महोत्तरीमा व्यापक बन्दै वन फडानी

बर्दीबास । महोत्तरीको बर्दीबास–४ स्थित टुटेश्वर साझेदारी वनमा मंगलबार राति ठूलो मात्रामा रुख फडानी भएको छ । जेन–जी आन्दोलन उत्कर्षमा पुगेको बेला बन्दुकसहित घरेलु हतियार बोकेको करिब डेढ सयको समूहले निर्ममतापूर्वक रुख काटेको प्रारम्भिक अनुमान छ । काटिएका मध्ये अधिकांश साल प्रजातिका छन् ।

रुख सडकमै छाडिएकाले गाउँ र टुटेश्वरनाथ मन्दिर जाने करिब ५ किमी बाटो अझै अवरुद्ध छ । फडानी रोक्न जाँदा स्थानीयसँग झडपसमेत भएको र घटनाक्रममा समूहले केही राउन्ड हवाई फायर गरेको जानकारी प्राप्त भएको छ ।

टुटेश्वर साझेदारी वनका अध्यक्ष विनयकुमार झाले घटनाबारे बताउँदै भने, “मध्यरातमा मैले रुख नकटाउन हातजोडेर अनुरोध गर्दा मलाई एक घण्टाजति नियन्त्रणमा राखे । त्यस क्रममा दुई राउन्ड गोलीसमेत चलाइएको थियो ।” पछि सशस्त्र वन रक्षक र सव–डिभिजन प्रमुख कृष्णकुमार पटेलको टोली पुगेर उनलाई मुक्त गराइएको थियो ।

अर्को दिन बिहान ४ बजे तिर समूहले टुटेश्वर सव–डिभिजन कार्यालयनजिक टायर बाल्दै फेरि रुख काटेका थिए । घटनाबारे जानकारी पाएपछि सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले केही काट्दै गरेका तीन जनालाई नियन्त्रणमा लिए पनि करिब सात सय महिलाको भीडले घेराउ गरी छुटाउन खोजेपछि फेरि झडप भएको वनकर्मीहरूले बताएका छन् । बढ्दो भीड र देशभर भइरहेका हिंसात्मक गतिविधि मूल्यांकन गर्दै सुरक्षा फौज पक्राउ परेकालाई त्यहीँ छाडेर फर्किएको थियो ।

रुख फडानीको उद्देश्य स्पष्ट छैन । स्थानीयवासीको अनुमान अनुसार राजमार्ग उत्तरतर्फ मन्दिर जाने बाटो साँघुरो भएकाले तस्करीका लागि नभई पर्यटकीय मार्ग फराकिलो पार्न सडक छेउका रुख काटिएको हुन सक्छ ।

अध्यक्ष झाले भने प्रश्न गरे, “मुलुकमा शासन प्रशासन ठप्प भएको बेला हामीले मात्र वनको सुरक्षा कसरी गर्ने ?”
 

झापाका देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग

झापा । भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यति बेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् । “दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ”, लिङ्देनले भने, “बजारमा प्रतिकेजी रु एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपालि मनग्य आम्दानी होला जस्तो छ ।”  उनले यस सिजनमा मात्र रु ३० लाखको साग बिक्री गर्ने लक्ष्य सुनाउनुभयो । “लगानी र खर्च कटाएर रु १० लाख नाफा हुन्छ भन्ने आशा छ”, लिङ्देनले भने,“गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट रु १८ लाख आम्दानी भएको थियो ।” वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्किएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले २०७३ मा लिङ्देन कृषि फार्म सुरु गरेका थिए । त्यसयता उनले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् । लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषि थोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछापालनसमेत गरिरहेको बताए। सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा सागसब्जी र फूलखेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ ।   भद्रपुर–१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् । “सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कट्ठाबाट साग उत्पादन सुरु गरेको थिए । उत्पादन र त्यसको मागसमेत राम्रो भएपछि खेती बढाएर एक बिघामा बिस्तार गरेको हुँ । मौसमीभन्दा बेमौसमी खेतीबाटै फाइदा लिइरहेको छु”, लिङ्देनले भने।   कात्तिक–मङ्सिरमा अरूले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन–भदौ महिनामै बेमौसमी साग उत्पादन गर्दै आएको उनले बताए । 

