बाँकेमा महिलाद्वारा सञ्चालित सहकारीद्वारा १८ करोडभन्दा बढीको खसीबोका बिक्री

बाँके । बाँकेका विभिन्न स्थानमा सञ्चालित १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ५४ लाख ९१ हजार २९१ रुपियाँ बराबरका खसीबोका बिक्री गरेका छन् । यी सहकारीले एक वर्षमा १० हजार ९७३ वटा खसीबोका (कुल ३ लाख ६८ हजार ९४५ किलोग्राम) बेचेर उक्त रकम आर्जन गरेका हुन् ।

सबैभन्दा बढी राप्ती सोनारी–७, पिप्रहवास्थित रोशनी सामाजिक उद्यमी महिला सहकारीले ३ करोड ९१ लाख रुपियाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ । व्यवस्थापक नसरुदिन शेषका अनुसार संस्थाले २ हजार ०७१ वटा खसीबोका (७४,५५६ किलोग्राम) बजारमा पुर्‍याएको छ ।

त्यस्तै, राप्ती सोनारी–७, लालपुरको परिवर्तन सहकारीले २ करोड ६२ लाख रुपियाँ बराबरका १ हजार ५४१ वटा खसीबोका, राप्ती सोनारी–६, टेपरीको नयाँ सिर्जनशील सहकारीले १ करोड ९० लाख रुपियाँ बराबरका १ हजार ०१९ वटा खसीबोका र बैजनाथ–८, टिटहरियाको दीपलगन सहकारीले १ करोड ६७ लाख रुपियाँ बराबरका ८५० वटा खसीबोका बिक्री गरेका छन् । यस्तै, राप्ती सोनारी–२, खोरियास्थित जननी सहकारीले १ करोड ३९ लाख रुपियाँ बराबरका ८७० वटा खसीबोका बेचेको छ ।

अन्य सहकारीको बिक्री विवरणमा कुसुम सहकारी १ करोड २८ लाख, सुनकोशी सहकारी (धामपुर) १ करोड ६ लाख  
सङ्घर्षशील सहकारी (राप्ती सोनारी–९, ढकेरी): ९८ लाख  सँगिनी सहकारी ९३ लाख, कोहलपुर सहकारी ७२ लाख, उपहार सहकारी ७७ लाख, अप्सरा सहकारी ४७ लाख, बैजापुर सहकारी ३४ लाख, बैजनाथ–४, एकासी नगरस्थित सहकारी २४ लाख र सशक्तीकरण सहकारी २२ लाख रहेकाे छ । 

पछिल्लो समय बाँकेमा महिला किसान बाख्रापालनप्रति आकर्षित छन् । सहकारीमार्फत गठित समूहले खसीबोका उपलब्ध गराउने र ऋण सुविधा प्रदान गर्ने भएकाले यो व्यवसायमा उनीहरूको संलग्नता बढेको हो । विशेषगरी राप्ती सोनारी गाउँपालिकाका किसान प्रशस्त जङ्गल क्षेत्रका कारण बाख्रापालनमा सक्रिय छन्, जसले पशुपालनलाई सहज बनाएको छ । सहकारीमार्फत खसीबोका उत्पादन र बिक्रीले धेरै महिला किसान आत्मनिर्भर बन्दै गएका छन् ।  

वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्सा । वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् । जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ । विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ । पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ । खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि । तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने थियो । जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्त रूप लिनसकेको छैन । वीरगञ्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर एक हजार तीन सय १० जना रहेका छन् । यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र  छ वर्षमुनिका दुई जना आश्रित बालिका छन् । त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने  विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् । वीरगञ्ज कारागारमा विशेष गरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगञ्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन् । कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए । 'यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्,' उनले भने, सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ ।' कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ । 

