माओवादीप्रति जनविश्वास बढ्दैछ, प्रतिक्रियावादीहरू आतंकित छन्  : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रष्ट भएको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।”

null

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको बताउनुभयो। उहाँले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिनुभयो।

शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उहाँले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताउनुभयो। “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” उहाँले उल्लेख गर्नुभयो।

प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तिव्र बनाउनु पर्नेमा जोड दिनुभयो। “अब घर-घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उहाँले निर्देशन दिनुभयो।

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिनुभयो।

झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत

कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ । मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ । मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ । विसं २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोरदोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए । “यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो । जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो”, उनले भने, “यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ ।” पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदीमाथि रुखका चाक्ला र अन्य समय काठको डुङ्गाबाट आवतजावत गर्थे । यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुङ्गासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुङ्गाको सहारामा नदी तर्दै आइएको भलमन्सा डङ्गौराले स्मरण गरे ।  पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ । पुल निर्माणपछि आवतजावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए । पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकामा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए । “स्थानीयलाई साँझ, बिहान बजारबाट समान लिन जाँदा नदी वारपार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्दथ्यो  । हाल पुल सञ्चालनपश्चात् आनन्दले आवतजावत गर्न सकिएको छ”, उनले भने । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनको रु तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । उक्त पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँकेसँग विसं २०७८ असोज १३ गते सम्झौता भएकामा गत वर्ष माघ १० गते पुल निर्माण सम्पन्न भएको थियो । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

मौसमअनुसार रंग बदल्ने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित ‘छ्यो थाङ्गी छ्यो’ पोखरी पछिल्ला दिनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । समुद्र सतहदेखि करिब ४ हजार ४०० मिटर उचाइमा रहेको यो पोखरीले मौसमअनुसार रंग बदल्ने विशेषता बोकेको स्थानीयवासी बताउँछन् । कहिले आकाशजस्तै नीलो देखिने यो पोखरी कहिले रातो पनि हुने गर्छ । प्रचारप्रसार बढ्दै गएसँगै पर्यटक संख्या वृद्धि भएको पथप्रदर्शक पान्दे शेर्पाले जानकारी दिए । पूर्वको ‘मुस्ताङ’ उपनाम पाएको यस क्षेत्रमा आवश्यक सेवा–सुविधा अभाव हुँदाहुँदै पनि पर्यटक आकर्षित भइरहेको स्थानीय वाङ्गे शेर्पाले बताए । उनका अनुसार थोक्प्या भाषामा ‘छ्यो’ भनेको पोखरी र ‘थाङ्गी’ भनेको टार हो, जसको शाब्दिक अर्थ ‘पोखरी भएको टार’ हुन्छ । तर पछिल्लो समय मौलिक नामभन्दा भिन्न नामबाट पोखरी प्रचार भइरहेकाले मौलिक नाममै संरक्षण र प्रचार गर्नुपर्ने स्थानीयको आग्रह छ । मिक्वाखोला–४ साँवा गाउँका मिलन लिम्बूका अनुसार पर्यटक लोदेन क्षेत्र पुगेर पोखरी अवलोकनसँगै प्राकृतिक सुन्दरताको आनन्द लिन सक्छन् । सदरमुकाम फुङ्लिङबाट सिम्बुकसम्म यातायात पुग्छ भने त्यहाँबाट छिटो हिँड्नेले एक दिनमा, ढिलो हिँड्नेले दुई दिनमा लोदेन पुग्न सक्ने बताइन्छ । लोदेन हुँदै तोक्पेगोला फर्किन चाहनेका लागि भने बाटो सहज छैन । पाँच हजार ५०० मिटरको डाँडा पार गर्नुपर्ने भएकाले लेक लाग्ने, बाटो चिप्लो हुने र स्थानीयको सहयोग आवश्यक पर्ने लिम्बूले बताए । वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार लोदेन क्षेत्रमा करिब एक सय पोखरी छन् तर वैज्ञानिक अध्ययन भने अझै हुन सकेको छैन । वडाको पहलमा पोखरीको गहिराइ, लम्बाइ, चौडाइ र जिपिएस मापनलगायत अध्ययन गर्ने योजना रहेको उनले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले हालसम्म पोखरी संरक्षणमा विशेष काम नभए पनि पदमार्ग तथा पाटी–पौवा निर्माणमार्फत पर्यटन प्रवर्द्धन गरिरहेको बताए । उनका अनुसार प्राकृतिक रूपमा संरक्षित रहेका यी पोखरीलाई दीर्घकालीन संरक्षण गर्न मानवजन्य क्षति रोक्न आवश्यक छ ।  

