सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८, सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।
यसैगरी, विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।
“प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,” तिमिल्सिनाले भने। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मङ्गलबार साँझ पोखरा आएका हुन्।
गण्डकीको मुख्यमन्त्रीमा आज सुरेन्द्र पाण्डे नियुक्त हुने
काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज नियुक्त हुँदैछन्। न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको थियो । ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरे अनुसार आज नै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो। मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा आज मात्रै पुग्नेछ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने बताए। दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बन्न लागेको हो । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन्। पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे पनि गण्डकी सरकार अस्थिर बन्ने अवस्था छ। गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा रहेपछि गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। उनलाई ३१ सांसदको समर्थन जुटाउन निकै सकस छ। स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र पुग्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनै पर्छ व्यवस्था छ। त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यव्रmम ल्याउनैपर्ने हुन्छ। पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था पनि छैन। गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद रहेका छन् ।
गण्डकी सरकार विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ। सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ। जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने छ। मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ। ६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ। रिटमा मुख्यमन्त्री अधिकारीको विश्वासको मत मत बदर भएपछि अर्को उपधारा अनुसार आफू मुख्यमन्त्री हुने भएकाले त्यस्तो आदेश पनि जारी हुनुपर्ने जिकिर रिटमा गरिएको छ । सो मुद्दामा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो।
विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह
गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्। साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।
विपिसीको महशुल बृद्धि विरुद्धको आन्दोलन चर्किदै
गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन चर्किन थालेको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा प्रभावित क्षेत्रका राजनीतिक दलहरु तथा सरोकारवाला पक्ष एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेका छन् । आँधिखोला वितरण केन्द्रका उपभोक्ता रहेका स्याङ्जाका चार पालिका र पाल्पाका दुई पालिकाका सरोकारवालाहरु एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका हुन् । यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि छलफल गर्न आँधिखोला वितरण केन्द्रबाट प्रभावित गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका राजनीतिक दलहरुबीच गल्याङबजारमा छलफल भएको छ । नेपाली काङग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शूल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै आ–आफ्नो पालिकामा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनीका आफ्नो पालिका रहेका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा विद्युत नियमन आयोगमा निर्णय फिर्ता लिन माग गर्दै उजुरी दिने निर्णय पनि गरेको छ । यस्तै भेलाले बुटवल पावर कम्पनीलाई मिटर रिडिङ गर्न नदिने निर्णय पनि गरेको छ । यसैगरी भेलाले शुल्क बृद्धिको निर्णयप्रति गम्भीर भई फिर्ताका लागि पहलकदमी लिन सांसद तथा पालिकाका प्रमुख एवम अध्यक्षहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै, पार्टीका जिल्ला नेतृत्वलाई पनि बढाइएको शूल्क खारेजीका लागि आवश्यक निर्णय गर्न आह्वान गर्ने निर्णय भेलाले गरेको छ । भेलामा सहभागीहरुले विद्युत नियमन आयोगले पदाधीकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका व्यक्त गरेका छन् । कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गर्दै जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । भेलामा नेपाली काङ्ग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भिरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटि अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । यसैवीच, गल्याङको संघर्ष समितिले सोमबार बुटवल पावर कम्पनीको गल्याङ शाखामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा हुने धर्ना कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । सोही धर्नामा थप कार्यक्रम तय हुने नेपाली काङग्रेसका नगर सभापति श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । चरणबद्ध आन्दोलन सुरु गरेको चेम्बर अफ कमर्सले सोमबार मध्यान्ह १२ बजे बुटवल पावर कम्पनीको गल्याङ शाखामा धर्ना दिने कार्यक्रम राखेको छ ।
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चारवटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगो निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । रासस
स्याङ्जामा हावाहुरीसहित वर्षा, उडायो घरको छानो
