सल्यानमा नेकपाको घरदैलो आँधी, दार्मादेखि कुमाखसम्म मल्ललाई अभूतपूर्व जनसमर्थन

सल्यानमा नेकपाको घरदैलो आँधी, दार्मादेखि कुमाखसम्म मल्ललाई अभूतपूर्व जनसमर्थन

सल्यान । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई अभूतपूर्व रूपमा तीव्र बनाएको छ । दार्मा गाउँपालिकादेखि कुमाख गाउँपालिकासम्म विस्तार गरिएको अभियानले गाउँ–गाउँमा चुनावी माहोललाई उत्साहजनक बनाउनुका साथै उम्मेदवार रमेश कुमार मल्लको पक्षमा स्पष्ट जनसमर्थन देखिन थालेको छ । स्थानीय बस्तीहरूमा उम्मेदवार मल्ल र नेकपाका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिले ग्रामीण क्षेत्रमै चुनावी लहर सिर्जना भएको छ भने मतदाताहरूमा आशा, भरोसा र उत्साह झन् बढेको देखिएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले दार्मा गाउँपालिकाका मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक घर–घरमा पुगेर उम्मेदवार मल्लले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह, महिला समूह र जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले उनीहरूका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुभएको थियो । घरदैलो अभियान दार्माबाट थप सशक्त रूपमा अघि बढ्दै छिमेकी कुमाख गाउँपालिकामा प्रवेश गरेको छ, जहाँ पनि स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गरेका छन् ।

घरदैलोका क्रममा धेरै स्थानमा उम्मेदवार मल्ललाई स्थानीयहरूले फूलमाला, खादा र टीका लगाएर स्वागत गरेका थिए । स्थानीय बासिन्दाहरूले नेकपाको नेतृत्वमा मात्र विकास सम्भव भएको विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कतिपय स्थानमा स्वतःस्फूर्त रूपमा स्थानीय युवाहरू अभियानमा सहभागी हुँदै घरदैलो अभियानलाई थप व्यापक बनाएका थिए, जसले नेकपाको अभियान जनआन्दोलनको स्वरूप लिँदै गएको संकेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको साथ, समर्थन र भरोसाले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको उल्लेख गर्दै स्थानीय विकासलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो । “यो चुनाव केवल पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, यो जनताको भविष्य निर्माण गर्ने अभियान हो,” उहाँले भन्नुभयो, “जनताको साथ र विश्वासले हामीलाई विकासको नयाँ अध्याय सुरु गर्ने शक्ति दिएको छ ।”

उहाँले विशेषगरी सडक विस्तार, खानेपानीको सुनिश्चितता, सिंचाइ प्रणालीको विकास, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचलाई प्राथमिकतामा राखिने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई सहज आवागमनसँग जोड्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने र कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले कृषिमा उत्पादन लागत घटाउने, मल, बीउ र प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्ने तथा उत्पादित कृषि वस्तुको बजार सुनिश्चित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो ।

उम्मेदवार मल्लले युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । “युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो, “कृषि, पर्यटन र उद्यमशीलतालाई जोडेर आर्थिक समृद्धिको आधार निर्माण गरिनेछ ।”

त्यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले पनि घरदैलो अभियानका क्रममा मतदातासँग व्यापक अन्तरक्रिया गर्नुभएको थियो । उहाँले महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नु नेकपाको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले समावेशी, समानतामूलक र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नेकपाले स्पष्ट नीति र कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । “राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समान सहभागिता सुनिश्चित नगरी समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो, “नेकपा सबै समुदायको समान अधिकार र सम्मानका लागि प्रतिबद्ध छ ।”

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो मुख्य प्राथमिकता भएको बताएका थिए । धेरै मतदाताले नेकपाको नेतृत्वमा मात्र दीगो विकास सम्भव भएको विश्वास व्यक्त गर्दै उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय स्थानमा स्थानीय बासिन्दाहरूले नेकपाले विगतमा गरेको विकास कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी काम हुने अपेक्षा व्यक्त गरेका थिए ।

गाउँस्तरमै पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नेकपाको रणनीतिले चुनावी अभियानलाई अत्यन्त प्रभावकारी बनाएको छ । दार्मादेखि कुमाखसम्म विस्तार भएको घरदैलो अभियानले उम्मेदवार मल्लको पक्षमा जनलहर सिर्जना गरेको स्थानीयहरू बताउँछन् । अभियानमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने विश्वास पार्टीका नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन् ।

नेकपाले आगामी दिनमा पनि सल्यानका अन्य गाउँपालिका र बस्तीहरूमा घरदैलो अभियानलाई अझ व्यापक र तीव्र बनाउँदै लैजाने जनाएको छ । जनताको घरदैलोमै पुगेर उनीहरूको भावना, अपेक्षा र आवश्यकता बुझ्ने अभियानलाई निरन्तरता दिँदै नेकपा उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने लक्ष्यका साथ अभियान थप सशक्त रूपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।