उपेन्द्र यादवको निर्देशनमा विभिन्न जिल्लामा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संलग्न रहेको भनिएको १८ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पार्टी कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सोमबार साँझ विभिन्न जिल्लामा सडक प्रदर्शन गरिएको बताइएको छ । त्रिभुवन साहलगायत गौर हत्याकाण्डका घाइतेहरूले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूको मागअनुरूप छानबिन अघि बढाउन आदेश जारी गरेको हो । गौर घटनामा मारिएका आफन्त र घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका भए पनि अनुसन्धान अघि नबढेको भन्दै सर्वोच्चमा न्यायिक हस्तक्षेपको माग गरेका थिए । सर्वोच्चको आदेशसँगै अध्यक्ष यादव अनुसन्धानको दायरामा पर्ने पक्का भएको छ ।

डोल्पाका एमाले नेता मालबहादुर बुढा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमाले डोल्पाका स्थानीय नेता मालबहादुर बुढा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नु भएको छ । डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको हो ।  काइकेमा समाजसेवीको पहिचान बनाएका बुढालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराउनु भयो । बुढाले नेकपा माओवादी केन्द्रमा आफूसहित सिंगो टिम नै सक्रिय राजनीति गर्ने बताउनु भयो ।

इस्कुस बेचेर घरखर्च टार्दै उदयपुरका किसान

उदयपुर । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित इस्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ । खाँबुका इस्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित इस्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो । खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट इस्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक रु १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताए । साउन अन्तिम सातासम्ममा दैनिक रु १० देखि २० हजारसम्ममा इस्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए । गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा इस्कुस प्रतिकिलो रु ३० देखि रु ४० पर्ने गरेको जनाउँदै व्यापारीले रु ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताए । अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो इस्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् । गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भनिन्, “व्यापारीले जिल्ला बाहिरबाट सडे गलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अर्ग्यानिक इस्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।” उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको इस्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।  यस क्षेत्रमा उत्पादित इस्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिए । गत वर्ष भदौभरि आफूले लाखौँको इस्कुस बिक्री गरेको बताउँदै उनले यस पटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे । त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका इस्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजविराज, सिरहाको लहानसम्म बिक्री हुने गरेको इस्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले रु ५० हजारदेखि रु तीन लाखसम्मको इस्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।

सप्तरीमा डुबेर वृद्धको मृत्यु

सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।  स्थानीय सितापुर गाउँकी लालु सदाकी ७२ वर्षीया श्रीमती सजनी सदाको खेतमा खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । जर्मन पोखरी छेउमा पश्चिम स्थानमा स्थानीय राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदा डुबेको प्रहरीलाई जानकारिपछि इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटना स्थल पुग्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको थियो । स्थानीय २ नम्बर वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार उनी सधै जर्मन पोखरी र नजिकै रहेको खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थे ।   घोङ्गी टिप्ने क्रममा डुवेर सदाको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष चौधरीले बताए । स्थानीय मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गरि मृतक सदाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारि दिए । 

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व(का सूचना अधिकारी छविलाल सुवेदीले बताए । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।” साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।  “तीन जना सङ्क्रमितहरू उपचारपछि घर जानुभएको छ । सङ्क्रमितहरूको घरपरिवारको लक्षण भए/नभए निगरानी गरिएको छ”, उनले भने, “सङ्क्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ  पठाएका छाैँ ।” जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमूना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए । “मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र सङ्क्रमितको घरपरिवारका सदस्यहरू पाँच जना गरी सात जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु लगिएको छ”, उनले भने ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।  त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो भने गत आव २०८१/८२ मा दुई जनामा सङ्क्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।  जिल्लामा चालु आवको सुरुआतसँगै रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए  । 

भाेजपुरमा चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

भोजपुर ।  सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो ।   चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडा पालन व्यवसाय  छाडेका छन् । कृषक कठेतले भने, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।” मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडा पालन गरिरहेका छन् । राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। एउटा वनमा चराएबापत प्रति भेडी गोठ रु पाँच सयदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्छ । करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भने, “वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।” छाडा कुकुर पनि भेडापालक किसानका लागि ठुलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए । गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उनले बताए । उनले भने, “कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।” भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । एक सय वटासम्म भेडा भए वार्षिक रु चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ ।

