कर्णालीमा माओवादीबाट परियार  विनाविभागीय मन्त्री नियुक्त

कर्णालीमा माओवादीबाट परियार  विनाविभागीय मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रबाट रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक हुम्लाका माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका छन् ।

आज बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

परियार हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिने प्रयासमा छन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।

मुख्यमन्त्री कँडेलले भोलि (बिहीबार) संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन् ।

पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटन अन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६÷७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए । ‘यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ’, उनले भने । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए । उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गत वर्ष यस योजनाबाट दुईजनाको परिवार लाभान्वित भएको रावलको भनाइ छ । उनका अनुसार बीमाबापत पीडित परिवारले न्यूनतम रु ५० हजार र अधिकतम रु एक लाख ५० हजारसम्म रकम पाउनेछन् । पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।  यो कार्यमा सङ्घीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘यार्सा खरिदकर्ताले राजस्व नेपाल सरकारलाई तिर्छन् । पाटनमा यार्सा टिप्नु भनेको बाघको मुखबाट दात निकाल्नु सरह हुन्छ । यार्सा टिप्न जाने हजारौँ सङ्कलकको जीवन र आश्रित परिवारको भरणपोषणका लागि राज्यको दायित्व निर्वाह गर्नुपर्छ’, अध्यक्ष लामाले भने, ‘कर्णाली प्रदेश सरकारले कर्णालीवासीको दुर्घटना बीमा कार्यक्रम लागू गरेको धेरै भए पनि यार्सा सङ्कलक भने यसबाट लाभान्वित हुन सकेका छैनन् ।’ बीमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा समभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ । आगामी दिनमा यार्सा सङ्कलकको अनिवार्य बीमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उनले जोड दिए। मुगुका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्वा सङ्कलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिँदैछ । बर्सेनि पाटनमा सयौँ यार्सा सङ्कलक बिरामी तथा घाइते हुँदै आएका छन्भने दर्जन बढीले ज्यान गुमाउने गरेका छन् । पालिकाको बीमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने स्थानीय कार्मा सेराफ लामाले बताए । समयानुसार बीमा रकम समायोजन हुनुपर्ने उनको भनाइ छ ।

मागेको पैसाले देश बन्दैन

कर्णाली प्रदेशको वृहत् स्वरुप भन्नाले राप्ती नदीदेखि महाकाली नदीसम्मको भूभागलाई बुझाउँछ। तर आधुनिक नेपाललाई सात प्रदेशमा विभाजन गर्दा कर्णाली प्रदेशको आकार सानो बन्न गएको छ। त्यसपूर्व पञ्चायत कालभर महाकाली, कर्णाली र भेरी अञ्चल भन्ने छुट्टै प्रशासनिक इकाइहरु थिए। कर्णाली प्रदेशलाई जहिले पनि निर्धो, पछौटे, अविकसित, प्रोत्साहन नपाएको, ठगिएको, केन्द्रबाट उपेक्षित, विकासको गतिमा पछि परेको, सभ्यताको दौडमा पछि परेको, गरीबीले सताइएको, उत्पादनमा न्यूनता भएको, जस्ता विशेषणहरुले पहिचान गराउँदै आइएको छ। तर कर्णालीका उज्याला पक्षका बारेमा मानिसको दृष्टिकोण सकारात्मक रुपले मूल्याङ्कन गर्ने गरेको कमै भेटिन्छ।“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” भने झैँ कर्णालीका अनगिन्ति पक्षहरु ज्यादै भरपर्दा र गौरवलाग्दा छन्। मानिसको स्वभाव सकारात्मक भन्दा नकारात्मकतातिर छिटो आकर्षित हुँदा अरुको टीका टिप्पणीमा समय खेर फाल्ने गरेको देखिन्छ। हाम्रा सञ्चार समूह, पत्रकार तथा लेखक महोदयहरुले पनि सकारात्मकता भन्दा नकारात्मक, सिर्जना भन्दा ध्वंश, उन्नतिमा भन्दा अरुले दु:ख सुखपूर्वक गरेको प्रगतिमाथि नकारात्मक पक्षलाई दृष्टि दिने हुनाले समाजमा असन्तोषको बिजारोपण विद्यालय तहदेखि हुँदै गएको पाइन्छ। बरु त्यसलाई सुझाव, समाधान, निर्देशन, सन्देश, निर्माणात्मक, सिर्जनात्मक, सुधारात्मक र सुखद परिणाम निस्कने उपायहरुको मार्ग प्रदान गर्न सकेमा समाजमा आपसी द्वेस कम हुन सक्ने, समाजमा सुख शान्ति र अमन चयन कायम हुन सक्ने देखिन्छ। यसै प्रशङ्गमा कर्णालीप्रदेशमा के कस्ता अमूल्य सम्पदाहरुको अवस्थिति छ त? त्यस बारेमा संक्क्षेपमा चर्चा गर्नु सान्दर्भिक नै हुने छ। मूर्त सम्पदा: कर्णालीप्रदेश भन्ने बित्तिकै भौगोलिक बिकटता, जैविक विविधता मनोरम प्राकृतिक स्थलहरुको चित्र, मानव सभ्यता तथा साँस्कृतिक वैभवको श्मरण मानशपटलमा आइहाल्छ। मध्यकालीन कर्णालीप्रदेश वर्तमानकालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक सीमाको बाँडफाँडका कारण ५ नं. प्रदेशको केही भाग, प्रदेश नं ६ र ७ को पूरै भाग पर्दछ। हाम्रो अध्ययन वृहत् कर्णाली प्रदेशको रहेको छ र यस प्रदेशलाई हिमाली, उच्च पहाडी र केही तराई भागले ओगटेको छ, त्यसै विकटताका कारणबाट हुन सक्छ, विकासको गतिमा नेपालका अन्य प्रदेशहरुका तुलनामा यस प्रदेशले त्यति फड्को लिन नसकेको देखिन्छ। तर वास्तबमा बुझेर अध्ययन गर्ने हो भने प्राकृतिक तथा साँस्कृतिक वैभवका दृष्टिबाट यो प्रदेश निक्कै सम्पन्न मानिन्छ। अझ भन्नु पर्दा यो प्रदेशलाई प्रच्छन्न प्राकृतिक र साँस्कृतिक सम्पदाको भण्डार भने पनि अतिरञ्जित हुने छैन। प्राकृतिक सम्पदा भन्नासाथ यस प्रदेशमा रहेका नदी, झरना, तालतलैया, लेकाली भाग, हिमाली भाग, हिमाली घाँटीहरु, हिँउपहिराहरु, प्राकृत ज्वालाहरु, खनिजहरु, जङ्गल, हिमनदी, हिमताल, माटो, चट्टान, धरातल, तातोपानी, हिमचूचूरा, जीवजन्तु, प्राकृतिक बोटहरु (जडिबुटिहरु) र मानवोपयोगी खेतिपाती, जलस्रोत, प्राकृत कच्चा पदार्थमा आधारित उद्योग, वातावरणीय प्रयोग, हावाहूरी, घाम, झरी, बादल, प्राकृत कोप तथा यसको परिणाम आदि पर्दछन्। साँस्कृतिक सम्पदा भन्नाले मानवले निरन्तर अभ्यास गरेका, निर्माण गरेका, आफ्ना पूर्वजहरुले मनाई आएका रीतिरिवाजहरु, चाडपर्व, मेला, जात्राहरु, पूजा, स्मृतिस्वरुप आवृत्ति गरिएका लोक चलन, भजन र लौकिक परम्पराहरु, गेय, नृत्य, हावभावहरु, पारम्पारिक संगीत र वाद्यवादनका उपकरणहरु, प्राचीन वश्त्राभूषण, तथा युध्दका उपकरणहरु, वीरपूजाको परम्परा, दैनन्दनि प्रयुक्त सामग्रीहरु, खाद्य परिकारहरु, समुदायिक, जातीय, वर्गीय शिष्टाचार र मर्यादाहरु, स्वतस्फूर्तरुपमा यथारुपमा संरक्षि जीवित परम्पराहरु नै यस प्रदेशका अमूल्य निधिहरु मानिन्छन्। यी सम्पदाहरु केवल साँस्कृतिक सम्पदा मात्र नभई पर्यटकीय गन्तब्य स्थलकारुपमा पनि उच्च मानिन्छन्। सँस्कृतिले प्राचीन मानव सभ्यताको प्रतिनिधित्व गरेको पाइन्छ, प्रत्येक क्षेत्रका मानवको सभ्यता त्यस भेकका बासिन्दाको जात, जाति, समुदाय, रीतिरिवाज,लुगा परिधान, खानपान जस्ता साँस्कृतिक निधिहरुबाट निर्देशित भएको समय सीमालाई प्रतिनिधित्व गरेको हुन्छ। नेपाली इतिहासको प्राचीनकाल, पूर्वमध्यकाल, उत्तरमध्यकाल र आधुनिककालमा नेपाली संस्कृतिको विकास क्रमबध्दरुपमा भई आएको छ। त्यसैसन्दर्भमा कर्णाली प्रदेशमा पनि आफ्नै मौलिक किसिमको संस्कृति भौगोलिक धरातलका आधारमा विकसित हुँदै आएको देखिन्छ। कर्णालीप्रदेशमा शिक्षित वर्गले पनि (ब्राह्मण) कृषि, पशुपालन, ब्यापार, उद्योग आदि गरेका, क्षत्रीयले ब्यापार, जङ्गीतर्फको जागिर, पशुपालन, ठेक्का पट्टा, लेखापढी, सभामा न्याय दिने, आदि गर्दथे। वैश्य जातिको काम सबैले गरी आएको ब्यावशायिक काम गर्दथे भने शुद्रहरुले आ-आफ्ना पुर्खाहरुले गरी आएको समाजसेवाको काम गर्दथे। त्यो परम्परा वर्तमानकालसम्म पनि केही