सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुली । जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुईँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
गोलञ्जोर गाउँपालिका–४ का जुनार कृषक लोकबहादुर आलेमगरले बिक्रीका लागि बजार पठाउने बेला पछिल्ला दिनमा कुहिएर भुईँमा झरेको दुःखेसो गरे । उनले भने, “बिक्रीका लागि बजार पठाउने बेला समस्या भएको छ । पहिला यस्तो भएको थिएन । खै, यस्तो के रोग लाग्यो ? रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग हाम्रो आग्रह छ ।”
कृषकको आग्रहअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले असोज २८ गते जुनार पकेट क्षेत्र आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना कृषकका जुनार बगैँचाको स्थलगत अवलोकन तथा कृषकसँग अन्तरक्रिया गरेको थियो ।
अवलोकनका क्रममा जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुईँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ ।
शाखा प्रमुख चौधरीले भने, “हामीले जुनार बगैँचामा देखिएको रोगबारे अनुसन्धान गर्न सम्बन्धित निकायसँग सहयोग माग गरेका छौँ । कृषकले बगैँचा सफा राख्नुपर्छ, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्नुपर्छ भनेका छौँ ।”
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइ प्रमुख यामकुमार श्रेष्ठले प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुनसक्ने अनुमान गरिएको बताए। रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमुना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए ।
गोलञ्जोरका केही क्षेत्रका जुनार बगैँचामा रोग देखिन थाले पनि अन्यत्र भने विगतका वर्षमा देखिएका रोगसमेत नियन्त्रण हुँदै गएको एकाइ प्रमुख श्रेष्ठले बताए ।
जुनार उत्पादनका लागि गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र मानिन्छ । पालिकाका छ वडामा जुनारको व्यावसायिक उत्पादन भइरहेको छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यात हुँदै आएको छ ।
“गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ”, गाउँपालिका प्रमुख शङ्कर राज बरालले भने, “प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले उत्पादनमा असर पुर्याइरहेको छ । रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेका छौँ ।”
जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तवरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् ।
कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तला खेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ ।
तनहुँमा सामूहिक सयपत्री फूलखेतीमा महिला
तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन् । अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेर्थ्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।” समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन् । उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने ।
मनाङका किसानले भित्र्याए फापर बाली
मनाङ। मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउँछन् । “फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ”, उनले भने, “मौसम सफा हुनासाथ थन्क्याइएको हो ।” वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उनले जानकारी दिए । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मीठो फापर पाक्ने र घाम लागेको मौका छोपी बाली भित्र्याइन्छ । घाँस नपाइने समयमा फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन सुकुटी पारेर राखिने गरिन्छ । मनाङको प्रमुख खाद्य बालीका रूपमा रहेको फापर जलवायु सङ्कटका कारण परम्परागत अन्य रैथाने बालीभन्दा कम झन्झटिलो भएकाले यहाँका किसानले बढी खेती गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले जानकारी दिए । एक पाथी फापरको रु एक हजार २०० सम्म बिक्री गर्न सकिने चामे गाउँपालिका–५ चामेका उद्यमी शेराप विष्टले बताए । फापरसँगै यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत खेती यहाँको मुख्य बाली हुन् । मीठो फापरको खेती असार–साउनमा छरेर असोजको दोस्रो–तेस्रो साता भित्र्याइन्छ । तीतो फापर भने साउन–भदौ महिनामा छरेर कात्तिकको १५ पछि भित्र्याइने गरिन्छ ।
सप्तकाेशीमा पुनः मोटरबोट सञ्चालन
भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनः सञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए । “नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ”, उनले भने, “अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ ।” दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमा पार गर्न सकिने भएको छ । कोप्चे–बराह क्षेत्र बिचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पुर्याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए । “चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ”, उनले भने, “भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपथ्र्यो । अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ ।” गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबिचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।
मुस्ताङमा यस वर्ष एक अर्बभन्दा बढीको स्याउ उत्पादन
मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरूको स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए । यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यस वर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए । साथै ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ । यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यस वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यस वर्ष शून्य दशमलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ । यसैगरी गत वर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यस वर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशमलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यस वर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए । यस वर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गत वर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यस वर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गत वर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।
बझाङमा गएराति ४.९ म्याग्निच्युडको भूकम्प
बझाङ । बुधबार मध्यरात बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प गएपछि स्थानीय बासिन्दा घरबाहिर निस्किँदा त्रासको वातावरण सिर्जना भएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
झापामा सयपत्री फूलको माग बढेपछि किसानमा खुसी
झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लगाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो । बिर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिक जसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए । उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन् । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छ । “तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भने, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्यो । मागअनुसार पुर्याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उनको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियो । उनले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि बिर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए । उनको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ । साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।” उनका अनुसार एक पटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताए । उनले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गरे । पहिलोपटक फूलखेती गर्नुभएका साहले भने, “फूल फलाउनु मात्र पर्दो रहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।” यसैगरी, बिर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन् । उनले केही फूल दसैँमा बिक्री गरिसकेको बताए । उनको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ । “तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भनिन्, “धेरै माग आएको थियो अब पुर्याउन सक्ने स्थिति छैन ।” उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताइन् । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी छिन् । जिल्लाको बिर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ”, उनले भने, “तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ ।” उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । “सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ”, प्रजिअ नेपालले भने, “प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ ।” गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भूसंरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।