सप्तरीमा एक हप्तामा आठ जनाको शव फेला

सप्तरी । सप्तरीमा गत एक हप्तामा आठ जनाको शव फेला परेको छ । तीमध्ये पाँच महिला र तीन पुरुष रहेका छन् । पछिल्लो घटनामा कञ्चनरूप नगरपालिका–७ धरमपुरस्थित पेट्रोलपम्प नजिक आइतबार राति ४० देखि ४५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको छ ।  सोही दिन कञ्चनरूप–६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । स्थानीय ४६ वर्षीय सत्रुधन सदा आइतबार दिउँसो नुहाउने क्रममा नहरमा डुबेर मृत फेला परेका थिए ।  त्यसअघि, तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर ६५ वर्षीया पवनदेवी यादवको मृत्यु भएको थियो । गाउँपालिका–६ बभनगामाकी उनको शव खेतमै भेटिएको थियो । भदौ ४ गते शम्भुनाथ नगरपालिका–६ लतियाहीकी ३२ वर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी थिइन् । उनको आमा भिलु चौधरी हुन् ।  यस्तै, भदौ २ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा खेतमा खनिएको खाल्डोको पानीमा डुबेर ७२ वर्षीया सजनी सदाको शव फेला परेको थियो । उनी सितापुरका लालु सदाकी पत्नी थिइन् ।  यसैगरी, कञ्चनरूप नगरपालिका–५ पिपरामा शनिबार राति करेन्ट लागेर ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदारको मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।  त्यस्तै, भदौ १ गते तिरहुत गाउँपालिका–४ डिमनमा सुनसरीको दुहवी नगरपालिका–११ तन्मुनाका ५० वर्षीय जगदीश मेहता झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी बस्दै आएको घरनजिकै सजिवनको रुखमा गम्छाको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार भदौ १ देखि ८ गतेसम्म जिल्लामा आठ जनाको शव फेला परेको छ । 

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

झापा । ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षक विद्यालय पुग्न असम्भव हुँदा पढाइ नै प्रभावित भएको हो ।  मेची पारिको ग्वाल बस्तीमा रहेको विद्यालयमा कक्षा दुईसम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र एक कर्मचारीको बसोबास मेचीवारि छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजवंशीको घर मेचीवारि छ । हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरु बर्खाको भेलमा पौडी खेलेर मेचीपारि विद्यालय पुग्न सम्भव छैन । “गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो”, विद्यालयका प्रधानाध्यापक थपलिया भन्छन्, “विद्यालय जानका लागि मेची नदीमा पुल छैन, कसरी विद्यालय पुग्ने ?” बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ । सिमानाको नदी मेचीमा बर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता हो । वैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ । उत्तर र दक्षिणतिरको दुई वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बङ्गालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । यो विकल्प प्रयोग गर्न पनि असम्भव नै छ । “विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु”, प्रअ थपलियाले भने, “अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो ।” विसं २०५७ मा मेची पारिको नेपालमा शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो । त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन । कक्षा २ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ विद्यार्थी छन् । साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा नं १ मा रहेको ग्वाल बस्ती, शिशौ डाँगी र झाडु बस्ती भौगोलिक हिसाबले मेची नदीपारि रह्यो । अहिले ती तीनवटै गाउँ मेचीनगरको वडा नं १५ मा पर्दछन् । गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरु राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिस नहुनु र अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकताबारेमा गाउँलेमा चेतनाको कमी छ । “त्यो गाउँमा कक्षा २ सम्म पढ्ने उमेरका बालवालिका यति नै हुन्”, प्रअ थपलिया भन्छन्, “त्योभन्दा माथिको कक्षा पढ्न स्थानीय बालवालिका भारततिरै जान बाध्य छन्, केही मात्र मेची नदी तरेर वारिका विद्यालयमा पढ्न आउँछन् ।” पाँच कट्टा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित छ । विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ । विद्यार्थीका लागि पिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्युबेल गाडिएको छ । विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन् । विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन् । मुलुकमा राजनीतिक व्यवस्था फेरियो, तर मेची पारिको नेपाललाई सिङ्गो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन् । पछिल्लो दुई दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुङ्गे पुल बनाउने आश्वासन सरकारले दिइरहेको छ । बल्ल आव २०८२-८३ को बजेटमा झोलुङ्गे पुलका लागि रु. पाँच लाख बजेट विनियोजन भएको छ । मेचीनगर–१५ का वडासदस्य वृक्षलाल राजवंशीले रु. पाँच लाख बजेटबाट झोलुङ्गे पुलका लागि डिपीआर तयार पार्ने कुरा सुनेको बताए । 

