दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल नं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ८८ लाख ५१ हजार ३ सय ४६ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए ।

बितेका २ महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार रुपैयाँ बराबरको किराना सामान, १६ लाख ५२ हजार रुपैयाँको कपडा, १३ लाख ३८ हजार रुपैयाँको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले ४ सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ ।

‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो’, चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’

एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

बैतडीमा ईभी हाइस दुर्घटना: चालकको मृत्यु

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ ज ०६२४ नम्बरको ईभी हाइस शनिबार राति सिल्लेगडा-बडिया सडकखण्डको घोडेधार नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा गाडीमा सवार एकमात्र चालक दोगडाकेदार-५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन् । हाइस सडकबाट करिब २५० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा निकुञ्जमा सडक बिग्रेका कारण खुलेन सफारी

कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ ।  वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठुलो घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ दसैँ र तिहारकोबिचमा निकुञ्ज सफारी खोल्छौँ ।”  निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र  ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।  विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर जस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।  तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ बढी बाह्रसिङ्गा छन् ।

लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढीको क्षति

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१, टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ। शनिबार बिहान २:४० बजे लम्कीस्थित उक्त गोदाममा अचानक आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए। लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको उक्त गोदाममा जुत्ता र चप्पल भण्डारण गरिएको थियो। आगलागीका कारण गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यद्यपि, गोदाममा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। “गोदाममा कोही बस्ने व्यवस्था नभएकाले आगलागी कसरी भएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रहरी निरीक्षक सिंहले भने। आगलागीको स्रोत र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको थियो। लम्कीचुहा नगरपालिकाको दमकल र प्रहरीको तत्कालको प्रयासले आगो अन्यत्र फैलिनबाट जोगिएको छ। यद्यपि, गोदाममा भएको ठूलो क्षतिले सञ्चालकलाई आर्थिक नोक्सानी भएको छ। प्रहरीले स्थानीयलाई आगलागीसम्बन्धी जोखिमबाट बच्न सचेत रहन र यस्ता घटनामा तुरुन्त सहयोग गर्न आग्रह गरेको छ।

जलवायु परिवर्तनले सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

कञ्चनपुर । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् ।  “हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी वाग्लेले भने । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् ।  शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् । यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ ।