रो आम्दानी दिँदै आएको अकबरे खोर्सानीको मूल्य घटेपछि धनकुटाका किसान निराश भएका छन् ।
गत वर्ष प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँमा बिक्री भएको अकबरे यो वर्ष १ सयदेखि १५० रुपैयाँमै बेच्न बाध्य भएको तेलियाका किसान प्रदीप ओझाले बताए । उनले ५ रोपनीमा करिब ३ हजार बोट लगाएको तर लगानी उठाउनै कठिन भएको बताए ।
उत्पादन बढेसँगै बजारमा अकबरेका विभिन्न प्रजाति आउन थालेका कारण वास्तविक अकबरेको मूल्य घटेको किसानहरूको भनाइ छ । बाँदर र बँदेलजस्ता जनावरको आक्रमणबाट अरू खेती गर्न मुस्किल भएपछि किसान वैकल्पिक रूपमा अकबरेतर्फ लागेका थिए ।
पाख्रीबास–७ का किसान भूपाल थापाले गत वर्ष राम्रो मूल्य पाएको तर यो वर्ष प्रतिकेजी १५० रुपैयाँमै बेच्नुपरेको बताए । मूल्य घटेपछि खेती संकटमा पर्न सक्ने चिन्ता उनीहरूको छ ।
धनकुटामा अहिले करिब ८० हेक्टरमा व्यावसायिक रूपमा अकबरेको खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ९७३ मेट्रिक टन उत्पादन भए पनि बजार अभाव र मूल्य घट्दा किसान मारमा परेका छन् ।
किसानले स्थानीय र प्रदेश सरकारसँग प्रशोधन तथा भण्डारणका लागि सहयोग माग गरेका छन् । उनीहरूका अनुसार दीर्घकालीन बजार व्यवस्थापन योजना बनेन भने अकबरे खेती नै संकटमा पर्न सक्छ ।
बाँकेमा अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको नेपालगन्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए । “खाद्य कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुवै धानमा करिब नौ सय क्विन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन्”,उनले भने, “सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको छ ।” सरकारले धान खरिदमा ढिलाइ गर्ने, खरिद सुरु गरे पनि निकै कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई निकै समस्या हुने गरेको उनको भनाई छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए । उनका अनुसार, गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो । यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै खरिद समितिको बैठक बसेर निर्णय गरी धान खरिद सुरु गर्ने तयारी भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु। तीन हजार ४६३ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल रु।तीन हजार ६२८ पैसा तोकेको छ । हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्विन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले जानकारी दिए ।
गोठाला बेँसी झरेपछि बागलुङको भल्कोटमा बढ्यो चहलपहल
बागलुङ । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठ–असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् । बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताए । गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उनको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताए । “यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन”, बोहराले भने, “अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँच/सात सय डिङ (बस्तुभाउ) हुन्थे, अहिले त धेरै कम भएका छन् ।” स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाए । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उनको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बेँसी झरेपछि छुट्टै बाँध्ने उनले बताए । बेँसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उनले सुनाए । घर्ती मगरले भने, “बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै पर्यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला ?, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।” यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताए । घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताए । गाई धेरै पाल्दा बारीमा मल हुने उनको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाए ।
हिमपात र वर्षाकाे कारण खुम्बुमा पाँच हजारभन्दा बढी पर्यटक अलपत्र
सोलुखुम्बु । लगातारको हिमपात र वर्षाका कारण खुम्बु क्षेत्रमा पाँच हजारभन्दा बढी पर्यटक र तिनका सहयोगी अलपत्र परेका छन् । मौसम खराबीले उडान र आवतजावत ठप्प हुँदा लुक्ला, सुर्के र आधार शिविर क्षेत्रमा समस्या देखिएको हो । लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा करिब ६ सय पर्यटक उडान पर्खिरहेका छन् । दृश्यापन कमजोर भएकाले जहाज उडान रोकिएको छ भने हेलिकोप्टरले सीमित रूपमा उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार आधार शिविर क्षेत्रमा मात्रै १,४९० पर्यटक छन् । नाम्चेबजार क्षेत्रमा करिब १,२०० पर्यटक रहेका छन् । होटल व्यवसायीका अनुसार नाम्चेमा खानबासको पर्याप्त व्यवस्था छ । तर, सुर्के–सल्लेरी सडकमार्गमा गाडी व्यवसायीले मनपरी भाडा लिने गरेको गुनासो छ । प्रतिव्यक्ति ३ हजारको सट्टा अहिले १० हजार रुपैयाँसम्म असुलिने गरिएको छ । मुख्य जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले सम्भावित जोखिमका लागि उद्धार तयारी भएको बताउँदै भाडा दुर्व्यवहार भए कारबाही हुने चेतावनी दिए । टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले मौसम खराबीले कतिपय पर्यटक अन्य गन्तव्यतर्फ मोडिएको बताए ।