पर्यटनकाे सम्भावना बाेकेकाे बागलुङकाे सुन्दर दिज गाउँ ओझेलमा

बागलुङ । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ती मुनीको अँध्यारो बनेको छ । गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् । गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ । दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे) का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भने, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।” दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताए । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ । यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आएका कुशलराज बेलवासेले बताए ।   “हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उनले भने, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महसुस भयो ।”

३७ वर्षपछि गुल्मीकाे भाडगाउँमा शिवालय मन्दिरकाे पुनर्निर्माण

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुनर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँभन्दा बढी लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।  मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरी अखण्ड दीप प्रज्वलन भइरहेको छ । यो मन्दिर २०४४ सालमा शिलान्यास गरी २०४५ सालमा स्थापना गरिएको थियो । करिब चार दशकदेखि मन्दिरमा निरन्तर पूजा–आजा हुँदै आएको छ । पुनर्निर्माणका लागि २०७९ सालमा रेसुङ्गा नगरपालिकाबाट ५० लाख र पर्यटन कार्यालयबाट ५ लाख रुपियाँ विनियोजन भएको मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाश पाण्डेले बताए । मन्दिरको डिजाइन र निगरानी रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले गरेका कारण मन्दिर निकै आकर्षक बनेको उनले उल्लेख गरे । पछिल्लो दुई वर्षमा लुम्बिनी प्रदेश सरकारबाट ४५ लाख र रेसुङ्गा नगरपालिकाबाट ५ लाख रुपियाँ थप विनियोजन भएको समितिले जनाएको छ । हालसम्म मन्दिर निर्माणमा एक करोड पाँच लाख रुपियाँ खर्च भएको छ । विभिन्न संस्था र स्थानीयको सहयोगमा भारतबाट नर्मदेश्वर शिवलिङ्ग ल्याई गत साउन १५ गते स्थापना गरिएको छ । प्रत्येक सोमबार रुद्री र चण्डी पाठ हुने गरेको छ । रेसुङ्गा हुँदै साउनेको शक्ति मन्दिरसम्मको बाटोमा रहेको यो मन्दिरमा भाकल गरेका सबै कुरा पूरा हुने विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम मरासिनीले बताए । उनले सदरमुकाम तम्घासबाट तीन किलोमिटरको पैदल यात्रापछि मन्दिर पुग्न सकिने र तम्घास, भाडगाउँ, साउने हुँदै रेसुङ्गासम्मको धार्मिक मार्गको रूपमा विकास गरिने बताए । गाउँका २७० घरधुरीबाट भेटी संकलन गरी भारतबाट शिवलिङ्ग ल्याइएको र दैनिक बिहान–साँझ अखण्ड दीपसहित नित्यकर्म हुने गरेको मरासिनीले बताए । मन्दिरको प्रवेशद्वार र भजन–कीर्तनका लागि शीतलपाटी व्यवस्थापन गर्न बाँकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव यमलाल पाण्डेले बताए । यातायातको असुविधा र प्रचार–प्रसारको कमीले ओझेलमा परेको यो शक्तिशाली मन्दिरलाई रेसुङ्गासँग जोडेर प्रवर्द्धन गरिने रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए ।

चौथो पटक म्याद थपियाे मुग्लिन-पोखरा सडककाे पूर्वी खण्ड निर्माणमा

तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच  किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो । उनले भने, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको छ । अब थोरैमात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौँ ।” सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।  उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

