भाेजपुर र संखुवासभाकाे अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयले आवतजावतमा ठुलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनः सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ । 

फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ । 

फेरी बन्द हुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सहजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।

“पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ”, उनले भने, “फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो ।”

उग्रतारा भगवती मन्दिरमा कात्तिक १९ गतेदेखि उग्रतारा मेला

डडेलधुरा ।  सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ ।  हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।  छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेकोसमेत उनको भनाइ छ । भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्क, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अमरगढी नगरपालिका–८ का स्थानीय नरबहादुर साँकीले बताए । किम्वदन्तीअनुसार दुई हजार ५०० वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आइएको छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास छ । 

पर्यटकको पर्खाइमा जुम्लाकाे नदैगुफा

जुम्ला । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले नदैगुफा ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ । यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी  छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताए । नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सर्शत अनुदानबाट रु ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ । नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्व तयारीका साथ लागेर उक्त गुफालाई विकास गरिने उनको भनाइ छ  । पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला–९ का आमकला थापाले बताइन् । नदैगुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण नदैगुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके उक्त गुफा जिल्लाकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने यहाँका स्थानीयवासीको भनाइ छ ।  नदैगुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले  जनाएको छ । उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल जोडिएको छैन ।

मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिए

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए । शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे । यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले बताए । हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उनले बताए । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए । तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा  समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारी साधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।  उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।  विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताए । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ । 

मधेसमा भैयादुजको उत्सव: दिदीबहिनीको निम्तामा दाजुभाइको सम्मान

महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइहरूले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यस वर्ष धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिने छ । मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीहरूले दाजुभाइहरूलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनीहरू माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । विवाहित बहिनीहरूले भने दाजुभाइहरूलाई निम्ता गर्ने चलन छ । निम्ता मान्न जाने दाजुभाइहरूले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीहरूले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइहरूलाई बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइहरूको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छन् । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइहरूलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीहरूले सप्तरङ्गी टीका लगाइदिन्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूहरूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । सत्ययुगमा राजा वलिका बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुभाइको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार रहँदै आएको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् जलेश्वर–५ का ध्रुव राय बताउँछन् । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीहरूले दाजुभाइहरूको गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्छन् । यसै क्रममा सुकेको केराउको दाना दाजुभाइहरूलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइहरूको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको रायको भनाइ छ । मिथिलाभरिका सबै गाउँ सहरका दिदीबहिनीहरूले बुधबार ओखलमा गोबरसँगै कुटिएको केराउका दाना (बजरी) गोबरबाट झिकेर धोई पखाली ल्याइएकामा आज ती केराउका दाना आ–आफ्ना दाजुभाइहरूलाई मिठाई, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् ‘बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु’ भन्ने भनाइका साथ दाजुभाइहरूलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । यो विधि सकिएपछि दाजुभाइहरूले आफ्नो गच्छे र क्षमताअनुसार दिदीबहिनीहरूको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहार तथा कोसेली दिने चलन छ । त्यसपछि दिदीबहिनीहरूले दाजुभाइहरूलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रको विशाल सभा : हजारौँले गरे माओवादी प्रवेश

रामगोपालपुर । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको विशाल सभा गरेको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथिथ्यतामा सुरु सभामा हजारौँको सहभागिता छ ।  जेनजी आन्दोलनपछि विशाल सभा गर्ने पहिलो दल नेकपा माओवादी केन्द्र बनेको छ । कार्यक्रममा विभिन्न पार्टी छाडेर हजारौँले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी नेता मात्रिका यादवले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  हजारौँले विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका यादवले बताए । कार्यक्रमलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकालाई संयोजक प्रचण्डसहितका माओवादी नेताहरुले पार्टीमा स्वागत गरेका छन् । 

महोत्तरीको रामगोपालपुरमा नेकपा (माओवादी केन्द्र)को विशाल सभा (भिडियो)

रामगोपालपुर । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)को विशाल सभा सुरु भएको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आथिथ्यतामा सुरु सभामा हजारौँको सहभागिता छ ।  कार्यक्रमलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्नेछन् । जेनजी आन्दोलनपछि विशाल सभा गर्ने पहिलो दल नेकपा माओवादी केन्द्र बनेको छ । कार्यक्रममा विभिन्न पार्टी छाडेर हजारौँले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता मात्रिका यादवले एभरेष्ट दैनिकलाई जानकारी दिए । 

