सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

कैलाली । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।

यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँहरू भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्द्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्द्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।

बाह्य पर्यटकहरू टिकाउन पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्द्धन एवं विकास हुन नसकिरहेको उनीहरूको भनाइ छ ।

पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताए । उनले भने, “धेरै गन्तव्यस्थलमा न्यूनतम पूर्वाधार पनि पुर्‍याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन ।”

बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो ।

सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइँ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्याङ्कअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौँ, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्द्धनका लागि योजनाबद्ध काम भइरहेका बताए । उनले भने, “चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा रु ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन् ।”

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सीमानाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् ।

रावलले भने, “सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटकहरू भने प्रदेशका पहाडी जिल्लाका धार्मिकस्थलमा पुग्ने गरेका छन् ।” आव २०८२/८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालनमा छ ।

धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ ।

प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंवदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ ।

यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुङ्गे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तरराष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् ।

विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले वि.सं. २०२८ मा एक महिना बसेर राजकाज चलाउनुभएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौँ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ ।

जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।

कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्घे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिङ्गको स्वरुपमा प्राकृतिक रूपमा बनेको लिङ्गा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

समुद्री सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार सोहनुसार हुन नसकेको प्रमुख रावलले बताए ।

धुपिसल्ला र लालीगुराँसको जङ्गलका बीचमा रहेको पाटन, रङ्गीविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।

बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिनुभयो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।

यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।