विराटनगरको बालसुधार गृहमा झडप
विराटनगर । मोरङको बाल सुधार गृहमा आज बुधबार (अगस्त १३, २०२५) दिउँसो २:०४ बजेको समयमा झडप भएको छ, जसमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल घाइते भएका छन्। मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार, झडप सुधार गृहबाट बालबालिकाहरू भाग्न खोज्दा रोक्ने क्रममा भएको हो। घटना अहिले नियन्त्रणमा आइसकेको र सुधार गृहमा रहेका बालबालिकाहरूलाई भित्र राख्ने काम भइरहेको उनले बताए।
५० जनाको मात्र क्षमता रहेको उक्त बाल सुधार गृहमा हाल २०० भन्दा बढी बालबालिका राखिएका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ। थप अनुसन्धान जारी रहेको छ
कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो
कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो । उनका अनुसार बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजार क्षेत्रका छाउगोठ स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिमा भत्काइएको हो । गत असारमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा बस्दाबस्दै सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसपछि स्थानीय जनप्रतिनिधि र प्रहरीले पालिकामा रहेको छाउगोठ भत्काउने अभियान सुरु गरेका हुन् । बेदकोट नगरपालिका–१० का वडाध्यक्ष रतनसिंह विष्टले वडा ४ र १० मा २३ वटा छाउगोठ भत्काएको बताए । “हामीले छाउगोठ भत्काएका छौँ तर फेरि निर्माण हुने आशङ्का छ,” उनले भने, “त्यसैले सम्बन्धित परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौँ ।” उनका अनुसार छाउगोठ निर्माण गर्ने समुदायलाई कुरीतिबारे सचेत गराउन आवश्यक छ । कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले मंगलबार मात्रै १६ वटा छाउगोठ भत्काएको जानकारी दिए । “अहिले नागरिक सचेत भएका छन्, पहिला जस्तो अवरोध छैन,” उनले भने । गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान सुरु गरे पनि स्थानीयको अवरोधका कारण केही समय रोकिएको थियो । तर, असार अन्तिम साता निगालीमा कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र १० हजार रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो ।
ओझेलमा बुद्धको मावली, ऐतिहासिक ‘देवदह’ मर्चवार
रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । तर बौद्ध विद्वानले व्याख्या गरेको बुद्धको मावली ‘अमकोहिल नगर’ (देवदह) अझै पनि ओझेलमा परेको छ । रुपन्देहीको मर्चवारी–२, अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुका अनुसार बुद्ध मावलीको खोज तीव्र भए पनि सम्बन्धित निकायले यस क्षेत्रको भूगोल र इतिहासप्रति चासो नदेखाएको आरोप छ । “नाम मात्रका आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य ओझेलमा पार्ने प्रयास भइरहेको छ,” उनले भनिन् । उनका अनुसार कोलियका पुरातात्विक संरचना र ऐतिहासिक स्थल संरक्षणको अभावमा हराउने जोखिममा छन् । इतिहासका अनुसार रोहिणी (कोहान) नदी कपिला र कोलीय दुवै नगरको बीचबाट बग्दथ्यो । कोलीय सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो, जसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो । ऐतिहासिक सन्दर्भ र प्रमाण ब्रिटिश इतिहासकार एलेक्जेन्डर कनिङ्घमले ‘प्राचीन भारतको भूगोल’ (१८७१) मा कोलीयको स्थान सम्भवतः अमकोहिलसँग जोड्न सकिने उल्लेख गरेका छन् । उनले लुम्बिनीको वास्तविक पहिचान बुकानन–ह्यामिल्टनले दिएको विवरण र स्थानीय संरचना अध्ययनबाट सम्भव भएको बताएका छन् । सन् १८१९ मा फ्रान्सिस बुकानन–ह्यामिल्टनले प्रकाशित ‘एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लुम्बिनी आसपासका पुरातात्विक महत्वका स्थलहरूको विस्तृत चर्चा गरिएको छ । पुस्तकमा प्रकाशित नेपालको नक्सा मेजर चाल्र्स क्रफोर्डद्वारा तयार पारिएको र बुकाननले थप जानकारी समावेश गरेको मानिन्छ । भारतीय लेखक डा. विजय श्रीवास्तवले ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ (१९५४) मा लुम्बिनीबाट ११ माइल पूर्वको अमकोहिल नै प्राचीन देवदह (कोलियग्राम) हुनसक्ने उल्लेख गरेका छन् । उनका अनुसार बुद्धकालीन संरचना र सभ्यताका अवशेष अझै माटोमुनि लुकेका छन् । चिनियाँ बौद्ध तीर्थयात्री फाहियानले करिब १६ सय वर्षअघि नेपाल भ्रमण गरी आफ्नो यात्रा विवरण ‘फो क्वो कि’ मा यस क्षेत्रका धार्मिक स्थलहरूको उल्लेख गरेका छन् । स्थानीय विश्वास र इतिहास स्थानीय बौद्ध भिक्षु धम्म शिद्धीका अनुसार, ऐतिहासिक दस्तावेज, किंवदन्ती र पुरातात्विक प्रमाणहरूले मर्चवार क्षेत्रलाई बुद्ध मावलीका रूपमा पुष्टि गर्छन् । यहाँका भग्नावशेष, स्तुप र सगरा पोखरी महत्वपूर्ण प्रमाण हुन् । गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइका अनुसार, अमवा गाउँमा सगरा पोखरी, महिषासुर मर्दनी स्तुपा, समयमाई, देउरवा स्तुपालगायत बुद्धकालीन सांस्कृतिक धरोहर रहेका छन् । पुराना मान्यताअनुसार, यहाँ मध्यरातमा धातुको घैँटामा सिक्का ठोक्किएको आवाज सुनिन्थ्यो र देवी–देवताले नृत्य गर्थे भन्ने विश्वास रहिआएको छ । ऐतिहासिक र धार्मिक महत्व शाक्य वंशका सिद्धार्थ गौतमकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म यही अमकोहिलमा भएको विश्वास छ । बौद्ध ग्रन्थअनुसार शाक्य राजा शुद्धोधनले कोलीय राजा सुपबुद्धकी छोरी मायादेवीसँग विवाह गरेका थिए । अनुसन्धान र संरक्षणको आवश्यकता लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीका अनुसार, इतिहासकार, बौद्धविद् र अनुसन्धानकर्ताद्वारा प्रस्तुत प्रमाण, किंवदन्ती, भूगोल र साहित्यिक सन्दर्भहरूले यस क्षेत्रलाई प्राचीन देवदहको सम्भावित अवशेष क्षेत्रको सङ्केत गरेका छन् । उनका अनुसार व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण खुदाइ (ट्रायल एक्स्काभेसन) आवश्यक छ । “नेपाल सरकार, स्थानीय तह, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र विज्ञको सहकार्यमा प्रमाणिकता पुष्टि र संरक्षणका कार्य थाल्न गम्भीर छौँ,” उनले भने । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले पनि देवदहको सम्भावना बोकेको यो क्षेत्र धार्मिक मात्र नभई राष्ट्रिय गौरवको विषय भएकाले संरक्षण र अनुसन्धान अपरिहार्य भएको बताए ।
बाजुरामा काँचो स्याउ नटिप्न आग्रह
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले किसानहरूलाई काँचो स्याउ नटिप्न आग्रह गरेको छ । सुदूरपश्चिमको यो गाउँपालिका स्याउ उत्पादनका लागि प्रख्यात छ, जहाँ भदौको अन्तिममा स्याउ पाक्ने गर्छ । तर, केही किसानले काँचै स्याउ टिपेर बिक्री गर्ने गरेको पाइएको छ । यसले स्याउको गुणस्तर र टिकाउपनमा असर पर्ने भएकाले स्थानीय तहले यस्तो आग्रह गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले काँचो स्याउ टिप्दा बजारमा यसको माग र गुणस्तर घट्ने बताए । यहाँका बारीमा स्याउ लटरम्म भए पनि अधिकांश अझै पाकेका छैनन् । बाजुराको स्वामीकार्तिक खापर, हिमाली, जगनाथ, बुढीनन्दा, खप्तडछेडेदह र बुढीगङ्गा क्षेत्रका करिब १५० परिवार स्याउ खेतीमा संलग्न छन् । गौमूल गाउँपालिकामा पनि समूहमार्फत स्याउ खेती सुरु भएको छ । आर्थिक वर्ष २०८१/८२ मा यहाँ एक हजार चारसयदेखि एक हजार पाँचसय टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष ५१५ क्विन्टल स्याउ बिक्रीबाट किसानले ७० देखि ८० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुन्छ । हाल ४१० हेक्टरमा स्याउ खेती गरिएको छ, जसमध्ये दुई हेक्टरमा स्याउ फलिरहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी न्यौपानेले बताए ।
