शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनः स्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ । जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।

निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टरमा मात्र तारबार गरिएको भए पनि क्रमशः सन् २०१३ मा चार दशमलव पाँच हेक्टर, सन् २०१५ मा पाँच हेक्टर, सन् २०१७ मा १७ हेक्टर र सन् २०१९ मा सात दशमलव आठ हेक्टर थप गर्दै हालको क्षेत्रफलसम्म विस्तार गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कृष्णसारको सङ्ख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उनले बताए । “मन्त्रालय र विभागमा कृष्णसार व्यवस्थापनबारे कुरा राखेका छौँ”, उनले भने ।

उनका अनुसार वर्निखेडालगायत क्षेत्रमा प्राकृतिक वातावरणमा छाड्नेबारे सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पुनः स्थापना गर्ने प्रस्ताव पनि आएको उनले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१३ मा ३१ रहेको कृष्णसारको सङ्ख्या सन् २०१४ मा ३६, सन् २०१५ मा ३५, सन् २०१६ मा ४४, सन् २०१७ मा ५९, सन् २०१८ मा ६६, सन् २०१९ मा ८८, सन् २०२० मा एक सय १५, सन् २०२१ मा एक सय ४१, सन् २०२२ मा दुई सय चार, सन् २०२३ मा दुई सय ६१ र सन् २०२४ मा दुई सय ८७ पुगेको देखिन्छ । यसरी गत एक दशकमा कृष्णसारको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगन्ज र ललितपुरको सदर चिडियाखाना तथा २०७२ साल वैशाखमा बर्दियाको खैरापुरबाट कृष्णसार ल्याएर संरक्षण थालिएको थियो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ गरी जम्मा ४२ कृष्णसार स्थानान्तरण गरेर ल्याइएका थिए । 

कृष्णसारको स्वास्थ्य र पोषणका लागि दिनमा एक पटक दाना, ढुटो, चोकर, मकै, चना आदि खुवाइन्छ । पशु चिकित्सक आभाष श्रेष्ठका अनुसार कृष्णसारमा जुका, किर्नाजस्ता परजीवीको सङ्क्रमण देखिने भएकाले समय–समयमा दानामा औषधि मिसाएर खुवाउने कार्य हुँदै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । एन्टिलोप प्रजातिको यो जनावर नेपालगन्ज, काठमाडौँको मृगस्थली, बर्दियाको खैरापुर र शुक्लाफाँटाको हीरापुर फाँटामा संरक्षित रहेको छ । घाँसका फाँटमा बस्न रुचाउने कृष्णसारमा भाले कालो र पोथी खैरो रङ्गका हुन्छन् । कृष्णसारले छ–छ महिनामा बच्चा जन्माउँछन् । वयस्क नभएसम्म दुवै भाले पोथीको रङ्ग खैरो नै हुन्छ । कृष्णसार संरक्षित क्षेत्रमा आन्तरिक पर्यटकको आवागमनमा भने वृद्धि हुँदै गएको छ । कृष्णसार अवलोकनका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

सप्तरीका पाँच हजारबढी  लालपुर्जा पीडित पुनः आन्दोलनकाे तयारीमा

सप्तरी । करिब ६५ वर्षदेखि लालपुर्जा पाउने आशामा संघर्षरत ब्लक र बिटौरी जग्गावासी ५ हजारभन्दा बढी परिवारले माग पूरा नहुँदा पुनः आन्दोलन चर्काउने भएका छन् । बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोली सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरी प्रमुख शिवनारायण साह, सप्तरी उद्योग वाणिज्य संघ अध्यक्ष लालुप्रसाद अग्रवाललगायतको उपस्थितिमा बसेको भेलाले, पटक–पटकको आन्दोलन र सहमति कार्यान्वयनमा ढिलाइ भएकाले अब सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । गत फागुन १८ गते नगरपालिका, प्रशासन, सुरक्षा निकाय, नापी र मालपोत कार्यालयका प्रमुखको उपस्थितिमा १५ दिनभित्र समाधान खोज्ने सहमति भए पनि कार्यान्वयन नहुँदा समिति पुनः आन्दोलनमा उत्रिएको हो । सप्तरी उद्योग वाणिज्य संघले आन्दोलन परिचालनका लागि समितिलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । व्यवसायीहरूका अनुसार, विगतमा नगरपालिका रसिदका आधारमा जग्गा बैंकमा धितो राखी कर्जा लिन सकिन्थ्यो, तर पछिल्ला आठ वर्षदेखि यो सुविधा बन्द हुँदा व्यवसाय चौपट भएको छ । कतिपय सटर खाली भएका, केही व्यवसायी आत्महत्या गर्न बाध्य भएका र धेरैजना पलायन भएको संघको भनाइ छ । जिल्ला समन्वय समिति प्रमुख साहका अनुसार, राजविराज नगरपालिका २०१६ सालमा स्थापना भएदेखि मेनरोड र भित्री सडकको दायाँ–बायाँ करिब ७० विघा क्षेत्रमा बसोबास गर्दै आएका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउनबाट वञ्चित छन् । यसअघि बजार बन्द, कालो झण्डा, नापी र नगरपालिका कार्यालयमा धर्ना, मुख्य चौकमा हस्ताक्षर अभियानजस्ता कार्यक्रम गरिए पनि माग पूरा हुन सकेको छैन । समितिले छिट्टै नयाँ र थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।  

