पोल गाडेको ६ वर्षपछि बल्यो बिजुली

पोल गाडेको ६ वर्षपछि बल्यो बिजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल गाडिएको थियो ।

सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए। ‘पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ’, उनले भने, ‘उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो। पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो।’

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताइन्। दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले सुनाइन्। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ।

केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ।

म्याग्दी वितरण केन्द्र अन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन्। गत आर्थिक वर्ष २०७९र८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए। मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ।

म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले जानकारी दिए ।

आज अक्षय तृतीया  सर्बत र जौको सातु खाने दिन

काठमाडौं । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ ।यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने परम्परा छ । शीतलता प्रदान गर्ने यस्ता वस्तुहरु दान गर्नाले अक्षय फल प्राप्त हुने मान्यता रहेको छ ।गर्मीको मौसम भएको हुनाले आज बाटो हिँड्ने बटुवालाई सर्बत र सातु खुवाउने चलन पनि रहेको छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।  ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।   

कांग्रेस संसदीय दलको बैठक बस्दै, देला त संसद् चल्न ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो।

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।‌ प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन्।  एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।‌ उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए। मुख्यमन्त्री कार्कीले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । मगर इलाम र उप्रेती मोरङबाट निर्वाचित सांसद हुन्। दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन भनेका थिए।‌ तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन्। उनले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

लोकप्रिय