सप्तकोशीमा पानीको बहाव बढ्दा उदयपुरको बेलका उच्च जोखिममा

उदयपुर । लगातार तीन दिनको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उदयपुरको बेलका क्षेत्र डुबान र कटानको उच्च जोखिममा परेको छ । बेलका नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ९ का सप्तकोशी आसपासका गाउँहरू प्रभावित हुने खतरा बढेको छ । बेलकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा नदीको पानी किनार नाघेर बाहिर आउन थालेको छ ।

बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार नदीको बहाव बढ्दै जाँदा गाउँहरू कटानको जोखिममा छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिसहितको टोलीले जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीयलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगीले कुनै विपद् भएमा तत्काल उद्धार र राहतमा जुट्ने गरी तयारी थालिएको बताए । 

सप्तकोशीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक

पूर्वी पहाडी र तराई क्षेत्रमा भएको लगातार वर्षाले सप्तकोशी नदीको कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा उतारचढाव जारी छ । सोमबार बिहान ६ बजेको मापनमा १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको बहाव राति १० बजेको मापनमा १ लाख ७९ हजार ७४० क्युसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

हाल कोशी ब्यारेजका ५२ मूल र ४ नहरका ढोकामध्ये १९ वटा खोलिएको छ । पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

विसं २०६५ भदौ २ मा १ लाख ६८ हजार क्युसेक बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो । हालको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेका छन् ।

पर्वत प्रदेश अस्पतालमा एकै पटक बाह्र वटा प्रयोगशाला

पर्वत । यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकै पटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउँ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताए । उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् । यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यस सुविधामार्फत कुस्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोगशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् । 

जङ्गली जनावरको आतङ्क : बैतडीका किसानको बास खेतबारीमै

बैतडी । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसानहरू रातदिन खेतबारीमै बास बस्न बाध्य छन् ।  बँदेल, दुम्सी, बाँदर र भालुले बालीमा क्षति पुर्‍याउँदा किसानहरू चिन्तित बनेका छन् । जिल्लाका सबै १० स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा ठूलो नोक्सानी गरेको छ । दोगडाकेदार गाउँपालिकाका चन्द्रसिंह विष्टले बँदेलले मकैबाली सखाप पारेको बताए । उनले भने, “रातदिन खेतमा टहरा बनाएर पहरा दिँदा पनि बाली जोगाउन सकिएको छैन ।” पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले घोगा लाग्न लागेको मकै बँदेलले नष्ट गरेपछि भोकमरीको चिन्ता बढेको बताए । बैतडी मकै उत्पादनको प्रमुख जिल्ला हो, जहाँ दशरथचन्द, पाटन, सूर्नया, पञ्चेश्वर र दोगडाकेदारमा मकै जोन कार्यक्रम सञ्चालित छ । तर, यी क्षेत्रमा बाली जोगाउन किसानलाई कठिनाइ भएको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । पञ्चेश्वर–४ का रामदत्त भट्टले हरेक वर्ष जङ्गली जनावरले मकैबाली नष्ट गर्ने गरेको गुनासो गरे । “खेतमा टहरा बनाएर रातभर जाग्राम बसे पनि बाली जोगाउन मुस्किल छ,” उनले भने, “हरेक वर्ष दुई महिना अनिदो बस्नुपर्छ ।” बैतडीमा १२ हजार एकसय हेक्टरमा मकैखेती हुन्छ, तर जङ्गली जनावरकै कारण खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राख्न थालेका छन् ।

कर्णाली करिडोरको हुम्ला खण्डकाे सडक अवरुद्ध

हुम्ला । अविरल वर्षाका कारण कर्णाली करिडोरको हुम्ला जिल्ला, सर्केगाड गाउँपालिका–१ मा पर्ने खच्चा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले सडकमा पहिरो खस्दा आवागमन पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार, यो सडक खण्ड हरेक वर्ष वर्षायाममा पहिरो र हिउँदमा सुख्खा पहिरोका कारण अवरुद्ध हुने गरेको छ । आइतबारदेखि अवरुद्ध भएको यो सडक खुलाउन डोजर प्रयोग गरी मर्मत कार्य भइरहेको उनले बताए । सडक अवरुद्ध हुँदा हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा मालबाहक ट्रक, बोलेरो जिपलगायत सवारी साधनहरू रोकिएका छन् । सडक खुलाउन नेपाल प्रहरी र स्थानीय बासिन्दाले संयुक्त प्रयास गरिरहेका छन् । यो सडक खण्डमा वैकल्पिक मार्ग नहुँदा हुम्ला, मुगु र बाजुरा जिल्लाका यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ । बारम्बार अवरुद्ध हुने यो सडकको नियमित मर्मतमा ध्यान नदिँदा यात्रुहरू मर्कामा पर्ने गरेका छन् ।

