उदयपुरमा खोरेतविरुद्ध खाेप अभियान
उदयपुर । पशुमा लाग्ने संक्रामक रोग ‘खोरेत’ नियन्त्रण गरी दुग्ध व्यवसाय सुरक्षित बनाउने उद्देश्यसहित उदयपुरका आठवटै पालिकामा खोप अभियान सुरु गरिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूका अनुसार किसानलाई दुध उत्पादनमा आत्मनिर्भर र व्यावसायिक बनाउन अभियान सञ्चालन गरिएको हो ।
उनका अनुसार बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा आइतबारदेखि एकसाथ खोरेतविरुद्धको खोप लगाउन थालिएको हो ।
पहिलो चरणमा जिल्लाभर एक लाख दुई हजार डोज खोप लगाइने योजना रहेको छ। जसअनुसार बेलकामा १७ हजार, चौदण्डीगढीमा १५ हजार, त्रियुगामा २१ हजार, कटारीमा १५ हजार, ताप्लीमा १० हजार पाँच सय, लिम्चुङबुङमा आठ हजार, रौतामाईमा १० हजार पाँच सय र उदयपुरगढीमा पाँच हजार डोज खोप लगाइनेछ ।
जिल्लामा जम्मा दुई लाख चार हजार डोज उपलब्ध गराइएकामा बाँकी खोप आगामी वैशाख महिनामा लगाइने लिम्बूले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका गाई, गोरु, राँगा र भैँसीमध्ये ८० प्रतिशत पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
लिम्बूका अनुसार खोरेत रोग फैलिँदा दुग्ध उत्पादनमा ठूलो घाटा हुने भएकाले किसानलाई समयमै खोप लगाउन आग्रह गरिएको छ । खोरेत लागेका पशुमा ज्वरो आउने, र्याल काढ्ने, हिँड्डुल गर्न गाह्रो हुने र दुध उत्पादन घट्ने लक्षण देखिने गर्छ ।
भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ आयाेजना हुने
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भन्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ । आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए । जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताए । जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्विस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो । स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयस्रोतमा वृद्धि, अन्तर्राष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ । यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताए । उनले भने, “कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितामार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।” प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ ।
बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर
सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आउनु भएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएको बताए । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृह व्यवहारका सबै आवश्यकता यही पेसाबाट पूरा हुने गरेको सुनाउँछन् । यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर बनाउँदा आम्दानी राम्रै हुन्छ, उनले भने, राईका अनुसार वर्षेनि करिब रु सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको सुनाए । नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गरेको उनले बताए। एक वटा बाँस रु २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको उनले बताए । एक वटा बाँसबाट १० देखि १२ वटा नाङ्लो बनाउन सकिने उनको भनाइ छ । उनले एक हप्तामा करिब १५० भन्दा बढी नाङ्लो बनाउने गरेको जानकारी दिए । हप्तामा बनाएको नाङ्लो धेरै जसो व्यापारीहरू हप्तैपिच्छे घरमा आएर लैजान्छन् । नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर, पथरीलगायत क्षेत्रमा बिक्री हुने गरेको छ । एक वटा नाङ्लो रु १३० देखि रु २५० सम्ममा बिक्री हुने गरेको उनले बताए । नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो नै भोजपुरका व्यापारीले आएर लैजान्छन्। दसैँ, तिहार, छठलगायत प्रमुख चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने हुँदा भदौ, असोज र कात्तिक महिनामा यसको बिक्री सामान्य दिनभन्दा बढी हुने गरेको उनको अनुभव छ । सुनौलो बस्तीमा राईसहित करिब १५ घरधुरीभन्दा बढीले व्यावसायिक रूपमा नाङ्लो बुनेर जीविका चलाइरहनु भएको छ । यसले परिवारलाई घरमै बसेर काम गर्ने अवसर प्रदान गर्नुका साथै परम्परागत पेसा जोगाउन सहयोग पुगेको उनको भनाइ छ । बाहिर अर्काकोमा मजदुरी गरेर कमाइभन्दा घरमै बसेर पुर्ख्यौली सीप जोगाउँदै कमाउनु फाइदाजनक छ । मेहनत भए पनि आम्दानी स्थिर हुने भएकाले पेसाप्रति सन्तुष्टि रहेको उनको भनाइ छ । उनले भने, “नाङ्लो बुनेरै सानो घर निर्माण गर्न गरेको छु, छोराछोरीको पढाइसमेत यसै आम्दानीले पुगेको छ ।" ग्राहकको मागअनुसार विभिन्न साइज र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने राईले जानकारी दिए । बजारमा नाङ्लोको वृद्धि भए पनि मूल्य वृद्धि हुन नसकेको कारण मूल्य बढाउन आवश्यक रहेको उनको सुझाव छ । यो पेसालाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले सहयोग र ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
चितवनमा धान उत्पादनमा वृद्धि
चितवन । जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिक टन’ बढी धान उत्पादन भएको हो । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिक टन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव ०१ मेट्रिक टन धानमा क्षति भएको उनले बताए । गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरू लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उनले बताए ।
म्याग्दीकाे अनौठो ‘स्काई केभ’
