कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा
सुर्खेत । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राति परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।
कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए ।
सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरू गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरू पाँच दिनदेखि अलपत्र परेका थिए ।
जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाँडाचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।
कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य
सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको सभामुख नन्दा गुरूङले बताइन् । यस अधिवेशनमा १० बैठक बसेका थिए । माघ १८ बाट सुरु भएको अधिवेशन चैत १५ सम्म चलेको थियो । यस अवधिमा १३ घण्टा ४२ मिनेट बैठक बसेको छ । उक्त अधिवेशनमा दुई विधेयक पारित भएको छ भने एक विधेयक टेबुल गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक चैत १०मा पेस गरेका थिए । उक्त विधेयक चैत १५ मा सर्वसम्मत पारित गरिएको हो । प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पनि बहुमतले पारित गरेको छ । चैत १० को बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनमा सामाजिक विकासमन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ संशोधन विधेयक प्रस्तुत गरेका थिए । चैत १५ को बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । यस अधिवेशनको चैत ६ को बैठकले सांसद हिक्मत बहादुर विष्टले पेस गरेको संकल्प प्रस्तावलाई सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । उनले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सञ्चालन गर्ने सम्बन्धमा संकल्प प्रस्ताव पेस गरेका थिए ।
रुकुमपश्चिममा एमाले परित्याग गरी २३ जना नेकपामा प्रवेश
रुकुमपश्चिम । रुकुमपश्चिमकाे आठबिसकोट नगरपालिकामा २३ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरू यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग आबद्ध थिए। आठबिसकोट–१४ मा आयोजित कार्यक्रममा एमाले परित्याग गरेका गुनेसल्ला टोलका २३ जनालाई नेकपाका स्थानीय नेताहरूले स्वागत गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा बोल्दै नेताहरूले देशमा परिवर्तन, समानता र जनअधिकार सुनिश्चित गर्न नेकपाको नीति तथा कार्यक्रम प्रभावकारी रहेको बताएका थिए। नवप्रवेशी कार्यकर्ताहरूले जनताको पक्षमा सक्रियतापूर्वक काम गर्ने र पार्टीको विचारधारालाई सुदृढ बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय तहमा संगठन सुदृढीकरणमा लाग्ने धारणा पनि राखेका छन्। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ प्रवेशसँगै क्षेत्रीय राजनीतिमा नेकपाको प्रभाव थप सशक्त हुने नेताहरूको दाबी छ।
हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु
हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज र हुम्ला–काठमाडौंसम्म बस सेवा सुरु गरिएको छ। हुम्लादेखि सुर्खेतसम्मको भाडा ५ हजार, नेपालगञ्जसम्म ५ हजार र काठमाडौंसम्म ६ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए। सोही प्रालिले मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सञ्चालन गरेको जनाएको छ।
मुगुमा भेडालाई पाटन ल्याइयो, बुकी चर्ने परम्परा जारी
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मा पर्ने खात्तला, सिप्टिचौर र हुड्केथलापाटनमा वर्षायाम सुरु भएसँगै चरनका लागि भेडाहरूलाई पाटन ल्याइएको छ । गर्मी बढेसँगै बेँसीबाट हिमाली पाटनतर्फ उक्लने भेडापालक किसानको परम्परागत चलन हो । स्थानीय भेडापालक किसान अमर कार्कीका अनुसार, हरेक वर्ष वैशाखदेखि कार्तिकसम्म भेडाहरूलाई उच्च हिमाली पाटनमा चराइन्छ । मङ्सिरको पहिलो साताबाट चिसो बढेसँगै भेडाहरूलाई बेँसी ओरालिन्छ । हरियाली पाटनमा सेता र काला भेडाहरू चरेको रमणीय दृश्यले पाटनलाई आकर्षक बनाउँछ । स्थानीय भुमल बोहराले भने, “तीन दशकअघि भेडाहरू यातायातको साधनका रूपमा प्रयोग हुन्थे ।” भेडापालनबाट राम्रो आम्दानी हुने र पछिल्लो समय वन फँडानी र खेतीपातीका कारण चरन क्षेत्र घट्दै गएको उनले बताए । छायानाथ रारा–१ का ८३ वर्षीय हस्तबहादुर मल्लका अनुसार, मुगाली समुदायले भेडालाई लिएर तिब्बत गएर नुन ल्याउने र भारतसँगको व्यापारसँगै हिउँदमा मधेस झर्ने परम्परा छ । बर्खामा भेडाहरू कुकुर र ग्वालाहरूसहित पाटनतर्फ लाग्छन् । उनीहरूले चामल, पिठो र आवश्यक सामग्री बोकेर बर्खाभरि पाटनमा बस्छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ का प्रेम रोकायाले भने, “वर्षायाममा पाटनमा बुकी पलाउँछ, जुन भेडाका लागि मिठो र औषधीय खाना हो ।” हिमाली घाँस र चिसो पानीले पोषित भेडाको मासु स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिन्छ । भेडाको मासु र झोलले रोग निको हुने र शरीरमा तागत बढाउने जनविश्वास छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगुका प्रमुख भिमचन्द्र बुढाका अनुसार, भेडापालन मुगाली किसानको प्रमुख आयस्रोत हो । जिल्लाका चार पालिकामा करिब आठ हजार भेडा छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा भेडापालक किसानलाई वार्षिक १८ हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरिन्छ ।