कर्णाली सरकार राउटे बस्ती व्यवस्थित गर्ने याेजनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने तयारी गरेको छ । घुमन्ते जीवन बिताउँदै आएका राउटेलाई अस्थायी रूपमा आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा र जीवनयापनका अन्य सेवा दिन कोरिडोरको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यानका नदी तथा खोलानाला आसपासका स्थानलाई कोरिडोर क्षेत्रको रूपमा विकास गर्ने उल्लेख गरेको छ । मन्त्री घनश्याम भण्डारीका अनुसार पछिल्ला १० वर्षयता राउटे समुदाय बढी बसोबास गर्ने यी क्षेत्रलाई प्राथमिकतामा राखेर कोरिडोर निर्माण गर्न लागिएको हो । यसका लागि प्रदेश सरकारले राउटे बसोबास क्षेत्रको अध्ययन र समुदायको प्रोफाइल तयार गरिसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणले जीवनयापनमा सहजता ल्याए पनि दुरुपयोग बढेपछि अब कोरिडोरमार्फत व्यवस्थापन गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए ।  कोरिडोर अवधारणाअन्तर्गत राउटेले उत्पादन गर्ने काठका सामग्रीको बजारीकरण, वृक्षरोपण, कन्दमूल जस्ता परम्परागत खानेकुरामा पहुँच, र सुरक्षा व्यवस्थामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरिनेछ। त्यस्तै, बालबालिकालाई विद्यालय नजिकै पाउने, स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र पायक पर्ने र खेतीपातीमा सहयोग गर्ने व्यवस्था समेत मिलाइने मन्त्रालयको भनाइ छ। हाल पहिलो चरणमा राउटे समुदायसम्बन्धी लिखित अभिलेख संकलन भइरहेको र हालसम्म समुदायको जनसंख्या १३५ रहेको मन्त्रालयले जनाएको छ । यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिएका निर्णयलाई कार्यान्वयन गर्दै समुदायको अधिकार संरक्षण गर्न र विकृति हटाउन कोरिडोर निर्माण अघि सारिएको मन्त्री भण्डारीको भनाइ छ । प्रदेश सरकारले राउटे कोरिडोरलाई पर्यटन प्रवर्द्धन र अध्ययन–अनुसन्धानमा योगदान पुर्‍याउने आधारको रूपमा पनि लिएको छ । हाल राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–१०, झुप्राखोलामा बस्दै आएको  छ । 

प्रदेश १ काे अखिल नेपाल खेलकुद महासंघ अध्यक्षमा इटहरीका रितेश श्रेष्ठ निर्वाचित

इटहरी । अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा उद्घाटन भएको अधिवेशनले आइतबार नयाँ कार्यसमिति निर्वाचित गर्दै श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे ।  निर्वाचन समिति संयोजक राजेन्द्र किरातीका अनुसार महासंघको प्रदेश १ अध्यक्षमा इटहरीका श्रेष्ठ निर्वाचित भएका हुन् । उपाध्यक्षमा नयन श्रेष्ठ, गणेश मगर र योगेश थापा चयन भएका छन् । त्यस्तै, सचिवमा इन्द्रकुमार योञ्जन तामाङ, सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ र कोषाध्यक्षमा जीवनी राई निर्वाचित भएका छन् । प्रदेश १ का १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिले पदाधिकारीसहित ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेकाे छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराइएको संयोजक किरातीले जानकारी दिए । अधिवेशनमा संघका केन्द्रीय इञ्चार्ज दीपक कोइराला, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री इन्द्र आङ्बो (मौसम), नेकपा (माओवादी केन्द्र) प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), उपाध्यक्षहरु शिवकुमार डाँगी र विजय राईलगायतले शुभकामना दिएका थिए । त्यसैगरी, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरस्वती पोखरेल, कोशी प्रदेशसभा सदस्य सपना परियार, संविधानसभा सदस्य सन्तोष थारू, प्रदेशसभा सदस्य गणेश उप्रेती (सुशिल), संघका केन्द्रीय अध्यक्ष शिव कोइराला, महासचिव रञ्जन धमनालगायतले पनि शुभकामना व्यक्त गरेका थिए । निर्वाचन समितिमा पत्रकार राजन केडी र विनु राई सदस्य रहेका थिए ।

