एभरेष्ट दैनिक

अमेरिकासँग नेपाल हार्नुका मुख्य चार कारण

१. खराब सुरुवात र अन्त्य नेपाल हार्नुको मुख्य कारण पर्याप्त रन बनाउन नसक्नु नै हो । आज पनि नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेनन् । विनोद भण्डारी (११), आसिफ शेख (३), रोहित पौडेल (२), कुशल मल्ल (०), सोमपाल कामी (२), करण केसी (१२) सस्तैमा आउट भए । नेपालको न सुरुवात राम्रो भयो नत अन्त्य नै । नेपालले पहिलो विकेटका रूपमा आसिफलाई ३ रनमा गुमाएको थियो । उनी आउट भएपछि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लबीच साझेदारीले आकार लिँदै थियो । तर, कुशल आउट भएपछि नेपालको विकेट पतन रोकिएन । विनोद, कुशल, करण छक्का हान्ने धुनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शनले पनि नेपाल पराजित हुन पुग्यो । २. खराब फिल्डिङ नेपाल हार्नुका अर्को कारण खराब फिल्डिङ पनि हो । अमेरिकन ब्याट्सम्यानले बेलाबेला विकेट लिने अवसर दिए । तर, खराब फिल्डिङका कारण नेपालले विकेट लिन सकेन । ७.२ ओभरमा स्टिभन टेलर व्यक्तिगत ४२ रन बनाइरहेको अवस्थामा क्याच आउट हुने थिए । तर, कुशल भुर्तेलले क्याच छुटाउन पुगे । ३. टस हार्नु ओमानको यो पीचमा पहिला बलिङ गरेका टिमले बढी म्याच जितेका छन् । अमेरिकाविरुद्ध पनि त्यस्तै भयो । टस हारेर ब्याटिङ गरेको नेपालले १७४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको अमेरिकाले २९.३ ओभरमा लक्ष्य भेट्टायो । अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । सो खेलमा नेपाल लक्ष्य पछ्याउँदा विजयी भएको थियो । ४. टेलरको उत्कृष्ट ब्याटिङ नेपाल हारको कारण टेलरको उत्कृष्ट ब्याटिङ पनि हो । उनलाई रोक्न नसक्दा नेपाल पराजित हुन पुग्यो । टेलरले ९२ रनको पारी खेले एकदिवसीय क्रिकेटमा उनको यो हालसम्मकै उत्कृष्ट पारी हो । करण केसीलाई बलिङमा ढिला ल्याउनु पनि हारको कारण हो । उनको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झालाई बलिङमा मौका दिइएको थियो । करणले ढिला मौका पाए । उनले ढिला मौका पाउँदा पनि लगातार दुई विकेट लिएका लिए ।