डोल्पाको डढेलोमा १ बालकको मृत्यु, २ जनालाई हेलिकप्टरमा काठमाडौँ ल्याइँदै
काठमाडौं ।डोल्पाको त्रिपुरासुन्दरीमा डढेलोमा परेर घाइते भएका एक जना बालकको उपचारको क्रममा निधन भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार दिउँसो वनमा लागेको डढेलोमा परेर स्थानीय तीनजना बालबालिका गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये १० वर्षीय सुलस बुढाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा सुलभको मृत्यु भएको हो।
गम्भीर घाइते दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
गाउँ नजिक रहेको वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बेला बालबालिका डढेलोमा परेका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल लगिएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइते बालकलाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए।
त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए।
गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो। रासस
डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको निधन भएको छ । जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो । अर्का घाइते ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर छ । उनीहरूलाई आजै हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी गरिएको थियो । तर, रात परेपछि हेलिकप्टर अवतरण नसक्दा सो सम्भव हुन सकेन । आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि नेपाली सेनाको टोली खटिएको थियो ।
कर्णालिमा नयाँ सरकार गठन गर्न आह्वान
सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्। बुधवार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरे । दाबी पेस गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। यस्तै,मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका राजकुमार शर्मालाई कामचलाउ सरकारको जिम्मेवारी दिएको छ । प्रमुख परियारलाई शर्माले राजीनामा बुझाए लगत्तै अर्को मन्त्रीपरिषद् गठन नहुनेञ्जलसम्म मौजुदा मन्त्री परिषदबाटै कार्य सञ्चालनका लागि जिम्मेवारी तोकेका छन् ।
कर्णालीका मुख्यमन्त्रीद्धारा राजीनामा घोषणा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । अहिले वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा जारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।
विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ । शर्माले यसअघि मंगलबार विश्वासको मत लिन लागेका थिए । तर केन्द्रको सहमति अनुसार मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएपछि गठबन्धनको प्रमुख घटक एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो । विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भैसकेकाले विश्वासको मत लिएर एमालेलाई सत्ता हस्तान्तरण गर्ने गरी शर्माले आज विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका छन् ।
केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, (एकीकृत समाजवादी)का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो। मुख्यमन्त्री शर्र्मा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल निवासमा पुगेर केन्द्रको सर्कुलर र विश्वासको मतबारे छलफल गरेका थिए । सो छलफलमा केन्द्रको सहमति कार्यान्वयन गरेर जानुपर्नेमा नेता कँडेलले जोड दिनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।पार्टीको निर्देशनविपरित मत लिन लागेपछि प्रधानमन्त्री प्रचण्डले केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सरकार गठनको बाटो निर्माण गर्ने वातावरण बनाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्। वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।
एमाले सुर्खेतको अधिवेशन आजदेखि
सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।
जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु
सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते भएका बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारकै क्रममा मृत्यु भएको हो । चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको थियो । तर उपचारकै क्रममा सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।
वीरेन्द्रनगरको हङकङ बजारमा डोजर चलेपछि व्यवसायीले गरे ढुंगामुढा
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थानीय हङकङबजारमा आज डोजर चलाएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो । नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ । सो क्रममा एक कर्मचारीले घाइते भएका छन् । माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्।
जनयुद्दकालीन डायरीहरुमाथी नेपालगन्जमा सम्वाद हुँदै
काठमाडौं । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा बहस हुने भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो माथि नेपालगञ्जमा संबाद कार्यक्रम हुने भएको हो । प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा हुने सम्बादमा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गर्ने भएका छन् । धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गर्नेछन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गर्ने तय भएको छ । यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गर्ने भएका छन् । फागुन २३ गते बुधबार दिउसो २ बजे नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा कार्यक्रम हुने भएको छ । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए ।
दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट
काठमाडौं । दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रा।लि।का अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । आईतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराए । उनका अनुसार कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने । यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताएका छन् । यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने भएका छन् । चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन । कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुने छ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । उनले बिगत सात वर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् । यो कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी गराएक छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्ड सह आयोजक रहेको यो कार्यशालामा विधार्थीहरुले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी गराए ।
कालिकोटको सुनथराली विमानस्थल उद्घाटन
काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए। सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।
डेढ लाख बालबालिकालाई खोप लगाइने
सुर्खेत। कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ । लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ । उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताए । हिउँ छिचोल्दै खोप हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।
कर्णालीको विकास बिना देशको विकास सम्भव छैन : माओवादी उपमहासचिव शर्मा
काठमाडौं । कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउँने पहल कदमीको लागि संरक्षक केवल भण्डारी सम्पूर्ण आयोजक टिमलाई बधाई दिए । कर्णाली एक सभ्यता भएको उनले बताए । नेपाली भाषको जननी पनि कर्णाली भएके उनले बताए । कर्णालीले एैतिहासिक विरासत बोकेको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ बताए । उनले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उनको भनाई थियो । कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उनले भने , ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ । ’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उनले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो छ । बाटो बनाउँनु मात्र विकास नभएको उनले बताए । अब हाम्रो देशमा बाटो नभएको गाउँ कतै भेटिएला कि नभेटिएला भन्ने चिन्ता व्यक्त गरे । कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको यनले बताए । उत्सवलाई सहयोग सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरे । उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज , साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।
‘कर्णाली विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’
सुर्खेत, फागुन ७। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्। ‘कर्णालीमा सबैभन्दा धेरै बेरुजु निस्किएको छ, तीमध्ये केही बेरुजु विकास खान्याको हो,’ कर्णाली उत्सवको ‘विकास अन्र्या विकास खान्या’ सत्रमा वक्ताका रुपमा सहभागी अधिकारीले भने, ‘यहाँ विकास गरिएको मात्र छैन, खाईएको पनि छ, कर्णालीमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को विकास हुन नसक्नुको कारण हो।’ कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णाली भित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उनले औंल्याए। कर्णालीमा सबै किसिमको विकास हुन बाँकी रहेको उनले बताए। कर्णालीका नागरिक पनि सम्मानपूर्वक अगाडि बढ्न पाउनेगरि राज्यले व्यवहार गर्नुपर्ने अधिकारीले बताउ। ‘राज्यले आफूलाई शासकको रुपमा सोच्यो भने नागरिक टाढा हुन्छन्, नेपालमा भएको त्यही हो, कर्णाली पनि अहिले यस्तै कारणले राज्यसँग नजिक छैन।’ उनले भने। पहिले र अहिलेको कर्णाली फरक भएकाले यहाँका विकासका लागि संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले बताए। ‘कर्णालीका जनता र नेता आफै विकास वादी हुन्, कर्णाली खस राज्य हो, हिजो राज्य सञ्चालन भएकाले विकास कसरी गर्न सकिन्छ, योजना कसरी अगाडि बढाउनुपर्छ भनेर कर्णालीले जानेको छ,’ उनले भने, ‘कर्णालीमा कुनै सरकारले नहेरेका बेला पनि विगतमा हामीले आफैंले विकास ग¥यौं, अबको आधुनिक विकास कालागि केन्द्र सरकारले विशेष ढंगले हेर्नुपर्छ।’ प्रतिनिधि सभा सदस्य विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने सबै कर्णाली र कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताईन्। अहिले सिर्जना भएको ‘कर्णालीमा विकास भएको छ त’ भन्ने भाष्यले कर्णालीमा हुनुपर्ने जति विकास नभएको उनी बताउँछिन्। ‘भ्रष्टाचार न्युनिकरण गर्न नसकिएका देशमा पनि विकास राम्रो भएको छ, किनभने ती देशहरुमा विकासमा केन्द्रित हुने चलन छ,’ उनले भनिन्, ‘कर्णालीको सन्दर्भमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाईन नै बन्न सकेको छैन, कर्णाली राजमार्गलाई प्राथमिकतामा राखिएकै छैन, अब सबै कर्णाली केन्द्रित हुन जरुरी छ।’ अब कर्णालीले समानतालाइ बिर्सिएर समतामुलक विकास खोज्नुपर्नेमा उनले जोड दिईन्। कर्णालीलाई संघीय सरकारले हेर्ने नजर नै फरक रहेको उनले बताईन्। कर्णालीको विकास खाने चलन अन्त्य गरेर विकास गर्ने वानी बसाल्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा सांसद कठायतले औंल्याइन्। ‘हामी जुम्लाबाट चार जना सांसद छौं, हामी मिलेर जुम्लाको विकास गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी संसदमा भएका दशवटै जिल्लाका प्रतिनिधि एकजुट भएर योजना बनाएर अघि बढ्यौं भने साँच्चिकै कर्णालीको विाकस गर्न सकिन्छ, यसमा कसैल मैंले वा मेरो भनेर भन्नु हुँदैन।’
