पहिरोले रुकुमपश्चिममा ८ घरटहरा भत्किए, ४३ घर उच्च जोखिममा

रुकुमपश्चिम । लगातारको वर्षाका कारण आएको पहिरोले रुकुमपश्चिममा ८ घरटहरा भत्किएका छन् भने ४३ घर उच्च जोखिममा रहेका छन् । मुसीकोट नगरपालिका–१० मा ४ घर र आठबिसकोट नगरपालिका–१४ मा ४ टहरा भत्किएका छन् । त्यस्तै, मुसीकोट–१० का ८ घर र आठबिसकोट–१३ का ३५ घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

मुसीकोट–१० का वडाध्यक्ष धनबहादुर खड्काका अनुसार शुक्रबार तल्लो चौर टोलमा गणेश ओली, उमेश ओली, शेरबहादुर ओली र लालबहादुर ओलीका घर भत्किए । माथिल्लो चौरबाट झरेको पहिरोले यी घरमा क्षति पुर्‍याएको हो । गणेश ओलीको घरमा रहेका ३ बाख्रा, १ खसी, खाद्यान्न र लत्ताकपडा पहिरोले पुरिएको छ, तर मानवीय क्षति भएको छैन । माथिल्लो चौरमा भूभाग धाँजा फाटेकाले थप जोखिम रहेको र ८ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए ।

यस्तै, आठबिसकोट–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनका अनुसार पहिरोले अतिराम मल्ल, रत्नाकुमारी मल्ल, अबिर मल्ल र गोर्खे महताराका टहरा भत्काएको छ । भूकम्पपछि बनेका अस्थायी टहरा भत्किएपछि पीडित परिवार गोठमा बस्न बाध्य छन् । आठबिसकोट–१३ मा कालोपहिरो झर्दा ३५ घरपरिवार जोखिममा छन् । पानी परिरहेकाले थप क्षति रोक्न स्थानीयलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ ।

यसैबीच, आठबिसकोट–१४ मा चट्याङ लाग्दा ४ जना घाइते भएका छन् । ज्यामिरकोटस्थित गोर्खे महताराको घरमा चट्याङ लाग्दा उनकी २२ वर्षीया छोरी सुनिता महतारासहित जनविकास माविका शिक्षक खिमानन्द चन्द, छात्रा भवानी मल्ल र निरुता मल्ल घाइते भए । सुनिताको अवस्था गम्भीर भएकाले आठबिसकोट नगर अस्पतालमा भर्ना गरिएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

चट्याङले स्थानीयका घर र जनविकास माविको शिक्षक आवास भवनमा क्षति पुर्‍याएको छ । चन्द्रे मल्ललगायतका घरमा जडान गरिएका सोलार र बिजुलीका तार जलेका छन् । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए ।

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाएपछि बन्द

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ ७५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला र अचारलगायतका छन् । आर्थिक वर्ष २०७९/८० मा यहाँ ४२७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताए । तथ्याङ्क अनुसार आव २०८०/८१ मा घटेर १९१ उद्योगमात्र दर्ता भएको देखिएको छ । त्यसैगरी, आव २०८१ र ८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ ३९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा १६३, २०८०/८१ मा १७३ र गत २०८१/८२ मा ६३ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताए । आव २०७९/८० मा २५१, आव २०८०/८१ मा २०४ र गत आव २०८१/८२ मा ३९३ उद्योग नवीकरण भएका उनले बताए । तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए । सरकारी सेवा सुविधा र  अनुदानका  लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए ।  त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट ७७ लाख ६ हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

बर्खाले ग्रामिण सडक बिग्रियो, खाद्यान्न ढुवानीमा समस्या

बागलुङ । जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट बस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ । अहिले बर्खामा ३०० र हिउँदमा झण्डै १५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन् । आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्र पुग्ने गरेका छन् । बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने अवस्था रहेको स्थानीय सम्झना विकले बताइन् । ढोरपाटन नगरपालिका- ९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने उनको भनाइ छ । सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नुपरेको विकले गुनासो पोखिन् । गाडी नचल्दा बजारबाट सामान मान्छेले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘बर्खा किन लाग्दो हो भन्ने हुन्छ, न गाडी चल्छन्, न घोडा खच्चड नै हिँड्न पाउँछन्, बजारबाट सामान ल्याएर उपभोग गर्न साह्रै समस्या छ, हाम्रो समस्या सरकारले सुन्दै सुनेन’, विकले भनिन्, ‘यस्तो विकट ठाउँमा छौँ, एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही सिकिस्त बिरामी भए डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ, यति सडक बने त सजिलो हुने थियो ।’ निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय कुले विकले बताइन् । गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नुपर्ने बाध्यता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्ने उनी बताउँछिन् । असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तु कुहिने जोखिम रहेको विकको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यस वर्ष मसखोलाबाट निसेलढोरसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि सर्भे गरिसकेको बताए । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखले सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन हुने उनको भनाइ छ । सडकले निसेलढोरवासीको दैनिकीमा परिवर्तन ल्याएको भन्दै अब बर्खामा पनि समस्या नहुने अध्यक्ष घर्तीमगर बताउँछन् ।

दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तीन दशकदेखि बन्द

दार्चुला । तीन दशकदेखि बन्द गोकुलेश्वर विमानस्थलको पुनर्निर्माण कार्य अलपत्र परेको छ । शैल्यशिखर नगरपालिका–९ मा रहेको यो विमानस्थल सञ्चालनमा आए दार्चुलासहित बैतडी र बझाङका बासिन्दाले सुविधा पाउने छन् । तर, बजेट अभावका कारण निर्माण कार्य रोकिएको छ । स्थानीयले तत्काल बजेट विनियोजन गरी काम अघि बढाउन माग गरेका छन् । २०४६ मा सञ्चालन शुरू भएको विमानस्थल २०५० देखि बन्द छ । २०६० पछि कार्यालय सहयोगीको भरमा छाडिएको यो विमानस्थल अहिले जीर्ण छ । भवन भग्नावशेषमा परिणत भएको छ भने विमानस्थल क्षेत्र खेलमैदान र गौचरन बनेको छ । आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित भएको थियो । २०७८ मा केएस कन्स्ट्रक्सन प्रालि, धनगढीसँग ३ करोड ५८ लाखमा माटो भर्ने र ग्याबिन निर्माणको ठेक्का सम्झौता भएको थियो । तर, पछिल्ला वर्षहरूमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए । विमानस्थल सञ्चालनमा पहल नभएको भन्दै स्थानीयले प्रदेश र सङ्घीय सांसदप्रति आक्रोश व्यक्त गरेका छन् । हाल हवाई सुविधा नहुँदा दार्चुला सदरमुकाम पुग्न ३५० किलोमिटर सडकमार्गको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीयले गोकुलेश्वर विमानस्थल छिटो सञ्चालनमा ल्याउन जोडदार माग गरेका छन् ।

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भाेजपुर । भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ ।  यो स्थानमा पर्यटक आकर्षित गर्न  पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए । पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।  पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ । पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ । 

पहाडमा पनि डेंगु संक्रमणा बढ्दै, बैतडीमा सात जनामा पुष्टि

बैतडी । जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले   जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो । यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् ।  दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई  अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

बागलुङकाे ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ । यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् ।  निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखे लगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताए ।  झन्डै एक दशकदेखि  स्याउ खेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उनले गुनासो गरे । “अघिल्लो वर्ष कम उत्पादन भए पनि यस वर्ष अधिकांश स्याउका बोट रित्तो छन् । जलवायु परिवर्तनका कारण समस्या भएको छ । पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो ।  पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन । लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठुलो नोक्सानी भएको छ”, सापकोटाले भने, “यस वर्ष त अचम्मै भयो, रूखमा एउटा/दुई वटा दानाबाहेक देखिँदैनन् । स्याउका बोट सबै खाली छन् । यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ ।” किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताए । स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ । इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ नफलेको घर्तीले सुनाए । “पोहोर परार सालमा एक/डेढ लाखको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन”, उनले भने, “हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन । हिउँ परे त स्याउ राम्रो उत्पादन हुन्थ्यो, वर्षा नै नहुँदा यो समस्या आयो ।” जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउ खेती हुने गरेको छ भने बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले यस वर्ष उत्पादनमा ठुलो मात्रामा गिरावट आएको बताए ।

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–३, फुट्सल चोकस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मक्राञ्चुलीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ९२ वर्षीया नन्दकुमारी न्यौपाने गम्भीर घाइते भएकी थिइन् ।  बुधबार बिहान भएको दुर्घटनापछि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिए पनि अवस्था गम्भीर भएकाले शल्यक्रिया सम्भव नभएको चिकित्सकले बताए । न्यौपानेलाई पुनः हेटौँडा फिर्ता ल्याई मकवानपुर सहकारी अस्पतालमा भर्ना गरिएकोमा बुधबार साँझ ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी–३, मक्राञ्चुलीका २४ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

भैरहवाबाट भारत भ्रमण गर्न प्रधानमन्त्रीलाई आग्रह

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्तावित भारत भ्रमण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरिएको छ ।  सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको संयोजकत्वमा गठित सङ्घर्ष समितिले विमानस्थलको दिगो सञ्चालनका लागि दबाब दिन बुधबार पत्र पठाउने निर्णय गरेको हो । समितिको बैठकले अर्बौं लगानीमा निर्मित यो विमानस्थलको उपयोगिता बढाउन प्रधानमन्त्रीले यहाँबाट उडान गर्दा सकारात्मक सन्देश प्रवाह हुने निष्कर्ष निकालेको छ । बैठकले रुपन्देहीका स्थानीय तहका प्रमुखहरूलाई समितिमा समावेश गर्ने, प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन काठमाडौं जाने, लुम्बिनीका गुम्बासँग सम्बन्धित राष्ट्रका राजदूतहरूसँग छलफल गरी सहकार्य गर्ने र कार्गो सेवा सञ्चालनलाई प्राथमिकता दिने निर्णय गरेको नगरप्रमुख खाँले बताए । यसअघि, नागरिक सरोकार मञ्च नेपाल, रुपन्देही र सिद्धार्थनगरले किसानका लागि मलखाद, बिउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउन तथा विमानस्थल नियमित सञ्चालन गर्न माग राख्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा धर्ना दिएको थियो ।

बागलुङकाे ताराखोला जलविद्युत् उत्पादनको हब बन्दै

बागलुङ । बागलुङकाे ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको हबका रूपमा विकसित हुँदैछ । यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने दुई निर्माणाधीन र दुई प्रक्रियामा छन् । दरम खोला ‘ए’ जलविद्युत् आयोजनामा सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा २.५ मेगावाट क्षमताको यो आयोजना निर्माण गरी विद्युत् उत्पादन सुरु गरेको छ । यो निजी क्षेत्रको पहिलो आयोजना हो । यसैगरी तारखोला जलविद्युत् आयोजनाकाे ३८० किलोवाट क्षमताको यो आयोजना पाँच वर्षअघि सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यता निर्माणाधीन आयोजनाहरूमा मध्य ताराखोला मध्य दरम ‘ए’ हाे । यो आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ । अर्काे   दरम ‘बि’ जलविद्युत् आयोजना ४ मेगावाट क्षमताको छ ।  यो आयोजनाको ४० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न भएको सञ्चालक मिलन खतिवडाले बताए । यसैगरी तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाटकाे छ । मध्य दरम ‘बी’ जलविद्युत् आयोजनामा ४.५ मेगावाट छ । गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीय लगानीसहितका यी आयोजनाले ताराखोलाको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताए । उनका अनुसार, यी आयोजनाहरू सम्पन्न भएपछि गलकोटसम्म जोडिने अन्य आयोजनाले समेत गति लिइरहेका छन् ।   अध्यक्ष प्रकाश घर्तीले जलविद्युत् आयोजनाहरूको निर्माणले स्थानीयमा उत्साह बढेको र गाउँपालिकाको आर्थिक उन्नति तथा नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