हुम्लामा जनता आवासका घर प्रयाेगविहीन

हुम्ला । जनता आवास कार्यक्रममार्फत न्यून आय भएका लक्षित वर्गका लागि निर्माण गरिएका घरहरू प्रयोगविहीन बनेका छन् । हुम्ला जिल्लाका विभिन्न चार स्थानमा सरकारी लगानीमा निर्मित यस्ता घरहरू सेवाग्राहीले प्रयोगमा नल्याएको पाइएको छ । अदानचुली गाउँपालिका–२, मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा निर्मित नौ वटा घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताए । उनका अनुसार, बजेट प्राप्तिको लोभमा अपायक स्थानमा घर बनाइएकाले सेवाग्राहीले ती घर प्रयोग गर्न नचाहेका हुन् । प्रतिघर साढे तीन लाखभन्दा बढी लगानीमा निर्मित तीनकोठे यी भवनहरू न्यून आय भएका गरिब तथा दलित परिवारले आफैंले बनाएका हुन् । बुढाले घर निर्माण गरिबका लागि सकारात्मक भए पनि ती प्रयोगमा नआउनुको कारण खोजिनुपर्ने बताए । यस्तै, खार्पुनाथ गाउँपालिका–२, सेराडिलको औल बस्तीमा सरकारी सहयोगमा निर्मित ११ वटा घर पनि प्रयोगमा नआएको स्थानीय कर्णबहादुर छत्यालले जानकारी दिए । उनका अनुसार, उक्त स्थान हिउँदमा पशुचौपाया पाल्न मात्र प्रयोग हुने भएकाले निर्माण भएदेखि नै ती घर खाली छन् । घर निर्माणपूर्व आवश्यक अध्ययन नगर्दा सरकारी लगानी बालुवामा पानी भएको उनले बताए । त्यसैगरी, खार्पुनाथ गाउँपालिका–५, याङ्चुमा २७ दलित घरधुरीका लागि बनाइएका भवनहरू पनि प्रयोगविहीन भई जीर्ण बन्दै गएको स्थानीय पारस शाहीले बताए । छ वर्षअघि दुई लाख ७० हजार रुपियाँको सरकारी सहयोगमा निर्मित यी भवन गाउँपालिका केन्द्रनजिकै भए पनि प्रयोगमा आएका छैनन् । सिमकोट गाउँपालिका–५ र ६ को गुम्बामा निर्मित तीन वटा भवन पनि पहुँचका आधारमा निर्माण गरिएकाले प्रयोगमा नआएको स्थानीय सुरेश परियारले बताए । परियारका अनुसार, छनोटमा परेका लक्षित वर्गसँग पहिल्यै घर भएकाले उनीहरूले सहयोग रकमबाट नयाँ घर बनाएर बजेट सिध्याए, तर बस्न नचाहँदा जस्तापाताले छाएका यी भवन प्रयोगविहीन छन् । सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले मागअनुसार भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताए । यस्ता भवनको उपयोग सुनिश्चित गर्न नयाँ उपाय अवलम्बन गर्न लागिएको उनले जानकारी दिए ।

हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एककाे मृत्यु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली–३, माझखर्कस्थित पानीटोट्का जङ्गलमा बाख्रा चराउन गएका ३६ वर्षीय नान बुढाकाे भिरबाट लडेर घटनास्थलमै ज्यान गुमाएका हुन् । बाख्रा चराउन खर्कबाट जङ्गल गएका बुढा साँझसम्म खर्कमा नफर्किएपछि उनकी श्रीमतीले खोजी गर्दा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन् । जङ्गल घरबाट टाढा, गल्फागाड खोला पारि भएकाले मृतकको शव लिन स्थानीयवासी त्यसतर्फ गएका छन् । खर्कमा मृतक र उनकी श्रीमतीमात्र रहेकाले घटनाको जानकारी बिहानमात्र परिवारलाई प्राप्त भएको थियो । जानकारी पाउनासाथ शव ल्याउन स्थानीय गएका छन्। यो क्षेत्रमा यतिबेला सबैको पशुचौपाया खर्कमा राख्ने गरिएको छ ।

बैतडीमा तीन दिनदेखि महिला बेपत्ता

बैतडी । बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् । यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए। भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

सिङ्चाङमा उदाहरणीय कागतीखेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा कागतीखेतीले नयाँ आयाम लिइरहेको छ । मलेसियामा लामो समय बिताएर फर्किएका देवचुलीका दीपक चापागाईँ र देवीप्रसाद भुसालले संयुक्त रूपमा ८० रोपनी जमिनमा कागतीखेती सुरु गरेका छन् ।  पाँच वर्षअघि दुई हजार बिरुवा रोपेर थालिएको यो खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । यस वर्ष ५० क्विन्टल कागती बजारमा पठाइसकिएको छ भने करिब ५०० क्विन्टल उत्पादन हुने अनुमान छ । चापागाईँ भन्छन्, “विदेशमा धेरै समय बिताएँ, तर स्वदेशमै कृषिमा सम्भावना देखेर कागतीखेती सुरु गरेँ । अहिले फल लाग्न थालेपछि आशा जागेको छ ।” उनीहरूले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत कागती र सुन्तलाखेती विस्तार गरिरहेका छन् । सिङ्चाङमा यो खेतीले अन्य किसानलाई समेत आकर्षित गरेको छ । गाउँमा करिब चार हजार कागतीका बिरुवा रोपिएका छन् ।  साथै, उनीहरूले नर्सरीमार्फत बिरुवा उत्पादन र बिक्री पनि गर्दैछन् । हालसम्म कागतीखेतीमा एक करोडभन्दा बढी लगानी भइसकेको छ, जसले स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । नवलपुरमा कागतीखेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लामा करिब १५० किसानले ५० हजारभन्दा बढी कागतीका बिरुवा रोपेका छन् । यस वर्ष जिल्लाबाट ५०० मेट्रिक टन कागती उत्पादन हुने अनुमान छ ।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ ले नर्सरी व्यवस्थापन, बिरुवा अनुदान र रोग–कीरा नियन्त्रणका लागि औषधि प्रदान गर्दै कागती र सुन्तलाखेती प्रवर्द्धन गरिरहेको छ । यद्यपि, उत्पादन बढे पनि बजार व्यवस्थापनमा चुनौती छ । हाल कागती प्रतिकेजी ८५ रुपैयाँमा बिक्री भइरहेको छ, जुन किसानका लागि कम मूल्य हो । उचित मूल्य र बजार सुनिश्चित गर्न सरोकारवालाले पहल गर्नुपर्ने किसानको माग छ । कार्यक्रम कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार काठमाडौँ, पोखरा र चितवनलगायतका बजारमा कागतीको बजारीकरणका लागि प्रयास भइरहेको छ ।

म्याग्दीमा एक वर्षमा ८७४ घरमा विद्युत् विस्तार

म्याग्दी । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी जिल्लाका विभिन्न क्षेत्रमा ८७४ घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।  केन्द्रका प्रमुख सत्यनारायण गामीले मालिका गाउँपालिका–३ को पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण सम्पन्न भएको जानकारी दिए । उनका अनुसार धवलागिरि गाउँपालिका–२ को लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, वडा नं ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम सकिएकाले मिटर जडानपछि यी क्षेत्रमा विद्युतीकरण पूर्ण हुनेछ । गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइन सुधारिएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनमार्फत मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सुरु भएको छ । धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले सोलार, मट्टितेलको टुकी र दियालोमा निर्भर स्थानीयवासीमा विद्युत् पुगेपछि खुसीयाली छाएको बताए । विद्युतीकरणले घरायसी काम, विद्यार्थीको पढाइ र उद्यम–व्यवसाय सञ्चालनमा सहजता आएको छ । म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २३ हजार ८६९ ग्राहक छन् । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८ र २०७८/७९ मा ७७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीमा पनि मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण भइरहेको छ । प्राधिकरणले आव २०८०/८१ देखि म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा विद्युत् विस्तारका लागि २२ करोड रुपैयाँको योजना सञ्चालन गरेको छ । गत वर्ष एक करोड ७३ लाख ९५ हजार ७९७.७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ रुपैयाँ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने १४५ ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ रुपैयाँ बक्यौता असुल गरिएको छ । प्राधिकरणका अनुसार ६० दिनसम्म महसुल नबुझाउनेको लाइन काटिन्छ भने छ महिनासम्म नबुझाउनेलाई कालोसूचीमा राखिन्छ । कालोसूचीमा परेका एक जनाबाट ७७ हजार र ११ जनाबाट २ लाख ७८ हजार ९०४ रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।  

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु

खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’ को अवसरमा शुभम् फाउन्डेसन दिक्तेल खोटाङले ‘दिक्तेल कोदो बिस्कुट’ को व्यावसायिक उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदानमा खरिद गरिएको उपकरण जडान गरी फाउन्डेसनले कोदोको बिस्कुट उत्पादन शुरू गरेको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरी उत्पादित एकसय ग्रामको प्याकेटको मूल्य ५० रुपैयाँ तोकिएको छ । नगरपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्पादित यो बिस्कुटलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख र वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले संयुक्त रूपमा सार्वजनिक गरे । प्रथम राष्ट्रिय कोदो दिवसमा बिस्कुटसँगै कोदोबाट बनेका केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो । यो प्रदर्शनी कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेका थिए । शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईका अनुसार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड पूरा गरी बिस्कुटको व्यावसायिक उत्पादन सुरु गरिएको छ । “कोदोको परिकारलाई बजारमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन शुरू गरेका हौँ । यो आजैबाट बजारमा पठाइएको छ,” उनले भने, “उपभोक्ताको मागअनुसार कोदोका अन्य परिकार पनि उत्पादन गर्ने तयारी छ ।” जिल्लामा उत्पादित कोदो फाउन्डेसनको उद्योगमा खपत हुने भएकाले कृषकहरूले सहजै आम्दानी गर्न सक्ने भएका छन् । जिल्ला समन्वय समिति प्रमुख राईले कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यवर्द्धक भएको बताउँदै यसको प्रवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । “स्थानीय उत्पादनको प्रवर्द्धनले मात्र समृद्धि सम्भव छ । शुभम् फाउन्डेसनले परम्परागत कोदोलाई आधुनिकीकरण गर्ने कामको थालनी गरेको छ,” उनले भने । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले १७औँ नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिए । “नगरवासीको आय वृद्धिका लागि उपप्रमुखसँग कृषक कार्यक्रम लागू गरेका छौँ । यो कार्यक्रमले धेरै कृषकलाई व्यावसायिक बनाएको छ,” उनले भने, “स्थानीय उत्पादन प्रवर्द्धनमा सङ्घीय कानुन बाधक छ। यसलाई संशोधन गर्न नगरप्रमुखको नेतृत्वमा आन्दोलन जारी छ ।” नगरपालिकाले कोदोका परिकारलाई विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने योजना बनाएको छ । कोदोका परिकारले मधुमेह, मुटुरोग, रक्तअल्पता नियन्त्रण, हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण बोकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

स्याङ्जा । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । हरिया र राम्रा दाना बनिसकेका सुन्तला एकाएक झर्न थालेपछि किसानहरू समस्यामा परेका हुन् । पतेराको आक्रमण, गर्मी र वर्षाको कारण दाना झर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्याङ्जाका सुन्तला प्राविधिक प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए । उनले पतेरा नियन्त्रण र विषादीको उचित प्रयोगमा ध्यान दिएर दाना झर्न रोक्न सकिने सुझाव दिए । वालिङ नगरपालिका–१२ की किसान सिता थापाले यो वर्ष सुन्तलाका दाना धेरै झरेको बताइन्। “दिनहुँ दाना झरिरहेका छन्, जसले चिन्ता थपिएको छ,” उनले भनिन् । प्राविधिक सुवेदीले सुन्तला बोटको राम्रो स्याहार, सरसफाइ र गोडमेलमा जोड दिनुपर्ने बताए । आवश्यक खाद, मल, पानी र पौष्टिक तत्वको कमीले पनि दाना झर्ने उनको भनाइ छ । स्याङ्जा सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । यहाँका किसानले नगदेबालीका रूपमा व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला सुपरजोन परियोजनाले उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको परियोजनाका अध्यक्ष बोधराज अर्यालले बताए । जिल्लाका ११ पालिकाका ९७ वडामध्ये ५–६ वडा बाहेक सबैमा सुन्तला खेती हुन्छ । करिब २,३५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । गत वर्ष २०,००० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो, जसबाट किसानले १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरे । जिल्लामा स्थानीय, जापानी, उन्सु, खोकुजस्ता मौसमी र बेमौसमी सुन्तला खेती हुन्छ । एकजना किसानले एउटा सिजनमा ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । स्याङ्जामा २४ सहकारी, ८७ किसान समूह र २५१ निजी फर्ममार्फत सुन्तला उत्पादन हुन्छ ।

उदयपुरकाे त्रियुगा र माेदी बेनी नदीमा जलसतह बढेपछी सतर्कता अपनाउन आग्रह

काठमाडौं । उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै, पर्वतको कालीगण्डकी नदीस्थित मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको छ। नदी तटीय क्षेत्र, कमजोर जमिन र भिरालो क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ छ । विभागका अनुसार आज देशभर बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित मध्यम वर्षा देशका धेरै स्थानमा हुने अनुमान छ । राति पनि देशभर बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका तराई र अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

पुवा खोलामा बेलिब्रिज: ३६ किमी छोटियाे मेची करिडोरको यात्रा

इलाम । इलामको पुवा खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै मेची करिडोर (केचना-कञ्चनजङ्गा सडक) मार्फत इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो र सुरक्षित बाटो खुलेको छ। यो बेलिब्रिजले मेची राजमार्गको वैकल्पिक मार्गलाई सहज बनाएको छ ।  इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा निर्मित यो बेलिब्रिजले झापा, इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारी र यात्रुका लागि ठूलो राहत प्रदान गरेको छ । सागर-सुभारम्भ-एरिसा जेभीले निर्माण गरेको यो ४८.६ मिटर लामो बेलिब्रिजका लागि सङ्घीय सरकारले १ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, यो पुलले वर्षायाममा सडक अवरुद्ध हुने समस्यालाई समाधान गरेको छ । यसअघि पुवा खोलामा पुल नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेषगरी वर्षायाममा सडक पूर्णरूपमा बन्द हुने गर्थ्यो । गत वर्ष पहिरोले मेची राजमार्ग दुई साता बन्द हुँदा यात्रुहरूले माईखोला क्षेत्रमा पैदल हिँडेर गाडी परिवर्तन गर्नुपरेको थियो । इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चहान भन्छन्, “पहिले हिउँदमा मात्र सडक प्रयोग हुने गर्थ्यो, वर्षायाममा पूरै बन्द हुन्थ्यो। अब यो बेलिब्रिजले बाह्रै महिना सहज आवागमन सम्भव भएको छ ।” बेलिब्रिज निर्माणपछि मेची राजमार्गको गोलाखर्क खण्डबाट केचना-कञ्चनजङ्गा सडक हुँदै विर्तामोड पुग्न अब जम्मा ४७ किलोमिटर यात्रा गर्नुपर्छ । मेची राजमार्ग प्रयोग गर्दा यो दुरी ८३ किलोमिटर थियो। यसले ३६ किलोमिटर दुरी र समयको बचत भएको छ । मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको यो सडकको इलाम खण्डमा माई नगरपालिका क्षेत्रको १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले जानकारी दिए ।  पुवा खोलाको बेलिब्रिजले मेची करिडोरलाई थप प्रभावकारी बनाएको छ । यो निर्माणले स्थानीय बासिन्दा र यात्रुहरूलाई मात्र नभई समग्र पूर्वी नेपालको यातायात र व्यापारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कैलालीमा चक्कु प्रहार गरी युवतीको हत्या

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मम सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको छ ।  बर्दगोरिया–३ निवासी सेजवालमाथि सोही सेन्टरमा कार्यरत ३३ वर्षीय नृप साउदले शनिबार बिहान करिब १० बजे चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो ।  तर, उपचारका क्रममा उनको मृत्यु भयो । प्रहरीले अभियुक्त साउदलाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अझै खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लमजुङमा यातायातबाट साढे चार करोड राजस्व संकलन

लमजुङ । पूर्वाधार विकास कार्यालय लमजुङले यातायात सेवाबाट आर्थिक वर्ष २०८१–८२ मा चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व संकलन गरेको छ । यो राजस्व सवारी कर, आयकर, नवीकरण र रुट परमिटलगायत सेवाबाट प्राप्त भएको हो । कार्यालयका लेखा सहायक उत्तम गुरुङका अनुसार चारपाङ्ग्रे सवारीबाट एक करोड ८९ लाख ६२ हजार तीन सय पाँच रुपियाँ र दुईपाङ्ग्रे सवारीको कर तथा नवीकरणबाट दुई करोड १८ लाख ११ हजार दुई सय ४० रुपियाँ संकलन भएको छ । त्यस्तै, सवारी इजाजत र नवीकरणबाट २७ लाख ६३ हजार एक सय रुपियाँ, रुट परमिट र पटके शीर्षकमा नौ लाख ३२ हजार दुई सय रुपियाँ तथा सवारी आयकरबाट २१ लाख ८९ हजार नौ सय २५ रुपियाँ राजस्व प्राप्त भएको छ । मासिक विवरणअनुसार, चैत महिनामा सबैभन्दा बढी ९५ लाख ८१ हजार पाँच सय ८० रुपियाँ र जेठमा सबैभन्दा कम १५ लाख ९८ हजार तीन सय ५० रुपियाँ राजस्व संकलन भएको छ । अन्य महिनाको राजस्व निम्नानुसार छः साउन: २० लाख ८६ हजार आठ सय ३० रुपियाँ, भदौ: २३ लाख ३२ हजार दुई सय ४० रुपियाँ, असोज: ३५ लाख ७९ हजार सात सय ७५ रुपियाँ कात्तिक: ३९ लाख दुई हजार ५५ रुपियाँ, मंसिर: ४४ लाख ९७ हजार छ सय २५ रुपियाँ, पुस: ४३ लाख ३२ हजार पाँच सय ५० रुपियाँ, माघ: ३७ लाख ३५ हजार तीन सय ५५ रुपियाँ फागुन: ४४ लाख २८ हजार आठ सय ८० रुपियाँ, वैशाख: २७ लाख ८७ हजार चार सय ३० रुपियाँ, असार: ३७ लाख ९६ हजार एक सय ४० रुपियाँ छ । पूर्वाधार विकास कार्यालय लमजुङले यातायात क्षेत्रको राजस्व संकलनलाई प्रभावकारी बनाउन थप प्रयास गरिरहेको जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडकमा दैनिक सुख्खा पहिरो

मुस्ताङ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । शनिबार बिहान मर्मतपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । यसअघि सोही स्थानमा चार पटक सडक अवरुद्ध भएको थियो । उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्गमा कागखोला, ताङ्वे खोला र मुस्ताङ गेटमा बाढीपहिरोले दैनिक सास्ती दिएको छ । सामान्य वर्षातमा पनि खोला उर्लिएर सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ जाने यात्रुले ठूलो कठिनाइ खेप्नुपरेको छ । बारागुङ मुक्तिक्षेत्र–३, छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले यो मनसुनमा पाँच पटक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पछिल्ला वर्षमा मुस्ताङमा नियमित वर्षा हुन थालेपछि तल्लो र उपल्लो मुस्ताङमा यात्रा गर्ने स्थानीय, पर्यटक र कर्मचारीलाई सुख्खा पहिरोले आउजाउमा कठिनाइ भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिमपूर्ण स्थानमा बाढीपहिरो पछि डोजर परिचालन गरे पनि दैनिक पाँचदेखि सात घण्टा सडक अवरुद्ध हुने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्याचो गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “बाढीपहिरोले मुस्ताङीलाई सताउने गरेको छ, जलवायु परिवर्तनका हरेक असरको सामना गर्नुपरेको छ ।” विगत एक दशकअघिसम्म सामान्य वर्षाबाहेक बाह्रै महिना सडक सञ्चालन हुने गरेकोमा पछिल्ला वर्षहरूमा नियमित वर्षाले तल्लो र उपल्लो मुस्ताङमा बाढीपहिरोले बस्ती नै जोखिममा पर्ने गरेको छ । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा सुख्खा पहिरो खस्ने गरेको छ । सामान्य वर्षा र हल्का हावाहुरीमा ढुङ्गामाटो खसेर सवारीसाधन र यात्रुलाई चोट लाग्ने जोखिम रहेकाले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु रविन सुवेदीले बताए ।  भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारण बर्खामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए । सडक खण्डअन्तर्गत प्रहरी चौकीले यात्रुलाई सडकको अवस्था र जोखिमपूर्ण क्षेत्रबारे जानकारी दिने गरेको उनको भनाइ छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र सबैभन्दा जोखिमपूर्ण मानिन्छ । वर्षासँगै थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रिय राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।