जुम्लाकाे आकासे ताल आन्तिरिक पर्यटकको राेजाइमा
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आकासे बाट मनमोहक दृश्यावलोकनका साथै हिमालको फेदमा बसी प्रकृतिको काखमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले बताए । उनका अनुसार यो ताल विसं २०७६ मा चौँरी गोठालाले पत्ता लगाएका हुन् । पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताए । उनले भने, ‘यस वर्षको दसैँ तिहारमा दैनिक ५० जना भन्दाबढी आन्तरिक पर्यटकको आगमन भएको थियो । यहाँ पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तर बढे्ने अपेक्षा गरेका छौँ ।’ तालको प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग समन्वय भइरहेको वडाध्यक्ष महताराले जानकारी दिए । उनका अनुसार अहिले तालसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म रु ५० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । तालको सही नापजाँचको कामलाई पालिकाले अघि बढाएको छ । यो वर्षको हिउँदे गाउँसभाबाट आकासे तालको पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिने वडाध्यक्ष महताराले जानकारी दिए । तालसम्म पुगेका पर्यटनलाई बस्नका लागि धर्मशालाको निर्माण गरिएको छ । अहिले तालको अवलोकन, घुमघाम गर्ने, श्रव्यदृश्य तथा वृत्तचित्र बनेउनेलगायत प्रयोजनका लागि दैनिक तीनदखि पाँच समूहमा आन्तरिका तथा बाह्य पर्यटक पुग्ने गरेका वडाध्यक्ष महताराले उल्लेख गरे । आगामी आर्थिक वर्षदेखि तालसम्म पुग्ने पर्यटनको यकिन तथ्याङ्क राखिने उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताए । ‘केहीदिन अगाडि समूहमा तालसम्म पुगेका थियौँ । रारा तालसम्म पुगेका पर्यटनलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सृजना हुने थियो’, उनले भने । आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिनुपर्ने थापाको भनाइ छ । तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे । तालको अवलोकन गरेर फर्किएका तातोपानी गाउँपालिका–४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे । यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको उनले बताए । कर्णाली प्रदेशको जुम्लामा पर्ने यस तालको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ । ‘विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा आकासे ताल जस्ता कतिपय सुन्दर ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्त्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर गरी पर्यटन प्रवर्द्धनका माध्यमबाट मनग्य गर्न सकिन्छ’, नेपालीले भने ।
पहिरो र लेदोका कारण बीपी राजमार्ग अवरुद्ध
बनेपा । बिहीबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण बीपी राजमार्ग दुईतर्फी आवागमनका लागि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बिष्टका अनुसार वर्षासँगै सडकका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । बिष्टका अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायत स्थानमा पहिरो र लेदो खसेर सडक बन्द भएको छ । उनले सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको बताउँदै पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने जानकारी दिए ।
महाकाली सिँचाइ आयोजनाकाे मुआब्जा वितरणमा सकस
महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिए। “राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भने, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट) देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । “मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहरसमेत निर्माण गरिएको छ”, पोखरेलले भने, “पानीका लागि पटकपटक ताकेता पनि भएको छ ।” उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा रु नौ अर्ब लगानी भइसकेको जानकारी दिए । करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन”, उनले भने, “पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गर्नुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा पुगेको थियो ।
