नर्सहरूको सेवा–सुविधा सुधार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए।
“नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।”
पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए।
“नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।”
नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।
उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए।
सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक: प्रचण्ड
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ। चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपंथी रुझानबाट अघि बढाउदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि विरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो। धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपंथी झुकावहुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो। जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुनसक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो । नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाहरुले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीति व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो। दिवङ्गत बुद्धराम दुलालको जीवनीबारे उहाँका जेठा छोरा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर दुलालले प्रकाश पार्नुभएको थियो । उहाँले पञ्चायतकालमै वाम अन्दोलनलाई समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायत ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा बिष्ट, निर्धारित मितिमै चुनाव गर्न पहल गरिने
काठमाडौं । नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज बसेको बैठकसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हाल्नुभएको छ । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिंदै बिष्टिलाई कार्यवाहक तोक्नुभएको थियो । ‘बैठकले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय गरेको छ’– बैठकपछि महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय ग¥यो । महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्यो । महासंघले असोज ५ गते निर्वाचन गराउने घोषणा गरेको थियो । तर, अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि देखिएको अन्योलका बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सुवासको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ। बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो। उहाँले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताउनुभएको हो। उहाँले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो। प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने बताउनुभयो।
सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक, ४८ नेताले दिए सुझाव
महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोल्नुभएको थियो । बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।