बाँदर आतङ्कले बागलुङका बस्ती रित्तिँदै
बागलुङ । काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्कका कारण अन्नबाली र तरकारीखेती छाडेर अदुवा र अलैँची खेती गर्न थालेका छन् । “घरमा बूढाबूढी मात्र छौँ, बाँदरले बारीको बाली सखाप पार्छ,” कँडेलले भने, “बाँदरले नखाने बाली लगाउन बाध्य छौँ ।” अत्यावश्यक तरकारी र फलफूल बजारबाट किन्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । बाँदरले नखाने भएकाले यहाँका किसानले सुन्तला बारीमा अदुवा र अलैँची खेती गरेका छन् । कतिपयले भैँसीपालन रोजेका छन् । तर, भैँसीपालनमा पनि समय र मेहनत बढी लाग्ने र बाँदरले घरभित्रै पसेर खाना खाइदिने समस्याले किसान हैरान छन् । “बाँदर नियन्त्रणको कार्यक्रम जरुरी छ,” स्थानीय टङ्क कँडेलले भने । काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले मकै छाडेर अदुवाखेती थालेका छन् । यद्यपि, अदुवा र अलैँचीको मूल्यमा उतारचढाव र बजारीकरणको समस्याले फाइदा लिन कठिन छ । सुन्तलाखेती भने केही किसानका लागि फलदायी बनेको छ । “सुन्तलाबाट लाखौँ कमाइ हुन्छ, तर बाँदरबाट जोगाउन गाह्रो छ,” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने । उनले बजारीकरणमा सहयोग गर्ने र बाली संरक्षणमा जोड दिने बताए । बाँदर आतङ्ककै कारण काठेखोला–५ को करलिम र जैमिनी नगरपालिका–१ टुनीबोटको राङखानी बस्ती लगभग रित्तिसकेका छन् । बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले सुन्तलासमेत जोगाउन नसकेको गुनासो गरे । “बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल खेती गरेर बाँच्न गाह्रो छ,” उनले भने । पशुपालनमा लागेका किसानलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु. ५ अनुदान दिएको छ । “नश्ल सुधार गरिएका गाईभैँसीको दूधमा अनुदान दिएर किसानलाई प्रोत्साहन गरेका छौँ,” केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने । तर, भैँसीपालनमा लागत र मेहनत बढी हुने र बजार नपाउँदा किसानको गुनासो छ । जैमिनी–८ का रघुनाथ पौडेलले परम्परागत खेती छाडेर मौरी र भैँसीपालन थालेका छन् । तर, बजार टाढा भएकाले दूध बिक्रीमा समस्या छ । बाँदर आतङ्कको स्थायी समाधान नहुँदा किसान वैकल्पिक खेती र पशुपालनमा लागे पनि उचित बजार र संरक्षणको अभावमा समस्यामा छन् ।
बेहोस भएर पर्सामा एक कैदीको मृत्यु
काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् । उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति राहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएको र अस्पतालमा मृत्यु भयो’ एसपी मिश्रले भने । नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ । आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सक्दैनौ : बहादुर सिंह लामा
