भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार
भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो ।
स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ ।
विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले बताए । “स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बल्यो”, उनले भने, “भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”
विद्युत् विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका स्थानीयवासी बलिराज राईले बताए । विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ । “हाम्रोजस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै हर्षित छौँ”, उनले भने, “अहिले गाउँमा नै इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । सूचनाको पहुँचमा जोडिन सहज भएको छ । गाउँ नै उज्यालो बनेको छ । बालबच्चाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन् ।”
यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उनले बताए । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन् । यहाँका नौवटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ ।
जेनजी प्रदर्शनमा सहभागी हुम्लाका युवा थुक्तेन ११ दिनदेखि बेपत्ता
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–३, खगालगाउँ स्थायी घर भएका थुक्तेन पाल्वर तामाङ भदौ २४ गते काठमाडौंको जेनजी आन्दोलनमा सहभागी भएपछि ११ दिनदेखि बेपत्ता छन्। हाल काठमाडौंमा बस्दै आएका २४ वर्षीय तामाङको खोजीका लागि परिवार र स्थानीय समाजले आग्रह गरेका छन्। तामाङका बुबा टसी छिरिङका अनुसार, होटलमा बिहानको सिफ्टमा काम गर्ने थुक्तेन भदौ २४ गते दिउँसो २ बजे कोठाबाट जेनजी प्रदर्शनमा सहभागी हुन बौद्धतर्फ गएका थिए। त्यसयता उनी कोठा फर्केका छैनन्। काठमाडौंका विभिन्न ठाउँमा खोजी गर्दा पनि उनको अत्तोपत्तो नलागेको बुबाले बताए। थुक्तेन नारायणथान गुम्बामा लामा ज्ञान अध्ययन पूरा गरेर हाल तीनचुलीमा भतिजोसँग कोठा लिएर बस्दै आएका थिए। उनका दुई छोरामध्ये थुक्तेन कान्छा हुन्। नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले बेपत्ता तामाङको खोजीका लागि सूचना जारी गर्दै सहयोगको आग्रह गरेका छन्। समाजले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजीमा सहयोग गर्न माग गरेको छ।
मधेस सरकारले जेनजी सहिद परिवारलाई २ लाख ५० हजार दिने
जनकपुर । मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त प्रदेशवासी सहिदका परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आन्दोलनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। त्यसैगरी, जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउनेमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउने तथा जेनजी पुस्ताले अघि सारेका मागको समाधान संविधानको दायराभित्र रहेर खोजिने निर्णय बैठकले गरेको छ।
सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।नगरपालिका– ८ स्थित स्वर्णपट्टी टोलका १६ वर्षीय जीवन साहको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै गोठ घरमा पङ्खाको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल बोदेबर्साइन ल्याइएकोमा शुक्रबार अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । साहको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुक्लाफाँटा निकुञ्जमा सडक बिग्रेका कारण खुलेन सफारी
कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ । वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठुलो घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ दसैँ र तिहारकोबिचमा निकुञ्ज सफारी खोल्छौँ ।” निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर जस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ बढी बाह्रसिङ्गा छन् ।
चाडपर्व छोडेर काम खोज्न भारत जानेकाे संख्या नाकामा उच्च
कञ्चनपुर । हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ । हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् । परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिए । “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ”, उनले भने, “पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।” थापाले दसैँको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए । थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमानसहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन्। “हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ”, उनको भनाइ थियो, “भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किन्छौँ ।” लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए । “पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ”, उनले भने । गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए । “बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ”, उनले भने । भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।
बजारमा भोजपुरे खुकुरीकाे माग बढ्दै, उत्पादनमा कमी
भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताए । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको भनाइ छ । “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उनले भने, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।” मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उनले बताए। यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बताए । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उनको भनाइ छ । विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उनले बताए । विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।
मुस्ताङको कोराला नाका सञ्चालनले व्यवसायी उत्साही
म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रूपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए । “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।” कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताए । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् । नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।
सुदूरपश्चिमका कारागारबाट भागेका ६०८ कैदी फर्किए
कैलाली । जेनजी आन्दोलनपछिका प्रदर्शनका क्रममा सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका मध्ये सोमबारसम्म ६०८ कैदीबन्दी फर्किएका छन् । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये केही स्वेच्छाले आए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार पुर्याएको हो । बाजुरा र अछाम बाहेकका सात जिल्लाका कारागारबाट कुल १,४५८ कैदी फरार भएका थिए । तीमध्ये ८५० जना अझै फरार रहेको प्रहरीको तथ्यांक छ । संबन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीको भनाइ छ ।
काेशी प्रदेशमा जेनजी आन्दोलनमा मृत्यु हुने १०, पाँच शवको पहिचान खुलेन
विराटनगर । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको झडप र आगजनीमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये ५ जनाको मात्र सनाखत भएको छ भने बाँकी ५ जनाको शवको पहिचान हुन सकेको छैन । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार झापाको बिर्तामोडमा ३ जना र सुनसरीको इटहरीमा २ जनाको सनाखत भएको हो । इटहरीमा मृत्यु हुनेमा इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का ४० वर्षीय मोहन सरदार (चङ्खे) रहेका छन् । झापाको बिर्तामोडमा २३ गतेको झडपमा परी अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाई, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको हो । पोखरेलका अनुसार प्रदेशभर ११४ जना प्रहरी घाइते भएका छन्, जसमा ५ जनाको अवस्था गम्भीर छ । ५७ जना मध्यम घाइते र अन्य सामान्य उपचारपछि ड्युटीमा फर्किएका छन् । आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको प्रारम्भिक विवरण छ, तर यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।
पूर्वीनाकाबाट मेची भन्सारको सेवा सुरु
झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले सोमबारदेखि आयात निर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले नयाँ कम्प्युटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर सोमबारदेखि सेवा सुरु गरिएको बताए । “भौतिक संरचना र सामानहरू जलेर बाँकी केही छैनन्,” उनले भने, “कम्प्युटर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौँ र केही दाताहरूको सहयोग प्राप्त भएको छ । आयात–निर्यातको काम सोमबारदेखि सुरु गरेका छौँ ।” मेची उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललाई आइतबार भेटेर भन्सार सञ्चालनका लागि आग्रह गरेको थियो । वाणिज्य सङ्घले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न समेत अपिल गरेको छ । यसैगरी भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएका थिए ।
कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै
कैलाली । यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट यहाँ भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो । प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण सङ्कलन गर्दै मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भदौ २४ मा भएको प्रदर्शनमा कैलालीमा सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका भौतिक संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनका क्रममा १०० वटा चार पाङ्ग्रे गाडी र करिब ५४३ वटा मोटरसाइकल, छ वटा तीन पाङ्ग्रे, १५ वटा साइकलमा आगजनी भएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । प्रदेश सरकारको सदरमुकामसमेत रहेको धनगढीमा सबैभन्दा बढी सरकारी कार्यालयका संरचनामा क्षति भएको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत क्षति पुगेको उनले बताए । प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत संरचनामा क्षति भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । उनका अनुसार प्रहरीले ती मन्त्रालयको क्षतिको विवरण आइतबारदेखि सङ्कलन गरिरहेको छ । सूचना अधिकारी जोशीका अनुसार आगजनीले क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयको प्रहरीले मुचुल्का सङ्कलन गरेको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सचिवालय भवन, प्रशासनिक भवन आगजनीले जलेर नष्ट भएको उनले जानकारी दिए । प्रहरीले मुचुल्का सङ्कलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम अघि बढाइने उनको भनाइ छ । यहाँस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका मन्त्रालयको मुचुल्का सङ्कलनपश्चात् सरसफाइ गरी सञ्चालनका लागि वैकल्पिक उपाय खोजेर प्रशासनिक काम अघि बढाउने तयारी भइरहेको छ ।