ताप्लेजुङकाे मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो । फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको छ । घर नै बगाउनेगरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको मृतक शेर्पाका भतिज पासाङग्याबु शेर्पाले बताए । मैवाखोला गाउँ कार्यपालिका सदस्यसमेत रहेका शेर्पाका अनुसार बुधबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्छाएर निकालिएको छ । अस्थायी प्रहरीचौकी फाकुम्बाका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार दलबहादुर श्रेष्ठ नेतृत्वको टोली र स्थानीय समेतले पहिरो पन्छाएर शव निकाल्ने काम भएको शेर्पाले बताए । यस्तै, सो पहिरोमा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा दारिन्जेन शेर्पा, टासीजाङ्बु शेर्पा र याङ्जी शेर्पा रहेका छन् । उक्त पहिरोका कारण घरपरिवार विस्थापित भएका छन् । मैवाखोलाका कार्यपालिका सदस्य शेर्पाका अनुसार सुरतलाल चौधरी, जिवापासाङ शेर्पा, पासाङग्याबु शेर्पा, निमारिन्जेन शेर्पा र मिङ्मा शेर्पा (कोटेसाइँला) को परिवार विस्थापित भएका छन् । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसँग समन्वय भइरहेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिए । 

उदयपुरमा सरकारी दमनविरुद्ध विद्यार्थी र युवाको विरोध प्रदर्शन

उदयपुर । सोमबार काठमाडाैंमा जेन–जी आन्दोलनमा युवाहरुको हत्या भएपछि उदयपुरमा विद्यार्थी र युवाले मंगलबार विहानै सरकारद्वारा गरिएको दमनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । त्रियुगा नगरपालिकास्थित त्रियुगा जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले र्‍याली निकालेर जेन्जी आन्दोलनमा सरकारद्वारा दमन गरिएको घटनाप्रति विरोध जनाएका थिए । प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा चर्को नाराबाजी गरेका थिए । उनीहरूले भनेका थिए, “विद्यार्थी र युवा मार्न पाइँदैन ।” जेन्जी आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारी १९ जनामाथि गोली चलाउँदा ज्यान गएको थियो । यो घटनाले सामाजिक र राजनीतिक स्तरमा व्यापक आलोचना र विरोध उत्पन्न गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जिल्लामा विरोध प्रदर्शन हुने सम्भावित ठाउँमा सुरक्षा कडा गरिएको जानकारी दिए । उनले भने, “स्थानीय तहले विद्यालय र कलेजहरूमा शोकसभा सञ्चालन गरेका छन्, तर विहानै गाईघाटमा विरोध प्रदर्शन भएको छ ।” यसैबीच, जेन्जीले आज पनि गाईघाटमा विरोध प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ । हिजो सोमबार गाईघाट, कटारी लगायतका बजार क्षेत्रमा पनि जेन्जीले प्रदर्शन गरेको थियो ।

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङ । यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१–८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको  सङ्घका अध्यक्ष दीपक गौतमले बताए ।  अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०–८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।  उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो । दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए । यस्तै आव २०७९र८० मा  रु २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो । 

जेनजीको आन्दोलनमा दमन भएपछि युवासंघका प्रदेश अध्यक्ष खरेलले त्यागे एमाले

काठमाडौं — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले पार्टीको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले नेकपा एमालेको सदस्यता त्यागेको जानकारी दिए। “आजदेखि म नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछु,” खरेलले लेखेका छन्। जेन जी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमन र निर्दोष युवाहरूमाथि रगत बगाएको भन्दै उनले यस्तो पार्टीमा बस्नु नैतिक र मानवीय रूपमा अस्वीकार्य भएको बताए। “निर्दोष युवाहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने र जनताको आवाज दबाउने पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिकोणले अस्वीकार्य छ,” उनले थपे। खरेलले अब आफू पीडितको पक्षमा, न्यायको पक्षमा र जेन जी पुस्ताको आवाजसँगै रहने उल्लेख गरेका छन्। यसअघि राष्ट्रिय युवा संघले खरेललाई पार्टी र नेतृत्वको मर्यादाविपरीत गतिविधि गरेको भन्दै जिम्मेवारीबाट निलम्बन गरेको थियो। युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार सुमन पुरीको पक्षमा लागेका खरेल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा खुलेका थिए।

