दुई महिनापछि ताप्लेजुङकाे सुकेटार विमानस्थलबाट उडान सुरु

ताप्लेजुङ । ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारदेखि उडान सुरु भएको हो ।

वर्षायाम सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको उनको भनाइ छ ।

 ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र सञ्चालन हुँदै आएको छ । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित रहँदै आएका छन् । दुई महिनापछि शुक्रबार भएको पहिलो उडानमा काठमाडौँबाट १४ जना यात्रु आएको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।

उनकाअनुसार ताप्लेजुङबाट भने नौ जना यात्रु बोकेर काठमाडौँ फर्केको थियो । हाल साताको एक दिन मात्र उडान तालिका रहेको भए पनि अबका दिनमा यात्रुको चाप तथा मौसमको अवस्था हेरेर तालिका थप गर्ने योजनामा रहेको निगमले जनाएको छ । 

लामो समयसम्म उडान नहुँदा जिल्लावासीले लामो दुरीको सडकमार्फत यात्रा गर्न बाध्य भएका थिए ।  काठमाडौँ–ताप्लेजुङका लागि हाल नौ हजार २४५ रुपियाँ भाडादर कायम रहेको ताप्लेजुङ स्टेसनले जनाएको छ ।

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो

खोटाङ ।  दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए । “सबै व्यापारीलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उनले भने, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजार पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निकै बढेको छ । यसले व्यवसायीको कारोबार राम्रो भइरहेको छ ।” जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन् । यस्तै खाने तेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्य वस्तु भने सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य सङ्घले जनाएको छ ।  गत वर्षको तुलनामा यस वर्ष व्यापार/व्यवसायमा धेरै सुधार भएको व्यापारीहरू बताउँछन् । चाडपर्वमा खपत हुने सामानको बिक्री बढी भएको र ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता आएकाले कारोबार बढेको उनीहरूको भनाइ छ । स्थानीय उपभोक्ताले पनि दसैँ नजिकिँदै गर्दा बजारमा सामानको विविधता र आपूर्ति सहज भएको अनुभव गरेका छन् । तर, कतिपयले भने अन्डा र तेलजस्ता केही सामानको भाउ बढेको गुनासो गरेका छन् । जिल्लास्थित सरोकारवाला निकायले चाडपर्वका बेला बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ताको सुरक्षामा अझ ध्यान दिनुपर्ने बताएका छन् । ग्रामीण भेगमा सञ्चालित पसलमा म्याद नाघेका अखाद्यवस्तु बिक्री भइरहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायले आग्रह गरेका छन् । चाडपर्वका अवसरमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दश वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित हाटबजार तथा पसल अनुगमन गरिरहेका छन् ।  चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जिल्लाका तीन स्थानमा सुपथ मूल्यको पसलसमेत सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिक्तेल बजारसहित ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।  जिल्लामा खोलिएका सुपथ मूल्यको पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय र खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।

धनुषामा १८ पालिकाको खाता अझै खुलेन

जनकपुरधाम । धनुषाका जिल्लाका १८ पालिकाको खाता  सञ्चालनमा नआउँदा  आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर  कर्मचारी समस्यामा परेका छन् ।  कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११  नगरपालिका तथा छ गाउँपालिकाको खाता  सञ्चालनमा नआएको हो । चालु आर्थिक वर्ष बितेको दुई महिना  भए पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास निमार्णको कार्यसमेत ठप्प भएको छ ।  साथै बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको सो कार्यालयले जनाएको छ । स्थानीय तहको खाता  सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर मात्र खाता मिलाउनुपर्नै कानुनी प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।  धनुषाका अधिकांश स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ । सो कार्यालयका अनुसारले  १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको बताइएको छ ।  खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निमार्णका योजना सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ । 

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

भोजपुर । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो ।  यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए ।  “रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उनले भने, “यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई  खोप लगाउँछौँ ।” निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । रासस

वीरगञ्ज भन्सार यार्डमा १७९ सवारीसाधन रोक्का

पर्सा । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चारपाङ्ग्रे सवारीसाधन भन्सार जाँचपास नहुँदा रोकिएका छन् । भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार एकीकृत जाँचचौकीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ सवारीसाधन भन्सार प्रक्रियामा छन् । “आयातकर्ताले चाडपर्व लक्षित गरेर जाँचपास अघि बढाउँदै छन्,” उनले भने, “भन्सार यार्डमा रहेका सवारी क्रमशः प्रक्रिया अनुसार पास हुँदै जानेछन् ।” कार्यालयका अनुसार सुक्खा बन्दरगाहका करिब २० सवारीसाधनको जाँचपास प्रक्रिया सुरु भइसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक काम अघि बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाका हुँदै रु ७ अर्ब १६ लाख बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ७५ करोड बढी हो । गत आवको दुई महिनामा करिब रु ५ अर्ब २५ करोड बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए ।  