म्याग्दी । सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृश्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ । नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताए । “अन्नपूर्ण आधार शिविर आउनेजाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उनले भने, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।” मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताए । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदलयात्रा जोखिम मानिएको उनको भनाइ छ । पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिए । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उनले भने, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतुहलता मेटिने थियो ।” नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताए । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उनले भने, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।” स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइँ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिए । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो । नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुँदै भुसकेत जाने पदमार्गको बिचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ । मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताए ।
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर । देश विदेशमा आफ्नो विशेष पहिचान बनाएको भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ । “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए। भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठुलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ । परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् । पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
जेनजी आन्दाेलनमा गाउँपालिकाकाे भवन जलेपछि अस्पतालकै भवनबाट सेवा
सिरहा । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । अध्यक्ष यादवले भने, “पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ । गत वर्षदेखि निर्माण सुरु गरिएको नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न दूर्ततगतिमा काम गर्न लगाएका छौँ ।” उनका अनुसार रु सात करोड ९४ लाख १८ हजार ८९० लागतमा नयाँ भवन निर्माणको काम भइरहेको छ । अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि बिरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ गाउँपालिका कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान अभावका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले बताए । हाल अस्पतालको माथिल्लो तलामा गाउँपालिकाको प्रमुख प्रशासकीय कक्षसहित शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् । कोठा अभावका कारण अस्पतालकै माथिल्लो तलामा रहेको न्यायिक समितिको हलमै अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष व्यवस्थापन गरिएको छ । कृषि, राजस्व र पशु शाखा भने कृषि तथा पशुपन्छी सेवा केन्द्रको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । अस्पताल प्रमुख उपेन्द्र यादवले गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन हुन थालेपछि अस्पतालका नियमित सेवाहरू प्रभावित भएको बताए । उनले भने, “गाउँपालिकाका सेवाग्राहीको भीडभाडले गर्दा बिरामीलाई स्वास्थ्य सेवा दिन असहज भइरहेको छ । कोठा अभावमा बहिरङ्ग सेवा, प्रसूति सेवा र अस्पतालको प्रशासनिक कामकाज प्रभावित भएकाले नियमित स्वास्थ्य सेवा दिन समस्या देखिएको छ ।” पन्ध्र शय्या क्षमताको अस्पतालमा हाल पाँच शय्या मात्रै सञ्चालनमा छन् । दैनिक एक सय हाराहारी बिरामी उपचारका लागि आउने गरेकाले भीडभाडका कारण स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
बाजुरा पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसान सिमी भित्र्याउने चटारोमा परेका छन्। वैशाख–जेठ महिनामा पाखो जमिनमा लगाइएको सिमी पाकेपछि वर्षाको पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई समयमै भित्र्याउने हतारो लागेको हो । पछिल्लो समय पाँडीका किसानहरू प्रायः सिमी खेतीमै आकर्षित भएका छन् । दालका रूपमा प्रयोग हुने यो सिमी स्वास्थ्यका लागि निकै उपयोगी भएकाले यसको माग पनि बढ्दै गएको छ । स्थानीय जुना रोकायाका अनुसार माग बढेपछि किसानले सिमी खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । “कोदोसँगै सिमी पनि पाकेको छ,” उनले भनिन्, “कात्तिकमा पानी पर्ने सम्भावना भएकाले अहिले सबै किसान सिमी भित्र्याउन व्यस्त छन् ।” उनका अनुसार पाँडीमा उत्पादन हुने सिमी अर्गानिक हुन्छ । भेडा–बाख्राको पिसाब र गोठको मल प्रयोग गरेर सिमी उत्पादन गरिने भएकाले यसको स्वाद र गुणस्तर दुवै राम्रो हुने स्थानीयको विश्वास छ । यसै कारण पछिल्ला वर्षहरूमा गाउँमै व्यापारीहरू सिमी किन्न आउने गरेका छन् । पाखो जमिनमा राम्रो फल्ने भएकाले किसानले प्रायः कोदोसँगै सिमी खेती गर्छन् । पहिला यो सिमी फाट्टफुट्ट रूपमा मात्रै जिल्लाको मार्तडी बजारसम्म पुग्थ्यो र मुख्यतः कर्मचारीहरूले किन्थे । तर अहिले सडक विस्तारसँगै सिमी जिल्लाबाहिरका बजारसम्म पुग्न थालेको छ । पहिला आत्म–उपभोगका लागि मात्रै सिमी लगाउने किसान अहिले बजारमुखी उत्पादनतर्फ उन्मुख भएका छन् । अहिले एक परिवारले औसतमा दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्न थालेका छन् । बाजुरामा सिमीलाई मुख्य दालका रूपमा प्रयोग गरिन्छ र यसको उत्पादन पनि उल्लेखनीय छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लका अनुसार सिमी खेतीले स्थानीयको आयआर्जनमा टेवा पुग्ने सम्भावना बढेको छ, त्यसैले गाउँपालिकाले किसानलाई यस खेतीमा उत्प्रेरित गर्दै आएको छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दा लगायतका स्थानमा सिमी राम्रो उत्पादन हुन्छ, तर हालसम्म कति क्षेत्रफलमा सिमी खेती भइरहेको छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन ।