गण्डकी मुख्यमन्त्री कार्यालयकाे अनुराेध: चोरिएका सामग्री फिर्ता दिनुहाेस्
गण्डकी । जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ । कार्यालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ । लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
आजदेखि सुदूरपश्चिममा सुपथ मूल्यका पसल सञ्चालन
कञ्चनपुर । सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ भने साल्ट ट्रेडिङले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका २८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुने जानकारी दिए । “हामीले सुपथ मूल्य पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउने छौँ,” उनले भने, “सेवाग्राहीले नजिकको सुपथ मूल्य पसलबाट सेवा लिन सक्नेछन् ।” खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद–बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । त्यसैगरी, बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र हुनेछन् । बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद–बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिद–बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सुदूरपश्चिम कार्यालय प्रमुख तेजबहादुर कुँवरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने जानकारी दिए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो पाँच, तेल चिउरा, पीठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताए । डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ ।
जेनजी आन्दाेलनमा पुगेका क्षति पर्सामा क्षतिको आङ्कलन गरिँदै
वीरगन्ज । गत हप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ । यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’’ उनले भने, ‘‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ । ‘‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’’ उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ ।
मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
गण्डकी । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गरेका छन् । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उनले उक्त आम्दानी गरेका हुन् । फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेका बाँस्तोलाले जानकारी दिए । रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने मरिचखेतीबाट मनग्य आम्दानी हुनुका साथै वन तथा वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ । साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा खरिद गरेर ल्याएर मरिचखेती गरेको उनले बताए । अहिले फैलिएर एक सयभन्दा बढी रुखबाट उत्पादन दिइरहेको बाँस्तोलाले बताए । “मरिचको बिरुवा प्रतिबिरुवा रु दुई सय पचासका दरले बिक्री गर्दै आएको छु । आगामी वर्षका लागि दुई हजार बिरुवा उत्पादन गरेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने तयारी छ”, उनले भने । घर वरिपरिको भिरालो पाखो जमिनमा हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रुखका फेदमा लगाएका मरिचका बोटले निरन्तर फल दिँदै आएको बाँस्तोलाले बताए । उत्पादित फल बिक्रीबाट वार्षिक रु एक लाखदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ । सुकाएको मरिच प्रतिकिलो रु दुई हजारमा खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको बाँस्तोलाको फार्ममा विभिन्न प्रजातिका जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायत बोटबिरुवा हुर्केका छन् । सरकारीस्तरबाट हालसम्म कुनै पनि सुविधा प्राप्त नभएको उनले बताए । पाकेको मरिचको गेडालाई एक दिनसम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर राम्ररी रगडी पखालेर तयार भएको बीउलाई नर्सरी ब्याडमा रोपिन्छ । यो एक महिनाभित्र उम्रिन्छ र डेढ महिनामा रोप्नका लागि तयार हुन्छ । मरिचलाई कलमी, बडिङ, ग्राफटिङ, कटिङ (जरा र काण्ड) द्वारा प्रसारण गरिन्छ । माघ–फागुनतिर माउबोटबाट दुईदेखि तीनवटा आँख्ला भएको हाँगा काटेर रोपिन्छ । कलमीलाई चाहिँदो छायाँ र पानी दिनुपर्दछ । लहरेबाली मरिचले फल दिन सुरु गरेको २० वर्षसम्म लगातार उत्पादन दिन्छ । मरिच विशेषगरी न्यानो, आद्र, हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशीय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको व्यावसायिक खेती गर्न सकिन्छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरसम्म खेती गर्न सकिन्छ । कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औषधिजस्ता खाना, कल्लुवली, पन्नियुर, चेरियाकानियाककाडन र कोरिमुण्डालगायतका पर्दछन् । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटुरोगका लागि प्रयोग गरिनुका साथै दन्तमञ्जन तथा टुथपाउडरमा समेत प्रयोग हुने गरेको छ । विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरूमा वेलानकोट्ठा, कोट्ठनदान गुणस्तरीय मानिन्छन् भने पन्नियुर हाइब्रिड जातमा पर्दछन् । यसको सम्भाव्यता अध्ययन गरेर नेपालका सामुदायिक वन क्षेत्रमा समेत लगाउने हो भने वन समूहको आम्दानीको स्रोत बन्नुका साथै विदेशी मरिच आयातलाई समेत विस्थापित गर्न सकिन्छ ।

