झापामा वैशाखयता ६ किसानको करेन्ट लागेर मृत्यु
झापा । सिँचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा विद्युतीय मोटर र बोरिङमार्फत खेतमा पानी लगाउने क्रममा झापामा वैशाखयता ६ किसानको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसमध्ये चार जनाको मृत्यु पछिल्लो दुई महिनामा भएको हो । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लाको ४० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन । यस्ता क्षेत्रमा किसानहरू आकाशे पानीको भरमा वा विद्युतीय मोटरबाट सिँचाइ गर्न बाध्य छन् ।
“यो वर्ष वर्षा नहुँदा मोटरको प्रयोग बढ्यो, तर विद्युतीय सामग्रीको सुरक्षित प्रयोगबारे चेतनाको कमीले ज्यान गुमाउनुपरेको छ,” विष्टले भने । “समयमा पानी नपर्दा र बुढो बीउ रोप्दा उत्पादनमा ३ प्रतिशत कमी हुने अनुमान छ ।”
गौरादहका किसान इन्द्र पोखरेलले सरकारी नीतिका कारण जोखिम बढेको बताए । “सरकारले मोटर दिन्छ, तर बिजुलीको पोल खेतसम्म पुर्याउँदैन । बाँसको पोलले बिजुली तान्दा करेन्ट लाग्ने खतरा हुन्छ,” उनले भने । “जोखिम मोल्दा पनि धानले मूल्य पाउँदैन, मल पनि समयमा पाइँदैन ।”
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले सचेतनाको अभाव मुख्य कारण रहेको बताए । “करेन्ट प्रवाह र यसको जोखिमबारे किसानलाई जानकारी दिन जरुरी छ,” उनले भने ।
पर्साको ठोरीमा पाटे बाघ मृत फेला
पर्सा । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्ती नजिकै भारततर्फ जाने बाटोमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आइतबार बिहान ७ः३० बजे आसपास ठोरीको मालीबस्तीस्थित हुलाकी सडकबाट करिब ५०० मिटर दक्षिणतर्फ पाटे बाघ मृत भेटिएको जानकारी दिए । ठोरीका स्थानीयबाट सूचना पाएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धानमा लागेको उनले बताए । साथै पर्सा राष्ट्रिय निकुञ्जका आधारभार र नेपाली सबुज गणका टोलीहरू पनि आवश्यक अनुसन्धानका लागि घटनास्थल पुगेका छन् । पर्सा प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकीबाट करिब चार किलोमिटर टाढा पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत पाटे बाघको मुचुल्का तयार गरी शव परीक्षणका लागि निकुञ्ज लैजान लागेको जानकारी दिए । बाघको शरीरमा सामान्य चोटपटक देखिएको तर ती चोटहरू जुधाइका कारण लागेका हुन् कि अन्य कुनै कारणले भए भन्ने कुरा शव परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ ।
मादी नदीमा पाैडी खेल्नेक्रममा एक सरकारी कर्मचारी बेपत्ता
तनहुँ । तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । नेपाल टेलिकम दमौली शाखामा कार्यरत सवारी चालक ४० वर्षीय हरी परियार शनिबार दिउँसो व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । व्यास नगरपालिका–१ अम्रेनी निवासी परियार साथीहरूसँग वनभोज कार्यक्रममा सहभागी भएर पौडी खेल्न गएका थिए । नदीले बगाएर बेपत्ता भएका उनलाई खोज्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखे पनि हालसम्म फेला पार्न सकिएको छैन । प्रहरीका अनुसार परियारसँगै सोही कार्यालयमा कार्यरत टेक्निसियन २२ वर्षीय शिखर पौडेल, टेक्निसियन ३१ वर्षीय विशेश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ वर्षीय शुकबहादुर गुरुङ र सवारी चालक ४० वर्षीय पवनबहादुर कुबाल वनभोजपछि नदीमा पौडी खेल्न गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अलैँचीको मूल्यवृद्धिपछि भोजपुरका किसान खेती विस्तारमा जुटे
भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान व्यावसायिक खेती विस्तारमा जुटेका छन् । गत वर्ष प्रतिमन रु एक लाखदेखि रु एक लाख दुई हजारसम्म बिक्री भएको अलैँचीले किसानलाई उत्साहित बनाएको छ । टेम्केमैयुङ–५ का शिवकुमार विष्टका अनुसार मूल्यवृद्धिपछि किसानले नयाँ बगैँचा विस्तार र पुराना बगैँचाको संरक्षणमा ध्यान दिएका छन् । परम्परागत बाली हटाएर अलैँचीखेतीमा फर्किएका किसानलाई बजारको राम्रो मूल्यले थप प्रोत्साहन गरेको अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । “मूल्यवृद्धिसँगै किसान खेती विस्तारमा जुटेका छन्, तर रोग र कीराको प्रकोपले चुनौती थपिएको छ,” अध्यक्ष विष्टले भने, “राज्यले प्राविधिक सहयोग र प्रत्येक अलैँची जोनमा कृषि प्राविधिक उपलब्ध गराएमा किसानले अझ राम्रो आम्दानी गर्न सक्थे ।” माटो परीक्षण र नयाँ नर्सरी स्थापनाले अलैँचीखेतीलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । टेम्केमैयुङ–५ मा मात्र करिब १५० किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बर शाही र जिर्मले जातको अलैँचीखेती हुन्छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्गथर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरमा यो खेती बढी हुने गरेको छ ।
पानीको बहाव बढेपछी सप्तकोशीमा २८ ढोका खोलियो
सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको हो । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।
सर्लाहीको मनुसमारा खोलामा डुबेर युवतीको मृत्यु
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा मनुसमारा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मृतक युवती बिकाउ बैठाकी १६ वर्षीया छोरी रङ्गिला बैठा हुन् । शनिबार साँझ घाँस काटेर घर फर्कने क्रममा खोला तर्ने बेला चिप्लिएर लड्दा उनको जलकुम्भीमा टाउको अड्किएको थियो । सोही कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन, शिक्षक रित्तो विद्यालयमा
पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदा पर्वतका ३१ सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका यी विद्यालयहरूमा विद्यार्थी नहुँदा पनि समायोजन प्रक्रिया सुरु गरिएको छैन । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार, जिल्लामा २७२ सामुदायिक विद्यालय छन् । विद्यार्थीविहीन हुनेमा अधिकांश आधारभूत र प्राथमिक तहका छन्, तर फलेवास नगरपालिका–५ को ध्रुवनमुना माध्यमिक विद्यालय पनि समावेश छ । पालिकाअनुसार विद्यार्थीविहीन विद्यालयको सङ्ख्या यस्तो छ: मोदी गाउँपालिकामा ९, कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, विहादी गाउँपालिकामा २ र पैयूँ गाउँपालिकामा २, कुश्मा नगरपालिकामा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि र जनता प्रावि छन् । जलजलामा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा र स्वस्ती आधारभूत विद्यालय धाइरीड छन् । फलेवासमा श्री बाल प्रावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन् । पैयूँमा बालज्योति प्रावि र बालनयन प्रावि, विहादीमा जनसेवा प्रावि वहाकीठाँटी र बालज्योति प्रावि रानीपानी छन्। मोदीमा सिद्ध आधारभूत, कृष्ण आधारभूत, जनप्रकाश आधारभूत, हरि आधारभूत, सरस्वती आधारभूत, बालकल्याण प्रावि, भूमे आधारभूत, लक्ष्मी आधारभूत, दुर्गाभवानी आधारभूत र सिद्धबराह आधारभूत विद्यालय छन् । जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार, विद्यार्थीविहीन विद्यालयमा शिक्षक राखिए पनि स्थानीय तहले समायोजन वा शिक्षक सरुवामा चासो दिएका छैनन् । फलेवासका स्थानीय धर्म पौडेलले स्थानीय सरकारको बेवास्ताले यस्तो अवस्था आएको बताए । फलेवास–२ का वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले भविष्यमा विद्यार्थी आउन सक्ने सम्भावनाले विद्यालय समायोजन नगरेको बताए । तर, रित्ता विद्यालयमा शिक्षक राखेर तलब सुविधा दिँदा बजेटको दुरुपयोग भएको उनको भनाइ छ । कतिपय जनप्रतिनिधिले करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जोगाउन विद्यालय समायोजन नगरेको स्वीकार गरेका छन् । यसले शैक्षिक सुधार र स्रोतको सदुपयोगमा चुनौती थपिएको छ ।
ढोरपाटन सिकार आरक्षमा घोडा सफारीको रौनक
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदै छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय घोडापालकहरूको दैनिकी घोडामा पर्यटक घुमाउनमै बित्छ । पछिल्लो समय ढोरपाटनमा पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायी उत्साहित छन् । यहाँका रङ्गीचङ्गी बुकी फूलहरूको बीचमा घोडा चढेर फोटो खिच्ने, भिडियो बनाउने र टिकटक बनाउने पर्यटकको भीडले व्यवसायीको आम्दानी बढेको छ । ढोरपाटन नगरपालिका-९ का अनिस विकले पर्यटकको चापले दैनिक तीन हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए । “पहिले मुस्किलले दैनिक एक हजार कमाइ हुन्थ्यो, अहिले बुकी फूलमा घोडा चढ्ने पर्यटक बढेपछि आम्दानी राम्रो छ,” उनले भने । उनका अनुसार घोडा चढेर फोटो र भिडियो बनाउन दुई सय, ढोर बराही दर्शन गर्न पाँच सय र बुकीपाटन पुग्न तीन हजार रुपैयाँसम्म लिने गरिएको छ । घोडाको खानपान खर्च कटाएर दैनिक एकदेखि दुई हजार बचत हुने गरेको छ । स्थानीयले घरवास र घोडा सफारीबाट मुख्य आम्दानी गरिरहेका छन् । असारदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका बुकी फूल हेर्न बुटवल, काठमाडौं, पोखरा, बागलुङलगायतका क्षेत्रबाट पर्यटक आउने गरेका छन् । मङ्सिर-पुसमा हिमपातको मजा लिन आउने पर्यटक पनि उत्तिकै छन् । यहाँ आउने अधिकांश पर्यटक घोडा चढेर बुकीपाटन पुग्न रुचाउँछन् । यद्यपि, घोडापालनमा चुनौती पनि छन् । मैतराम विक, जो दुई घोडा पाल्छन्, भन्छन्, “हिमपातको तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्छ, त्यतिबेला हिँडाउन सकिँदैन । तर, अहिले पर्यटकलाई बुकीपाटन पुर्याएर तीनदेखि चार हजारसम्म कमाइ हुन्छ ।” स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीका अनुसार वर्खायाममा पनि पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फस्टाएको छ । गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा २३ हजार पर्यटक भित्रिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा एक हजारले बढी हो ।
नवलपुरको नारायणी नदी किनारमा वृद्ध महिलाको शव फेला
नवलपुर । गैंडाकोट नगरपालिका–२, नारायणी रिसोर्ट नजिकैको नारायणी नदी किनारमा शुक्रबार एक वृद्ध महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०–६५ वर्षीया ती महिलाको शव घोप्टो अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाएको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरी नायव उपरीक्षक मधु नेपालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
