एभरेष्ट दैनिक

वामदेव गौतमले दिए एमालेबाट राजीनामा (पत्रसहित)

काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । राजीनामा पत्रमा गौतमले पटक-पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् । उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् । दुई–दुईपटक संविधानविपरीत प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए’, गौतमले भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिए । तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’