हदसम्म कायमै रहेको पाइन्छ। आजकल शुद्र जातिले गर्दै आएको कलाकारिताको काम तागा धारीले गरी आएको र आफ्नै पैतृक पेशा गरी आएकाहरुत्यसबाट जीविका नहुने देखी पेशा परिवर्तन गरेर आर्जनमुखी पेशा अँगाल्न थालेका छन्। पुरोहित वर्गले परम्परागत पेशाका साथै क्षत्री, वैश्य र शुद्रवत् पेशा अङ्गीकार गरेको देखिन्छ। यद्यपि उनीहरुले आफ्नो परम्परागत संस्कृतिलाई पूर्णत: परित्याग गरेका भने छैनन्। उदाहरणको लागि नवजात शिशुको नामकरण, पाश्नी, चूडाकर्म, ब्रतबन्ध, बिबाह, मृत्यु संस्कार आद लाई लिन सकिन्छ र सबै जात जातिले पनि ती ती संस्कारहरु मान्यता गर्दै आएका हुनाले सबैको संस्कारमा समानताको पुट पाइन्छ वर्तमानकालमा सबैजसो जाति धूम्रपान, मद्यपान, लागू औषध सेवन, कुवृत्ति र कुनियत हटाउनमा लागि परेका देखिन्छन्। त्यस कार्यमा राजनीतिक दलहरुले पनि सहयोग पुर्याउनु पर्ने कुरा पनि सबैले महशूस गरेका छन्। पहिलेका पुर्खाहरुका झैँ साह्रै दु:ख गर्न छोडेर सुखको बाटो लाग्न खोज्नु परिवर्तित मानवीय स्वभाव नै हो। पहिलेका शासक, सामन्तीहरु, भारदार र सम्भ्रान्त जातिहरुको धनीमानी ब्यभिचारी प्रवीत्ति, तष्करहरुको चरित्र, क्रमश: उदाङग हुदै गएका छन् र समाजमा परिश्रम गरेर खानु पर्ने कुराकोवातावरण बनिरहेको देखिन्छ। पुरुषप्रधान समाजमा पनि नारीहरुको योगदानको मूल्याङ्कन गर्न थालिएको र नारीहरुले आदिमकालबाट समाजको अस्तित्वका निम्ति गरेको सहनशीलता र परिश्रमको मूल्याङ्कन हुन थालेको छ। कर्णाली प्रदेशमा मध्यकालमा आफ्ना सन्तानलाई बेच्ने, बाँधा राख्ने, छोरी बेच्ने, बुहारी किन्ने, देबकी चढाउने जारी तिर्ने, बालबिबाह गर्ने, राक्षशी बिबाह गर्ने, बादी बदेनी भाँड भँडेनी भनी नीच पेशामा धकेल्ने जस्ता परम्पराहरुको प्राय: उन्मूलन भइसकेको अवस्था आएको छ। कन्याले आफ्नो वर आफैँले रोज्न पाउने, मनपरेकासंग बिबाह गर्न पाउने आदिम वैदिककालीन समाजको प्रचलन बढ्दै नयाँ युगको उदय कर्णाली प्रदेशमा पनि भइरहेको छ। कर्णलीप्रदेशमा आधुनिक शिक्षाको प्रचार तीब्र गतिमा भइरहेको छ र सबै जातिका बाल बालिका विद्यालय र महाविद्यालयमा पढ्न गएका छन्। तर ती सबैले आ-आफ्ना घर परिवार, छर छिमेक र इष्ट मित्र बाहेक साँस्कृतिक शिक्षा आर्जन गर्नर अवसरलाई सरकारले पाठ्यक्रमबाट झिकेर, बञ्चित गर्दै गरेकोले गम्भीर चिन्ताको विषय भइरहेको छ। अब आएर नेपालका सातै प्रदेशहरुले आफ्नो प्रदेशब्यापी शिक्षाको मौलिक पाठ्यक्रमा निर्माण गर्दा आफ्नो पारम्पारिक, वैज्ञानिक, प्रमाणिक संस्कृतिलाई पुन: समावेश गर्नु पर्ने अपरिहार्यता भएको देखिन्छ । कर्णाली प्रदेशमा ब्राह्मण, ठकुरी, क्षत्री, भाट, धामी, दशनामी, शन्याशी, कनफट्टा, पावै, हुम्ली, ख्याम्पा, जाड्या, नेवार, थारु, गुराउ, धान्नुक, मुशहर, बिटालू (सुनार, कामी, सार्की, ढोली, डुम्, पातर, पार्की, ओड, चूनारा= वर्तमानमा दलित मानिएका), मिञा, आदिको बसोबास रहेको छ र तीमध्ये संख्याको दृष्टिबाट बिचार गर्दा ब्राह्मण र ठकुरीको संख्या बढी नै छ। त्यसो हुनुको कारण कर्णालीप्रदेश मूलत: प्राचीनकालबाटै खसान क्षेत्र हुनाले नै हो। त्यस प्रदेशमा बसोबास गर्ने अल्पसंख्यको आवादीमा दशनामी, शन्याशी, कनफट्टा, पातर, र भाटहरु रहेका छन्। यस प्रदेशमा विविध हावापानी, धरातलीय भिन्नता तथा संस्कृतिक विविधताका कारण मानिसको पेशा, परिधान, शारीरिक बनोट, रूप, रङ्ग, आनि बानि, लेन देन, बिहाबारीको किसिम पनि एक आपसमा पृथक रहेको पाइन्छ। त्यस प्रकारको पार्थक्यमा एक जातिको स्वभाव, सँस्कार, भाषा, जीवन वृत्ति, पेशा, शिष्टाचार, नित्य प्रयोगका सामानहरु, स्थानीय देवीदेवताहरु, पूजापाठ, अर्चना विवधि, कुलपूजा, दोषवयू, गृहदेबता, पेशा, मन्दिरको बनोट, घरको र टोलको बनोट, जन-विश्वास, क्षेत्र, गहना र भेषभूषा, बिबाह पध्दति आदिमा आपसमा केही भिन्नता भएको महशूस गर्न