कला साहित्यले जनताको सेवा गर्नुपर्छः ज्ञवाली
धरान । अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिको आयोजनामा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान १८मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियोे। वरिष्ठ सौन्दर्यचिन्तक एवं जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
उहाँले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्ने बताउनुभयो । ‘यसले जनताको सेवा गर्नुपर्छ। जनताका यावत जीविकाका समस्यालाई देखाउने , जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने कामचाहिँ प्रगतिवादी साहित्यले गर्नुपर्छ । प्रगतिशील र प्रगतिवादी साहित्यमा भिन्नता छ’, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण संस्कृतिकर्मीहरू देश ,जनता र गरिब वर्गको पक्षमा उभिनु आवश्यक रहेको बताउनुभयो ।
विशिष्ट अतिथि जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ । सो अवसरमा सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत पर्छ।अनि मात्रै कविताले मानिसको मनमस्तिष्क छुन सक्छ भन्ने धारणा राख्दै चिबेचरा,ङा चेपाङ,कमरेड स्याउला ,तुइनमा उल्टो झुन्डिएर ,जुत्ता र क्रान्ति ,यो देश मेरो होइन रहेछ जस्ता ६ वटा कविता बाचन गर्नु भएको थियो।
ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका बर्जित अवशेष,असहमतिका स्वरहरू, धारिला मानिसहरु, चिबेचराजस्ता कविता कृति प्रकाशित भइसकेका छन्। कवि सिलवाल उक्त कार्यक्रममा सम्मानित समेत हुनु भएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियोे । कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका अतिथि प्रा.डा.खेमनाथ दाहाल,अम्बिका शाक्य, सिद्धिकर्ण शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल ,राधिका कार्की,टीका मिलन, महेश श्रेष्ठ, दीपक पराजुली, टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मणि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गर्नु भएको थियोे। साथै पीपी कोइरालाले लघुकथा वाचन गर्नु भएको थियोे। अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गर्नुभएको थियोे। कार्यक्रममा शकुल भुसाल ,तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुङ्गाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ,अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव तथा अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्रा.डा. खेमराज खनालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो। प्राज्ञ खनालले हाम्रा यस्ता कार्यक्रमबाट प्रगतिवादी साहित्यको उन्नायन हुनका साथै स्रष्टाहरूको मनोबल बढेर जाने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नु भएको थियोे। अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत गर्नुभएको थियो ।
प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन
काठमाडौं । रोल्पाली कवि प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे । कुलपति राईले भने, 'विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।' जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे । कुमाखीले भने, 'प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डोर्याएर महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।' कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् । तुम्खेवाले भनिन्, 'समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।' त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तर्द्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे । सिलवालले भने, 'परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।' रोल्पा-काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए । माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु सङ्ग्रहित छन् । विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङलगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो । कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ‘रामायण रिसोनेन्स : सेलेव्रेटिङ अ शेयरड हेरिटेज’ ‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु भएको छ । सोमबारदेखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले संयुक्तरूपमा उद्घाटन गरे । प्रदर्शनी उद्घाटनमा उनीहरुले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताएका थिए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको जनाउँदै यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदर्शनीले एक अर्काको कला सिर्जनाका सोच र शैलीको समेत आदानप्रदान हुने बताए । साथै उनले भने, ‘यो प्रदर्शनीले संस्कृति बुझ्ने मौकासमेत मिलेको छ ।’ तिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए । नेपाली कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठ रहेका छन् । यस्तै, अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रिती गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनी रहेका छन् । प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको जनाइन् । प्रदर्शनी यही असोज १४ गतेसम्म हुनेछ ।