रुपन्देही–३ उपनिर्वाचनमा २७ दलका २८ निवेदन

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए । डगौराले निवेदनको दर्ता नं ६ हो ।अध्यक्ष रञ्जिता श्रेष्ठले भने अन्तिम दिन २७ गते दल दर्ताका लागि निवेदन दिएकी थिइन् । उनको दर्ता नं २५ कायम भएको छ । यही साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । लगत्तै निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न निवेदन दिएकोमा आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ । श्रेष्ठलाई नै अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय भएकाले रेशम पक्ष लालवीरलाई अध्यक्ष बनाउने समूह०बाट रामलाल डगौराले दिएको निवेदन स्वतस् खारेज हुने आयोग स्रोतको भनाइ छ । रञ्जिता नै अध्यक्ष भएकाले उम्मेदवारको मनोनयन दर्तामा उनकै हस्ताक्षर आधिकारिक हुनेछ । तराई–मधेशका दल पनि एक हुन सकेनन्  यस्तै, एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेका तराई–मधेशका दलहरु पनि एक हुन सकेनन् । उपनिर्वाचनमा रुपन्देही–३ मा नाउपालाई समर्थन गर्ने सहमति सात पार्टी सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाबीच भएको थियो । तर, यो दलमा आन्तरिक विवाद हुँदा जनमत पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएको छ । नाउपा र जनमत पार्टी एकताको अन्तिम चरणमै पुगेका समाचारहरु सार्वजनिक भएका थिए । अरु कुन–कुन दलले दिए निवेदन ? उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरुमा नेपाली कांग्रेस, नेकपा  एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ ।रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

काठमाण्डौँ ।मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने छ । यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना

सुर्खेत । कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो ।  उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई रु ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा रु एक हजार ५०० जरिवाना लाग्नेछ । यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ । प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ । पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ ।  पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ । 

दरबन्दी भएपनि पर्सा  कारागारमा चिकित्सक छैनन्

पर्सा । जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त  छ ।  कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ  एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको गत मङ्गलबार  व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो । जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताए । वीरगञ्ज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी एक हजार ३१० जना  छन् । कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका  छन् । विदेशी थुनुवा र कैदी १९९ जना  छन् । कारागार ऐन, २०७९ मा  ५०० जनाभन्दा बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिएबमोजिमको श्यया रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । 

कर्णालीको अदुवा–बेसार युरोपेली मुलुकमा निर्यात

सुर्खेत । आर्थिक वर्ष २०८१-८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ । सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ले सङ्कलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए । कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ । मन्त्रालयकानुसार प्रदेश स्थापनाकालदेखि हालसम्म रु १८ अर्ब ४७ करोड बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा रु १४ अर्ब बराबर रकम लगानी भइसकेको छ ।  मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सात सय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ । बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ । खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन् । खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२समावेश गरिएको छ । उक्त वर्ष २१।२९ मेट्रिक टनसागसब्जीका बीउ प्रमाणीकरण भएको थियो । 

सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै

भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा  जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ ।  नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९९७ छ भने पुरुषको जनसङ्ख्या १२ लाख ७२ हजार ७८६ रहेको छ । यस प्रदेशबाट धेरै जना पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुकसमेत जाने गरेकाले अन्य प्रदेशको तुलनामा पुरुषको जनसङ्ख्या कम्ती र महिलाको जनसङ्ख्या बढी देखिएको हो ।  तथ्याङ्कअनुसार यहाँ महिलाको जनसङ्ख्या ५२ दशमलव ७७ र पुरुषको जनसङ्ख्या ४७ दशमलव २३ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये तराईका दुई वटा र दुई वटा पहाडका बाहेक पाँच वटा जिल्लाको जनसङ्ख्या घट्दो अवस्थामा छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको जनगणनाअनुसार अछाम, बैतडी, डोटी, बझाङ, डडेल्धुरा जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दो अवस्थामा छ । हिमाली जिल्ला दार्चुलाको जनसङ्ख्या वृद्धिदर स्थिर अर्थात् शून्य प्रतिशत छ । पहाडको बाजुरा जिल्लाको जनसङ्ख्या वृद्धिदर सामान्य अवस्थामा बढेको छ । यहाँको वृद्धिदर शून्य दशमलव २५ प्रतिशत छ भने कैलालीको सबैभन्दा उच्च एक दशमलव ४८ र कञ्चनपुरको एक दशमलव २५ प्रतिशत रहेको छ । तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार अन्य प्रदेशको जस्तै यस प्रदेशमा पनि पहाडी र हिमाली ठाउँबाट मानिसहरू तराई-मधेसतिर झर्ने र पहाडमा बसे पनि सहरी क्षेत्रतिर बस्ने प्रवृत्ति बढेकाले जनसङ्ख्या वितरणमा समस्या देखिएको हो ।   अन्न उत्पादनको भण्डारका रूपमा चिनिने तराईमा बढ्दो जनसङ्ख्याले कृषियोग्य भूमि घट्दै गइरहेको छ । जनसङ्ख्या व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले बेलैमा चासो नदिएमा निकट भविष्यमा नै ठुलो समस्या निम्तने धेरैको चिन्ता छ । “पहाडतिर रोजगारी, शिक्षा, आफू अनुकूल समाज र अवसरहरू कम हुँदा नागरिकहरू त्यस्ता कुरा सजिलै पाउने ठाउँतिर झरेर यस्तो असन्तुलन भएको हो”,  न्यौपाने भन्छन्, “यसलाई रोक्नका लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनु पर्दछ । तथ्याङ्कमा आधारित योजना र बजेट बनाइयो भने मानिसका आवश्यकता आफू बसेकै ठाउँमा सम्बोधन हुन सक्छन् । नभए सुदूरपश्चिममा असन्तुलित जनसङ्ख्याले दीर्घकालीन रूपमा चुनौती थपिने छ ।”  उनले तराईमा बढ्दो जनसङ्ख्याले कृषि उत्पादन क्षेत्र घटिरहेको र पहाडमा बाँझो जमिन बढिरहेको अवस्थाले समयमै उपयुक्त नीति अख्तियार नगरे निकट भविष्यमा आयातको दायरा थप बढ्नेतर्फ ध्यान दिनुपर्ने बताए ।  विज्ञहरूका अनुसार सुदूरपश्चिमको जिडिपीमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेकाले उत्पादन घट्दा यहाँको अर्थतन्त्रमा पनि सङ्कुचन आउने देखिन्छ ।  यहाँको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या कैलाली र कञ्चनपुरमा छ । कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ । जनसङ्ख्याको यो चाप सदरमुकाम भीमदत्तमा मात्र होइन ग्रामीण क्षेत्रतिर पनि उस्तै रहेको छ ।  भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीका अनुसार तराईको सुगम, राजमार्गसँग जोडिएको नगर भएकाले पनि यहाँ मानिसको आकर्षण हुनु स्वाभाविक नै हो । हरेक वर्ष नयाँ मान्छे थपिँदा स्रोत व्यवस्थापन बर्सेनि चाप बढ्दै गएको उनको भनाइ छ । “नगरपालिकामा भएका सबै शाखाले आ–आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराउने गरेका छन् । बसाइँसराइ र बढ्दो जनसङ्ख्याले स्रोत व्यवस्थापनमा दबाब छ, तर पनि हालसम्म व्यवस्थापन गरिरहेकै छौँ । यो निरन्तर बढ्ने हो भने समस्या हुनसक्छ”, नगरप्रमुख बोगटीले भने ।  राष्ट्रिय तथ्याङ्क कार्यालय, सुदूरपश्चिमका अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहको जनसङ्ख्यामा भीमदत्त नगरपालिकाको जनसङ्ख्या एक लाख २२ हजार ३२० रहेको छ । यसैगरी, कृष्णपुर नगरपालिकाको ७१ हजार ५००, शुक्लाफाँटा नगरपालिकाको ५३ हजार ९६९, वेदकोट नगरपालिकाको ५७ हजार ६८०, दोधारा चाँदनीको ४२ हजार ९७४ जनसङ्ख्या रहेको छ । पुनर्वास नगरपालिकामा ६१ हजार ७४८, बेलौरीमा ५३ हजार ९१०, बेलडाँडी गाउँपालिकामा २१ हजार ८८८ र लालझाडी गाउँपालिकामा २५ हजार ३७ जनसङ्ख्या छ ।   सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले जनसङ्ख्या व्यवस्थापनका लागि बसाइँसराइ निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । यसलाई नियन्त्रणका लागि पहाडी क्षेत्रमा रहेका स्रोतसाधनको सदुपयोगसँगै राज्य स्रोतलाई  समानुपातिक रूपमा वितरण गर्नुपर्नेमा उनको जोड छ । सुदूरपश्चिमका पहाडी जिल्लामा तरकारी, फलफूल खेतीसँग पशुपालनको ठुलो सम्भावना रहेकाले त्यसमा सरकारले सरकारी–निजी साझेदारीमा लगानी गर्नुपर्ने भट्टको सुझाव छ ।  “बसाइँसराइका कारण पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो छ, ती क्षेत्रलाई नमुना कृषि पकेट क्षेत्रमा वर्गीकृत गर्नुपर्छ”, उप–प्राध्यापक भट्टले भने, “ती क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ, किसानलाई सामूहिक खेतीमा आबद्ध गराउने नीति अवलम्बन गरिनुपर्छ । साथै सरकारले उत्पादनको सुरक्षा र बजारीकरणका लागि पूर्वाधार निर्माणसँगै कृषि एम्बुलेन्स, चिस्यान केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता छ ।” सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा हिरा चन्दले रोजगारी, गुणस्तरीय शिक्षा र राम्रो स्वास्थ्य उपचारको खोजीमा पहाडबाट बसाइँसराइ भइरहेकाले त्यसको सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले यहाँका पहाडी जिल्लामा बसाइँसराइ रोक्न प्रदेश सरकारले एकीकृत बस्ती विकास, एक पालिका, एक उत्पादन र पूर्वाधार विकासमा जोड दिएको उनको भनाइ छ ।  “पहाडी क्षेत्रमा पूर्वाधार विकास र सेवा प्रवाह खर्चिलो छ  । त्यसैले छरिएर रहेको बस्तीलाई एकीकृत गर्नुपर्छ, सामुदायिक विद्यालयमा गुणस्तर सुधारसँगै आवासीय बनाउनुपर्छ”, सदस्य चन्दले भने, “सुदूरका पर्यटकीय क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्न सके नागरिकको जीवनमा सुधार हुन्छ । किसानलाई उत्पादनमा अनुदान, उद्यमीलाई कर्जामा ब्याज अनुदान दिएर प्रोत्साहन गरिनुपर्छ ।” 