सकिन्छ। कर्णाली प्रदेशमा बसोबास गर्नेहरुबीच एकता बनाइरहने तत्व हो, सबैका साझा देबता मष्टा कुलदेबताको मान्यता। ती कुलदेबता मष्टाले मानव जीवनका आइ पर्ने प्रत्येक पक्षमा सहयोग गर्दछन, उदाहरणको लागि भूत, प्रेत भँयाउनी लागेमा, पैशाचिक प्रकोप भएमा, चौपायाको धन वृध्दि गर्ने इच्छा भएमा, रोगब्याधीले अत्याएमा औषधिमूलो गर्नु परेमा, खेतिबालीबाट सहकाल ल्याउनु परेमा, अतिबृष्टि, अनाबृष्टि रोक्नु परेमा, सन्तान नभएमा, असल सन्तान बनाउनु परेमा, विदेशिएका आफन्तको निधो, पत्ता तथा छिटो घर फर्काउनु परेमा, र चारैतिर शुभ हुनका निम्ति रत्यसबाट छुटकारा लिन, चोखीनीतिपूर्वका श्री मष्टा देबताको पर्व पर्वमा र आवश्यक परेका बेलामा, विधिवत् पूजा गर्ने, मष्टाका धामी बसाल्ने, धामी पतुर्न लगाएर उनका मुखबाट देवभाषामा आशिर्वाद लिने र उनले, देबता चढेको बेलामा देवभाषामा बयक्त गरेका कुरा जस्ताको तस्तै पालना गरिनु र अपेक्षित सुधार हुँदै जानू। कर्णाली प्रदेशमा प्रचलित संस्कृतिलाई मूलत: दुई भागमा बिभाजन गर्न सकिन्छ: जस्तै, वैदिक सँस्कृति:वैदिक शाश्त्रीय विधिमुताबिक गरिने संस्कारहरु, जसमा कर्मकाण्ड, वैदिक देबी देबताहरुको पूजा, अर्चना, गर्भाधान देखि मृत्यु पर्यन्तसम्म गरिने तर्पण, पिण्डदान, श्राध्द, तीर्थाटनमा पुगिएका ठाँउका देबी देबताको पूजा विधि आदि । वैदिक संस्कृतिमा प्रशिध्द देबी, देबताहरुको सार्वलौकिक लिखित तथा ब्यापक शाश्त्रीय वैदिक मन्त्र द्वारा आह्वान, सम्बोधन गरेर, अग्निहोत्र विधिले पण्डित, पुरोहित आदिलाई बोलाएर पूजा अर्चना गरिन्छ । उदाहरणको निम्ति: बाबू, आमा, सूर्य, चन्द्रमा, वरुण, इन्द्र, कुबेर, नवग्रह, ब्रह्मा, विष्णु, महेश्वर, कुबेर, बायु, आदि। लौकिक सँस्कृति: लौकिक संस्कृति, जसमा परम्परादेखि लोकमा प्रचलित भईआएका धेरै जसो अलिखित रमौखिक सांस्कृतिक परम्परालाई भन्न सकिन्छ। विशेष गरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, अछाम, बझाङ्, बाजुरा, डोटी, दैलेख सुर्खेत, जाजरकोट, रोल्पा, दाङ, सल्ल्यान, बैतडी, दार्चुला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जस्ता जिल्लामा लौकिक संस्कृतिका मौलिक तथा प्राकृतरुपमा सुरक्षित रही आएका पाइन्छन्। कर्णाली प्रदेशबाट जति पूर्वतिर बढदै गयो उति नै नेपाली संस्कृतिको विस्मृति तथा क्षय हुँदै गएर भिन्न प्रकारको सङ्क्षेपिकृत रुप बन्दै गएको महशूस अनुसन्धाताहरुलाई हुने गर्दछ। लौकिक संस्कृतिमा शुध्द आत्मा, स्थानीय देवी, देवता, दुष्ट आत्मा भूत, प्रेत, पिशाच, श्मशाने, भ्याउनी, बीर, मरेडायनी, देबी देबताका वाहनहरु, निशाचरहरु, अगति परेर मरेका पितृहरु, गलत किसिमबाट मारिएकाहरुको भौँतारिएको आत्मा, अकालमै मरेकाहरु, लौकिक देबताहरु, भूमे, भँयर, अँयर, देउराली, वनदेबी, निधिनी, झाँक्री, वनझाँक्री, ओडार र पहरामा बस्ने दैत वा देवताहरु आदिको लौकिक विधानबाट धामी, बिजूवा, गुराउ, मान्थेबा, तान्त्रीक, झाँक्री, झारफूक गर्ने, यान्त्रीक, अभिचार विधिबाट, फुकफाकका माध्यमबाट उग्र भएका त्यस्ता लौकिक देबी देबताहरुलाई शान्त पारेर दु:ख नदिउन् भनी पूजा गर्ने र मन्साउने परम्परालाई मान्यता गरिन्छ। कर्णालीप्रदेशमा पूजिने वैदिक देबी देबताहरु सात्विक र राजशी प्रकृतिका हुन्छन् भने लौकिक देबी देबताहरु राजशी र तामशी प्रकृतिका हुन्छन् । उदाहरणका निम्ति : परब्रह्मा, ब्रह्मा विष्णु, महेश्वर, गणेश, सूर्य, देबी, राम, कृष्ण, कुमार, दूधेमष्टा आदिलाई सात्विक विधिबाट पूजा गरिन्छ भने इन्द्र, भैरव, मष्टा, काली, दाह्रेमष्टा, काली भँयर, अँयर, भूमे, झाँक्री, नन्दी, भृङ्गी, चतुषष्टी योगिनी, भूत, प्रेत, वायु, दोष, पिशाच, भ्याउने, श्मशान, भान, बाहन, फाके, लागो, भागो, आदिलाई राजशी र तामसी विधिबाट पूजा, धूप, उपचार, खोज, पूकार, सुपुकार, भाकल, आदि विधिबाट