मदन भण्डारी लाेकमार्गमा गुड्दै गरेको कारमा आगलागी, एक बालक सामान्य घाइते
उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर खण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका–७, अँधरी क्षेत्रमा गुडिरहेको कारमा आगलागी हुँदा एक बालक सामान्य घाइते भएका छन् भने कार जलेर पूर्ण रूपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार इलामबाट काठमाडौंतर्फ गइरहेको बा.९च ८६६८ नम्बरको कारमा सोमबार अचानक आगलागी भएको थियो । कारमा सवार इलामको चुलाचुली गाउँपालिका–५ निवासी ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, उनकी श्रीमती २७ वर्षीया अनिता सेन्चुरी र १४ वर्षीय छोरा आयुष सेन्चुरी सकुशल रहेका छन् । तर सात वर्षीय छोरा आरोन सेन्चुरी सामान्य घाइते भएका छन् र उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । डिएसपी दोङले भने, “आगलागी भएको कार पेट्रोल इन्धनबाट चल्ने रहेको प्रारम्भिक जानकारी छ । आगलागीको कारण भने अझै खुल्न बाँकी छ ।” आगलागी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले आगो निभाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँचथरकाे फेमे खोलामा डाइभर्सन निर्माण हुँदै
पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ । सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ । गत वर्ष असोज १२ गते बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकोमा गत जेठमा बनाइएको स्थायी डाइभर्सनलाई पनि असोज १८ गतेको बाढीले बगाएको थियो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावले काम हुन सकेको छैन ।
पहिराेले धेरै क्षति भएकाे कारण मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने
इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । “सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन”, प्रजिअ नेपालले भनिन् । सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबिच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन् । तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भए पनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् । “तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ”, उनले भनिन्, “सम्भवत सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन् ।” ठुला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठुला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन् । सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनः निर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए । “हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकिनौँ”, घिमिरेले भने, “अहिले वैकल्पिक मार्गमा स्रोतसाधन र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनः निर्माणमा लाग्नेछौँ ।” पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका–९ भाङटार र वडा नं। ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रूपमा काठको मोटरेबल पुल तयार गरेका हुन् । स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयवासीले पाँच दिन लगातार श्रमदान गरेका थिए । बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्जाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए ।
बाक्लो हिमपातले न्यालु सडक अझै अझै अवरुद्ध
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिएका तुम्लिङमा रहेका उब्जन रावतले बताए । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा सवारीसाधनले सडकको हिउँ छिचोल्न नसकेर आफूहरू पाँच/छ दिनदेखि उतै रोकिनुपरेको रावतले बताए । न्यालु लेकमा परेको तीन फिट बढी हिउँ पन्छाउने कार्य अघि बढ्न सकेको छैन । शनिबार दिउँसो घाम लागेपनि यात्रुले हिउँ पन्छाउन खोज्दा नसकिएको उनको भनाइ छ । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनका लागि लिमीको तुम्लिङमा टेलिफोन सेवाले काम नगर्दा साढे एक घण्टा पैदलयात्रा गरिसकेपछि सम्बन्धित निकायमा हिउँ पन्छाउन आग्रह गरेको रावत बताउँछन् । हिमपातले बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको तुम्लिङमै रहनुभएका पवन रोकायाले बताए ।
पश्चिम तराईमा मनाइयाे करवाचौथ पर्व
बाँके । बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताए । उनका अनुसार महिलाले दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरे । नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाले पतिको हातबाट सबैभन्दा पहिले जल ग्रहण गरेको बताए । उनका अनुसार यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहनासहित शृङ्गार गरी दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुँको पिठो चाल्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चल्नीमा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्छन् । घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवान्को चित्र कोरेर टोलभरिका महिला एक ठाउँमा जम्मा भएर पूजापाठ गर्ने गरिन्छ । करवाचौथको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पूजा गरिन्छ । पूजापाठपश्चात् कथा सुनाउने चलन पनि रहेको छ ।
दाङमा सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला
दाङ । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छिन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । उनले भनिन्, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याज खेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर तरकारी खेती गरेका छौँ ।” कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् । समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उनले बताइन् । समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा सामूहिक खेती गरेको बताइन् । घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताइन्। गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००, काउली बिक्रीबाट चार हजार ५००, प्याजको बेर्ना बिक्रीबाट तीन हजार, गहुँ बिक्रीबाट रु १२ हजार आम्दानी भएको उनले जानकारी दिइन् । समूहमा काम गर्न थालेपछि रु एक लाख १९ हजार ९५० आम्दानी भइसकेको छ उनले भनिन् । पन्ध्र क्विन्टल प्याज थियो, त्यो बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ, समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन् । उनले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।” पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताउनुभयो । महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।
सप्तरीमा करेन्ट लागेर युवकको मृत्यु
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर –१ घर भएका २८ बर्षिय दिपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो । परियारले आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामै उनलाई कञ्चनपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शव पोष्टमार्टम गराएर परिवारजनको जिम्मा लगाइएको उनले बताए ।
हिमपातले हुम्लाको न्यालु सडक बन्द
हुम्ला । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए । समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