महानगर प्रमुख रेनु दाहालको उत्कृष्ट काम : भरतपुरमा १,०६५ किमि सडक कालोपत्रे

चितवन । केही वर्षअघिसम्म भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार पुग्नुपर्थ्यो। तर, अहिले भरतपुरको स्वरूप फेरिएको छ। महानगरका १ देखि २९ वडासम्म पुग्न ३० मिनेटमै पर्याप्त छ, किनभने सडक सञ्जालले सबै क्षेत्रलाई जोडेको छ। भरतपुर महानगरपालिकाले पछिल्ला ८ वर्षमा १,०६५ किमि सडक कालोपत्रे गरेको छ। यी सडक ६ देखि १६ मिटर चौडाइका छन्। यसबाहेक, सङ्घ र प्रदेश सरकारमार्फत थप २०० किमि सडक निर्माण भएका छन्। महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे भएको थियो। दोस्रो कार्यकालको ३ वर्षमा थप ४४२ किमि सडक बनेका छन्। यो गतिमा काम भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमि सडक कालोपत्रे हुने अनुमान छ। “विकासको पहिलो आधार सडक हो,” प्रमुख दाहालले भन्नुभयो, “सडकले अन्य विकासलाई जोड्छ, समय र यातायात खर्च बचत गर्छ, र सबै क्षेत्रलाई सहज बनाउँछ।” महानगरले सडकलाई हरियाली र सौन्दर्यकरणमा पनि जोड दिएको छ। सडकका दायाँ–बायाँ वृक्षरोपणलाई निरन्तरता दिइएको छ। पुल्चोक–गोन्द्राङ, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय गरिएको छ। मङ्गलपुर–शिवनगर–पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किमि प्रचण्ड पथ सङ्घीय बजेटमा बनेको छ। महानगरको ८८ किमि चक्रपथ पनि निर्माण भइसकेको छ। सौन्दर्यीकरणसँगै महानगरले ८० किमि मुख्य सडकमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ। बाँकी १५० किमि क्षेत्रमा स्मार्ट बत्ती जडान अन्तिम चरणमा छ।

रोल्पामा जंगली च्याउको तरकारीले लियो ज्यान: श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिका-२, राङसीमा जंगली च्याउ खाँदा ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको छ भने उनका ८१ वर्षीय श्रीमान् भागीराम वली गम्भीर बिरामी परेका छन्। २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि नर्मला र भागीराम बिरामी भएका थिए। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि दुवैलाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।   अस्पताल स्रोतका अनुसार उपचारका क्रममा नर्मला वलीको मृत्यु भएको छ। भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ।

पत्रकार आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन

धनुषा । पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ। आन्दोलनअन्तर्गत आजदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजेदेखि धर्ना कार्यक्रम सुरु भएको छ। नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आयोजित यो आन्दोलनमा सबै पत्रकारहरूलाई सहभागी हुन शाखा अध्यक्ष पुरण गुप्ताले आग्रह गरेका छन्। मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै प्रहरी प्रशासनको उदासीनताविरुद्ध कडा कदम चाल्ने बताए। गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रियामार्फत प्राप्त चार कठ्ठा जग्गा संरक्षणको क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित केही वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। उक्त घटनामा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरू दिवाकर राय र अनिल निराला घाइते भएका थिए। घटनापछि साउन २८ गते नै पाँचजना वकिलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो। तर, प्रहरीले हालसम्म दोषीहरूलाई पक्राउ नगरेको र कानुनी कारबाही अगाडि नबढाएको भन्दै महासंघले आन्दोलनको निर्णय लिएको हो। शनिबार धनुषा शाखामा भएको पत्रकार भेलाले प्रहरी प्रशासनको रवैयाविरुद्ध आन्दोलनमा उत्रने सर्वसम्मत निर्णय गरेको थियो।