देशभर सफा मौसम, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभर मौसम मुख्यतया सफा रहनेछ। विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका यस्तै भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, एकाध स्थानमा हिमपात पनि हुन सक्ने भएकाले पछिल्लो मौसमी अपडेटका लागि महाशाखासँग सम्पर्क राख्न आग्रह गरिएको छ। राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सफा नै रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरू र कोशी तथा गण्डकीका यस्तै भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। मौसम सफा रहनुका कारण दैनिक जीवन सहज बन्ने अपेक्षा गरिएको छ।  

स्कुटर अनियन्त्रित हुँदा चितवनमा दुई युवकको मृत्यु

भरतपुर– चितवनको भरतपुर महानगरपालिकामा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, गएराति करिब २ बजे एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैको भरतपुरस्थित सरकारी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूमा स्कुटर चालक भरतपुर महानगरपालिका–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार सोही ठाउँका २८ वर्षीय कुशल अर्याल छन्। एसपी गोविन्द पुरीका अनुसार, तीव्र गतिको कारण स्कुटर दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीले सवारी सञ्चालनमा सतर्कता अपनाउन चालकहरूलाई आग्रह गरेको छ।

धौलागिरि आरोहणबाट ७६ लाख राजस्व संकलन

म्याग्दी । चालु शरद ऋतुमा धौलागिरि हिमाल आरोहणबाट ७६ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।  पर्यटन विभागका अनुसार धौलागिरि आरोहणका लागि अनुमति लिएका ३६ जना आरोहीबाट हालसम्म ५४ हजार अमेरिकी डलर अर्थात् ७६ लाख २० हजार एक सय पचास रुपैयाँ राजस्व संकलन भएको हो । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित ८,१६७ मिटर उचाइको धौलागिरि हिमाल आरोहणका लागि अक्टोबर १५ सम्म पाँच समूहका ३६ जनाले अनुमति लिएका थिए, पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिए ।  उनका अनुसार अनुमति लिने आरोहीमध्ये २६ पुरुष र १० महिला छन् । उनीहरूमध्ये कति जनाले हिमाल सफलतापूर्वक आरोहण गरेका छन् भन्ने तथ्याङ्क भने तिहारपछि मात्र उपलब्ध हुने बताइएको छ । अवस्थीका अनुसार, “पर्यटन विभागले हालसम्म ३६ जनालाई आरोहण अनुमति जारी गरेको छ । सफल आरोहणकर्तालाई तिहारपछि प्रमाणपत्र वितरण गरिनेछ । हालसम्म विभागमा कुनै पनि आरोही प्रमाणपत्र लिन आएका छैनन्,” उनले भने । गत आर्थिक वर्षको शरद र वसन्त दुवै याममा चार समूहका ३० जनाले धौलागिरि आरोहणका लागि अनुमति लिएका थिए, जसबाट ५६ लाख २२ हजार सात सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । धौलागिरि हिमाल आरोहण चुनौतीपूर्ण मानिन्छ, किनभने त्यहाँको मौसम अत्यन्तै अस्थिर रहँदै आएको छ । आरोहीहरूका अनुसार लगातार बदलिँदो मौसम नै यस हिमालको सबैभन्दा ठूलो चुनौती हो । पर्यटन विभागले प्रकाशित गरेको ‘पर्वतारोहण सम्बन्धी तथ्य र चित्र’ पुस्तकका अनुसार, सन् २०२४ को अक्टोबर ४ सम्म कुल ६८८ जनाले धौलागिरिको सफल आरोहण गरिसकेका छन् । धौलागिरिको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त टोलीले गरेको थियो । म्याक्स आइसेलिनको नेतृत्वमा चार स्विस, एक अस्ट्रियन, एक जर्मन र दुई नेपाली पर्वतारोहीले धौलागिरि हिमालको सफल आरोहण गरेका थिए ।

लहानमा तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम  असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, “निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।” सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ । कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, “अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।” त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ । 

