बागलुङ बजारमा बर्खेजात्राको सांस्कृतिक रौनक

बागलुङ बजारमा बर्खेजात्राको सांस्कृतिक रौनक

काठमाण्डौँ । बागलुङ बजार अहिले नेवारी समुदायको बर्खेजात्रा नाचहरूले गुल्जार भएको छ। लाखे, होवा, घोडा, रोपाइँ लगायतका पुराना नाच दैनिक रूपमा प्रदर्शन भइरहेको छ। घण्टाकर्ण चतुर्दशीको अघिल्लो दिन लाखेनाचबाट सुरु भएको जात्रा भदौ ११ गतेसम्म चल्नेछ।

नेवारी संस्कृतिको संरक्षणमा बागलुङका नेवार समुदाय सक्रिय छन्। युवा पुस्ताको चासोले बर्खेजात्रालाई अझ रोमाञ्चक बनाएको छ। खर्चिला नाच जस्तै नागनागिनी, शिखारी र थेत्तर प्रदर्शन गरिँदैनन् भने लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा र होवा नाच प्रदर्शन भइरहेका छन्।

नेपाल भाषा मंका खलःको संयोजनमा पाँचवटा संस्थाले बर्खेजात्रा सञ्चालन गरिरहेका छन्। केही नाचहरू आर्थिक कारणले लोप भए पनि युवा पुस्ताको सक्रियताले अन्य नाचहरू पुनः देखाउन सहज भएको छ।

बर्खेजात्रा बागलुङका सडक, चोक र बस्तीलाई संस्कृतिमय बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याइरहेको छ।

गण्डकीमा बढेन हिमाल आरोहणको आकर्षण बढ्दै

गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै नेपाल पदयात्रा पर्यटनका लागि पनि विश्वको आकर्षक गन्तव्यका रुपमा विकास भएको थियो । आरोहणको इतिहासमा विश्व कीर्तिमानी कायम गरेको यस प्रदेशमा त्यसयता आरोहणका क्रमले भने अपेक्षित गति लिन नसकेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए । पर्वतीय पर्यटनसँगै हिमाल आरोहण यहाँको प्रचुर सम्भावना रहे पनि त्यसको राम्रोसँग उजागर हुन नसकेको उनले बताए । विश्वमा आठ हजार मिटर उचाइमाथिका १४ हिमालमध्ये आठ हिमाल नेपालमा पर्दछन् । जसमध्ये तीनवटा हिमाल गण्डकी प्रदेशभित्रै रहेका छन् । गण्डकी प्रदेशमा आठ हजार १६७ मिटर उचाइको धौलागिरि प्रथम, आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल हुन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा रहेका कुल १२१ हिमाललाई आरोहणका लागि खुला गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत थप विभिन्न १५ हिमाल आरोहणका लागि प्रस्ताव गरिएका छन् भने छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रतिबन्धित छ । विशेषतः गुरुङ समुदायको धार्मिक आस्था र विश्वासको माछापुच्छ्रे हिमालको फेदमा रहेको पूजनीयम बराहको धार्मिक महत्वसँगै प्राचीनकालदेखि नै यो हिमालको आरोहण नभएको पाइन्छ । कास्कीको घान्द्रुकबाट माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने यो बराह मन्दिरको अलौकिक शक्ति रहेको यहाँका स्थानीयवासी बताउँछन् । गण्डकी प्रदेशभित्र रहेको ६ हजार ५०० मिटरभन्दा बढी उचाइका ७१ हिमाल आरोहणका लागि अनुमति प्राप्त भएकामा विगत पाँच वर्षयता २२ हिमालको आरोहणका लागि मात्रै पर्यटन विभागमा अनुमति लिएको पाइएको छ । सन् २०२० देखि २०२४ भित्र सबैभन्दा बढी सन् २०२२ मा ८०४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । त्यस्तै प्रदेशभित्र ६ हजार ५०० मिटरभन्दा कम उचाइका आरोहणका लागि खुला गरिएका ५० हिमालमध्ये सन् २०२० देखि २०२४ सम्ममा जम्मा पाँच हिमालका लागि ९०७ जनाले आरहेणको अनुमति लिएको पाइएको छ । गण्डकी प्रदेशभित्र हिमाल आरोहणका लागि सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा रहेको नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा पर्वतारोहणका लागि पर्यटक पथ प्रदर्शकको पनि कमी रहेको बताउँदै उहाँले पछिल्लो समयमा गोरखाको लाप्राकमा पर्यटक पथप्रदर्शकहरू थपिएको जानकारी दिए । पर्वतारोहणको सबै अनुमति पर्यटन विभागबाट हुने गरे पनि ६ हजार ५०० माथि र त्यहाँभन्दा तल उचाइ आदिका कारण अनुमतिको कही प्रावधान भने फरक रहेको उनले बताए । पछिल्ला समयमा गण्डकी प्रदेशमा आरोहणको आकर्षण बढाउन प्रयासहरू भने भइरहेको बताउँदै उहाँले नेपाल पर्वतारोहण सङ्घमार्फत पर्यटक गाइडका लागि तालिममा पनि जोड दिइएको बताए । सङ्घकै आयोजनामा यसअघि ६ हजार १२ मिटर उचाइको धम्पुस पिक र छ हजार १४४ मिटर उचाइको थोाराङ पिकको प्रवर्द्धनात्मक आरोहणसमेत गरिएको थियो । “यस क्षेत्रमा आकर्षण बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने, “पर्यटक पथप्रदर्शक तयार गर्नका लागि राज्यका तर्फबाट विभिन्न किसिमका तालिम सञ्चालन गरिनु अपरिहार्य छ ।” धेरै सम्भावना भएर पनि पर्वतारोहण पर्यटनको गण्डकी प्रदेशमा आकर्षण बढ्न नसकेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए । हिमाल आरोहणमा आकर्षण बढाउन सकेमा त्यसले गण्डकीको पर्यटनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा ठूलासाना गरी धेरै हिमाल रहेका कारण यहाँ पर्वतारोहण पर्यटनको धेरै सभ्मावना रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।  “यहाँका हिमाल तथा चुचुरालाई पर्यटन जोड्नका लागि पर्वतारोहण शिक्षा दिने शिक्षालय आवश्यक छ”, उनले भने, “सामान्य हिमाल आरोहणका लागि पनि पर्यटक पथप्रदर्शक काठमाडौँबाट ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आहरोणबारे सिकाउनका लागि शिक्षालय अपरिहार्य छ ।” आरोहणका लागि आवश्यक दक्ष जनशक्ति यही तयार भएमा गण्डकी प्रदेशमा यसतर्फको आकर्षण बढाउन सकिने उनले बताए ।

