समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,”

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् ।

‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए । 

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए । 

नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए । 

“भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तिको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराईचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यहरूको प्रवर्द्धन गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।”

विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको भएको उल्लेख गरे । उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था सम्मिलित यस बृहत अभियान भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 

पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । 

“गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘‘सी–बीच’’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्नेछ । यसका निम्ति तपाईँ भरतपुरबासी जनसमुदाय बधाइका पात्र हुनुहुन्छ ।”

लिम्चुङबुङमा आयातित मदिरा र पेय पदार्थ निषेध, सुर्ती-चुरोट पनि बेच्न नपाइने

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आयातित मदिरा, पेय पदार्थ र सुर्ती(चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।यही मंगलबार बसेको गाउँपालिकाको १८ औँ कार्यापालिका बैठकले मदिरा आयात र बिक्री वितरणमा प्रबिन्ध लगाउने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए । ‘उक्त निर्णय पास भएसँगै अब पालिकामा आयातित मदिरा निषेध गरिएको छ’, राईले भने, ‘बैठकले बियर, अन्य मदिरा, कोकाकोला, माउन्टेन ड्यु, फ्यान्टा र रेडबुल जस्ता पेय पदार्थ तथा खैनी, चुरोट, गुट्खा आदि सुर्ती जन्य पदार्थमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।’ पालिकाबासीलाई स्वस्थ राख्दै विकृतिमुक्त बनाउने उद्धेश्यसहित ती पदार्थ आयातमा रोक लगाएएको राईले बताए ।कार्यपालिका बैठकको निर्णय नं.२ ले अन्यत्रबाट आयात गरिने शिशाजन्य मदिरा तथा अन्य पेय पदार्थमा रोग लगाएको हो । पालिकाको यो निर्णयले लिम्चुङ्बुङबासीको स्वास्थ्य बचाउन मद्दत मिल्ने अध्यक्ष राईले बताए ।राईले अब स्थानीय अर्थतन्त्रको सुधार, महिलाको सुरक्षा लागि घरेलु हिंसाको अन्त्य गर्दै अघि बढिने बताउ । उनले अब पालिकाले घरेलु उत्पादनलाई प्रवर्द्धनको योजना ल्याउने पनि बताएका छन् ।पालिकाले अहिलेसम्म भित्रिएको मदिरासहितका पेयय र सुर्तीजन्य पदार्थ असोज १५ गतेसम्म बिक्री गरिसक्ने समय दिएको छ। ‘लिम्चुङबुङवासीलाई रोगबाट बचाउन, गरिबीबाट जोगाउँदै आर्थिक समाननता कायम गर्न, स्थानीय उत्पादनको उपयोग र व्यवसायसँग जोडेर गाउँको अर्थतन्त्रको सुधार गर्न यो कदम चालिएको छ’, राईले भने, ‘यो योजनालाई सफल बनाउन सम्पूर्ण लिम्चुङबुङवासीलाई अपिल गर्दछु।’उनले यदि पालिकाको निर्णयबाहिर गएर प्रतिबन्ध लगाइएका सामान भित्र्याएको भेटिए जफत गरी कारबाही गर्नेसमेत जानकारी दिएका छन्।

मधेश कृषि फार्मिङ्ग मोडालिटी ल्याउँदै मधेश सरकार

जनकपुरधाम । मधेश प्रदेश सरकारले कृषि फार्मिङको अवधारणा ल्याउने भएको छ । मधेश प्रदेशको कृषिलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कृषि फार्मिङ्गको अवधारणा ल्याउन लागेको हो ।  मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशको उर्वरभूमिलाई अधिकतम प्रयोग गरि कृषिमा आत्मनिर्भर बनाउन एक पलिका एक मोडल कृषि फार्म स्थापना गर्ने तयारी रहेको एभेरेष्ट दैनिकलाई बताए । व्यवसायी मिनबहादुर गुरुङसँगको भेटपछि उनले मधेश प्रदेशको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत यो कुरा समावेश गरिएको स्पष्ट पारे ।  मुख्यमन्त्री सिंहले किसानलाई व्यावसायिक बनाउन र उर्वर माटोको अवस्था अनुसारको लाभ लिन पनि कृषि उत्कृष्टता केन्द्रहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।  भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसँगको छलफलमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कृषि विकासको मोडल तयारी गरि कार्यक्रम संचालन गर्न लागिको जानकारी गराएका थिए । उनले भाटभटेनी सुपरमार्केटले यहाँको कृषि उत्पादनलाई बजारिकरणमा सहयोग गर्न समेत आग्रह गरेका छन् । छलफलमा गुरुङले मुख्यमन्त्रीको मधेश कृषि विकास मोडममा सहयोग गर्न तयार रहेको जनाएका छन् । भाटभटेनीले मधेश प्रदेश सरकारलाई दुईवटा सुबिधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराउने जानकारी पनि गराएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन छानियो हिमालयन कालिञ्चोक बीबीआर जेभी

काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ। भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको हो। सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ।सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ। चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको हो। सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ।रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ। एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू निर्माण गरिने छ। गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको थियो।

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । हिजो बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो । यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए । मङ्गलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

लोकप्रिय