आज जनैपूर्णिमा, रक्षाबन्धन क्वाँटी खाने प्रचलन, देशभर सार्वजनिक बिदा
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।
यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुदेवीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नु कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनुसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । साथै उहाँले ‘नेपाल विश्वविद्यादलय विधेयक २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ।
रुस–यूक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउने नेपालको संख्या ४३
काठमाडौं । रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । रञ्जितको ठेगाना खुलेको छैन । रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो । त्यस्तै रुसले थप ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाललाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो । २२ जनाको पछिल्लो विवरण रुसले पठाएको छैन । नेपाली दूतावासले भदौ १७ गते कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । जसमा लालबहादुर पुन मगर, भरत कुँवर, लक्ष्मण बस्नेत, मख्खनबहादुर पुन, राजन राउत, अर्जुन दत्त भट्ट, रोनल मिश्र, महेन्द्र शाही, मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, भीमबहादुर घर्ती मगर, कपिल घर्ती मगर र माइतमान घर्ती रहेका छन् । त्यस्तै चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हिराबहादुर गुरुङ, श्यामध्वज गुरुङ, छमबहादुर घर्ती, सुजन जवेगू, जितेन्द्र केशी, गणेशबहादुर कुमाल, सादुराम प्रधान, भुवन पुन मगर, रोहन तामाङ, सुजन शर्मा, ज्ञानबहादुर मगर, भीमबहादुर नेगी, देव तामाङ, विजयकुमार टमाटा, विपिन बिक, चन्द्रप्रकास बिसी, ओमबहादुर मगर र सुवास तामाङ रहेका छन् । कन्सुलर विभागले सर्म्पकमा आएका परिवारका सदस्यलाई डीएनए परीक्षणको नमुना लिन काठमाडौं बोलाएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीको सम्बोधन असोज १० गते
न्युयोर्क- ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् । यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ । नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।
नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराउनुभएको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गर्नुभएको थियो । नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नुहुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपतकालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ । प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गर्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिनुभएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । अड्तीस वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ । प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासोका साथ हेर्नुहुने प्रधानसेनापति सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेना अन्तर्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ । सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उहाँले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ । सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानवअधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय २३ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्याइसकेका छन् । हाल विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा स्थापना भएका ११ मिसनमा छ सय ७५ महिलासहित पाँच हजार नौ सय १६ नेपाली सैनिक कार्यरत छन् ।