सम्मान गर्ने परम्परा रही आएको छ। (देवकोटा, २०४६, पृष्ठ, १०७)। त्यसरी राजशी र तामसी विधिबाट पूजा, धूप, वलि, मन्साउने, बुझाउने, थान्को लगाउने प्रकृयाबाट चोरी, हत्या, पीडा, बलात्कार, लाञ्छना, रोग, ब्याधी, आतङ्ककारी, लूटिने, पिटिने, छकाइने, ठगिने, मुद्दा मामिलामा फस्ने आदिबाट बच्नका निम्ति ती देबी देबतालाई भाकल गरेर शान्तपार्ने परम्परा अद्यापि प्रचलनमा रही आएकै छ। त्यस्ता धेरै देबताहरुमध्ये सबैभन्दा शक्ति र सामर्थ्य भएका, तत्कालै फल दिनसक्ने देबता श्रीमष्टा देबता नै मानिन्छन्। नेपालभर बसोबास गर्ने खस आर्यका कुलदेबता मष्टा र देबीहरुको उत्पत्ति क्षेत्र कर्णाली प्रदेश नै मानिन्छ। त्यस्ता ज्यादै प्रख्यात देवता मष्टा र देबी भवानीका बिभिन्न रुप र नामका हुन्छन्, जसमा बाह्भाइ मष्टा र नौ दुर्गा भवानी भनी पुकारा गरिन्छ। श्री नौ दुर्गा भवानीका पनि शय जति नाम छन् भने श्रीमष्टाका पनि चौराशीबटा नामहरु प्रचलित रहेका पाइन्छन्। कर्णाली प्रदेशमा राग्श्या, भूत, भाउन्ना, मशान्या, दोभान, मुखोल्या, वायु, कप्टिनी, बोग्सी, डाङ्किनी, साङ्खिनी, दानुवा, प्रेत, पुङ्ग्याल, भँयर, भान, छाया, द्यौ, द्यौती, आदिले मानिसलाई रोग ब्याधी, मूर्छा, धनहानी, कृषि हानि, सन्तान हानि, निस्सन्तान, भीमल, तर्सो, मन चञ्चल गराउने गर्छन् भनिन्छ। त्यस्ता भूतादिबाट कष्टमुक्त हुन धामी, झाँक्री, नाडिछाम्ने, चामल जोखाना हेर्ने, फूकफाक गराउने, अक्षता उडाउने, वलि दिने, रङ्गबिरङ्गले पूजा गर्ने कुखूरा, परेवा, चल्ला छोड्ने, सामान र बत्तिसहित बिमारीको शरीरलाई सात पटक घुमाएर सात तयाली वाचा गराएर दोबाटोमा लगेर फ्याँकिन्छ, छोडिन्छ। त्यस कार्यलाई खोज गरेको भन्ने भनाई छ, खोज गर्दा खरानी (रखानी) को डल्लोलाई पिण्डको रुपमा मानेरखोज कर्ता धामीले चामलका पीठाको मानिसको मूर्ति निर्माण गरेर, सातबटा दाबिलामा अँगारले भूतभाषामा लेखेर, मन्साउने नेटामा पुगेपछि, फलामको दिउरा, भजालामा लगेको आगो भूईँमा खन्याएर , सोही आगोमा कडूवा तेलको धूप हालेर, मन्साउने सरजामको वरिपिर आंखोराम लगेको जलले वरपर घुमाएर बिमारीको नाम फलाकेर सात तयाली वाचा गराएर अब उप्रान्त सो ब्यक्ति र निजका कुनै पनि परिवारलाई दु:ख नदिने बाचा गराइन्छ। त्यति गरेपछि मात्र सो चामलका पीठाको मूर्ति र सारा सरजामलाई भूईँमा खाल्टो खनेर पुरिन्छ र सातबटा दाबिला उही खोज गर्दा गाडेको खाल्टो वरपर ठड्याएर गाडिन्छ र बिमारी भएका घरतिर फर्किन्छन् । घर फर्के पछि आंखोरामा लगेको बाँकी जलले बिरामीलाई दोहोलो काडिन्छ र अब उप्रान्त निको भयो भनी सातो जाने किसिमले कराउने र लागो भागो छुटाउने गरिन्छ। कर्णाली प्रदेशमा फाग, माँगल, भारत, झोडा, चैत, चाँचडी, ढूस्को, भोस्सो, भाइल, भैली र गाथाको विशाल भण्डार नै मानिन्छ, त्यसता केही उदाहरणकारुपमाजस्तै: सरुवा कौनियाको भारत, बिना कठाइतको भारत, उदा छोपालाको भारत, शक्ति कठाइतको भारत, रनि राउतको भारत, लछालकीर्तिको भारत, बालराजा काँशीरामको भारत, बिमा राउतको भारत,राजा जितारी मल्ल जालन्धरी मल्लको भारत, सङ्ग्रामसिँ कार्कीको भारत, रारा पैकेलाको झोडा, कालू बम्मको झोडा, नागर बिष्ट भैरब बिष्टको झोडा, सती कलशाको गाथा, बाँके रावल चना रौतेलीको गाथा, जस्ता ज्यादै प्रचलित अमूर्त सम्पदा मानिन्छन्। (तिमिल्सेना, २०७७, पृष्ठ, २७४०-२७५) दैलेखका अमूर्त सम्पदाका बारेमा एउटा पुरानो उखानयुक्त भनाई सुन्न पाइन्छ: जस्तै: सातालाको भैलो, डौँशूरको हूड्केली, सिगौठीको भोस्सो, खूडखूडीको मारुनी, नौमूले, टाकूरी, काँशीकाँधको सरौँघाउ (हातहतियार हातमा लिएर गरिने द्वन्दयुध्दको नमूना, अभिनय) आदि प्राचीनकालबाट प्रख्यात मानिन्छन्। निष्कर्ष: कर्णाली प्रदेशको हिमाली उच्चपहाडी ठाडा डाँडा, भीराला पाखाले बनेको भूगोल हामीले सोचे झैँ सहज र उर्बरथिएन र छैन, त्यस्तो