मधेशमा ५७ प्रतिशत धान रोपाइँ, चार जिल्लामा अति न्यून
जनकपुर । मधेश प्रदेशमा सङ्घीय सरकारले तीन महिनाका लागि घोषित विपद् सङ्कटग्रस्त क्षेत्रमा आधाभन्दा बढी खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । कुल पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७.२७ प्रतिशत अर्थात् दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मधेशका चार जिल्ला—बारा, पर्सा, रौतहट र सर्लाहीमा धान रोपाइँको अवस्था सन्तोषजनक छ । तथ्याङ्कअनुसार पर्सामा ८५ प्रतिशत, बारामा ८३ प्रतिशत, रौतहटमा ७३ प्रतिशत र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. सरोज चौधरीले यी जिल्लाहरूमा रोपाइँको प्रगति राम्रो भएको बताए ।
यद्यपि, मधेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेका आठ जिल्लामध्ये चार जिल्ला—महोत्तरी, सप्तरी, धनुषा र सिरहामा धान रोपाइँको अवस्था नाजुक छ । यी जिल्लाहरूमा ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । महोत्तरीमा ३९.७३ प्रतिशत, सप्तरी र धनुषामा ४० प्रतिशत, र सिरहामा ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । अपर्याप्त वर्षा र सिँचाइको अभावले रोपाइँ प्रभावित भएको किसानहरूले गुनासो गरेका छन् ।
किसान बौआलाल यादवले बोरिङको पानीसमेत कम हुँदा धानको बिउ ब्याडमै सुकेको र रोपिएको धान जोगाउन चिन्ता बढेको बताए । अर्का किसान श्याम यादवले सिँचाइ, मलखाद, बीउ, सस्तो ऋण र विद्युतको अभावले किसानहरू समस्यामा परेको गुनासो गरे । उनले सरकारले सङ्कटपूर्व तयारी नगरेको र सङ्कट आएपछि मात्र योजना बनाउने प्रवृत्तिले समस्या निम्त्याएको बताए ।
कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले कमला र बागमती नदीको पानी डाइभर्ट गरेर सिँचाइ सुविधा विस्तार गर्नु दीर्घकालीन समाधान भएको बताए । “मधेशको बाली सुकेमा पहाडसम्म खाद्यान्न सङ्कट हुन्छ,” उनले भने । नदीको पानीलाई बाँधेर क्यानलमार्फत पूर्व–पश्चिम वितरण गर्न सकिए सुक्खाको समस्या स्थायी रूपमा समाधान हुने उनको भनाइ छ ।
मधेशको कृषि मन्त्रालयले तत्काल सिँचाइ सुविधा पुर्याउन स्यालो ट्युबवेल, समरसिबल ट्युबवेल र सोलार पम्प जडानका लागि आवेदन माग गरेको छ । किसानहरूले यी कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् ।
पानीको स्रोतकाे खाेजीमा वीरगन्ज महानगर
पर्सा । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरका अगुवाले अमलेखगन्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगन्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगन्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगन्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेका हुन् । वीरगन्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनः भरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगन्ज आएको बताए । “अमलेखगन्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उनले भने, “अमलेखगन्जको जस्तै प्रविधि अपनाएर वीरगन्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।” प्रमुख सिंहले वीरगन्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उनले भने, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।” अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । “पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौँतारिँदै आइरहनुभएको थियो”, उनले भने, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगन्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इन्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए । “भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उनले भने, “अमलेखगन्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उनले भने, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगन्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।” इन्जिनियर सिन्हाले अमलेखगन्जको असल अभ्यासलाई पर्सामा पनि अनुसरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरको प्राविधिकसहितको टोलीले बिहीबार नै वीरगन्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो । समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगन्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगन्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजी कार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।
सुदूरपश्चिमको राजधानी सार्ने विषयमा माओवादीको आपत्ति
धनगढी । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर आपत्ति जनाएका छन्। प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी तोकेको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै दुवै दलले मुख्यमन्त्री कमलबहादुर शाहको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्। माओवादीको अडान: गोदावरीमै राजधानी प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री शाहको विश्वासको मत प्रस्तावमाथि छलफलका क्रममा माओवादीका सभा सदस्य ओमबिक्रम भाट 'शरल'ले राजधानी सार्ने कुरामा पार्टीको गम्भीर चासो व्यक्त गरे। उनले भने, “प्रदेश सभाको निर्णयअनुसार गोदावरीमा राजधानी बनाउनुपर्छ। कार्यान्वयनमा ढिलाइ किन? कानुनी र प्राविधिक समस्या के हुन्? धनगढी अन्तर्राष्ट्रिय सीमा नजिकै छ, कसरी राजधानी बनाउने?” भाटले राजधानीलाई सत्ताको हतियार बनाउन नहुने र पारदर्शी छलफल आवश्यक भएको बताए। नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले दुई तिहाइ बहुमतले गोदावरीमा राजधानी तोक्ने निर्णय भएको स्मरण गराए। “धनगढी सार्ने कुराले भ्रम सिर्जना भएको छ। यो सरकारको स्थायित्वमा अवरोध हो। कहिले धनगढी, कहिले पूर्वमुख्यमन्त्रीसँग छलफल भन्ने कुराले अस्थिरता निम्त्याइरहेको छ,” उनले भने। मुख्यमन्त्री शाहले राजधानी निर्माणको आवश्यकता र समस्याबारे छलफल चलाएको स्वीकार गरे। “राजधानी निर्माणको जटिलता र समस्या के छन्? यो विषयमा बहस हुनुपर्छ। यो संघीयता र प्रदेशवासीको सरोकारसँग जोडिएको छ,” उनले भने। गोदावरीको तेघरी क्षेत्रमा राजधानी बनाउन जटिलता देखिएको भन्दै उनले धनगढीलाई राजधानी बनाउने सम्भावनाबारे छलफल अघि बढाएका छन्। माओवादी र एकीकृत समाजवादीले राजधानीबारे मुख्यमन्त्रीको जवाफ खोजे पनि बिहीबारको बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले मौन रहे।
बढ्दो मानवीय आक्रमणले मासिदै सिमसार क्षेत्र
कैलाली । मानवसहित प्राणी जगतका लागि अति नै महत्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिदै गएको हो । पछिल्लो समय धेरैजसो प्राकृतिक तालतलैयामा डोजर लगाएर त्यसलाई आफूखुशी प्रयोग गर्ने काम भइरहेको छ । जसका कारण सिमसार संरक्षण र व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । स्थानीय सरकारहरुले आफ्नो राजस्व वृद्धिका लागि ठेक्का दिएपछि वन क्षेत्रमा रहेका अधिकांश तालतलैयामा समेत पोखरी बनाएर माछा पालनको कार्य भइरहेको छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले सिमसार संरक्षण र व्यवस्थापनमा बढी नै चुनौती भइरहेको बताए । पछिल्लो समय सिमसार क्षेत्र घट्ने र सुख्खा हुनेक्रम बढ्दो रहेको उनको ठम्याइ छ । “सिमसार क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण रहेकाले स्थानीय सरकार, वन कार्यालय र सरोकारवाला निकायले प्राथमिकताका साथ कार्यक्रम बनाएर अगाडि बढ्न जरुरी छ” वन अधिकृत विकले भने । जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र खोल्सा, नाला, तालतलैयालाई सिमसार भन्ने गरिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ । सिमसारमा जलीय जीवदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गीको अस्तित्व निर्भर रहेको छ । सिमसार मानवसहित पृथ्वीका सबै प्राणीका लागि अति आवश्यक छ । तर, मान्छेबाटै चरम दोहनले सिमसारको प्राकृतिक स्वरुप र पारिस्थितिकीय प्रणाली दिनप्रति दिन बिग्रिरहेको छ । चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महत्वपूर्ण सिमसार क्षेत्रलाई पालिकाहरुले आम्दानीको महत्वपूर्ण स्रोतको रुपमा लिएका छन् । प्राकृतिक तालतलैया ठेक्का दिइएपछि ठेकेदारले आफ्नै हिसाबले पोखरी बनाएर विकासे माछा पालेर आम्दानी गरिरहेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले सिमसार क्षेत्रहरु अब सिमसार भन्न लायक नरहेको जिकिर गरिन । कैलाली लगायतका विभिन्न जिल्लामा रहेका सिमसारहरु सिमसारको परिभाषाभन्दा निकै फरक भइसकेका उनको भनाइ छ । “सिमसारबाट अब रैथाने प्रजाति हराइरहेका छन्” अध्यक्ष चौधरीले भनिन् । स्थानीय सरकारले राजस्व वृद्धिका लागि प्राकृतिक तालतलैयालाई ठेक्का दिने गरे पनि प्राप्त राजस्वलाई सिमसार संरक्षण र व्यवस्थापनमा खर्च नगरेको संरक्षणकर्मीहरुको बुझाइ छ । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले सिमसार संरक्षणमा स्थानीय सरकारको लगानी शून्य रहेको जिकिर गरे । “पहिले सामुदायिक वन मातहतमा तालतलैया थियो । अब सबै तालतलैया स्थानीय तहले ठेक्का दिने गरेका छन्” उनले भने, “आम्दानीका लागि प्राकृतिक स्रोतलाई ठेक्का दिने गरे पनि त्यसको संरक्षणमा स्थानीय सरकारको चासो छैन ।” कतिपय तालतलैया ठेक्काको बक्यौता रकम नै पालिकाहरुले ठेकेदारबाट उठाउन नसकिरहेको चौधरीको भनाइ छ ।
बाजुरामा स्याउ पाक्ने बेलामा सडक बन्द, चिन्तामा किसान
बाजुरा । स्याउ पाक्ने बेलामा सडक बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्बी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन् । असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए । उनले भने, “अब बारीमा स्याउ पाक्ने बेला भयो । गाउँमा बजार छैन । स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ ।” समयमै यो सडक सुचारु भएन भने विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताए । हिमाली १८ स्वामिकार्तिक ३५ जगनाथमा ४५ बुढीनन्दामा ५० खप्तड छेडेदहमा –१ बुढीगङ्गा नगरपालिका –१ गरी एकसय पचास परिवारले स्याउ खेती गर्दैआएका छन् । यता गौमुल गाउाँपालिमामा एक समूहमार्फत स्याउ खेती सुरु गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा यहाँ एक हजार छसय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । झण्डै पाँचसय पन्ध्र क्वीन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए । बाजुरामा फुजि, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ चारसय दश हेक्टर जमिनमा स्याउ रोपिएको छ । त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताए । यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् । मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् । मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पीच भएको छैन् । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् । जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए ।
बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन
बाँके । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ र प्रदेश सरकारका कार्यालयहरुमार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन भएकाे छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले दिएकाे जानकारी अनुसार बाँकेमा गत आर्थिक वर्षमा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको बताए । उनले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै गत आर्थिक वर्षमा तीन अर्ब ६ करोड एक लाख ९४ हजार ३७२ रुपियाँले वृद्धि भई २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन भएको बताए । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लामा राजस्व सङ्कलन गर्ने कार्यालयहरु मध्ये सबैभन्दा बढी राजस्व नेपालगन्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ । सो कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले डिजेल आयातबाट मात्रै छ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सारलेले आव २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । बाँके जिल्लामा दोस्रो सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय आन्तरिक राजस्व कार्यालय रहेको जनाउँदै कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीले सो कार्यालयले गत आवमा आठ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपियाँ सङ्कलन गरेको बताए । सो कार्यालयले अघिल्लो आव २०८०/८१ मा सात अर्ब ६९ करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । जिल्लामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्दै आएका नेपालगन्ज भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय दुबैको राजस्व सङ्कलनमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ । भन्सार कार्यालयले गत आवमा राजस्व सङ्कलनमा दुई अर्बभन्दा बढी वृद्धि गरेको छ भने आन्तरिक राजस्व कार्यालयले गत आवमा अघिल्लो आवको तुलनामा ७४ करोडभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।
म्याग्दीमा घर खर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो) ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्ष अघिसम्म जङ्गलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए । ‘बर्खेबाली लगाएर फुर्सदिला बनेका गाउँलेहरू साउन र भदौ महिनामा दैनिक जसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्’, उनले भने- ‘गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पुर्याउँछन् ।’ दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताए । दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन् । ‘कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ’, उनले भनिन्, ‘फुर्सदको समय सदुपयोगका साथै घर खर्च चलाउने आम्दानी जुटाएका छौँ ।’ दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताए । ‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ’, उनले भने, ‘गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरो आएको छ । माग धान्न सकिएको छैन ।’ समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रूपमा उम्रन्छ । निहुरोको मुना छिप्पिएपछि सोतर हुन्छ । मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रूपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार/पाँच दिनभित्र ठुलो झ्याङ भएको निउरो बन्छ । निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोसिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए । स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ ।
दुई दशकमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए । उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले उल्लेख गरे । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । प्रमुख डा.सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । ‘सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ’, उनले भने- ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।’ उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे । हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले रु १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि रु २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयका प्रमुख डा.सापकोटाले जानकारी दिए । उनले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताए । ‘डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो’, डा.सापकोटाले भने- ‘कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा सङ्घीय सरकारसँग यसको दिगोपना एवं कानुनी प्रावधानका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्नेछौँ ।’
प्रदेश-१ मा वाइसिएलकाे श्रमदान: वृक्षारोपणदेखि बाँध निर्माणसम्म
विराटनगर । नेकपा (माओवादी केन्द्र) सहायक युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले गत साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाइसिएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ । अभियान अन्तर्गत वाइसिएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए । त्यसैगरी, झापामा पनि वाइसिएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेकाे छ । स्थानीय पार्टी नेता–कार्यकर्तासहित २७० जनाभन्दा बढीको सक्रियतामा २५० भन्दा बढी बिरुवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो । खोटाङमा वाइसिएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ । यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता ५०० भन्दा बढी बिरुवा रोपिएको छ । वाइसिएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए । तीन दिनसम्म चलेको श्रमदानमा ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो । उदयपुरमा वाइसिएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ । बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको वाइसिएल उदयपुरका जिल्ला सचिव इश्वर राईले जानकारी दिए । पाँचथर जिल्लामा वाइसिएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रमसम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । जसले संगठनको निरन्तर क्रियाशीलतालाई दर्शाउँछ । समग्रमा वाइसिएल नेपालले प्रदेश १ मा आफ्नो ‘श्रम तथा उत्पादन’ अभियानमार्फत सामाजिक कार्यहरूमा दर्बिलो उपस्थिति जनाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सफल देखिएको छ ।
नेपाल–चीन जाेड्ने रसुवागढीमा बेलीब्रिज निर्माण सुरु
रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएकाे थियो । चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने काम सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साबिकको स्थानलाई यथावत् छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्त्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साबिक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
बाढीको जोखिममा रहेको बस्ति जोगाउन बाँध निर्माण गर्दै वाइसिएल उदयपुर
उदयपुर । बाढीको जोखिममा रहेको उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह राईटोलका ६५ घर जोगाउन नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, उदयपुर तटबाँध निर्माणमा जुटेको छ । वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर हिजो (शनिबार) देखि बाँध निर्माणमा जुटेको हो । वाइसिएल उदयपुरका जिल्ला सचिव इश्वर राईका अनुसार राईटोल गाउँ नजिकै रहेको फोरोडिया खोलाको जोखिममा बस्ति र खेती योग्य जमिन परेको जानकारी पाएपछि बाँध निर्माणमा जुटेको बताए । उनले भने, ‘झण्डै तीनसय मिटर बाँध निर्माण गर्नुपर्ने छ । आज (आइतबार) पनि माओवादी केन्द्र उदयपुरका नेता कार्यकर्ता, वाइसिएलको टोली तटबाँध निर्माणमा परिचालन हुनेछ ।’ जिल्ला सचिव राईले सिमेन्टका बोरामा बालुवा पोको पारेर बाँध निर्माण गरिएको बताए । उनले भने, ‘बाढीको जोखिममा रहेको बस्ति जोगाउन स्थानीय सरकारले पनि वेवास्ता गरेको गुनासो हामीलाई आएपछि बाँध निर्माण गरेका हौं ।’ बाँध निर्माणमा माओवादी केन्द्र उदयपुरका जिल्ला सदस्य रुद्र अधिकारी, त्रियुगा नगरपालिकाका इन्चार्ज विमल किराती, माओवादी केन्द्र त्रियुगा नगर कमिटीका अध्यक्ष मानबहादुर राई लगायतको पनि उपस्थिति रहेको थियो । ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा पनि जुटेको छ । वाइसिएल कोशी प्रदेश सहसचिव तथा उदयपुरका जिल्ला संयोजक ईश्वर पोखरेल (चेतन)ले वाइसिएल केन्द्रको कार्यक्रमअनुसार सार्वजनिक स्थलको सरसफाइ, वृक्षरोपण, बाँध निर्माण तथा श्रमदानका विभिन्न कामहरूमा निरन्तर रुपमा भइरहेको जानकारी दिए । उनले भने, ‘केन्द्रको अभियान उद्घाटनको क्रममा गाईघाटस्थित थारुटह रंगशालापरिसर सरसफाइ, त्रियुगा नगरपालिका– १४ स्थित बैथुमका एलिस्टेसन फलफूलका बिरुवा रोपणसँगै सरसफाइ र त्रियुगा–६ कै चुरिया मन्दिर सरसफाइ तथा फूल रोपण गरिएको छ ।’ साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने वाइसिएलको कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत अब उदयपुरका पालिकाहरूमा केन्द्रित हुनेछ । जसमा पालिकाहरूमा श्रम र उत्पादनमा आधारित विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिइएको छ । उदयपुरमा प्रकृतिजन्य विपत् व्यवस्थापनमा वाइसिएललाई जोड्न वाइसिएल उदयपुरका जिल्ला सचिव ईश्वर राईकै नेतृत्वमा विपत् व्यवस्थापन एसटिएफ गठन भएको पनि पोखरेलको भनाइ छ । यता सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध पनि वाइसिएलले निगरानी बढाएको जानकारी दिइएको छ ।
सुनकाेशीकाे पुल बगेकाे एक वर्षपछि सामान ढुवानी गर्न घिर्नी
खोटाङ । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि बिकल्पमा बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाइघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै बिकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो । निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिन्टरमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले जानकारी दिए। रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उनको भनाइ छ । आवश्यक परेमा दैनिक उपभोग्य सामान पनि तार्न सकिने रेग्मीले बताए। निर्माण व्यावसायी रेग्मीका अनुसार घिर्नी जडान गरेर साउन ८ गते परीक्षण गरिएको छ । इटहरीबाट ल्याएर प्राविधिकहरुले परीक्षण गरेर सञ्चालनको लागि अरुलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनमा घिर्नी पूर्णरुपमा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । सुनकोशीमा हिउँदमा मात्र बेलिब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रेका लागि आवश्यक सामान ल्याउन कुनै बिकल्प नभएपछि घिर्नी जडान गरिएको उनले बताए। खोटाङको खोटेहाङ गाउँपालिका –९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका –५ आँपटार जोड्ने फोक्सिन्टारको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल गत असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर० अन्तर्गत फोक्सिङटारमा बनेको पुल बगाएपछि पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो । कोशीमा पानीको बहाब बढेपछि जेठ ५ गतेबाट पूर्णरुपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको थियो। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दूरीको बाटो हो । फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पु:न फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । हाल घुर्मी–कटारीको बाटोबाट तराइका जिल्लामा सवारीसाधन आवत–जावत हुँदैआएको छ । बाटो लामोहुँदा विशेषगरी निर्माणसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा कष्ट हुने गरेको छ । निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुन: अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । हाल बर्खामा कुनै बिकल्प नभएपछि घिर्नी जडान गर्नुपर्ने बाध्यता छ । फोक्सिन्टारमा पुल पुन: निर्माणका लागि संघीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर हालसम्म ठेक्का भने खुलेको छैन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग कालोपत्रेको काम निर्माण कम्पनीले नगरेपछि ठेक्का तोडेर फोक्सिन्टार–महुरे सडक दुई खण्डमा पुन: नयाँ ठेक्का लागेको छ । अहिले फोक्सिन्टार–महुरे सडक हिलाम्मे रहेको छ । दिक्तेलबाट रेग्मीटारहुँदै फोक्सिन्टार जाने अर्को छोटो सडक खानीडाँडा–रेग्मीटार सडक पनि बर्षाको कारण ठाउँ ठाउँमा भत्किएपछि पूर्णरुपमा बन्द छ ।
भाेजपुरमा आम्दानीको स्रोत बन्दै ‘अकबरे’
भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताइन् । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लागेको उनको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले बारीबाट किनेर लैजाने गरेको सुनाए । “अकबरे खुर्सानी बोखिम क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको श्रोत बनेको छ । बजारको झन्झट पनि छैन । मूल्य पनि राम्रै छ । त्यसले हामी यसमा आकर्षित भएका हौँ”, उनले भने । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए । समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उनले बताए । पौवादुङमाका एक किसानले न्यूनतम रु एक लाख ५० हजारदेखि रु सात लाखसम्म खुर्सानी खेतीबाट भित्र्याउने गरेको पौवादुङमा—४ बास्तिमका ध्रुव राईले जानकारी दिए । “खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि मैले पनि २० रोपनीमा खुर्सानी विस्तार गरेको छु । यो वर्ष रु आठदेखि दश लाख आम्दानी गर्ने लक्ष्य छ”, उनले भने, “बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानी खेतीबाट गत वर्ष रु पाँच लाख आम्दानी गरेको थिए ।” गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब रु २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती भइरहेको बताए । “खेती विस्तार भइरहेको छ । रोग, किराको प्रकोप नियन्त्रण गर्न सकिएमा यस वर्षरु २८ देखि २९ करोडको हाराहारीमा खुर्सानी उत्पादन हुने आङ्कलन छ”, उनले भने । यहाँका पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, बिर्तामोड, काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरनमा सर्पदंशबाट एक महिलाको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।
उदयपुरकाे कटारीमा ३० केजी गाँजासहित एक महिला पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ बबलाबाट घरमै भण्डारण गरि राखिएको अवस्थामा ३० किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार सोही स्थान बस्ने वर्ष ४५ कि देवकुमारी थापा मगर पक्राउ परेकी हुन् । पक्राउ परेकी थापा मगरलाई प्रतिबन्धित लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
राैतहटमा करेन्ट लागेर एककाे मृत्यु
रौतहट । रौतहटकाे माधव नारायण नगरपालिका–४ मानपुरमा बुधवार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय शिवनगरका सई राजेश सिंहका अनुसार स्थानीय ४० वर्षीय रामबाबु मुखियाको मृत्यु भएकाे हाे । उनका अनुसार सिचाँइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट लाग्दा गम्भीर भएका छन् । त्यसपछि उपचारकाे लागि प्रादेशिक अस्पताल गौरमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