कथाः भूतलाई हेर्ने आँखा
दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ। म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ। टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो। मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ। एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो। मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे। यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन। मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्दै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट साथीले नै लगाईरहेको रहेछ। उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ।
मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार
काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ ।मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।
साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले बताउनुभयो । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उहाँको भनाई छ । कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेन तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताउनुभयो । ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र बेदनाको गीत गाउने परिपाटी थियो, उहाँले भन्नुभयो,‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्सहाका गीत गाउनु होस्।’ प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको उहाँले स्मरण गर्नुभयो । देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहाका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेका बताउनुभयो । कला केन्द्रले नयाँ प्रतिभा जनाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास गर्नुभयो । भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थियो । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गर्नुभएको हो ।
शनिवारीय साहित्यः प्रगतिशील विवाहमा किनिएका एकजोर जुत्ताको सम्झना
वि.सं. २०४६ साल चैत्रमा मैले पहिलो पटक प्रा.वि. तहमा सट्टामा एक महिनाको शिक्षक पदको जागिर खादा एक महिनाको रु. ९०२ रुपैया तलव बुझें। दुली कोटगाउँ (हाल रुकुम पश्चिम सानीभेरी गा.पा. वडा नं. ६) को प्राथमिक विद्यालयकी प्र.अ. झरना कुमारी घर्ती द्वारा मलाई उक्त तलव दिएर एक वर्ष भनिएपनि एक महिने सट्टा शिक्षक जागिरबाट विदा गरियो र म घरतिर हिडेँ। बाटोमा देउताखोला भन्ने ठाउँमा माइली दिदीको घर पर्थ्यो । ग्वाला गएकोले मैले दिदीलाई वनमा नै भेट्न गएँ र दिदीलाई रु. १०० दिएँ । घरमा पुगेर दाइलाई रु. ८०० दिएँ र आफूलाई पकेट खर्च रु. २ मात्र राखेँ । हाल रुकुमपूर्व त्यो बेलाको प्वाङ गा.वि.स. दत्कुनामा मैले वि.स. २०४७ सालमा पुन: प्रा.वि. तहमा पढाउन थालेँ । जागिर खादै गर्दा विवाहको लागि भनेर एक जोर जुत्ता किनेँ। जुत्ता किनेको २ वर्षपछि मात्र विवाह भयो । मैले ती एक जोर जुत्ता जोगाएर राखेँ। कतै विशेष काममा जादा तिनै जुत्ता लगाएर जान्थेँ र घरमा आएपछि धोएर प्लास्टिकले पोको पारी जतनसाथ राख्थेँ । अर्को जोर जुत्ता किन्न नसक्ने अवस्थाका कारण तिनै जुत्ता मलाई जोगाउनु थियो त्यसैले कहिलेकाहीँ तिनै जुत्ता लगाएर विशेष ठाउँमा जादा बाटोमा हिड्दा मनपरिसँग जोडले हिड्दैनथेँ किनकि मेरो जुत्तालाई धेरै मार नपरोस्। बाटोमा हिड्दा पनि म जुत्ताको ख्याल गर्थें। बाटोमा हिड्दा जुत्ता च्यातिएला भनेर सुस्तरी टेक्थेँ। मेरो विवाह वि.सं. २०४९ सालमा भयो। जीवनसाथी हरिमायाँसँग विवाहको कुरा २ वर्ष अगाडि नै छिनीसकेको थियो। मैले एक जोर जुत्ता पनि २ वर्ष अगाडि नै किनेको थिएँ। ती जुत्ता जहाँ पायो त्यही लगाउदैनथेँ। विवाहमा मैले २ वर्ष अगाडिदेखि जोगाएर राखेको जुत्ता लगाएँ। स्नातक तह पहिलो वर्ष त प्रा.वि. तहमा शिक्षण गरेर परीक्षा मात्र दिएँ। दोस्रो वर्ष नियमित पढ्नु थियो, त्यसैले जागिर छोडिदिएँ। जागिर छोडेका कारण आर्थिक समस्या थियो। शिक्षण पेशा गरेर कमाएको रुपैया घरमा दाइलाई बुझाउथेँ। आफूलाई थोरै खर्च राख्थेँ।