सडक नखुल्दा बागलुङकाे जलजला पुग्न पाएनन् पर्यटक
बागलुङ । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।
पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ ।
ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए ।
ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उनको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनि बताउँछन् ।
अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ ।
“अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो”, अध्यक्ष पुनले भने, “यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”
समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए ।
उनले भने, “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।” रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् । रासस
काेशी सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज बनाउने
विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप चिकित्सको टोली परिचालन गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनीन राईले बताए । आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी दिए। महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र आवश्यकतानुसार सहयोग गर्नेछ । साथै टोलीले क्षतिको विवरण पनि सङ्कलन गर्नेछ ।
व्यावसायिक मौरीपालनमा भाेजपुरका किसान आकर्षित
भोजपुर। यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एक पटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख साधन बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः यहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन् । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकाले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यवसायिक मौरीपालनमा लागेका छन् । स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ । रामप्रसादराई गाउँपालिका–६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ । तालिममा सहभागीले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह सङ्कलन गर्ने प्रविधि सिकेका छन् । “विगतमा किसानले आ–आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए”, वडाध्यक्ष आचार्यले भने, “अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ । यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ ।” स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा जुटेका उदाहरणीय पात्र हुन् । उनले तालिम लिएपछि आधुनिक घार निर्माण सुरु गर्नु भएको छ । अहिले उहाँसँग ३५ वटा मौरीघार छन् । “पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ । मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ”, उनले भने । गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । “मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ”। अध्यक्ष राईले भने, “किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ । यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ ।” वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन् । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभई विदेशमा पनि पुर्याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ ।
तिहारका लागि मादल बनाउन व्यस्त दाङका चित्रे बादी
दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् । घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरू समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए । “बुवा गुइँठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घर खर्च चलाएको पनि उनले उल्लेख गरे । तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए । उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् । उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्नुहुन्छ । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए । उनको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ । उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्नुहुन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।
पटक–पटक म्याद थप गर्दा पनि सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत
पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यावसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । कूल रु ११ करोड २२ लाख ६६ हजारको लागतमा निर्माण हुने झन्डै छ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत नै भएको थियो । पटक–पटक काममा फर्किन मौखिक र लिखित रूपमा पत्राचार गरिएको भए पनि निर्माण व्यवसायी आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ । सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारी साधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । निर्माण सुरु भएपछि निर्माण व्यवसायीले रु चार करोड १३ लाख भुक्तानी लगेको थियो । जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रक्रिया समेत अघि बढाउन थालिएको छ । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर मात्र छाडेका कारण वडा नंं. ५ को काफल डाँडामा रहेको गाउँपालिकाको कार्यालय, वालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आउजाउ गर्न समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयवासीको गुनासो रहेको छ ।
सुनसरीमा वर्षा र हुण्डरीले केराखेतीमा क्षति
सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठुलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठुलो क्षति पुगेको हो । आठवर्षदेखि केराखेती गर्दै आउनुभएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कट्ठा केराखेतीमा क्षति पुगेको छ । करिब रु १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा रु १० लाखदेखि रु २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ । त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कट्ठामा रु एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठुलो क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठुलो क्षतिको सामना गर्दै आएका छन् । जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।