इलाममा बाढीपहिरोकोबाट ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको क्षति, ३९ को मृत्यु
इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिरोले इलाम जिल्लामा रु ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा कुल रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छिन्। जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको हो। प्रारम्भिक विवरणअनुसार इलाममा भएको क्षतिको मुख्य अंश यसप्रकार छ । सडक डिभिजनअन्तर्गत ११ आयोजनामा पहिरोबाट रु छ अर्ब ९६ करोड ४५ लाख को क्षति। पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा रु दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु ८५ करोड र ६ वटा भवनमा रु चार करोड बराबरको क्षति भएकाे छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ५ आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु दुई करोड ४७ लाख ३५ हजार ९५२ को क्षति छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनामा रु १३ करोड ४६ लाख ६९ हजार, ५ पहिरो नियन्त्रण आयोजनामा रु एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु १७ करोड ७१ लाख ५९ हजार को क्षति छ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत २९ खानेपानी आयोजनामा रु २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजनअन्तर्गत २२३ आयोजनामा रु २८ करोड १ लाख बराबरको क्षति छ । कृषि ज्ञान केन्द्रअन्तर्गत ३,४०९ किसानले ८९२.३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा रु २७ करोड ४९ लाख ९५ हजार ७५० को क्षति भएकाे छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत २५ चिया बगानमा रु चार करोड ७५ लाख ५० हजार को क्षति भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २,५२० पशुपन्छीमा रु दुई करोड ३५ लाख ७६ हजार र २४४ गोठ तथा पोखरीमा रु एक करोड ९७ लाख ५४ हजार को क्षति छ । टेलिकम: नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु पाँच लाख आठ हजार को क्षति भएकाे छ । बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए। एक जना अझै बेपत्ता छन् । जिल्लामा सात सय ११ घरपरिवार विस्थापित भएका छन्, जसमध्ये ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढीपहिरोबाट जिल्लाको १० स्थानीय तहमा ३६५ घर पूर्ण र ९४० घरमा आंशिक क्षति पुगेको थियो । जिल्लाभित्रका विषयगत कार्यालयबाट सङ्कलन गरिएको क्षतिको यो प्रारम्भिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताएकी छिन् ।
केराखेतीमा जम्दै कञ्चनपुरका एक शिक्षक, वार्षिक १० लाख मुनाफा
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनी हाल व्यावसायिक कृषकको रूपमा पनि परिचित छन् । विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् । “वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,” घिमिरेले भने, “वार्षिक केराखेतीबाट रु १० लाख मुनाफा हुन्छ ।” उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताए । “केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,” उनले भने, “कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।” उनले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए । केराखेतीबाट वार्षिक रु २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिए । “बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरू सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग मिलेकै छ,” गाउँमा रहेको अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहेका घिमिरेले भने, “यहाँको बेलौरी र पुनर्वास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदै छ ।” उनले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिए । त्यसैगरी पुनर्वास नगरपालिका–६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे । साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे । “केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि बिदेसिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,” भण्डारीले भने, “अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी भएकै छ ।” कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आउनुभएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहेका छन् । भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरूलाई पर्ने गरेको उनको भनाइ छ । उनले भने, “भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढवा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।” कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिए । “एक पालिका एक उत्पादनअन्तर्गत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,” उनले भने, “त्यसका लागि रु ४० लाख रकम विनियोजन भएको छ ।”
मूल्यमा गिरावट आएपछि अदुवा किसान मारमा