'महिला समाज र सम्पत्तिबाट बहिस्कृत भए'
सुर्खेत । 'समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरू भएको स्थानलाई समाज भनिन्छ,' दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, 'तर, हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैंगिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।' उनका अनुसार महिलालाई, आमा, छोरी, बुहारी, श्रीमती वा दिदी बहिनीको परिचय त दिइयो । तर, सिंगो मानवका रूपमा आफ्नो पहिचान बनाउनका लागि महिलाले अझै पनि संघर्ष गर्नुपर्ने अवस्था छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा महिला अधिकारकर्मी सुनारले सुनाइन्, 'हामी अझै पनि परिवार, समाज र राज्यस्तरबाट दबिनुपरेको छ ।' कर्णाली उत्सवको तेस्रो दिन सोमबार 'समाज र संघर्ष' सत्रमा सुनारले महिला र जातीय विभेदबारे बोलिन् । सुनारसँगै थिए, अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकी । उनीहरूले समाजमा महिलाले गरेको संघर्षबारे मन्थन गरे । आफ्ना दुःख, भोगाइ र संघर्षबारे खुलेर छलफल गरे । राजनीतिक तवरबाट अहिले पनि महिला अधिकार, महिला सशक्तीकरण, समानता र समताको विषयमा जतिसुकै चर्का भाषण गरे पनि कर्णालीका महिला अहिले पनि चुलाचौकाभन्दा माथि उठ्न नसकेको सुनारको अनुभव छ । तिस वर्षदेखि दलित महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी सुनार भन्छिन्, 'आफ्नै परिवारभित्र विभेद छ । आफ्नै छोरा र छोरीलाई त फरक व्यवहार गरिन्छ । दलित महिलाहरूले त झनै विभेदभित्र विभेद खेप्नुपरेको छ ।' 'पोथी बासेको सुहाँदैन' भन्ने समाजमा अधिकारको आवाज उठाउन सहज नभएको उनी बताउँछिन् । '२०५० सालमा शिक्षिका भएर एउटा गाउँमा पढाउन गएँ । त्यो समाजले मलाई कोठा दिएनन् । मेरो शिक्षा चल्थ्यो, तर मलाई बस्ने ठाउँ थिएन,' उनले भनिन्, 'अधिकारका आवाज उठाउँदा अनेकौँ विभेद र लाञ्छना भोगेकी छु ।' अर्की अधिकारकर्मी ममता नगालले दुई वर्ष अगाडिमात्रै एउटा पूजामा जाँदा विधवा (एकल महिला)ले पकाएको रोटी चल्दैन भन्दै बाहिर पठाइएको अनुभव सुनाइन् । 'यो समाज बाहिर एउटा बोल्छ । घरभित्र अर्कै व्यवहार पर्छ । परिवर्तनका चर्का आवाज बोल्नेहरू नै विभेदको कारक हुन्,' उनले भनिन्, 'कर्णालीमा चरम विभेद छ । अपमान छ । भए नभएका सामाजिक विभेदका बन्धनहरू छन् । त्यही बन्धनमा हामी बाँधिएका छौँ । हामीलाई समाजले स्वीकार्दैन, हाम्रो सम्पतिमा समेत अधिकार छैन ।' सानै उमेरमा विवाह गरेकी नगालका श्रीमान् सशत्र प्रहरी थिए । माओवादी द्वन्द्वका बेला उनका श्रीमान् मारिए । 'त्यो समाजले मलाई किरिया गर्नसमेत दिएन । म गाउँमा न्याय नपाएर, एउटा दुधे बालक च्यापेर यो सपनाको सहर वीरेन्द्रनगरमा आएको हुँ,' उनले भनिन्, 'मलाई थाहा छ, यो समाजले एउटी महिलामाथि लाञ्छना लगाउन सक्छ । कति विभेद गर्न सक्छ ।' सुर्खेतमा आएपछि नगालले अर्को संघर्ष गरिन् । आफूजस्तै १६–१७ वर्षीया एकल महिलाहरूलाई संगठित गरेर अधिकारका लागि आवाज उठाउन थालिन् । द्वन्द्व प्रभावित महिलाहरूको न्यायका लागि लड्न थालिन् । राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी अध्यक्षसमेत रहेकी नगाल भन्छिन्, 'हामी बसेको घर, हाम्रो नाममा छैन । एकाध महिला पढेलेखेका होलान, जागिर खाएका होलान् । आफ्नो बोली प्रष्टरूपमा राख्न सक्छन् होला । तर, ८० प्रतिशत भन्दा बढी महिला चुलोचौकोभन्दा माथि उठ्न सकिरहेका छैनन् । समाज र सम्पत्तिबाट बहिस्कृत छन् ।' समाजमा महिलाहरू स्थापित हुन र आफ्नो मर्यादा कायम गर्न छुट्टै संघर्ष गर्नुपरेको महिला अधिकारकर्मी पवित्रा शाही बताउँछिन् । 'एउटी महिला पूर्ण मान्छे भएर बाँच्न पाएको अवस्था छैन । ऊ परिवारबाट दमित हुन्छे । सामाजिक बन्धनमा बाँधिन्छे,' उनले भनिन्, 'कर्णालीको समाज अहिले पनि छोरीको बिउ रोप्न चाहदैनौँ । छोरी गर्भमै मारिन्छिन् । यो हाम्रो बाध्यता हो ।' शक्ति, सत्ता र पहुँचबाट रहेकाहरूले नै महिलामाथि दमन गर्ने गरेको उनले बताइन् । 'जहाँ सत्ता र शक्ति हाबी हुन्छ, त्यहाँ अन्याय, अत्याचार, विभेद, विसंगति र विकृति हुन्छ,' उनले भनिन्, 'त्यसैले हामीले सभ्य समाज बनाउनलाई समानता कायम गर्नुपर्छ । मेरो जीवनको संघर्ष नै महिला र पुरुषमा समानता ल्याउनु हो ।' अर्की अधिकारकर्मी टीका बुढाथोकीले कर्णालीको समाजले अहिले पनि छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालय पढाउने गरेको बताइन् । 'महिला र पुरुषको विभेद प्रत्येक घरमा छ । त्यो यो समाजको उपज हो । चुलोचौकोबाट उठेर यो स्टेजमा आइपुगेका छौँ,' उनले भनिन्, 'हामीले प्रत्येक पाइलामा विभेद भोगेका छौँ ।'