एभरेष्ट दैनिक

निशानामा ‘बादल’: यसरी हुँदैछ सुनियोजित दुष्प्रचार

एभरेष्ट टिप्पणी, ‘बादल’ अर्थात् नेपालको ‘माओवादी स्कूल अफ थाउट’भित्र एउटा विशिष्ट पहिचान बोकेका व्यक्तित्व । जनयुद्दकालदेखि संविधान सभामार्फत संविधान निर्माण, माओवादीको फूट र जुटका बिभिन्न कालखण्डमा क्रान्तिकारी माक्र्सवादका पक्षमा उभिएका नेता । अझ स्वभावका हिसाबले चर्चा नखोज्ने, मिडियाबाजी नरुचाउने र आफ्नो अडानमा हिँडने भनेर चिनिएका मान्छे । अहिले यिनै बादल अर्थात् राम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारमा गृहमन्त्री छन् । नेकपाको सचिवालयमा छन् र पार्टीभित्र प्रचण्डको निकट सहयोगीका रुपमा चिनिदै आएका पनि छन् । र, नेकपाको सरकार गठन भएपछि र अहिले दोश्रो बजेट ल्याएको अवस्थासम्म यिनै बादलमाथि बिभिन्न समयमा बिभिन्न किसिमले प्रहार हुँदै आएको देखिन्छ । सरकारमा सहभागी हुँदा सिण्डिकेटलगायतका विषयमा अडान लिएदेखि निर्मला हत्याकाण्ड र अन्य कतिपय निर्णयमा उनको उछित्तो नै काढियो । मिडियादेखि एउटा तप्का नै उनको बिरोधमा लाग्यो । क्रियाको तत्काल प्रतिक्रिया दिने उनको बानी नभएर होला, यी सबै आलोचनामा उनी प्रत्यालोचनामा उत्रिएनन् । उनलाई चिन्ने भन्छन– समयलाई पर्खिने र परिणामले तथ्य पुष्टि गर्ने स्वभाव छ बादलको । त्यसैले हत्तपत्ति उनी प्रतिक्रिया दिँदैनन आफूमाथि चुलिने आलोचनाको । पछिल्लो चरणमा भने बादलका बारेमा देशव्यापीरुपमा एउटा नयाँ प्रचार शुरु भएको छ । यो प्रचार गृह मन्त्रालयको काम कारवाही या कामको प्रभावकारिताका बारेमा छैन । अहिले निर्मला पन्तदेखि सिण्डिकेटका मुद्दा या प्रहरी प्रशासनको संरचना लगायतका विषय जोडेर उनको आलोचना भएको छैन । बरु, आलोचनाको केन्द्र नेकपाभित्र बादलको स्थानबारे छ । मिडियादेखि सामाजिक सञ्जालमा बादलले ‘क्याम्प परिवर्तन गरेको’ एउटा हल्ला फैलाइएको छ । यो हल्लामा नेकपाका कार्यकर्ता समेत रुमल्लिएका छन् । राजनीतिलाई माथिल्लो आवरणमा बुझ्नेहरुका लागि ‘बादल कमरेडले कित्ता परिवर्तन गरेछन् नि’ या ‘प्रचण्डको साथ छोडेछन नि’ भन्ने किसिमका चर्चाहरु महत्वका बनेका छन् । कित्ता परिवर्तनको वैचारिक आयाम के हो त ? राम बहादुर थापा अहिले गृहमन्त्री हुन । नेपालको संसदीय व्यवस्थाको विशेषता अनुसार, हरेक मन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । यो हिसाबले उनी प्रधानमन्त्री केपी ओलीको निर्देशन मान्नुपर्ने प्रणालीमा आबद्ध छन् । यो प्रणालीमा मन्त्रीको भूमिका गौण हुन्छ, क्याबिनेटमा प्रधानमन्त्री प्रमुख हुन्छन् । नीति कार्यक्रमदेखि मन्त्रालयका कतिपय आन्तरिक विषयहरुमा समेत प्रधानमन्त्रीले सोझै नियन्त्रण या नियमन, निर्देशन दिन सक्छन् । त्यसैले संसदीय प्रणालीगत हिसाबले गृहमन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । र, यो