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान ठप्प

इलाम । जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि सुनसान छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ वटा उडान भरेको विमानस्थल गत जेठयता भने कुनै पनि उडान हुन सकेको छैन । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले पहिलो परीक्षण उडान गरेपछि स्थानीयवासीले नियमित उडानको आशा गरेका थिए । त्यसपछि २०७८ माघ २६ गते नेपाल एयरलाइन्सले पनि सफल परीक्षण उडान गरेको थियो । तर नियमित सेवा अभावमा इलामसहित पूर्वी पहाडी क्षेत्रका यात्रु अझै झापा वा विराटनगरकै विमानस्थल धाउन बाध्य छन् । सुरुआतमा तारा एयरले सातामा दुई दिन उडान भर्दै आएको थियो । त्यसबेला इलाम नगरपालिका–९ ले काठमाडौं फर्कँदा जहाजका खाली सिटको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सम्झौता सकिएपछि २०७९ माघ १ गतेदेखि नेपाल एयरलाइन्सले पनि सोही तालिकामा सेवा दिएको थियो । तर पछिल्ला वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले जानकारी दिए । सम्झौता अन्त्यपछि पनि नेपाल एयरलाइन्सले शनिबार साप्ताहिक उडान गर्दै आएको थियो । तर मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान रोकिएको विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । “नगर कार्यपालिकाको बैठकमा पटक–पटक विमानस्थल सञ्चालनबारे छलफल भइरहेको छ”, वडा नं. ९ का अध्यक्ष गोपाल चौहानले बताए, “तर कहिले विमान बिग्रिने त कहिले मौसमको कारण देखाउँदै दीर्घकालीन समाधान हुन सकेको छैन ।” ३२८ रोपनी क्षेत्रमा बनेको विमानस्थलको धावनमार्ग ६७० मिटर लामो र २० मिटर चौडाइमा कालोपत्रे भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग र तारबारलगायत संरचना अझै अधुरै छन् । स्थानीयको करिब चार करोडसहित हालसम्म विमानस्थलमा रु २८ करोडभन्दा बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलका लागि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेकाे यो विमानस्थल २०७८ फागुन १ गते खनालकै हातबाट उद्घाटन भएको हो ।

बागलुङका १० वटै स्थानीय तहमा खायन आलुखेती

बागलुङ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । आर्थिक वर्ष २०८०र०८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ । उनका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताए । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ । प्रमुख सिलवालले भने, “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्‍याउँछ ।” हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइसकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका सहरमा पुग्ने गरेका छन् ।  खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने हुँदा उत्पादन बढ्ने ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताउनुभयो । यो आलु खेती गर्न थालेपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।  कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि सहकारी तथा समूहमार्फत खाद्यान्न बाली प्रवर्द्धन गर्न थालेको हो । कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ । 

कोशीमा ३४ झोलुंगे पुल प्रयोगविहीन

मोरङ । कोशी प्रदेशमा ३४ वटा झोलुंगे पुल प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । तीमध्ये १२ वटा पुल प्रदेश सरकारले अन्यत्र सार्ने तयारी गरेको छ भने जीर्ण भएका १७ वटा पुल मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ । मोरङ, धनकुटा, उदयपुर, भोजपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा निर्माण भएका पुराना झोलुंगे पुलमध्ये धेरैजसो मोटरेबल पक्की पुल बनेपछि प्रयोगविहीन भएका हुन् । पहिले आवतजावतको मुख्य माध्यम रहेका ती पुल अहिले वनलहरे टाँक्रामा परिणत भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री भूपेन्द्र राईका अनुसार प्रयोगविहीन पुललाई नजिकैको उपयुक्त स्थानमा स्थानान्तरण गरेर पुनः प्रयोगमा ल्याइनेछ । “यसो गर्न सके आर्थिक मितव्ययिताको दृष्टिले पनि लाभ हुन्छ,” उनले भने ।  मन्त्रालयको अध्ययनअनुसार मोरङमा दुई, धनकुटामा एक, भोजपुरमा नौ, उदयपुरमा पाँच, खोटाङमा सात र ओखलढुंगामा चार पुल कम प्रयोगमा रहेका छन् । ‘लोकल रोड पुल युनिट’का विज्ञ इन्जिनियरमार्फत गरिएको मूल्यांकनमा २३ वटा पुल स्थानान्तरण गर्न सकिने निष्कर्ष निकालिएको छ । मन्त्रालयले १७ वटा पुललाई वैकल्पिक मार्गका रूपमा त्यहीँ प्रयोगमा ल्याउने, पाँच पुल भत्काएर लिलामी गर्ने र बाँकी १२ पुल सार्ने निर्णय गरेको छ । एक झोलुंगे पुल बनाउन कम्तीमा ४५ लाख रुपैयाँ लाग्ने भएकाले स्थानान्तरण गर्दा करिब ४० प्रतिशत खर्च बच्ने अनुमान छ । “पुल सार्नका लागि तयारी लगभग पूरा भइसकेको छ, चाँडै कार्यान्वयनमा लैजानेछौँ,” मन्त्री राईले भने । 