‘सरकारले बुझेन उखु किसानको पीडा’
पश्चिम नवलपरासी । सुस्ताका परमानन्द कहारले उखु बिक्रीबाट प्राप्त हुने सरकारी अनुदान हरेक वर्ष बचत गर्दै आएका थिए । छोरीको बिहेका लागि खर्च जुटाउन उनले केही वर्षदेखि यो रकम खर्च गरेका थिएनन् । तर, सरकारले अनुदान कटौती गरेको खबर ढिलो गरी थाहा पाएका कहारलाई अब थप खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताएको छ । “सरकारमा भएकाहरूले किसानको पीडा बुझिदिए हुन्थ्यो,” उनि भन्छन् । उखु बेचेको सात महिना बितिसक्दा पनि गत वर्षको अनुदान रकम कहारको खातामा जम्मा भएको छैन । यो वर्षबाट अनुदान रकम आधा कटौती भएपछि उनि उखुखेती छाडेर केराखेती गर्ने सोचमा छन् । “अब घरखर्च कसरी चलाउने ? छोरीको बिहे कसरी गर्ने ? मल र बीउको खर्च हरेक वर्ष बढिरहेको छ,” कहारले दुखेसो पोखे । कहारजस्तै नवलपरासीको प्रतापपुर र सुस्ताका सयौँ उखु किसान अनुदान कटौतीको निर्णयले चिन्तित छन् । सरकारले बजेट अभाव र स्रोत जुटाउन नसकिएको भन्दै उखुको प्रतिक्विन्टल अनुदान ७० रुपियाँबाट घटाएर ३५ रुपियाँमा झारेको छ । त्यसमाथि, गत आर्थिक वर्षको अनुदानबापतको १ अर्ब ६० करोड रुपियाँ अझै निकासा भएको छैन, जसमध्ये नवलपरासीका किसानले मात्रै १५ करोडभन्दा बढी रकम पाउन बाँकी छ । सुस्ताकै अर्का किसान गोरख हरिजनले सरकारको किसानप्रतिको दृष्टिकोण बदलिनुपर्ने बताउँछन् । “नगदे बालीको रूपमा रहेको उखुखेतीका लागि न त विशेष व्यवस्था छ, न मल–बीउको सहज आपूर्ति । उद्योगले सधैँ सताउँछन्, अब सरकारले पनि दुख दिन थाल्यो । खेती गर्नै नसकिने अवस्था भयो,” उनले गुनासो गरे । किसानको आन्दोलन सरकारले अनुदान कटौती गरेपछि र गत वर्षको बक्यौता रकम भुक्तानी नगरेपछि उखु किसानहरू आन्दोलित भएका छन् । उखु उत्पादक महासङ्घको आह्वानमा तराईका १३ जिल्लाका किसानहरूले आन्दोलन थालेका छन् । उनीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् भने चिनी उद्योगअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । महासङ्घका लुम्बिनी प्रदेश संयोजक उमेशचन्द्र यादवले भदौबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताए । “कटौती भएको अनुदान स्वीकार्य छैन । गत वर्षको बक्यौता रकम तत्काल निकासा हुनुपर्छ,” यादवले भने । उखु उद्योगहरूबाट भुक्तानीमा केही सुधार भएपछि किसानहरू पुनः उखुखेतीतर्फ फर्किएका थिए, तर अनुदान कटौतीले उनीहरू निराश बनेका छन् । उखु उद्योग र अनुदानको तर्क महासङ्घका अनुसार, देशभरका १३ चिनी उद्योगबाट चिनी र मोलासिस बिक्रीको राजस्वको आधा रकमले मात्रै किसानलाई अनुदान वितरण गर्न पर्याप्त हुन्छ । यस्तोमा अनुदान कटौतीको निर्णय मान्य नहुने उनीहरूको तर्क छ । नवलपरासीको सुस्ता र प्रतापपुरका अधिकांश किसान उखु र केराखेतीमा आश्रित छन् । महासङ्घका अनुसार, यहाँ वार्षिक ३२ लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेकोमा अहिले २० लाख क्विन्टलमा झरेको छ । उखुको अभावमा जिल्लाका तीन चिनी उद्योगले अन्य जिल्लाबाट उखु ल्याएर क्रसिङ गर्नुपरेको छ ।
धार्मिक र पर्यटकीय सम्भावनाले भरपूर जलजला ओझेलमा
