प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटनको राजधानी घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रिमोर्ट थिचेर पर्यटन समारोहको उद्घाटन गरी पोखरा पर्यटनको राजधानी लेखिएको लोगो अनावरण गर्नुको साथै पोखरा पर्यटनको राजधानी लेखिएको स्मृति स्तम्भको अनावरण पनि गरेका थिए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको हो।फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे।
पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जसअनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ ।डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन्।यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४सै घन्टा खुला हुनेछन् ।
तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन
पोखरा । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका छन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गर्नुलाई फरक हिसाबले हेरिएको छ ।
मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध
मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् ।
गण्डकीका मुख्यमन्त्रीले खोसे माओवादीतर्फका मन्त्रीको जिम्मेवारी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । त्यसलाई उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा (एमाले) सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो ।
पर्वतका पदम गिरी एमालेबाट सरकारमा जानेः को हुन् गिरी ?
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरी पर्वत जिल्लाबाट दोश्रो पटक मन्त्री बन्न लागेका छन्।
६ महिनापछि गण्डकीको संसद बैठक बस्दै
पोखरा, १६ फागुन । गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो । संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ । सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ । यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरु समेत काम विहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।
युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।
दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ
नवलपुर। खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा बयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो । एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि बयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो । त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। सो बाघको भोलि पोष्टमार्टम गरिने उनले जनाकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको छ । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताए । स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ । बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाईगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले जानकारी दिए ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए । सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस
हिमपातले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित
बाग्लुङ, ११ फागुन। बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो। हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ। ‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’ अदैले भने, ‘एक साता जति गर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’ गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्। ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए।
मित्रमिलन सहकारी ठगी प्रकरणः पत्रकार गिरी पुर्पक्षका लागि थुनामा
पोखरा, १० फागुन । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमा समेत लगाएको आरोप थियो । गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएको थियो भने बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबारमात्र पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसको लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो । पछिल्लो समय मित्रमिलन सहकारी ठगी प्रकरणमा एकपछि अर्को धरौटीमा छुटिरहेका थिए । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएपछि ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो । मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।
गण्डकीको हिउँदे अधिवेशन १६ फागुनदेखि सुरु हुने
पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । गण्डकीको बजेट अधिवेशन गएको असोज ११ गते स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन बोलाएको हो । गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् । यसबाहेक सरकारले थप दुईवटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते
तनहुँ । आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्ड बरादी–हिलेखर्कमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।