उदयपुरमा मागअनुसारको रासायनिक मल नआउँदा अभाव

उदयपुर । जिल्लामा किसानको मागअनुसार युरिया, डिएपी र पोटास मल नआएपछि बर्सेनि अभाव हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा उदयपुरका प्रमुख नरेशकुमार महतोका अनुसार आवश्यकताअनुसार मल नपुग्दा किसान हाहाकारमा पर्छन् । उनका अनुसार उदयपुरमा वार्षिक रूपमा करिब पाँच हजार मेट्रिक टन युरिया, डिएपी र पोटासको आवश्यकता पर्छ । तर, यसको आधा मात्र आपूर्ति हुने भएकाले अभाव देखिने गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ हजार मेट्रिक टन युरिया, १ हजार ५ सय मेट्रिक टन डिएपी, ५० मेट्रिक टन पोटास र २१ टन कृषि चुन गरी ४ हजार ७१ मेट्रिक टन मल माग गरिएकोमा हालसम्म १ सय मेट्रिक टन डिएपी मात्र प्राप्त भएको छ । ‘किसानलाई सिजनमा आवश्यक मल उपलब्ध गराउन सकिरहेका छैनौं,’ महतोले भने, ‘अघिल्लो वर्ष समय सकिएपछि आएको केही मल अहिले विभिन्न पालिकालाई बाँडिरहेका छौं, तर युरिया छैन ।’ हाल कार्यालयसँग ४.५५ मेट्रिक टन पोटास र १०.२५ मेट्रिक टन डिएपी मात्र मौज्दात छ । गएको आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ५५० मेट्रिक टन मल माग गरिएकोमा ३ हजार ८५२ मेट्रिक टन मात्र प्राप्त भएको थियो । त्यसमा पनि ३ हजार मेट्रिक टन युरिया माग भए पनि २ हजार २७३ मेट्रिक टन मात्र आएको र ढिलो आएको कारण मौज्दात बसेको महतोले बताए । आर्थिक वर्ष २०८०/८१ मा पनि ४ हजार ५ सय मेट्रिक टन माग गरिएकोमा २ हजार ३११ मेट्रिक टन मात्र प्राप्त भएको थियो । ‘अहिले पनि किसान युरियाको खोजीमा छन्, तर आएको छैन,’ उनले भने । उदयपुरमा मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालय विराटनगरमार्फत हुने गर्छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट पालिकागत भागबण्डा तोकेर सूची पठाइने र सोहीअनुसार सहकारीमार्फत बिक्री–वितरण हुने गरेको महतोले बताए । यस क्रममा अभाव भएका पालिकाका किसानले नपाउने र अभाव नभएका पालिकामा जाने अवस्था देखिएको छ । जिल्लाका आठ स्थानीय तहका ६८ वटा कृषि सहकारीमार्फत किसानको हातमा रासायनिक मल पुग्ने गरेको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार, जिल्लामा २६ हजार २४१ हेक्टर क्षेत्रमा खेती हुन्छ । अहिले आठै पालिकाका किसान युरियाको अभावमा छन् ।