म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा अवस्थित जलजला क्षेत्र धार्मिक र पर्यटकीय सम्भावनाले भरपूर भएर पनि प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा परेको छ । पर्वतको जलजला र मोदी गाउँपालिका तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको यो क्षेत्रलाई हिन्दु धर्मग्रन्थहरूमा हम्पाल, कालञ्जर र मृगस्थलीका रूपमा उल्लेख गरिएको छ । प्रा. डा. जगन्नाथ रेग्मीका अनुसार अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवत जस्ता ग्रन्थहरूमा जलजलाको महत्त्व उल्लेख छ । तर, प्रचारप्रसारको कमी, दुर्गम भूगोल, सडक असुविधा, मानव बस्तीबाट टाढा हुनु र लिखित दस्तावेजको अभावले यो क्षेत्र पछाडि परेको छ । यहाँका प्राचीन मन्दिर, सत्तल, गुफा र ओडारहरू संरक्षण अभावमा लोप हुने अवस्थामा छन् । धार्मिक ग्रन्थहरूमा जलजलालाई ऋषिमुनिहरूले तपस्या गरेको, जडीबुटी औषधिका रूपमा प्रयोग गरेको, पुण्य प्राप्त हुने, सिद्धि प्राप्त हुने र पिण्ड दानले पितृहरूको सद्गति हुने उल्लेख छ । मोदी गाउँपालिका–४ लेसपारका टीका पुन, जो जलजलामा रेस्टुरेन्ट सञ्चालन गर्छन्, भन्छन्, “जलजलाको सौन्दर्य र धार्मिक महत्त्व स्थानीय स्तरमै सीमित छ, जसले पर्यटक र भक्तजनको आगमन बढ्न सकेको छैन ।” शरद र वसन्त ऋतुमा फाट्टफुट्ट पदयात्री र महायज्ञका बेला भक्तजन आउने गर्छन्, तर अन्य समयमा क्षेत्र सुनसान रहन्छ । समुद्री सतहबाट तीन हजार तीनसय मिटर उचाइमा रहेको जलजलाको खोचबाट अन्नपूर्ण हिमालको दृश्य देखिन्छ । वाइफाई डाँडा (१० मिनेट उकालो) र माटेको लेक (३० मिनेट पदयात्रा) बाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ । यहाँ बोझो, सतुवा, चिराइतो, ब्राह्मी, पाषणभेद, जटामसी, टिम्मुरलगायत जडीबुटी र मृग, डाँफे, मुनाल, कालिज, गिद्ध, दुम्सीजस्ता वन्यजन्तु र पन्छीहरू पाइन्छन् । जलजलालाई म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकाबाट पदमार्गले जोड्छ । पर्वतको लेकफाँट र शालिजाबाट कच्ची सडक पुगेको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले विद्युत् सुविधा पुगेको र धार्मिक महत्त्व उजागर गर्न महायज्ञ सञ्चालन भएको बताए । सङ्घीय सरकारले पर्यटन पूर्वाधारका लागि रु.३ करोडको योजना कार्यान्वयन गर्दैछ। बेनी–लेकफाँट सडक कालोपत्रे भइसकेको छ भने शालिजा–जलजला सडक स्तरोन्नतिका लागि पहल भइरहेको छ । प्रदेश सरकारले माटेको लेक–जलजला पदमार्ग र वाइफाइ डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा आश्रयस्थल निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मुस्ताङ र मुक्तिनाथ जाने तीर्थयात्रीलाई जलजलामा भित्र्याउन धाइरिङको भूमेथानमा पूर्वाधार निर्माण, गौशाला सञ्चालन र धार्मिक कोरिडोरको अवधारणा अघि सारेको बताए । अन्नपूर्ण पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउन घोडेपानी–मोहरेडाँडा–जलजला–माटे–मोदी–बनौ–कुश्मा जोड्ने पदमार्गको प्रवर्द्धनमा जोड दिइएको छ ।
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या
ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । स्थानीयले वडा कार्यालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) मा निरन्तर गुनासो गरिरहेका छन् । दुई साता अघि ललितपुर महानगरपालिकाको वडा नं. १८ र २५ (भैँसेपाटी क्षेत्र) मा तीन सातासम्म धारामा पानी आएन । स्थानीयले दैनिकजसो ललितपुर वितरण केन्द्रमा गुनासो लिएर पुगे । यस्तै, वडा नं. २१ र २२ (बुङ्गमती क्षेत्र) मा पनि लामो समय पानी नआउँदा स्थानीय पानीको मुहान खोज्दै घण्टौँ हिँड्न बाध्य भए । गत वर्षको