विपद् पीडितलाई तत्काल राहत दिन काेशी माओवादीकाे माग
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले अविरल वर्षाका कारण प्रदेशभर भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पीडितहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ । पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) द्वारा मंगलबार जारी विज्ञप्तिमा माओवादी केन्द्रले विपद्को घडीमा प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको र सुतेर बसेको आरोप खेपिरहेको भन्दै कडा आलोचना गरेको छ । “यस दुःखद घडीमा हाम्रो पार्टी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ । गत शनिबारको वर्षा, बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ४५ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् । विज्ञप्तिमा भने इलाममा ३८ सहित प्रदेशभर ४५ जनाभन्दा बढी नागरिकको ज्यान गएको, दर्जनौँ घाइते र हजारौँ विस्थापित भएको उल्लेख गरिएको छ । माओवादी केन्द्रले प्रभावित क्षेत्रमा तत्काल त्रिपाल, कम्बल, खानेकुरा, औषधि लगायतका अत्यावश्यक राहत सामग्रीहरू युद्धस्तरमा पुर्याउन र हेलिकप्टरमार्फत इलाम लगायतका क्षेत्रमा राहत पु-याउने भनिएको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति तथा सहयोगको घोषणा गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिको यकिन गरी पीडितहरूलाई उचित क्षतिपूर्ति र विस्थापितहरूको सुरक्षित स्थानमा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था होस् ।” भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न दीर्घकालीन योजना बनाउन र विपद् व्यवस्थापनका लागि थप सक्रिय तथा जनउत्तरदायी संयन्त्र स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । अन्त्यमा, माओवादी केन्द्रले सरकारलाई जनउत्तरदायी भई तत्काल उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन आह्वान गरेको छ ।
कर्णाली प्रदेशमा विपन्नलाई आवास
सुर्खेत । कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ। जनता आवास (प्रदेश), जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०।८१ मा जनता आवास (संघ)तर्फ तीन हजार १५० घर निर्माण भएका थिए। त्यसैगरी जनता आवास (प्रदेश)ले ५२२ घर गरिब तथा विपन्न स्थानीय बासिन्दाका निर्माण गरेको थियो। आव २०८१।८२ मा संघले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिए। त्यस्तै विपन्नका घरतर्फ आव २०८०।८१ मा ३९७ घर र आव २०८१।८२ मा २२३ घर निर्माण गरिएको थियो। आव २०८१/८२ मा जनता आवास संघतर्फ सबैभन्दा बढी कालिकोटमा १८१ घर निर्माण गरिएका थिए। सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ। जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन्। विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। आव २०८१।८२ मा ७८७ घर निर्माण गरिएका छन्।
पहिराेकाे कारण बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । “सामान्य बर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,” उनले भने “सवारी साधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौ ।” सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् । मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले बताए । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन् । बेनी–जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए। बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाई गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए । “सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,” उनले भने “तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ ।” बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए ।
हेटाैंडा-काठमाडाैं जाेड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन
हेटौंडा । अविरल वर्षापछि अवरुद्ध भएको हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालन सुरु भएको छ । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण लोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बकैया गाउँपालिका–११, घट्टेपाखा सिमात घुम्तीमा खसेको पहिरो पन्छाएसँगै आजदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू सोमबार बिहानैदेखि सडक खुलाउने कार्यमा संलग्न थिए । प्रशासनले साँझसम्म लोकपथ पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको छ । कान्ति लोकपथअन्तर्गत ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीन ठूला पहिरो शुक्रबार नै पन्छाइएका थिए भने हेटौंडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिराेहरू आज दिनभरमा हटाइएका हुन् । प्रजिअ श्रेष्ठका अनुसार हाल हेटौंडाबाट काठमाडौं जाने सबै मार्ग सञ्चालनमा आएका छन् । उनले सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेको भन्दै यात्रु र चालकलाई सतर्क रहन आग्रह गरेका छन् ।
इलाममा पहिरोमा बेपत्ताको पनि मृत्यु, पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौं – इलाममा बाढीपहिरोका कारण १७ जनाको मृत्यु भएको छ। जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति सबैभन्दा बढी भएको छ। इलाम नगरपालिका–६, घोसेघारीस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा भित्र रहेका ६ जनाको मृत्यु भएको छ। सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो। यसैगरी, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ। घटनास्थलबाट ४ जनाको शव निकालिएको थियो भने एक घाइतेलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो स्थानमा मानेभञ्ज्याङबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र डोटेलको नेतृत्वमा ७ सदस्यीय टोली परिचालन गरिएको थियो। देउमाई नगरपालिका–५, घुसेनस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। एक जनालाई भने सकुशल उद्धार गरिएको छ। माङसेबुङ गाउँपालिका–५, पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३, रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी रहँदा थप विवरण सङ्कलन भइरहेको छ।