गाेरखाका कुसुन्डा परिवार सङ्कटमा

गोरखा । असार–साउनको रोपाइँको चटारोमा किसानहरू धान, कोदो र मकैको काममा व्यस्त छन् । तर, गोरखा नगरपालिका–११, तेह्रकिलो बजारनजिकै सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई न रोपाइँको चिन्ता छ, न त बाली भित्र्याउने ध्याउन्न । लोपोन्मुख कुसुन्डा जातिको गोरखामा एकमात्र घर रहेको चेतबहादुरको परिवार छिमेकीले दिएको तीन आना जग्गामा बनेको सानो घरमा बस्छ । उनको सम्पत्ति यही जग्गा र केही कुखुरा मात्र हुन् । “यो जग्गा र सरकारले बनाइदिएको घरबाहेक हामीसँग केही छैन् । कुखुरा पनि अरूको जग्गामा नजाऊन् भनेर थुनेर पाल्छौँ,” चेतबहादुर भन्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या जम्मा २५६ छ, जसमा चेतबहादुरको आठ सदस्यीय परिवार पनि पर्छ । उनी ४५ वर्षअघि, विसं २०३८ मा आमा सुमित्रा वनकीरानी कुसुन्डासँग पालुङटारको खोप्लाङबाट तेह्रकिलो आएका थिए । “१० वर्षको हुँदा बुबा बित्नुभयो । भोकले लखतरान भएर जुठो बारेको सम्झना छ । आमाले खोप्लाङको सम्पत्ति बेचेर यहाँ आउनुभयो,” उनले सुनाए । तेह्रकिलोमा बसाइँ सरेपछि पनि उनको परिवारले स्थायी बसोबास पाएन । “बिरालोले बच्चा सारे जस्तै, कहिले यता, कहिले उता । भाडाको घरमा बस्दा मालिकले ‘जाऊ’ भन्दा जानैपर्थ्यो,” उनले भने । उनकी दुई दिदीबहिनीले तेह्रकिलोमै क्षेत्री समुदायसँग बिहे गरेपछि उनीहरू पनि यहीँ बसे । केही समय चेतबहादुरले भेनको खलासीको काम गरे । पछि, सरकारी जग्गा पाइने आशमा आमा–छोरा नवलपरासी पुगे, तर त्यहाँ पनि दुखमात्रै भोगेर एक वर्षमै फर्किए । चेतबहादुरले २०–२२ वर्षको उमेरमा पन्ध्रकिलोकी कमला घर्तीसँग बिहे गरे । उनी दुईपटक कतार र एकपटक साउदी गए । उनका दुई छोरा र एक छोरी छन् । जेठो छोरो अनिल ड्राइभर छन्, छोरी अनिताले तेह्रकिलोमै बिहे गरेकी छिन्, र कान्छो छोरो अशोक वैदेशिक रोजगारीमा छन् । तर, छोराछोरीले ४–५ कक्षाभन्दा बढी पढेनन् । “मलाई पनि अक्षर चिन्ने ज्ञान छैन । छोराछोरीले पढेनन्, सानैमा बिहे गरे,” उनले भने । उनकी श्रीमतीको चार वर्षअघि र आमाको गत चैतमा निधन भयो । चेतबहादुरलाई आफ्नो बुबा र कुसुन्डा समुदायको भाषा, संस्कृति वा रीतिरिवाजबारे केही थाहा छैन । “अरू ठाउँका कुसुन्डाले आफ्नो भाषा बोल्छन् रे, तर हामीलाई केही थाहा छैन । बाउ–बाजेसँग सङ्गत भएको भए संस्कृतिबारे थाहा हुन्थ्यो,” उनले भने । उनी हिन्दु चाडपर्व र कुलायन पूजा (भाले चढाएर) मनाउँछन् । सरकारले उनको परिवारलाई प्रतिव्यक्ति मासिक चार हजार भत्ता र जनता आवास कार्यक्रमअन्तर्गत घर दिएको छ । तर, चेतबहादुर लोपोन्मुख कुसुन्डा समुदायको उत्थान र संरक्षणका लागि थप कार्यक्रम र स्थायी बसोबासको व्यवस्था चाहिन्छ भन्छन् । “हामीलाई सरकारले उचित वासस्थान र संरक्षणको व्यवस्था गरिदिनुपर्छ,” उनको माग छ ।

कञ्चनपुरमा पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर

कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो । पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु तीन लाख र सामुदायिक वनबाट रु सात लाखभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए । उनका अनुसार स्थानीय शैलीमा पाँच वटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने । निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताए । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्ग्यानिक परिकारका खाना पस्किने योजना रहेको उनको भनाइ छ । “पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भने, “अर्ग्यानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ ।” उनका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ । पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनः उत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उनले विश्वास व्यक्त गरे ।  सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।  सामुदायिक वनलाई पर्या–पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भई सञ्चालनमा आउने कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उनले प्रतिबद्धता जनाए । 

बाजुरामा बाढीले दुई घर बगायो, वडा कार्यालय जोखिममा

बाजुरा । बाजुरकाे हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । बुधबार साँझ ७ बजे आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको घर बगाएको हो । बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको वडा सचिव सन्जिव चौधरीले बताए । उनका अनुसार वडा कार्यालय समेत जोखिममा छ । गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा सुरक्षित स्थानमा भागेका थिए ।  लगातारको वर्षाले बाढी अझै बढ्ने र थप क्षति हुन सक्ने भन्दै स्थानीय त्रसित छन् । गाउँपालिकाका अनुसार मानवीय क्षति भने भएको छैन् । बिच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

खाेलाकाे बाढी गाउँ पस्दा उदयपुरको बेलकामा ११९ घर डुबानमा

उदयपुर । अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–३ मा ११९ घर डुबानमा परेका छन् ।  स्थानीय गिदेरी खहरे खोला गाउँ पस्दा एबिसी टोलका ४० र जुलेफी टोलका ७९ घर प्रभावित भएका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार खोलाको पानी गाउँ पस्दा सरस्वती आधारभूत विद्यालयसहित घरहरूको भुइँतला डुबानमा परेको छ । ‘अहिले खोलाको जलस्तर घट्दै गएकाले घरमा बस्न सकिने अवस्था देखिन्छ,’ उनले भने ।  भुइँतलाका सामान माथिल्लो तलामा सारिएकाले खाद्यान्न र लत्ताकपडा सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको उनले बताए । डुबानका कारण सरस्वती आधारभूत विद्यालयमा पठनपाठन रोकिएको छ । विद्यालय र घरहरूमा बालुवासहितको लेदो पसेको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले खहरे खोलाको जलस्तर बढ्दा गाउँ प्रभावित भएको र कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको जानकारी दिए । ‘खोलाको पानी गाउँ पसे पनि अहिले अवस्था सामान्य बन्दै गएको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले डुबान क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरीक्षण गरिरहेको बताए । ‘झन्डै ८० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ, तथ्यांक संकलन जारी छ,’ उनले भने । ‘पानीको स्तर घट्दै गएकाले जोखिम नरहेको र स्थानीयहरू घरमै बस्न सक्ने अवस्था छ ।’ यसैबीच, अविरल वर्षाका कारण सप्तकोशी नदीको तटीय क्षेत्रमा निगरानी बढाइएको छ ।

पहिरोमा परेर  इलाममा एक जनाको मृत्यु

इलाम। इलाममा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यान्ह १२ बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए। राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

जनकपुरमा गोली चल्यो

काठमाडौँ । प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एक जना अधिकृतले  बताए । प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टिमले २ राउन्ड गोली चलाएको थियो ।  प्रहरीले पप्पु र अर्की एक जना महिलालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका ब्युरोका अधिकृतले बताए । 

सापकोटा–पौडैलको पहलमा अरनिको लोकमार्ग इको क्षेत्र सुधार कार्य सुरु

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा प्रतिनिधि सभाका सदस्य माधव सापकोटा ‘सुबोध’ र बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल पौडैल ‘सहयात्री’ ले विगत १० दिनयता समस्या देखिएको अरनिको लोकमार्ग अन्तर्गतको इको क्षेत्रको दुरावस्था समाधानका लागि सक्रिय पहल गरेका छन्। सापकोटा र पौडैलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासँग भेट गरी विस्तृत छलफल गरेका थिए। छलफलमा इको क्षेत्रमा भौगर्भिक जोखिम, सडक संरचना सुरक्षा, र स्थानीय समुदायमा पर्ने प्रभावजस्ता विषय उठाएका थिए। छलफलपछि सडक विभागका अधिकारी र भौगर्भिक अध्ययन टोली आजै सो क्षेत्रमा पुगेर सर्वेक्षण सुरु गरिसकेको छ। चिनियाँ सरकारसँग पनि प्रविधि सहयोग तथा आवश्यक स्रोत जुटाउने विषयमा संवाद भएको बताइएको छ। सापकोटा र पौडैलले भने, “स्थानीय समुदायको सुरक्षालाई प्राथमिकता दिँदै इको क्षेत्रको वातावरणीय र भौतिक जोखिम न्यूनिकरण गर्न पहल गर्न जरुरी छ। यस कार्यमा सबै सरोकारवालाको सहयोग आवश्यक छ।” यस पहललाई उच्च सराहना गर्दै स्थानीय जनप्रतिनिधि र विभागीय अधिकारीहरूले पनि धन्यवाद व्यक्त गरेका छन्। यो प्रयासले मात्र सडक सुरक्षा सुनिश्चित गर्ने होइन, पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि पर्ने विश्वास व्यक्त गरिएको छ।  

पोखरामा अवैध सुनचाँदी कारोबारमा संलग्न भनिएका भारतीय नागरिक नियन्त्रणमा

पोखरा, कास्की – प्रहरीले साउन २३ गते शुक्रबार अवैध सुनचाँदी कारोबारमा संलग्न भएको आरोपमा ११ जना भारतीय कालीगढलाई नियन्त्रणमा लिएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यस घटनाप्रति ध्यानाकर्षण जनाउँदै गृहमन्त्री रमेश लेखकसँग भेट गरी उनीहरूको रिहाइको माग गरेको छ। महासंघका अनुसार, पक्राउ परेका कालीगढमध्ये अधिकांशले नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएका र केवल ज्याला मजदुरीको काम मात्र गरेको दाबी गरेका छन्। महासंघले सत्यतथ्य नबुझी हचुवाको भरमा व्यवसायी र मजदुरलाई दुःख दिने कार्य रोक्न र निष्पक्ष छानबिनमा सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ। यस विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकलाई पनि बोधार्थ पत्र पठाइएको छ।