उनका लागि मात्रै नभएर हरेक मन्त्रीका लागि सत्य हो । विगतमा नेपाली कांग्रेससँग माओवादीको सरकार हुँदासमेत नेपाली कांग्रेसका मन्त्रीहरु प्रचण्डप्रति उत्तरदायी हुन्थे । त्यो आधारमा कुनै मन्त्रीले कित्ता या क्याम्प परिवर्तन गरेको मान्नु केटाकेटी बहस मात्रै हो । कित्ताले वैचारिक ध्रुवलाई परिभाषित गर्दछ । कार्यगत हिसाबले सरकारबाहिर गृहमन्त्री नेकपाका सचिवालय सदस्य हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैचारिक हिसाबले दुई फरक राजनीतिक विचारधाराको सम्मिश्रण हो । विश्व कम्युनिष्ट आन्दोलनमा पचासको दशकदेखि नै विकास हुँदै आएका दुई फरक स्कूल अफ थाउटमा गृहमन्त्री माओवादी स्कूलबाट विकास भएर आएका हुन । माओवादीको फूट हुँदा तत्कालिन प्रचण्डले नेतृत्वको गरेको माओवादीलाई समेत संशोधनवादी भन्दै विरोध गर्ने बादल अहिले प्रचण्डसँग एकतापछि एमालेसँग एकीकरणपछिको नेकपाभित्रका प्रभावशाली व्यक्ति हुन । त्यसअर्थमा हेर्दा, गृहमन्त्रीका बारेमा क्याम्प परिवर्तन गरेको या कित्ता चेन्ज गरेको भन्नुको अर्थ उनले यही वैचारिक ध्रुव परिवर्तन गरेको मान्नुपर्ने हुन्छ । नेकपाभित्र कार्यदिशा या विचारको बहस सुरु भएको छैन । अहिले पार्टीले विगतमा दुबै पार्टीका तत्कालिन कार्यक्रमलाई महाधिवेशनमा बहसका लागि लगेर संश्लेषणसहित नयाँ कार्यदिशा निर्माण गर्ने तर तत्कालका लागि नेकपाको कार्यक्रम जनताको जनवाद हुनेकुरामा सहमति गरेको छ । यो हिसाबले त्यो प्रकारको बहस सुरु नभईकन अनुमान र कोरा तर्कका आधारमा बादलले क्याम्प परिवर्तनको हल्ला गर्नु उनीमाथिको सुनियोजित षडयन्त्र बाहेक अरु केही हुन सक्दैन । इतिहासमा क्रान्तिकारीहरु विचारका आधारमा अरुलाई कन्भिन्स गर्ने र बिरोधीबीच खेल्ने गर्दछन् भने अवसरवादीहरुले गैर राजनीतिक प्रोपोगाण्डा या हत्कण्डा अपनाउने गर्दछन् । त्यसको शिकार राम बहादुर थापा बनेको देखिन्छ । नेकपाभित्र अहिले यथास्थितिवादी या अर्कोअर्थमा पूँजिवादी र अग्रगामी अर्थात् समाजवादी कित्ताको ध्रुवीकरणको प्रक्रिया आरम्भ भएको संकेत देखा परेका छन् । पछिल्लो चरणमा विगतमा भएको सहमतिविपरित जनताको जनवादको पक्षमा उभिनुको साटो केही नेताहरुले इतिहासतर्फ मुख फेरेका छन् । इतिहासतर्फ फर्किनु भनेको नयाँ गतिको निषेध हो । नयाँ प्रक्रियाको बिरोध हो । यथास्थितिवादको पक्षधरता हो । र, यो कोशिसमा उनीहरुले अग्रगामी या समाजवादी क्रान्तिको रणनीतिक कार्यदिशाको पक्षमा रहेकाहरुबीच फूट, वैमनस्य र अविश्वास सिर्जना गर्ने कोशिस गर्नु नौलो परिघटना होइन । स्पष्टरुपमा हेर्दा, अहिले पूर्व एमालेभित्र ठूलो समूह समाजवादतर्फ सचेत धक्का दिँदै अघि बढनुपर्ने कार्यक्रमको पक्षमा छ । यो ठूलो प्रभावशाली समूहले विगतका कार्यक्रमहरुको समीक्षासहित