काठमाण्डौँ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अहिलेकै अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लाई विश्वासको मत प्रदान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आफ्ना मागहरूमा तत्काल सहमति नजुटेको भन्दै विश्वासको मतबारे निर्णयमा पुग्न नसकेको बताएका हुन् । आफ्ना पक्षका १४ जना सांसदसँगको छलफल काठमाडौँमा जारी रहेको र विश्वासको मत प्रदान गर्ने विषयमा निचोडमा पुग्न बाँकी रहेको उनको भनाई छ । छलफल निरन्तर जारी रहेको र अझै केही समय लाग्ने उनले बताए । छलफलको निष्कर्षअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने तथा अन्य कुनै विकल्पमा अघि बढ्ने उनको भनाइ छ । ‘हामी निष्कर्षमा पुगेका छैनौँ। हाम्रो छलफल जारी नै छ। केही माननीय ज्यूहरूले अपमानित भएको महसुस गर्नुभएको छ । तत्काल विश्वासको मत प्रदान गर्ने अवस्था उहाँहरूले देखाउनु भएको छैन यसै भन्ने अवस्था छै,’ उनले भने । सांसद तीर्थ लामाका अनुसार काठमाडौँ रहेर सरकार र पार्टीको निर्देशनका विषयमा छलफल भइरहेको छ । सबै सांसदले आफ्नो धारणा राखिराख्नु भएकाले निष्कर्ष आउन अझै केही समय लाग्ने उनले बताए । निवर्तमान मुख्यमन्त्री लामा पक्षले आफ्ना तीन जना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आएको छ। उक्त विषयमा लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ । देउवा बाट माग सम्बोधन हुने आश्वासन पाए पनि उनीहरू काठमाडौँमा छलफलमा रहेका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। गत साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको आवश्यकता पर्छ। बागमती प्रदेश सभामा ११० सांसदमध्ये प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।
वान्तवा भाषाको पाठ्यक्रम निर्माण गर्दै इलामकाे माङसेबुङ गाउँपालिका
इलाम । माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ । त्यसका लागि माङसेबुङले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्न एक कार्यदल गठन गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । सरोकारवालाहरूसँगको छलफल र परामर्शपछि वान्तवाभाषीहरूको बाहुल्यता रहेको क्षेत्रमा पठनपाठन गर्नेगरी वान्तवा भाषा पाठ्यक्रम निर्माण सुरु गरेका छौँ”, गाउँपालिका अध्यक्ष राईले भने, “पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरेर काम अगाडि बढाइसकिएको छ ।” कार्यदलमा जीवनज्योति माविका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्वशिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत (छैटौँ) युवराज खनाल रहनेका छन् । किरात राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले वान्तवा भाषा पाठ्यक्रम निर्माण हुनु समग्र वान्तवाभाषीका लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए । “संविधानप्रदत्त मातृभाषा शिक्षाको अधिकार उपयोगमा माङसेबुङ गाउँपालिकाले सुरु गरेको कार्यलाई सकरात्मक रूपमा लिएका छौँ”, उनले भने, “यसलाई कार्यान्वयन गर्न हाम्रो संस्थाको तर्फबाट सकरात्मक सहयोग रहनेछ ।” नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षाको हकअन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम माङसेबुङले मातृभाषा शिक्षाका लागि वान्तवा भाषाको पाठ्यक्रम निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रूपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ । त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए । माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीन, माध्यमिक विद्यालय कक्षा (१–१०) सात, आधारभूत विद्यालय (कक्षा १–८) १६ र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा यसअघि लिम्बू भाषा पाठ्यक्रम लागू गरेको माङसेबुङले यसपटक वान्तावा भाषा पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं ५ मा २०७५ देखि नै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा घोषणा गरी कार्यान्वयन गर्दै आएको छ ।
सौर्यबत्तीले उज्यालो कञ्चनपुरकाे भीमदत्तनगर
