यस कारण उदयपुर-२ मा सुरेशकुमार राईलाई तारामा भाेट
उदयपुर । भूमिगत आन्दोलनदेखि संसदसम्म भइसकेका सुरेशकुमार राई फेरि उदयपुर क्षेत्र नं. २ बाट जनताको फैसला लिन मैदानमा छन् । कटारी नगरपालिका-५ बलाहाका स्थानीय राई २०४८ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय राई २०६३ पछि सशस्त्र आन्दोलन, जातीय मुक्ति मोर्चा र जनमुक्ति सेनाको ब्रिगेड कमिसारसम्मको जिम्मेवारी पूरा गरिसकेका अनुभवी कम्युनिस्ट नेता हुन् ।
संविधान निर्माणपछिको पहिलो निर्वाचन २०७४ मा कांग्रेस उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित राईले पाँच वर्षमा भाषण होइन, काम गरेर देखाएका पात्र हुन् । सिद्धिचरण लोकमार्गको स्तरउन्नति, घुर्मी–चतरा सडकको अलपत्र अवस्था अन्त्य, सुनकोशी खानेपानी आयोजनामा करिब २ अर्ब लगानी, चार पालिकाका ४० वटै वडामा विद्युत् विस्तार, दर्जनौं विद्यालय र स्वास्थ्य संरचना निर्माण उनका मुख्य उपलब्धि आँखै अगाडी छन् ।
मदन भण्डारी लोकमार्गका १५ मोटरेबल पुल, धार्मिक–पर्यटकीय सडक, सिँचाइ तटबन्धन र ५ हजार घरधुरीमा नागरिक आवास-उदयपुर–२ को अनुहार फेरेका ठोस कामले राईलाई फेरि सशक्त उम्मेदवार बनाएको छ ।
फेरि निर्वाचित भए अधुरा योजना पूरा गर्दै उदयपुर–२ लाई अर्गानिक कृषि र पर्यटनको हव बनाउने राईको प्रतिवद्धता छ । मेडिकल कलेज स्थापना, कृषि आधुनिकीकरण, जडिबुटी प्रशोधन र स्थानीय उद्योग विस्तार उनका आगामी एजेन्डा हुन् । कामको निरन्तरताका लागि यसपटक पनि उदयपुर–२ मा तारा छापमै भाेट लगाउनु पर्ने मतदाताकाे पनि भनाइ छ ।
उम्मेदवार राईका अबका प्रतिबद्धता
१. निर्वाचन क्षेत्र नं. २ मा २०७४ सालअघि र पछिका निर्माणाधीन सडक तथा खानेपानी आयोजनाहरू सम्पन्न गरिनेछ ।
२. साना तथा ठूला सिँचाइ योजनामा पर्याप्त बजेट विनियोजन गरी कृषि उत्पादनमा गुणात्मक वृद्धि गरिनेछ ।
३. प्रत्येक वडाबाट पालिकासम्म र पालिकाबाट मुख्य सडकसँग जोडिने पक्की सडक आयोजनाका लागि पहल गरिनेछ ।
४. निर्वाचन क्षेत्रीय रिङरोड सडकलाई ग्राभेल हुँदै क्रमशः पक्की सडकमा रूपान्तरण गरिनेछ ।
५. कोल्टे–बाखखोर–माझखर्क, रसुवा–लाफागाउँ–माझखर्क, बतेनी–सोरुङ–छविसे लगायतका ग्रामीण सडक तथा अन्य योजनाहरू प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा सम्पन्न गरिनेछ ।
६. शैक्षिक क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने उद्देश्यले भौतिक पूर्वाधार तथा प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि स्पष्ट नीति निर्माण गरिनेछ ।
७. पालिका तथा प्रत्येक वडामा कम्तीमा एउटा खेलमैदान (स्पोर्ट्स ग्राउन्ड) निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
८. साना तथा घरेलु उद्योगहरू पालिका र वडासम्म स्थापना तथा विस्तार गर्ने नीति लागू गरिनेछ।
९. सबै प्रकारका (मुख्यतः राहत शिक्षक) शिक्षकहरूको समस्या समाधान गर्ने गरी शिक्षा ऐन निर्माणमा सक्रिय भूमिका खेलिनेछ ।
१०. स्वास्थ्य चौकी तथा पालिका अस्पतालमार्फत सर्वसुलभ औषधि र दक्ष जनशक्तिको व्यवस्था गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
११. कटारी नगरपालिकामा निःशुल्क जमिन उपलब्ध गराई मेडिकल कलेज स्थापना गर्न पहल गरिनेछ ।
