जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट घर खर्च
सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् ।
दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताइन् ।
उनले भनिन्, “निगुरोमा कुनै लगानी गर्नु पर्दैन, जङ्गलबाट टिपेर ल्याएर बेच्दा फाइदा हुन्छ, बिनालगानी पैसा कमाउन सकिन्छ तर बिहानै जान पाए धेरै पाइन्छ, छोराछोरीलाई स्कुल पठाउनुपर्ने भएकाले दिउँसोमात्र निगुरो जङ्गल टिप्न जान पाउँछु ।” उनले निगुरो रामधुनीको जङ्गलभित्रबाट टिपेर ल्याई रामधुनी मन्दिर नजिकै सडक छेउमा दिनभर बेचेर बेलुका घर पर्कने गरेको सुनाइन् ।
उनका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्कालगायतका व्यापारीले आएर लैजाने गरेका छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्ने गरेको उनले बताइन् । सङ्कलन गरेको निगुरो सानो मुठा रु २० मा बिक्री हुने गरेको छ भने अलिक ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उनले बताइन् । तीन वर्ष अगाडिदेखि निगुरो बेच्न सुरु गर्नुभएको उराँवले दसैँ, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताइन् ।
दसैँतिर धेरै मानिस घरायसी काममा व्यस्त हुने भएकाले जङ्गल जान पाउँदैनन् । त्यो समयमा भने निगुरो टिप्न सजिलो हुने उनले बताए । दसैँ तिहारको आधा खर्च यही निगुरो बिक्रीबाटै जुटाउँछु, निकै सहयोग पुग्छ मलाई । उराँवका अनुसार जङ्गलबाट टिपेर ल्याइने निगुरो पूर्ण अर्ग्यानिक हुने भएकाले स्वादिलो मात्र नभई स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता हुन्न, सबै बिक्री भइहाल्छ । उनले भनिन्, “अहिलेको सिजनमा बारीमा सागसब्जी रोपेर बेच्नुभन्दा निगुरो टिपेर बेच्दा धेरै फाइदा हुन्छ ।”
उनले चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हुने बताइन् । यसैबाट छोराछोरीको स्कुलको खाजा खर्च, नुनतेलदेखि लिएर कहिलेकाहीँ बजार जाने खर्चसमेत पुग्ने बताइन् ।
बराहक्षेत्र क्षेत्रमा सरिता उराँवजस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । जङ्गलमा पाइने यस्ता अर्ग्यानिक वनस्पतिले सिजनअनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएको छ । रामधुनी मन्दिर नजिकैको सडकमा बिहान निगुरो बेच्ने एक दर्जनभन्दा बढी महिलाहरू भेटिन्छन्, उनीहरू निगुरो बेचेरै घरखर्च टार्ने गरेको बताउँछन् ।
मुगुमा भेडालाई पाटन ल्याइयो, बुकी चर्ने परम्परा जारी
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर र हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरनका लागि भेडाहरूलाई पाटन ल्याइएको छ । गर्मी बढेसँगै बेँसीबाट हिमाली पाटनतर्फ उक्लने भेडापालक किसानको परम्परागत चलन हो । स्थानीय भेडापालक किसान अमर कार्कीका अनुसार, हरेक वर्ष वैशाखदेखि कार्तिकसम्म भेडाहरूलाई उच्च हिमाली पाटनमा चराइन्छ । मङ्सिरको पहिलो साताबाट चिसो बढेसँगै भेडाहरूलाई बेँसी ओरालिन्छ । हरियाली पाटनमा सेता र काला भेडाहरू चरेको रमणीय दृश्यले पाटनलाई आकर्षक बनाउँछ । स्थानीय भुमल बोहराले भने, “तीन दशकअघि भेडाहरू यातायातको साधनका रूपमा प्रयोग हुन्थे ।” भेडापालनबाट राम्रो आम्दानी हुने र पछिल्लो समय वन फँडानी र खेतीपातीका कारण चरन क्षेत्र घट्दै गएको उनले बताए । छायानाथ रारा–१ का ८३ वर्षीय हस्तबहादुर मल्लका अनुसार, मुगाली समुदायले भेडालाई लिएर तिब्बत गएर नुन ल्याउने र भारतसँगको व्यापारसँगै हिउँदमा मधेस झर्ने परम्परा छ । बर्खामा भेडाहरू कुकुर र ग्वालाहरूसहित पाटनतर्फ लाग्छन् । उनीहरूले चामल, पिठो र आवश्यक सामग्री बोकेर बर्खाभरि पाटनमा बस्छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ का प्रेम रोकायाले भने, “वर्षायाममा पाटनमा बुकी पलाउँछ, जुन भेडाका लागि मिठो र औषधीय खाना हो ।” हिमाली घाँस र चिसो पानीले पोषित भेडाको मासु स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिन्छ । भेडाको मासु र झोलले रोग निको हुने र शरीरमा तागत बढाउने जनविश्वास छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगुका प्रमुख भिमचन्द्र बुढाका अनुसार, भेडापालन मुगाली किसानको प्रमुख आयस्रोत हो । जिल्लाका चार पालिकामा करिब आठ हजार भेडा छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा भेडापालक किसानलाई वार्षिक १८ हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरिन्छ ।
ऐतिहासिक भाेजपुरकाे टक्सार बजार संरक्षणको पर्खाइमा
भाेजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’ को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ । दर्जनौं धार्मिक र सांस्कृतिक स्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीय अम्रिका तामाकार बताउँछन् । ‘ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो,’ उनले भने, ‘तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।’ विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्थ्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डा स्थापना भएको थियो । यहाँ विसं १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान, तीन धारा लगायतका धार्मिक स्थल छन् । बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन् । ‘टक्सारमा दर्जनौं धार्मिक स्थल छन्,’ उनले भने, ‘जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन् । बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन् ।’ राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ । विसं २०१३ मा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए । त्यस समयमा करिब २००–३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ । टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीय बताउँछन् ।
गौरा पर्वको आज तेस्रो दिन: गौरादेवीको घरमा स्वागत
बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौराको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भित्री गौरा अर्थात् ‘ठुली गौरा’ भनिने यो दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिन्छन् । ‘व्रतालु महिलाहरूले बिहान नुहाइधोइ गरेर साँझ गौरालाई गौराघरमा भित्र्याउने चलन छ, स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । आज अमुक्ताभरण सप्तमी भएकाले व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्छन्,’ उनले भने । ‘ठुली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्छन् । व्रतालु महिलाहरूले लगाउने विशेष धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साउ, अपामार्ग, तीललगायत वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाइ पूजाआजा गर्ने चलन छ । खेतबारीबाट साउ, अपामार्गलगायत वनस्पतिबाट प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले गौराको समयमा दुबधागो लगाउने परम्परा छ, पण्डित जयानन्द भट्टले बताए । साँझ व्रतालु महिलाहरूले कुण्ड स्नान गर्छन् । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले लगाउँछन् । नयाँ दुबधागो आज गौरादेवीमा चढाउने र भोलि अठ्यावाली सकिएपछि लगाउने परम्परा छ । गौरापर्वको मुख्य दिन सप्तमीमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाहरूले राति मिठो खाना खाने चलन छ । मौलिक पर्वको रूपमा रहेको गौराको मुख्य दिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीमा महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्छन् । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन छ । सुदूरपश्चिममा दशैँभन्दा बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किन्छन् ।