सिराहा र धनुषालाई जोड्ने कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिराहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठे पुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु एक सयसम्म शुल्क लिने गरेकामा पछि सिराहा नगरपालिकाको समन्वयमा रु २० कायम गरिएको नगरका प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए । उनले भने, ‘नगरले कुनै प्रकारको बोलपत्र निकालेर ठेक्का दिएको होइन । यहाँका स्थानीय युवाको पहलमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले काठको पुल बनाइएको हो । त्यसमा मर्मत खर्चस्वरुप रु २० लिने व्यवस्थाका लागि समन्वय र सहयोग गरेका हौँ ।’ यसरी शुल्क असुली गरिएकामा स्थानीयले भने गुनासो गरेका छन् । दैनिक लाखौँ रुपैयाँ असुल भएको बताउँदै स्थानीय दिनेश यादवले भने, ‘कमला नदीमा काठको पुल बनाएर जनताबाट कुनै किसिमको असुली वा शुल्क लिने अधिकार नगरपालिका वा कोही व्यक्तिलाई पनि छैन । यस्तो किसिमको असुली गैरकानुनी र नेपालको संविधानविरुद्ध हो । सङ्कलन भएको रकमको पारदर्शिता कायम गर्नुका साथै जनतालाई सहज हुनेगरी नगरले आवतजावत निःशुल्क गर्नुपर्दछ ।’ हरेक वर्ष वर्षा सुरु भएसँगै नदीमा आउने बाढीले काठको पुल बगाउने र नदीको बहाव घटेपछि पुनर्निर्माण गर्ने नियति दोहोरिरहेको छ । वर्षायाममा काठे पुल बगाएमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यादवले बताए । सिराहा–६ का वडाध्यक्ष इन्द्रजित यादवले स्थानीयले वर्षौँदेखि यही समस्या भोग्नुपरेको बताए । ‘पुल नहुँदा सिराहा, धनुषा र सप्तरीका स्थानीयलाई प्रदेश राजधानी जनकपुर आवतजावत गर्न भारतीय बजार जयनगर वा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने वा आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भने । विसं २०६८ मा तीन वर्षभित्र पुल सम्पन्न गर्ने सम्झौता भए पनि पटक पटक म्याद थप गरिँदा पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको वडाध्यक्ष यादवले जानकारी दिए । ‘पहिले ‘पप्पु कन्स्ट्रक्सन’ले अलपत्र पारेपछि कालोसूचीमा पर्यो । बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले लिएको थियो । काम पूरा हुन लागेको अवस्थामा करिब चार वर्षअघि आएको बाढीले पुल भासिएपछि निर्माण अनिश्चित बनेको छ । विसं २०८२ असारसम्मको अन्तिम म्याद पनि गुज्रिसकेको छ’, उनले भने । तराई मधेसको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त पुल निर्माणमा ढिलाइ मात्र भएको छैन, भविष्यमा पुल बन्ने र नबन्ने अनिश्चितताले स्थानीय नागरिकमा निराशा पैदा गरेको छ ।
रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिए
जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला ६ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले जानकारी दिए । त्यस्तै सार्क मुलुकबाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जना रहेका छन् । तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या दुई हजार ३४७ जनामध्ये पुरुष एक हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । सोही आवको असोजसम्म ३३ विदेशी पर्यटक रारा पुगेका छन् । अहिले कर्णाली राजमार्गको सडक स्तर वृद्धि भएसँगै सडक मार्ग भएर आन्तरिक पर्यटन रारा घुम्न आउनेको सङ्ख्या बढेको छ । विशेष गरी दसैँ–तिहारको अवसर पारेर रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप यस वर्ष बढेको निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख यादवले बताए । रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट घुम्न आउनेको सङ्ख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताउँछन् । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्ग किमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । पर्यटकको रोजाइमा रैथाने कृषि वस्तु रारा पुगेर जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकको प्रमुख रोजाइमा यहाँको रैथाने कृषि वस्तु पर्ने गरेको छ । स्वास्थ्यका लागि लाभदायक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए । यस वर्षको दसैँ तिहारमा मात्र रु तीनदेखि पाँच लाखसम्मको अर्ग्यानिक वस्तु बिक्री भएको छ । यहाँको रैथाने वस्तुको माग बढ्दै गएकाले गत वर्ष रु १२ लाख बराबरको स्याउका चाना, मार्सी चामल, सिमी, ओखर, कोदोको पीठो, चिनो, कागुनो, महलगायतका अर्ग्यानिक वस्तुको व्यापार भएको अर्ग्यानिक पसलका सञ्चालक बुढाको भनाइ छ ।
मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै
महोत्तरी । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ । यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै यहाँ सामूहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् । खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्व परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउँछन्। “धातृ (अमला) अत्यन्त गुणकारी फल मानिन्छ, जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ,” उनी भन्छन्, “यही हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएका हुन् ।” यस अवसरमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिने गरेका छन् । सांस्कृतिक तथा पारम्परिक चाडबाडमा पछिल्लो पुस्ताको सहभागिता बढ्नु यसको संरक्षणका लागि महत्त्वपूर्ण हुने धेरैको बुझाइ छ । यसरी किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउने जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायको भनाइ छ । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी भएको बर्दिबास–१२ बिजलपुराका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए। यस पर्वसँग जोडेर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलनमा छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद् रायको भनाइ छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दु मैथिल जनविश्वास छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने हिन्दु मैथिल मान्यता छ । यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ । यसैगरी, श्रीविष्णुको आराधनाले इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन्। अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उनको भनाइ छ ।
तनहुँमा दाताको सहयोगले गौ संरक्षण केन्द्र सञ्चालन
तनहुँ । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ । जथाभाबी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ । गौ संरक्षण समितिका अध्यक्ष तुलसीराम सापकोटाले संरक्षण केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताए । दानी व्यक्ति तथा सङ्घसंस्थाले विविध अवसर पारेर सहयोग गर्दा केन्द्र सञ्चालनमा सहज भइरहेको उनको भनाइ छ । नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहेका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ । समितिका अध्यक्ष सापकोटाले भने, “त्यतिखेर तीन सय रोपनी तारबार गर्ने सामथ्र्य पनि थिएन । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरण गरी तीन सय रोपनी जग्गा केन्द्र सञ्चालनका लागि संरक्षण गरेका छौ । केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याइन क्रम बढेको छ ।” संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ । “गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धहरूको आहारका रूपमा प्रयोग गरिएको छ । छाला काडेर राखिदिन्छौँ, गिद्ध आएर खान्छन् । हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ । अब भने हड्डीबाट पनि आम्दानी लिने सोचका साथ अगाडि बढेका छौँ, त्यसका लागि उपकरण खरिद गर्ने तयारी छ”, सापकोटाले भने। यही स्थानबाट दमौली बजारमा उत्पादित हुने कुहिने फोहरबाट बायोग्याससमेत उत्पादन गर्ने गरिरहेको छ । गाईको संरक्षणका साथै फोहर व्यवस्थापनबाट ग्यास उत्पादन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ ।
कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजार पर्यटक
मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् । कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ । सोमबार रातिदेखिनै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका हुन् । कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात भएका कारण यहाँ आएका तीर्थालुहरू समस्यामा परेका मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ । मुक्तिनाथ स्नानकुण्ड र १०८ धारा जमेका कारण भक्तजनलाई धार्मिक कार्यमा बाधा पुगेको सुवेदीको भनाइ छ । चालु वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा एक लाख ५९ हजार ४६७ जना पर्यटक बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।
तीन महिनामा बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ । गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए। डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरीकनै जथाभाबी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले योतर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ ।
निर्माण सकिएको डेढ वर्षपछि पर्वतकाे कुश्मा बसपार्क सञ्चालन
पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबिचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो । छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय गरेको छ । यसैगरी बसपार्कवाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई/दुई वटा र अन्य सवारीसाधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाइने, लामो दुरीमा आउजाउ गर्ने सबै सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्ग छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय भएको छ । बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु ११ लाख १९ हजार दुई सय ५२ मा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालनको प्रक्रिया अघि बढेको थियो । अबदेखि नियमित रूपमा बसपार्कबाटै जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने र यसले अव्यवस्थित रूपमा हुँदै आएको पार्किङ र दुर्घटनाहरू न्यूनीकरण हुने उनले बताए । पुनले बसपार्क सञ्चालनका लागि रङरोगन, विद्युतीकरणलगायत