आफूलाई खर्च राखेर बचेको रुपैयाले विवाहका लागि दुलहीलाई एक जोर जुत्ता एउटा साडी र ब्लाउज किनेँ। जुत्ताको सम्झना कति लामो हुदो रहेछ। ३१ वर्षअघि किनेको २९ वर्ष अघिसम्म लगाएको जुत्ताको सम्झना ताजै छ। हुन त जाबो एक जोर जुत्ता न हो तर ती जुत्ता विवाहसँग जोडिएको कारण मेरो स्मृतिपटमा ताजा रहन सक्यो। जुत्ता मैले कति मूल्यमा किनेँ अहिले सम्झना छैन तर ती जुत्ताको रङ्ग, बनोट र आकृतिको सम्झना अहिले पनि ताजा छ। गजेवा र खकन्ना जोडिएको डोको बोक्ने युगदेखि म टाढा हुदै थिएँ। दाङ्ग कलेजमा पढ्न गएदेखि मैले झोला बोक्न शुरु गरेँ। दाङ्गबाट रुकुम घर जादा जीउभरि २/३ वटा झोला झुण्डिएका हुन्थे। एउटा झोलामा नेता बन्नलाई कम्युनिष्टका किताब र केही साहित्यिक पुस्तकहरु हुन्थे। बाँकी झोलामा घरयासी सरसामान। हातमा मट्टीतेलको जर्किन हुन्थ्यो। रुकुमको दुर गाउँमा टुकी बाल्न मट्टीतेल पाइदैनथ्यो। मैले बिहेमा लगाउने जुत्ता दाङ्गमा किनेर तिनै झोलामा बोकी रुकुमको दुली गाउँ पुर्याएको थिएँ। ती जुत्ता २ वर्ष जोगाएर नयाँ अवस्थामा नै राख्न सक्नु मेरो ठूलो उपलब्धि थियो। विवाहपछि पनि मैले ती जुत्ता लगाएँ तर जतनसंङ्ग लगाउनु र राख्नु चाहिँ परेन। म कक्षा ६ सम्म पढुन्जेल हाम्रो पुरानो डिजाइनको खरको छाना भएको घर थियो। पछि ढुङ्गाको छाना भएको नयाँ घर बन्यो। त्यो घरको तल्लो तलाको एउटा सानो कोठा आफै लिपपोत गरेँ। कमेरो माटोले भित्ता सेतो बनाएँ। भुइँमा मान्द्रो ओछ्याएर पढ्न सुरु गरेँ। कलेज पढ्ने भएपछि पुराना काठहरु जोडेर आफै एउटा पलङ बनाएँ। काठ ठोकठाक पारेर किताव राख्ने सानो दराज बनाएँ। त्यही कोठाको एक ठाउँमा मैले बिहेको लागि किनेका जुत्ता राख्थेँ। ती जुत्ता कहानेर राख्थेँ त्यो ठाउँ पनि मलाई याद छ। विगतका विषयवस्तु तथा घटनाहरु सबै ताजा रहन सक्तैनन्। केहि सामान्य तथा साधारण कुरा पनि लामो समय सम्म स्मरणमा रहिरहन्छन्। विहेको लागि मैले किनेको जुत्ता मेरो मनमा नभुल्ने याद भएर रहिरह्यो र त्यो यादले यो सम्झनाको टिपोट लेख्न लगायो। लेखिरहेको छु, उत्पीडक वर्गको बिरुद्ध । उत्पीडित वर्गको पक्षमा न्याय प्राप्ती र समतामूलक समाज निर्माण लेखनको विषयबस्तु बनिरहेको छ। मार्क्सवादी सौन्दर्यशास्त्रको दर्शनलाई आधार बनाएर प्रगतिवादको घेरामा फनफनी घुमिरहेको छ यात्रा। त्यो यात्रा जारी छ तर विगतमा यिनै आदर्श बोकेका नेताहरूमा त्यो नदेख्दा सिद्धान्त र व्यबहारमा भिन्नता कति हुदो रहेछ । त्यो अहिलेको राजनीतिमा देखिन छोडोस्। सिद्धान्त र व्यबहारको तालमेल भैरहोस्…. शुभेच्छा ।
आज जनैपूर्णिमा, रक्षाबन्धन क्वाँटी खाने प्रचलन, देशभर सार्वजनिक बिदा
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ । यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ । क्वाँटी खाने दिन जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस
लुम्बिनी विश्व सम्पदा क्षेत्र खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
काठमाडौँ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ। भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वल्र्ड हेरिटेज कमिटी)को ४६ औँ सेसन अन्तर्गत बिहीबार भएको मस्यौदाउपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको लुम्बिनी विकास कोषले जनाएको छ। नेपालका तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, मन्त्रालयका तर्फबाट सचिव डा.गणेशप्रसाद पाण्डेयसहितको नेतृत्व गर्दै टोली युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसनमा सहभागी हुन नयाँदिल्ली पुगेको थियो । वल्र्ड हेरिटेज कमिटीका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदाउपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्र उभिएको जानकारी दिए। युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखि चेतावनी दिँदै आएको थियो भने २०२२ मा पत्र पठाएर सचेत गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीले कूटनीतिक पहल गरेका थिए। लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव, युनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईलगायतको कूटनीतिक पहलबाट खतराको सूचीमा नराख्ने निर्णय गर्न सफल भएको हो । उपाध्यक्ष डा. लामाले नेपालस्थित विभिन्न देशका राजदूतसँग समेत यस विषयमा जानकारी गराउनुका साथै नयाँदिल्लीमा जारी बैठकमा समेत लुम्बिनीलाई खतराको सूचीमा नराख्न कूटनीतिक रूपमा पहल गरेका थिए । युनेस्कोले सम्पदास्थलमा मापदण्ड पाँच हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिनेबारे दुई वटा विषय गम्भीर रूपमा समीक्षा भएको थियो भने आगामी दिनमा सुधार गरेर लैजान निर्देशनसमेत गरेको हो । विश्व सम्पदा कमिटीको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, संस्कृित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश पाण्डेय, कोषका सदस्यसचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई र वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीको सहभागिता छ ।
राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी सरु बस्नेत प्रथम
भरतपुर। भरतपुरमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट सङ्कलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्याङ्कनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो। लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके/हवेली) मा भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुदाँ नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङ्गका हरिप्रसाद पौडेल तेस्रो भए । सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीको सचिव रमना अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि वरिष्ट साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गौंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ट साहित्यकार केशवराज भट्टराई आमोदी सहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरी श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवी प्रा.डा.देवी नेपालको सहभागिता रहेको थियो । आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए ।
कवि अर्जुन पराजुलीः नागरिकता र पत्रिका एउटै हो महोदय ?
काठमाडौं । दोहोरो नागरिकताको अभियोगमा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि मत विभाजित भएको छ । कसैले यो प्रेस स्वतन्त्रता विरोधी कदम भनेका छन् भने कसैले गैरकानुनी कदमको छानविन हुनुपर्नेमा जोड दिएका छन् । यसै सन्दर्भमा कवि अर्जुन पराजुलीले सामाजिक सञ्जालमा कविता पोष्ट गरेका छन् । उनको कविताः पुलिसले समातेर लान्छ नागरिकता गडबडी केसमा ! उता– प्रेस स्वतन्त्रता हरण हुन्छ स्वतन्त्र प्रेसमा ! बाँच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ समाचार पढेर समाचार थाहा नहुने देशमा !! नागरिकता र पत्रिका एउटै हो महोदय ? हो भने अब– शब्दकोषको विरुद्धमा पनि एउटा खेद व्यक्त गर्नुपरो, शब्दकोषले त बेग्लाबेग्लै हो भन्छ !!
आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन
काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहि आएको छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।
‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’
सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको बताए। ‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो।’ भाषा विज्ञ डा.प्रेम चौलागाईंले भने।उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए। भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिईएको उनले औंल्याए। उनले कर्णाली सभ्यताको ईतिहास लेख्नुपर्ने बताए। सहप्राध्यापक डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए। ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन।’ शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए। शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए।उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए। सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाख प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताईन्। उनका अनुसार कर्णालीमा ७।८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन। ‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ।’
रहेनन् साहित्यकार प्रकट पगेनी ‘शिव’
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पङ्गेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो । आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो । प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरु निकै चर्चित छन् ।
समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन्। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।” सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।” सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरे।
सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ.श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।