कञ्चनपुर । भीमदत्त नगरपालिकाले मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि नगर क्षेत्र झिलिमिली बनेको छ । पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको भासीदेखि महेन्द्रनगर बजारसम्म ११५ वटा सडक बत्ती जडान गरिएको नगर प्रवक्ता पदमराज अवस्थीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म सौर्यबत्ती विस्तार हुनेछ । पालिकाले १९ वटै वडामा सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ । पहिलो चरणको लागि ६९ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको र दोस्रो चरणमा २२ लाख ८२ हजार ४२० रुपैयाँमा सम्झौता भई गड्डाचौकीदेखि भुजेलासम्म ३० वटा बत्ती जडान भइसकेको नगरपालिकाले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजार आधुनिकीकरण गरिएको हो । एक अर्ब रुपैयाँको लगानीमा आधुनिक सडक निर्माणसँगै नगरका मुख्य सडकमा ७७६ वटा लाइट र बजार क्षेत्रमा आठ वटा ‘हाइमास्टलाइट’ जडान गरिएको सब–इन्जिनियर पवन लेखकले बताए । बजार सौन्दर्यीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तारलाई पछाडि सार्ने काम भइरहेको उनले जानकारी दिए । राजमार्गसहित नगर क्षेत्रमा बत्ती जडान भएपछि विद्यार्थी, यात्री र सवारीसाधनलाई यात्रा गर्न सहज भएको छ । स्थानीय गणेश भट्टका अनुसार अँध्यारो सडकमा आवतजावत कठिन भए पनि अहिले दुर्घटनाको जोखिम समेत कम भएको छ । उनले जडान भएको बत्ती बिग्रिएमा समयमै मर्मत गर्न पालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।
मध्यबर्खामै कालीगण्डकी दोहन, स्थानीय निकाय मौन
बागलुङ । असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन् । स्थानीयका अनुसार दर्जनौँ स्थानमा राति स्काभेटर र टिपर प्रयोग गरी बालुवा निकाल्ने कार्य भइरहेको छ । शनिबार राति मात्र बागलुङ–१० स्थित भाटेखोला बगरमा स्काभेटरले बालुवा निकाल्दा पाँच टिपरले ढुवानी गरिरहेका थिए । कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीका अनुसार दब्ल्याङ, कालाखोला, खनियाघाटलगायत क्षेत्रमा दोहन व्यापक छ । पर्वत खण्डमा अझ बढी दोहन भइरहेको उनले बताए । गिरीले अवैध उत्खननले शालिग्राम शिला समेत सङ्कटमा परेको र कालाखोला बगर कटान भइसकेको उल्लेख गर्दै प्रहरी प्रशासन र स्थानीय तहको मौनताले दोहनलाई प्रश्रय दिएको आरोप लगाए । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार नदी किनारबाट ५०० मिटर टाढा मात्रै उत्खनन गर्न पाइन्छ, तर नदीको बीचभागमै दोहन भइरहेको छ । यसले माझी बस्ती, मालढुङ्गा र कालाखोला बगर क्षेत्रका घरहरू बाढीको उच्च जोखिममा पारेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले दोहन रोक्न नसकेको स्वीकार गर्दै सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना रहेको बताए ।
तनहुँकाे भानु नगरपालिकाद्वारा गुन्द्रुक ब्राण्डिङ गर्ने
तनहुँ । भानु नगरपालिकाले ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना बनाएको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार कृषिमा रूपान्तरण, आर्थिक विकास र सूचना प्रविधिको प्रयोग परियोजनाअन्तर्गत यो योजना अघि बढाइएको हो । इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणबाट प्रेरित भई स्थानीय उत्पादनलाई नवीन ढंगले बजारीकरण गर्ने नीति बनाइएको उनले बताए । गुन्द्रुकको उत्पादन, प्रशोधन र बजारीकरणमा आधुनिक प्रविधि र व्यवस्थापन प्रणाली प्रयोग गरिनेछ । स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तर एकरूपता, आकर्षक प्याकेजिङ र लेबलिङ, ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण, उत्पादन