असोजमा आएको बाढीले खानेपानी पाइपलाइनमा क्षति पुगेपछि समस्या जटिल बनेको हो । धनीमानीले ट्याङ्करको पानी किनेर गुजारा गरे, तर सर्वसाधारण सार्वजनिक कुवा र धारामा लाइन लाग्न बाध्य भए । ललितपुर महानगर–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीका अनुसार, निरन्तर प्रयासपछि २१ दिनमा धारामा पानी ल्याउन सफल भए । वडा–२२ का अध्यक्ष रवीन्द्र महर्जनले बाढीले फर्पिङबाट आउने पानीको पाइपलाइन भत्काउँदा समस्या भएको बताए । उनले दुई सातासम्म पाइप जडानमा खटिएर तत्कालका लागि समस्या समाधान गरेको उल्लेख गरे । समाजसेवी देवेन्द्रकुमार गौतमले खानेपानीजस्तो संवेदनशील विषयमा राज्यको बेवास्ता र आलटालले जनता प्रताडित भएको गुनासो गरे। केयुकेल ललितपुर शाखाका अनुसार, जिल्लामा ५० हजारभन्दा बढी धारा जडान भए पनि मेलम्ची र फर्पिङ स्टिमबाट पानी आपूर्ति प्रभावित हुँदा समस्या भएको हो । शाखा प्रमुख विजय विश्वकर्माले बाढीले पाइपमा क्षति पुगेको र फर्पिङबाट दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल १.२ करोड लिटरमात्र आपूर्ति भइरहेको बताए । महानगरपालिका–१३ कुसुन्तीका धनराज घिमिरेले हप्तामा एक घण्टा मात्र पानी आउने र महिनामा दुई ट्याङ्कर किन्नुपरेको गुनासो गरे । वडाध्यक्ष गणेश केसीले पुराना पाइप टुटफुट भएकाले नयाँ जडानको काम भइरहेको बताए । भैँसेपाटीका रामहरि थापाले पानीको तालिका अनिश्चित भएको र महसुल तिर्नुपरेको गुनासो गरे । केयुकेलका अनुसार, नल्लु खोला, वासुदु, र गोदावरीको चारघरे मुहान व्यवस्थित गर्न सके ललितपुरमा पानीको समस्या समाधान हुने सम्भावना छ ।
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण: बाँकेका गाउँबस्ती जोखिममुक्त
बाँके । राप्ती नदी आसपासका गाउँलाई बाढीको जोखिमबाट जोगाउन आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । यसले बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका करिब एक दर्जन बस्तीलाई सुरक्षित बनाएको छ । नरैनापुरका झिंगदेव वर्माले भने, “पहिले वर्षा लाग्नासाथ गाउँ डुबान हुने डरले सताउँथ्यो । तर, यो वर्ष तटबन्ध बनेपछि ढुक्क भएका छौँ ।” छ दशक नाघेका झिंगदेवले विगतमा बाढीले धेरै बस्ती बगाएको र घरबारविहीन बनाएको सम्झिए । “बुढेसकालमा तटबन्ध बनेको देख्दा खुसी लागेको छ,” उनले थपे । सोही गाउँकी रामप्यारी यादवले पनि बाढीको चिन्ता हटेको बताइन् । “हरेक वर्ष नदीको बहाव बढेर विचल्ली हुने डर हुन्थ्यो । तर, यो वर्ष तटबन्धले राहत दिएको छ,” उनले भनिन् । उनका अनुसार बाढीले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी प्रभावित गर्थ्यो । ‘जनताको तटबन्ध कार्यक्रम’ लमही, दाङले सिमेन्टको पोल, बाँस, बालुवा भरिएका बोरा र जाली प्रयोग गरी ४०० मिटर लामो अस्थायी तटबन्ध निर्माण गरेको हो । यसले नदीको धार परिवर्तन गरी कटान रोकेको छ। आयोजना प्रमुख डा. नारायण सुवेदीले छोटो समयमै दिनरात काम गरेर तटबन्ध निर्माण सम्पन्न गरेको बताए । “दुई वर्षदेखिको मागलाई यो कार्यक्रमले दुई महिनामै सम्बोधन गर्यो,” उनले भने । राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले यो कार्यले ठूलो राहत मिलेको बताए । स्थानीय दीपनारायण बर्माले पनि यस वर्ष कटान नहुने विश्वास व्यक्त गरे । खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण सम्पन्न भएपछि अब फत्तेपुर जरैयामा तटबन्ध निर्माण सुरु हुने जनाइएको छ । साथै, खल्ला झगडियामा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्न साई माँ दुर्गा भिन्सी जेभीले रु. ६ करोड ५ लाखमा ठेक्का लिएको छ ।