जनताको घरदैलोमा मर्निङवाक: सांसद जीवन आचार्यको विकास यात्रा
विराटनगर। चुनावअघि मत माग्न जनताको घरदैलो पुग्ने जनप्रतिनिधिहरू निर्वाचित भएपछि आफ्नो क्षेत्रमा फर्कने कमै हुन्छन्। तर, मोरङ क्षेत्र नम्बर ६ (१) का कोशी प्रदेश सांसद जीवन आचार्य हरेक बिहान मर्निङवाकसँगै मतदाताको घरमा पुगेर समस्या सुन्छन् र समाधानको पहल गर्छन्। नेकपा माओवादी केन्द्रबाट २०७९ मा निर्वाचित आचार्य बिहान ५ बजे उठेर स्वकीय सचिव कपिल सुनार र स्थानीय कार्यकर्तासँगै घरदैलोमा निस्किन्छन्। उनीहरूले हरेक दिन कुन रुट र कसको घरमा पुगेर चिया पिउँदै गुनासा सुन्ने भन्ने योजना बनाउँछन्। “माननीयले तीन वर्षमा क्षेत्रका सबै वडामा पुगेर जनतासँग भेटघाट गर्नुभएको छ,” सुनारले भने। जनतासँग प्रत्यक्ष जोडिएको सम्बन्ध आचार्यको मर्निङवाक केवल औपचारिक भेटघाटमा सीमित छैन। उनी थारु र मुसहर समुदायको बाहुल्यता रहेको क्षेत्रमा स्थानीय थारु भाषामा कुराकानी र भाषण गर्छन्, जसले जनताका समस्या बुझ्न सजिलो हुन्छ। बुढीगंगा गाउँपालिका–४, हात्तीमूढामा हुर्केका आचार्यलाई स्थानीय समस्याबारे गहिरो ज्ञान छ। “मर्निङवाकमा जनताको घर पुग्दा अपनत्व बढ्छ र समस्याहरू प्रत्यक्ष बुझ्ने अवसर प्राप्त हुन्छ। यो मेरो नशा बनिसक्यो,” उनले भने। विकासमा योगदान २०७४ को निर्वाचनमा झिनो मतान्तरले हारे पनि आचार्यले पाँच वर्षसम्म क्षेत्रको विकासमा सक्रिय रहे। त्यतिबेला उनले १६ करोडभन्दा बढीका योजना ल्याएर कच्ची–पक्की बाटो, गुणस्तरीय ट्रान्सफर्मर, बिजुली विस्तार र खेलमैदान निर्माण गरे। बुढीगंगा–७ मा सशस्त्र प्रहरीको बेस क्याम्प स्थानान्तरण हुनबाट जोगाए। निर्वाचित भएपछि पनि उनले साना–ठूला विकास योजनाहरू कार्यान्वयन गरिरहेका छन्। सामाजिक पृष्ठभूमि र चुनौती खोटाङमा जन्मेका आचार्य आर्थिक अभावले बाल्यकालमै परिवारसँग मोरङको हात्तीमूढा झरेका थिए। थारु, मुसहर, जनजाति, खस र दलित समुदायसँगै हुर्केका उनले स्थानीय सरकारी स्कूल र विराटनगरको मोरङ क्याम्पसमा पढे। अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका उनले कम्प्युटर सिकेर इन्स्टिच्युटसमेत सञ्चालन गरे। मोरङ–६ (१) मा अशिक्षा, गरिबी, बाटोघाटो, डुबान, कटान, अन्धविश्वास र सुकुम्बासी समस्या छन्। थारु र मुसहर समुदायको मौलिक संस्कृति र उद्यम लोप हुँदैछ। जातीय विभेद र छुवाछुत पनि पूर्ण रूपमा हटिसकेको छैन। यी समस्यालाई सम्बोधन गर्न आचार्यले योजनाबद्ध विकासमा जोड दिएका छन्। कोशी प्रदेश सभामा निर्वाचित भएपछि आचार्यले पर्यटन, वन तथा वातावरण र अर्थमन्त्रीको जिम्मेवारी सम्हाले। पर्यटन मन्त्री हुँदा उनले उल्लेखनीय नीतिगत काम गरे। “सांसद आचार्य विकासका लागि साँच्चैको जीवन बनेर आउनुभएको छ,” बुढीगंगा–७ का बलिराम राजवंशीले भने।
सुदूरपश्चिममा नानी गौरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै
बैतडी । सुदूरपश्चिमका जिल्लाहरूमा शुक्रबार नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज महिलाहरू बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर अघिल्लो दिन भिजाइएका पाँच थरी अन्न बिरुडालाई शुद्ध जलाशयमा लगेर धुने चलन छ । पाटन नगरपालिका–३ की बसन्ती भट्टका अनुसार महिलाहरूले बिरुडा धोएपछि धान, साउँ, तिल, अपामार्गलगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाई सिँगारपटार गरी पूजाआजा गर्ने परम्परा छ । दोगडाकेदार गाउँपालिका–५ की ६५ वर्षीया धनुदेवी भट्ट भन्छिन्, “हामीले हरेक वर्ष गौरालाई बिरुडासहित पूजा गर्छौं । यसले घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।” धारामा महिलाहरूको भीड लाग्दा गाउँमा पर्वको रौनक झल्किएको