ट्रयाकिङ, अनलाइन बिक्री, डिजिटल मार्केटिङ र क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता कार्य गरिने नगरपालिकाले जनाएको छ । नगर प्रमुख त्रिपाठीले गाउँको जीवनशैली, संस्कृति र आत्मीयता हाटबजारमा झल्कने र यसले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान र उपभोक्ताबीचको सम्बन्ध सुदृढ गर्ने बताए । यो योजनाले भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउँदै किसानको आम्दानी वृद्धि र रैथाने खेतीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुराको भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका भुसालको उपचारका लागि क्रिमसन अस्पताल पुर्याइने बित्तिकै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडक चिप्लो भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
जुम्लामा कृषि उत्पादन घट्दै निर्यात बढ्दै
जुम्ला । जुम्लामा कृषि उत्पादन घट्दो क्रममा रहे पनि कृषि उपजको निर्यातमा सुधार भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड रुपियाँभन्दा बढीको २३ हजार टन कृषि उपज जिल्लाबाहिर निर्यात भएको छ । कृषि ज्ञान केन्द्रकाे कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार निर्यातमा स्याउको हिस्सा सबैभन्दा ठूलो छ । स्याउपछि मार्सी चामल, ओखर, सिमी, कोदोलगायतका रैथाने बाली छन् । यो वृद्धिले किसानलाई उत्पादनमा प्रोत्साहन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । बजार पहुँच, सञ्चार सुविधा र सडक सञ्जालको विस्तारले व्यापार सहज भएको छ, यद्यपि भण्डारण, प्रशोधन केन्द्र र मूल्य स्थिरताको अभाव चुनौतीका रूपमा छन् । कृषि ज्ञान केन्द्रकाे कार्यालय जुम्ला तथ्याङ्कअनुसार गत वर्ष २१ हजार टन स्याउ उत्पादन भएकोमा ९ हजार ३३१ टन निर्यात भयो, जसबाट ६६ करोड ६१ लाख रुपियाँ आम्दानी भएकाे छ । त्यस्तै, २ हजार ५९० किलो ओखर, ५५ हजार ८०९ किलो सिमी, २ हजार ९१३ किलो भटमास, ९० हजार ६६० किलो आलु, ११ हजार ५५५ किलो मार्सी चामल, ९५० किलो चिनो चामल, ७९० किलो कागुनो चामल, ६ हजार १५० किलो फापरको पिठो, १६ हजार ४०० किलो कोदोको पिठो र १० हजार ४५० किलो जौको पिठो निर्यात भएको छ । जुम्लामा २ हजार ७४० हेक्टरमा कोदो खेती हुन्छ । गत वर्ष ३ हजार ८५० टन कोदो उत्पादन भएको थियो । नेपालको औसत कोदो उत्पादकत्व १.३४ प्रतिशत रहँदा जुम्लामा १.४१ प्रतिशत छ । पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । २०७९ को बाढीले १८ हेक्टर मार्सी फाँटमा क्षति पुर्याएपछि धान उत्पादनमा कमी आएको हो। फापर, कोदो, मकै, उवा, चिनो, कागुनोलगायत रैथाने बालीको उत्पादन पनि घटेको छ । कार्यालयको तथ्याङ्कअनुसार २०८१/८२ मा २४ हजार २३१ टन रैथाने बाली उत्पादन भएको छ, जुन अघिल्लो वर्ष (२०८०/८१) को ३२ हजार ८४५ टन र २०७९/८० को ३० हजार ८२८ टनको तुलनामा कम हो । स्याउ उत्पादन भने बढ्दै गएको छ । २०७८/७९ मा १६ हजार टन स्याउ उत्पादन भएको जुम्लामा २०७९/८० मा १८ हजार टन, २०८०/८१ मा १९ हजार ८४० टन र २०८१/८२ मा २१ हजार २७० टन उत्पादन भएको छ । गत वर्ष स्याउ निर्यातबाट ६१ करोड रुपियाँ भित्रिएको प्रमुख अधिकारीले बताए ।
राेपाइँ नहुँदा मधेशमा धन उत्पादन २७ प्रतिशतले घट्ने अनुमान
