गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

कांग्रेसको कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरु थपेर पठाएको आरोप लगाए ।  उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने रास्वपाको अडान रहेको बताए ।  समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।   सांसद झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए । 

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरी स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो। सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ।  प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।  गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

कांग्रेसले उत्ताउलोपन देखायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । उनले आफू बसेको ठाउँमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको आरोप लगाए।उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे । बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध , जेठ ६ गतेसम्मकालागि बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरूले सभा अवरुद्ध गरेका हुन् । बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रियसभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेगरी स्थगित भएको छ । 

लोकप्रिय