कालीगण्डकी करिडोरकाे घमी खोला पुल अलपत्र

मुस्ताङ । उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ । यहाँको घमी खोलामा निर्माणाधीन पुल ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन् । विसं २०७५ पुस १६ गते रु छ करोड ८० लाख लागतमा निर्माण कम्पनी हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष सुरुआती ठेक्का सम्झौता भएको यहाँको घमी खोला पुल २०७८ साल पुस ९ गते सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण यहाँको पुल सम्पन्न हुन नसकी पटकपटक म्याद थप हुँदै आइरहेको छ । एक स्पान मात्रै रहेको यहाँको घमी खोला पुलको लम्बाइ ४० मिटर र फुटपाथ र नालीसहित ११ मिटर चौडा हुनेगरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । यहाँको पुल निर्माणलाई पूर्णता दिन आयोजनाले निर्माण कम्पनीलाई यसअघि पटकपटक ताकेता गरेको भए पनि निर्माण कम्पनीले पुल निर्माणमा अग्रसरता नदिँदा यहाँको पुल अलपत्र पर्दै आइरहेको थियो । यहाँ २०७९ साल निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसनवापत लिएको रु ७० लाख ५० हजार आयोजनालाई फिर्ता लिएको थियो । यहाँ प्रतिकूल मौसम र हिमपातका कारण काम हुन नसकेको जनाउँदै निर्माण कम्पनीले पुलको सम्पन्न अवधि थप गर्दै आइरहेको थियो । पछिल्लो समय गत वैशाखमा निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम अघि बढाएको भए पनि त्यसयताको समयमा कुनै काम अघि बढ्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।  उनले बहुचर्चित उत्तरी कोरलानाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको अवस्था रहँदासमेत हालसम्म पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको बताए । निर्माण कम्पनीले चासो दिएर काम अघि बढाएमा दुई महिनाभित्रै पुल सम्पन्न हुने अध्यक्ष विष्टको भनाइ छ । कोरलानाका जोड्ने मुस्ताङको घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बाबुसाहेवकुमार बैठाले जानकारी दिए । पुलको दायाँबायाँ फाउन्डेसन ढलानसहित पुल ढलानका लागि सटिङको काम सकिएको आयोजनाका सूचना अधिकारी बैठाले उल्लेख गरे ।  यहाँको घमी खोला पुलको पछिल्लो थप भएको म्यादसमेत सकिएर निर्माण कम्पनीलाई ठेक्का सम्झौता लागतको दैनिक ९०.०५० प्रतिशत हुनेगरी २०० दिनको म्याद दिइएको सूचना अधिकारी बैठाको भनाइ छ । जरिवाना रकम तोकिएको म्यादभित्र पनि निर्माण कम्पनीले पुलको काम अघि नबढाएमा ठेक्का धरौटी तानेर ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने उनले बताए ।  यहाँको जोमसोम–कोरला सडकमार्गमा पर्ने अधिकाश शाखा नदीमा पक्की पुल निर्माण भइसकेको भए पनि घमी खोला पुल निर्माण पूरा नहुँदा यसपटक उपल्लो मुस्ताङको कोरला नाका पुगेर मालवस्तु ढुवानी गर्ने कन्टेनर र विद्युतीय सवारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । रासस 

श्रमिक अभावले चिया टिप्न मेसिनको सहारा

इलाम । श्रमिकको अभावका कारण चिया टिप्न समस्या भएपछि इलामका किसानले प्रविधिको सहारा लिन थालेका छन् । हाल गाउँमा श्रमिक पाउन कठिन भएको र भेटिएका श्रमिकलाई उच्च ज्याला तिर्नुपर्ने अवस्था आएपछि किसानले चिया टिप्ने मेसिन प्रयोगमा ल्याएका हुन् । किसानका अनुभवअनुसार दैनिक ११ जना श्रमिकले टिप्ने बराबरको चिया एउटा मेसिनले एकै दिनमा टिप्न सक्छ । सूर्योदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठ भन्छन्, “मेसिन प्रयोग गर्दा दुई जनाले मात्र चलाए पुग्छ र काम पनि धेरै हुन्छ । श्रमिक नहुँदा चिया बोटमा पात हुर्केर नोक्सान हुन थालेपछि मेसिन प्रयोग गर्न थालेका हौँ ।” युवाहरू पनि मेसिन चलाएर चिया टिप्ने काममा आकर्षित भएका छन् । गाउँघरमा प्रतिकिलो १५ रुपैयाँको दरमा चिया टिप्ने गरिएको छ । माईजोगमाई गाउँपालिका–लप्सीबोटेका युवा निर्मल काफ्ले भन्छन्, “हाम्रो मेसिनले दैनिक २५० देखि ३०० किलो चिया सजिलै टिप्छ ।” विदेश जाने तयारी गरिरहेका काफ्लेले गाउँमै रोजगारीको सम्भावना देखिएको उल्लेख गर्दै थपे, “सबै युवा विदेश गएका छन् । गाउँमा बालबालिका र बुढापाका मात्र छन् । बारी बाँझो छ, उत्पादन भएको कृषि उपज टिप्ने र बजार पठाउने जनशक्ति छैन । विदेशमा पनि काम नगरी पैसा आउँदैन ।” सोही गाउँकी तारा काफ्ले पनि श्रमिक नपाएपछि मेसिन चलाएर चिया टिप्दै आएकी छन् । पहिले पेट्रोलबाट चल्ने मेसिन प्रयोग भए पनि अहिले ब्याट्रीमा चल्ने हल्का मेसिन लोकप्रिय बन्दै गएको किसानहरूको अनुभव छ । स्थानीय सरकारले पनि किसानलाई चिया टिप्ने मेसिन उपलब्ध गराउन थालेको छ । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले लागत साझेदारीमा किसानलाई मेसिन वितरण गरेका छन् । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार चिया टिप्न श्रमिकको अभाव कम गर्न र खेतीमा प्रविधि प्रयोग बढाउन यो नीति अवलम्बन गरिएको हो । यद्यपि तेस्रो मुलुक पठाउने उच्च गुणस्तरको चियाका लागि भने अहिले पनि हातैले टिपेको पातलाई उत्कृष्ट मानिन्छ । केही उद्योगले अझै पनि हातले टिपेर मात्र गुणस्तरीय चिया उत्पादन गर्दै आएका छन् । तर जनशक्ति अभावका कारण हाल हातले टिप्न नपाएर चिया बगानमा पात नटिपिएको अवस्था देखिएको उद्योगीहरू बताउँछन् । उच्च गुणस्तरीय हरियो पातलाई निर्यातमुखी चिया उद्योगले अझै राम्रो मूल्य दिने गरेका छन् ।

भाेजपुरमा विदेशको अनुभव, स्वदेशमा राेजगारी

भोजपुर । वर्षौँदेखि विदेशमा श्रम गरेर पनि सोचेजस्तो कमाइ र सन्तुष्टि नपाएका युवाहरू अहिले आफ्नै गाउँ फर्केर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनबाट राम्रो आम्दानी गर्न थालेका छन्। विदेशको भोगाइ र अनुभवलाई प्रयोग गरेर उनीहरूले आफ्नो व्यवसायबाट मनग्य लाभ लिइरहेका छन्। टेम्केमैयुङ गाउँपालिका-१, तिम्माका प्रेमबहादुर बस्नेत यसको एक उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि राम्रो आम्दानी नभएपछि उनी गाउँ फर्केर व्यवसायमा लागेका हुन्। अहिले गाउँमै बाख्रापालन र जडीबुटी खेतीबाट राम्रो कमाइ भइरहेको उनी बताउँछन्। परिवारसँगै बसेर गरेको उद्यमबाट घर खर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ। "विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन," बस्नेत भन्छन्, "अहिले आफ्नै गाउँमा बसेर बाख्रापालन र जडीबुटी खेती गरिरहेको छु। गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। मेहनत गरे यहीँ राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभव भयो।" विदेश जान चाहनेहरूका लागि गाउँमै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनी बताउँछन्। व्यवसायमा निरन्तरता दिन सके क्रमिक रूपमा लाभ लिन सकिने उनको अनुभव छ। "हामी छोटो समयमा धेरै लाभ लिने सोच्छौँ," उनी भन्छन्, "तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य गर्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ।" उद्यममा लाग्न चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ। कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनी बताउँछन्। राज्यले किसानलाई उद्यममा जोड्नुअघि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित भइरहेका छन्। तर, उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेलिरहेको गुनासो गर्ने गरेका छन्। राज्यबाट दिइने सेवाहरू सरल र सहज भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ।