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो। तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् । गतवर्ष यही याममा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए । अन्य कृषि बाली छोडेर अदुवा रोपेका उनी यो वर्ष भाउ नपाउँदा निराश छन्। खड्काले भने, ‘यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन।’ बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनी बताउँछन् । उनले गत वर्ष रु दुई लाखको अदुवा बिक्री गरेको थियो। छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाए । तर अहिले अदुवाको भाउ सुनेर उनी पनि निराश छन् । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उनलाई छ । बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ। उनले भने, ‘बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन।’ पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन् । उनका अनुसार यहाँका स्थानीय ३०/३५ घरले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ। अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ।
भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल १५ वर्षदेखि अलपत्र
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । “लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, उनले भने, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।” यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । “राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उनले भने, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।” २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टा : तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख, जडीबुटी रु एक करोड २४ लाख, मसुरो दाल रु सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट रु एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, आलु रु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
कर्णालीमा पाँच लाखभन्दा बढी पर्यटकको आगमन
सुर्खेत । पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको कर्णाली प्रदेशमा गत वर्ष पाँच लाखभन्दा बढी पर्यटक पुगेका छन् । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार रारा, से फोक्सुन्डो, काँक्रेविहार, सहिद पार्कलगायत स्थानमा पाँच लाख १८ हजार ९७० पर्यटक पुगेका छन् । यो तथ्याङ्क गत चैतसम्मको हो । असारसम्मको विवरण संकलन भइनसके पनि कुल संख्या छ लाख नाघ्ने अनुमान मन्त्रालयले गरेको छ । तीमध्ये ४ हजार ४८२ विदेशी र ५ लाख १४ हजार ४८८ आन्तरिक पर्यटक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्यटक सुर्खेतको बुलबुले र प्रादेशिक सहिद पार्क पुगेका छन् । बुलबुलेमा ३ लाख २० हजार ८२३ र सहिद पार्कमा १ लाख २० हजार पर्यटकले भ्रमण गरेका छन् । सूचना अधिकारी नीरज श्रेष्ठका अनुसार असारसम्मको पूर्ण विवरण आएपछि पर्यटक संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । प्रदेशका प्रमुख गन्तव्यहरूमध्ये रारामा १९ हजार ४४७, भेरी नदीमा र्याफ्टिङका लागि ६ हजार ५७८, से फोक्सुन्डोमा ५ हजार ९५, गुराँसेमा १६ हजार ६६ र काँक्रेविहारमा ३० हजार ९६१ पर्यटक पुगेका छन् । मन्त्रालयका औद्योगिक प्रवर्धन तथा पर्यटन महाशाखा अधिकृत स्मिता बेल्बासेका अनुसार रारामा ३५३ विदेशी र १९ हजार ९४ आन्तरिक, भेरी नदीमा २ हजार ८६४ विदेशी र ३ हजार ७१४ आन्तरिक, से फोक्सुन्डोमा ५६८ विदेशी र ४ हजार ५२७ आन्तरिक पर्यटक रहेका छन् । यस्तै दैलेखको गुराँसेमा ५८९ विदेशी र १५ हजार ४७७ आन्तरिक तथा सुर्खेतको काँक्रेविहारमा ३० विदेशी र ३० हजार ९३१ आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । बेल्बासेले असारसम्मका तथ्याङ्क संकलन भइरहेको बताउँदै सम्पूर्ण विवरण प्राप्त भएपछि पर्यटक संख्या पुनः यकिन गरिने जानकारी दिए । नेपाल सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य सूचिमा पनि कर्णालीका थुप्रै स्थानहरू परेका छन् । तीमध्ये सल्यानको कुपिन्डे दह, डोल्पाको से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, जुम्लाको सिँजा सभ्यता र डुडुल स्तूप, हुम्लाको लिमी उपत्यका प्रमुख छन् । यस्तै, मुगुको रारा ताल–से फोक्सुन्डो ताल पदयात्रा मार्ग, कालीकोटको पचाल झरना, जाजरकोटको खलङ्गा दरबार, रुकुमपश्चिमको गोतामकोट चित्रिपाटक पदमार्ग, दैलेखको पञ्चकोशी पर्यटन क्षेत्र, कोतगढी–पञ्चदेवल–बेलासपुर महाबु क्षेत्र र सुर्खेतका काँक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जाजुरा दह, गुसीताल, मादले गुफा, शिव गुफा र गिद्धेडाँडा पनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिएका छन् ।
खाँदबारी–किमाथाङ्का सडकखण्ड स्तरोन्नतिकाे काम तीव्र रुपमा
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ । भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको १० किलोमिटर सडकखण्डको ट्रयाक सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ । उक्त खण्डको १० किलोमिटरमध्ये छ दशमलव पाँच किमी सडकको स्तरोन्नति भइसकेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए । खाँदबारी–किमाथाङ्का सडकखण्डमा सेनाले साउन महिनायता मात्र एक हजार १२५ मिटर सडक स्तरोन्नति गरिसकेको छ । सेनाले उक्त सडक यो वर्ष चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने जनाएको छ । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको छ । ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएपछि सेनाले हटाउन थालिसकेको छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको छ । किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । बरुण नदीको पुल सञ्चालन भएपछि खाँदबारीबाट भोटखोला गाउँपालिका केन्द्र हुँदै च्याम्ताङसम्म यातायात सञ्चालन हुने भएको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ५७ करोड खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
मुग्लिन । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन् ।