ठाँउमा अभ्यस्त मानव जीवन पध्दति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुने गरी पाउन सकिएको छैन भने निराशा हुनु पर्ने स्थिति पनि रहन्न। प्राचीन रेशमको ब्यापार उर्लेको बेलामा हिन्दूकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरुले उत्तर- पश्चिम भारत र दक्षिण-पश्चिम तिब्बतलाई आफ्नो राज्यक्षेत्र भित्र पार्न सक्ने यो खस जातिको सभ्यताले तत्कालिन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ। अझ गम्भीरतापूर्वक अध्ययन गर्दा खस जातिले गरेका वैज्ञानिक आविष्कारहरु, उनीहरुको सभ्यताको प्रभाव, उनीहरुको संस्कृति, सामजिक बनोट, भाषाको विकास, परिधान, राज्यको मजबूति, आर्थिक स्रोतको उचित परिचालन, स्वर्णभूमिसंगको ब्यापार र वाणिज्य, जातिपाति र स्थलसंग सम्बन्धित थरको पहिचान, पेशाप्रतिको निष्टा, कामको मर्यादा, कलाकौशल र साम्राज्यको अध्ययनबाट यस जातिको समृध्दिको चूलीलाई उच्च मूल्याङ्कन गर्न सकिने आधारहरु पाइएका छन्। केवल कर्णाली प्रदेश मात्र नभएर, काश्मीर, गढवाल, कुमाउँ, नेपाल, भूटान, सिक्किम, भारतको हिमाञ्चल प्रदेश, असाम, आदिको सभ्यतालाई सिंजाको पूर्वमध्यकालीन खसमल्ल सभ्यताले निर्देशित गरेको महशूस हुन जान्छ। जसको प्रभाव हालसम्म पनि कर्णाली प्रदेशमा सुरक्षित नै रहेको छ। सामजिक बनोटका दृष्टिबाट बिचार गर्दा अनादिकालमा कर्णालीप्रदेशमा हिमाली, जङ्गली, फिरन्ते, शिकारी, कुशुण्डा, राउट्या, मूण्डा, जस्ता जातिहरुको कृडाभूमि रहेको प्रतीत हुन्छ। पछिल्लो समयमा आएर हिन्दूकुशहिमाल वारपारमा खसआर्यहरुको बसोबास रहेको र त्यही परिप्रेक्षमा कत्यूरी, पाल, चन्द, चौहाण, मल्ल, मागधी, गान्धार जस्ता जातिको बसोबास पनि भएको हुनाले उनीहरुले हिन्दू सनातन र बौध्द धर्मलाई समान ब्यबहार गरेर बसेको बुझिन्छ। ती सबैमा मङगोल र आर्य नश्लको सम्मिश्रण रहेको, सामाजिक परम्परा र संस्कृति पनि सम्मिश्रण किसिमको पाइन्छ । उनीहरुले आफ्नो मौलिक संस्कृतिलाई यथावत्रुपमा बँचाएर संरक्षण गरेर राख्न सफल भएका थिए। ती मध्ये कर्णाली प्रदेशमा खस जातिले बहादुरी प्रबृत्तिको विकास गर्न समर्थ, मठ मन्दिरमा पशुको वलि दिने, प्रसादको रुपमा मांशादिको भोजन गर्ने अभ्यास पहाडी परम्परामा स्वीकार्य मानिएबाट त्यही रीति विकसित हुँदै सामाजिक संस्कार बन्यो । खसजातिले हिन्दू र महायानी बौध्द संस्कारलाई उदारतापूर्वक पूर्णत: अङ्गीकार गरेको देखिन्छ। खस जातिमा सबैले आ-आफ्नो काम इमान्दारीसाथ गर्दै आएका देखिन्छ्न्। केहीले छोरी बेच्ने र केहीले मन्दिरमा लगेर चढाउँने चलन पहिले थियो, युध्दमा सेनाद्वारा बलात्कृत गरिएकी कन्यालाई देबकी बनाउने चलन पनि थियो। खसआर्यहरुले उत्तर-दक्षिणको ब्यापारमा जीवन्त बनाएका हुन्थे र राज्यको अर्थतन्त्र थामेका हुन्थे। कर्णाली प्रदेशको मूल आय स्रोत नै वैदेशिक ब्यापार थियो, जसमा खसआर्यहरु नै सक्रिय देखिन्थे। समाजमा नारीको स्थान उच्च थियो र शुद्रको सामाजिक महत्व सबै जातिको भन्दा अधीक उच्च थियो, किनभने सबै जातिको जन्म देखि मृत्युपरान्तसम्म उनीहरुको भूमिका निरन्तर चलेको हुन्थ्यो र उनीहरुको पेशा नै जनसेवा मानिन्थ्यो। बीचको समयमा यस जातिलर निकै गोता पायो तापनि हाल आएर त्यस जातिको उत्थानका विभिन्न प्रयासहरु नेपालमा भई आएका छन्।