धनुषा । मधेश प्रदेशका आठ जिल्लामा खडेरीका कारण हालसम्म ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कुल ५ लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गर्छ । हालसम्म २ लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । निर्देशक यादवका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङमार्फत रोपाइँको क्षेत्र विस्तार भएको छ । बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमती नदीबाट सिँचाइ सुविधा प्राप्त भएकाले रोपाइँमा केही सहजता भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या देखिएको छ । यस वर्ष अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान छ । ढिलो रोपाइँका कारण धान उत्पादनमा २७ प्रतिशत कमी हुने निर्देशक यादवले बताए । खडेरी प्रभावित क्षेत्रका किसानलाई राहत दिन प्रदेश सरकारले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम सञ्चालन गरेको छ, जसअन्तर्गत २२ हजार ५२ किसानले आवेदन दिएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले सिँचाइ सहयोगका लागि सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको बताए । प्रदेश सरकारले यो कार्यक्रमका लागि १८ करोड बजेट विनियोजन गरेको छ, तर यो रकम अपर्याप्त रहेको उनको भनाइ छ ।
कञ्चनपुर कारागार जीर्ण, क्षमताभन्दा तेब्बर कैदी
कञ्चनपुर । भीमदत्त नगरपालिकास्थित कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । कारागारमा पुरुषका लागि १४० र महिलाका लागि २० जनाको क्षमता छ, तर हाल ४४३ पुरुष र २७ महिला कैदीबन्दी छन् । आइतबार जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी र मानवअधिकारकर्मीले गरेको निरीक्षणमा कारागार भवन जीर्ण र क्षमताभन्दा बढी कैदी राखिएको पाइयो । “भवनको प्लास्टर फुटेको, शौचालयको समस्या छ र मर्मत आवश्यक छ,” बोहराले भने । उनले भूकम्पको जोखिमलाई मध्यनजर गर्दै भवन मर्मतको आवश्यकता औंल्याए । चालु आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारबाट ३०–४० लाख बजेट विनियोजन भएको छ, जसले शौचालयलगायत पूर्वाधार निर्माणमा सहयोग पुग्ने बोहराले बताए । अनुगमनका क्रममा कैदीबन्दीबाट मानवअधिकार हननको गुनासो नआएको उनले उल्लेख गरे । कारागारका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार, क्षमताभन्दा बढी कैदीबन्दीका कारण पाल र टिनको व्यवस्था गरिएको छ । कारागारमा सबैभन्दा बढी लागुऔषधका १७६, जबरजस्ती करणीका ९९, चोरीका ६७, कर्तव्य ज्यानका ५६, मानव बेचबिखनका १९, ज्यान मार्ने उद्योगका ७, बहुविवाहका ११, सवारी ज्यानका ८, सार्वजनिक अपराधका ६, ठगीका ३, बैंकिङ कसुरका ७, वन्यजन्तुसम्बन्धी १ र विधिका ७ कैदीबन्दी छन् । कैदीबन्दीले बस्ने ठाउँको उचित व्यवस्था, नयाँ भवन निर्माण, उपचार खर्च र सिधा खर्च वृद्धिको माग राखेका छन् । अनुगमनमा समन्वय प्रमुख बोहरा, समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, पत्रकार महासङ्घका अध्यक्ष सुरेश धामी र मानवअधिकारकर्मी भगवती थापा सहभागी थिए ।
झापाका चिया श्रमिकको आन्दोलन कायमै
झापा । झापाका चिया श्रमिकले एक सातादेखि जारी राखेको आन्दोलन अझै टुंगिएको छैन । सरकार र व्यवस्थापन पक्षले उचित सेवा–सुविधा नदिएको भन्दै श्रमिकहरूले काम ठप्प पारेका छन् । झापाको भद्रपुर–२ मा रहेका गौरीशङ्कर, सूर्य र ऋषि गणेश चिया बगान तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि आन्दोलन गरिरहेका छन् । नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईका अनुसार नाज स्टेटका श्रमिक काममा फर्किए पनि अन्य तीन बगानमा काम ठप्प छ । नेपाल चिया–कफी श्रमिक युनियन, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । श्रमिकहरूले सरकारले अन्य क्षेत्रका श्रमिकको तुलनामा चिया श्रमिकलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरूले सम्झौताबिना काममा लगाइएको र सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् ।