मिथिला क्षेत्रमा झुला महोत्सवको रौनक हराउँदै
जनकपुर । मिथिला क्षेत्रको प्रमुख लोकपर्वमध्ये एक झुला महोत्सवको रौनक पछिल्लो समय क्रमशः घट्दै गएको छ । मधुश्रावनी पर्व सकिएलगत्तै सुरु हुने यो महोत्सव पहिले जनकपुरधामसहित मिथिलाका विभिन्न मठमन्दिरमा भव्य रूपमा मनाइन्थ्यो । तर, अहिले जानकी मन्दिर, राममन्दिर र रत्नसागरमा मात्र झुलाको लोकगीत र रौनक सीमित भएको छ । विगतमा साउन महिनामा मनाइने यो पर्वमा कजरी, मल्हार, पावस, बारहमासा जस्ता लोकगीत मठमन्दिरमा गुञ्जिन्थे । भक्तजनको घुइँचो र नाचगानको रौनकले मिथिलाको सांस्कृतिक वैभव झल्किन्थ्यो । तर, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार, आधुनिकताको प्रभावले यी लोकगीत र झुला पर्वको मौलिकता लोप हुने अवस्थामा छ । “पहिले झुला महोत्सवमा विवाहपञ्चमीजस्तै रौनक हुन्थ्यो । डोला निकालिन्थ्यो, नेपाल र भारतबाट भक्तजन आउँथे । तर, अहिले सीमित मन्दिरमा मात्र यो रौनक देखिन्छ,” उनले भने । साउन शुक्ल तृतीया तिथिबाट सुरु भई पूर्णिमासम्म चल्ने यो महोत्सवमा श्रीराम, सीता र अन्य देवी-देवतलाई कलात्मक झुलामा राखेर रेशमको डोरीले झुलाउने परम्परा छ । यो पर्वमा प्रकृतिसँग जोडिएका कजरी र मल्हार गीतले ऋतु वर्णन, बिरहवेदना र राधाकृष्ण लीलालाई जीवन्त बनाउँथे । तर, अहिले यी गीत र भक्तजनको सहभागिता दुवै घट्दै गएका छन् । संस्कृतिविद् परमेश्वर कापडीका अनुसार, झुला महोत्सव मिथिलाको लोकजीवन, संस्कार र प्रकृतिसँग गाँसिएको गहिरो सांस्कृतिक पर्व हो । “यो केवल धार्मिक उत्सव नभई हाम्रो जीवनशैली र प्रकृतिप्रतिको सम्मानको अभिव्यक्ति हो,” उनी भन्छन् । तर, आधुनिकताको प्रभाव, सजावटको नाममा हुने औपचारिकता र ध्वनि प्रदूषणले यो पर्वको मौलिकता हराउँदै गएको उनको ठम्याइ छ ।
सर्लाहीमा स्कूल बसबाट खसेर बालकको मृत्यु
सर्लाही । बरहथवामा बिहीबार साँझ स्कूल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खसेर मृत्यु भएको हो । बरहथवा नगरपालिका–८, टाँडीमा बसबाट खसेर गम्भीर घाइते भएका फैजानलाई स्थानीय उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज, वीरगन्ज लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे । फैजान सोही विद्यालयमा कक्षा ३ मा पढ्थे । विद्यालय छुट्टी भएपछि घर फर्कने क्रममा यो दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय, बरहथवाका डिएसपी निरन्जन भट्टराईका अनुसार मृतकको शव वीरगन्जमै छ । बस र चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेरी नदीकिनारमा बेवारिसे शव भेटियो
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, अम्रास्थित भेरी नदीकिनारमा बिहीबार बिहान बेवारिसे शव फेला परेको छ । स्थानीयले क्षतविक्षत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले शवको पहिचान हुन नसकेको बताए । “शव अत्यन्तै क्षतविक्षत छ, नाम र ठेगाना पत्ता लगाउन सकिएको छैन,” उनले भने । लामो समयदेखि नदी वा किनारमा रहेको अनुमान गरिएको शवको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भएको छ भने तल्लो भाग गलेर बिग्रिएको छ । किरा लागेको र छाला रंग परिवर्तन भएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ।