(परिशिष्ठ नं १) सुझावहरु: १) वर्तमान नेपालमा प्रत्येक दशकमा गरिने जनगणनाको ढाँचा गलत सिध्द भएको देखिन्छ। किनभने त्यसमा ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी छुट्याउने खस आर्य भन्ने मापदण्ड वैज्ञानिकरुपमा तयार गरिएको पाइन्न । त्यसले कर्णाली प्रदेशका अधीकांश जनता सरकारी आरक्षण जस्ता सहुलियतबाट बञ्चित रहेने स्थिति आएको छ। कर्णाली प्रदेशका मूर्त र अमूर्त सम्पदाको यथाशीघ्र संरक्षणको बन्दोबस्त सरकारी तहबाटै गरेमात्यहाँको नमूना नेपालभर लागू गराउन मद्दत मिल्ने देखिन्छ रलोपोन्मुख सँस्कृतिको जगेर्ना गर्न सकिन्छ। २) वर्तमान नेपालमा जातीय र क्षेत्रीय आयोगहरुले कट्टर जातीय आधारलाई प्रोत्साहन दिएको छ, त्यसको सट्टा सबै नेपालीलाई राष्ट्र निर्माणका निम्ति जोसंग बुद्धी, विद्याक्षमता र बल, बाहुबलले राष्ट्र निर्माण र राष्ट्रीय अस्मिता बचाउन समर्पण हुने क्षमता राख्छन्, जसले जनजीविकालाई यथार्थरुपमा उत्पादन र बितरणमुखी कार्य गर् सक्छन्न् र जसले शारीरिक श्रम, शीपद्वारा समाजको सेवामा लागेर जीविका गरी आएका छन् ती सबैलाई सामाजिक आदर्श परिभाषा भित्र पारेर नागरिकहरुबीच मानवीय र सामाजिक समानताको आधारमा आरक्षण जस्तो महत्वपूर्ण र सम्वेदनशील कुरालाई गंभीरताकासाथ विचार गरेर विवेकशीलताका आधारमा प्रयोग गरेर आरक्षणको अवसर प्रदानगरिनु पर्दछ। ३) नेपाली नागरिकका प्रत्येक जातिको जातीयतालाई छुट्याउने एउटा आधार भाषिक आधार पनि हो, तसर्थ नेपालमा बसोबास गर्ने नागरिकको आफ्नो मातृभाषाको गहन अध्ययन, अनुसन्धान गर्नु पर्ने र एक भाषा भाषीलाई एउटै वर्गमा हेरेर उनीहरुको आर्थिक, शैक्षिक र सामाजिक उत्थानका निम्ति सुधार गर्नु पर्ने देखिन्छ। त्यस प्रकारको आन्तरिक वास्तविकतालाई प्रकाश पार्ने प्रतिवेदन तयार पार्न हाल गठन भएका बिभिन्न प्रतिष्ठानहरुले पूर्वाग्रहबिना, उपयोगी मूल्याङ्कन गरेर ब्यबहारमा लागू गराउनु पर्ने देखिन्छ। ४) वर्तमा नेपालको संविधानमा नेपालका सबै जन-जातिलाई स्वत: आदिबासीमा सूचीकृत गरेको दुषित परम्परा लागू गरिएको देखिन्छ, जो आधारभूतरुपमा गलत छ, किनभने उदाहरणको लागि पूर्वी तराइको सन्थाल जाति ५० वर्ष अगाडि मात्र श्रमिककोरुपमा नेपाल प्रवेश गरेको, तामाङ् जाति नेपाल र चीन-भोट युध्दमा प्रवेश गरेको, शेर्पाजाति जो चौँरी पाल्दै तिब्बतको स्यार्बो जाति केही पहिले नेपाल पसेको कुरा स्पष्ट भइसकेको छ, त्यस्ता जन-जातिलाई पनि स्वत: आदिबासीमा सूचीकृत गरिने विषयमा गहन अनुसन्धान गर्नु पर्ने देखिन्छ। तसर्थ नेपालमा जो जसलाई आदिबासीकारुपमा सूचीकृत गरिएको छ, त्यो परिपक्व किसिमको नभएर, अदूरदर्शी, कच्चा र अपूर्ण छ, त्रुटिपूर्ण निर्णय भएको हुनाले त्यसमा तत्कालै पुनर्विचार गरिनु पर्ने हुन्छ। त्यसबाट कर्णालीका खासआर्य जस्ता आदिबासीलाई ठूलो मर्का परेको छ। त्यसका साथै हिन्दू धर्म र बौध्द धर्मावलम्बीहरु उदार धार्मिक भएको फाइदा उठाएर क्रिस्तानहरुलेअनेक प्रलोभनमा पारेर, धर्म परिवर्तन गराइरहेका छन् र आदिबासीहरुले पाएको अधिकारमा पनि ती धर्मछाडाहरुले आफ्नै भाइहरुलाई मिलेको सहुलियत दोहोरो लाभ लिइरहेका छन्। आधिकांश खसआर्यहरुमा जातीय छुवाछुत र अनेकानेक बहानामा त्यसको मार खेपीरहेका त छँदै छन्, समाजमा सुधार पनि गरिँदै छ, तापनि त्यसमाथि विधर्मीको निशान बन्दै गएका छन्। ५) नेपालका रैथाने खस आर्यहरुको बारेमा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने क्रममा धेरै समस्या तथा चुनौतिहरुको सामना गर्नु परेको छ, जस्तो कि यस जातिमा जन्मी हुर्केका महिला वा पुरुषले अन्यजाति, दलित, आदिबासी, मधिशे, थारु, जो जातीसंग वैबाहिक सम्बन्ध गरी गृहस्थी गर्ने पति/पत्नीले पनि आदिबासी जनजातिको पनि आरक्षण पाएका आधार प्रमाणहरु प्रसस्त पाइएकामा उनीहरुलाई निरुत्साहन हुनेखाले निष्पक्ष मूल्याङकन गरी न्यायनिरुपण गर्नु पर्ने हुन्छ। अर्को कुरा, प्रत्येक नारी वा पुरुषले आफ्नो नाम पछिको थर लेख्दा आफ्नै बाबूआमाको बाहेक अरुको थर लेख्न र अर्कै पहिचान दिने खाले गैह्र कानूनी किसिमबाट आदिबासी जनजातिको सुबिधा भोग गर्ने कुरालाई हतोत्शाह तथा त्यस्तो प्रवृत्तिलाई पूर्णत: वञ्चित गरिनु पर्दछ। ६) वास्तबमा भन्ने हो भने नेपालमा वनबासी जाति, दलित र दूर्गम क्षेत्रका बासिन्दा, आर्थिक बिपन्न वर्गलाई पहिचान गरेर मात्र आरक्षण प्रदान गर्नु पर्ने हुन्छ। जो हूलदङ्गा