गोरखामा धानबालीमा मरुवा रोगको समस्या, किसान चिन्तित

गोरखा । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिए ।   पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिए । “किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धानबाली सुकिसकेको अवस्था छ”, उनले भने । मरुवा रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।   त्यस क्षेत्रमा विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातको धानबालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताए । पालुङटार नगरपालिका वडा नं ४ र ६ मा पनि धानबालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धानखेतमा मरुवा रोग देखिएको उनले जानकारी दिए ।   रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धानबाली जोगाउन सकिने विश्वास गरिएको अधिकृत विष्टको भनाइ छ । “किसानले धानको बीउ खरिद गर्दादेखि नै विशेष ख्याल नपुर्याउँदा समस्या हुन्छ”, उनले भने, “धानको जातले पनि मरुवा रोग लाग्ने वा नलाग्ने हुनसक्छ ।”

स्याङजामा कुटपिटबाट एक युवकको मृत्यु, दुई जना पक्राउ

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको छ । शनिबार राति बाहुनडाँडामा नै भएको सामान्य विवादले उग्र रूप लिँदा थापाको ज्यान गएको हो । कुटपिटबाट गम्भीर घाइते भएका थापाको गह्रौ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरा लगिएको थियो । अस्पताल पुर्‍याउना साथ थापालाई रातिनै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।  कुटपिटमा संलग्न भएका स्याङ्जाको हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५, कान्ती का २४ वर्षीय अनिल शाहीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । कुटपिट गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा घटनामा संलग्न भएका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

मधेस प्रदेशमा पनि माओवादीले नेतृत्वको गरेको सबैला नगरपालिका पहिलो नम्बरमा

काठमाडौं । मधेस प्रदेशका पालिकाहरुमध्ये नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको धनुषाको सबैला नगरपालिका प्रदेशभर सर्वोत्कृष्ट भएको छ ।  स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेस प्रदेशका पालिका मध्ये सबैला नगरपालिका सबैभन्दा उत्कृष्ट बनेको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार मधेस प्रदेशका सबै पालिकामध्ये माओवादी केन्द्रले नेतृत्व गरेको धनुषाको सबैला ८५  अंकका साथ सर्वोत्कृष्ट भएको मन्त्रालयले जनाएको छ ।  सबैलाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कारीराम यादव छन् भने उपप्रमुख पनि माओवादी केन्द्रकै रहिमा खातुन छन् । यो नगरपालिका माओवादी नेता मातृका यादवको गृह गाउँ हो । नगरपालिका प्रमुख कारीराम मातृकाका भाइ हुन् ।  देशैभर माओवादी नेतृत्वका पालिकाहरु सर्वोत्कृष्ट भएका छन् । गाउँपालिकाको पहिलो र दोस्रो स्थानमा माओवादी नै नेतृत्व गरेका धादिङको बेघिाट रोराङ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका छन् । अन्य प्रदेशमा पनि माओवादीले नेतृत्व गरेका पालिकाहरु राम्रो नतिजाका साथ उत्कृष्ट भएका छन् । 

कैलालीमा ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झन्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा रु २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिका कार्यालयले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । आव २०७९/८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले रु छ करोड विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज गएको थियो । आव २०८०/८१ मा रु १२ करोड विनियोजन गरेको प्रदेश सरकारले २०८१/८२ मा रु पाँच करोड रकम विनियोजन गरिए पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ । आयोजना अघि बढाउन हरेक वर्ष बजेट विनियोजन गरिँदै आए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडीले बताए । उनले आव २०८१/८२ मा कार्यालयले आयोजनालाई ठेक्का प्रक्रियामा लैजान रु ४४ करोड लागत अनुमानको प्रतिवेदन तयार गरी आर्थिक मामिला मन्त्रालयमा पेस गरेको भए पनि मन्त्रालयले रु ३० करोड लागत अनुमानको प्रतिवेदन स्वीकृत गर्दा ठेक्का सम्झौता कार्य अघि बढ्न नसकेको बताए । उनले सो आयोजनाको डिपिआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डिपिआरको काम अघि बढ्ने जानकारी दिए ।  झन्डै दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट वञ्चित हुँदै आएको स्थानीय दयाराम चौधरीले बताए । वर्षौँ पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ । आव २०६२र६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना निर्माणको काम अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ । आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभावमा सो क्षेत्रका किसानले अकासे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ । जिल्लाकै नमुना रहेको सो योजनाबाट झन्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएका थिए । बाढीले योजनाको बाँध भत्काएपछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ ।  सिँचाइ विकास डिभिजन कार्यालयको सर्भेअनुसार योजनाको लागत रु ४४ करोड अनुमान गरिएको छ भने एक हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । योजनाबाट कैलारी–१ का बिसनपुर, लवलपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नं ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नं ७ का रतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुँइयाफाटा, रामपुर गाउँका किसान लाभान्वित हुने जनाइएको छ ।  यसैगरी सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको संसदीय उपसमिति अर्थ, विकास तथा प्राकृतिक समितिले एक हप्ताअघि सो बाँधको स्थलगत अनुगमनपश्चात् सार्वजनिक सुनुवाइ गरेको थियो । आयोजना ढिलाइ सम्बन्धमा समितिले सो क्षेत्रका किसानसँग सुनुवाइ कार्यक्रम सुरु भए लगत्तै स्थानीय किसानले कार्यक्रम नै बहिष्कार गरेको प्रदेशसभा सदस्य शिवसिं वलीले जानकारी दिए । 

