गण्डकीको मुख्यमन्त्रीमा आज सुरेन्द्र पाण्डे नियुक्त हुने

पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे पनि सरकार अस्थिर बन्ने

गण्डकीको मुख्यमन्त्रीमा आज सुरेन्द्र पाण्डे नियुक्त हुने
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज नियुक्त हुँदैछन्। 

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । 

एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको थियो । 

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई  मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरे अनुसार आज नै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो।

मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा आज मात्रै पुग्नेछ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने बताए। 

दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बन्न लागेको हो । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन्। 

पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे पनि गण्डकी सरकार अस्थिर बन्ने अवस्था छ। गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा रहेपछि गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। उनलाई ३१ सांसदको समर्थन जुटाउन निकै सकस छ।  

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र पुग्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनै पर्छ व्यवस्था छ। 

त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यव्रmम ल्याउनैपर्ने हुन्छ। पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था पनि छैन। 

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद रहेका छन् । 

प्रथम प्रचण्ड कपको उपाधि एपिएफलाई, ६ लाख रुपैयाँ हात पार्न सफल

काठमाडौं।प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको विभागीय टोली एपिएफ क्लबले ६ लाख रुपैयाँ हात पारेको छ। पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँगै एपिएफले ६ लाख रुपैयाँ प्राप्त गर्‍यो। पुलिसले भने ३ लाख रुपैयाँमा चित्त बुझायो। फाइनल पुग्दासम्म अपराजित रहेको पुलिसले निर्णायक खेलमा भने उक्त लय कायम राख्न सकेन। शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो। न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्‍यो। फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए।

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैबीच,  बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।

पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाँगे भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा अन्दाजी २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ । जस्ताले छाएको एक तले घरलाई पुरेको प्रहरीको भनाई छ । घर नजिकैको एउटा गोठ पनि पुरिदा गोठमा रहेको एउटा भैंसी पनि मरेको छ । 

गाई खरिदमा नगरले दियो ५० प्रतिशत अनुदान

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई खरिदमा अनुदान प्रदान गरेको छ । दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातको गाईको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरेको हो । नगरपालिकाले यसअगाडि सामूहिक रुपमा गाईपालन गर्न चाहानेका लागी नगरपालिकामा निवेदन दिन सार्वजानिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार सामुहिक रुपमा गाई पाल्न शुरु गरेका किसानहरु तथा फर्मलाई ५० प्रतिशत अर्थात प्रति गाई ५० हजार अनुदान प्रदान गरेको हो । नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा ३ ओटा समूहका ३० ओटा गाईको लागी अनुदान १५ लाख रुपैँयाको चेक सम्बन्धीत समूह तथा किसालनई हस्तान्तरण गरेको हो ।  चेक हस्तान्तरण गर्दै नगरप्रमुख कृष्ण खांणले नगरलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाईएको भन्दै यसअघि दुधमा अनुदानको समेत व्यवस्था गरेकाले यस्ता अनुदान कार्यक्रमको सही सदुपयोग गरी अगाडि बढ्न कृषकहरुलाई आग्रह गरे । कृषकहरुको श्रम र उद्यमशीलताले नै नगरले समृद्धि प्राप्त गर्ने भन्दै नगरपालिका सँधै कृषकको साथमा रहेको नगरप्रमुख खांणले बताए । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागी यस्ता कार्यक्रमहरु आगामि वर्षमा पनि संचालन गरिने भन्दै किसानहरुलाई उद्यमशीलतामा लाग्न जोड दिइन ।  विहिबार ३० ओटा गाईको प्रति गाई ५० हजारका दरले १५ लाखको चेक किसानहरुलाई हस्तान्तरण गरिएको हो । मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड वालिङ १३, अकला नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ८ र उन्नत गाईपालन समूह वालिङ १ किसानहरुलाई अनुदान बापतको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ । उन्नत गाई पालन समूहका ८ जना किसानले १५ ओटा गाई खरिद बापतको ५० प्रतिशत, मिलन दुग्ध उत्पादन सहकारीका ३ जना किसानले १० ओटा गाई खरिद गरे बापतको ५० प्रतिशत अनुदान र अकला नमुना साना किसान कृषि सहकारी संस्थाका १ जना किसानले ५ ओटा गरी १२ जना किसानले ३० ओटा गाईको अनुदान प्राप्त गरेका हुन् । विभिन्न समुहमा रहेका किसानलाई यो वर्ष ७२ गाईको अनुदान प्रदान गरिनेछ । विभिन्न समुहहरुले दिएको निवेदनको आधारमा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा साखा सहितको संयुक्त टोलीले अनुगमन गरेपछि यो अनुदान वितरण कार्य शुरु गरिएको पशु शाखा प्राविधिक डोलराज गैह्रेले बताए ।

लोकप्रिय