छ । युवतीहरू परम्परागत भेषभूषामा सिँगारिएर नदी, धारा र तलाउमा पुगेको दृश्य मनमोहक बनेको स्थानीय शिक्षिका पूजा बिष्ट बताउँछिन् । गौरापर्वमा महिलाहरूले आफ्नो परिवारको सुख–शान्ति र दाम्पत्य जीवनको दीर्घायुप्रतिको कामना गर्दै व्रत बस्ने प्रचलन छ । धार्मिक अगुवा सिद्धराज भट्टका अनुसार, गौरापर्व पौराणिक कालदेखि हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन गरेको कठोर तपस्याको सम्झनामा मनाउने चलन रहेको हो । गौराको तेस्रो दिन अमुक्ताभरण मनाइन्छ । यस दिन महिलाहरू दिनभर व्रत बस्छन् र साँझपख गौरा राखिएको घरमा गएर ध्वजा, दुबधासहितका सामग्री पुरोहितद्वारा शुद्ध पार्छन् । त्यसपछि मात्र प्रसाद ग्रहण गरी एक छाक खान्छन् । चौथो दिन भने दुर्वाष्टमी अर्थात् अठ्यावाली मुख्य दिनका रूपमा मनाइन्छ । यस अवसरमा महिलाहरू घर–घरमा भेला भई गौरागीत गाउँदै रातभर नृत्य गर्ने परम्परा अझै जीवित छ, भनी स्थानीय व्रतालु महिला विष्णुमति भट्टले बताइन् ।
पर्यटकीय गन्तव्य बन्दै गुल्मीको इस्मा देउराली
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित देउराली पार्कलाई पर्यटकीय गन्तव्य बनाउनका लागि संरचना निर्माणको काम अघि बढाइएको छ । पछिल्ला वर्षमा धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिने देउरालीमा निरन्तर पर्यटकीय पूर्वाधार थपिँदै आएका छन् । इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पाल्पाको पारिलेक कन्स्ट्रक्सनसँग ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता भएको गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेले जानकारी दिए । २०८१ माघ २७ गते सम्झौता भएको यो योजना २०८२ जेठ ३० गते सम्पन्न भएको हो । सम्झौताअनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, गार्ड रुम, काउन्टर तथा केही विद्युतीय काम सम्पन्न गरिएको पाण्डेले बताए । बर्से र चैते दशैँमा विशेष पूजाआजा हुने यस स्थललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकार दुवै तर्फबाट सहयोग हुँदै आएको छ । यसअघि २०७९ सालमा डिभिजन वन कार्यालय गुल्मीमार्फत १२ लाख ४८ हजार ३६२ रुपियाँमा उद्यान पार्क निर्माण भएको थियो । सो काम रेसुङ्गा नगरपालिका–२ की निर्माण कम्पनीले सम्पन्न गरेको हो । तर अहिले त्यतिबेला निर्माण भएका केही संरचना जीर्ण भइसकेका छन् । यसै कारण पार्कलाई व्यवस्थित बनाउन नयाँ संरचना थप्ने र संरक्षण व्यवस्थापनलाई हेरालुमार्फत अघि बढाउने कार्य भइरहेको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गणु प्रसाद अधिकारीले बताए । उनका अनुसार गुरुङ्ग गाउँ कल्यार र नजिकैको मुख्य सडक मार्गलाई समेत समेटेर कल्यारलाई होमस्टे गाउँ र देउरालीलाई पर्यटकीय पार्कका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । तर, यहाँ खानेपानीको अभाव र सडक स्तरोन्नती नभएको स्थानीयको गुनासो छ । नजिकै ठुलो खानेपानी ट्याङ्की रहे पनि देउराली पुग्ने पर्यटकहरूलाई पिउने पानीको असुविधा हुने गरेको स्थानीय बसन्ती न्यौपाने अर्यालले बताइन । उनले पार्कमा प्रवेश शुल्क साना बालबालिकासमेतबाट असुल्ने कार्य रोक्नुपर्ने र व्यवस्थापन सुधार आवश्यक रहेको सुझाव दिइन । इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतका अनुसार धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्त्वपूर्ण देउरालीलाई क्रमशः पर्यटकीय गन्तव्य बनाउन प्रयास भइरहेको छ । संघ र प्रदेश सरकारको बजेट सहयोगमा संरचना निर्माण भइरहेकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गतका अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । बस्नेतका अनुसार गत वर्ष मात्रै देउरालीका लागि करिब ६७ लाख रुपियाँ विनियोजन भई गाउँपालिकामार्फत कार्यान्वयन गरिएको छ भने दुई वर्षअघि प्रदेश सरकारमार्फत करिब साढे १२ लाख रुपियाँका संरचना निर्माण भएका थिए ।