१२. कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गरिनेछ तथा कृषिलाई उद्योगका रूपमा विकास गरी बजारिकरण गरिनेछ ।
१३. कमला, तावा, वैद्यनाथ, त्रियुगा सिर लगायतका नदी–नालामा तटबन्धन आयोजना सञ्चालन गर्न पहल गरिनेछ ।
१४. आयातित वस्तुको नियमन गर्दै स्वदेशमै उत्पादित वस्तु निर्यातका लागि बजार सुरक्षा र विस्तार गरिनेछ ।
१५. जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ।
१६. गाजाँ प्रजातिका वनस्पतिलाई लागूऔषधका रूपमा होइन, औषधि प्रयोग, खाद्यवस्तु तथा कपडा उत्पादनका कच्चा पदार्थका रूपमा मानव हितमा प्रयोग गर्न कानुनी व्यवस्था गरिनेछ ।
१७. परम्परागत अल्कोहललाई करको दायरामा ल्याई उद्योगका रूपमा विकास गरिनेछ र विषादीयुक्त बहुराष्ट्रिय कम्पनीका आयातित मदिरालाई विस्थापित गरिनेछ ।
१८. बहुजातीय संग्रहालय स्थापना गरिनेछ तथा दनुवार जातिको उत्थान र विकासका लागि विशेष व्यवस्था गरिनेछ ।
१९. वन, वन्यजन्तु तथा सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिइनेछ ।
२०. चुनढुंगा खानी उत्खननबाट प्रभावित क्षेत्रलाई राहतस्वरूप कम्पनी सेयर तथा रोजगारीमा पहिलो हक सुनिश्चित गर्ने नीति निर्माणका लागि पहल गरिनेछ ।
२१. चुनढुंगा उत्खनन गर्दा स्थानीय जनताको अधिकारस्वरूप सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफाको निश्चित प्रतिशत कार्यान्वयन गर्ने नीति बनाइनेछ ।
२२. निर्वाचन क्षेत्र नं. २ तथा सम्पूर्ण उदयपुर जिल्लालाई अर्गानिक कृषि र पर्यटनको ‘हब’का रूपमा विकास गरिनेछ । देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उदयपुर जिल्लालाई एक मुख्य जिल्ला (क्षेत्र)का रूपमा स्थापित गरिनेछ ।
२३.ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, धनुषा र सिन्धुली जिल्लासँग जोडिएको उदयपुर जिल्ला देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक प्रमुख जिल्ला (क्षेत्र)को रूपमा अगाडि बढ्न सक्ने सम्भावना बोकेको छ । यसकाे लागि जाेड दिने ।
२०७४ सालमा निर्वाचित हुँदा हालका उम्मेदवार राईले गरेका काम तथा उपलब्धिहरू
१. मिर्चैयाँ–कटारी–घुर्मी हुँदै ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुसँग जोड्ने सिद्धिचरण लोकमार्गको स्तरवृद्धि गर्दै पक्की सडक निर्माणका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरी क्रमागत बजेट सुनिश्चित गरिएको ।
२. सडक विभाग र निर्माण व्यवसायीबीचको विवाद समाधान गरी घुर्मी–चतरा सडक निर्माण कार्य सुचारु गर्न प्राथमिकताका साथ पहल गरिएको ।
३. मुर्कुची–डिल्लीवर–माझखर्क–लिम्चुङबुङ–बराह–सुनकोशी हुँदै हलेसी धार्मिक स्थलसम्म पक्की सडक परियोजनाका लागि निरन्तर बजेट सुनिश्चित गर्न पहल भइरहेको ।
४. निर्वाचन क्षेत्रभरिका ४० वडामध्ये २२ वडाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सुनकोशी खानेपानी आयोजना–१ र २ मा करिब २ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन भई निर्माणाधीन अवस्थामा रहेको ।
५. प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका चारै पालिकामा विद्युतिकरण सम्पन्न गरिएको तथा कटारी नगरपालिकाका वडा नं. १, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ मा बाँकी रहेका ग्रामीण बस्तीहरूमा विद्युत विस्तार गरी पालिकाका सबै ४० वटै वडामा विद्युतिकरण सम्पन्न गरिएको ।