आज थारु समुदायले अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारु अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ। हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उनले भने, “थारु समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।” व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का  सुरज चौधरीले बताए । “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारु समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थार राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थार राजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थार राजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारु समुदायका पुरुषले व्रत बस्ने गरेका छन् । यसैबिच, लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारु समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र  पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो । 

राष्ट्रिय सहमतिका आधारमा भारत र चीनसँग तत्काल कूटनीतिक वार्ता गरौँ : माओवादी केन्द्र सुदूरपश्चिम

काठमाडौं। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले लिपुलेक विवादलाई प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा प्राथमिकताका साथ उठाउन माग गरेको छ। प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भारत र चीनले दार्चुलाका भूभागलाई व्यापार मार्गका लागि प्रयोग गर्ने सहमति गरेकोप्रति आपत्ति जनाएका छन्। उनले कूटनीतिक पहलसहित वार्ता आवश्यक रहेको बताएका छन्। भदौ ३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक र नाथुला पास प्रयोग गरी सीमापार व्यापार गर्ने दोस्रो सहमति भएकोमा माओवादी सुदूरपश्चिमले विरोध जनाएको छ। विज्ञप्तिमा नेपाललाई वेवास्ता गरी लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको उल्लेख छ।विज्ञप्तिमा कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरिएको छ । 

शीर्ष चारमा सबै माओवादी नेतृत्वका पालिका लुम्बिनीमा उत्कृष्ट

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेका स्थानीय तहहरू स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बनेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीका ७४ गाउँपालिकामध्ये माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरू शीर्ष स्थानमा परेका छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंकसहित लुम्बिनी प्रदेशमा पहिलो (देशैभर दोस्रो), पाल्पाको रिब्दिकोट र गुल्मीको धुर्कोट गाउँपालिका समान ८७.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो, तथा दाङको राप्ती र रुकुमको भूमे गाउँपालिका ८७.२५ अंकसहित चौथो स्थानमा परेका छन्। यी पालिकाहरूको नेतृत्व रुरुक्षेत्रमा यदु ज्ञवाली, रिब्दिकोटमा नारायणबहादुर कार्की, धुर्कोटमा भूपाल पोखरेल, राप्तीमा प्रकाश विष्ट र भूमेमा होमप्रकाश श्रेष्ठले गरेका छन्। प्रदेशमा प्रथम भएका रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यो सफलता पालिकावासी, कर्मचारी र जनप्रतिनिधिको सहयोगले सम्भव भएको बताए। उनले यो नतिजाले आगामी दिनमा थप उत्कृष्ट काम गर्न प्रेरणा मिलेको उल्लेख गरे। देशभरमा धादिङको बेनिघाट गाउँपालिका ९१.७५ अंकसहित पहिलो भएको छ, जसको नेतृत्व पनि माओवादी केन्द्रले गरेको छ। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी नेतृत्वले अवसर पाएमा आफूलाई प्रमाणित गर्ने बताए। उनले जनमैत्री शासन, पारदर्शिता र सुशासन माओवादीको मूल लक्ष्य रहेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।