गर्छ, जो बलको भरोशा र धनको मदमा राजनीति गर्छ, जसलेछिमेकिहरुको बुई चढेर नेपालको हानि पुर्‍याउन अग्रसर हुन्छ, त्यस्तालाई राज्यबाट मिल्ने सुबिधा, डरका कारणबाट आरक्षण प्रदान गरिनु कदापि शोभा दिने कुरा होइन र त्यस्तो नीतिबाट देश उँभो लाग्दैन। ७) कर्णालीमा खटिएर जाने कर्मचारीहरुका पनि बिबिध आग्रहहरु रहेका देखिन्छन्, ती सबैको विश्लेषण गर्दा उनीहरुको मनस्थिति सकारात्मक भन्दा पनि नकारात्मक र कुण्ठाग्रस्त देखिन्छ। किनभने सोही प्रदेशको प्राकृतिक स्रोत र मानवीय स्रोतहरुको परिचालन गर्न नसकेर त्यस्तो कुण्ठा पल्हाएको बुझिन्छ। साँच्चै भन्ने हो भने, कर्णालीकै सम्पदाहरु सहि प्रकारबाट परिचालनगरेर कर्णालीलाई समृध्द बनाउन सकिन्छ। २०४५ सालसम्म कर्णाली केहि मात्रामा भए पनि समृध्द र आत्मनिर्भर थियो, तर त्यसपछि भने त्यो प्रदेश पूर्णत: पराश्रित बन्न गयो र १२ वर्षे द्वन्दपछि त त्यहाँका सबै कुटीर उद्योगहरु, शिपालू हातहरु पूर्णत: धराशयी नै भएर लोप भैसकेको अवस्था छ। ८) कर्णालीप्रदेशमा ४३ प्रतिशत बालबिबाह हुने गरेको छ, विकासको गोरेटो मानिएको चीशापानी-हिल्शा मोटरबाटो ज्यादैसाँघूरो र अधूरो रहेको छ, जो सबैको साझा आधार हो, त्यसलाई सम्पन्न गर्न सकेमा विकासको फड्को आगाडि बढ्न सम्भव हुने देखिन्छ। ९) कर्णालीको सभ्यता अति प्रचीन तथा अति समवेदनशील हुनाले त्यहाँको विकास र सभ्यता एक आपसमा प्रतिपक्षी जस्ता हुन गएका छन्, किनभने आधुनिकतामा लागेको युवा मन सभ्यतातिर फर्कन नचाहेको हो कि भन्ने भान पर्दै गएको छ। बिडम्बनाको कुरा, कर्णालीको सभ्यता विनष्ट हुँदै जाँदा विकासको कदम भने पछाडितिर धकेलिँदै गएको पाइन्छ, एउटा देखिएको हवाई यातायात पनि नियमित र भरपर्दो छैन। त्यसका निम्ति कर्णाली उडान अभियान चलाउन सकिएका खण्डमा केही उन्नति हुनेछ। १०) नेपालका सातैप्रदेशको तुलनामा कर्णालीप्रदेशले १८.९७ प्रतिशत भूभाग ओगटेको छ, सोही आधारमा त्यस प्रदेशको विकासमा देशको कूल बजेट तदनुकूल प्रबाह गर्नु पर्ने देखिन्छ। कर्णालीलाई सक्रिय बनाउन त्यहाँको सबैखाले जनशक्ति त्यतैको विकासार्थ फर्केर वैज्ञानिक नीति निर्माण तथा लागू गर्न, सुरुङ् निर्माणमा तीब्रता ल्याउन, रज्जूमार्गको द्रूततर विकास र गाँउ बस्तीहरुमा पुगिने स-साना मार्गहरुको निर्माणबाट मात्र कर्णालीले समृध्दिमा पाइला चाल्न सक्छ। नेपालका अन्य प्रदेश जस्तै यस कर्णालीप्रदेशले पनि दुबैतिरबाट घोप्टे,उभिण्डो पार्ने किसिमको विकासनीतिलाई पूर्णत: परित्याग गर्न सक्नु पर्छ। ११) साँच्चै नै कर्णालीको विकास चाहने हो भने एउटै स्वार्थमा आधारित एकाकार वित्तीय योजना बनाएर लैजानु पर्ने हुन्छ। त्यसको प्रयोग प्रत्येक १०-१० वर्षको केन्द्रीकृत योजाना नै निर्माण गरी कर्णालीका बासिन्दाहरुले श्रमदानबाट विकास गरेमा मात्र समृध्द कर्णाली साकार बन्न सम्भव हुने देखिन्छ ।कर्णालीमा विकासका पूर्वाधारहरु तयार नभएसम्मका निम्ति यहाँका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको पूर्णत: संरक्षण, करमुक्त कर्णाली, पर्यटकीय गन्तब्य कर्णाली, स्थानीय स्रोतहरुको प्रचूर प्रयोग कर्णाली जस्ता दूरदर्शी तथा वृहत् योजनाहरुको निर्माण गर्न दृढ हुनु पर्ने देखिन्छ। यसप्रकार भविष्यमा माथिका बूँदाहरुमा गमभीररुपमा विचार गर्दै नेपालका प्रत्येक जात-जातिको इतिहास, संस्कृति, सामजिक बनोट, वंशविस्तार, आर्थिक क्रियाकलाप, वर्गीय विवेचनासाथ पेशा हरणमा परेका दलित र अन्य पिछडा वर्गलाई कुन योजना, आयोजनाबाट उत्थान गर्न सकिन्छ भन्ने पवित्र लक्षसाथ इतिहास र संस्कृतिका विद्वानहरुबाट गहन अध्ययन गराई त्यहाँको यथार्थतालाई यथाशीघ्र प्रकाशनका साथमा कार्यमा परिणत गरिहाल्नु पर्ने बेला आएको छ। इतिहासकार तथा प्राध्यापक प्रा. डा. राजाराम सुवेदीले 'कुडा कर्नालीका' मा व्यक्त गर्नुभएको प्रवचन

लोकप्रिय