इलाममा पहिरोमा पुरिएर कम्तिमा दुईजनाको मृत्यु, १० जना बेपत्ता
काठमाडौं। इलाममा पहिरो गएर दुई जनाको मृत्यु भएको छ भने कम्तिमा १० जना बेपत्ता छन्। प्रहरीले मानेभन्ज्याङ, देउमाई र इलाम नगरपालिका लगायतका क्षेत्रमा घरहरू पुरिएका प्रारम्भिक विवरण पुष्टि गरेको छ, तर कठिन भूगोलले तथ्यांक संकलनमा समस्या छ। इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन् भने दुई घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको स्थानीय रेवज तामाङले बताए। माईजोगमाई–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना बेपत्ता छन्। सन्दकपुर–३ सुलुबुङमा कुमार सेढाईका दुई र माङ्सेबुङमा थप पाँच जना हराएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बाढी–पहिरोले क्षति पुर्याए पनि संख्या एकिन नभएको बताइन्। पानी रोकिएपछि बिहानैदेखि खोज तथा उद्धार कार्य तीव्र पारिएको बताइन् ।
अर्घाखाँचीमा जिप दुर्घटना: २ बालबालिकाको मृत्यु, २ जना गम्भीर घाइते
काठमाडौं, अर्घाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो। जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए। मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७, नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेका छन्। उनीहरूको सन्धिखर्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इन्सपेक्टर शर्माले बताए। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। इन्सपेक्टर शर्माका अनुसार, जिपमा ८ बालबालिकासहित २६ जना सवार थिए। तीमध्ये चार जनालाई चोट लागेको थियो, जसमध्ये दुई जनालाई बुटवल पठाइएको हो। जिप गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएका थिए।
उत्तर–दक्षिण कोशी राजमार्ग एक महिनादेखि अवरुद्ध
संखुवासभा । अविरल वर्षाका कारण मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा ठूलो पहिरो खस्दा उत्तर–दक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । करिब पाँच सय मिटर सडक बगाउँदा भोटखोला गाउँपालिकासहितका उच्च पहाडी क्षेत्रसँगको सम्पर्क विच्छेद भएको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासी समस्यामा परेको बताए । “दसैँ नजिकिँदै गर्दा आवतजावत मात्र होइन, आवश्यक सामग्री आपूर्ति र बिरामी लैजानसमेत कठिन भएको छ,” उनले भने । उनका अनुसार उत्तरी क्षेत्रका स्थानीय जीवन जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् । सडक अवरुद्ध भएपछि खाद्यान्न, इन्धन र दैनिक उपभोग्य सामग्रीको आपूर्ति रोकिँदा बजारमा अभाव देखिन थालेको छ । चाडपर्वका लागि सामान ल्याउन नसक्दा व्यापारीहरू थप चिन्तित बनेका छन् । यात्रुवाहक र मालसामान ढुवानीका गाडी बाटैमा रोकिँदा व्यापारी तथा उपभोक्ता दुवै प्रभावित भएका छन् । त्यस्तै, आपतकालीन औषधि र स्वास्थ्य सामग्रीको समेत अभाव देखिएको स्थानीयको गुनासो छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरो जोखिमपूर्ण स्थानमा खसेकाले सफाइ गरेर यातायात सञ्चालन गर्न कठिनाइ थपिएको छ । “काम सुरु गरे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम जारी भएकाले कामदार र मेसिन परिचालनमा समस्या छ,” गुरुङले भने ।
सल्यानमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, दुईजना गम्भीर घाइते
सल्यान । सल्यानको कपुरकोट–चौरखोला सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउँदै गरेको लु२ख ६५०२ नम्बरको सवारी सडकदेखि करिब तीन–चार सय मिटर तल खसेको हो। दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। सोही सवारीमा सवार एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारीसाधनमा सवार मृतक र घाइतेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
बाजुरामा चार महिनादेखि अवरुद्ध सडक सुचारु
बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडक चार महिनापछि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै गत शुक्रबारदेखि सो सडक पुनः सुचारु भएको हो । यहाँका पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनु परेको थियो । यती बेला सो सडक सुचारु भए पनि भने यहाँका स्थानीयलाई दसैँ तिहारमा गाउँमा आउव जावत गर्न निकै सहज भएको छ । विगत चार महिनादेखि अवरुद्ध सडक बल्ल सुचारु भए पनि यती बेला कोल्टीदेखि जिप मार्तडीमा आउजाउ भएको चालक बुढीनन्दा नगरपालिका स्थानीय जिप चालक रामबहादुर कार्कीले बताए । उनले भने, “मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा गत जेठको अन्तिममा जिप कोल्टीमा रोकिएका थिए ।” यती बेला दसैँ अगावै बाटो मर्मत भएपछि अहिले कोल्टीदेखि मार्तडी सञ्चालन गर्ने गरेको कार्कीले बताए । पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन । यती बेला पानी राकिएकोले मर्मत सम्भारको काम सुरु गरेसँगै बाटो सुचारु भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले बताए । उनले भने, “हामी सँग डोजर थिएन् । तै पनि हामी यहाँका स्थानीय तहलाई समन्वय गरेर बुढीनन्दा नगरपालिकाको डोजर भाडामा लिएर काम सुरु गरेका हौ ।” पालिकाले प्रति घण्टा डोजर चलाए वाफत सात हजार पाँच सय भनेको छ । तर हामीले नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले डोजर प्रयोग गरेवाफत रकम दिने थापाले बताए । मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ । यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ । यता बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ । बर्खाको पानीले यो सडक तहस नहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका थिए । गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पानी पर्दै गरेका कारण त्यहाँ सफा गर्न सकिएको थिएन । यती बेला यहाँका बुढीनन्दा बडीमालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई दशै अगावै बाटो सुचारु गर्ने गरी पहल गर्दै आएपपछि बल्ल सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए ।

