पर्वतका पदम गिरी एमालेबाट सरकारमा जानेः को हुन् गिरी ?

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।
को हुन् पदम गिरी ?
पर्वतबाट दुई पटक प्रतिनिधि सभा निर्वाचन जितेका पदम गिरी नेकपा (एमाले) का केन्द्रीय सदस्य  हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरी जिल्लाबाट मन्त्री बन्ने दोश्रो व्यक्ति बन्न लागेका छन्।

उनी स्वाथ्यमन्त्री नबन्दा सम्म पर्वतले राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन। पञ्चायतकालको सुरुवातमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२ सालमा राज्यमन्त्री बनेका थिए। त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बनेका थिए।

यस्तै २०३९ सालमा जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बनेका थिए। त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल भएका थिए।

पर्वतमा यसअघि ६ जना मन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए। यस अगाडि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए । अहिले भने उनको मन्त्रालय टुङ्गो लागिसकेको छैन ।

वि.सं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। वि.सं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बनेका थिए।

वि.सं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बनेका थिए।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।   “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस

हिमपातले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित

बाग्लुङ, ११ फागुन। बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो। हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ। ‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’ अदैले भने, ‘एक साता जति गर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’ गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्। ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए।

मित्रमिलन सहकारी ठगी प्रकरणः पत्रकार गिरी पुर्पक्षका लागि थुनामा

पोखरा, १० फागुन । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमा समेत लगाएको आरोप थियो । गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएको थियो भने बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबारमात्र पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसको लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो । पछिल्लो समय मित्रमिलन सहकारी ठगी प्रकरणमा एकपछि अर्को धरौटीमा छुटिरहेका थिए । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएपछि ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो । मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।

गण्डकीको हिउँदे अधिवेशन १६ फागुनदेखि सुरु हुने

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । गण्डकीको बजेट अधिवेशन गएको असोज ११ गते स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन बोलाएको हो । गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् । यसबाहेक सरकारले थप दुईवटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्‌मा पेस गर्ने निर्णय गरेको छ । प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते

तनहुँ । आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्ड बरादी–हिलेखर्कमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।  मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

तनहुँमा जीप दुर्घटना : एकजनाको  मृत्यु, सात घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको  पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।