जीवनशैली परिवर्तन गर्दै लाेपोन्मुख राउटे समुदाय

कञ्चनपुर ।  कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरू यति बेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू यति बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरू समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रूपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उनले भने ।  जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उनको गुनासो छ ।  “हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो”, राउटेले भने, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।” समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उनले भने, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।”  उनले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उनले भने, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”  करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् ।  “हाम्रो पुर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भने, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।” जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । रासस

सिरहामा बालकको अपहरणपछि हत्या, आफन्तसहित ८ छिमेकी पक्राउ

काठमाडौं । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामा पीडित परिवारका आफन्त र छिमेकी समेत रहेका छन् । अनुसन्धान चलिरहेको कारण उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंहको शव मंगलबार बिहान घर नजिकैको आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए । परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजे घरबाट बेपत्ता भएका थिए । रातभर खोजतलास गर्दा पनि नपाइएपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा हिन्दी भाषामा पाँच करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बालकको अपहरणपछि हत्या भएको पुष्टि गरेको छ । थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।  

धनकुटाकाे साँगुरीगढीका नौ घर पहिरोको उच्च जोखिममा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित मोक्तेनमा लगातारको वर्षापछि गएको पहिरोले नौ घर उच्च जोखिममा परेका छन् । पहिरोले तलबाट बस्ती तान्दा गाउँका घरधुरीमा ठूलो क्षति हुने खतरा बढेको छ । जोखिममा परेका घरधुरीमा केवल प्रसाद मगर, मोहन मगर, बिष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर छन् । साथै, एक सामुदायिक चर्च पनि पहिरोको खतरामा परेको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।  पहिरोका कारण ४२ सदस्यको नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत वर्षको लगातार वर्षाले घरहरू पहिल्यै कमजोर भएका थिए । केही दिनयता भएको निरन्तर वर्षासँगैको पहिरोले ती घरहरूलाई थप जोखिममा पारेको अध्यक्ष राईको भनाइ छ । रवि–राके सडक निर्माणका क्रममा तलबाट पहिरो खसेपछि बस्ती भत्किने, चिरा पर्ने र बस्न अयोग्य हुने अवस्था बनेको हो । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेललले विपद्‌ग्रस्तलाई तत्काल उद्धारका लागि सुरक्षाकर्मी खटाइएको बताए । राहत र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको भए पनि आवश्यकता परे उच्च निकायसँग सहकार्य गर्ने तयारी रहेको उनले उल्लेख गरे । 