कञ्चनपुरमा गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न थालेका हुन् । “अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उनले भने, “गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।” सुनारले दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गर्नुभएको छ । “माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उनले भने “किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए ।  पछिल्लो समय तरकारीखेती, बगरखेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए । “सुरुआतमा करिब रु चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उनले भने, “एक महिनामा मात्र रु एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु सात लाखसम्म आम्दानी हुन्छ ।”  सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो रु २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उनले भने, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।” गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ । पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रूपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी मानिएको छ ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा संलग्न हुन संविधानले कुनै रोक नलगाउने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हालै नेकपा (एमाले) को राजनीतिमा फर्किएकी छन्, यद्यपि एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किसकेका छन्। पत्रकारहरूले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक संलग्नताले संविधानको औचित्यमाथि प्रश्न उठ्छ कि भन्ने प्रश्नमा देउवाले भने, “वास्तवमा मलाई धेरै कुरा थाहा छैन। संविधानमा ‘पाइन्छ’ भनिएको पनि छैन, ‘पाइँदैन’ भनिएको पनि छैन।” उनले संविधानमा यस विषयमा स्पष्ट व्यवस्था नभएको प्रष्ट पारे। देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक रहेको उल्लेख गर्दै भने, “दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।” उनले यसका लागि विभिन्न दलहरूसँग छलफल भइरहेको जानकारी दिए। वर्तमान सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई फिर्ता नबोलाउने देउवाले स्पष्ट पारे। “मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा कुनै कुरा भएको छैन,” उनले भने।

जनतासँग माओवादी: 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि  (तालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको 'जनतासँग माओवादी:'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि फेरि सुरु हुँदैछ । पोखरासम्म आएर पहिलो चरण सकिएको अभियान आज फेरि पोखराबाटै सुरु हुन लागेको माओवादी केन्द्रले जनाएको छ ।  अभियानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु पोखरा पुग्नेक्रममा रहेको महासचिव देव गुरुङले एभरेष्ट दैनिकलाई जानकारी दिनुभयो । दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्क अवलोकन गरेर अभियानको सुरुवात हुनेछ ।  कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्ने तालिका छ ।  साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।  गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।  हेर्नुस् तालिका    

लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढीको क्षति

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१, टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ। शनिबार बिहान २:४० बजे लम्कीस्थित उक्त गोदाममा अचानक आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए। लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको उक्त गोदाममा जुत्ता र चप्पल भण्डारण गरिएको थियो। आगलागीका कारण गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यद्यपि, गोदाममा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। “गोदाममा कोही बस्ने व्यवस्था नभएकाले आगलागी कसरी भएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रहरी निरीक्षक सिंहले भने। आगलागीको स्रोत र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको थियो। लम्कीचुहा नगरपालिकाको दमकल र प्रहरीको तत्कालको प्रयासले आगो अन्यत्र फैलिनबाट जोगिएको छ। यद्यपि, गोदाममा भएको ठूलो क्षतिले सञ्चालकलाई आर्थिक नोक्सानी भएको छ। प्रहरीले स्थानीयलाई आगलागीसम्बन्धी जोखिमबाट बच्न सचेत रहन र यस्ता घटनामा तुरुन्त सहयोग गर्न आग्रह गरेको छ।

मधेश प्रदेशमा मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा

जनकपुर। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा यो निर्णय उल्लेख छ। सूचनाअनुसार, "२०८१ चैत २२ गते मधेश राजपत्रमा प्रकाशित २०८२ सालको थप बिदासम्बन्धी सूचनालाई आधार मानेर भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।" मधेश प्रदेशका जिल्लाहरूमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ। यद्यपि, केन्द्र सरकारले यो अवसरमा मुस्लिम समुदायका कर्मचारीहरूलाई मात्र बिदा दिएको छ। अन्य प्रदेशका केही स्थानीय तहले पनि मोहम्मद जयन्तीमा सार्वजनिक बिदा घोषणा गरेका छन्।

एमाले दाङ जिल्ला कमिटीकी पूर्वसदस्य सुमित्रा राना माओवादी केन्द्रमा प्रवेश

दाङ। नेकपा (एमाले) की पूर्वजिल्ला कमिटी सदस्य सुमित्रा राना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन्। बबई गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रानाले माओवादी केन्द्रको सदस्यता ग्रहण गरिन्। उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले रानालाई खादा लगाएर पार्टीमा स्वागत गरे। अनेमसंघकी उपाध्यक्षसमेत रहेकी रानालाई सोही कार्यक्रममा औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ।

जलवायु परिवर्तनले सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

कञ्चनपुर । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् ।  “हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी वाग्लेले भने । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् ।  शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् । यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ ।