सुनकाेशीकाे पुल बगेकाे एक वर्षपछि सामान ढुवानी गर्न घिर्नी
खोटाङ । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि बिकल्पमा बेलिब्रिज जडान गरिएको थियो ।
नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाइघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै बिकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो ।
निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिन्टरमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले जानकारी दिए।
रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उनको भनाइ छ । आवश्यक परेमा दैनिक उपभोग्य सामान पनि तार्न सकिने रेग्मीले बताए।
निर्माण व्यावसायी रेग्मीका अनुसार घिर्नी जडान गरेर साउन ८ गते परीक्षण गरिएको छ । इटहरीबाट ल्याएर प्राविधिकहरुले परीक्षण गरेर सञ्चालनको लागि अरुलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनमा घिर्नी पूर्णरुपमा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । सुनकोशीमा हिउँदमा मात्र बेलिब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रेका लागि आवश्यक सामान ल्याउन कुनै बिकल्प नभएपछि घिर्नी जडान गरिएको उनले बताए।
खोटाङको खोटेहाङ गाउँपालिका –९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका –५ आँपटार जोड्ने फोक्सिन्टारको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल गत असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर० अन्तर्गत फोक्सिङटारमा बनेको पुल बगाएपछि पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो ।
कोशीमा पानीको बहाब बढेपछि जेठ ५ गतेबाट पूर्णरुपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको थियो। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दूरीको बाटो हो ।
फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पु:न फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । हाल घुर्मी–कटारीको बाटोबाट तराइका जिल्लामा सवारीसाधन आवत–जावत हुँदैआएको छ । बाटो लामोहुँदा विशेषगरी निर्माणसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा कष्ट हुने गरेको छ ।
निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुन: अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । हाल बर्खामा कुनै बिकल्प नभएपछि घिर्नी जडान गर्नुपर्ने बाध्यता छ ।
फोक्सिन्टारमा पुल पुन: निर्माणका लागि संघीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर हालसम्म ठेक्का भने खुलेको छैन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग कालोपत्रेको काम निर्माण कम्पनीले नगरेपछि ठेक्का तोडेर फोक्सिन्टार–महुरे सडक दुई खण्डमा पुन: नयाँ ठेक्का लागेको छ ।
अहिले फोक्सिन्टार–महुरे सडक हिलाम्मे रहेको छ । दिक्तेलबाट रेग्मीटारहुँदै फोक्सिन्टार जाने अर्को छोटो सडक खानीडाँडा–रेग्मीटार सडक पनि बर्षाको कारण ठाउँ ठाउँमा भत्किएपछि पूर्णरुपमा बन्द छ ।
पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’
झापा । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो । मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो । भारतबाट सीमा छिचोलेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौँडामा रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानका रूपमा परिचित रहेको स्थानीय बताउँछन् । पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जङ्गल पर्दछ । सोही जङ्गलबाट प्रत्येक साँझ ६० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् । पार्कमा रोपिएका फूल फुल्ने एक सय प्रजातिका बिरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक बिरुवा पनि प्रकृति पार्कमा हुर्काइएको छ । भारतबाट आहारको खोजीमा बगरैबगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमा अलमलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ सहित हात्तीमैत्री बिरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार सो स्थानमा अम्बकसहित फलफूलका बिरुवासमेत हुर्काइएका छन् । चराचुरुङ्गीको वासस्थान र संरक्षणका लागि फलफूलका बिरुवा पार्कमा लगाइएका वडाध्यक्ष कार्कीले उल्लेख गरे । बाहुनडाँगी क्षेत्रमा बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेषलगायत दुर्लभ चराको वासस्थान भएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए । उनअनुसार प्रकृति पार्कमा पुगेपछि पर्यटकले रमाइलो मात्र होइन, मानव(हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् । भारतको आसामबाट पश्चिम बङ्गालको सुकुना जङ्गल हुँदै कोशी नदी किनारको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौँडा पार्कमा आउने भएकाले पर्यटकले अवलोकन गर्न पाउने वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताए । हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मीयाममा घुम्न आउने पर्यटकको सङ्ख्या बढी हुने उनको भनाइ छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताए । “यहाँको पार्क घुम्न र हात्तीका बारेमा विस्तृतमा बुझ्न नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतबाट समेत पर्यटकहरू आउन थालेका छन्”, उनले भने, “बाहुनडाँगी भन्ने बित्तिकै हात्तीको समस्या भएको ठाउँ हो भन्ने भाष्य बनिसकेको छ । हामी यस क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले प्रकृति पार्क पर्यटनका लागि नयाँ गन्तव्य र आकर्षण केन्दै बन्दै गएको छ ।” पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा वनभोज मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताए । गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचना बगाएर रु १३ लाखभन्दा बढी क्षति पुर्याएको उनले जानकारी दिए । “सुरुसुरुमा मेचीको बगरमा पार्क बनाउँदा के चल्छ होला जस्तो लाग्थ्यो”, राईले भने, “अहिले हामीले पनि पाहुना र साथीभाइलाई यही पार्कमा घुमाउन ल्याउने गरेका छौँ । केही दिनअघि भारतको कोलकाताबाट बङ्गालीभाषी पर्यटकको समूह पार्कमा घुम्न आएको थियो ।” स्वच्छ पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावक पनि आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती आउने गरेका स्थानीय बताउँछन् । मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र बिहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ । भारतबाट साँझ पर्ने बित्तिकै जङ्गली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र बिहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयले जनाएका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनुपर्ने यहाँ आउने पर्यटकले जोड दिएका छन् । “मेचीको बगरमा ६० देखि १०० वटाको सङ्ख्यामा आउने हात्तीको बथान हेर्ने र फोटो खिच्ने इच्छा थियो”, बिर्तामोडबाट प्रकृति पार्कमा घुम्न आउनुभएका वैभव न्यौपानेले भने, “बजार र बस्तीबाट टाढा भएकाले पार्कमा हात्ती आउला भन्ने डरले बेलुकासम्म बस्ने आँटै आएन ।” पार्कमा पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहक थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनः निर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । भारतसँगको खुला सिमाना र जङ्गली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।
‘बालेन एआईका नेता हुन्, जनाताका हाेइनन्: हर्क साम्पाङ
सुनसरी । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका हर्क साम्पाङ अहिले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा आक्रामक प्रचारमा छन् । उनले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले आफ्ना प्रतिस्पर्धीमाथि कडा टिप्पणी गरेका छन। घरदैलो अभियानबाट उत्साहित देखिएका साम्पाङ भन्छन्, “काम गर्ने मान्छेले नै भोट पाउँछ। यहाँका ८०–९० प्रतिशत जनता हाम्रो पक्षमा छन्, म ढुक्कले जित्छु।” झापा–५ बाट उम्मेदवार बनेका बालेन शाहप्रति उनी विशेष आक्रामक देखिए। “बालेन एआईद्वारा स्थापित नेता हुन्। एआई रियालिटी होइन,” उनले भने, “गरिब र दुःखीको पक्षमा उहाँ कहिल्यै उभिनुभएन। काठमाडौँको बजेटसमेत खर्च गर्न नसक्ने मान्छेले देश बनाउने?” उनले थप्दै भने-झापा-५ बालेन दिने भाेट रञ्जित तामाङलाई दिए राम्राे हुन्छ। इटहरीको सभामा बालेनले “धरानलाई पानी खुवाउने” उद्घोष गरेको विषयमा साम्पाङले व्यङ्ग्य गरे— “पानी भनेको एच–टु–ओ को मोलिक्युल मात्रै थाहा होला। काठमाडौँको समस्या समाधान गर्न नसक्नेले धरानलाई के पानी खुवाउने?” उनले आगामी चुनावमा ठूला नेताहरू पराजित हुने दाबी गर्दै भने, “बालेन पनि हार्नुहुन्छ, केपी ओली पनि हार्नुहुन्छ। जित्ने श्रम संस्कृति र नेपाली कम्युनिस्ट पार्टीमध्ये एउटा हाे।”
मोरङ–५ मा शिवकुमार मण्डल: "विकास र पहिचानको संवाहक"
विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ। नेकपा (माओवादी केन्द्र) का हस्ती एवं पूर्वमन्त्री शिवकुमार मण्डल को पक्षमा यसपटक अभूतपूर्व जनसमर्थन देखिएको छ। मोरङ–५ का मतदाताहरूका अनुसार शिवकुमार मण्डल केवल एक नेता मात्र नभई यस क्षेत्रका उत्पीडित, दलित र पिछडिएका समुदायको अधिकारका लागि संसदमा निरन्तर आवाज उठाउने भरोसायोग्य पात्र हुन्। उनको सरल जीवनशैली र जनतासँगको प्रत्यक्ष पहुँचले गर्दा गाउँगाउँमा उनको लोकप्रियता चुलिएको छ। किन चुन्ने शिवकुमार मण्डललाई ? १. पूर्वाधार विकासमा क्रान्ति: मण्डलले आफ्नो अघिल्लो कार्यकालमा यस क्षेत्रका ग्रामीण सडकको स्तरोन्नति, पुल पुलेसा निर्माण र विद्युतीकरणमा खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। २. कृषि र सिँचाइ: मोरङ–५ का किसानहरूका लागि सिँचाइ सुविधा र मलखादको उपलब्धताका लागि उनले गरेका पहलहरू अहिले चुनावी चर्चाको मुख्य विषय बनेका छन्। ३. मधेस र पहाडको सेतु: उनी मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव कायम राख्ने र सबैलाई समान रूपमा समेट्न सक्ने साझा नेताका रूपमा स्थापित छन्। घरदैलोमा व्यापक उपस्थिति चुनावी अभियानका क्रममा मण्डल जहाँ पुग्छन्, त्यहाँ युवाहरूको ठूलो पंक्तिले उनलाई स्वागत गर्ने गरेको छ। "हाम्रो क्षेत्रको विकासका लागि अनुभव र भिजन भएको नेता चाहिन्छ, र त्यो नेता शिवकुमार मण्डल नै हुन्," एक स्थानीय युवाले बताए। मण्डलको बढ्दो प्रभावका कारण विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेका छन्। अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लर्कोले मण्डलको जितको सुनिश्चितता झनै बढाएको छ। मोरङ–५ को समग्र विकास र समृद्धिको सपना साकार पार्न यसपटकको निर्वाचनमा शिवकुमार मण्डल नै सबैको रोजाइमा पर्ने देखिएको छ।
विपद् पीडितलाई तत्काल राहत दिन काेशी माओवादीकाे माग
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले अविरल वर्षाका कारण प्रदेशभर भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पीडितहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ । पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) द्वारा मंगलबार जारी विज्ञप्तिमा माओवादी केन्द्रले विपद्को घडीमा प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको र सुतेर बसेको आरोप खेपिरहेको भन्दै कडा आलोचना गरेको छ । “यस दुःखद घडीमा हाम्रो पार्टी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ । गत शनिबारको वर्षा, बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ४५ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् । विज्ञप्तिमा भने इलाममा ३८ सहित प्रदेशभर ४५ जनाभन्दा बढी नागरिकको ज्यान गएको, दर्जनौँ घाइते र हजारौँ विस्थापित भएको उल्लेख गरिएको छ । माओवादी केन्द्रले प्रभावित क्षेत्रमा तत्काल त्रिपाल, कम्बल, खानेकुरा, औषधि लगायतका अत्यावश्यक राहत सामग्रीहरू युद्धस्तरमा पुर्याउन र हेलिकप्टरमार्फत इलाम लगायतका क्षेत्रमा राहत पु-याउने भनिएको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति तथा सहयोगको घोषणा गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिको यकिन गरी पीडितहरूलाई उचित क्षतिपूर्ति र विस्थापितहरूको सुरक्षित स्थानमा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था होस् ।” भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न दीर्घकालीन योजना बनाउन र विपद् व्यवस्थापनका लागि थप सक्रिय तथा जनउत्तरदायी संयन्त्र स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । अन्त्यमा, माओवादी केन्द्रले सरकारलाई जनउत्तरदायी भई तत्काल उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन आह्वान गरेको छ ।