कोशी प्रदेशमा पत्रकारलाई डेढ लाख जरिवाना गर्ने प्रावधानसहित आमसञ्चार विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले पत्रकारलाई डेढ लाख रुपैयाँसम्म जरिवाना र प्रसारण बन्द गर्नेसम्मका प्रावधानसहितको ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । यो विधेयक भदौ ६ गतेको प्रदेशसभा बैठकमा पेश गर्ने तयारी छ । प्रदेशसभाले स्वीकार गरेपछि यो प्रमाणीकरण भई ऐन बन्नेछ । समितिको बुधबारको बैठकले नेपाल पत्रकार महासंघलगायत सरोकारवालाको असहमति र सुझावलाई बेवास्ता गर्दै विधेयक पारित गरेको हो । विधेयकमा जोसुकैले समाचारविरुद्ध कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा उजुरी दिन सक्ने र सरकारद्वारा नियुक्त रजिष्ट्रारले डेढ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । रजिष्ट्रारलाई न्यायाधीशसरहको अधिकार दिइएको छ, जसले पत्रकारबाट क्षतिपूर्ति भराउन र मिडियाको सामग्री अनुगमन गर्न सक्नेछ । साथै, सरकारको निर्देशन नमान्ने प्रसारण संस्थाको इजाजत खारेज गर्नेसम्मको अधिकार रजिष्ट्रारलाई दिइएको छ । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरूले सरकारको प्रस्ताव जस्ताको तस्तै पारित गर्न समर्थन गरेका छन् । तर, माओवादी केन्द्रका सांसदहरू गीता तिम्सिना र गोम्बु शेर्पाले असहमति जनाएका छन् । विधेयकले कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरेको छ, जसमा अध्यक्षलाई सेरेमोनियल र रजिष्ट्रारलाई कार्यकारी भूमिका दिइएको छ । दुवै पदमा सरकारले राजनीतिक नियुक्ति गर्नेछ ।  नेपाल पत्रकार महासंघले प्रेसलाई संकुचन गर्ने प्रावधान हटाएर प्रबद्र्धनात्मक ऐन बनाउन र अध्यक्षलाई कार्यकारी बनाउन सुझाव दिएको थियो । तर, यी सुझावलाई बेवास्ता गरिएको छ । प्रतिष्ठानमा महिलाको प्रतिनिधित्व २ बाट ३ बनाउने सहमति भएको छ । रजिष्ट्रारको योग्यता स्नातक राखिएको छ, जसलाई स्नातकोत्तर बनाउनुपर्ने सुझाव अस्वीकार गरिएको छ । यो प्रावधान खास व्यक्तिलाई नियुक्त गर्न अनुकूल बनाइएको आरोप छ । स्रोतका अनुसार, एमाले र कांग्रेसबीच प्रतिष्ठानको अध्यक्ष र रजिष्ट्रार पदमा भागबण्डा भएको छ । एमालेले कार्यकारी रजिष्ट्रार र कांग्रेसले सेरेमोनियल अध्यक्ष लिने सहमति भएको बताइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले सुनसरीका एक एमालेनिकट पत्रकारलाई रजिष्ट्रार बनाउन चाहेको स्रोतको दाबी छ ।   माओवादी सांसदहरूले रजिष्ट्रार सरकारको कर्मचारी राख्न र प्रतिष्ठानको नाम ‘आमसञ्चार परिषद्’ बनाउन प्रस्ताव गरेका थिए, तर बहुमतले अस्वीकार गरेको छ । समितिमा एमालेको ६ र अन्य दलका सांसदहरू रहे पनि एमाले र कांग्रेसको समर्थनमा विधेयक पारित भएको हो । यो विधेयकले पत्रकारिता क्षेत्रमा कडा नियमन ल्याउने र स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रान्तिकारीलाई पराजित गर्न कुनै कसर बाँकी नराख्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्तिकारीहरुलाई पराजित गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । पार्टीको कर्णाली प्रदेश बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारीलाई पराजित गर्न कुनै कसर बाँकी नराखेर काम गर्न निर्देशन दिनु भएको हो ।  बैठकलाई भर्चुअल सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न निर्देशन दिनुभयो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'नेता कार्यकर्ताहरु सबैजना जनतासँग जोडिएर काममा लाग्नुपर्छ । प्रतिक्रान्तिकारीलाई पराजित गर्न कुनै कसर बाँकी नराखेर काम गर्नुस् ।'  जनतासँग माओवादी अभियानलाई पार्टीका सबै तहबाट सफल पार्नका लागि अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।  

बागलुङमा अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

बागलुङ ।  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाती, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।  यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रूपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धूमधामका साथ मनाउने गर्छन् ।  स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझ गाउँभरिका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरूले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरूप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरूप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् । सुरुवाती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ । एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरूको मृत्यु भइसकेको हुँदा उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउँछन् । ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रूपमा गाउँ पसेर पछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशु चौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उनको भनाइ छ । पहिले निसेलढोर आसपासमा ठुलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरु अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन् । “बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठुलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यस बेला मानिसहरू बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरूको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्ती मगरले भने, “उनीहरूको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिङ्गो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा गर्‍यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।” भूत धपाउन खोलामा हाम फाल्छन् युवा बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए ।  यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधि नलाग्ने, बस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ । उनले भने, “झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरूले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ ।” संरक्षणमा युवा र पालिकाको चासो  गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरूले चासो दिएका छन् । यस वर्ष गाउँ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो । युवाहरूले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरू लागेको गाउँ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए । युवाहरूलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताए । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ । गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउँछन् । 