आछाममा छाउपडी बसेकी महिलाको ढुङ्गा लागेर मृत्यु
अछाम । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लिने तयारी गरिएको छ । गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो । घटनास्थलमा प्रहरी पुगेको छ । अछाममा बिहीबारदेखि निरन्तर पानी भइरहेको छ । अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् । महिनावारी भएका महिलाहरु घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने कुरालाई छाउपडी बार्नु भन्ने गरिएको छ ।
सुदूरपश्चिममा फरक दुई दुर्घटनामा परी ९ जनाकाे मृत्यु
कैलाली । सुदूरपश्चिमका कैलाली र डडेलधुरामा बिहीबार दुई फरक घटनामा ९ जनाले ज्यान गुमाएका छन् । कैलालीको गोदावरी नगरपालिका–९ सेहरीस्थित खुटिया नदीमा पौडी खेल्ने क्रममा चार किशोर डुबेर मृत्यु भएका हुन् । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–५ का १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय प्रतीक चौधरी, धनगढी–४ का १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी रहेका छन् । उनीहरू धनगढीबाट नुहाउन खुटिया नदी गएका थिए । दिउँसो करिब २ बजे घटना भएको सूचना पाएपछि प्रहरी र सशस्त्र प्रहरीका गोताखोरले खोजी गरी शव फेला पारेका थिए । यसैगरी, डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चौडामा जिप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये सोही वडाकी ४० वर्षीया शिक्षिका तारा अवस्थी, १८ वर्षीय सुरेश साउद, २६ वर्षीय सुरेश पार्की, वडा–२ की ७२ वर्षीया कलुदेवी साउद र गम्भीर घाइते भएका ४२ वर्षीय गणेशबहादुर साउद उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । शिक्षिका अवस्थी स्थानीय भूमिराज आधारभूत विद्यालयमा अध्यापन गर्थिन् ।
भण्डारीको चीन भ्रमण ओलीकै सल्लाहमा भएको थियो, त्यसपछि के भयो मलाई थाहा छैन : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने कदम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा भएको दाबी गरेका गर्नु भएको छ । विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म ओलीकै सहमतिमा भएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, “भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहना स्पष्ट छ। यो सबै ओलीको सल्लाहमा भएको हो। तर, चीन भ्रमणपछि के भयो, मलाई थाहा छैन।” उहाँले संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नरोक्ने स्पष्ट पार्नुभयो । विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदमा रहेका व्यक्ति पुनः राजनीतिमा फर्कने उदाहरण रहेको उहाँको भनाइ छ। प्रचण्डले आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर भण्डारीलाई पनि बाटो खोलिदिएको दाबी गर्नुभयो। उनले भन्नुभयो , “संविधान वा कानुनले कसैलाई सक्रिय राजनीतिमा आउन रोक्दैन। यो तर्क मात्र हो।” यसैगरी, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको खुलासा गर्नुभयो। भारत भ्रमणका क्रममा आफूले यो विषय राखेको र मोदीले संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । वर्तमान सरकारले कूटनीतिक माध्यमबाट वार्ता र संवादमार्फत हाम्रो जमिन फिर्ता ल्याउन पहल गर्नुपर्नेमा प्रचण्डको जोड छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा कहिल्यै गम्भीर नभएको उहाँको भनाइ छ । प्रचण्डले पार्टीभित्रका स्वार्थ समूह विघटन गर्ने निर्णय भएको र समाजवादी मोर्चासँग एकताको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले एक दुई जनाको लहड वा असहमतिले पार्टीमा कुनै पनि फरक नपर्ने बताउनु भयो ।