गल्याङ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा व्यापक हावाहुरी सहितको वर्षा भएको छ । आज अपरान्हमा आएको हावाहुरी असिनासहितको वर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । जोडले चलेको हावाहुरीले गल्याङ नगरपालिका-९ का स्थानीय इन्द्रदेव भण्डारीको घरको छानोको रुपमा प्रयोग गरीएको टिन उडाएको छ। साथै, सोहि वडाको सिमल गैरा भन्ने ठाउँमा देविलाल जिटिको घर भत्काएको र टेक्रे भन्ने ठाउँका निलकण्ठ भण्डारीको घरको टिन उडाएको एक स्थानीयले जानकारी दिए । त्यसैगरी, हावाहुरीले श्री ज्ञानोदय माध्यामिक विद्यालय, कृषक कुशुम भण्डारीको कृषि र्फम, उमाकान्त भण्डारीको घर र अन्य विभिन्न नागरिका घरमा क्षति पुगेको छ ।त्यसआसपासका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । हावाहुरी असिनासहितको वर्षाले आँप र लिचि जस्ता फलफुलका चिचिलामा समेत क्षति पुर्याएको छ भने विद्युत अवरुद्ध रहेको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन्।
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसीआईएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाल इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” रासस
विद्युत महशुल बढेपछि आन्दोलन
स्याङ्जा। विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ता आयोगले कम्पनीलाई विद्युत महशुल बढाउन पाउने स्विकृती दिएपछि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणको आन्दोलनमा स्याङ्जाका ७ राजनीतिक दलले छुट्टाछुट्टै ध्यानाकर्षण विज्ञप्ती बीपीसी र विद्युत नियमन आयोगलाई बुझाएर आन्दोलन शुरु भएको जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पाटीका नेताले हस्ताक्षर गरेर बुटवल पावर कम्पनीको आँधीखोला विद्युत वितरण कार्यालय वालिङमा ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका वालिङ नगर उपाध्यक्ष थमनदेवी काफ्ले, राष्ट्रिय स्वतन्त्र पाटीका प्रतिनिधि प्रकाश अर्याल, नेकपा समाजवादीका केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा क्षेत्र नम्वर २ का उपाध्यक्ष बिजय बस्नेतले हस्ताक्षर गरेर ध्यानाकर्षणपत्र बुझाएका छन् । ७ नेताले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विद्युत नियमन आयोगले एकतर्फीरुपले विद्युत महशुल बढाएको आरोप लगाइएको छ । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आफ्नो कार्यकाल सकिनै लागेका बेला ठुलो आर्थिक प्रलोभनमा उपभोक्तालाई मर्कामा पार्ने गरी एकतफीरुपले विद्युत महशुल बढाएको ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ । आयोगले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीले विद्युत महशुल बृद्धि नगर्ने र थप गुणस्तरीय सेवा बनाउदै लैजानुपर्ने माग गरिएको बिषयलाई वेवास्ता गरेको र आम उपभोक्तालाई प्रभावित बनाउने गरी गरिएको महशुल बृद्धि तुरुन्तै खारेज गर्न माग गरिएको छ । राजनीतिक दलमार्फत महशुल खारेज गर्ने अनुरोधलाई नसुनिएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । संयुक्त संघर्ष समिति निर्माण गरी राजनीतिक दलले आन्दोलन सुरु गरेको जनाएका छन् । आन्दोलनबाट हुने क्षती बीपीसी र आयोगले जिम्मेवारी लिनुपर्नेसमेत चेतावनी ७ राजनीतिकदलले दिएका छन् । आयोगले कम्पनीलाई समग्रमा झण्डै ४५ प्रतिशत विद्युत महशुल बृद्धि गर्ने अनुमति दिएको छ । सेवा शुल्कमा पनि उत्तिकै बढाउने अनुमति दिएको बताइएको छ । उपभोक्ताले पुरानो महशुलमा प्रति युनिट झण्डै ३ रुपैयाका दरले बृद्धि गरिएको महशुल बुझाउनु पर्नेछ । समग्रमा ५ रुपैयाँ ९८ पैसा प्रति युनिट तिर्दै आएका उपभोक्ताले अव समग्रमा ८ रुपैयाँ ९८ पैसा महशुल लाग्ने गरी निर्धारण गरिएको छ । विद्युत नियमन आयोगको निर्देशीका अनुसार विद्युत महशुल निर्धाण गर्दा अपनाईने व्यवस्था कायम गरिएको छ । तर आयोगले महशुल बृद्धि गर्दा सार्वजनिक सुनुवाई मात्रै गरेर अन्य राय, सल्लाह र सेवा प्रवाहकोसमेत सुझाव र अनुगमन नगरी महशुल बृद्धि गरिदिएको छ । यसरी महशुल बृद्धि गरिदिएपछि यहाँका राजनीतिकदल र उपभोक्ता आन्दोलित हुन शुरु गरेका हुन् ।
व्यास नगरपालिकाको मत पुनः मतगणना गर्न अदालतको आदेश
दमौली । तनहुँको व्यास नगरपालिकामा खसेको मत पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए।स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।
एमाले तनहुँमा कँडेल निर्वाचित
तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ। जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।
पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको कांग्रेस नेता शेखर कोइरालले जानकारी दिए। रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्। उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ।उनी शिक्षण पेसा हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : 'दीर्घकालीन निर्णय नगर्नू'
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई नियमित काम बाहेक दीर्घकालीन असर पर्ने निर्णय नर्गन आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । उक्त दिन अन्तरिम आदेश जारी हुने नहुने टुंगो लाग्ने छ । यस्तै सर्वोच्चले प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरीत रहेको भन्दै कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । वैशाख २३ गते प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर भएको थियो । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।
गण्डकीमा एमालेका २ मन्त्री थप
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।
गण्डकीमा थपिँदै दुई मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।