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए । उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो । साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ ।  “गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको छ”, प्रमुख विष्टले भने । उनले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे । उनले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए । “यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण  गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ”, उनले भने।  उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा रु १२ करोड १४ लाख ८२ हजार खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा रु दुई करोड ६३ लाख २० हजार खर्च भएको छ । 

ताप्लेजुङको आगलागी हुँदा २४ लाखको क्षति

ताप्लेजुङ । फुङलिङ नगरपालिका-२ मा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी हुँहदा २४ लाख रुपियाँको क्षति भएको छ ।  पुरानो जिल्ला प्रशासन कार्यालय नजिकै गोमादेवी गुरुङको घरमा आशिषहाङ पालुङ्वाले सञ्चालन गरेको वर्कसपमा भएको आगलागीले मोटरसाइकल मर्मतका उपकरण, पुराना बाइक, पार्ट्स, ढोका, झ्याल, सटर र भित्तामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी वेदप्रसाद गौतमका अनुसार मोटरसाइकल मर्मतका क्रममा पेट्रोलजस्ता प्रज्वलनशील पदार्थबाट आगलागी सुरु भएको हो । फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरीले नियन्त्रणमा लिएका थिए । 

चितवनमा कुखुरामा ‘चिकेन एनेमिया’ भाइरस, मृत्युदरमा वृद्धि

चितवन । चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको नमुना परीक्षणमा यो रोग पुष्टि भएपछि सबै कुखुराको नमुनामा यसको परीक्षण सुरु गरिएको छ ।   प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पछिल्लो तीन महिनामा ९२ नमुनामध्ये ३१ वटामा यो भाइरस भेटिएको छ । नेपालमा यसअघि यो रोगको नियमित परीक्षण गरिएको थिएन । यो भाइरसले कुखुराको प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसले गर्दा अन्य रोगसँग लड्न नसकेर कुखुरा मर्छन् । यसले रक्तअल्पता, तौल नबढ्ने र उत्पादनमा कमी हुने समस्या पनि निम्त्याउँछ । चितवनमा हाल ब्रोइलर कुखुराको मृत्युदर १० देखि १६ प्रतिशत पुगेको छ, जुन सामान्य (४–६ प्रतिशत) भन्दा धेरै हो । कुखुराविज्ञ डा. सुविर सिंहका अनुसार मृत्युदर बढ्नुको यकिन कारण पत्ता लाग्न बाँकी छ, तर ‘चिकेन एनेमिया’ले पनि प्रभाव पारेको हुन सक्छ । प्रयोगशालाको तथ्याङ्कअनुसार गत वर्ष २ हजार पाँचसय  किसानका सात हजार कुखुराको पोस्टमार्टममा एच नाइन (४८), रानीखेत (१३) र गम्बारो (१२२) रोग देखिएको थियो । साथै, एक हजार १२० कुखुराको कलेजो परीक्षणमा इकोलाई (७८५) र साल्मोनेला (११२) भेटिएको थियो । यो रोगबाट बचाउन कुखुरालाई ‘चिकेन एनेमिया’विरुद्धको भ्याक्सिन दिनुपर्ने विज्ञहरू बताउँछन् । जैविक सुरक्षाको अभावमा चितवनमा नयाँ रोगहरू देखिन थालेका छन् ।  नेपालमा व्यावसायिक कुखुरापालन २०१७ मा बाराको परवानीपुरबाट सुरु भएको थियो । हाल यो क्षेत्रले चार लाख ५० हजार व्यक्तिलाई रोजगारी दिइरहेको छ र एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ । नेपालमा दैनिक आठ लाख केजी ब्रोइलर मासु र ३२ लाख अन्डा उत्पादन हुन्छ, जसमध्ये चितवनको हिस्सा २० प्रतिशत छ । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार चितवनमा तीन हजार ब्रोइलर फार्ममा १५ लाख र सातसय लेयर्स फार्ममा ६० लाख कुखुरा पालिएका छन् । डा. सुविर सिंह भन्छन्, “चितवनमा कुखुराको उत्पादन घट्दै गएको छ, जसले व्यवसायमा ठूलो असर पारेको छ । ‘चिकेन एनेमिया’ जस्ता रोग नियन्त्रण गर्न दीर्घकालीन योजना आवश्यक छ ।”