६. निर्वाचन क्षेत्रभित्रका पाँचवटै प्रशासनिक पालिका भवन निर्माण योजना समयमै सम्पन्न गर्न सम्बन्धित मन्त्रालयसँग आवश्यक समन्वय गरिएको ।
७. पूर्वाधार विकास कोष, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मन्त्रालयबाट विनियोजित बजेटमार्फत छ दर्जनभन्दा बढी विद्यालय भवन निर्माण, नमूना विद्यालय स्थापना तथा प्रविधिमैत्री शिक्षाको सुरुआत गरिएको ।
८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत योजनाअनुसार चार पालिकामा १५ शय्याको अस्पताल निर्माण योजना तथा निर्वाचन क्षेत्रभर बाँकी रहेका वडाहरूमा स्वास्थ्य चौकी भवन निर्माण योजना कार्यान्वयनका लागि समन्वय र अनुगमन गरिएको ।
९. रौतामाई–रानीवासदेखि रौतामाई धार्मिक–सांस्कृतिक स्थल तथा मुर्कुची–तेलतेले–रौतामाई धार्मिक–सांस्कृतिक स्थलसम्म मुख्य राजमार्गबाट १५–१५ किलोमिटरका सामरिक पक्की सडक परियोजनाका लागि बजेट सुनिश्चित भई निर्माणाधीन अवस्थामा रहेको ।
१०. निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने, निर्माण भएका सडकहरूको स्तरवृद्धि गरी पालिकालाई मुख्य सडकसँग र वडालाई पालिकासँग जोडिएको ।
११. कटारी नगरपालिका वडा नं. १ बेलसोतदेखि तिम्नाइ–सिस्नेरी हुँदै सिराहा जिल्ला जोड्ने ग्रामीण सडक ट्र्याक खोलि, वडा हुँदै पालिकासम्म आवागमन सहज बनाइएको।
१२. बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–लिम्चुङबुङ–बराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुर्कुची–उदयपुरगढी–तावाश्री हुँदै देउलीकुनाबाट कटारी जोड्ने निर्वाचन क्षेत्रस्तरीय रिङरोड ट्र्याक खोल्ने तथा स्तरवृद्धि गरिएको । साथै तावाश्री, जरुवा, रुन्चेभञ्ज्याङ, ओख्ले, ताप्ली, ईनामे, माझखर्कलगायत पर्यटकीय तथा ग्रामीण सडक विस्तार र स्तरोन्नति भइरहेको ।
१३. कटारी–देउलीकुना–बाहुनीटार–जरुवा–बर्रे–डुम्रे–ढुंग्रे–माझखर्क ग्रामीण सडक स्तरोन्नति योजना निर्माणाधीन अवस्थामा रहेको ।
१४. मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा ढिलासुस्ती भइरहेको अवस्थामा रहेका १५ वटा मोटरेबल पक्की पुल निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न मन्त्रालय, सडक विभाग र निर्माण व्यवसायीसँग निरन्तर समन्वय गरिएको ।
१५. सिँचाइ तथा तटबन्धनका लागि पूर्वाधार विकास कोष र मन्त्रालयबाट निर्वाचन क्षेत्रभर तीन दर्जनभन्दा बढी योजना कार्यान्वयन गरिएको ।
१६. रौतामाई गाउँपालिका वडा नं. ३ ओडारे–लाफागाउँ खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई खानेपानीको अभावमा रहेका वडाबासी लाभान्वित भएका ।
१७. उदयपुरगढी गाउँपालिका वडा नं. ७ बतासे खानेपानी योजना पूर्वाधार विकास कोषबाट सम्पन्न भई ७० घरधुरी लाभान्वित भएका ।
१८. निर्वाचन क्षेत्रभर दर्जनौँ गुम्बा, मन्दिर, साकेला थान, चर्च, शहीद पार्क, एलम्बर पार्क, होमस्टे भवन लगायतका संरचना निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष तथा सम्बन्धित मन्त्रालयको बजेटबाट निर्माण सम्पन्न गरिएको ।
१९. निर्वाचन क्षेत्रभर ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत फुसको छाना विस्थापित गरी करिब ५ हजार घरधुरीमा जस्तापाताको छाना लगाइएको ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

