रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

दमौली । अवैधरूपमा रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थिच भोटेश्वाराका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । 

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले उनका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।

“सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो,” उनले भने ।

गुरुङका साथीले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे ।

“फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,” गुरुङले भभने ।

स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको बताए । “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ,” उनले भने ।

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरूलाई स्तब्ध तुल्याएको बताए । “मेरो वडाले एक होनहार युवा गुमाएको छ,” उनले भने ।

रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ । रासस

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको कामको प्रसंशा गरे । उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्यको वातावरण सशक्त र प्रभावकारी रहेको स्मरण गरे । 

चलचित्र ‘महाभोज’ समाज परिवर्तनको सशक्त सन्देश दिन सफल: अध्यक्ष प्रचण्ड

काठमाडौँ —  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र ‘महाभोज’ सामन्तवादविरुद्धको संघर्ष र समाज परिवर्तनको सन्देश दिन सफल भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको छ ।  आइतबार राजधानीको सिटी सेन्टरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले ‘महाभोज’ लाई चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र गहिरो सन्देश बोकेको चलचित्रका रूपमा मूल्यांकन गर्नुभयो। उहाँले नयाँ पुस्ताले यो चलचित्र हेरेर यसको मर्म बुझ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।  राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू चलचित्रको विशेष प्रदर्शनी हेर्न सिटी सेन्टर पुग्नु भएको थियो । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशले चलचित्र ‘महाभोज’ को विशेष शो आयोजना गरेको हो। समसामयिक कथावस्तु र प्रगतिशील समाज रूपान्तरणको सन्देशमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूलभाव प्रस्तुत गर्छ। चलचित्र ‘महाभोज’ का निर्माता हिमाल कडरिया, निर्देशक दिनेश राउत तथा कार्यकारी निर्माता किरण नेपाली हुन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ र बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ। पढनुस् सन्देश "लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो। त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ। यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु। आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।"

अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं,  देशभर जारी भीषण वर्षाका कारण डुबान र पहिरोको जोखिम बढ्दै गएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विपद् पूर्व–व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकारलाई तुरुन्त कदम चाल्न समेत अपिल गर्नुभएको छ। सार्वजनिक सन्देशमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नदी तटीय क्षेत्र, डुबान भइरहने होचो भू–भाग तथा भू–स्खलनको उच्च जोखिम भएका स्थानहरूमा रहेका सम्पूर्ण जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्दछु।” उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिनुभएको छ। साथै, नागरिकहरूलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। प्रचण्डले सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन सरकारले उच्च तयारीका साथ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई

दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले  मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार) 

लोकप्रिय