बाँकेमा एकैपटक ९ पुल निर्माण

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँकेमा एकैपटक नौवटा पुल निर्माणको कार्य अघि बढाएको छ ।  सडक पूर्वाधार कार्यालय बाँकेका अनुसार करिब ५१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको ती पुलमध्ये चारवटा पुलको काम सम्पन्न भइसकेको छ भने बाँकी पाँचवटा पुल चालु आर्थिक वर्षभित्र सम्पन्न हुनेछन् । कार्यालयका प्रमुख दीपक खड्काका अनुसार जेठीनाला–बनखेत पुल र परस्पुर–गौघाट सडक खण्डअन्तर्गतको किरण नाला पुल आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भएका हुन् । त्यस्तै, खजुरा–३ स्थित गडगैचा पुल र बैजनाथ–४ स्थित जेठीनाला पुल गत आर्थिक वर्ष २०८१/८२ मा तयार भएका छन् । हाल निर्माणाधीन पाँच पुलमध्ये जानकी गाउँपालिका–४ जोड्ने खजुरा–४ को सिर्जना टोल र चल्तुवा क्षेत्रमा रहेको किरण नाला पुल, पिप्रहवा–जयसपुर–साईगाउँ–राधापुर जोड्ने किरण नाला पुल, र राप्तीसोनारी–९ अर्गानिकदेखि तल्लो खैरेनी जोड्ने पुल चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुनेछन् । “निर्माणाधीन पुलहरूको ढलान कार्य सकिएको छ । अब यो आर्थिक वर्षभित्र सबै पुल निर्माण सम्पन्न हुनेछ,” प्रमुख खड्काले बताए । उनका अनुसार कतिपय पुलमा ठेकेदारले ढिलाइ गरेपछि बारम्बार ताकेता र कारबाहीको प्रक्रिया अघि बढाइएपछि मात्रै काम अन्तिम चरणमा पुगेको हो । कार्यालयले चल्तुवा र सिर्जना टोलस्थित किरण नाला पुल निर्माण पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

पदमार्गको अभाव हुँदा ओझेलमा बागलुङकाे जल्पाताल

बागलुङ । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरि पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् । ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदल यात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटपुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् ।  ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्राकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उनको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उनको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जल्पाताललाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र सङ्घ सरकारले पहल थाल्नुपर्ने उनको सुझाव छ ।  “गत वर्षसम्म बुकीपाटन आझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उनी भन्छन्, “अब जल्पातालको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।” जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुग्नुभएका पत्रकार विनोद ढुङ्गाना बताउँछन् । “जल्पातालको दृश्यले देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उनले भने । कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ । तर, त्यसका लागि व्यवस्थित पदमार्ग र सूचना बोर्ड राख्नुपर्ने उनले बताए । “ताल निकै मनमोहक छ । वरपरको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ताललाई पनि थोरै व्यवस्थित गर्नुपर्ने छ । ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ”, ढुङ्गानाले भने, “पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता । बुकीपाटनसँगै जल्पाताल पनि पर्यटक आकर्षणको गन्तव्य बन्नेमा शङ्का छैन ।” ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठाउँठाउँमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने बताए । ढोरपाटन उपत्यकाबाट धेरै टाढा रहेको हुँदा नगरपालिकाको स्रोतले मात्र नपुग्ने हुँदा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पूर्वाधार निर्माण गर्ने उनको भनाइ छ । जल्पातालसहित ढोरपाटनका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव गर्ने योजना बनाएको कायतले बताए । उनले भने, “यो ताल अहिलेसम्म ओझेलमा छ, फाट्टफुट्ट ढोरपाटन वरपरका पर्यटकहरू कहिलेकाहीँ पुग्ने गरे पनि अरू ठाउँबाट खासै आउन सकेका छैनन् । आउन् पनि कसरी प्रचार नै छैन । हामीहरूले अब जल्पातालसँग बुकीपाटन क्षेत्रको पनि प्रवर्द्धन गर्ने गरी योजना बनाएका छौँ । यो वर्ष पर्यटकका लागि सूचना बोर्ड र केही ठाउँमा पदमार्ग बनाउँछौँ । अधूरा कामका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ ।”