सिस्नुबाट आम्दानी गर्ने प्रशोधन केन्द्रको सफलता

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत दैनिक १५–२० किलो सिस्नु संकलन गरी चैते सामुदायिक वनले सञ्चालन गरेको सिस्नु प्रशोधन केन्द्रमा पुर्‍याउँछन् । उनले प्रतिकिलो ८० रुपैयाँको दरमा बिक्री गर्दै फुर्सदको समयमा नै उल्लेखनीय आम्दानी गरिरहेका छन् । बस्नेतजस्तै अन्य स्थानीय बासिन्दा पनि हाल सिस्नु संकलन र बिक्रीमार्फत आम्दानी बढाउँदै आएका छन् । पहिले पहाडका गाउँघरमा घाँसपात वा खेतीपाती गर्दा पोल्ने भएकाले सिस्नुलाई टाउको दुखाइ मानिन्थ्यो । तर पछिल्ला वर्षमा चैते सामुदायिक वनका उपभोक्ता र आसपासका बासिन्दाले यसको संरक्षण र खेती गर्दै सिस्नुलाई आम्दानीको स्रोत बनाएका छन् । सामुदायिक वनले सिस्नु प्रशोधन गरेर धुलो र तीनपाते मुना (सुक्खा पात) उत्पादन सुरु गरेपछि स्थानीयले व्यावसायिक रूपमा खेती गर्न थालेका हुन् । ३६५ हेक्टरमा फैलिएको यस वनको करिब १० प्रतिशत क्षेत्रमा सिस्नु फस्टाएको छ । गत आर्थिक वर्षमा करिब एक हेक्टरमा व्यावसायिक खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए । हाल दैनिक ४०–५० किलो सिस्नु संकलनबाट ५–६ किलो धुलो उत्पादन हुन्छ । “हामी गुणस्तर परीक्षणपछि लेबलिङ र प्याकिङको तयारीमा छौँ । उत्पादन क्षमता विस्तार गरेपछि दैनिक करिब ४ सय किलोसम्म आपूर्ति गर्न सक्नेछौँ,” अध्यक्ष खड्काले बताए । सामुदायिक वनले हाल सिस्नुको धुलो प्रतिकिलो २ हजार रुपैयाँ र तीनपाते मुना प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयमार्फत २०८१/८२ आर्थिक वर्षमा १० लाख रुपैयाँ लागतको सिस्नु सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराइएको छ । पहिले गाउँघरमा मात्र खाइने सिस्नु अहिले शहरका होटेल र रेस्टुरेन्टसम्म लोकप्रिय बनेको छ । “वसन्तपुरमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्छ,” स्थानीय होटेल व्यवसायी हेमराज बानियाँले बताए । सिस्नुमा प्रशस्त प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । उत्पादन गरिएको धुलो अहिले वसन्तपुरका होटेल मात्र नभई जिल्लाबाहिरका ठूला होटेलसम्म पुग्ने गरेको छ । विदेशबाट समेत माग बढ्दो छ तर लेबलिङ प्रक्रिया पूरा नभएकाले निर्यात सुरु भएको छैन । “माग धेरै छ, उत्पादन बढाउने तयारीमा छौँ,” सामुदायिक वनकी सदस्य रेणुका खड्काले बताइन् । सिस्नुको बढ्दो मागका कारण सामुदायिक वनभित्रका साथै निजी जमिनमा पनि खेती विस्तार गर्न स्थानीयलाई प्रोत्साहन गरिएको छ । पहिले टाउको दुखाइको रूपमा चिनिएको सिस्नु अहिले ग्रामीण आम्दानीको आकर्षक विकल्प बनेको छ ।  

पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन्। स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्षमनबहादुर कुँवरले जानकारी दिए । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो। बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्मपुगेको हो । विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिए । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए । 

कैलालीमा चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली । बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिनेक्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।  सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न सहरबाट रोजगारी गरी फर्किएका छन् । प्रत्येक दिन सो नाकाबाट भित्रिनेको सङ्ख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । डोटीका रमेश साउद सोही नाकाबाट घर फर्किएका छन् । लामो समयदेखि भारतको सुरतमा रोजगारी गर्दै आएका उनले चाडपर्व मनाउन घर फर्किएको बताए । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको उनको भनाइ छ । 'चाडपर्वमा परिवारका सदस्यबिच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने गरिन्छ', साउदले भने, 'जसले घर बाहिर लामो समय एक्लो भएर बस्नुपरेको आभासलाई रमाइलोमा परिणत गरिदिन्छ ।' भारतको बैङ्लोरबाट होटलमा जागिर गरिररहेका कैलालीका शिवराज धामीले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताए । दिल्लीबाट रोजगारी गरी घर फर्कँदै गरेका बझाङका राजेन्द्र गिरीले पनि चाडपर्व मनाउनका लागि घर फर्केको बताए । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवार्ड मनाउन घर आउने गरेका पाइन्छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठुला सहरमा जाने गर्दछन् । भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका अधिकांश नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् ।

बागलुङकाे काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ ।  काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो । नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।  पालिकाका सात वडामा सात स्वास्थ्य चौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरेको थियो । करिब छ महिना अगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने, “हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नं ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।” काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्य चौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताए । अब स्वास्थ्य चौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नं ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उनले अहिले उक्त पेसाको विकल्प खोज्न थालेका छन् । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउँछन् ।  “मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भने, “अहिले यो पेसाबाट घर खर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रूपमा पाउन मुस्किल छ । यस कारण पनि यो समुदायले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।  “केही वर्ष अघिसम्म तीजको बेला र दसैँ तिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भने, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारु समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उनले थारु समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताए । अहिले पनि थारु समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उनले भने, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठुलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताए ।  छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उनको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउँछन् । “जति बेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भने, “अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”  दमाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उनका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्र पाउँदैन”, बादीले भने, “भारतीय सहरहरूमा पाइन्छ, सिमानाकामा ल्याउन पाइँदैन ।”  अहिले जुत्ता उद्योगबाट घर खर्चको जोहो गरिरहेका बताउँदै उनले सिजनमा भने मादल बनाउने गरेको बताए । “अहिले सिजनमा माग आएका बेला मात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भने, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुर्ख्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दमाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।