नयाँ परिस्थितिमा समाजवादी कार्यक्रमको पक्षपोषण गर्दछ । यता माओवादी स्कूलबाट आएकाहरुका लागि त समाजवाद न्यूनतम र अनिवार्य कार्यक्रम नै हो । त्यसैले जो जे र जसले यथास्थितिवादी या सम्झौतावादी या पूँजिवादी कार्यक्रमको पक्षपोषण गर्दछन्, वर्तमान संसदीय व्यवस्थालाई नै साध्य मान्ने गर्दछन्, उनीहरुले निश्चय पनि समाजवादी धारभित्र खेल्न खोज्छन् । इतिहासमा क्रान्तिकारीहरु विचारका आधारमा अरुलाई कन्भिन्स गर्ने र बिरोधीबीच खेल्ने गर्दछन् भने अवसरवादीहरुले गैर राजनीतिक प्रोपोगाण्डा या हत्कण्डा अपनाउने गर्दछन् । त्यसको शिकार राम बहादुर थापा बनेको देखिन्छ । इतिहासले उनी प्रचार गरेजस्तो पूँजिवादी कित्तामा उभिन सक्ने कुनै आधार देखिन्न । बादलको प्रकृति गर्जिनु र बर्सिनु हो, पखाई मात्र सही मौसमको हो एउटा यथार्थ र सत्य के हो भने, कार्यनीतिकरुपमा कतिपय एजेण्डाहरुमा निश्चित चरण या कालखण्डमा एउटै वैचारिक ध्रुवभित्र समेत बिभिन्न उप समूहहरु हुनु स्वभाविक हो । अझ कतिपय अवस्थामा केही निश्चित मुद्दामा फक विचारका व्यक्तिसँग समेत विचार मिल्नु पनि स्वभाविकै हुन्छ । तर रणनीतिक अर्थमा र निर्णायक वैचारिक सन्दर्भममा यी सबै कुरा स्पष्टतः ध्रुविकरण हुन्छन् । हाँस हाँसतिर र बकुल्लो बकुल्लोतिर हुनु प्रकृतिको नियम नै हो । प्रचण्ड, बादलदेखि अन्य माओवादी स्कूलबाट आएका नेताहरुको एउटा वैचारिक धुरी छ । उनीहरु कार्यक्रमगत मुद्दाहरुमा एकअर्कासँग अन्तरविरोधी विचार राख्न सक्छन्, तर निर्णायक अवस्थामा, विचारको प्रश्नमा त्यहाँ अन्तरविरोध हुँदैन । यो कुरा विश्व कम्युनिष्ट आन्दोलन र अन्य वैचारिक आन्दोलनले पुष्टि गरेको कुरा हो । त्यसअर्थमा अहिले राम बहादुर थापाका बारेमा फैलाइएका कुराहरु कोरा भ्रम र षडयन्त्रबाहेक अरु केही नभएको स्पष्ट हुन्छ । समस्या के हो भने रामबहादुर थापा आफै धेरै बोल्दैनन् । उनले हरेक क्रियाका तत्काल प्रतिक्रिया दिँदैनन । त्यसैले उनका बारेमा मानिसहरुलाई आँकलन गर्न र खेल्न सजिलो हुन्छ । तर समयक्रमले यस्ता तथ्यहरुका बारेमा स्वतः स्पष्टता गर्छ । यसरी हेर्दा, पार्टीभित्र विचारको बहस शुरु नहुँदासम्म गरिने यसप्रकारका हल्लाहरुमा कुनै सत्यता मान्न सकिन्न । र, यो हल्लाको गृहमन्त्रीको सचिवालयले खण्डन समेत गरेको छ । अर्कोतर्फ गृहमन्त्रीको इतिहास हेर्ने हो भने विगतमा जनयुद्द शुरुगर्दादेखि नेकपाको घोषणासम्म उनले क्रान्तिकारी रुपान्तरणका पक्षमा नै आफूलाई उभ्याएका छन् । पद, प्रतिष्ठा र व्यक्तिगत लाभभन्दा माथि उठेर राजनीतिलाई आफ्नो निष्ठा बनाएका छन् । उनको यही इतिहासले उनी प्रचार गरेजस्तो पूँजिवादी कित्तामा उभिन सक्ने कुनै आधार देखिन्न । बादलको प्रकृति गर्जिनु र बर्सिनु हो, पखाई मात्र सही मौसमको हो भन्ने सबैले बुझ्नु जरुरी देखिन्छ ।