केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...

केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्।

कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, (एकीकृत समाजवादी)का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो।

मुख्यमन्त्री शर्र्मा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल निवासमा पुगेर केन्द्रको सर्कुलर र विश्वासको मतबारे छलफल गरेका थिए । सो छलफलमा केन्द्रको सहमति कार्यान्वयन गरेर जानुपर्नेमा नेता कँडेलले जोड दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।पार्टीको निर्देशनविपरित मत लिन लागेपछि प्रधानमन्त्री प्रचण्डले केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सरकार गठनको बाटो निर्माण गर्ने वातावरण बनाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्।

वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय सदस्य संख्या १० प्रतिशत बढाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो । १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।नयाँ मानिस ल्याउनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र ४५ वर्षमुनिका ६० जना युवा केन्द्रीय कमिटी सदस्यमा ल्याउनै पर्ने व्यवस्थाका कारण केही संख्या बढाउन लागिएको समाजवादीले जनाएको छ ।

कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्त नलिने भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्न खोजेको थियो ।मुख्यमन्त्री हिक्मत कार्कीले केही समय सरकारमै रहन आग्रह गरेका कारण केही ढिलो गरी राजीनामा बुझाएका हुन् ।‌ कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

माओवादी पदाधिकारी बैठक भोलि पनि बस्ने, आजको बैठकमा के भयो ?

काठमाडौं । आज देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको छ। बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भैरहेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। आजको बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखेका छन्।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेका थिए भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखेका छन् । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने छ ।

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारबाट हटेपछि पहिलो पटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए । साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

लोकप्रिय