नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि हो : मन्त्री शर्मा

नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि हो : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताएकी हुन् ।

आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रुपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन्। नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिइन्। 

विश्वब्यापीरुपमा नवीन प्रविधिको रुपमा विकास र प्रयोगहुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणापत्र तयार गरिएको जानकारी दिंदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानुन बन्ने बाटो खुलेको बताइन्। 

तीब्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकास, प्रवर्धन र नियमन गर्न तथा साइबर सुरक्षा र साइबर स्पेसका डाटा सुरक्षाका प्रावधान समेत समेटी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको जानकारी दिइन्। 

दूरसञ्चार विधेयकको मस्यौदामा पृष्ठपोषणको लागि आज मात्रै मन्त्रालयको वेबसाइडमा राखिएको जानकारी दिंदै उनले सामाजिक सञ्जाल नियमन सम्वन्धी विधेयकको मस्यौदामाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सहमति प्राप्त भई मन्त्रिपरिषदमा पेस बताइन्। 

सूचना प्रविधि क्षेत्रलाई आर्थिक रुपान्तरणको प्रमुख आधारको रुपमा स्थापित गर्न सफल हुनु मुलुककै रुपान्तरणका लागि ठूलो छलाङ उल्लेख गर्दै मन्त्री शर्माले यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रुपमा लिने गरिएकोमा अब नवीनतम आर्थिक रुपान्तरणकारी क्षेत्रको रुपमा सूचना प्रविधि थप भएको बताइन्। मन्त्री शर्माले भनिन् ‘आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ बर्षको रूपमा लिई तद् अनुरूपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ ।’

मन्त्रालय एआई नीतिको तयारीमा जुटेकाले यसका लागि आवश्यक सहयोग गर्न उनले विज्ञहरुसँग आग्रह गरिन्। परिस्थितिअनुसार राजनीतिक नेतृत्व परिवर्तन हुने भए पनि यसबाट मुलुकले लिन खोजेको राष्ट्रिय दायित्वमा कुनै असर पर्न नहुनेमा जोड दिंदै उनले यसमा विज्ञहरुको रायसुझाव महत्वपूर्ण हुने र प्रविधि क्षेत्रका नीति कानुन बनाउँदा जतिसक्दो धेरै गैरप्राविधिक क्षेत्रले बुझ्नसक्ने भाषाशैली प्रयोग गर्नुपर्ने सुझाव दिइन्।

एआई विज्ञ सिमोन ढुंगानाले एआईको विकास र प्रयोगमा कयौं देशहरु अलमलमा रहेको बेलामा नेपालमा यससम्बन्धी नीति तयार पार्न पहल लिनु अन्तर्राष्ट्रिय रुपमा पनि महत्वपूर्ण प्रयास मानिने बताइन्। मन्त्री शर्माको सफल नेतृत्व र तदारुकताका कारण छोटै समयमा नीतिगत र व्यवहारिक रुपमा नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको भन्दै यो देशका लागि ठूलो उपलब्धि भएको उनको टिप्पणी थियो। कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।

डेमोक्रेटिक पार्टीबाट कमला राष्ट्रपति उठ्ने, बाइडेन पछि हटे

वासिंटन ।अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेदवारीबाट पछि हटेका छन्।उनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि आएपछि हटेको बताइएको छ । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्। बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। 

स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए।  विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् । कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् । परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

लोकप्रिय