खाेटाङमा श्रमदानबाट काठको पुल निर्माण

खोटाङ। बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।  गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिए ।  “बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उनले भने, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन श्रमदानमार्फत काठको पुल निर्माण गरेका हौँ । अब जुनसुकै समयमा मोटरसाइकलमार्फत आवतजावत गर्न सकिने भएको छ ।” दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित तापखोलाको शनिबारेमा काठको पुल निर्माण गरिएपछि मोटरसाइकलबाट सदरमुकाम दिक्तेललगायत ठाउँ आवतजावत गर्न सकिने भएको स्थानीयले बताएका छन् । गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहितका जनप्रतिनिधि तथा स्थानीय युवा गरी ६५ जनाको सहभागितामा जनश्रममार्फत काठको पुल निर्माण गरेर सञ्चालन गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।  दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा केपिलासगढी गाउँपालिका र वडा कार्यालय खार्ताम्छाको संयुक्त लगानीमा यातायात सञ्चालन गर्न शनिबारेमा खोला ढलान गरिएको थियो । सात वर्षअघि गरिएको ढलान बाढीले बगाएपछि उक्त गाउँपालिकाको तीन वडाका स्थानीयलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी सडक पार गर्दै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता बनेको थियो ।  कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष प्रदेश सरकारबाट बजेटसमेत उपलब्ध भएको छ । केपिलासगढी गाउँपालिकाका तीन वडाका स्थानीयले सदरमुकाम दिक्तेल तथा राजधानी काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्गमा पर्ने शनिबारेमा निर्माण हुने कोशी प्रदेश सरकारको बहु वर्षे योजनाअन्तर्गत मोटरेबल पक्की पुलका लागि रु दुई करोड बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिए । 

पाल्पामा तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

पाल्पा । हिन्दुहरूको दोस्रो ठुलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यति बेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् । जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यति बेला झिनियाँ बनाउन र बिक्री गर्नमै व्यस्त छन् । उनीहरूले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली, पसलपसलमा रङ्गीविरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ । तानसेन टक्सार टोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी छिन् । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख रुपैयाँ आम्दानी भइरहेको उनी बताउँछिन् । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दै आएकी छिन् । दसैँतिहारमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँको झिनियाँ बिक्री हुने उनको भनाइ छ । बज्राचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् ।  बज्राचार्यले जस्तै टक्सार टोलका अन्य महिलाले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ ।  दसैँअघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताइन् । उनले रोटी माग अत्यधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताइन् । “रोटीको माग पुर्‍याउनै नसक्ने अवस्था छ”, उनले भनिन्, “धेरै स्थानबाट माग आउने गर्छ । तर सबैलाई पठाउन सक्दैनौँ ।” आफैँले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गरेको उनले सुनाइन् । पाल्पाबाट उत्पादित झिनियाँ गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायत जिल्लामा ठुलो मात्रामा खपत हुँदै आएको झिनियाँ व्यवसायी बताउँछन् ।

भाेजपुरमा व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्  । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ । बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । “व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोग ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभाकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उनले भने । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उनले बताए । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहरमा पुग्ने गरेका छन् । कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ । “बहुवर्षीय बाली विस्तार गरेमा लामो समयसम्म आम्दानी लिन सकिन्छ”, उनले भने, “बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाह गर्दा सहज रूपमा दीर्घकालसम्म आम्दान हुन्छ ।” स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ । ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ ।  

पाथीभरामा असोज महिनामा करिव ३३  लाखबढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव ३३  लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो । भेटी विवरण समितिले शुक्रबार साँझ सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ । समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन भएको थियो । समितिका अध्यक्ष रक्कीले दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) भएकाले असोजमा भक्तजनको आगमन बढेको र सोहीअनुसार भेटी रकम पनि बढेको बताए ।  यता असोज महिनामा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले मात्र पाथीभरा दर्शन गरेका थिए । अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले बाक्लै सङ्ख्यामा भक्तजनको आउजाउ भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।  पाथीभरा दर्शनमा नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आइरहेका समितिले जनाएको छ । 

चितवनमा जाडो छल्न हिमालपारिबाट आउन थाले चरा

चितवन । जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीकाअनुसार नेपालमा जाडो छल्न चरा आउन थालेका हुन् । साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट चरा आउन थालेका छन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन् । जाडो छल्न हाँस प्रजातिका कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको उनले बताए । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेका छन् । उनका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा आउने गर्दछन् । जाडो बढ्दै गएपछि नेपालकै हिमाली भेगका चरा मध्यपहाड र मध्यपहाडका चरा तराईमा आउने गर्दछन् । नेपालमा १५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गर्दछन् । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने सङ्घका बागमती प्रदेश अध्यक्ष बिडारीले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताउँछन् । नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् ।  ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षात्सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम बासस्थानका रूपमा लिइन्छ ।  निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।