अध्यक्ष प्रचण्ड विराटनगरमा : प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्ने
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विराटनगर आइपुग्नुभएको छ। उहाँ पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न मोरङ पुग्नुभएको हो। विराटनगरमा प्रचण्डले विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्तासँग अन्तरक्रियासमेत गर्नुहुनेछ । प्रदेशस्तरीय बैठकमा सहभागिताका लागि विभिन्न जिल्लाका प्रदेशस्तरीय नेताहरु विराटनगर आइपुगेका छन् ।
डडेल्धुरामा जिप दुर्घटना: चार जनाको मृत्यु, सात घाइते
डडेल्धुरा। नवदुर्गा गाउँपालिका–५ को कच्ची सडकमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिप सडकबाट करिब ५०० मिटर तल जंगलमा खसेको थियो। प्रहरीका अनुसार डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। हालसम्म चार जनाको शव फेला परेको छ, तर मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण पनि खुलेको छैन। दुर्घटनामा कम्तीमा सात जना घाइते भएको प्रहरीले जनाएको छ, यद्यपि घाइतेको यकिन संख्या पुष्टि हुन बाँकी छ। घाइतेहरूको उद्धार कार्य जारी छ र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।
राैतहटमा नहरमा पानी नआएपछि किसान आन्दोलित
रौतहट । रौतहटको गरुडा–महम्मदपुर–गौर नहरमा पानी नआएपछि किसान आन्दोलित भएका छन् । बागमती, मनुष्मारा, झाँझ सिँचाइ व्यवस्थापन कार्यालय, कर्मैया (सर्लाही) लाई दबाब दिन बुधबार किसानहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड एक घण्टासम्म अबरुद्ध गरेका हुन् । धान रोपाइँको बेला नहरमा पानी नआएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सिताराम यादवले बताए । ‘‘खेती गर्न नपाएर मर्नु भन्दा सडकमा मर्नु नै बेश हुन्छ,’’ उनले भने । यसअघि भदौ ६ गते किसानहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत ज्ञापनपत्र बुझाएका थिए । तर कुनै पहल नभएपछि सडक अवरुद्ध गर्नुपरेको किसान नेता नागेश्वर राउतले बताए । महम्मदपुर–गौर नहरमा हाल भेडियाहीसम्म मात्र पानी पुग्ने गरेको वडा अध्यक्ष यादवको भनाइ छ । सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामदुलारी भगतका अनुसार किसानको मागबारे विभागमा जानकारी गराइएको छ । उनका अनुसार सन् १९६० मा भारतीय सहयोगमा बनेको झाँझ सिँचाइ आयोजना अहिले जिर्ण अवस्थामा पुगेको छ । गत असोजको वर्षाले नहर बाँधमा क्षति पुर्याएको र मर्मतका लागि टेन्डर आह्वान भइसकेको उनले बताए । उनका अनुसार नहर बाँध मर्मत कार्यको करिब ६० प्रतिशत माटोको काम भएकाले अहिले तत्काल काम सुरु गर्न कठिन भएको छ । साथै, स्थानीयले नहरमा फोहोर फाल्दा जलकुम्भी बढ्ने र त्यसले पानीको प्रवाह अवरुद्ध हुने समस्या पनि देखिएको प्रमुख भगतको भनाइ छ ।
पाँचथरकाे हिलिहाङ आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै
पाँचथर । हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले मङ्गलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार दुई लाख ४८ हजार लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो । “आरन चलाउनेको सङ्ख्या घट्दै गएको छ । पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष अधिकारीले भने । यहाँका विशेषतः गाउँघरमा कृषि र घरायसी प्रयोगका औजार निर्माण र मर्मत गरिन्छ । त्यसैगरी, चालु आवमा सङ्घीय सरकारले दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवरद्धन गर्न ५० लाख विशेष अनुदान उपलब्ध गराएको उनले बताए । उक्त बजेटले अधिकांश आरन ब्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने अधिकारीले बताए । परम्परागत रूपमा सञ्चालित आरनबाट निर्मित औजार गुणस्तरीय हुने भए पनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ । यहाँका आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन् । आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ । हिलिहाङ–६ का सन्तवीर रसाइलीका अनुसार परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक छ । आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो । अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्नेमा उनको जोड छ । गाउँ कार्यपालिकाकी सदस्य गङ्गामाया विश्वकर्मा हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेकामा सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सकेमात्र व्यावसायिक रूप लिनसक्ने बताउँछन्।
सुदूरपश्चिममा गाैरा पर्व सुरु: आज घरघरमा ‘बिरुडा’ भिजाइँदै
डडेल्धुरा । सुदूरपश्चिममा बिहीबार व्रतालु (महिला) ले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुवात गर्दैछन् । त्यसैले यो दिनलाई बिरुडा पञ्चमी भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा शुरु हुने यसका जानकार खगेश्वरी साउदले बताइन् । ‘एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचर्य पालना गर्नुपर्छ’, उनले भनिन्, ‘बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाग गाउँछौँ ।’ यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लगाउँछन् । ‘गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउँछौँ’, उनले भनिन्, ‘गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।’ यसै दिनदेखि ठाउँठाउँमा देउडा खेल्ने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने परम्परा छ ।
उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडक कालोपत्रे बन्दै
उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ । सन् २०२५ सालअघि नै ट्र्याक खुलेको यस सडकको मोतीगडा–जोगीदह खण्ड (करिब १२ किलोमिटर) मा डिभिजन सडक कार्यालय लहानले कालोपत्रे गरिरहेको हो । संघीय सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार प्रत्येक क्षेत्रमा २५ देखि ४० करोड रुपैयाँसम्म लगानी गर्दै आएको छ । उदयपुर क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने यस ऐतिहासिक सडकमा हाल उच्च गुणस्तरको दुई लेनको अस्पाल्ट कंक्रिट कालोपत्रे भइरहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख इन्जिनियर आशुतोष कर्णले बताए । मैनाचुली–साह–रेग्मी जेभी निर्माण कम्पनीले करिब २८ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी अघिल्लो वर्षदेखि काम सुरु गरेको हो । कम्पनीका व्यवसायी मणिकुमार दाहालका अनुसार सुरुमा बजेट अभावका कारण समस्या भए पनि अहिले आवश्यक रकम सुनिश्चित भएपछि काम गति लिएको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका हुँदै सप्तरीको फत्तेपुरसम्म जोड्ने ३० किलोमिटर लामो सडकअन्तर्गत मोतीगडा–जोगीदह–रूपनी खण्ड तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । डिभिजन सडक कार्यालयका साइट इन्चार्ज सञ्जीव साहका अनुसार पाँचवटा ठूला र १७ वटा साना गरी कुल २२ वटा कल्भर्ट निर्माण पूरा भइसकेको छ । नाला र अन्य संरचनाको कामसमेत सम्पन्न भइसकेको र हालसम्म करिब पाँच किलोमिटर कालोपत्रे सकिएको उनले जानकारी दिए । करिब ४० करोड लागत अनुमान गरिएको योजनामा गत वर्ष सरकारले साढे २ करोड मात्र उपलब्ध गराएको थियो । यस वर्ष भने बजेटको समस्या नपर्ने भएकाले काम अवरुद्ध नहुने सम्बन्धित निकायको भनाइ छ । यस सडकअन्तर्गत चुरेबाट बग्ने लोहाले, बबिया, कंग र बाहुन्ना खोला भए पनि पुल निर्माणको योजना हालसम्म बनेको छैन । पुलको डिजाइन सडक विभागको पुल महाशाखाले गर्ने भएकाले यस कार्यालयले यसबारे काम अघि बढाउन नसक्ने डिभिजन प्रमुख कर्णले जानकारी दिए ।