सबै तयारी सकिएको बताए । निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बनेको, अव्यवस्थित पार्किङले सवारी दुर्घटनाहरू बढ्दै गएको, यात्रुहरूले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरूले बसपार्क सञ्चालनको मागसमेत गर्दै आएका थिए । बसपार्क सञ्चालन नहुँदा कुस्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरेर राख्ने गरिएको थियो । भवनसहित बसपार्कको संरचना अघिल्लो असारमै निर्माण गरेर गत वर्षको कात्तिकमै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन गर्न केही समय ढिलो भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङ र सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने बताए । रु छ करोड ६६ लाख तीन हजार २५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुई तले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सङ्ख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ । पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारीसाधनहरू छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधनहरू बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्माहुँदै जाने गर्दछन् ।
मानुङकोटको सुन्दरताले पर्यटक लाेभ्याउँदै
तनहुँ । “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भनिन्, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उनले भनिन्, “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।” काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । उनले भनिन्, “आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो ।” दमौलीका सुदीप गफ्फारले यति बेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए। चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यति बेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यति बेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । उनले भने, “अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति रु एक हजार २०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ ।” उनले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचीबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शीतभण्डार नहुँदा किसान मर्कामा
कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारणमा समस्या भएको हो । तरकारी उत्पादनमा संलग्न किसानले आलु, काउली, बन्दागोभीलगायत मौसमी बाली राख्ने ठाउँ नहुँदा बिक्री, व्यवस्थापनमा कठिनाइ भोग्नु परेको गुनासो गरेका छन् । व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका किसान सबैभन्दा बढी प्रभावित बनेका हुन् । अगुवा किसान चेतराज चौधरीका अनुसार जिल्लामा शीतभण्डार नहुँदा तरकारी भण्डारण गर्न कैलालीतर्फ लैजानुपर्ने बाध्यता रहेको बताए । “टाढाको शीतभण्डारमा तरकारी पुर्याउँदा ढुवानी खर्च बढी लाग्छ, त्यसपछि भण्डारण शुल्क पनि तिर्नुपर्छ, बजारमा लैजाँदा लागत धेरैपर्ने भएकाले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ”, उनले भने। कृषक चामबहादुर डगौरले विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो भएकामा अहिले त्यो सुविधा नहुँदा बाह्य क्षेत्रबाट महँगो दरमा बीउ खरिद गर्नुपरेको बताए । “घरमै राख्दा आलु कुहिने भएकाले उत्पादन भएका बेला सस्तोमा बेच्न बाध्य भयौँ, अहिले दोब्बर मूल्यमा बीउ किन्नुपरेको छ”, उनले गुनासो गरे । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितका लागि स्थानीय तहले पालिकास्तरमै मिनी शीतभण्डार स्थापना गर्नुपर्ने बताए । यसका लागि कार्यपालिका बैठकमा कुरा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । “एक गाउँ एक मिनी शीतभण्डारको व्यवस्था गर्न सके किसानले उत्पादन सुरक्षित राखेर उचित मूल्यमा बिक्री गर्न सक्नेछन्”, उनले भने, “त्यसका लागि सबै पालिकाले चासो दिनुपर्छ ।” शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले तरकारी उत्पादनमा लागेका किसानका लागि शीतभण्डार आवश्यक रहेको बताए। “शीतभण्डार अभावले किसानलाई समस्या परेको हामीले बुझेका छौँ”, उनले भने, “पालिकाले सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी मिनी शीतभण्डार स्थापनाको योजना अगाडि बढाउनु उत्तम हुन्छ, त्यसका लागि शाखाकोतर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।” उनका अनुसार पालिकाभित्र तरकारी उत्पादन विस्तार हुँदै गए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । समयमै आवश्यक पूर्वाधार निर्माण गर्न नसकिए किसान निरुत्साहित हुने खतरा रहेको उनको भनाइ छ । नगरपालिकाले प्रत्येक वर्षको नगरसभाबाट शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गर्दै आए पनि स्थान छनोट गर्न नसक्दा कार्य अगाडि बढाउन सकेको छैन । स्थान छनोट नहुँदा प्रत्येक वर्ष विनियोजन गरेको बजेट थन्किने गरेको छ ।