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी  । दसैँ लगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदेशी पर्यटक देखिन थालेका छन् । उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) लगायत लामा र छोटा गरी धेरै पदमार्गहरू रहेका छन् । प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन पनि बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि खुलिसकेका छन्”, उनले भने,“सबै पदमार्गहरू पदयात्राका लागि सुरक्षित छन् । यतीखेर यहाँका पर्यटकीयस्थलसँगै पर्यटन व्यवसायीहरू पदयात्री पर्यटक स्वागतको पर्खाइमा रहेका छन् ।” नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवर्द्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू पर्यटकका लागि सुरक्षित भएको सन्देश प्रवाह गरिएको जानकारी दिए । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रूपमा परिचय बनाएको अन्नपूर्ण हिमालसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि हिमालको नामसँग जोडिएको धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्गहरू यतिखेर पर्यटक स्वागतको पर्खाइमा रहेको उनले बताए । विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पर्यटकले रुचाइएका पदमार्गमा पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटकहरूको आगमन बढिरहेको आयोजना प्रमुख रबिन कडरियाले जानकारी दिए । चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेलहरू सञ्चालनमा आइसकेका छन् ।  पर्यटकहरूले धेरै रुचाएको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा चार दशकअघि सो क्षेत्र जानुपर्दा यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने उक्त क्षेत्रमा सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रूपमा पदयात्रा गर्न सक्छन् ।  यसअघि यस पदमार्गअन्तर्गत सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालन भएकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । दुई–तीन दिनयता यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको बताउँदै उनले आफूहरू पर्यटकको स्वागतका लागि तम्तयार भएर बसेको जानकारी दिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा मात्रै रहेका थिए ।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । अन्नपूर्ण चक्रीय पदमार्गसहित आधार शिविर जाने पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे पदमार्ग, नर्थ अन्नपूर्ण पदमार्ग यहाँका अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिए । अन्नपूर्ण क्षेत्रकै पोखराबाट नजिक रहेर पनि हिमाल छुन सकिने अर्को पदमार्ग मर्दी हिमाल पदमार्ग हो ।  छोटो समयमा हिमाल चुम्न सकिने पदमार्गका रूपमा चासो र चर्चा कमाएको यो पदमार्ग गुराँस फुल्ने जङ्गलै जङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने पदमार्ग हो । सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गबाट चाँदी जस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।  पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यू प्वाइन्ट’ र आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् ।  सिदिङसम्म जिप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । गण्डकी प्रदेशको धवलागिरि हिमालको फेरोमा गरिने धवलागिरि पदमार्ग अर्को महत्त्वपूर्ण पदमार्ग हो । टान गण्डकीका अध्यक्ष आचार्यका अनुसार करिब १८ देखि २१ दिनसम्म पदयात्रा गर्न सकिने यस पदमार्गका अधिकांश स्थानमा होटेल लगायतका पूर्वाधार नभएका कारण क्याम्पिङ गर्नुपर्ने अवस्था रहेको छ । पछिल्ला समयमा जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको सक्रियतामा कास्कीको मादी गाउँपालिकादेखि मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलाई अध्ययन अनुसन्धानपछि विभिन्न चरणमा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ । प्रकृति, संस्कृति र प्राचीन इतिहासको साक्षीका रूपमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका साथै परम्परागत भेडीगोठ जाने मार्गहरू यस पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोरबजङ्ग गुरुङले बताए ।  खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनको भनाइ छ ।  यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उनले बताए । यस पदमार्गअन्तर्गत पोखराबाट मादी गाउँपालिकाका पर्यटकीय गाउँ सिक्लेसबाट कफुचे, कोरी हुँदै क्होलासोँथर एवम् ताङतिङबाट क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिन्छ । यो पदमार्ग कास्कीका सिक्लेस, ताङतिङका साथै याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, टक्सार, सिउरुङ  गाउँहरूबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।  यस पदमार्गमा विभिन्न ‘टी–हाउस’ लगायतका पूर्वाधार विकास गर्नु जरुरी रहेको बताउँदै गुरुङले आफूहरू त्यसको तयारीमा लागेको जानकारी दिए ।  यस पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार ५८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक तीर्थस्थल हो भने पदयात्रा क्रममा प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरूबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । गण्डकी प्रदेशमा उत्तरी भेगका साथै नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको पदमार्ग सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पनि रहेको छ ।  तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकामा बिचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान बनेको छ ।  पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । पहिलोपटक आर्थिक वर्ष  २०६४/६५ मा नक्साङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ ।  पछिल्लो समयमा दोस्रो नक्साङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ । उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरबास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगौडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष बालकुमार गुरुङले बताए ।  यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बिचबिचमा छोटो दूरीमा एक दिने हाइकिङदेखि दुई–तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ । कुल ७२ किलोमिटर लम्बाइमा रहेको यो पदमार्ग चरा पर्यटनका लागि पनि उपयुक्त मानिन्छ ।  महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहस्राब्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रकगार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक पर्यटकीयस्थल च्यवनधामदेखि ढोरबाराही मन्दिर, ढोर मूलकोट दरबार आदि यहाँका आकर्षण हुन् । त्यस्तै पदयात्रीहरू मनोरम हिमाली एवम् पहाडी दृश्य अवलोकन गर्दै यहाँका रजस्थल, घरेडी, सादीखोला, काल्खु, राइपुर, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै रामबाछा पुुगेर पोखरा फर्कन्छन् ।  पदयात्राको याम सुरु भइरहँदा यहाँका पर्यटकीयस्थल एवम् पर्यटन व्यवसायी पर्यटकको स्वागतको पर्खाइमा रहेको उनले बताए ।

गण्डकी मुख्यमन्त्री कार्यालयकाे अनुराेध:  चोरिएका सामग्री फिर्ता दिनुहाेस्

गण्डकी । जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ । कार्यालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ । लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ । 

बागलुङकाे ताराखोला जलविद्युत् उत्पादनको हब बन्दै

बागलुङ । बागलुङकाे ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको हबका रूपमा विकसित हुँदैछ । यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने दुई निर्माणाधीन र दुई प्रक्रियामा छन् । दरम खोला ‘ए’ जलविद्युत् आयोजनामा सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा २.५ मेगावाट क्षमताको यो आयोजना निर्माण गरी विद्युत् उत्पादन सुरु गरेको छ । यो निजी क्षेत्रको पहिलो आयोजना हो । यसैगरी तारखोला जलविद्युत् आयोजनाकाे ३८० किलोवाट क्षमताको यो आयोजना पाँच वर्षअघि सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यता निर्माणाधीन आयोजनाहरूमा मध्य ताराखोला मध्य दरम ‘ए’ हाे । यो आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ । अर्काे   दरम ‘बि’ जलविद्युत् आयोजना ४ मेगावाट क्षमताको छ ।  यो आयोजनाको ४० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न भएको सञ्चालक मिलन खतिवडाले बताए । यसैगरी तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाटकाे छ । मध्य दरम ‘बी’ जलविद्युत् आयोजनामा ४.५ मेगावाट छ । गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीय लगानीसहितका यी आयोजनाले ताराखोलाको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताए । उनका अनुसार, यी आयोजनाहरू सम्पन्न भएपछि गलकोटसम्म जोडिने अन्य आयोजनाले समेत गति लिइरहेका छन् ।   अध्यक्ष प्रकाश घर्तीले जलविद्युत् आयोजनाहरूको निर्माणले स्थानीयमा उत्साह बढेको र गाउँपालिकाको आर्थिक उन्नति तथा नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।